पेरूका गाउँबाट भ्याटिकनसम्म: पोप लियो चौधौँको प्रेरणादायी यात्रा

अप्रिल २१ मा पोप फ्रान्सिसको निधनपछि रिक्त रहेको यो पदमा अमेरिकाका रोबर्ट प्रेभोस्ट २६७ औँ पोपका रूपमा चयन भएका हुन्। अब उनलाई पोप लियो चौधौँ नामले सम्बोधन गरिनेछ।
रोबर्ट प्रेभोस्टको जन्म सन् १९५५ मा अमेरिकाको शिकागो सहरमा भएको थियो। बिशप बन्नुअघि उनले इसाई धर्मप्रचारको क्रममा धेरै वर्ष पेरूमा बिताएका थिए, जसका कारण उनी ल्याटिन अमेरिकी कार्डिनलका रूपमा चिनिन्छन्।
युवावस्थामै रोबर्ट प्रेभोस्टले त्यो सबै प्राप्त गरेका थिए, जुन धेरै युवाहरूको सपना हुन्छ—हार्वर्ड विश्वविद्यालयको कानुन स्कुलमा भर्ना, उज्ज्वल भविष्य, सम्भावित लाखौँ डलर कमाउने अवसर। तर उनले यी सबै अवसर त्यागेर गरीबहरूको सेवा र मुक्तिको बाटो रोजे। उनले गणितमा स्नातक र इसाई धर्मशास्त्रमा स्नातकोत्तर तथा विद्यावारिधि हासिल गरेका हुन्।
धर्मप्रचारकहरूको एक समूहमा सामेल भई उनी पेरूका दुर्गम गाउँहरूमा पुगे, जहाँ न सडक थिए, न सफा पानी, न टेलिफोन। केवल अभाव, गरिबी र अशिक्षा थियो। त्यही ठाउँलाई उनले आफ्नो कार्यक्षेत्र बनाए। उनले त्यहाँको स्थानीय भाषा केचुवा सिके, जुन इन्का सभ्यताको पवित्र भाषा मानिन्छ।
थुप्रै दिनसम्म खाद्यान्न बोकेर उनी पैदल गाउँ-गाउँ हिँड्थे, बालबालिकालाई टुटेफुटेको विद्यालयमा गणित पढाउँथे। उनी स्थानीय मानिसझैं भुइँमै सुत्थे। बिरामीहरूलाई गधामा चढाएर टाढाका उपचार केन्द्रमा लैजान्थे। पढाइ र उपचारमा व्यस्त नभएका बेला उनी गाउँलेका ती कथा सुन्थे—ती कथा जसलाई संसारले सुन्ने चासो राख्दैन।
उनको यो निस्वार्थ सेवा विस्तारै पेरूका पहाड पार गरी विश्वमा फैलिन थाल्यो। उनका कामले धर्मगुरुहरूलाई चकित पार्यो र अन्ततः भ्याटिकनको ध्यान खिच्न सफल भयो। उनलाई Augustinian Order नामक विशेष धर्मगुरु समूहको नेतृत्वका लागि बोलाइयो, जहाँ उनले विश्वभरिका २,८०० भिक्षुहरूलाई समन्वय गर्न थाले।
सन् २०२० मा उनी विश्वव्यापी बिशपहरूको प्रशासनिक नेतृत्वमा नियुक्त भए। तर यो उच्च पदले उनको सरल जीवनशैलीमा कुनै परिवर्तन ल्याएन। उनी पुरानै चप्पल लगाउँथे, सादा जीवन बाँच्थे, र सधैं गरिब जनतासँगै हिँड्न रुचाउँथे।
भ्याटिकनले उनीभित्र केवल एउटा बिशप होइन, एक सम्भावनाशील नेता देख्यो। उनी कानुन, लाटिन र प्रशासनमा निपुण मात्र थिएनन्—करुणा, विनम्रता, ध्यानपूर्वक सुन्ने कला र मानवतामा पनि दक्ष थिए। त्यसैले पोप फ्रान्सिसले सन् २०२३ सेप्टेम्बर ३० मा उनलाई कार्डिनलमा नियुक्त गरे।
अनि सन् २०२५ मे ८ मा इतिहासमै पहिलो पटक—एक अमेरिकी, एक पूर्व गणित शिक्षक, र पेरूको एन्डिज पर्वतको दुर्गम गाउँमा सेवा गर्ने व्यक्ति—पोप लियो चौधौँ बनेका छन्।

इरानको आणविक केन्द्रमाथिको हमला: नष्ट भयो, नष्ट भएन !

इरानविरुद्धको युद्धमा अमेरिका प्रत्यक्ष उत्रियो ! प्रतिवाद गर्ने इरानको चेतावनी

इरानको समर्थनमा बोले किराती

‘इन्काउन्टर’ मा तीन दिनभित्र सात माओवादी नेताको मृत्यु; अधिकार समूहद्वारा बर्ब…

फेरि मारिए माओवादीका अर्को वरिष्ठ नेता

रुसविरुद्ध युक्रेनको अपरेशन स्पाइडर: रुसको प्रतिशोध कस्तो होला ?

शान्तिवार्ताको प्रस्तावको जवाफ गोलीबाट दिनु राज्यद्वारा गरिने हिंसात्मक दमनको न…

प्रतिक्रिया