एउटा सानो सम्झना प्रदीप नेपाल बारेको !

इलाम ससुराली घर भएका प्रदीप नेपाल म इलामे भएको नाताले अनौपचारिक कुराकानीमा मलाई ‘ससुराली’ भनेर सम्बोधन गर्थे । उनीसँगको मेरो भेट पत्रकारिताले २०४७–४८ तिर जुटाइदिएको थियो । त्यसबेला म संरचना साप्ताहिकको सम्पादन कर्ममा सहभागी थिएँ । नेकपा मालेका बलियो खम्बा, कुशल संगठक, लेखक, पत्रकार, साहित्यकारको छवि बनाएका नेपालसँग त्यसपछि धेरैपटक पत्रकारिताको सिलसिलामा हाम्रो भेट र कुराकानीहरु भएको थियो । भौतिक भेटघाट पूर्व मैले उनलाई प्रदीप नेपालका रुपमा हैन, प्रगतिशील साहित्यकार सञ्जय थापाको रुपमा उनको कृतिहरुमार्फत् भेटेका थिएँ ।
नेकपा मालेकालीन समयमा मदन भण्डारीको विश्वासपात्र र भरपर्दा सहकर्मी कमरेड रहेका प्रदीप नेपाल २०४९ माघमा भएको एमालेको पाँचौ महाधिवेशनमा केन्द्रीय समितिको सूचीमा अटाएनन् । यो उनको लागि अपमानजनक घटना थियो । उनले तत्कालै पार्टी परित्यागको घोषणा गरे ।
महाधिवेशनको बारेमा जानकारी दिन एमाले पार्टीले बागबजारस्थित कार्यालयको छतमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो । त्यसबेला अहिलेको जस्तो वैभव र रजगज थिएन एमालेको । छतमा आयोजित पत्रकार सम्मेलनमा मनमोहन अधिकारी, मदन भण्डारी लगायतका नेताहरु उपस्थित थिए । अधिकांश जवाफ महासचिवमा निर्वाचित मदन भण्डारीले दिएका थिए । उपस्थित पत्रकारहरुलाई चिया, बिस्कुट खुवाइएको थियो ।
त्यसबेला मैले भण्डारीलाई एउटा प्रश्न सोधेका थिएँ– ‘एमालेका महाधिवेशन ताका थुप्रै कालिदासहरु देखापरेका थिए । महाधिवेशनको दरवारमा आइसकेपछि अब तिनीहरुले महाकवि बन्ने अवसर प्राप्त गर्छन् कि गर्दैनन् ?’
त्यसबेला भण्डारीले ‘ढुक्क हुनुहोस् कमरेड! एमालेभित्र सबैले समान अवसर प्राप्त गर्नेछन् !’ भनी जवाफ दिएका थिए ।
बेलुकीपख प्रदीप नेपालको फोन आयो– ‘लौ न एक पटक यसो चिया खान भोलि बिहान भेटौं न !’
त्यसबेला अहिलेको जस्तो हात हातमा मोबाइल थिएन । ल्याण्डलाइन मात्रै थियो ।
मैले उनलाई जवाफ फर्काएँ– ‘भइहाल्छ नि । तर म एक्लो आउन्न । मेरो साथमा शारदा सर पनि आउनुहुन्छ है !’
शारदा सर अर्थात् शारदारमण नेपाल । प्रदीप नेपालले नचिन्ने र नमान्ने कुरै भएन ।
त्यसबेला उनको बसाइ स्वयम्भुतल्तिर डल्लुमा थियो । शारदा सरको निवास पनि त्यतै । बिहानै शारदा सरलाई साथ लिएर म प्रदीप नेपालको निवासमा पुगें ।
चिया खाँदै हामी समकालीन राजनीतिको विवेचनामा रत्यौं । शारदा सर र प्रदीप नेपालबीचको छलफलमा म श्रोता बनेर सुनिरहें । समकालीन वामपन्थी राजनीतिका बारेमा उहाँहरुबीच निक्कै कुराकानी चल्यो, चिन्ता, निराशा र आशाका कुराहरु चले ।
हामी कुराकानीमा रमिरहेकै बेला मदन भण्डारी लगायत एमाले नेताहरुको एक हुल टुप्लुक्क त्यहाँ आइपुगे । हामीलाई देखेर भण्डारीले आश्चर्यचकित हुँदै भने, ‘अरे ! तपाईंहरु पनि यहाँ ?’
शारदा सर र मदन भण्डारीबीच निक्कै पुरानो र गहिरो चिनजान–मित्रता थियो । मेरो चाहिँ भण्डारीसँग गहिरो चिनजान र हेलमेल नभए पनि पत्रकारको हैसियतमा ठीक्कैको चिनजान थियो । त्यसअघि मैले उनीसँग केही अन्तर्वार्ताहरु गरिसकेको थिएँ । मैले लिएको एउटा अन्तर्वार्तामा ‘एमालेले सर्वहारा सिद्धान्तको परित्याग गरेबारे’को प्रश्नमा उनले दिएको जवाफ ‘इतिहासका हिँडाइका पाइतालाका डोबहरु सधैं उही ठाउँमा पर्नुपर्छ भन्ने जरुरी छैन’ मलाई निक्कै मन परेको थियो । मैले पनि ठट्टाको स्वरमा भनें, ‘हाम्रा ज्वाइँ खलककोमा चिया खान आएको नि !’
भण्डारी रमाइलो हाँसो हाँसे । मैले जिस्काएँ, ‘ल तपाईंहरुको पिबी बैठक नै बस्ने गरी आउनु भएजस्तो छ यहाँ । हामी जान्छौं !’
‘हैन, त्यसो हैन, उहाँसँग यसो ५ मिनेटको मात्रै कुराकानी छ ।’ यसो भनेर मदन भण्डारी शारदा सरसँग केही बेर गफिए ।
हाम्रो पनि खासै कुरा र काम थिएन । सबैसँग बिदा मागेर हामी फर्कियौं ।
त्यसको दिउँसो थाहा पायौं, नयाँ केन्द्रीय समितिमा प्रदीप नेपालको नाम पनि थपिएछ । शायद भण्डारी–नेपालहरुबीच भएको बिहानीको भेटघाटको सकारात्मक परिणाम थियो त्यो ।
भण्डारीले पत्रकार सम्मेलनमा भने झैं साँच्चै नै ‘समान अवसर’ प्रदान गरेका थिए ।
त्यसपछि पनि नेपालसँग पटक पटक भेटघाट भइरह्यो । पत्रकारिताको सिलसिलामा, औपचारिक–अनौपचारिक दुवै तहमा ।
२०५० को सेरोफेरोमा संरचना साप्ताहिकबाट म हटे । अक्षरको खेतीबाट सक्रियता घटेपछि नेपाल लगायत अन्य नेताहरुसँगको भेटघाट पात्लियो, अझ भनौं बन्द नै भयो ।
२०६५ तिर प्रदीप नेपालसँग गोरखापत्र संस्थानको मधुपर्कको कार्यालयमा भेटघाट भयो । त्यसबेला म संस्थानमा प्राविधिक सल्लाहकारको जिम्मेवारीमा थिएँ । उनलाई रोगले निक्कै गालिसकेको रहेछ ! मलाई चिन्न सकेनन् । मैले पुराना कुराहरु सम्झाएपछि बल्ल उनले मलाई चिने, भने– ‘नरिसाउनुहोस् है ! स्वास्थ्यले पिरेपछि धेरै कुरा गडबड भयो !’
त्यसपछि उनीसँग खासै भेटघाट सम्पर्क भएन, सम्पर्क गरिबस्नुपर्ने कामै पनि परेन ।
केही महिनाअघिको कुरा मात्रै हो, शारदा सरसँगको कुराकानीमा हामीले दायित्वबोधको लागि केही वामपन्थी व्यक्तित्वहरुसँग भेटघाट गर्नुपर्ने सूची बनाएका थियौं । त्यो सूचीमा प्रदीप नेपालको पनि नाम थियो । तर दु:खको कुरा, अब त्यो सम्भव भएन ।
हार्दिक श्रद्धान्जली– प्रिय कमरेड प्रदीप नेपाल !

लोकतन्त्रमा जनतालाई उपलब्धि के ?

किताबका कुरा

नित्सेको ईश्वरको मृत्यु – बाटो हराएका मानिसहरूको स्तब्ध साउती

महिला मुक्तिको लागि नेपालको सन्दर्भमा साँस्कृतिक आन्दोलनलाई प्राथमिकता दिइनु प…

निरङ्कुश सत्तालाई चुनौती दिने अपराजित कलम

‘ट्रम्पले हामीलाई के–कसरी पढाउने भन्ने निर्देशन नदिऊन्, हार्वर्डमा पढेर ८ जना …

मुखुण्डो पछाडिको कालो मन: समाजमा प्रतिष्ठित देखिने व्यक्तिहरूमा यौन हिंसाको व…

प्रतिक्रिया