ब्रम्हाण्ड सम्बन्धी ठूला प्रश्नहरूको संक्षिप्त उत्तर

स्टेफेन हकिङको 'ब्रिफ एन्सर्स टु द बिग क्वेसन्स'  पुस्तकको सारांशसहितको विश्लेषण

'ठूला प्रश्नहरूको संक्षिप्त उत्तर' (Brief Answers to the Big Questions) महान वैज्ञानिक स्टेफेन हकिङ (८ जनवरी १९४२- १४ मार्च २०१८)  द्वारा लेखिएको अन्तिम पुस्तक हो । यो पुस्तकमा हकिङको जीवनभरिको अनुसन्धान र चिन्तनको सारसंक्षेप प्रस्तुत गरिएको छ ।  यो पुस्तकमा विज्ञानका विषयहरू मात्रै उल्लेख गरिएको छैन,  यसमा दर्शन, जिज्ञासा र मानवीय यात्राका मूलभूत प्रश्नहरूमाथि गहनतापूर्वक विचार-विमर्श प्रस्तुत गरिएको छ । यसमा ब्रम्हाण्ड, ईश्वर, 'ब्ल्याक होल',  कृत्रिम बौद्धिकता र मानवताका भविष्य जस्ता गहन विषयहरूमा सरल र स्पष्ट उत्तर दिइएको छ । हकिङले यो पुस्तकमा मानवजातिका लागि सबभन्दा ठूला र महत्त्वपूर्ण प्रश्नहरूको उत्तर दिने प्रयास गरेका छन् । उनका अनुसार ठूला प्रश्नहरूको उत्तर खोज्नु वैज्ञानिकहरूको मात्र काम होइन,  यो हरेक मनिसको जिम्मेवारी हो । हरेक व्यक्तिले महत्त्वपूर्ण प्रश्नहरूको बारेमा सोच्न सकोस् भनेर हकिङले विज्ञानलाई जनताको निकट ल्याउने काम गरे । यो पुस्तक विज्ञानप्रेमीहरूको लागि मात्र नभएर जीवनका ठूला प्रश्नहरूमा रुचि राख्ने हरेक व्यक्तिको लागि धेरै महत्त्वपूर्ण छ । हकिङको मूल सन्देश नै  'हामीले ज्ञानको खोजी जारी राख्नुपर्छ र आफ्नो ग्रह र सभ्यताको रक्षा गर्नुपर्छ'  भन्ने हो ।

विस्तृत परिचय

मानवजातिको मनमस्तिष्कमा सधैं हामी कहाँबाट आयौं र ब्रम्हाण्ड कसरी बन्यो भन्ने प्रश्न उब्जँदै आएको छ । यो प्रश्नले ब्रम्हाण्ड र हामी स्वयंलाई बुझ्नमा मद्दत गर्दछ । यी प्रश्नहरूको उत्तर खोज्ने काम सहज नभए पनि यो यात्रा धेरै महत्त्वपूर्ण हुन्छ । हकिङका अनुसार जिज्ञासा मानिसको सबभन्दा ठूलो शक्ति हो; यसले मानिसलाई अज्ञातबाट ज्ञात अवस्थातिर लिएर जान्छ  । हामीले प्रश्न गर्न थालेपछि उत्तर मात्र खोज्दैनौं,  हामीभित्रको संभावनाको पनि खोजी गर्दछौं । यो प्रक्रिया नै जीवनको सार हो । विज्ञान र मानवता एक-अर्कोबाट अलग छैनन् । विज्ञानले ब्रम्हाण्डलाई बुझ्न मात्र मद्दत गर्दैन,  यसले जीवनलाई कसरी उत्कृष्ट बनाउने भन्ने कुरा पनि सिकाउँछ । विज्ञानले हामीसँग भएको चीज कति अमूल्य छ भन्ने कुरा पनि सिकाउँछ ।

हकिङका अनुसार जिज्ञासा मानिसको सबभन्दा ठूलो शक्ति हो; यसले मानिसलाई अज्ञातबाट ज्ञात अवस्थातिर लिएर जान्छ  । हामीले प्रश्न गर्न थालेपछि उत्तर मात्र खोज्दैनौं,  हामीभित्रको संभावनाको पनि खोजी गर्दछौं । यो प्रक्रिया नै जीवनको सार हो ।

हकिङले आफ्नो जीवनका अनुभवहरूलाई साझा गर्दै जीवनमा कठिनाइहरू हाम्रो मार्गका हिस्सा हुन् भन्ने कुरा स्पष्ट बनाए । उनले आफ्नो जटील शारीरिक अवस्था र खराब स्वास्थ्य स्थितिलाई कहिल्यै आफ्नो कमजोरी बन्न दिएनन्,  बरु उनले यसलाई शक्तिमा बदलिदिए । बिरामी एक चुनौती भए पनि उनलाई यसले अझ बढी सोच्न प्रेरित गरिरह्यो । हकिङका अनुसार विज्ञान केवल तथ्याङ्क मात्र होइन, यो कल्पना, रचनात्मकता र सपना पनि हो । हामीले प्रश्न गरेको बेला कल्पनाशीलतामा हुन्छौं, यो कल्पनाले नयाँ खोजतिर लिएर जान्छ । हामीले प्रश्न गर्दा ब्रम्हाण्डको बारेमा मात्र सोच्दैनौं, आफ्नो अस्तित्वको बारेमा पनि सोचिरहेका हुन्छौं ।

हकिङका अनुसार विज्ञान केवल तथ्याङ्क मात्र होइन, यो कल्पना, रचनात्मकता र सपना पनि हो । हामीले प्रश्न गरेको बेला कल्पनाशीलतामा हुन्छौं, यो कल्पनाले नयाँ खोजतिर लिएर जान्छ ।

विज्ञानको उद्देश्य ज्ञान प्राप्त गर्नु मात्र होइन, यसको उद्देश्य मानवताको लागि केही उत्कृष्ट काम गर्नु पनि हो । विज्ञान र प्रविधिले हाम्रा सामु भएका जटिल समस्याहरूको समाधान गर्नुपर्छ । हामीमा ठूला प्रश्नहरू सोध्ने साहस हुनुपर्छ र यो धेरै महत्त्वपूर्ण हुन्छ । यी प्रश्नहरूले हामीलाई सीमाभन्दा पर लैजान्छन् । यिनीहरूले हामीलाई हाम्रो सीमा दिमागमा छ भन्ने कुरा सिकाउँछन् । ठूला प्रश्नहरू सोध्नुको अर्थ केवल प्रश्न गर्नु मात्र होइन, यसको अर्थ हामीले आफ्नो जीवनलाई उत्कृष्ट बनाउनको लागि प्रयास गर्नु पनि हो ।

हकिङको यो पुस्तक एउटा पुस्तक मात्र होइन, यो एक यात्रा पनि हो । यसले हामीलाई आफ्ना प्रश्नहरूको उत्तर खोज्नको लागि उत्प्रेरित गर्दछ । कुनै पनि व्यक्तिभित्र जिज्ञासा गुप्त रहेको हुन्छ, यो जिज्ञासाले नै प्रश्न सोध्नको लागि प्रेरित गर्छ र यसबाट नै हामी विज्ञानको दिशामा अगाडि बढ्छौं । जीवनमा आउने हरेक चुनौतीहरूले हामीलाई रोक्नुहुँदैन । मानिसको शक्ति उसको सोचमा हुन्छ । मानिसले आफ्ना सीमाहरूलाई स्वीकार गरेर अगाडि बढ्ने कोशिस गर्दा मात्र असाधारण कार्य गर्न सक्छ ।

हकिङका अनुसार विज्ञान आम जनताको लागि सुलभ हुनुपर्छ । विज्ञानमा जटिल भाषा भयो भने यसलाई केवल केही मानिसहरूमा मात्र सीमित बनाइदिन्छ । तर यसलाई सरल र रोचक बनाएको खण्डमा जोकोहीले विज्ञान सिक्न सक्छ । हकिङले यो पुस्तकमार्फत् सबैलाई हाम्रो ब्रम्हाण्ड कस्तो छ भन्ने कुरा सिकाउन चाहन्छन् । उनका अनुसार ठूला प्रश्न सोध्नको लागि कुनै विशेष योग्यताको आवश्यकता पर्दैन; यो हरेक व्यक्तिको अधिकार र कर्तव्य हो । यी प्रश्नहरूको उत्तर खोज्नु हाम्रो लागि मात्र होइन, आउने पुस्ताको लागि पनि महत्त्वपूर्ण हुन्छ । हामीले मानिस अर्को ग्रहमा पनि रहन सक्छ भन्ने प्रश्न सोधेको खण्डमा यो केवल विज्ञानको प्रश्न मात्र हुँदैन, यो त मानवताको अस्तित्वको सवाल हुन्छ ।

हकिङका अनुसार विज्ञान आम जनताको लागि सुलभ हुनुपर्छ । विज्ञानमा जटिल भाषा भयो भने यसलाई केवल केही मानिसहरूमा मात्र सीमित बनाइदिन्छ । तर यसलाई सरल र रोचक बनाएको खण्डमा जोकोहीले विज्ञान सिक्न सक्छ ।

आजको जमानामा ठूला प्रश्नहरूको महत्त्व पहिलेभन्दा धेरै बढी रहेको छ । जलवायु परिवर्तन, प्रविधिको बढ्दो उपयोग र सामाजिक असमानता जस्ता मुद्दा हाम्रो सामु छन् । त्यसकारण हामीले यी ठूला प्रश्नहरूको समाधान गरेनौं भने हाम्रो प्रगति अबरुद्ध हुन सक्छ । ठूला प्रश्न सोध्नाले हामीलाई स्वतन्त्रता प्रदान गर्दछ । हामीले प्रश्न गरेपछि स्वयंलाई सीमाबाट मुक्त गर्दछौं  । यो प्रक्रियाले हामीलाई हाम्रो अस्तित्व कति अद्भूत छ भन्ने कुरा सोच्न बाध्य बनाउँछ । हामीले ब्रम्हाण्डलाई बुझ्ने यात्रामा हामी यसको केवल एउटा अत्यन्तै सानो हिस्सा हौं भन्ने कुरा बुझ्नुपर्छ । यो बुझाईले हामीलाई विनम्र बनाउँछ र हामीलाई आफ्नो ग्रह एवम् एक-अर्कोप्रति जिम्मेवारी महसुस गर्नुपर्छ भन्ने कुरा सिकाउँछ ।

हकिङका अनुसार ठूला प्रश्नहरू सोध्नुको अर्थ केवल ज्ञान प्राप्त गर्नु मात्र होइन, यसको अर्थ हामीले आफ्नो ज्ञानको उपयोग आफू र अरुको जीवनलाई उत्कृष्ट बनाउनको लागि गर्नु पनि हो । त्यसकारण यो पुस्तक केवल प्रश्नहरूको उत्तर दिनको लागि मात्र तयार गरिएको होइन, यो मानिसलाई सोच्न, बुझ्न र आफ्नो जीवनमा परिवर्तन ल्याउनको लागि प्रेरित गर्ने एक माध्यम हो । हामीले ब्रम्हाण्ड, जीवन र आफ्नो अस्तित्वको बारेमा सोच्दा यी ठूला प्रश्नहरूको आमनेसामने हुन्छौं । मानिसको जिज्ञासा र ठूला प्रश्न सोध्ने प्रवृत्ति नै मानवजातिलाई अगाडि बढाउने शक्ति हो । हामी प्रायः हाम्रो अस्तित्व किन छ  ?  यो ब्रम्हाण्ड किन छ ?  समयको शुरुवात कहिले र कसरी भयो ?  जस्ता प्रश्नको बारेमा सोच्ने गर्दछौं । यी प्रश्न वैज्ञानिक मात्र होइनन्, यिनीहरू अस्तित्वका मूलभूत प्रश्न हुन् । यिनीहरूले हाम्रो चेतना र अस्तित्वलाई गहिराईपूर्वक छुन्छन् ।

मानवताले आफ्नो शुरुवातदेखि नै ठूला प्रश्नहरू गरेका हुन् । मानवको कहानी गुफाहरूबाट शुरु भएको थियो । हाम्रा पूर्वजहरूले आकाशतिर हेरेर ताराहरूको ढाँचालाई बुझ्ने प्रयास गरेपछि उनीहरू यो विशाल र अज्ञात संसारले कसरी काम गर्छ भन्ने कुरा बुझ्नको लागि बेचैन भए । यही बेचैनी नै मानवजातिको सबभन्दा ठूलो शक्ति बन्यो । यद्यपि ठूला प्रश्नहरूको उत्तर खोज्ने काम सहज भने छैन । यसमा वर्षौंको अनुसन्धान, अनगिन्ती असफलता र धेरैपटक पूर्ण रूपमा नयाँ सोचहरूको आवश्यकता हुन्छ । यी कठिन मार्गमा अगाडि बढ्नको लागि हामीभित्र साहस र धैर्यको आवश्यकता हुन्छ ।

विज्ञान र दर्शनको माध्यमबाट मानिसले कयौं ठूला प्रश्नहरूको उत्तर खोजेका छन्  । मानिसले 'बिग ब्याङ'  र 'ब्ल्याक होल' को सिद्धान्तबाट ब्रम्हाण्डको उत्पत्तिको बारेमा धेरै राम्रोसँग बुझाए । तर यसको बावजुद हाम्रो सामु अरु धेरै रहस्यहरू छन्  । हामीले के बुझ्नुपर्छ भने हरेक ठूलो उत्तरले एउटा अर्को नयाँ प्रश्नलाई जन्माउँदछ । पृथ्वी गोलो छ भन्ने बुझेपछि हामीले सौर्य मण्डल कति ठूलो छ भन्ने प्रश्न गर्यौं । यसरी नै ग्रह र ताराहरूलाई बुझेपछि यो ब्रम्हाण्ड कति विशाल छ भन्ने प्रश्न उठ्यो । यसको बारेमा जानकारी हासिल गरेपछि फेरि ब्रम्हाण्डको विस्तार भइरहेको छ भने यसको कहिल्यै अन्त हुन्छ कि हुँदैन भन्ने प्रश्न जन्मियो ।

हकिङका अनुसार यो प्रक्रिया एक अनन्त यात्रा हो । ठूला प्रश्न सोध्नुले हामीलाई सीमाभन्दा पर लैजान्छ । यसले हामीलाई आफ्नो दायराभन्दा बाहिर सोच्ने र आफ्नो कल्पनाका सीमाहरूलाई तोड्नका लागि उत्प्रेरित गर्दछ । हामीले ठूला प्रश्न उत्तर खोज्नका लागि मात्र गर्दैनौं,  यसबाट हामीले स्वयंलाई प्रबल महसुस गरिरहेका हुन्छौं । यसबाट हाम्रो अस्तित्व कति अद्भूत र दुर्लभ छ भन्ने कुरा जान्न सकिन्छ । हामीले जिज्ञासालाई कायम राख्दै ठूला सपना देख्न कहिल्यै डराउनु हुँदैन । कुनै पनि सीमाले मानवीय सोचलाई रोक्न सक्दैन । ठूला प्रश्नहरूको सामना गरेपछि कमजोरीलाई शक्तिमा बदल्न सकिन्छ । ठूला प्रश्नहरूको उत्तर वैज्ञानिक खोजहरूसम्म मात्र सीमित हुँदैन,  यसले नैतिकता, मानवता र जिम्मेवारीको बारेमा सोच्न बाध्य बनाउँछ । हामी यहाँ किन छौं भन्ने प्रश्न गर्दा हामी यहाँ के गर्न सक्छौं भन्ने कुरा पनि सोच्नुपर्छ । हाम्रो यो खोजले आफ्ना सीमाहरूलाई पार गर्नलाई प्रेरित गर्दछ । यसले हाम्रो सोच, प्रविधि र प्रयासहरूलाई उत्कृष्ट बनाउनको लागि उत्प्रेरित गर्दछ । ठूला प्रश्नहरू गर्दा आफ्नो लागि मात्र होइन, सम्पूर्ण मानवताको लागि मार्ग खुल्छ ।

हकिङका अनुसार यो प्रक्रियामा सबभन्दा महत्त्वपूर्ण कुरा कहिल्यै हार नमान्नु हुन्छ । ठूला प्रश्न प्रायः जटिल हुन्छन् र तिनीहरूको जवाफ खोज्नु सहज हुँदैन । तर हामीलाई उत्कृष्ट बनाउने प्रक्रिया नै यही हो । त्यसकारण हामीले सदैव ठूला प्रश्न सोध्नुपर्छ, ठूला सपना देख्नुपर्छ र कहिल्यै पनि आफ्नो जिज्ञासालाई मर्न दिनु हुँदैन । यो ब्रम्हाण्ड धेरै विशाल र अद्भूत छ; यसको हरेक भाग हामीलाई केही न केही सिकाउनको लागि तयार छ । हामीले केवल त्यो ज्ञानलाई खोज्ने हिम्मत गर्नुपर्छ । ठूला प्रश्न सोध्ने हिम्मत गर्दा यी प्रश्नहरूको उत्तर तुरुन्तै प्राप्त हुँदैन भन्ने कुरा पनि हामीले बुझ्नुपर्छ ।

https://naked-science.ru

हकिङका अनुसार ठूला प्रश्न प्रायः जटिल हुन्छन् र तिनीहरूको जवाफ खोज्नु सहज हुँदैन । तर हामीलाई उत्कृष्ट बनाउने प्रक्रिया नै यही हो । त्यसकारण हामीले सदैव ठूला प्रश्न सोध्नुपर्छ, ठूला सपना देख्नुपर्छ र कहिल्यै पनि आफ्नो जिज्ञासालाई मर्न दिनु हुँदैन ।

हकिङका अनुसार हरेक सानो कदमले पनि हामीलाई एक ठूलो सच्चाईतिर लिएर जान्छ । यदि वैज्ञानिक ग्यालिलियोले पृथ्वी सूर्यको चारैतिर किन घुम्छ भन्ने प्रश्न नसोधेको भए शायद आज हामी ब्रम्हाण्डको बारेमा यति धेरै कुरा जान्दैनथ्यौं । यो हिम्मत र जिज्ञासाले नै महान वैज्ञानिक न्यूटनलाई गुरुत्वाकर्षणको नियम खोज्नको लागि उत्प्रेरित गरेको हो । यी प्रश्नहरूको पछाडि लुकेका कथाको खोज विज्ञानको मात्र होइन, बरु मानवताको साहस र उत्साहको पनि हो । ठूला प्रश्नहरूले हाम्रो सोचलाई पनि बढाइदिन्छन् । यिनीहरूले हामीलाई जीवनमा कठिनाइहरू जतिसुकै ठूला भए पनि तिनीहरूको सामना गर्न सकिन्छ भन्ने कुरा सिकाउँछन् । हकिङको आफ्नै जिन्दगी यसको जीवन्त उदाहरण हो । उनले आफ्ना हरेक कठिनाहरूलाई कमजोरी बनाएनन्, बरू यसलाई शक्तिमा बदलिदिए ।

ठूला प्रश्नहरूले जीवनको उद्देश्यको बारेमा सोच्नको लागि उत्प्रेरित गर्दछन् । यसले हामीलाई अद्वितीय बनाउँछ । एउटा बच्चाले आकाश किन नीलो छ भनेर गरेको प्रश्नले ब्रम्हाण्डको रहस्यलाई बुझ्न मद्दत गर्छ । शिक्षा र ज्ञान नै यी प्रश्नहरूको उत्तर खोज्ने चाबी हो । एउटा शिक्षित समाज नै ठूला प्रश्नहरूको सामना गर्नको लागि तयार हुन सक्छ । यसकारण जोसुकैले ज्ञानयात्रामा भाग लिन सकून् भनेर  विज्ञान प्रविधिलाई हरेक व्यक्तिकोमा पुर्‍याउनु जरुरी हुन्छ । ठूला प्रश्न सोध्नाले नयाँ-नयाँ संभावनाहरूको बारेमा ज्ञात हुन्छ । के मानिस चन्द्रमामा जान सक्छ ?  भन्ने प्रश्नको उत्तर केवल एक वैज्ञानिक उपलब्धि मात्र थिएन, यो मानवताको सपना, उसको शक्ति र साहसको प्रतीक पनि थियो । यदि ठूला प्रश्न सोध्न बन्द गरियो भने हामी रोकिन्छौ र यो रोकावटले हाम्रो सभबन्दा ठूलो शक्ति सोच्ने र बुझ्ने क्षमताबाट बन्चित गरिदिन्छ ।

हकिङका अनुसार यदि हामीले आफ्नो अस्तित्व र ब्रम्हाण्डलाई बुझ्ने कोशिस गरेनौं भने हामीले आफ्ना गल्तीहरूलाई दोहोर्‍याउनेछौं । हामीले ब्रम्हाण्ड केवल एक वैज्ञानिक घटना होइन, यो हाम्रो कथाको हिस्सा हो भन्ने बुझ्नुपर्छ । हामीले ब्रम्हाण्डको बारेमा प्रश्न गर्दा आफ्नो जराको बारेमा बुझ्ने कोशिस गरिरहेका हुन्छौं । यो प्रक्रियाले हामी सबै एक-अर्कोसँग जोडिएका छौं भन्ने कुरा बुझ्नको लागि सहयोग गर्दछ । त्यकारण ठूला प्रश्न गर्ने सहासमा नै मानवताको भविष्य टिकेको हुन्छ । यो यात्रा कहिल्यै अन्त्य हुँदैन । हरेक पुस्ताको लागि नयाँ प्रश्न हुनेछन्  र हरेक प्रश्नसँग नयाँ चुनौती हुन्छन् । तर यी प्रश्नहरूको जवाफ खोज्नु नै हाम्रो पहिचान हो । ठूला प्रश्नहरू गर्नु मानवीय बौद्धिकताको परीक्षण मात्र होइन, मानवीय सोच, सहनशक्ति र दृष्टिकोणको प्रतिबिम्ब पनि हो । मानिसले पृथ्वी गोलो छ भन्ने कुरा सोच्दा यो एउटा कल्पना मात्र थियो, तर त्यही कल्पनाले पृथ्वीको परिधि मापन गर्ने र ग्रहहरूको गति बुझ्ने स्थितिसम्म पुर्‍याइदियो । यसबाट के स्पष्ट हुन्छ भने हाम्रो कल्पना र जिज्ञासाले हामीलाई कुनै पनि सीमाभन्दा पर लैजान सक्छ ।

हकिङका अनुसार विज्ञान र नैतिकताले एकसाथ अगाडि बढ्नुर्छ । विज्ञानले चीजहरूले कसरी काम गर्छन् भन्ने कुरा सिकाउँछ, नैतिकताले यी ज्ञानको उपयोग सही ढंगले कसरी गर्ने भन्ने कुरा सिकाउँछ । हामीले प्राविधिक प्रगतिमा मात्र ध्यान दियौं र नैतिकतालाई बेवास्ता गर्यौं भने स्वयंलाई खतरामा पार्न सक्छौं । हकिङको यो दृष्टिकोण वर्तमान समयमा अत्यन्तै सान्दर्भिक देखिन्छ । जलवायु परिवर्तन, कृत्रिम बौद्धिकता र परमाणु हतियार जस्ता मुद्दाले ज्ञानको उपयोग कसरी गरिरहिएको छ भन्ने कुरा सोच्न बाध्य बनाउँछन् । ज्ञान केवल एक शक्ति मात्र होइन, यो एक जिम्मवारी पनि हो ।

असफलता ज्ञानको प्रक्रियाको एक महत्त्वपूर्ण हिस्सा हो । यो यात्रा कहिल्यै अन्त्य हुँदैन ।

ठूला प्रश्नहरू सोध्दा असफलताहरूबाट सिक्ने अवसर प्राप्त हुन्छ । कुनै पनि उत्तर गलत भएको बुझेपछि नै हामी सही मार्गमा अगाडि बढ्छौं । यसकारण असफलता ज्ञानको प्रक्रियाको एक महत्त्वपूर्ण हिस्सा हो । यो यात्रा कहिल्यै अन्त्य हुँदैन । ब्रम्हाण्ड यति विशाल र जटिल छ कि शायद कहिल्यै यसलाई पूर्ण रूपमा बुझ्न सकिंदैन । यसलाई बुझ्ने कोशिसले हामीलाई विशेष बनाउँछ । हकिङको यो सन्देश विशेषगरी युवाहरूको लागि प्रेरणादायक छ । अर्को पुस्ताले यी प्रश्नहरूको जवाफ खोज्नको लागि तयार हुनुपर्छ । उनीहरूले आफ्ना प्रश्नहरूको उत्तर खोज्ने मात्र होइन, बरु उनीहरूले नयाँ प्रश्नहरू पनि गर्नुपर्छ । मानवताभित्र अनन्त संभावनाहरू हुन्छन्, तर यी संभावनाहरूलाई साकार बनाउनको लागि मानिसले आफ्नो सोचलाई वृद्धि गर्नुपर्छ । हाम्रा प्रश्न र उत्तर हाम्रा लागि मात्र होइन,  सम्पूर्ण मानवताका लागि महत्त्वपूर्ण हुन्छन् ।

के ईश्वर छन् ?

यो एक धेरै गहन र दार्शनिक प्रश्न हो । यो मानव सभ्यताको अस्तित्व र विकासको मूल आधार हो। यो प्रश्न केवल धार्मिक मात्र होइन, यसले वैज्ञानिक, दार्शनिक र व्यक्तिगत सोचलाई पनि चुनौती दिन्छ । हकिङले यसलाई तार्किक, मानवीय अनुभव र विज्ञानको दृष्टिकोणबाट बुझाउने प्रयास गरेका छन् । उनका अनुसार ईश्वर छ कि छैन भन्ने प्रश्न सयौं वर्षदेखि सोधिंदै आएको प्रश्न हो । यसलाई सोध्नुको अर्थ केवल कुनै अलौकिक शक्तिको खोज मात्र होइन, यो हाम्रो ब्रम्हाण्डको निर्माण कसरी भयो भन्ने कुरा जान्ने प्रयास पनि हो । चारैतिरको संसारलाई हेर्दा हरेक चीजमा एकप्रकारको जटिलता,  विचित्रिता र सुन्दरता देखिन्छ । मानिसले यी सबैको पछाडि के छ भन्ने कुरा जान्न चाहने कुरा स्वाभाविक हो । के यो सबै कुनै योजनाको हिस्सा हो वा यो केवल एक संयोग हो ?   

इतिहासको शुरुवातमा विज्ञानको विकास भएको होइन । यस बेलामा मानिस प्राकृतिक घटनाहरूलाई बुझ्न र बुझाउनका लागि ईश्वरको धारणाको सहायता लिन्थे । वर्षा, तुफान, भूकम्प र रोगहरू जस्ता सबै घटनाहरू त्यसबेलाका मानिसहरूका लागि रहस्यमय थिए । तिनीहरूलाई बुझ्ने एक मात्र तरीका कुनै दिव्य शक्तिको काम मान्नु थियो । तर विज्ञानले प्रगति गर्दै गएपछि मानिसले यी घटना पछाडिका कारणहरूलाई बुझ्न थाले ।

इतिहासको शुरुवातमा विज्ञानको विकास भएको होइन । यस बेलामा मानिस प्राकृतिक घटनाहरूलाई बुझ्न र बुझाउनका लागि ईश्वरको धारणाको सहायता लिन्थे ।

ब्रम्हाण्डको निर्माण र संचालनको लागि कुनै ईश्वरको आवश्यकता छ त ?   हकिङले यो विषयमा विचार गर्दै विज्ञान र दर्शनका विभिन्न पक्षहरूलाई उजागर गरे । उनका अनुसार ईश्वरको अस्तित्वको प्रश्नको उत्तर हरेक व्यक्तिले आफ्ना अनुभव र विश्वासको आधारमा दिन्छ । यो प्रश्नको उत्तर दिनको लागि हकिङले आफ्नो वैज्ञानिक अनुसन्धान र ब्रम्हाण्ड विज्ञानका सिद्धान्तहरूको उपयोग गरे । आधुनिक भौतिकविज्ञानले बम्हाण्डको शुरुवात कसरी भयो भन्ने कुरा बुझ्नको लागि मद्दत गर्छ । 'बिग ब्याङ' सिद्धान्तका अनुसार ब्रम्हाण्डको उत्पत्ति एक अत्याधिक सघन र तातो अवस्थाबाट भएको थियो । यो अनेकौं अवलोकन र प्रयोगहरूबाट प्रमाणित भएको वैज्ञानिक तथ्य हो । तर यहाँ प्रश्न के उठ्छ भने त्यो अति तातो र सघन अवस्थाभन्दा पहिले के थियो ?  के त्यहाँ केही पनि थिएन वा त्यहाँ केही थियो ?  त्यसलाई नै कसैले ईश्वर भन्दछन् ।

हकिङका अनुसार विज्ञानसँग अझै पनि यी प्रश्नहरूको सबै उत्तर छैन, तर यसले हामीलाई एउटा दिशा प्रदान गर्छ । भौतिकविज्ञानका नियम अनुसार समय र स्थानको शुरुवात ब्रम्हाण्डको निर्माणसँगै भएको हो । यसको अर्थ के हो भने 'बिग ब्याङ' भन्दा पहिले समयको अस्तित्व थिएन । यदि समय नै थिएन भने त्यो भन्दा पहिले के भयो भन्ने प्रश्न सोध्नुको कुनै अर्थ हुँदैन । यसकारण ब्रम्हाण्डको निर्माणको लागि कुनै बाहिरी शक्तिको आवश्यकता हुँदैनथ्यो । ब्रम्हाण्डको संचालनको लागि कुनै ईश्वरको आवश्यकता पर्दैन । प्रकृति आफैमा यति संगठित छ कि त्यसले स्वयंलाई कायम राख्न सक्छ । यसको लागि विज्ञानका नियमहरूलाई स्पष्ट रूपमा बुझ्नुपर्छ । यसकारण ईश्वरको अस्तित्वको कुनै आवश्यकता छैन ।

विज्ञानले प्रश्न सोध्छ र त्यसको उत्तर खोज्ने प्रयास गर्छ । यो प्रक्रिया खुला दिमाग र तथ्यहरूमा आधारित हुन्छ । अर्कोतिर, धर्मसँग प्रायः पहिलेदेखि तय गरिएको उत्तर हुन्छ र त्यसले प्रश्नहरूलाई त्यति महत्त्व दिंदैन ।

धर्म र ईश्वरको धारणाले मानवतालाई शताब्दियौंदेखि असर पुर्‍याएको छ । विज्ञान र धर्मको दृष्टिकोणमा आधारभूत अन्तर हुन्छ । विज्ञानले प्रश्न सोध्छ र त्यसको उत्तर खोज्ने प्रयास गर्छ । यो प्रक्रिया खुला दिमाग र तथ्यहरूमा आधारित हुन्छ । अर्कोतिर, धर्मसँग प्रायः पहिलेदेखि तय गरिएको उत्तर हुन्छ र त्यसले प्रश्नहरूलाई त्यति महत्त्व दिंदैन । यो अन्तरले दुवैको भूमिका अलग-अलग छ भन्ने बुझ्न सकिन्छ । यदि ईश्वरले ब्रम्हाण्ड बनाएको हो भने ईश्वरलाई कसले बनायो ?  यो प्रश्न धार्मिक मात्र होइन, तार्किक र दार्शनिक दृष्टिकोणले पनि महत्त्वपूर्ण छ । यो विचार नै अन्तर्विरोधपूर्ण छ । यदि हरेक चीजको एक कारण हुन्छ भन्ने मान्ने हो भने ईश्वरको पनि एक कारण हुन्छ भन्ने मान्नुपर्छ । वैज्ञानिक दृष्टिकोणबाट ब्रम्हाण्ड स्वाभाविक रूपले अस्तित्वमा आएको कुरा संभव छ । क्वान्टम भौतिकविज्ञानका अनुसार शून्यबाट पनि केही उत्पन्न हुन सक्छ । यो विचार परम्परिक सोचको विपरीत छ, तर यो वैज्ञानिक अवलोकन र प्रयोगहरूमा आधारित छ ।

हकिङका अनुसार हामीले प्रश्न सोध्न डराउनु हुँदैन, चाहे त्यो प्रश्न धर्मको बारेमा होस् वा विज्ञानको बारेमा । प्रश्न सोध्ने कुराले हाम्रो सोचलाई विकसित बनाउँछ र हामीलाई नयाँ संभावनाहरूको बारेमा सोच्न बाध्य बनाउँछ । ज्ञानको खोज एक यात्रा हो । यो कहिल्यै अन्त्य हुँदैन । हामीले आफ्ना प्रश्नहरूको उत्तर प्राप्त गर्नको लागि लगातार प्रयास गरिरहनुपर्छ । हकिङले ईश्वरको अस्तित्वको बारेमा गहन र चुनौतीपूर्ण प्रश्नलाई तार्किक र प्रेरक ढंगले परीक्षण गरे । ज्ञानको खोजको यात्राले ब्रम्हाण्डलाई बुझ्नुका साथै स्वयंभित्र अन्तर्दृष्टि दिने मौका पनि प्रदान गर्छ ।

'बिग ब्याङ' सिद्धान्त अनुसार ब्रम्हाण्ड करिब १३.८ अरब वर्ष पहिले एक अद्भूत विस्फोटसँगै अस्तित्वमा आयो । तर प्रश्न के उठ्छ भने त्यो विस्फोट किन र कसरी भयो ? 

ब्रम्हाण्डको उत्पत्तिलाई बुझ्नको लागि हकिङले 'बिग ब्याङ' सिद्धान्तको विस्तारपूर्वक उल्लेख गरे । उनले यसलाई विज्ञानको सबभन्दा महान उपलब्धिमध्ये एक बताए । यो सिद्धान्त अनुसार ब्रम्हाण्ड करिब १३.८ अरब वर्ष पहिले एक अद्भूत विस्फोटसँगै अस्तित्वमा आयो । तर प्रश्न के उठ्छ भने त्यो विस्फोट किन र कसरी भयो ?  के त्यो कुनै दिव्य शक्तिको परिणाम थियो वा केवल भौतिकविज्ञानका नियमहरूको स्वाभाविक परिणाम थियो ?  अगाडि बढेर हकिङले बताए -  के ईश्वर छ ?  जस्तो प्रश्नको उत्तर खोज्नु ब्रम्हाण्डको रहस्यलाई समाधान गर्ने कोशिस होइन । यो प्रश्नले हामीलाई आफ्नो जीवनको उद्देश्य र आफ्नो मूल जरोको बारेमा सोच्न बाध्य बनाउँछ । यो प्रश्न हरेक व्यक्तिको लागि फरक हुन सक्छ । कसैको लागि यसको उत्तर हो हुनसक्छ भने कसेको लागि होइन । तर सबभन्दा महत्त्वपूर्ण कुरा प्रश्नको उत्तर खोज्ने प्रयास गर्नुपर्छ ।

सबै चीजको शुरुवात कसरी भयो ?

हकिङ सबै चीजको शुरुवात कसरी भयो ? भन्ने सन्दर्भमा ब्रम्हाण्डको उत्पत्ति र त्यसको पछाडि लुकेका संभावित सिद्धान्तहरूलाई धेरै गहिराईपूर्वक बुझाउने प्रयास गर्छन् । प्राचीन मानिसहरूले ब्रम्हाण्डको संरचना र उत्पत्तिलाई बुझ्नको लागि आफ्ना धार्मिक विश्वास र मिथकहरूको सहायता लिए । कयौं धर्ममा ब्रम्हाण्ड कुनै दिव्य शक्तिद्वारा निर्माण गरिएको हो भन्ने विश्वास गरिन्छ । यो विचार प्रारम्भिक मानवले बुझ्न नसकेका रहस्य र अनिश्चितताहरूलाई बुझाउनको लागि उत्पन्न गरिएको विचार हो । उदाहरणतः ईसाई धर्ममा बाइबलमा सृष्टिको शुरुवातको वर्णन गरिएको छ भने हिन्दु धर्ममा ब्रम्हाण्डीय चक्रको अवधारणा छ । यी विश्वासहरूको एउटा उद्देश्य मानवलाई उनीहरूको चारैतिरको अज्ञात स्थितिबाट सान्त्वना दिनु थियो।

हकिङले 'बिग ब्याङ' सिद्धान्तको विस्तारपूर्वक उल्लेख गरे । यसले ब्रम्हाण्डको शुरुवात कसरी भयो भन्ने कुराको उत्तर दिन्छ ।

हकिङका अनुसार विज्ञानको विकास हुँदै गएपछि ब्रम्हाण्डको उत्पत्तिलाई लिएर नयाँ अवधारणाहरू सामुन्ने आउनलागे । न्यूटनको गुरुत्वाकर्षणको नियमले हाम्रा ग्रह र अन्य खगोलीय पिण्ड किन र कसरी चल्छन् भन्ने कुरा बुझायो । तर यस सन्दर्भमा सबभन्दा ठूलो परिवर्तन आइन्स्टाइनले सापेक्षतावादको सिद्धान्त प्रस्तुत गरेपछि आयो । आइन्स्टाइनले समय र स्थान अलग-अलग होइन, बरु एक-अर्कोसँग जोडिएका छन् भन्ने कुरा प्रमाणित गरे । हकिङका अनुसार ब्रम्हाण्डको शुरुवातको कुनै बिन्दु हुँदैनथ्यो भने आकाश राति अन्धकारमय हुँदैनथ्यो । हरेक दिशामा ताराहरूको प्रकाश हुन्थ्यो र यो दृश्य सूर्यको सतह जत्तिकै चम्किलो हुन्थ्यो । तर यस्तो हुँदैन । यो विरोधाभासलाई अल्बर्ट्स प्याराडक्स (दुई विरोधाभासी कुरा एकसाथ साँचो हुनु, जस्तो आइन्स्टाइनको सापेक्षता सिद्धान्तमा समयको फैलावट) भनिन्छ । यसबाट के प्रमाणित हुन्छ भने ब्रम्हाण्डको एक शुरुवात अवश्य भएको थियो ।

हकिङले 'बिग ब्याङ' सिद्धान्तको विस्तारपूर्वक उल्लेख गरे । यसले ब्रम्हाण्डको शुरुवात कसरी भयो भन्ने कुराको उत्तर दिन्छ । लगभग १३.८ अरब वर्ष पहिले ब्रम्हाण्ड एक अत्यन्तै सानो कण र सघन बिन्दुबाट शुरु भयो । त्यसपछि तीव्र गतिमा विस्तार हुँदै गयो । यसलाई 'सिङ्गुलारिटी'  भनिन्छ । यो बिन्दुमा समय र स्थानको नियम पनि अस्तित्वमा थिएन । तर प्रश्न के उठ्छ भने 'सिङ्गुलारिटी' (एक यस्तो बिन्दु,  जहाँ भौतिकशास्त्रका नियम असफल हुन्छन्,  जस्तो ब्ल्याक होल केन्द्रमा घनत्व र अन्तरिक्ष-समयको अपार विकृति)  भन्दा पहिले के थियो ?  हकिङका अनुसार यो प्रश्न गलत छ । किनकि पहिलेको कुनै अस्तित्व नै थिएन । समय र स्थानको शुरुवात यही बिन्दुबाट भएको थियो ।

हकिङले ब्रम्हाण्डको विकासको वैज्ञानिक दृष्टिकोणलाई सरल भाषामा बुझाए । जस्तो कि क्वान्टम सिद्धान्त र भौतिकविज्ञानका नियमले ब्रम्हाण्ड कसरी बन्यो र विकसित भयो भन्ने कुरा स्पष्ट बनाउँदछन् । जसले यो सबै बहु-ब्रम्हाण्ड वा एकल ब्रम्हाण्डको अस्तित्वका संभावनातिर इशारा गर्दछन् । यो विचार धेरै रोचक र चुनौतीपूर्ण छ । ब्रम्हाण्डको उत्पत्तिको लागि ईश्वर जस्तो कुनै बाहिरी शक्तिको आवश्यकता हुँदैन । भौतिकशास्त्रका नियम, विशेषगरी गुरुत्वाकर्षणको नियम ब्रम्हाण्ड कसरी बन्यो भन्ने कुराको व्याख्या गर्नको लागि पर्याप्त छ ।

केही नहुनुबाट केही हुने प्रक्रियालाई भौतिकविज्ञानका सिद्धान्तले बुझाउन सक्छन् । यद्यपि अझै पनि धेरै रहस्यहरूको समाधान भएको छैन । विज्ञानले हरेक प्रश्न जवाफ दिएको छ भन्ने सकिंदैन, तर विज्ञान हरेक प्रश्नको उत्तर दिनको लागि सक्षम छ । के ब्रम्हाण्डको कुनै उद्देश्य छ ?  के हामी ब्रम्हाण्डका नियमहरूलाई पूर्ण रूपमा बुझ्न सक्छौं ?  के हाम्रो अस्तित्वको कुनै अर्थ छ ?  यी प्रश्नले केवल जिज्ञासा मात्र होइन, हाम्रो सोचलाई गहनता प्रदान गर्नेछन् । हकिङले ब्रम्हाण्डको उत्पत्तिको प्रश्नलाई वैज्ञानिक दृष्टिकोणले मात्र हेरेनन्, उनले यो प्रश्नलाई मानवताको लागि किन महत्त्वपूर्ण छ भन्ने कुरा पनि बुझाए । हामी यो ब्रम्हाण्डमा हाम्रो स्थान के छ भन्ने कुरा जान्ने प्रयास गरिरहेका छौं ।

हकिङले विज्ञानलाई जटिल सिद्धान्तबाट बाहिर निकालेर एक कथाको रूपमा प्रस्तुत गरे । यसलाई सामान्य व्यक्तिले पनि बुझ्न सक्छ । यहाँ हामी ब्रम्हाण्डको शुरुवात केवल एक संयोग मात्र थियो वा यसको पछाडि कुनै गहन योजना लुकेको छ भन्ने कुरा बुझ्न सक्छौं । हामी यति जटिल चीजको बारेमा सोच्न सक्छौं र उत्तर खोज्ने प्रयास गर्न सक्छौं; यो मानव मस्तिष्कको असीम क्षमताको एउटा अर्को प्रमाण हो । यहाँ ब्रम्हाण्डको उत्पत्ति सम्बन्धी प्रश्नको उत्तर मात्र दिइएको छैन, बरु कसरी जिज्ञासा र तर्कले अज्ञात क्षेत्रको खोज गर्नको लागि प्रेरित गर्दछ भन्ने कुरा पनि सिकाइएको छ । यसबाट अदम्य जिज्ञासा जागृत हुन्छ र विज्ञान, दर्शन तथा हाम्रो अस्तित्वको गहन अर्थको बारेमा सोच्नको लागि प्रेरित हुन सकिन्छ ।

https://cdn.zmescience.com

वैज्ञानिक अवलोकनहरूबाट के प्रमाणित भएको छ भने ब्रम्हाण्ड लगातार फैलिरहेको छ । यो विस्तारको गति पनि समयसँगै बदलिरहेको छ ।

ब्रम्हाण्डको विस्तार र यसको प्रकृतिलाई बुझ्नको लागि हब्बल स्पेस टेलिस्कोप र अन्य वैज्ञानिक उपकरणहरूले धेरै महत्त्वपूर्ण भूमिका निभाएका छन् । वैज्ञानिक अवलोकनहरूबाट के प्रमाणित भएको छ भने ब्रम्हाण्ड लगातार फैलिरहेको छ । यो विस्तारको गति पनि समयसँगै बदलिरहेको छ । 'डार्क इनर्जी' र 'डार्क म्याटर' जस्ता तत्त्वहरूको पनि यो प्रक्रियामा धेरै ठूलो योगदान रहेको छ । यद्यपि यिनीहरूको बारेमा हाम्रो ज्ञान अझै अधुरो छ । यिनै समाधान नभएका रहस्यहरूको कारण वैज्ञानिक अनुसन्धानको क्षेत्र अझ रोचक बन्दै गएको छ ।

ब्रम्हाण्डको शुरुवाती क्षणलाई बुझ्नको लागि 'कस्मिक ब्याकग्राउण्ड माइक्रोवेभ रेडिएसन'  एक महत्त्वपूर्ण छिद्र हो । यो विकिरण ब्रम्हाण्डको अत्यन्त तातो र सघन अवस्थाको प्रमाण हो । यो 'बिग ब्याङ' को शुरुवाती क्षणको प्रत्यक्ष प्रमाण हो । यसले विकिरण ब्रम्हाण्डको उत्पत्तिको कहानीलाई अझ गहिराईपूर्वक बुझ्नमा हाम्रो मद्दत गर्छ । हकिङले समयको प्रकृतिको बारेमा पनि स्पष्ट बनाएका छन् । समयको कुनै स्वतन्त्र अस्तित्व हुँदैन । यो स्थान र पदार्थसँग जोडिएको हुन्छ । ब्रम्हाण्डको शुरुवातभन्दा पहिले समय जस्तो कुनै चीज थिएन । यो अवधारणाले परम्परिक विचारलाई चुनौती दिन्छ र यसबाट शुरुवातको वास्तविक अर्थ के थियो भन्ने कुरा बुझ्न सकिन्छ ।

हकिङका अनुसार हाम्रो सोच बहु-ब्रम्हाण्डको विचारसम्म पुगिरहेको छ, अर्थात् हाम्रो ब्रम्हाण्ड एक्लै नहुन सक्छ, कयौं अरु ब्रम्हाण्ड हुन सक्छन्, जसका भौतिकशास्त्रका नियम अलग पनि हुन सक्छन् । यो विचार अहिले एक परिकल्पना मात्रै भए पनि यसले विज्ञानका सीमाहरूलाई अझ अगाडि बढाउने प्रयास गर्छ । ब्रम्हाण्डको उत्पत्तिलाई पूर्ण रूपले बुझ्नु अझै धेरै टाढाको कुरा हो, तर यसको लागि हामीले भित्री जिज्ञासालाई कहिल्यै मर्न दिनु हुँदैन । यो जिज्ञासा नै त्यो शक्ति हो, जसले हामीलाई अहिलेसम्मको सबभन्दा गहन सच्चाईलाई बुझ्नमा मद्दत गरेको छ  र अगाडि पनि गर्नेछ । ब्रम्हाण्डको कहानी र हाम्रो कहानी अझै पूरा भएको छैन ।

के ब्रम्हाण्डमा अन्य बौद्धिक जीव पनि छन् ?

हकिङले ब्रम्हाण्डमा अन्य बौद्धिक जीवहरूको संभावना विचार गर्दै विज्ञान र दर्शनको गहन र प्रेरक मिश्रण प्रस्तुत गरेका छन् । यो पश्नले वैज्ञानिक, खगोलशास्त्री, दार्शनिक र सम्पूर्ण मानवलाई पनि हजारौं वर्षदेखि उत्प्रेरित गर्दै आएको छ । के हामी ब्रम्हाण्डमा एक्लै छौं ?  भन्ने प्रश्नले हामीलाई हाम्रो अस्तित्व, सीमा र संभावनाको बारेमा गहिराईपूर्वक सोच्न बाध्य बनाउँछ । हाम्रो ब्रम्हाण्ड यति विशाल छ कि यसलाई सम्पूर्ण रूपले बुझ्न लगभग असंभव छ । हाम्रो आकाशगंगा 'मिल्की वे' मा अरबौं तारा र ग्रह रहेका छन् । तिनीहरू पनि ब्रम्हाण्डको विशाल विस्तारका साना हिस्सा हुन् । यसको अतिरिक्त ब्रम्हाण्डमा अरबौं आकाशगंगाहरू छन् । यो विशालतालाई हेर्दा कतै न कतै कुनै अरु ग्रहमा जीवन संभव हुन सक्छ भन्ने कल्पना गर्नु कठिन हुँदैन ।

पृथ्वीमा जीवनको विकास एक अद्वितीय घटना हुनसक्छ । तर अन्य ग्रहहरूमा पनि जीवनले यसरी नै आकार लिने कुरा संभव छ ।

हकिङका अनुसार जीवनको लागि आवश्यक तत्त्व पानी, कार्बन र ऊर्जा ब्रम्हाण्डमा सामान्य रूपमा पाइन्छन्, तर जीवनको अस्तित्व केवल यी तत्त्वहरूमाथि मात्र निर्भर  हुँदैन । यो एक जटिल प्रक्रिया हो, जसले सही परिस्थिति र समयको माग गर्छ । पृथ्वीमा जीवनको विकास एक अद्वितीय घटना हुनसक्छ । तर अन्य ग्रहहरूमा पनि जीवनले यसरी नै आकार लिने कुरा संभव छ । डार्विनको विकासवादको सिद्धान्त अनुसार जीवनको आधार अनुकूलन र प्रजननको क्षमता हो । यदि अन्य ग्रहहरूमा जीवन छ भने तिनीहरूले पनि त्यही नियमको पालना गर्नेछन् ।

हकिङले बुद्धिमान अलौकिक जीवनको खोज परियोजनाको पनि उल्लेख गरेका छन्,  जसले अन्य ग्रहमा जीवनका संकेतहरूको खोज गर्दछ । उनका अनुसार यो विज्ञानको सबभन्दा रोमान्चक खोजमध्ये एक हो । यद्यपि अहिलेसम्म यसको बारेमा कुनै स्पष्ट संकेत प्राप्त भएको छैन । तर यसको अर्थ अन्य बुद्धिमान जीवनको अस्तित्व छैन भन्ने हुँदैन । यदि ब्रम्हाण्डमा कतै अरु बुद्धिमान जीवन छ भने उनीहरू कस्ता हुन्छन् होला ?   के तिनीहरू हामीजस्तै हुन्छन् वा पूर्ण रूपमा अलग ?  के तिनीहरू हामीभन्दा धेरै विकसित होलान् वा अझै पनि प्रारम्भिक अवस्थामा होलान् ?  यी प्रश्न वैज्ञानिक मात्र नभएर दार्शनिक दृष्टिकोणले पनि धेरै महत्त्वपूर्ण छन् ।

हकिङका अनुसार यदि हामीले अन्य बुद्धिमान जीवसँग सम्पर्क गर्यौं भने यसको परिणाम अनिश्चित हुनसक्छ । मानव इतिहासका अनुसार कुनै उन्नत सभ्यताले कुनै कम विकसित सभ्यतासँग सम्पर्क गर्‍यो भने यसको परिणाम प्रायः विनाशकारी भएको हुन्छ । यदि कुनै उन्नत सभ्यताले हामीसँग सम्पर्क गर्‍यो भने हामीले आफ्नो रक्षा गर्ने कुरालाई सुनिश्चित गर्नुपर्छ । यदि हामी ब्रम्हाण्डमा अन्य जीवको खोजमा सफल भयौं भने यसले हाम्रो बोधलाई पूर्ण रूपले बदलिदिनेछ । यसले हाम्रो स्थान र उद्देश्य के हो भन्ने कुरा सोच्न बाध्य बनाउँछ । यो प्रश्नले हाम्रो धार्मिक,  दार्शनिक र वैज्ञानिक दृष्टिकोणलाई चुनौती दिन्छ । अहिलेसम्म हामीसँग यो प्रश्नको कुनै ठोस उत्तर छैन, तर यो खोज धेरै महत्त्वपूर्ण छ । यसले ब्रम्हाण्डलाई बुझ्नमा मात्र मद्दत गर्दैन, यसले हामीलाई आफ्नो बारेमा पनि सोच्नको लागि अभिप्रेरित गर्दछ ।

हामीले अन्य बुद्धिमान जीवहरूको बारेमा पत्ता लगायौं भने यो हाम्रो विज्ञान र प्रविधिको क्षमतालाई बढाउने एउटा ठूलो मौका हुनेछ । यसले हामीलाई अहिलेसम्म नसोधिएका प्रश्नहरूको उत्तर खोज्नमा मद्दत गर्नेछ ।

हकिङले ब्रम्हाण्डमा जीवनको संभावनालाई एक यात्राको रूपमा हेरे । यो यात्राले हामीलाई केवल तारा र ग्रहहरूको बारेमा मात्र होइन, बरु हाम्रो अस्तित्वको गहन अर्थको बारेमा पनि सिकाउँछ । यदि हामीले अन्य बुद्धिमान जीवहरूको बारेमा पत्ता लगायौं भने यो हाम्रो विज्ञान र प्रविधिको क्षमतालाई बढाउने एउटा ठूलो मौका हुनेछ । यसले हामीलाई अहिलेसम्म नसोधिएका प्रश्नहरूको उत्तर खोज्नमा मद्दत गर्नेछ । यो खोजको उद्देश्य अन्य जीवनको संभावनालाई खोज्नु मात्र होइन, यसले हामीलाई जीवन कति मूल्यवान र विचित्र छ भन्ने कुरा सोच्नमा मद्दत गर्छ । ब्रम्हाण्डको विशाल विस्तारलाई हेर्दा हाम्रो जीवन कति मूल्यवान छ भन्ने महसुस हुन्छ । हामीले आफ्नो ग्रहको रक्षा गर्नुपर्छ । यदि हामीले आफ्नो ग्रहमा ध्यान दिएनौं भने ब्रम्हाण्डमा जीवनको खोज गर्न योग्य पनि हुनेछैनौं ।

के हामी भविष्यको पूर्वानुमान लगाउन सक्छौं ?

हकिङले समय भविष्य र पूर्वानुमानको अवधारणालाई वैज्ञानिक र दार्शनिक दृष्टिकोणले गहिराईपूर्वक बुझाएका छन् । भविष्यलाई जान्ने इच्छा हाम्रो जिज्ञासाको परिणाम मात्र होइन, यो हाम्रो सुरक्षा, निर्णय लिने र प्रगतिको लागि पनि आवश्यक हुन्छ । यो जिज्ञासा प्राचीन कालदेखि नै मानवताको हिस्सा रहेको छ । विगतमा मानिस ज्योतिष, धार्मिक विश्वास र प्राचीन कथाहरूको माध्यमबाट भविष्यको बारेमा पत्ता लगाउने कोशिस गर्थे । उनीहरू ताराहरूको चाल र प्राकृतिक घटनाहरूको अध्ययन गरेर जीवनमा हुने घटनाहरूको भविष्यवाणी गर्ने प्रयास गर्थे । यद्यपि आधुनिक विज्ञानले भविष्यलाई बुझ्ने धेरै वैज्ञानिक र तार्किक तरीकाहरू दिएको छ ।

भविष्यवाणीको आधार तथ्याङ्क र गणित हो । कुनै पनि चीजको पूर्वानुमान लगाउनको लागि त्यसको वर्तमान स्थितिको सटिक ज्ञान हुनुपर्छ । न्यूटनको गतिका नियम अनुसार यदि कुनै वस्तुको स्थिति र त्यसमा लाग्ने बलको ज्ञान भयो भने त्यो भविष्यमा कहाँ हुनेछ भन्ने अनुमान लगाउन सकिन्छ । यही सिद्धान्तको आधारमा खगोलवैज्ञानिकले ग्रहहरूको चाल, सौर्य ग्रहण र अन्य खगोलीय घटनाहरूको भविष्यवाणी गर्दछन् । यद्यपि यो प्रक्रियामा धेरै सीमाहरू हुन्छन् । क्वान्टम भौतिकविज्ञानका अनुसार सूक्ष्म स्तरमा घटनाहरू पूर्ण रूपमा पूर्वानुमानित हुन सक्दैनन् । वर्नर हाइजेनबर्गको अनिश्चितताको सिद्धान्त अनुसार कुनै कणको स्थिति र त्यसको गतिलाई एकसाथ पूर्ण सटिकतापूर्वक मापन गर्न सकिंदैन । यसको अर्थ के हो भने भविष्य केवल संभावनाहरूको एक समूह हुन सक्छ,  यो एक निश्चित परिणाम हुन सक्दैन । यो विचारले ब्रम्हाण्डलाई एक रहस्यमय र अनिश्चित स्थान बनाउँछ, जहाँ हरेक घटनाको परिणाम पूर्वानुमानित हुन सक्दैन ।

हकिङले विश्रृंखलता सिद्धान्तमाथि पनि प्रकाश पारेका छन् । यो सिद्धान्तका अनुसार केही प्रणाली यति जटिल हुन्छन् कि तिनीहरूमा सामान्य परिवर्तनले पनि ठूला परिणाम उत्पन्न गर्न सक्छन् । यसलाई 'बटरफ्लाई इफेक्ट' (सानो परिवर्तनबाट पनि ठूलो र अप्रत्यासित परिणाम प्राप्त हुनु)  को उदाहरणबाट बुझाइएको छ । यसमा भनिएको छ - एउटा पुतलीले पखेटा हल्लाउँदा संसारको अर्कोतिर तुफान आउन सक्छ । यो सिद्धान्तले हाम्रो संसार कति जटिल र अप्रत्याशित छ भन्ने कुरा देखाउँछ ।

कृत्रिम बौद्धिकता र 'मेसिन लर्निङ' ले डाटाको आधारमा भविष्यवाणी गर्ने अद्वितीय तरीका प्रदान गरेको छ ।

विश्रृंखलता र अनिश्चितताको बावजुद भविष्यका घटनाहरूको अनुमान लगाउनको लागि गणितीय मोडेल र कृत्रिम बौद्धिकताको उपयोग गर्न सकिन्छ । कृत्रिम बौद्धिकता र 'मेसिन लर्निङ' ले डाटाको आधारमा भविष्यवाणी गर्ने अद्वितीय तरीका प्रदान गरेको छ । जस्तो कि मौसमको पूर्वानुमान,  वित्तीय बजारहरूको विश्लेषण र स्वास्थ्य सम्बन्धी जोखिमहरूको आँकलनमा कृत्रिम बौद्धिकताले सटिक विश्लेषण गर्न सक्दछ । यी उपकरणले संभावनालाई बुझ्न मद्दत मात्र गर्दछन्, यिनीहरूले पूर्ण निश्चितता प्रदान गर्दैनन् ।

हकिङले समयको तीरको अवधारणामाथि पनि धेरै गहिराईपूर्वक विश्लेषण गरे । हामी सधैं समयलाई एकै दिशामा चलेको देख्छौं; यो भूतबाट भविष्यतिर अगाडि बढ्छ । यो प्रक्रियालाई 'एन्ट्रोपी' (अव्यवस्था) सँग जोडिएको छ । 'एन्ट्रोपी' को अर्थ समयसँगै ब्रम्हाण्ड धेरै विश्रृङ्खलित र अव्यवस्थित हुन्छ भन्ने हो । हकिङले यसलाई धेरै गहन र रहस्यमय नियमको रूपमा व्याख्या गरे । यसले ब्रम्हाण्डको संचालनलाई निर्धारित गर्दछ । उनले समय यात्राको संभावनामाथि पनि विचार गरे । समयलाई उल्टो बनाउनु अहिले केवल सैद्धान्तिक मात्र भए पनि यो विचार वैज्ञानिक र लेखकहरूको लागि धेरै आकर्षक छ ।

समय यात्राको सिद्धान्त 'ब्ल्याक होल' र 'वर्म होल' जस्ता खगोलीय घटनाहरूसँग जोडिएको हुन्छ । तर यसलाई व्यावहारिक रूपले प्रमाणित गर्नु अझै पनि एक टाढाको सपना हो । भविष्यको अनिश्चितताले नै मानवतालाई प्रेरित गर्दछ । यदि पहिलेदेखि नै सबै कुरा थाहा भयो भने जीवन उदास र अर्थहीन हुन्छ । जीवनको अप्रत्यासितताले नै नयाँ संभावना, चुनौती र अवसरहरूको सामना गर्नको लागि उत्प्रेरित गर्दछ । हाम्रा कार्य र निर्णयले भविष्यलाई आकार दिन्छन् । यसबाट वर्तमानमा उठाइएका कदमले भविष्य धेरै महत्त्वपूर्ण हुन्छ भन्ने बुझिन्छ । यसबाट हाम्रो जीवन, सोच र दृष्टिकोण पनि प्रभावित हुन्छ । हामीले भविष्यलाई पूर्ण रूपमा बुझ्न नसके पनि आफ्नो क्षमता र प्रयासहरूमाथि विश्वास राख्नुपर्छ । भविष्यको अनिश्चततलाई गला लगाएर हामीले नयाँ-नयाँ चीजहरूको खोज गर्न सक्छौं ।

'ब्ल्याक होल' भित्र के छ ?

'ब्ल्याक होल' भित्र के छ भन्ने प्रश्नलाई बुझाउँदै हकिङ विज्ञान र कल्पनाको त्यो अद्भूत क्षेत्रमा प्रवेश गर्दछन्, जसलाई आज पनि मानिसले पूर्ण रूपमा बुझ्न सकेका छैनन् । 'ब्ल्याक होल' मा समय र स्थानको अस्तित्व आफ्नो सबभन्दा चरम रूपमा प्रकट हुन्छ । यो कुरा सधैं वैज्ञानिक, खगोलविद र सामान्य मानिसको लागि आकर्षणको विषय रहेको छ । हकिङले यो गुप्त र रहस्यमय विषयलाई सरल तर गहन तरीकाले बुझाउने प्रयास गरेका छन् । 'ब्ल्याक होल' लाई बुझ्नको लागि यो कसरी बन्छ भन्ने कुरा जान्नु आवश्यक हुन्छ ।

'ब्ल्याक होल' को चारैतिर एक सीमा हुन्छ, जसलाई 'इभेन्ट होराइजन'  भनिन्छ । यो त्यस्तो बिन्दु हो, जहाँबाट प्रकाश, कण वा जुनसुकै वस्तु पनि 'ब्ल्याक होल' को गुरुत्वाकर्षणबाट बच्न सक्दैन ।

कुनै विशाल ताराले आफ्नो जीवनको अन्त्यमा आफ्नो ऊर्जा र इन्धन खत्तम गरेपछि त्यो आफ्नै गुरुत्वाकर्षण बलको कारण सङ्कुचित हुन्छ । यो प्रक्रियामा ताराको द्रव्यमान (मास)  एक बिन्दुमा केन्द्रित हुन्छ,  जसलाई 'सिङ्गुलारिटी'  भनिन्छ । 'सिङ्गुलारिटी'  मा द्रव्यमान अनन्त हुन्छ, र यहाँ गुरुत्वाकर्षण यति बढी हुन्छ कि प्रकाश पनि त्यहाँबाट बाहिर निक्लिन सक्दैन । यही नै 'ब्ल्याक होल' को परिभाषा हो । 'ब्ल्याक होल' को चारैतिर एक सीमा हुन्छ, जसलाई 'इभेन्ट होराइजन'  भनिन्छ । यो त्यस्तो बिन्दु हो, जहाँबाट प्रकाश, कण वा जुनसुकै वस्तु पनि 'ब्ल्याक होल' को गुरुत्वाकर्षणबाट बच्न सक्दैन । यो एकतर्फी ढोका हो, जसले केवल भित्र जाने अनुमति दिन्छ तर बाहिर निक्लिने कुनै मार्ग हुँदैन । यद्यपि 'ब्ल्याक होल' को वास्तविक रहस्य यसभित्र लुकेको हुन्छ ।

'सिङ्गुलारिटी' मा हामीले सामान्य रूपमा बुझ्ने ब्रम्हाण्डका सबै नियम असफल हुन्छन् । त्यहाँ गुरुत्वाकर्षण यति प्रबल हुन्छ कि समय र स्थान दुवै विकृत हुन्छन् । हकिङले यसलाई भौतिकशास्त्रको अन्त भने । जस्तो कि हामी यस्तो स्थानमा पुगेका छौं, जहाँ हाम्रो बुझाई र उपकरण कुनै काममा आउँदैनन् । 'ब्ल्याक होल' भित्रका घटनाहरूलाई बुझ्नको लागि सापेक्षता र क्वान्टम भौतिकविज्ञान दुवैका सिद्धान्तहरूलाई एकसाथ जोड्नुपर्छ । तर आजसम्म यो प्रयास पूर्ण रूपमा सफल हुनसकेको छैन । यो विज्ञानको सबभन्दा ठूलो रहस्यमध्ये एक हो ।

हकिङले 'ब्ल्याक होल' भित्र समयमाथि पनि चर्चा गरे । कुनै वस्तु 'ब्ल्याक होल'को निकट गएपछि समय उसको लागि धीमा हुन्छ । यो समयको फैलावटको एक अनौठो उदाहरण हो । यदि कुनै पर्यवेक्षकले बाहिरबाट हेर्‍यो भने उसलाई लाग्नेछ, त्यो वस्तु कहिल्यै पनि 'ब्ल्याक होल' मा पूर्ण रूपले प्रवेश गर्दैन, बरु 'इभेन्ट होराइजन' मा रोकिन्छ । तर वस्तु तुरुन्तै 'ब्ल्याक होल' भित्र तानिन्छ । यो परस्पर विरोधाभासी अनुभवले 'ब्ल्याक होल' को रहस्यमय स्वभावलाई अझ गहन बनाइदिन्छ ।

'ब्ल्याक होल' भित्र के हुन्छ भन्ने प्रश्नमा वैज्ञानिकहरूको बीचमा धेरै विवाद छ । एउटा सिद्धान्त अनुसार 'सिङ्गुलारिटी' मा द्रव्यमान र ऊर्जा एक अनन्तमा पुग्छन्, जुन अनन्त गुरुत्वाकर्षण र विकृतिका कारण बन्छन् । तर योभन्दा अगाडि के हुन्छ भन्ने कुरा आज पनि अज्ञात छ । 'ब्ल्याक होल' भित्रको अर्को एक रोचक अवधारणा सूचनाको नोक्सान हो । यदि कुनै पनि चीज 'ब्ल्याक होल' मा पर्‍यो भने त्यो कुन रूपमा बच्छ भन्ने एउटा ठूलो प्रश्न हो । हकिङले यसलाई सूचना विरोधाभास भने । 'ब्ल्याक होल' ले कुनै पनि वस्तुको जानकारीलाई पूर्ण रूपमा नष्ट गर्न सक्छ । तर क्वान्टम सिद्धान्तले जानकारी कहिल्यै नष्ट हुँदैन भन्छ । यो विरोधाभासले 'ब्ल्याक होल' भौतिकविज्ञानलाई एक नयाँ मोड दियो ।

'ब्ल्याक होल' सधैंको लागि रहँदैनन्, समयसँगै तिनीहरूले पनि आफ्नो ऊर्जा गुमाएर वाष्पीकृत हुन सक्छन् ।

हकिङले आफ्नो अनुसन्धानमा 'ब्ल्याक होल' बाट कुनै हकिङ विकिरणको रूपमा ऊर्जा बाहिर निक्लिन्छ भन्ने प्रस्ताव पेश गरे । यसबाट के स्पष्ट भयो भने 'ब्ल्याक होल' सधैंको लागि रहँदैनन्, समयसँगै तिनीहरूले पनि आफ्नो ऊर्जा गुमाएर वाष्पीकृत हुन सक्छन् । यो खोज खगोल-भौतिकविज्ञानमा एउटा ठूलो कदम थियो र यो 'ब्ल्याक होल' को जीवनचक्रलाई बुझ्नमा सहयोगी सावित भयो ।

के 'ब्ल्याक होल' कुनै अन्य ब्रम्हाण्ड वा आयमको लागि एक 'पोर्टल' हुन सक्छ भन्ने विषयमा पनि हकिङले विचार गरे । उनका अनुसार यो अहिले केवल सैद्धान्तिक मात्र हो, तर यो विचार खगोलविज्ञान र विज्ञान कथाको लागि धेरै आकर्षक हुन्छ । 'ब्ल्याक होल' को अध्ययन गर्नु केवल ब्रम्हाण्डलाई बुझ्ने एक प्रयास मात्र होइन, यो हाम्रो अस्तित्व र ब्रम्हाण्डका मूलभूत नियमहरूलाई बुझ्ने प्रयास पनि हो । 'ब्ल्याक होल' ले हामीलाई ज्ञानको सीमा कहाँ छ र यसलाई अगाडि बढाउनको लागि के गर्नुपर्छ भन्ने कुरा सिकाउँछ । 'ब्ल्याक होल' अनजान रहस्य भए पनि यो मानवताको जिज्ञासा, साहस र अन्वेषणको क्षमताको प्रतीक हो । 'ब्ल्याक होल' को अध्ययनले सबभन्दा गहन र अध्यारो रहस्यमा पनि आश्चर्य तथा ज्ञान लुकेको हुन्छ भन्ने कुरा सिकाउँछ ।

'ब्ल्याक होल' को सहस्यको समाधानको प्रयास जस्ता गहन वैज्ञानिक खोजहरूबाट ब्रम्हाण्ड र यसको संचालनलाई बुझ्नमा महत्त्वपूर्ण योगदान प्राप्त हुन्छ । 'ब्ल्याक होल' का घटनाहरूको अध्ययन गरेर हामी समय, स्थान र ऊर्जाको बारेमा हाम्रा मान्यताहरूलाई चुनौती दिन सक्छौं । यो खोजले हाम्रो अस्तित्व र ब्रम्हाण्डको उत्पत्तिलाई बुझ्नेतिर एक कदम अझ अगाडि बढाउँछ । 'ब्ल्याक होल' केवल एक सिद्धान्त मात्र होइन, यो एक वास्तविकता पनि हो, जसले हाम्रो ब्रम्हाण्डको सबभन्दा गहिरो र सबभन्दा रहस्यमय हिस्सालाई उजागर गर्दछ । 'ब्ल्याक होल' को अध्ययनले वैज्ञानिकहरूलाई के त्यहाँ हामीले अहिलेसम्म बुझ्न नसकेको कुनै नयाँ भौतिकविज्ञानको नियमले काम गरिरहेको छ त भन्ने कुरा सोच्नको लागि प्रेरित गरिरहेको हुन्छ ।

हकिङका अनुसार यदि हामीले 'ब्ल्याक होल' भित्र एक नयाँ भौतिकविज्ञानको सिद्धान्त बुझ्यौं भने यसले हाम्रो वर्तमान भौतिकविज्ञानको सिद्धान्तलाई पूर्ण रूपले परिवर्तन गर्न सक्छ । यसबाट के महसुस हुन्छ भने विज्ञान सधैं अपरिपक्व हुँदैन, बरु यो गतिशील र लगातार परिवर्तन भइरहेको क्षेत्र हो । यो आज असंभव प्रतीत भए पनि भोलि संभव हुनसक्छ ।

के समयमा यात्रा गर्नु संभव छ ?

यो प्रश्न विज्ञान र कल्पनाको बीचमा सम्बन्ध स्थापित गर्ने एक अद्भूत प्रयास हो । यो विषय आफैमा जटिल र रहस्यमय छ । तर हकिङले यसलाई जेसुकै यसमा जोडिन सक्ने हिसाबले प्रस्तुत गरे । यसले विज्ञानको गहन पक्षलाई उजागर गर्नुका साथै हाम्रो जीवनका मौलिक प्रश्नहरूलाई पनि संलग्न गर्छ । समय यात्राको बारेमा सोच्दा हाम्रो मनमा धेरै प्रश्नहरू उठ्दछन् । के हामी अतीतमा गएर इतिहासलाई बदल्न सक्छौं ?  के हामी भविष्यमा गएर आफ्नो भाग्यलाई जान्न सक्छौं ? 

हकिङ यी प्रश्नहरूको जवाफ तार्किक र वैज्ञानिक तरीकाले दिने कोशिस गर्दछन् । समय यात्राको अवधारणा विज्ञान कथाहरूमा सधैं लोकप्रिय रहेको देखिन्छ, तर यसलाई विज्ञानको दायरामा ल्याउँदा चीजहरू अझ रोचक हुन्छन् । समय यात्राको विचार सापेक्षताको सिद्धान्तसँग जोडिएको हुन्छ । आइन्स्टाइनका अनुसार समय र स्थान एकै चीजका दुई पक्ष हुन्, जसलाई 'स्पेस-टाइम' भनिन्छ । यदि हामी प्रकाशको गतिको निकट गतिशील हुन सक्छौं भने समय हाम्रो लागि धीमा हुनेछ । यसलाई समयको विस्तार भनिन्छ । यो विचार पहिलो पटक सुन्दा अविश्वसनीय लाग्छ । तर यो वैज्ञानिक रूपले प्रमाणित छ ।

समय यात्राको बारेमा सोच्दा हाम्रो मनमा धेरै प्रश्नहरू उठ्दछन् । के हामी अतीतमा गएर इतिहासलाई बदल्न सक्छौं ?  के हामी भविष्यमा गएर आफ्नो भाग्यलाई जान्न सक्छौं ? 

 हकिङका अनुसार भविष्यमा समय यात्रा गर्नु सैद्धान्तिक रूपले संभव हुनसक्छ । यदि हामीले एउटा अन्तरिक्ष यानमा बसेर प्रकाशको गतिको निकटबाट यात्रा गर्यौं र पृथ्वीमा फर्क्यौं भने हामीले समय धीमा भएको पाउनेछौं । उदाहरणको लागि यदि हामी १० वर्षसम्म यस्तो यात्रामा गयौं भने पृथ्वीमा १०० वर्ष बितिसकेको हुनेछ । यो एक रोमान्चक संभावना हो । तर यसलाई हासिल गर्नको लागि आवश्यक ऊर्जा र प्रविधि वर्तमानमा हाम्रो पहुँचभन्दा बाहिर छ ।

अतीतमा यात्रा गर्नु अझ धेरै जटिल हुन्छ । यो विचार 'ब्ल्याक होल' र 'वर्म होल' को अवधारणासँग जोडिएको हुन्छ । 'वर्म होल' लाई 'टाइम टनेल' को रूपमा हेर्न सकिन्छ, जसानुसार 'स्पेस-टाइम' मा दुई अलग-अलग बिन्दुहरूलाई जोड्न सकिन्छ भन्ने हुन्छ । यदि यी सुरुङ्गहरूको माध्यमबाट यात्रा गर्न सक्यौं भने हामी समयमा पछाडि जान सक्छौं । तर यहाँ धेरै समस्याहरू छन् । 'वर्म होल' अत्याधिक अस्थिर हुन्छन् र तिनीहरूमा यात्रा गर्नु लगभग असंभव हुन्छ । यसको अतिरिक्त यदि हामीले अतीतमा गएर आफ्नै अस्तित्वलाई खतरामा पार्यौं भने यसले 'ग्र्याण्डफादर प्याराडक्स'  जस्ता समस्याहरू उत्पन्न गर्न सक्छ । यो 'प्याराडक्स' ले अतीतमा यात्रा गर्नु शायद एक प्रकृतिका नियमहरूको विरुद्ध हुन्छ भन्ने कुरा बताउँछ । यदि समय यात्रा संभव हुन्थ्यो भने हामीले अहिलेसम्म समययात्रीसँग भेट गरिसकेका हुँदैनथ्यौं र ?  यो प्रश्नले हामीलाई सोच्न बाध्य बनाउँछ । शायद भविष्यका वैज्ञानिकले समय यात्रालाई यति सुरक्षित बनाउने छन् कि उनीहरू अतीतमा आएर हस्तक्षेप गर्नेछैनन् ।

भविष्यमा समय यात्राका संभावनाहरूलाई बुझ्नको लागि हामीले क्वान्टम भौतिकविज्ञान र ब्रम्हाण्ड विज्ञानलाई गहिराईपूर्वक बुझ्नुपर्छ । विज्ञानले हामीलाई केवल संभावनाका सीमाहरू देखाउन सक्छ । तर यो हाम्रो कल्पना हो, जसले त्यो सीमालाई पार गर्न सक्छ । यहाँ हामी कसरी समय यात्राको विचारले मानवतालाई सदैव प्रेरित गरेको छ भन्ने कुरा बुझ्न सक्छौं । यसबाट यदि समय यात्रा संभव हुन्थ्यो भने हाम्रो जीवन कस्तो हुन्थ्यो होला भन्ने सोच्न सकिन्छ । के हामी आफ्ना अतीतका गल्तीहरूलाई सुधार्न सक्थ्यौं वा आफ्नो भविष्यलाई उत्कृष्ट बनाउन सक्छौं ?  

समय यात्राको प्रश्नको जवाफमा हकिङको निष्कर्ष के छ भने अतीतमा यात्रा गर्नु शायद असंभव हुन्छ । तर भविष्यमा अन्दर्दृष्टि दिने संभावना भने कायमै रहन सक्छ । यसले विज्ञान र कल्पनाप्रति उत्सुकतातलाई अझ वृद्धि गर्दछ । यसले हामीलाई भौतिकशास्त्रका रहस्यमय सिद्धान्तहरूलाई बुझ्नको लागि आफ्नो दिमागलाई खुला राख्न र आफ्नो ज्ञानलाई विस्तार गर्न प्रेरित गर्छ । अन्ततः यो प्रश्न हाम्रो अस्तित्वको सबभन्दा ठूला प्रश्नहरूमध्ये एक हो । समय यात्राका संभावनाहरूमा विचार गर्दा हामी के हाम्रो जीवन पहिलेदेखि नै निर्धारित छ या हामी आफ्नो भाग्यलाई परिवर्तन गर्न सक्छौं भन्ने कुरा पनि सोच्न सक्छौं । हामीले यी प्रश्नहरूको उत्तर खोज्नको लागि आफ्ना प्रयासहरू जारी राख्नुपर्छ ।

समय यात्राको सन्दर्भमा एउटा अर्को महत्त्वपूर्ण पक्ष ब्रम्हाण्डका नियमहरूको सीमा हो । हकिङका अनुसार भौतिकविज्ञानमा एउटा सिद्धान्तलाई कालक्रम संरक्षण अनुमान (क्रोनोलोजी प्रोटेक्सन कन्जेक्चर)  भनिन्छ । यो सिद्धान्त अनुसार प्रकृति स्वयंले समय यात्रालाई रोक्नको लागि यस्ता नियमहरू बनाउँछ, जसले समयमा हेरफेरलाई असंभव बनाउँछन् । यो विचार पहिलो पटकमा निराशाजनक लाग्छ, तर यसले ब्रम्हाण्डको संरचनाको गहन बोधलाई दर्शाउँछ । यो ब्रम्हाण्डले स्वयंलाई कुनै पनि प्रकारले विश्रृंखलताबाट बचाउनको लागि बनाएको एक सुरक्षा जाल हुनसक्छ ।

हकिङको अनुसन्धानले 'ब्ल्याक होल' को व्यवहारलाई बुझ्नमा धेरै महत्त्वपूर्ण योगदान दिएको छ । उनका अनुसार 'ब्ल्याक होल' ले समय र स्थानलाई यति विकृत गरिदिन सक्छ कि यसले समय यात्राको संभावनालाई जन्म दिन्छ ।

यस सन्दर्भमा 'ब्ल्याक होल' को उल्लेख धेरै महत्त्वपूर्ण हुन्छ । हकिङको अनुसन्धानले 'ब्ल्याक होल' को व्यवहारलाई बुझ्नमा धेरै महत्त्वपूर्ण योगदान दिएको छ । उनका अनुसार 'ब्ल्याक होल' ले समय र स्थानलाई यति विकृत गरिदिन सक्छ कि यसले समय यात्राको संभावनालाई जन्म दिन्छ । तर 'ब्ल्याक होल' को निकट जाने कुरा धेरै खतर्नाक हुन्छ । तिनीहरूको तीव्र गुरुत्वाकर्षण शक्तिले सबै कुरा निलिदिन्छ । यो स्थितिले 'स्पेगेटीफिकेशन' तिर लिएर जान्छ, जहाँ कुनै वस्तुलाई 'ब्ल्याक होल' को गुरुत्व आकर्षणले तान्दछ । यद्यपि 'ब्ल्याक होल' को गुप्त रहस्य अहिलेसम्म पूर्ण रूपले उजागर हुनसकेको छैन । के तिनीहरू 'वर्म होल' का मार्ग हुन सक्छन् वा तिनीहरूको उपयोग कुनै अन्य ब्रम्हाण्डसम्म पुग्नको लागि गर्न सकिन्छ ?  यी प्रश्नहरूको उत्तर विज्ञानको क्षेत्रमा खोजको लागि नयाँ दिशा हुन सक्छन् ।

के पृथ्वीमा हाम्रो अस्तित्व रहनेछ ?

हकिङ यहाँ एक गहन र प्रभावशाली दृष्टिकोण प्रस्तुत गर्दछन्, जसबाट मानवताको भविष्यको बारेमा सोचनीय विषय उजागर हुन्छ । यसबाट हामीले आफ्नो अस्तित्वको लागि कसरी सही कदम उठान सक्छौं भन्ने कुरा स्पष्ट हुन्छ । यहाँ मानवताका सामु कुन-कुन चुनौतीहरू छन् र तिनीहरूबाट मुक्त हुन सकिन्छ कि सकिंदैन भन्ने कुराको खोज गरिएको छ । हामीलाई जीवन प्रदान गर्ने पृथ्वी अब खतरामा छ । मानव गतिविधिहरूद्वारा जसरी प्राकृतिक स्रोत-साधनहरूको दोहन भएको छ, त्यो धेरै गम्भीर चिन्ताको विषय हो । जलवायु  परिवर्तन, बढ्दो जनसंख्या र ऊर्जाको आवश्यकताले पृथ्वीमा दबाव वृद्धि गरिदिएको छ । औद्योगिकीकरणपछि मानिसले जुन तीव्रतापूर्वक पर्यावरणलाई नोक्सान पुर्‍याएको छ, त्यो धेरै नराम्रो छ ।

हकिङले परमाणु युद्ध, जैविक हतियार र कृत्रिम बौद्धिकता जस्ता संभावित खतराको पनि उल्लेख गरेका छन् । मानिसले आफैले बनाएका प्रविधिहरूबाट सबभन्दा ठूला खतरा उत्पन्न भइरहेका छन् । यदि हामीले यी प्रविधिमाथि नियन्त्रण गरेनौं भने तिनीहरूले हाम्रो सभ्यतालाई नष्ट गरिदिनेछन् ।

जलवायु परिवर्तन केवल एक वैज्ञानिक चेतावनी मात्र नभएर यो हाम्रो पुस्ताको सबभन्दा ठूलो संकट हो । समुद्रको सतह बढ्नु, मौसको चक्रमा असामान्य परिवर्तन हुनु र प्राकृतिक विपदका बढिरहेका घटनाहरू जस्ता 'ग्लोबल वार्मिङ' सँग जोडिएका समस्याहरूले यदि हामीले अहिले नै कदम उठाएनौं भने स्थिति हाम्रो नियन्त्रणभन्दा बाहिर हुन्छ भन्ने संकेत दिएका छन् । के हामी आफैले बनाएका समस्याबाट मुक्त हुन सक्छौं ?  के हाम्रो प्रजातिमा ती चुनौतीहरूको सामना गर्ने शक्ति छ ?  पृथ्वीमा बढ्दो जनसंख्या पनि एउटा ठूलो चुनौती हो । यदि जनसंख्या यही रफ्तारमा बढिरह्यो भने हाम्रा आवश्यकताहरू पृथ्वीका स्रोत-साधनहरूभन्दा बढी हुनेछन् । खाना, पानी र ऊर्जाको कमीले संघर्षलाई जन्म दिनेछ । पृथ्वीमा सीमित मात्र स्रोत-साधन छ भन्ने कुरा मानवले बुझ्नुपर्छ ।

हकिङले परमाणु युद्ध, जैविक हतियार र कृत्रिम बौद्धिकता जस्ता संभावित खतराको पनि उल्लेख गरेका छन् । मानिसले आफैले बनाएका प्रविधिहरूबाट सबभन्दा ठूला खतरा उत्पन्न भइरहेका छन् । यदि हामीले यी प्रविधिमाथि नियन्त्रण गरेनौं भने तिनीहरूले हाम्रो सभ्यतालाई नष्ट गरिदिनेछन् । तर यसको अर्थ हामीले हार मान्नुपर्छ भन्ने होइन । मानवतासँग उसलाई हरेक कठिनाईबाट बाहिर निकाल्ने सामर्थ्य छ । यसको समाधानको लागि विज्ञान र प्रविधिको नै आवश्यकता हुन्छ । यदि आफ्नो ऊर्जा र प्रयासलाई सही दिशामा लगाइयो भने यी समस्याको समाधान गर्न सकिन्छ ।

हामीले आफ्नो ग्रहलाई बचाउने मात्र होइन, बरु अन्य ग्रहमा पनि जीवनको संभावना खोज्नुपर्छ । मंगल ग्रह र अन्य ग्रहमा बस्ती बनाउने संभावना पनि छ । यसबाट के बुझिन्छ भने कुनै दिन पृथ्वी बस्नयोग्य भएन भने पनि अन्तरिक्षमा अन्यत्र कतै जीवित रहन सकिन्छ । अन्तरिक्षतिर बढ्नु मानवताका लागि एक बीमा नीति जस्तै हो । यो विचारले पृथ्वीलाई छोड्ने भन्दा पनि हाम्रो अस्तित्वलाई सुनिश्चित गर्नको लागि विकल्पमाथि विचार गर्नुपर्छ भन्ने सुझाव दिन्छ । हामीले आफ्ना प्राथमिकताहरूलाई सही दिशामामा मोड्नुपर्छ । केवल अन्तरिक्षतिर हेर्नु मात्र पर्याप्त हुँदैन, हामीले पृथ्वीलाई बचाउनको लागि ठोस कदम पनि उठाउनुपर्छ ।

हकिङले प्रश्न उठाए -  के हामी आफ्नो अर्को पुस्ताको लागि सुरक्षित पृथ्वी छोड्न सक्छौं ?  यो धेरै महत्त्वपूर्ण प्रश्न हो । हाम्रो सबभन्दा ठूलो शक्ति भनेकै हाम्रो जिज्ञासा र सोच्ने क्षमता हो । यदि हामीले सही निर्णय लियौं र सँगै मिलेर काम गर्यौं भने हामीले पृथ्वीलाई पनि बचाउन सक्छौं र ब्रम्हाण्डमा एक नयाँ शुरुवात पनि गर्न सक्छौं । यो एक चेतावनी मात्र होइन, यसले हामीलाई आफूभित्र हेर्ने मौका प्रदान गर्छ । यसले हामीलाई आफ्नो वर्तमान र भविष्यको जिम्मेवारीलाई बुझ्नको लागि अभिप्रेरित गर्छ । हकिङका अनुसार हरेक सामान्य कदमले पनि ठूलो परिवर्तन ल्याउन सक्छ,  यद्यपि हामीले यसलाई सही दिशामा अगाडि बढाउनुपर्छ । यसबाट वैज्ञानिक दृष्टिले सोच्न र आफ्नो कार्यलाई पुनःपरिभाषित गर्ने प्रेरणा प्राप्त हुन्छ ।

के हामीले अन्तरिक्षमा जीवन बसाउनु हुन्छ ?

यो हाम्रो सभ्यताको भविष्यमाथि एक नयाँ दृष्टिकोण प्रदान गर्ने गहन र प्रेरणादायक विचार हो । यहाँ वैज्ञानिक संभावनाहरूको चर्चा गर्नुका साथै मानवताको अस्तित्वसँग जोडिएका गहन प्रश्नहरूको सामना गर्ने आव्हान पनि गरिएको छ । अन्तरिक्षमा जीवन बसाउनु रोमान्चक मात्र नभएर यो हाम्रो प्रजातिको लागि एक दीर्घकालिक अस्तित्वको लागि आवश्यक पनि हुन सक्छ । हकिङका अनुसार पृथ्वीमा हाम्रो स्थिति अब स्थायी रहन सक्दैन । जनसंख्या वृद्धि, जलवायु परिवर्तन, प्राकृतिक स्रोत-साधनहरूको अत्याधिक दोहन र संभावित खतर्नाक प्रविधिको विकासले हाम्रो ग्रहलाई जोखिमा पुर्‍याइदिएको छ । यदि हामीले आफ्नो सभ्यतालाई बचाइराख्ने हो भने हामीले आफ्ना सीमाहरूभन्दा पर हेर्नुपर्छ ।

हकिङका अनुसार अन्तरिक्ष मानवताको रक्षाको लागि अन्तिम उपाय हुनसक्छ । अन्तरिक्षमा मानव बस्ती सिर्जना गर्नु विज्ञान र प्रगतिको क्षेत्रमा मानिसको सबभन्दा ठूलो उपलब्धि हुनसक्छ । हकिङले यसलाई मानवताको लागि एक बीमा पोलिसी भने । यदि पृथ्वीमा कुनै वैश्विक विपद वा प्राकृतिक विपद आइलागेको खण्डमा  (जस्तो कि छुद्र ग्रहको टकराव वा मानव निर्मित परमाणु युद्ध) अन्तरिक्षको उपनिवेशले हाम्रो अस्तित्वलाई सुरक्षित राख्न सक्छ । तर यो विचार सुरक्षासम्म मात्र सीमित छैन, अन्तरिक्ष अन्वेषण मानवताको जिज्ञासा र खोजको भावनाको प्रतीक पनि हो ।

हकिङका अनुसार अन्तरिक्ष मानवताको रक्षाको लागि अन्तिम उपाय हुनसक्छ । अन्तरिक्षमा मानव बस्ती सिर्जना गर्नु विज्ञान र प्रगतिको क्षेत्रमा मानिसको सबभन्दा ठूलो उपलब्धि हुनसक्छ ।

ब्रम्हाण्डमा जीवनको खोज गर्ने, नयाँ संसारको संभावनाको पत्ता लगाउने र विज्ञानका ती प्रश्नहरूको उत्तर खोज्ने कुराले हामीलाई सदैव हैरान बनाउँदै आएका छन् । यी सबै  कुरा अन्तरिक्ष अन्वेषणसँग जोडिएका छन् । मंगल ग्रहलाई यो दिशामा पहिलो कदम मान्न सकिन्छ । मंगल ग्रह हाम्रो पृथ्वीपछि जीवनको लागि सबभन्दा संभावित स्थान हो । मंगलको सतह, त्यहाँ विद्यमान पानीका अंश र त्यसका परिस्थितिहरूले त्याहाँ जीवनको शुरुवात गर्न सकिन्छ भन्ने संभावना प्रदान गर्दछन् । तर यो यात्रा सहज हुनेछैन । मंगल ग्रहमा मानव वस्ती बनाउनको लागि अत्याधिक उन्नत प्रविधि, विशाल संसाधन र अत्याधिक साहसको आवश्यकता हुनुपर्छ ।

हकिङका अनुसार अन्तरिक्षमा बस्ने प्रक्रियाले मानवतालाई नयाँ दृष्टिकोण प्रदान गर्नेछ । यसले मानवको बीचको मतभेदलाई भुलेर एकजुट हुने प्रेरणा प्रदान गर्नेछ । पृथ्वीबाट बाहिर निक्लिएर ब्रम्हाण्डको विशाल विस्तारलाई हेर्दा हाम्रा आफ्ना समस्याहरू अत्यन्तै साना लाग्छन् । अन्तरिक्ष अन्वेषणले हाम्रो वास्तविक शक्ति हाम्रो एकतामा हुन्छ भन्ने कुरा सिकाउँछ । यो यात्रामा खतरा र चुनौतीहरू हुनेछन् । अन्तरिक्षमा जीवन कठिन र खतर्नाक हुनेछ । ब्रम्हाण्डीय विकिरण, अत्याधिक तापक्रम र जीवनको लागि आवश्यक स्रोत-साधनहरूको कमी जस्ता समस्याहरूको सामना गर्नुपर्नेछ । तर मानवताले सदैव चुनौतीहरूको सामना गर्नुका साथै पार पनि गरेको छ ।

हकिङका अनुसार अन्तरिक्षमा अन्वेषण वैज्ञानिकहरूको र प्राविधिक विशेषज्ञहरूको मात्र कार्य होइन, यो सम्पूर्ण मानवताको सपना हो । यदि हामीले यसलाई संभव बनाउन चाहन्छौं भने हामीले आफ्ना प्रयास र स्रोत-साधनहरूलाई सही दिशामा लगाउनुपर्छ । हामीले वर्तमानका समस्याहरूमा अल्झिएर मात्र रहनु हुँदैन, भविष्यका संभावनाहरूलाई पनि हेर्नुपर्छ । अन्तरिक्षमा उपनिवेश बनाउने काम हाम्रो अस्तित्वको लागि आवश्यक मात्र छैन, यसले हामीलाई आफ्नो ग्रह र स्वयंलाई कसरी उत्कृष्ट बनाउन सक्छौं भन्ने कुरा पनि सिकाउँछ ।

के कृत्रिम बौद्धिकताले हामीलाई पछाडि छोडिदिन्छ ?

यो प्रविधि र मानवताको भविष्यसँग जोडिएका कयौं महत्त्वपूर्ण प्रश्नहरूलाई उठाउने एउटा जटिल र गहन विषय हो । यहाँ प्राविधिक प्रगतिको विश्लेषण गर्नुका साथै यससँगै हामीले कसरी अगाडि बढ्नुपर्छ भनेर हाम्रो चेतनालाई जागृत गर्ने काम पनि गरिएको छ । हामीले आफ्नो जीवनलाई सरल बनाउनको लागि विकसित गरेको कृत्रिम बौद्धिकता के भविष्यमा हाम्रो जीवनको लागि खतरा बन्न सक्छ ?  यो धेरै गम्भीर प्रश्न हो । कृत्रिम बौद्धिकता मानवताको लागि सबभन्दा ठूला उपलब्धिहरूमध्ये एक हुनसक्छ । तर यो त्यति नै खतर्नाक पनि हुनसक्छ । यो दुईधारते तरवार जस्तै छ, जसलाई सही दिशामा उपयोग गरेको खण्डमा मानव जीवनलाई बदल्न सक्छ, तर यदि यसलाई गलत दिशामा जान दिइयो भने यसले हामीलाई विनाशतिर पनि लिएर जानसक्छ ।

हकिङका अनुसार कृत्रिम बौद्धिकताको क्षमता सीमित हुँदैन । यसले सिक्ने, तर्क गर्ने र समस्या समाधान गर्ने मानव क्षमतालाई पार गर्न सक्छ । कृत्रिम बौद्धिकतामा आधारित प्रणालीले आजको समयमा जटिल समस्याहरूको हल निकाल्न सक्छ, जस्तो कि चिकित्सामा सटिक रोगधाम, स्वचालित वाहन र विशाल डाटा समूहको विश्लेषण । तर कृत्रिम बौद्धिकताको बढ्दो क्षमतासँगै यसको खतरालाई बेवास्ता गर्न सकिंदैन । कृत्रिम बौद्धिकताले मानवताको लागि हानिकारक हुने लक्ष्यतिर पनि काम गर्न सक्छ । यदि हामीले यसलाई नियन्त्रित गर्नको लागि सही नैतिकता र मापदण्ड बनाएनौं भने यसले अकल्पनीय परिणामतिर पनि लिएर जानसक्छ ।

कृत्रिम बौद्धिकताको बढ्दो क्षमतासँगै यसको खतरालाई बेवास्ता गर्न सकिंदैन । कृत्रिम बौद्धिकताले मानवताको लागि हानिकारक हुने लक्ष्यतिर पनि काम गर्न सक्छ ।

हकिङका अनुसार कृत्रिम बौद्धिकतालाई पूर्ण रूपमा बुझ्न र नियन्त्रित गर्न सदैव संभव हुँदैन । किनकि यसले स्वयंलाई सुधार्ने र विकसित गर्ने क्षमता राख्छ । यस सन्दर्भमा हामीले मानवताको बुद्धिमत्तालाई कायम राख्न सक्छौं भन्ने प्रश्न उठ्न सक्छ । यस्तो अवस्थामा हामीसँग प्राविधिक रूपले अति उन्नत प्रजाति हुनेछ । कृत्रिम बौद्धिकता (एआई)  लाई 'सुपर इन्टलिजेन्स'  सम्म पुग्न धेरै समय लाग्नेछैन । यो एक संभावित खतर्नाक मोड हो, जहाँ यसले मानिसलाई अप्रासंगिक बनाउन सक्छ । तर यहाँ केवल खतरा मात्र छैन, एआईका अति धेरै संभावित लाभ पनि छन् । यदि यसलाई सही दिशामा उपयोग गरियो भने यसले मानवताले सयौं वर्षसम्म झेलेका सबै समस्याहरूबाट छुटकारा दिलाउन सक्छ ।

कृत्रिम बौद्धिकताले गरीबी, बिरामी र जलवायु परिवर्तन जस्ता समस्याहरूको समाधान दिन सक्छ । एआईलाई सही तरीकाले प्रयोग गर्नको लागि त्यसको विकास र उपयोगमा पारदर्शिता र नैतिकता सुनिश्चित गर्नुपर्छ । एआईको विकास प्राविधिक विशेषज्ञहरूको लागि मात्र नभएर यो सम्पूर्ण मानवताको विषय हो । यसलाई नियन्त्रित गर्नको लागि अन्तराष्ट्रिय स्तरमा नीतिहरू बनाउनुपर्छ । एआईले मानिसहरूको हितमा काम गर्नुपर्छ, उनीहरूको विरुद्धमा होइन । यसका उद्देश्य र प्राथमिकतालाई मानवीयताका मूल्यमान्यता र आवश्यकता अनुसार 'प्रोग्रामिङ' गर्नुपर्छ  ।

एआईले केवल हाम्रो प्राविधिक क्षमता मात्र होइन, यसले हाम्रो नैतिकता र मानवताको गहिराईलाई बुझ्ने अवसर पनि प्रदान गर्छ । यसकारण एआईका खतराहरूबाट डराउनेभन्दा पनि यसलाई विकासको लागि एक अवसरको रूपमा हेर्नुपर्छ । यदि यसलाई सही दिशामा विकास गरियो भने यो हाम्रो समाज र जीवनको लागि  एक सकारात्मक शक्ति बन्न सक्छ ।

हामीले कसरी आफ्नो भविष्य बनाउन सक्छौं ?

यो प्रश्न मानवताका संभावना, निर्णय र गहिराईमा केन्द्रित छ । यहाँ वैज्ञानिक दृष्टिकोणको साथै हामी आफ्नो भविष्यका निर्माता हौं भन्ने एक प्रेरणादायक संदेश दिइएको छ । हकिङका अनुसार भविष्यको आकार आज हामीले कुन कदम उठाउँछौं र हाम्रा प्राथमिकताहरू के हुन् भन्ने कुरामा पूर्ण रूपले निर्भर हुन्छ । मानवतासँग अझै पनि आफ्नो भविष्यलाई बदल्ने समय छ । हामी प्राविधिक प्रगति, वैश्विक एकता र जिम्मेवार निर्णयहरूको माध्यमबाट एक उज्ज्वल भविष्य निर्माण गर्न सक्छौं ।

यदि हामी आफ्ना कार्यहरूप्रति असावधान रह्यौं भने यसले हामीलाई विनाशतिर पनि लिएर जान सक्छ । पर्यावरणीय संकट, 'ग्लोबल वार्मिङ', प्रदूषण र स्रोतसाधनहरूको कमी जस्ता समस्याहरूले हाम्रो सामु एक ठूलो खतरा प्रस्तुत गर्दछन् । यो समय समस्याहरूलाई पहिचान गर्ने मात्र होइन, तिनीहरूको समाधान खोज्नु पनि हो । के हामी आफ्नो पृथ्वीलाई बचाउनको लागि ठोस कदम उठाइरेका छौं वा यसलाई केवल बहसमा अल्झाइरहेका छौं ?  यो एक गम्भीर प्रश्न हो । यस सन्दर्भमा शिक्षा र वैज्ञानिक अनुसन्धानको महत्त्वपूर्ण भूमिका हुन्छ ।

प्राविधिक प्रगतिलाई केवल लाभ र शक्तिको लागि प्रयोग गर्दा समाजमा असमानता पैदा हुन्छ । प्रविधिलाई समान अवसर र समानता सुनिश्चित गर्नको लागि उपयोग गरिनुपर्छ ।

विज्ञान र शिक्षा नै हाम्रा समस्याहरूको समाधान खोज्ने र एक उत्कृष्ट भविष्य बनाउनमा मद्दत गर्ने उपकरण हुन् । हामीले विज्ञानलाई प्रयोगगशालामा मात्र सीमित राख्नु हुँदैन,  यसलाई समाज र नीतिनिर्माणमा पनि सामेल गर्नुपर्छ । प्रविधि र कृत्रिम बौद्धिकताका उपकरणले मानवका समस्याहरूको समाधान गर्न सक्छन्, तर यसलाई जिम्मेवारीपूर्वक उपयोग गर्नुपर्छ । प्राविधिक प्रगतिलाई केवल लाभ र शक्तिको लागि प्रयोग गर्दा समाजमा असमानता पैदा हुन्छ । प्रविधिलाई समान अवसर र समानता सुनिश्चित गर्नको लागि उपयोग गरिनुपर्छ ।

भविष्यलाई आकार दिनको लागि वैश्विक एकता र सहयोग आवश्यक हुन्छ । यदि हामीले आफ्ना सीमाहरूलाई पार गरेर एकताबद्ध भई काम गर्यौं भने हामीले कुनै पनि चुनौतीको सामना गर्न सक्छौं । वैश्विक शान्ति, न्याय र समानताको धेरै महत्त्वपूर्ण स्थान हुन्छ । यी तत्त्वहरूले नै मानवताको भविष्यलाई सुरक्षित र उज्ज्वल बनाउन सक्छन् । हामीसँग ब्रम्हाण्डलाई बुझ्ने र त्यसमा आफ्नो स्थान खोज्ने अवसर छ । मानवताको यो यात्रा अस्तित्वको मात्र नभएर हाम्रो पहिचान र उद्देश्यलाई बुझ्नु पनि हो । हामीले आफ्ना बच्चाहरूको लागि उनीहरूले गर्व गर्नसक्ने भविष्य छोडेर जानुपर्छ । हाम्रा साना-साना कार्य र निर्यणहरूले पनि हाम्रो भविष्यमा गहिरो असर पार्दछन् । यसकारण हामीले केवल आफ्नो बारेमा मात्र सोच्नुहुँदैन, बरु सम्पूर्ण मानवताको हितमा काम गर्नुपर्छ । हामीले आफ्ना प्रयास र सपनाहरूलाई एक उज्ज्वल र सुरक्षित भविष्यतिर अगाडि बढ्ने हिसाबले केन्द्रित गर्नुपर्छ ।

सन्दर्भ स्रोत

1 https://dn790003.ca.archive.org/0/items/brief-answers-to-the-big-questions/Brief%20Answers%20to%20the%20Big%20Questions.pdf

2 स्टीफन हाकिंग,  ब्रम्हांड के बडे सवालों के संक्षिप्त जवाब,  हिन्दी संस्करण, मंजुल प्रकाशन

3 Study and Research of various websites, blogs, online portals, youtube channels, etc.

Title image souce: https://images.newscientist.com