सरसफाइ मन पराउने ध्रुवीय भालु

खाना खाएपछि चुठ्ने र सरसफाइ गर्ने कुरा मानिसका लागि सामान्य कुरा हो । तर मानिस बाहेक ध्रुवीय भालु (Ursus maritimus) ले पनि भोजनपछिको  आफ्नो सरसफाइमा ध्यान दिने गर्छन् । ध्रुवीय भालुले भोजन गरिसकेपछि आफ्नो फर सफा गर्न र सुख्खा राख्न विशेष ध्यान दिन्छन् ।यो प्रक्रिया कठोर आर्कटिक वातावरणमा जीवित रहनका लागि अत्यावश्यक पनि छ।

सरसफाइको व्यवहार र वैज्ञानिक कारण

ध्रुवीय भालुहरूको फर दुई तहको हुन्छ: बाहिरी तहमा लामो, खोक्रो रङहीन रौंहरू हुन्छन्, जुन पानी प्रतिरोधी हुन्छन् ।र भित्री तहमा चाहिँ बाक्लो, ऊनी रौंहरू हुन्छन्, जसले तातोलाई समेटेर राख्न वा बाहिर जान नदिन मद्दत गर्छ। ध्रुवीय भालुको त्यो फर चिप्लो, फोहोर वा भिजेको हुन्छ भने, त्यसको तापरोधक क्षमता ९०% सम्म घट्न सक्छ । त्यसले हाइपोथर्मिया अर्थात् चिसोको जोखिम बढाउँछ।

भोजनपछि सरसफाइको प्रक्रिया

भोजनपछि, ध्रुवीय भालुहरू प्रायः नजिकको पानीमा जान्छन् र करिब १५ मिनेटसम्म आफ्नो खुट्टा, छाती र मुख सफा गर्छन्। वरिपरि पानी उपलब्ध छैन भने, तिनीहरू हिउँमा लडिबडी खेल्छन्, आफ्नो टाउको हिउँमा घोट्छन्, र आफ्नो शरीरलाई हिउँमा रगड्छन्।

आमा ध्रुवीय भालुहरूले आफ्ना बच्चाहरूलाई चाटेर सफा गर्छन्, र बच्चाहरू पनि आफूलाई र एकअर्कालाई चाटेर सफा गर्ने व्यवहार देखाउँछन्।

सरसफाइको महत्व

ध्रुवीय भालुहरूको सरसफाइको व्यवहार केवल स्वच्छताका लागि होइन, जीवित रहनका लागि अत्यावश्यक छ। सफा र सुख्खा फरले तिनीहरूलाई चिसोबाट जोगाउँछ, र सिकार गर्दा हिउँमा मिसिएर हत्तपत्त शिकारले नदेख्ने तुल्याउन मद्दत गर्छ।

दायित्वबोध/रोचक

यस स्तम्भअन्तर्गत जीवन र जगतका राेचक रमाइला जानकारीहरु प्रस्तुत गरिन्छ ।