जन्मगत वर्ण–व्यवस्थाका कुपरिणामहरू

वर्ण–व्यवस्था जन्मप्रधान हुन गएकोले हिन्दू–समाजको जुन महान् अनिष्ट भयो, त्यसको कथा परम दारुण छ, जसलाई सुन्दा रोष र शोकले हृदय उद्विग्न हुन्छ । यस जन्ममूलक वर्ण–व्यवस्था अनुसार प्रत्येक व्यक्तिको वर्ण र कर्म उसको वैयक्तिक योग्यता वा अयोग्यताको आधारमा नभएर उसको कुलविशेष वा विशेष जातिमा जन्म लिएको आधारमा निर्भर हुन पुग्यो । यसमा अर्को विशेष कुरा के भने कुनै पनि मनुष्यले आफूभन्दा उपल्लो जातिले गर्ने गरेको कर्म गर्न नहुने, नसक्ने, अन्यथा ऊ राजाद्वारा दंडित हुने व्यवस्था धर्मशास्त्रहरूले नै गरिदिए । मनु. १०।९६ पढ्नुहोस् –
यो लोभादधमो जात्या जीवेदुत्कृष्टकम्र्मभिः । तं राजा निर्धनं कृत्वा क्षिप्रमेव प्रवासयेत् ।।
अर्थः यदि कुनै नीच जातिको व्यक्तिले लोभवश उच्च जातिको जीविका गर्यो भने राजाले त्यसको सर्वस्व छिनेर त्यसलाई तुरुन्तै देशबाट निकाला गरोस् ।
बाहुन–क्षत्रीहरूको स्वार्थपूर्ण उन्नति
उपर्युक्त विधान जसरी बाहुन र क्षत्रीहरूको स्वार्थको साधक भयो, त्यसरी नै वैश्य र शूद्रहरूको उन्नतिको बाधक भयो । यसको छत्रछायाँमा बाहुन र क्षत्रीहरू उन्नतिको शिखरमा पुगे; तर वैश्य र शूद्रहरू भने अवनतिको महागर्तमा जाकिए (रसातलमा भासिए) । ब्राह्मणको भरण–पोषणको भार वा दायित्व अरुहरूमाथि रहेको हुँदा तिनीहरूलाई बौद्धिक विकासको अपूर्व अवसर मिल्यो । सांसारिक झण्झटहरूदेखि निर्द्वन्द्व रहन पाएको कारण उनीहरू ‘सरस्वती–सेवा’मा सदा तत्पर रहे, फलतः तिनीहरूले आफ्नो अलौकिक कुशाग्र बुद्धिद्वारा दर्शन, ज्योतिष, गणित, चिकित्सा, अर्थशास्त्र, छन्द, व्याकरण, निरुक्त, अलंकार, काव्य आदि विद्याका विविध क्षेत्रमा प्रवेश गरेर यी सबै विषयमा अनेकन् ग्रन्थरत्नहरूको रचना गरे, जसबाट संसारमा सदाको लागि तिनीहरूको कीर्ति अजर र अमर हुन गयो । क्षत्रियहरूले पनि आफ्नो क्षात्रधर्मको परिपालनद्वारा आफ्नो क्षेत्रमा कम उन्नति देखाएनन् । उनीहरूले भारतमा कुरु, पांचाल, मत्स्य, काशी, कोशल, विदेह (मिथिला), मगध, अंग, बंग, कलिंग, विदर्भ, निषध आदि अनेक समृद्धिशाली स्वतन्त्र राष्ट्रहरूको स्थापना गरे, जहाँ वीर क्षत्रिय नरेन्द्रगण श्रुतिस्मृत्युक्त (श्रुतिस्मृति–उक्त) बाहुनवादी विधानानुसार प्रजावर्गमाथि शासन गर्ने गर्दथे । तर दुःखको साथ भन्नुपर्छ – बाहुन र क्षत्रीहरूको यो उन्नति स्वार्थदोषले सदा कलंकित रहँदै आएको छ; किनभने (जुन कुरा पछि गएर देखाइने छ) यसबाट वैश्य र शूद्रहरूलाई यस उन्नति गर्नबाट नै कानूनद्वारा वंचित राखियो, अन्यथा तिनीहरूमा पनि ठूलाठूला विद्वान् र शूरवीरहरू उत्पन्न हुन्थे, किनकि उन्नति कुनै जाति विशेषको पेवा होइन । तर स्वार्थपूर्ण शासनको कारणले तिनीहरूको कहिलै उन्नति हुन पाएन र तिनीहरूले आफ्नो जीवन सदा मूक पशुहरूले झैं बिताइरहनु परेको छ । यस स्वार्थपूर्ण शासन व्यवस्थामा बाहुन विधायक (कानून निर्माता) र राजमन्त्री तथा क्षत्री चाहिँ राजा, सैनिक, न्यायाधीश र प्रबन्धकर्ता (Executive) हुने गर्दथे, तर वैश्य र शूद्रहरूलाई कुनै ठाउँ थिएन । संपूर्ण हिन्दू जनता दुई वर्गमा विभक्त थियो – शासक वर्ग र शासित वर्गमा । शासक वर्गमा थिए – बाहुन र क्षत्री तथा शासित वर्गमा थिए – वैश्य र शूद्र । बाहुन र क्षत्रीहरूले एकआपसमा मिलेर आफ्नो एउटा गूट बनाएका थिए, जसको एक मात्र उद्देश्य थियो – वैश्य र शूद्रहरूलाई जहिले पनि आफ्नो शासनको चक्कीमा सदा पिसिरहनु, जसबाट तिनीहरूले आफ्नो टाउको कहिलै माथि उठाउन पाएनन् । ‘मनुस्मृति’का निम्नलिखित श्लोकहरूमाथि निष्पक्ष भावले विचार गर्नोस् –
नाब्रह्म क्षत्रमृध्नोति नाक्षत्रं ब्रह्म वद्र्धते । ब्रह्म क्षत्रं च सम्पृक्तमिह चामुत्र वद्र्धते ।। मनु. ९।३२२।।
अर्थः बाहुन बिना क्षत्रीले कहिले पनि वृद्धि पाउन सक्तैन र बाहुनले पनि क्षत्री बिना वृद्धि पाउन सक्तैन । बाहुन र क्षत्री एकआपसमा मिलेमै तिनीहरूले यस लोक र परलोकमा परस्पर वृद्धि पाउँछन् ।
वैश्य–शूद्रहरूको अन्यायपूर्ण अधोगति
यही श्लोक ब्राह्मणी (बाहुनवादी) शासनको आधारशिला हो, जसमाथि उभिएर त्यसको दुद्र्धर्ष दुर्ग (दमन गर्न नसकिने किल्ला)ले स्मरणातीत कालदेखि गौतम बुद्ध आदि जस्ता अनेक सुधारक शत्रुहरूले गरेका प्रबल प्रहारहरूलाई पनि फूलको थुँगाले हानेको जस्तो गरी विफल पारिदियो । यही श्लोक उक्त शासनको आत्मा हो, जसलाई निकाल्नासाथ त्यसको सुसंगठित शरीर निष्प्राण भएर आगोमा मैनको मूर्ति पग्ले झैं एकै क्षणमा पग्लन्छ । यही श्लोक उक्त शासन–प्रणालीको मूल मन्त्र हो, जसको जाप (जपना) शासक वर्गले आजसम्म निरन्तर गर्दैछ र यस विशाल हिन्दू समाजलाई आफ्नो इशारामा नचाउँदै, चलाउँदै आइरहेको छ । यद्यपि वैश्य र शूद्रहरूमा स्वेच्छाचारी शासकहरूको विरुद्ध टाउको उठाउन/ठड्याउन सक्ने अलिकति तागत पनि थिएन; तैपनि केही गरी बाहुन र क्षत्रीहरू फुटेमा तिनीहरूको शक्ति क्षीण भएर जाला र शासित वर्गले तिनीहरूको शासन उल्टाउने मौका पाउला भन्ने डर मनुको हृदयमा चोरको दाह्रीमा त्यान्द्रो अल्झे झैं सदा कायम रहने गर्दथ्यो । अतः उनले उपरोक्त श्लोकद्वारा उक्त दुई प्रबल जातिहरूलाई सदा मिलेर काम गरिरहनुपर्ने कडा ताकेता दिएका छन् । मनुको यो कुनियत अझ घाम जस्तै छर्लङ्ग हुन्छ, जब उनले वैश्य र शूद्रहरूलाई आ–आफ्नो कर्ममा सदा जोताइराख्न निम्नलिखित श्लोकद्वारा राजाहरूलाई आदेश दिएका छन् –
वैश्यशूद्रौ प्रयत्नेन स्वानि कर्माणि कारयेत् । तौ हि च्युतौ स्वकर्मेभ्यः क्षोभयेतामिदं जगत् ।।मनु ८।४१८।।
अर्थः राजाले वैश्य र शूद्रहरूलाई आ–आफ्नो कर्ममा यत्नपूर्वक लगाइराख्नुपर्छ । अर्थात् तिनीहरूबाट आ–आफ्नो कर्म गराउँदै रहून्, किन कि यदि तिनीहरू आ–आफ्नो कर्मबाट भ्रष्ट भए भने अर्थात् ती कर्मलाई छाडे भने तिनीहरूले जगत््लाई व्याकुल पारिदिनेछन् ।
वैश्य–शूद्रहरूमाथि बाहुन–क्षत्रीहरूको निरंकुश शासन
पाठकवृन्द ! देख्नुभयो तपाईंहरूले मनुको चालबाजी ! यस्तो कुटिल नीतिको एक मात्र मतलब थियो – वैश्य र शूद्रहरू आ–आफ्नो कर्म छाडेर कतै बाहुन–क्षत्रीहरूको कर्म गर्नतिर लागे भने यी उच्च वर्णहरूको स्वार्थमा धक्का लाग्नेछ । मनुको यस अर्डिनेन्स (अध्यादेश)का साथसाथै ‘यो लोभादधमो जात्या’ वाला श्लोक पनि पढ्नुहोस् अनि तपाईंहरूलाई थाहा हुनेछ – हिन्दू समाजका निर्बल जातिहरूका जन्मसिद्ध अधिकारहरू कस्तो निर्दयता र स्वार्थपरतापूर्वक कुल्चिएका रहेछन् ?! यसमाथि अर्को मजाको कुरा के भने राजाले बाहुन र क्षत्रीहरूबाट पनि आ–आफ्नो कर्म गराइरहून् भनेर मनु वा अन्य स्मृतिकार कसैले पनि कहीँ लेखेका छैनन् । कारण स्पष्ट छ – बाहुनहरू ठहरिए जगद्गुरु ! उनीहरूलाई आफ्नो नियन्त्रणमा राख्ने कसको तागत ! जुन बाहुन जातिको प्रताप यस्तो प्रबल थियो, जसको महिमा गोस्वामी तुलसीदास जस्ताको ‘मारत हू पा परिय तुम्हारे’, ‘अभय होइ जो तुमहिं डराई’ आदि वचनले गाइरहेका छन्, त्यस्ता उनीहरूसँग आँखा जुधाउन सक्ने कसको हिम्मत ? क्षत्रीहरू त स्वयं राजाका भाइबन्धु नै ठहरिए ! तिनीहरूसित मुलाहिजा
(पनपच्छे)को व्यवहार गर्नु राजाको लागि आवश्यक हुने नै भयो । त्यसको अतिरिक्त क्षत्री जाति वैश्य र शूद्रहरू झैं निःशस्त्र थिएन । तिनीहरूका हातमा तरवार हुन्थ्यो । अतः केही गरी कसैले क्षत्रीहरूमाथि जोर–जुलूम गर्न थालेको अवस्थामा, लिनुको बदला दिनुपर्ने हुन्थ्यो । किन कि सैन्यबल तिनीहरूकै हातमा हुन्थ्यो । यसैले असन्तुष्ट हुनासाथ तिनीहरूले तुरुन्त राजाको विरुद्ध हतियार उठाएर विद्रोह गर्लान् तथा तिनीहरूलाई दमन गर्न कठिन होला भन्ने कुराको डर राजाको मनमा सदा भइरहन्थ्यो । बाँकी रहे बिचरा वैश्य र शूद्र । तिनीहरूमाथि जतिसुकै मनपरी शासन गरे पनि बोल्ने वा विरोध गर्ने कोही हुने भएन । मनुको दण्ड विधान पनि बाहुन–क्षत्रीहरूको तुलनामा वैश्य र शूद्रहरूप्रति अत्यन्त कठोर छ ।
वैश्य–शूद्रहरूको अधःपतन
वैश्य र शूद्रहरूलाई तल झार्न–खसाल्नको लागि अरु पनि कतिकति नीच उपायहरूको आश्रय लिइयो । यहाँसम्म कि आस्तिक हिन्दूहरूले ‘प्रभु–वाणी’ भनेर मान्ने गरेका ‘वेदहरू’मा पनि, ‘ब्राह्मणोऽस्यमुखमासीत्’ आदि जस्ता पुरुषसूक्तका जाली मंत्रहरू घुसाइए । तिनको हवाला दिएर बाहुन परमात्माको मुखबाट, क्षत्री उनका बाहुबाट, वैश्य उनको जाँघबाट र शूद्र उनका खुट्टाबाट उत्पन्न भएका हुन् भनेर सर्वत्र प्रचार गरियो । परमात्माको उत्तम अङ्गबाट उत्पन्न भएका हुनाले बाहुन–क्षत्रीहरू जन्मैदेखि श्रेष्ठ र निकृष्ट अङ्गहरूबाट उत्पन्न भएका हुनाले वैश्य–शूद्रहरू चाहिँ जन्मैदेखि निकृष्ट हुन् भन्ने भावना यसैबाट सर्वसाधारण जनतामा फैलाइयो । खुट्टाबाट उत्पन्न भएका भनेर शूद्रहरूलाई नीच र हेय मानियो नै; तर वैश्यहरूको स्थिति पनि राम्रो रहेन । यिनीहरूको उत्पत्ति परमात्माको उरुदेश (जाँघ)बाट भएको बताइयो, नाभिदेखि मुनिको अङ्ग भएको कारण जुन शास्त्रको दृष्टिले एक अपवित्र अङ्ग हो । अतः वैश्यहरू पनि उत्पत्तिले नै नीच हुन् भनियो । हेर्नुहोस् मनुको निम्नोद्धृत श्लोक –
उध्र्वं नाभेर्यानि स्व्रानि तानि मेध्यानि सर्वशः । यान्यधस्तान्यमेध्यानि देहाच्चैव मलाश्च्युताः ।।मनु.५।१३२।।
अर्थः जुन इन्द्रियहरू नाभिदेखि माथिका हुन्, ती सबै पवित्र र जुन मुन्तिरका हुन्, तिनीहरू र देहबाट निस्केको मल अपवित्र हुन्छन् ।
यी दुवै जातिमा परस्पर समानता र मेलजोल देखाउन कैयन् वेद–मंत्रहरूमा ‘वैश्य’ र ‘शूद्र’ शब्दलाई एकसाथ लेखियो, यद्यपि बाहुन र क्षत्रीहरूको जस्तो कुनै मेलजोल वा गूटबन्दी वास्तवमा तिनीहरूमा थिएन । शूद्रहरूको साथमा वैश्यहरूको यो उल्लेखन केवल ती वैश्यहरूको निकृष्टता देखाउने अभिप्रायले नै भयो; गरियो, यथा – ‘शूद्रार्यावासृज्येताम्’, ‘यच्छूद्रेयकर्ये’, ‘शूद्राय चार्याय च’, ‘उत शूद्र उतार्ये’ इत्यादि ।
श्री कृष्णले भगवद्गीतामा वैश्य र शूद्र दुवैलाई ‘पापयोनि’ भनेका छन् । यसको अर्थ हुन्छ – ‘जसको उत्पत्ति पापबाट भएको हो’ –
मां हि पार्थ ! व्यपाश्रित्य येऽपि स्युः पाप योनयः । स्त्रियो वैश्यास्तथा शूद्रास्तेऽपि यान्ति परां गतिम् ।।भगवद्गीता ९।३२।।
अर्थः हे अर्जुन ! मेरो शरणमा आएपछि स्त्री, वैश्य तथा शूद्र, जसको उत्पत्ति पापबाट भएको हो, परम गतिमा प्राप्त हुन्छन् ।
यस श्लोकको सविस्तार व्याख्या द्वितीय परिच्छेदमा ‘वैश्य’ शीर्षक अन्तर्गत लेखेर आएको छु, त्यहीं हेर्नुहोला । पुनः यसै प्रसंगमा श्री कृष्णले बाहुन र क्षत्रीलाई कति महत्वत् दिएकारहेछन् ?!, त्यो पनि हेर्नु–विचार्नुहोस् (भगवद् गीता ९।३३) –
किं पुनब्र्राह्मणाः पुण्या भक्ता राजर्षयस्तथा । अनित्यमसुखं लोकमिमं प्राप्य भजस्व माम् ।।भगवद्गीता ९।३३।।
अर्थः भने, पुण्य ब्राह्मणहरू, भक्तहरू र राजर्षिहरूको त के कुरा भयो र ? अर्थात् यिनीहरूलाई परम गति प्राप्त हुने कुरा त साँचेरै राखिएको छ । अतः अनित्य र सुखरहित यस संसारमा जन्मिन आएपछि मलाई भज्ने गर ।
पाठकवृन्द ! यहाँ हेर्नोस् – श्रीकृष्णले एकै सासमा कति स्पष्टतापूर्वक बाहुन र क्षत्रीहरूलाई पुण्य र ऋषि, तर वैश्य र शूद्रहरूलाई पापयोनि भनेका छन् ।
वैश्यहरूको नीचता देखाइएको अरु प्रमाण पनि हेर्नुहोस् । ‘विष्णु रहस्य’मा उनीहरूलाई जघन्य–कर्मा (सा¥है निकृष्ट कर्म गर्ने) भनेर लेखिएको छ, जसको अर्थ हुन्छ – ‘नीच कर्मवाला’ –
‘जघन्यकम्र्मा वैश्यः स्यात् सेवा कम्र्मातु पादज ।’
अर्थः वैश्य नीच कर्मवाला र शूद्र सेवा कर्मवाला हुन्छन् ।
वाणिज्य वैश्यहरूको शास्त्रविहित कर्म हो । यसैले वैश्यहरूलाई वणिक (बनियाँ) पनि भनिन्छ । महर्षि व्यासले वणिक (वैश्य)हरूलाई आफ्नो ‘स्मृति’मा कुन चाहिँ रसातलमा धकेलिदिएका छन् ?, त्यो पनि पढ्नुहोस् –
वणिक्किरात–कायस्थ–मालाकार–कुटुम्बिनः । वेरटो मेद–चाण्डाल–दासश्वपच–कोलकाः ।।
एतेऽन्त्यजाः समाख्याता ये चान्ये च गवाशनाः । एषां संम्भाषणात्स्नानं दर्शनादर्क वीक्षणम् ।।१।११–१२।।
अर्थः वणिक, किरात, कायस्थ, माली, बाँसफोरा, स्यारमार (स्याल मार्दै हिंड्ने एक जाति विशेष), कंजर (डोरी बनाएर बेच्ने एक घुमन्ते जाति), चांडाल (अति नीच जाति), बारी (टपरी बनाउने काम गर्ने जाति), भंगी (मलमूत्र उठाउने काम गर्ने जाति) र कोल (भारतको एक जंगली जाति) अथवा अन्य, जुन गोभक्षक हुन्, तिनीहरू अन्त्यजहरूमा सामेल गरिएका छन् । यिनीहरूसित बोल्दा लागेको दोष स्नान गरेपछि र यिनीहरूलाई हेर्दा÷देख्दा लागेको दोष सूर्यलाई हेर्नाले मेटिन्छ ।
जो आफैं अवैध सन्तान थिए, त्यस्ता व्यासजीको यस व्यवस्थाले वैश्यहरूलाई कुक्कुर पकाएर खाने, घरबार नभएका, डोरी बाटेर बेच्ने कंजरहरू जस्ता घुमन्ते जाति र गोमांस खाने चमार (सार्की)हरूको श्रेणीमा घिसारेर तल झारेको र साथै आफूलाई द्विज भनेर झ्याली पिट्दै आएको कायस्थ जस्तो पढे–लेखेको जातिलाई पनि निकृष्ट संज्ञारूपी वचनको कोर्राले निकै हिर्काएको पाइन्छ ।
यहाँनेर आफ्ना पाठकहरूलाई म एउटा नम्र निवेदन गर्न चाहन्छु । त्यो के भने, वैश्य, शूद्रहरू विरुद्ध धर्मशास्त्रहरूमा लेखिएको निकृष्टताका प्रमाणहरू जम्मा गरी यहाँ थुपार्नुको मतलब तिनीहरू यथार्थमै हेय, निकृष्ट, जघन्य आदि हुन् भनेर मैले कदापि भन्न खोजेको, चाहेको होइन । हिन्दू धर्मशास्त्रकारहरूले ती बिचराहरूमाथि कति धेरै अन्याय र अत्याचार गरेका रहेछन् ?; यस संग्रहद्वारा मैले खालि त्यो कुरा मात्र देखाउन खोजेको हुँ । यस सिलसिलामा आफूलाई जन्मैदेखि बाहुन र क्षत्री ठान्ने भाइबन्धुहरूसित स्पष्ट शब्दमा म यो कुरा सोध्न चाहन्छु – ‘ब्रह्माजीका मुख र पाखुराबाट क्रमशः उत्पन्न भएका भनिएका उनीहरूका मूल पुरुष को थिए ? शुरुदेखि लिएर आजसम्ममा अन्य जातिको रगत उनीहरूको कुलमा कहिलै नमिसिएको भनेर भन्ने गरिएको छ । त्यसो भए आ–आफ्ना पूर्वजहरूको विशुद्ध शोणित (रगत) उनीहरूका रक्तनलीमा आफ्नो मौलिक रूपमा पनि के आजसम्म अक्षुण्ण रुपमा बगेको, बगेकै छ त ?’ यस प्रश्नको सन्तोषजनक उत्तर यदि दिन नसकिने हो भने उनीहरूको जाति (जुन जातिहरूको उत्पत्तिको कुरा मैले यसै ग्रन्थको द्वितीय र तृतीय परिच्छेदमा विस्तारपूर्वक लेखेर आएको छु)लाई पनि मैले के त्यस्तै किसिमले हेय (निन्दित) संझने त, जस्तो किसिमले हेय शूद्रहरूलाई संझने गरिन्छ ? उनीहरूको जातिलाई नीलो रंगले रंगिएको जन्तु (स्याल) विशेषको जाति वा सिंहको छाला ओढेको असिंहको जाति अथवा मयूरको प्वाँख लगाएको अमयूरको जाति जस्तो ठान्ने मेरो यो धारणा के निर्मूल होला ? जसलाई आफ्नो जातिको घमण्ड छ, उनीहरूले कृपा गरी उक्त परिच्छेदहरू शान्त भएर पढून् र छातीमा हात राखेर आफ्नै आत्मासित सोधून् – ‘तिनीहरूको आफ्नै जाति वास्तवमा
के–कस्तो हो, जसको दुहाई दिएर यस असार संसारमा उनीहरूले यति ठूलो उधुम (आतङ्क) मच्चाइरहेका छन् ?’
वैश्य–शूद्रहरूको उन्नतिमा बाधा
जातिको हिसाबले वैश्य–शूद्रहरूलाई यसरी तल खसालेपछि तिनीहरूको उन्नतिको मार्गमा फेरि कस्ता–कस्ता कानून बनाएर बाधा तेस्र्याइयो, त्यसलाई पढ्दा कुन चाहिँ मान्छेको हृदय नचिरिएला ! मनु फर्माउँदै लेख्छन् –
यो लोभादधमो जात्या जीवेदुत्कृष्ट कम्र्मभिः । तं राजा निर्धनं कृत्वा क्षिप्रमेव प्रवासयेत् ।।मनु. १०।९६।।
अर्थः यदि कुनै नीच जातिको व्यक्तिले लोभमा परेर उँचो जातिको जीविका गर्यो भने राजाले उसको सर्वस्व छिनेर उसलाई तुरुन्तै देश–निकाला गरोस् ।
यी हुन् धर्मशास्त्रकार–शिरोमणि मनु महाराजको वचन, वेदार्थहरूलाई उपनिबद्ध गरेका हुँदा जसलाई सर्वत्र सबैले प्रधान मान्छन् । वैश्य–शूद्रहरूमध्ये कोही पनि आफ्नो उन्नति गरेर तलबाट माथि उक्लन नसकून् भन्ने हिन्दूहरूका वेद–भगवान्को नियत यदि साँच्चै नै त्यस्तो हो भने यस्ता अन्यायी तथा अत्याचारी वेद–भगवान्लाई गंगा सागरमा लगेर बगाइदिनु नै श्रेयस्कर छ ।
शास्त्रकारहरूले यस्तायस्ता कानून बनाएर वैश्य र शूद्रहरूको उन्नतिको द्वार सदाको लागि बन्द गरिदिए । ‘के उक्त व्यवस्थाले क्षत्रीहरूलाई पनि बाहुनहरूको जीविका गर्नबाट रोकेन ? किन कि यो व्यवस्था वैश्य–शूद्रहरूमाथि मात्र होइन, क्षत्रीहरूमाथि पनि लागू गरिएको देखिन्छ त ?!’ भनेर प्रश्न गर्ने हो भने साधारण रूपले यो तर्क ठीकै लाग्ला; तर वास्तवमा त्यस्तो होइन; किनभने उक्त श्लोकमा वैश्य–शूद्रलाई अधम जातिको भनेर जुन उल्लेख भएको छ । क्षत्रीलाई चाहिँ त्यस्तो अधम जातिको भनेर कुनै शास्त्रमा लेखिएको छैन; तर वैश्य र शूद्रहरूलाई अधम बताइएका कैयौं प्रमाणहरू यसभन्दा पहिले पनि दिइसकिएका छन् । यसबाहेक अर्को कुरा बाहुन र क्षत्रीहरूमा धेरै समानता कायम भएको पनि देख्न पाइन्छ । मैले यस अघि नै भनिसकेको छु – धाष्ट्र, अग्निवेश्य, रथीतर, हारीत, मेधातिथि, गाग्र्य, मौद्गल्य, विश्वामित्र, कौशिक जस्ता कतिपय बाहुन–गोत्रहरू क्षत्रीहरूबाटै उत्पन्न भएका हुन् र अनेकौं क्षत्रिय–राजवंशहरू बाहुनहरूबाटै नियोग गरेर चलाइएका छन् । क्षत्रीहरूलाई मनुले बाहुनहरूबाटै पैदा भएका हुन् भनेर स्पष्ट शब्दमा लेखेका छन् –
क्षत्रस्यातिप्रवृद्धस्य ब्राह्मणान् प्रति सर्वशः । ब्रह्मैव संन्नियंतृ स्यात् क्षत्रं हि ब्रह्म संभवम् ।। मनु. ९।३२०।।
अर्थः क्षत्रीहरूले बाहुनहरूमाथि अत्याचार गर्न थाले भने बाहुनहरूले शाप, अभिचार
(तन्त्र–मन्त्र, झारफूक आदिद्वारा गरिने मारण, मोहन, स्तम्भन, विद्वेषण, उच्चाटन र वशीकरण जस्ता अनुचित कर्म) आदि गरेर भए पनि तिनीहरूको दमन गरून्, किनभने क्षत्रीहरू बाहुनहरूबाटै उत्पन्न भएका हुन् ।
बाहुन र क्षत्री, यी दुई जाति, एक–अर्कोबाट उत्पन्न भएका हुन् । अतः तिनीहरूमा परस्पर सहानुभूति र गूटबन्दी हुनु कुनै आश्चर्य वा नौलो कुरा होइन । कुनै क्षत्रीले बाहुनकै जीविका गर्न थाल्यो भने पनि त्यससँग बोल्ने कसले ? (किन कि ऊ सत्ता र हात–हतियारले संपन्न भएको हुन्छ ।) तर वैश्य–शूद्रहरू चाहिँ एक–अर्काबाट उत्पन्न भएका भनेर कहीँ पनि लेखिएको पाइन्न । अतः बाहुन–क्षत्रीहरूको विरुद्ध यिनीहरूमा कहिलै कुनै गूटबन्दी भएन, हुन सकेन । पूर्वोद्धृत वेद–मंत्रहरूमा यस कुराको जुन साहचर्य देखाइएको छ, त्यो बिलकुल अकारण हो, जुन मान्नयोग्य छैन । त्यसको अभिप्राय, जस्तो माथि भनिसकिएको छ, केवल झूठो बोलेर वैश्यहरूलाई मात्र तल खसाल्नु हो । वैश्य द्विजन्मा हुन्, तर व्यासले समेत उनीहरूलाई अन्त्यजहरूमै सामेल गरेर उनीहरूमाथि घोर अन्याय गरेका छन् । यो कुरा वैश्य जातिको निर्बलता र सुधोपनको फल हो ।
वैश्य–शूद्रहरूलाई शुरुमै जन्मतः नीच ठहराइयो । तत्पश्चात् उनीहरूको उन्नतिको ढोका बन्द गरियो र अन्तमा कुनै न कुनै बहाना बनाएर–देखाएर उनीहरूको धन–सम्पत्ति खोसेर लिई उनीहरूलाई सदाको लागि दरिद्रताको दुर्भेद्य ठिंगुरामा जकड्याइराख्ने प्रबन्ध गरियो । मनुका अग्रलिखित श्लोकहरू पढ्नुहोस् र मेरो भनाइको सारमाथि विचार गर्नुहोस् –
यो वैश्यः स्याद् बहुपशुर्हीनक्रतुरसोमपः । कुटुम्बात्तस्य तद् द्रव्यमाहरेद्यज्ञसिद्धये ।।मनु. ११।१२।।
अर्थः यज्ञले हीन भएको, सोमरसको पान गर्ने वैश्यका धेरै पशुधन छन् भने (क्षत्रीहरू र अझ खास गरी बाहुनहरूको) यज्ञ पूरा गर्न त्यसका ती धन त्यसको घर–परिवारबाट खोसेर लेओस् ।
सारांश के भने जुन वैश्यले पासमा प्रचुर धन भएर पनि कंजुस्याइँ गरेर यज्ञादि शुभकर्म गर्दैन, त्यसको धन जबर्जस्ती खोसेर लिई कुनै बाहुन वा क्षत्रीको यज्ञमा खर्च गरोस् ।
पाठकवृन्द ! बुझ्नुभो तपाईंहरूले मनुको यस अर्डिनेन्स (अध्यादेश)को उद्देश्य ? यदि बुझ्नुभएको छैन भने आउनोस्, म बुझाइदिन्छु । यज्ञ गरिएमा सबभन्दा धेरै लाभ कसलाई हुन्छ ? अथवा यसो भन्नोस् लाभको सिंहभाग (Lion's Share) कसको घरमा पुग्छ ?
पूरी–कचौरी, मेवा, मोहनभोग (हलुवा), मालपुआ–मोतीचूर (मुगीको लड्डु), घिउ, नौनी, दूधको तर, बर्फी–बालूसाही, पेंडा–जिलेबी आदि विविध स्वादिष्ट व्यञ्जनमाथि तर मार्ने काम कसले गर्छ ? दोसल्ला आदि बहुमूल्य लुगा र दूधालु गाईहरू कसले सित्तैमा पाउँछ ? दान–दक्षिणाको बहानाले मोटामोटा रकमहरूबाट कसको गोजी भरिन्छ ? यी सबै प्रश्नहरूको उत्तर कसको पक्षमा जान्छन् ? जवाफ पाइन्छ – ‘महादेवहरूले’, ‘महादेवहरूको’ (देवहरूमा पनि एकदम ठूला देव अर्थात् बाहुनले, बाहुनहरूको) । तिनै महादेवहरू, जसले पण्डा–पुजारी र गुरु–पुरोहित आदि भएर, अन्धविश्वासी हिन्दू जनतालाई (हुँदै नभएको) हरिलो–भरिलो स्वर्गको मोह देखाउँदै जूका जस्तो बनेर टाँस्सिदै तिनको गाढा कमाइमाथि मोज गरिरहेको गरिरहेकै छन् तथा तिनको जीवनरक्तलाई चुसिरहेको, चुसिरहेकै छन् । धनवान् वैश्य आफैंले स्वयं यज्ञादि गर्ने गरिरह्यो भने त्यसको धन ब्राह्मणहरूको हकमा खपत भइरहने हुन्छ र त्यसैले यज्ञ गर्ने त्यस्तो वैश्यको धन लुटिरहनुपर्ने कुनै आवश्यकता हुने भएन । होइन भने, जुन वैश्यले बाहुनलाई दान, मान आदिद्वारा खुशी पारेर राख्दैन, त्यस्तो उसको धन चाहिँ लुट्नै पर्छ । यही यस श्लोकको आशय हो ।
यज्ञ नगरेको बहानामा वैश्यहरूको धन लुटियो । तर शूद्रहरूमाथि भने यो बहाना लागू हुने कुरै आएन, किन कि ऊ यज्ञको अधिकारी नै होइन । अतः यज्ञ पूर्तिको लागि त्यसको धन त्यसै खोसेर लिए हुन्छ, लिनुपर्छ (मनु. ११।१३) –
आहरेत् त्रीणि वा द्वे वा कामं शूद्रस्य वेश्मनः । न हि शूद्रस्य यज्ञेषु कश्चिदस्ति परिग्रहः ।
अर्थः यज्ञका तीन वा दुई अंग अपूर्ण रहन गए भने (वैश्यको धनको अभावमा) शूद्रको घरबाट धन अपहरण गरेर त्यस यज्ञलाई पूरा गरोस् ।
अभिप्राय के भने शूद्रको धन छाड्न पनि सकिन्छ, खोसेर लिन पनि सकिन्छ । यो कुरा त्यसले कुनै यज्ञ गर्नुमा निर्भर छैन । अर्थात् त्यसको धन सर्वदा हरणयोग्य छ । यज्ञसंबन्धी नियम वैश्यहरूमाथि झैं शूद्रहरूमाथि लागू छैन, किन कि तिनीहरू यज्ञका अधिकारी होइनन् । मनुस्मृतिका टीकाकार कुल्लूक भट्टले त आफ्नो यज्ञपूर्तिको निमित्त वैश्य–शूद्रहरूको धन बाहुनहरूले चोरेर लिनुसम्मलाई पनि ठीक भनेर बताएका छन् ।
यहाँसम्म त वैश्य–शूद्रहरूको धन यज्ञपूर्तिको बहानामा खोसेर लिनुपर्छ भनी यहाँसम्मको आदेश दिइयो, तर शूद्रहरूलाई वैश्यहरूलाई भन्दा झन् बढी कडाइ गरियो । तिनीहरूलाई धनोपार्जन गर्न नै निषेध गरियो र ती शूद्रहरूको धन, जतिखेर चाहियो, त्यतिखेर खोसेर लिने गरून् भनेर बाहुनहरूलाई अनुमति दिइयो (मनु. ८।४१७) –
शक्तेनापि हि शूद्रेण न काøर्यो धनसंचयः । शूद्रो हि धनमासाद्य ब्राह्मणानेव बाधते ।।
विस्रब्धं ब्राह्मणः शूद्राद् द्रव्योपादानमाचरेत् । न हि तस्यास्ति किचित्स्वं भत्र्तृहार्य धनो हि सः
अर्थः समर्थै भए पनि शूद्रले धनको संचय नगरोस्, किनभने धन पाएपछि शूद्रले बाहुनलाई पीडा पु¥याउँछ । शूद्रको धन लिनलाई बाहुनले कुनै भय वा संकोच लिन पर्दैन, त्यो उचित छ; किन कि शूद्रको आफ्नो भन्नु नै केही छैन । त्यसको धन त्यसको मालिकद्वारा (जहिलेसुकै) हरण गर्न योग्य हुन्छ ।
कारण स्पष्ट छ – यदि शूद्रहरू धनवान् बने भने बाहुनहरूको गुलामी अर्थात् सेवा–टहल–चाकरी कसले गर्ने ? शूद्रहरूलाई सदा दासताको जाँतोमा पिसेर राख्न यस्तायस्ता अमानुषिक कानूनहरू अनेकौं बनाइए ।
यो हो हिन्दू जातिको धर्मशास्त्र, जसले बाहुनहरूलाई कुनै न कुनै बहाना झिकेर आफ्ना सहधर्मी भाइबन्धुहरूको धन लुटेर लिने आदेश दिन्छ । संसारमा इस्लाम, ईसाई, बौद्ध आदि जस्ता अरु पनि धेरै धर्म छन्, तर तिनका धर्मशास्त्रले कुनै पनि किसिमको बहाना बनाएर आफ्ना सहधर्मीहरूलाई लुट्ने आदेश कहिलै दिएका छैनन् । तिनको धार्मिक दृष्टिमा सबै सहधर्मीहरू बराबर छन् । न कुनै ठूलो, न कुनै सानो । उन्नति गर्ने कामको लागि सबैलाई बराबरी अधिकार छ । तिनीहरूको यस अधिकारलाइ कुनै पनि धार्मिक आदेशको बहाना बनाएर वा पारेर कसैले खोस्न, छिन्न सक्तैन । तिनीहरूमा परस्पर यति धेरै प्रेम, सहानुभूति र दृढ संगठन देखिनुको कारण यही हो । यदि आफ्ना सहधर्मीहरूउपर तिनीहरूमध्ये कसैले अत्याचार गर्छ भने त्यो उसले आफ्नो धर्मशास्त्रको नाममा होइन, आफ्नै जवाफदेहीमा गर्छ । तर हिन्दूहरूको कुरा भने अर्कै छ । तिनीहरूले घाँटी रेट्छन् आफ्नै सहधर्मी भाइबन्धुहरूको र त्यो पनि आफ्ना धर्मशास्त्रहरूको दुहाई दिईदिई । धन्य हो यो हिन्दू जाति र धन्य हुन् तिनका धर्मशास्त्रहरू ! आफ्नो देशका सारा धन लुट्ने अपराधी भनेर विदेशीहरूलाई त हामीहरूले पानी पिएर भए पनि सराप्ने गर्छौं, तर आफूहरूले भने स्वयं आफ्नै भाइबन्धुहरूको धन लुटेर लिन मनपरी शास्त्र रच्छौं, बनाउँछौं ! यो कस्तो निर्लज्जताको कुरा हो ! ‘हामीहरूले स्वदेशको धन लुटे पनि स्वदेशमै राख्छौं; र त्यो धन खाँचो पर्दा अरु भाइबन्धुहरूलाई समेत काम लाग्छ’ भन्ने हो भने पनि यो मान्न लायकको उचित कुरा होइन, किन कि यदि एकआपसमा यस्तो सहानुभूति भएको भए, एक त विदेशीहरू यहाँ आउनै पाउँदैनथे; दोस्रो कुरा, हामीले आफ्ना भाइबन्धुहरूलाई लुट्ने काम नै किन गर्थ्यौं ?
शूद्रहरूमाथि भए–गरिएका विशेष अत्याचारहरूको सविस्तार वर्णन
बाहुनवादी शासनकालमा धर्मको नाममा वैश्यहरूलाई भन्दा शूद्रहरूलाई विशेष अत्याचार गर्ने गरिन्थ्यो । अहिलेसम्ममा उक्त अत्याचारको केवल दिग्दर्शन मात्र गरियो; तर अब त्यसको सविस्तार वर्णन गरिन्छ । हिन्दू धर्मशास्त्रहरूको दृष्टिमा शूद्र, स्त्री र पुत्र यी तीनैजना अधन हुन्, अर्थात् यिनीहरू धनका अधिकारी होइनन् (मनु. ८।४१६) –
भार्या पुत्रश्च दासश्च त्रय एवाधनाः स्मृताः । यत्ते समधिगच्छन्ति यस्य ते तस्य तद्धनम् ।।मनु.८।४१६।।
अर्थः स्त्री, पुत्र र दास – यी तीन अधन कहिएका छन्; अर्थात् यिनीहरू धनका अधिकारी होइनन् । अतः यिनीहरूले जे–जति धन प्राप्त गर्छन्, त्यो त्यही व्यक्तिको हुन्छ, जुन व्यक्तिका ती स्त्री आदि हुन् ।
दासकर्म शूद्रहरूको मात्र हो । अतः ‘दास’ शब्दबाट शूद्र नै अभिप्रेत छ ।
पुनश्चः –
शुद्रं तु कारयेद्दास्यं क्रीतमक्रीतमेव वा । दास्यायैव हि सृष्टोऽसौ ब्राह्मणस्य स्वयंभुवा ।।८।४१३।।
अर्थः शूद्र खरीद गरिएको होस्, नहोस्, त्यसबाट दासकर्म (चाहिँ अवश्य) गराओस्; किनभने विधाताले बाहुनको दासकर्म गर्न भनेरै त्यसलाई सृष्टि गरेका हुन् ।
यहाँ ‘क्रीतमक्रीतमेववा’ यस वचनबाट प्राचीन हिन्दूहरूमा दास–वाणिज्य (Slave-Trade) प्रचलित थियो भन्ने कुरा स्पष्ट छ तथा ती दास वा शूद्रहरूमाथि मनमानी अत्याचार हुने गर्दथ्यो भन्ने तथ्य समेत यी विविध श्लोकहरूबाट प्रमाणित हुन्छ । पुनश्चः —
न स्वामिना विसृष्टोऽपि शूद्रो दास्याद्विमुच्यते । निसर्गजं हि तत्तस्य कस्तस्मात्तदपोहति ।।मनु. ८।४१४।।
अर्थः शूद्र आफ्नो स्वामीद्वारा दासकर्मबाट मुक्त गरिए पनि त्यस कर्मबाट उसको छुट्कारा (मुक्ति) हुन सक्तैन; कारण उसको दासत्व स्वभावैले हो । (अतः) त्यसबाट उसलाई कसले मुक्त गर्न सक्छ ?
पुनश्चः –
शूद्राणां मासिकं कार्यं वचनं न्यायवत्र्तिनाम् । वैश्यवच्छौचकल्पश्च द्विजोच्छिष्टं च भोजनम् ।।मनु. ५।१४०।।
अर्थः बाहुन–सेवा–रूपी आफ्नो कर्तव्यको पालन गर्दो/छँदो शूद्रले महिनामा एकपटक आफ्नो क्षौरकर्म (मुण्डन कर्म) गराओस्, जन्म र मरणमा वैश्यले झैं आशौच बारोस् र बाहुनको जूठो पूरा खाओस् ।
महिनामा एकपटक क्षौर कर्म गराउनुको अभिप्राय शूद्र व्यसनी (सोखी) हुन नपाओस् भन्ने हो, किन कि त्यसले आफ्नो परिवारका स्त्री–पुरुषहरू दुवैथरीसित साथ रहेर शुद्ध मनले उनीहरूको (बाहुनहरूको) सेवा गर्नु परेको हुन्छ । त्यसले जूठो अन्न खानुपर्ने हुनुको मतलब त्यस्तो अन्न खेर फाल्नुपर्दा जुन नोक्सान हुने हो, त्यो हुन नपाओस् भन्ने हो । शूद्रको अवस्था घरमा पालिएको कुनै पनि पशुभन्दा फरक छैन । अतः खाने कुराको लागि त्यसलाई त्यस्तो अन्न दिनु नै ठीक हुन्छ ।
पुनश्चः –
उच्छिष्टमन्नं दातव्यं जीर्णानि वसनानि च । पुलकाश्चैव धान्यानां जीर्णाश्चैव परिच्छदः ।।मनु. १०।१२५।।
अर्थः शूद्रलाई भोजनको लागि जूठो अन्न, लगाउनको लागि पुरानो लुगा र ओछ्याउनको लागि धानको पराल, पुरानो डसना आदि दिनुपर्छ ।
पुनश्चः –
न शूद्राय मतिं दद्यान्नोच्छिष्टं न हविष्कृतम् । न चास्योपदिशेद्धम्र्मं न चास्य व्रत्मादिशेत् ।।मनु. ४।८१।।
यो ह्यस्य धम्र्ममाचष्टे यश्चैवादिशति व्रतम् । सोऽसंवृतं नाम तमः सह तेनैव मज्जति ।।मनु. ४।८१।।
अर्थः शूद्रलाई बुद्धि दिन हुँदैन । आफ्नो सेवकदेखि बाहेक अर्को कुनै शूद्रलाई जूठो पुरा र हव्यको हुतावशिष्ट (होमिसकेपछि बाँकी रहेको) भाग नदेओस् । शूद्रलाई धर्मको उपदेश नगरोस् वा कुनै व्रतको उपदेश पनि नदेओस् । जुन पुरुषले शूद्रलाई धर्मोपदेश वा प्रायश्चितादि कुनै व्रतको उपदेश दिन्छ, ऊ त्यस शूद्रको साथमा असंवृत्त नामक नरकमा डुब्न पुग्छ ।
यहाँनेर मनुले (४।८० मा) शूद्रलाई जूठो अन्न दिन हुँदैन भनेर लेख्छन् भने केही पछि गएर (५।४० मा) खानलाई शूद्रलाई जूठो अन्न दिनुपर्छ भनेर लेखेका छन् । यी दुई परस्पर विरोधी आदेशहरूको संगति यसरी लगाइन्छ – जो शूद्र आफ्नै सेवक हो, त्यसलाई मात्र जूठो दिनुपर्छ, अर्को कुनै शूद्रलाई होइन । जो जुन चीजको हकदार हो, त्यो त्यसैलाई मिल्नुपर्छ, अर्कोलाई होइन । यही न्याय हो । शूद्रलाई कुनै अन्य धर्मको उपदेश दिन नहुने भए पनि द्विजसेवाको उपदेश भने अवश्य दिनुपर्छ; अन्यथा त्यसले यथाविधि द्विजहरूको सेवा कसरी गर्न सक्ला ? यही स्मृतिकारहरूको मत छ । उक्त दुवै श्लोक केही परिवर्तनको साथ वशिष्ठ स्मृति, अध्याय १८ मा ‘यमोक्त’ भनेर आएका छन् ।
शूद्रहरूमाथि गर्ने गरिएको अत्याचारको यहाँसम्मको वर्णन मामुली हो । यसपछि जुन अत्याचारहरूको वर्णन छ, त्यो कस्तो पैशाचिक छ भने त्यसको हृदयविदारक विवरण सुनेपछि मानव–हृदय थरथर काँप्छ । मन्वादि धर्मशास्त्रकारहरूले दिएको दण्ड–विधानमा यी अत्याचारहरूको स्वरूप देख्न पाइन्छ –
शतं ब्राह्मणमाक्रुश्य क्षत्रियो दण्डमर्हति । वैश्योप्यद्र्धशतं द्वे वा शूद्रस्तु वधमर्हति ।।मनु. ८।२६७।।
अर्थः कुनै ब्राह्मणप्रति दुर्वचन बोलेमा क्षत्रियलाई एक सय पण (मुद्रा–विशेष)को दण्ड लगाओस् । यही अपराधको लागि वैश्यलाई डेढ सय वा दुई सय पणको दण्ड देओस्; तर यही अपराधको लागि शूद्रहरूलाई चाहिँ मारी नै देओस् ।
८० कौडीको एक पण हुन्छ, यथा – “अशीतिभिर्वराटकैः पण इत्यभिधीयते ।” वर्तमान समयमा एक पैसाले १६ गंडा कौडी अर्थात् ६४ कौडी पाइन्छन्; अतः त्यतिखेर एक पण सवा पैसाको बराबर थियो होला । आश्चर्य के भने, जुन अपराधको लागि क्षत्रियलाई १०० पण = १२५ पैसा र वैश्यलाई बढीभन्दा बढी यसको दुगुना अर्थात् तीन रूपैयाँसम्म जरिवाना हुन्थ्यो, त्यही अपराधको लागि शूद्रले आफ्नो प्राणै गुमाउनुपथ्र्यो । कस्तो भयंकर अन्याय तथा अत्याचार हो यो !
पुनश्चः –
एकजातिद्र्विजातींस्तु वाचा दारुणता क्षिपन् । जिह्वायाः प्राप्नुयाच्छेदं जघन्यप्रभवो हि सः ।।मनु ८।२७०।।
अर्थः शूद्र जातिले बाहुन आदि तीन वर्णहरूलाई कठोर वचन बोलेर आक्षेप गरेमा त्यस शूद्रको जिभ्रै काट्नुपर्छ; किनभने त्यो सबैभन्दा नीच वर्णमा उत्पन्न भएको हो ।
पुनश्चः –
नामजातिग्रहं त्वेषामभिद्रोहेण कुर्वतः । निक्षेप्योऽयोमयः शंकुज्र्वलन्नास्ये दशांगुलः ।।मनु. ८।२१७।।
अर्थः शूद्रले यदि कुनै द्विजको नाम र जाति उच्चारण गर्दै (जस्तो कि यज्ञदत्त ब्राह्मण अधम हो, यसरी बोल्दै) निन्दा गर्यो भने आगोले रातो पारिएको, दश अंगुल लामो फलामको डण्डी त्यसको मुखमा घुसाइदेओस् ।
पुनश्चः –
धर्मोपदेशं दर्पेण विप्राणामस्य कुर्वतः । तप्तमासेचयेत्तेलं वक्ते श्रोत्रे च पार्थिवः ।।मनु. ८।२७२।।
अर्थः यदि शूद्रले घमण्ड गरेर बाहुनलाई “तिमीले यो धर्म गर्नुपर्छ” भन्ने यस्तो धर्मोपदेश गर्छ भने राजाले त्यस शूद्रका मुखमा र कानमा उम्लेको तातो तेल खन्याइदेओस् ।
पुनश्चः –
येन केनचिदङ्गेन हिंस्याच्चेच्छ«ेष्ठमन्त्यजः । छेत्तव्यं तत्तदेवास्य तन्मनोरनुशासनम् ।।मनु. ८।२७९।।
अर्थः शूद्रले श्रेष्ठ जातिलाई आफ्ना हात–खुट्टा आदि जुन अंगले प्रहार गर्छ, राजाले त्यसको त्यही अंग काटिदेओस् । यो मनुको आज्ञा हो ।
पुनश्चः –
पाणिमुद्यम्य दण्डं वा पाणिच्छेदनमर्हति । पादेन प्रहरन् कोपात् पादच्छेदनमर्हति ।।मनु. ८।२८०।।
अर्थः शूद्रले श्रेष्ठ जातिलाई हान्न भनेर हात र डण्डा उठायो भने त्यसको हातै काट्न लगाउनुपर्छ र यदि रिसाएर खुट्टाले प्रहार गर्यो भने त्यसको खुट्टै काटिदिनुपर्छ ।
पुनश्चः –
सहासनमभिप्रेप्सुरुत्कृष्टस्यापकृष्टजः । कट्यां कृताङ्को निर्वास्य स्फिचं वास्यावकत्र्तयेत् ।।मनु. ८।२८१।।
अर्थः शूद्र बाहुनसित एकै आसनमा बस्यो भने राजाले तताएको फलामको डण्डीले त्यसको कम्मर डामेर त्यसलाई देशैबाट निकालिदेओस् अथवा त्यसको नितम्ब नै (चाक) काट्न लगाओस् ।
पुनश्चः –
अलनिष्ठीवतो दर्पाद् द्वावौष्ठौ छेदयेन्नृपः । अवमूत्रयतो मेढ्रमवशर्धयतो गुदम् ।।मनु. ८।२८२।।
अर्थः शूद्रले घमण्ड गरेर बाहुनको शरीरमा थुक्यो भने राजाले त्यसका दुवै ओंठ काट्न लगाओस्; पिसाब गर्यो भने मूत्रेन्द्रियलाई र अधोवायु छोड्यो भने (पाद्यो भने) गुदा नै काट्न लगाओस् ।
पुनश्चः –
केशेषु गृण्हतो हस्तौ छेदयेदविचारयन् । पादयोर्दाढिकायां च ग्रीवायां वृषणेषु च ।।मनु. ८।२८३।।
अर्थः शूद्रले अहंकारवश कुनै बाहुनको कपाल, दाह्री, गर्दन वा अण्डकोषलाई समात्यो भने राजाले कुनै विचारै नगरिकन त्यस शूद्रको हात काट्न लगाओस् ।
पुनश्चः –
मार्जारनकुलौ हत्वा चाषं मंडूकमेव च । श्वगोधोलूककाकांश्च शूद्रहत्याव्रतं चरेत् ।।मनु. ११।१३२।।
अर्थः बिरालो, न्याउरी मूसा, नीलकंठ (नीलो घाटी भएको) चरा, भ्यागुता, कुक्कुर, छेपारो, लाटोकोसेरो र कागको हत्या गर्दा जुन प्रायश्चित गर्नु पर्छ, त्यही प्रायश्चित शूद्र–हत्या गर्दा गरोस् ।
अभिप्राय के भने मनुको मत अनुसार शूद्रको ज्यान कुक्कुर–बिरालाको ज्यानभन्दा ठूलो छैन ।
यहाँसम्म त शूद्रको विषयमा मनुका विचारहरू के–कस्ता रहेछन्, ती देखाइए । अब अन्य स्मृतिकारहरूको पनि शूद्र संबन्धी विचार के–कस्तो रहेछ, त्यो बुझौं । महर्षि अत्रि लेख्तछन् –
वध्यो राज्ञा स वै शूद्रो जपहोमपरश्च यः । ततो राष्ट्रस्य हंताऽसौ यथा वन्हेश्च वै जलम् ।।अत्रि. १९।।
अर्थः राजाले जप–होम आदि ब्राह्मणोचित कर्म गर्ने शूद्रलाई मारिदिनु नै उचित छ, किन कि पानीले आगोलाई जसरी नष्ट गर्छ, जप–होम आदि गर्ने शूद्रले पूरै राज्यलाई त्यसरी नै नष्ट गर्छ ।
उपरोक्त त्यही शास्त्रीय विधान अनुसार भगवान् रामचन्द्रले शम्बूक शूद्रको गर्दन काटेका थिए । यस्तो भएर पनि शूद्रहरूले रामनामको जप गर्ने र रामचन्द्रप्रति असीम श्रद्धा, भक्ति राख्ने गर्छन् । कस्तो आश्चर्य ! जो यसप्रकारले आत्मसम्मानहीन छन्, तिनीहरू साँच्चै शूद्र नै हुन् । विष्णुजी महाराज लेख्छन् ृविष्णु (रहस्य ?) ५।११।। –
प्राणानर्थांस्तथा दारान् ब्राह्मणार्थे निवेदयेत् । स शूद्रजातिर्भोज्यः स्यादभोज्यः शेष उच्यते ।।
अर्थः जुन शूद्रले आफ्नो प्राण, धन तथा पत्नीलाई बाहुनको सेवामा अर्पण गरिदिन्छ, त्यस शूद्रको अन्न भोजन गर्न योग्य हुन्छ । बाँकी शूद्रहरूको अन्न भोजन गर्न योग्य हुँदैन ।
कुरा सो¥है आना ठीक । भला जुन शूद्रले बाहुन बाबाको सेवामा आफ्नी प्रियासम्म अर्पण गरिदिन्छ, त्यस्तो शूद्रको अन्न किन नखाने ? ! ! हारीतजी लेख्छन् –
धारणं जीर्णवस्रस्य विप्रस्योच्छिष्ट भोजनम् । स्वदारेषु रतिश्चैव परदारविवर्जनम् ।।२।१३।।
इत्थं कुर्यात्सदाशूद्रो मनोवाक्कायकर्मभिः । स्थानमैन्द्रमवाप्नोति नष्टपापः सुपुण्यकृत् ।।२।१४।।
अर्थः शूद्रले पुरानो लुगा लगाओस्, बाहुनको जूठो पुरा खाओस्; आफ्नै स्त्रीसित प्रेम गरोस् तथा अर्काकी स्त्रीदेखि टाढै रहोस् । शूद्रले सदासर्वदा मन–वचन–कर्मले यसकिसिमको आचरण गर्यो भने त्यसका सबै पाप नष्ट हुन्छन् र पुण्यको प्रभावले त्यो इन्द्रको पदवीमा प्राप्त हुन्छ ।
स्याबास ! हारीत भाइ, स्याबास ! ! यसैलाई भनिन्छ बुद्धूहरूलाई स्वर्ग देखाएर आफ्नो दुनो सोझ्याउनु । जुन इन्द्र–पदलाई चक्रवर्ती भएका क्षत्रिय नरेशगणसम्मले एक सयवटा अश्वमेध यज्ञ पूरा नगरिकन पाउन सक्तैनथे तथा जुन पदलाई सुरक्षित राख्न बिचरा इन्द्रले पटक–पटक आश्वमेधिक घोडा चोर्ने गर्दथे, त्यस्तो पदलाई तपाईंले शूद्रहरूलाई त्यसै सित्तैमा प्राप्त हुने सुव्यवस्था मिलाई दिनुभयो, होइन ? भला कुन त्यस्तो मूर्ख होला, जसले यस्तो सुलभ ऐन्द्र–पदलाई प्राप्त गर्ने लालसा राखोइन ? पाठकवृन्द ! शूद्रहरूको बुद्धूपन र हिन्दू शास्त्रकारहरूको धूर्ततामाथि शान्त चित्त भएर विचार गर्नोस् । शूद्रहरूलाई भोजनको लागि केवल जूठो अन्न, लगाउनको लागि केवल फाटेको पुरानो, थोत्रो थाङ्ना लुगा दिएर ‘यस्तो ग¥यौ भने तिमीहरूले इन्द्रको पद पाउनेछौ’ भन्ने झूठो प्रलोभन दिंदै खास कुनै खर्च नै नगरी तिनीहरूबाट जीवनभरि गुलामी गराउँदै रहनोस् । भला यसभन्दा ठूलो चलाकी अरु के होला ? यसको जोडाको ठग–विद्या संसारको कुनै पनि देशको इतिहासमा पाइँदैन । प्राचीन रोम, ग्रीस, कार्थेज, मिश्र, असीरिया, बेबिलोन, फारस आदि सबै देशमा दासप्रथा प्रचलित थियो; तर ‘मन–वचन–कर्मले आफ्ना मालिकहरूको रक्षा र सेवा–सुश्रुषा गर्यौ भने तिमीले स्वर्ग पाउनेछौ’ वा ‘तिमी त्यहाँको कुनै ठूलै देवदूत वा देवदूतहरूको पनि सरदार (नायक) हुनेछौ’ भनेर धोखा दिएर त्यहाँका दासदासीहरू (कमारा–कमारीहरू)बाट यसरी कहिलै गुलामी, चाकरी गराईंदैन थियो । अब महर्षि गौतमको शूद्र–विषयक दण्ड–विधान हेर्नोस् –
शुद्रो द्विजातीनभिसन्धायाभिहत्य च वाग्दंड – पौरुष्याभ्यामंगंमोच्यो येनोपहन्यात् (।।१।।) आर्यस्त्र्यभिगमने लिंगोद्धारः स्वप्रहरणं च (।।२।।) गोप्ता चेद्वधोधिकः (।।३।।) अथ हास्य वेदमुपश्रृण्वतस्वपु–जतुभ्यां श्रोत्रपरिपूरणम् उदाहरणे जिव्हाच्छेदः धारणे शरीरभेदः (।।४।।)
आसन–शयन–वाक्पथिषु समप्रेप्सुर्दंड्यः (।।५।।) शतम् (क्षत्त्रियो ब्राह्मणाक्रोशे ।।६।।) अध्याय १२।।
अर्थः शूद्रले यदि कुनै द्विजप्रति तिरस्कारयुक्त वचन बोल्यो र कठोर भावले प्रहार गर्यो भने त्यसले जुन अंगले प्रहार गरेको हो, राजाले त्यसको त्यही अंगलाई काट्न लगाओस् । आफूभन्दा ठूलाकी स्त्रीसित त्यसले गमन गर्यो भने राजाले त्यसको लिंग नै काट्न लगाओस् अथवा स्वयं त्यसैले आफ्नो ज्यान देओस् । पछि केही गरी कुनै किसिमले त्यसले आफ्नो ज्यान जोगाएको पाइयो भने राजाले अधिक दण्डस्वरूप त्यसको वध गरोस् । शूद्रले कुनै वेद सुन्यो भने राजाले शीशा र लाहा पगालेर त्यसको दुवै कान भरिदेओस् । त्यसले वेदमन्त्रको उच्चारण गर्यो भने राजाले त्यसको जिभ्रै काटिदेओस् । त्यसले वेदमन्त्रहरूको संझना गर्यो भने राजाले त्यसको शरीर नै काट्न लगाओस् । यदि त्यसले उच्च जातिहरूसँग आसन, बिछ्यौना, कुराकानी आदिमा र बाटो हिंड्नमा बराबरी गर्यो भने राजाले त्यसलाई सय पणको दण्ड देओस् ।
महर्षि वशिष्ठले आफ्नो स्मृतिको १८ औं अध्यायमा मनुको ‘न शूद्राय मतिंदद्यात्’ (४।८०)
(शूद्रहरूलाई बुद्धि नदेओस्) तथा ‘योह्यस्य धर्ममाचष्टे’ (४।८१) (कसैले शूद्रलाई धर्म वा प्रायश्चितादि कुनै व्रतको उपदेश गर्यो भने ...) गरी यी दुवै श्लोकका केही शब्द मात्र फेरेर उद्धृत गर्दै उनीसित आफ्नो ऐकमत्य (एकमतको भएको भाव) देखाएका छन् अर्थात् उनी पनि मनुले झैं शूद्रहरूलाई कुनै किसिमको शिक्षा दिन चाहँदैनन् ।
साभार : बालकृष्ण श्रेष्ठ नेभाद्वारा अनुदित 'हिन्दु जातिको उत्थान र पतन' पुस्तकबाट
प्रतिक्रिया