नेपाली मार्क्सवाद कागजदेखि कागजसम्म र सडकदेखि सडकसम्म कुदिरहेछ

टुप्पोवादी एकाधिकारवादी सोचाइ र शैलीले निर्विकल्पवादलाई जन्म दिन्छ

२०५५ साल यता बागमतीमा धेरै पानीहरु बगिसकेका छन् । नेपाली जनमानसमा व्यापक प्रभाव र उपस्थिति जमाएको नेपाली कम्युनिष्ट आन्दोलनले पनि धेरै उतारचढावहरु बेहोरीसकेका छन् र उथलपुथलहरु भोगिसकेका छन् । मुलुक संवैधानिक राजतन्त्रबाट गणतान्त्रिक व्यवस्थामा परिवर्तन भएको पनि धेरै वर्ष बितिसकेको छ ।

नेपाली कम्युनिष्ट आन्दोलनको मूल समस्या के हो र समाधानका उपायहरु के हुन् भन्ने सन्दर्भमा खगेन्द्र सङ्ग्रौलाले त्यसबेला गरेका चिरफार र विश्लेषणहरु २७ वर्षपछि पनि अझै उत्तिकै ज्वलन्त र सान्दर्भिक छन् । आउनुहोस्, आज मे ५ अर्थात् मार्क्सवादका प्रवर्तक कार्ल मार्क्सको जन्मजयन्तीको सन्दर्भमा सङग्रौलाका विचारहरुलाई एक पटक फेर पढौं र गमौं– साँच्चै नै नेपाली कम्युनिष्ट आन्दोलनको मूल समस्या के हो ? के हुन सक्छ समाधानका उपायहरु ?

दायित्वबोध

०००

– राजनीतिमा नौलो जनवाद र साहित्य-कलामा सांस्कृतिक क्रान्तिभन्दा तल्लो तहका कुरामा हाम्रा आँखा लाग्दैनन् । किशोर उमेरदेखि नै यस्ता पदावलीहरुको अमूर्त रटना शुरु हुन्छ । तिनको ऐतिहासिकता, सार्थकता र सान्दर्भिकताको अत्तोपत्तो हुँदैन । यसरी हामीमा नजिकका साना कुरालाई नगन्ने र टाढाका ठूला र बुझ्दै नबुझेका कुरा गर्ने बानी बस्छ । यी सैद्धान्तिक मान्यताहरु आफूले देखे भोगेको जीवन-अनुभव, आफ्नो भूगोल र इतिहास, संस्कृति र परम्परा, सामाजिक बनोट र त्यसको निर्माण-विनाश प्रक्रियाहरुसँग सोझो र सार्थक ढङ्गले कतै जोडिदैनन् । जडसूत्रभक्तिको प्रशिक्षण यहींबाट शुरु हुन्छ ।

नेपाली कम्युनिष्ट आन्दोलनले जनशैलीमा श्रमिक जनताका घर दैलामा पुग्न, तिनका भाषा सिकेर तिनका आवश्यकता र आकांक्षा बुझ्न, तिनकै वैचारिक-सांस्कृतिक धरातलमा उभिएर तिनको भाषामा तिनलाई जागृत हुन, एकगठ हुन, शत्रुमित्रु चिन्न र जीवनलाई फेर्नका लागि आन्दोलित हुन सघाउन सही जमर्को गर्नतर्फ चाहिंदो मात्रामा ध्यान पुऱ्याएन।

– नेपाली मार्क्सवाद कागजदेखि कागजसम्म, भित्तादेखि भित्तासम्म र सडकदेखि सडकसम्म कुदिरहेछ । मार्क्सवाद श्रमिक जनताको दर्शन हो । तिनका जीवनको नर्कतुल्य वास्तविक अवस्था बुझ्न र त्यसलाई उन्नत दिशातिर डोऱ्याउन सिकाउने - सघाउने दर्शन हो । तर नेपाली कम्युनिष्ट आन्दोलनले जनशैलीमा श्रमिक जनताका घर दैलामा पुग्न, तिनका भाषा सिकेर तिनका आवश्यकता र आकांक्षा बुझ्न, तिनकै वैचारिक-सांस्कृतिक धरातलमा उभिएर तिनको भाषामा तिनलाई जागृत हुन, एकगठ हुन, शत्रुमित्रु चिन्न र जीवनलाई फेर्नका लागि आन्दोलित हुन सघाउन सही जमर्को गर्नतर्फ चाहिंदो मात्रामा ध्यान पुऱ्याएन। हुन त कतिपय पार्टीका ध्वजामुनि संगठित भएका समर्पित र इमानी कार्यकर्ता कहींकहीं श्रमिक जनताका घर आँगनमा नपुगेका होइनन् । तर पार्टीको टुप्पोमुखी शिक्षण- प्रशिक्षण बिधिका कारण तिनले श्रमिक जनताका आँगनमा पुगेर तिनले बुझ्ने गरी तिनका आवश्यकता र आकांक्षाका कुरा गर्न जान्दैनन् । तिनले त मार्क्सवाद- लेनिनवाद-माओविचारधारा, वर्ग संघर्ष, सशस्त्र क्रान्ति, दीर्घकालीन जनयुद्ध, गाउँले शहरलाई घेर्ने, सर्वहारा वर्गको अधिनायकत्व, घरेलु सामन्तवाद, दलाल तथा नोकरशाही पूँजीवाद, भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवाद, राष्ट्रिय पूँजीपति, निम्न पूँजीवादी, सारसंग्रहवाद, अराजकतावाद आदि-आदि जस्ता शब्दहरु दोहोऱ्याउन मात्र जान्दछन् । गरीब जनताको दैनिक ढिंडोरोटी, सुत्केरीको ज्वानाको झोल, शिशुको लिटो-पिठो, केटाकेटीको कपुरी क, महिलाहरुका घाँस दाउरा र धारापानी, नून- चिनी-पानी, दैनिक इलम र ज्याला- मुजुरी, हक र इज्जत, रस्तीबस्तीको संस्कृति र इतिहास, सामाजिक बनोट, श्रम सम्बन्ध र त्यसमाथि उभिएका श्रमिक जनताका शत्रु र मित्रुबारे त्यहाँ मसिनो ढङ्गले कुरा हुँदैनन् । व्यक्तिगत जीवनका अनेकौं आकांक्षा र सुख-सुबिस्ता त्यागेर गरीब जनताका आँगनमा पुग्ने कार्यकर्ता जनताका नजरमा 'बिरानो देशका बिराना कुरा मात्र जान्ने मानिस' जस्ता लाग्दछन् । 'जनयुद्ध' भनिने 'माओवादी' कार्यकलाप पनि श्रमिक जनतामाझ, तिनका मन-मस्तिष्कमा, तिनका आस्था र विश्वासमा छैन । त्यसको निरन्तरको उपस्थिति छापामा, भित्तामा, शिक्षालयमा, ओडारमा र भारतमा मात्र छ । त्यो मध्य रातमा रहस्यमय राँक्भूतका रुपमा गाउँबस्तीमा देखापर्छ, अथवा त्यसैगरी कतै 'कार्बाइ' गर्न जान्छ र श्रमिक जनताका मनमा भय र आतङ्क जगाएर अलप हुन्छ ।

व्यक्तिगत जीवनका अनेकौं आकांक्षा र सुख-सुबिस्ता त्यागेर गरीब जनताका आँगनमा पुग्ने कार्यकर्ता जनताका नजरमा 'बिरानो देशका बिराना कुरा मात्र जान्ने मानिस' जस्ता लाग्दछन् ।

– सामाजिक परिवर्तनलाई क्रमिक प्रक्रिया मार्फत विकसित हुने फड्कोको रुपमा होइन, जङ्गी घटनाका रुपमा बुझ्ने गरिएको छ । नेपाली कम्युनिष्ट नेतृत्वका दृष्टिमा कुरुप र सुन्दर गरी समाजका दुईवटा चित्र छन् । एउटा अहिलेको असमानता र अन्यायले भरिएको नारकीय समाज, अर्को नौलो जनवाद खडा भएपछिको स्वर्गीय समाज । समाजका यी दुई अवस्थाका बीचमा सुधार, क्रमिक परिवर्तन र प्रगतिको प्रक्रिया छैन । पार्टीहरुका दस्ताबेज र नेताहरुका लेखमा कुरुप वर्तमानको वर्णन र चित्रणपछि 'नौलो जनवाद आएपछि मात्र यी सबै समस्याबाट पार पाउन सकिन्छ' भनिएको हुन्छ । अहिले र आजैदेखि राजनीति, अर्थनीति र संस्कृतिका क्षेत्रमा लागि परेर गर्नुपर्ने ठोस काम सम्बन्धी सोचाइ र कार्यक्रम केही छैन । गरीब जनताका दैनिक समस्यालाई सकेजति होलो खुकुलो पार्दै जाने क्रमिक प्रक्रियालाई अक्रान्तिकारी सुधारवाद, अर्थवाद आदि भनेर किनारा लगाउने गरिन्छ । अहिले नै सम्भव हुने सानातिना आर्थिक-सामाजिक-सांस्कृतिक सुधारका गतिविधिलाई क्रान्तिको दीर्घकालीन लक्ष्यसँग निरन्तर रुपमा कसरी गाँस्ने र सामाजिक परिवर्तनको प्रक्रियामा आम जनतालाई कसरी क्रियाशील सहभागी बनाउने भन्ने विषयमा न कतै कुनै सोचाइ देखिन्छ, न कार्यकौशल । त्यसैले एउटा जुलुस र अर्को जुलसका बीचको समयमा कार्यकर्ता, समर्थक र शुभचिन्तकले गर्नुपर्ने काम कर्तव्य केही पनि हुँदैन । त्यसैले आन्दोलनका कार्यकर्ता, समर्थक र शुभचिन्तक पार्टीका पटके खेतालाजस्ता लाग्छन् ।

पार्टीको विचार, नीति, नेता, कार्यक्रम, कार्यशैली आदि सबै टुप्पोबाट पहिल्यै निक्यौल भएर आउँछन् । ती सबको निक्यौल गर्ने प्रक्रियामा आम कार्यकर्ताका अनुभवको भूमिका नाम मात्रको हुन्छ । कार्यकर्ताका भागमा चुपचाप सहमति जनाउने र तर्क गर्न खोजे किनारा लगाइने र कार्वाइ बेहोर्ने कर्तव्य मात्र रहन्छ ।

इतिहास निषेधक प्रवृत्तिः पार्टीको नीति र कार्यक्रम निर्माण गर्ने तरिका तथा परिचालन विधि विवाद, संवाद र मतैक्यता अथवा मतभिन्नतासहितको समझदारीमा होइन, टुप्पोवादी एकोहोरो चिन्तन, गुटबन्दी र जालसाजीमा आधारित देखिन्छ । पार्टीभित्रको शिक्षण र प्रशिक्षण विधि आम कार्यकर्ताले पार्टी र क्रान्तिका समस्या, नेता र नीति, कार्यशैली र विधि- प्रक्रियाप्रति जिज्ञासा राख्न, सन्देह गर्न, तर्क गर्न, चित्त नबुझेका कुरामा निर्धक्क भएर असहमति जनाउन पाउने जनवादी अधिकारमा आधारित छैन । विचार, नीति, नेता, कार्यक्रम, कार्यशैली आदि सबै टुप्पोबाट पहिल्यै निक्यौल भएर आउँछन् । ती सबको निक्यौल गर्ने प्रक्रियामा आम कार्यकर्ताका अनुभवको भूमिका नाम मात्रको हुन्छ । कार्यकर्ताका भागमा चुपचाप सहमति जनाउने र तर्क गर्न खोजे किनारा लगाइने र कार्वाइ बेहोर्ने कर्तव्य मात्र रहन्छ । पार्टी परिचालन गर्ने यस्तो विधिले सचेत र स्वाभिमानी, अन्वेषणकारी र सिर्जनशील तथा खाँचो पर्दा नेतासँग सोझै आँखा जुधाउन सक्ने आँट भएका कार्यकर्ता पंक्तिको निर्माण हुन सक्दैन ।

परिणाम स्वरुप, पार्टीमा अवाक् भक्तहरुको भीड लाग्छ । टुप्पोवादमा सोच्ने, बोल्ने, निर्णय गर्ने र अरनखटन गर्ने अधिकार जति टुप्पोमा केन्द्रित हुन्छ । जनवादी केन्द्रियता सम्बन्धी मान्यताको घोर विकृतिकरण भएको छ र बुद्धि र विवेक, ज्ञान र अनुभव, अन्तदृष्टि र दूरदृष्टि तथा नीति-निर्णय गर्ने कौशल जति माथि टुप्पोमा केन्द्रित भएको हुन्छ भन्ने मतवादले घर गरेको छ । तलका जनहरुको काम कर्तव्य त सुन्नु र मुन्टो हल्लाउनु मात्र बाँकी रहन्छ । जहाँ संकोच र भयमुक्त वातावरणमा निरन्तर दोहोरो संवाद र विवाद हुँदैन, त्यहाँ संवाद र विवादको ठाउँमा जालसाजी हुनु स्वाभाविक हो । पार्टीभित्रका गुटबन्दीहरु र धेरैजसो फुटहरु यही टुप्पोवादी र मुखबन्दवादी शैलीका परिणाम हुन् ।

स्वतन्त्र र सिर्जनशील ढङ्गले विचार चलखेल गर्न पाउने वातावरणको अभावमा पार्टी निसासलाग्दो सुरुङमा परिणत हुन पुग्छ । यस्तो सुरुङबाट फुत्किन खोज्दा आज राति ‘परम् भक्त' को भेषमा सँगै सुतेको साथी भोलि विहान आफ्ना नेतालाई गद्दार भन्दै परम् 'शत्रु' को भेषमा प्रकट हुन्छ ।

टुप्पोवादी एकाधिकारवादी सोचाइ र शैलीले निर्विकल्पवादलाई जन्म दिन्छ । टुप्पोमा बसेर सोच्ने, बोल्ने, लेख्ने र निर्णय गर्ने हकमाथि एकाधिकार जमाउनेले पार्टीमा आफूलाई आजीवन निर्विकल्पका रुपमा स्थापित गर्ने परिपञ्च मिलाउन खोज्छ । उसले आफूलाई बौद्धिक, व्यवहारिक र नैतिक दृष्टिले चुनौती दिने योग्यता र क्षमता भएको दोस्रो पंक्तिलाई जन्मिन दिंदैन । आफ्ना विचार, कार्यशैली र आचरणप्रति कसैले फिटिक्क सन्देह मात्र गरेमा त्यो पात्र कार्वाहीको शिकार बन्छ । स्वतन्त्र र सिर्जनशील ढङ्गले विचार चलखेल गर्न पाउने वातावरणको अभावमा पार्टी निसासलाग्दो सुरुङमा परिणत हुन पुग्छ । यस्तो सुरुङबाट फुत्किन खोज्दा आज राति ‘परेम भक्त' को भेषमा सँगै सुतेको साथी भोलि विहान आफ्ना नेतालाई गद्दार भन्दै परम् 'शत्रु' को भेषमा प्रकट हुन्छ ।

यस प्रकारका गुटबन्दी र फुटलाई गुट र फुटका दुबै पक्षले सधैं मार्क्सवादी सत्यको जलप लगाएर सही सिद्ध गर्ने भगिरथ प्रयास गर्छन् । तर प्रायः दुबै चोइटाको भौतिक र सांस्कृतिक धरातलमा तात्विक अन्तर देखिदैन । त्यसैले नेपाली कम्युनिष्ट आन्दोलनको गुट र फुटको अन्तरकथा जनसाधारणका दृष्टिमा बुझिनसक्नु पहेली बनेको छ । वास्तवमा आजसम्म भएका धेरैजसो फुटहरु टुप्पोवादी- हैकमवादी सोचाइ र शैलीप्रतिका नकारात्मक प्रतिक्रियाका परिणामका रुपमा प्रकट भएका छन् ।

– नेपाली कम्युनिष्ट आन्दोलनमा इतिहास विरोधी प्रवृत्ति विद्यमान छ । पार्टीभित्र मतभिन्नताको सोझो परिणाम फुट र फुटको सोझो परिणाम घोर शत्रुता हुने गरेको देखिन्छ । यस्तो शत्रुता इतिहासविरोधी र कृतघ्न प्रवृत्तिका रुपमा प्रकट हुने गरेको छ । जस्तो कि प्रश्रितहरुको मुक्ति मोर्चाका दृष्टिमा पुष्पलाल श्रेष्ठ गद्दार, मोहनविक्रम सिंहका दृष्टिमा पुष्पलाल गद्दार, झापाली कोके र मालेका दृष्टिमा मोहन- विक्रम सिंह गद्दार, प्रचण्डका दृष्टिमा मोहनविक्रम सिंह गद्दार र भरत दाहालका दृष्टिमा प्रचण्ड गद्दार । यसरी हेर्दा नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्व गद्दारै गद्दारहरुको लस्कर जस्तो देखिन्छ ।

आफ्नै अगुवालाई निषेध गरेर उसको स्थान र उचाइमा आफूलाई उभ्याउन खोज्ने यो प्रवृत्ति इतिहास - विरोधी र कृतघ्न प्रवृत्ति हो । यस प्रवृत्तिका कारण नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास क्रमहीन र मर्यादाहीन बनेको छ ।

आफ्ना अगुवाहरुमाथि लगाइएका गद्दारीका यी अभियोगहरु मार्क्सवादी विश्लेषणका आधारमा कम र गुटबन्दी, व्यक्तिवादी महत्वाकांक्षा, असहिष्णुता र आहारिसमा बढी आधारित छन् । आफ्नै अगुवालाई निषेध गरेर उसको स्थान र उचाइमा आफूलाई उभ्याउन खोज्ने यो प्रवृत्ति इतिहास - विरोधी र कृतघ्न प्रवृत्ति हो । यस प्रवृत्तिका कारण नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास क्रमहीन र मर्यादाहीन बनेको छ । आन्दोलनको नेतृत्व आफू समेतले कष्टसाध्य प्रयत्नबाट निर्माण गरेका आफ्नो समेत इतिहासका सबल र सकारात्मक गुणहरुको संरक्षण गर्न र त्यो इतिहासलाई आन्दोलनमा उर्जा थप्ने प्रेरक सन्दर्भका रुपमा उपयोग गर्न असमर्थ छ । यति लामो कम्युनिष्ट आन्दोलनमा सर्वमान्य वर्गीय प्रतीकको निर्माण हुन नसक्नु यही प्रवृत्तिभित्रको घोर असहिष्णुता र अदूरदर्शीताको द्योतक हो । तसर्थ यो घोर सांस्कृतिक दरिद्रताको द्योतक पनि हो ।

– अन्तका अनुभवको सुगा रटाइ गर्ने संस्कार पनि कम जब्बर छैन । आजको नेपाली समाज हिजोको चिनियाँ समाज होइन । यी इतिहासका दुई बेग्लाबेग्लै कालखण्डका बेग्लाबेग्लै ठाउँका, आ-आफ्नै खालका सूक्ष्म विशिष्टताहरु भएका समाज हुन् । तसर्थ चिनियाँ कान्तिका नीति र कार्यक्रमहरु स्वतः नेपाली क्रान्तिका नीति र कार्यक्रम हुन सक्दैनन् । मानव इतिहासका ती उत्तम अनुभवहरु नेपाली सामाजिक परिवर्तनको प्रक्रियामा प्रेरक र उपयोगी सन्दर्भ मात्र हुन सक्छन् । सन्दर्भ आफैं मूल पाठ होइन । समाजबारे सोधखोज गर्ने र निचोड निकाल्ने काम जति माओका रचनामा भइसकेको छ, बाँकी रहेको कुरा त ती निचोडहरुलाई व्यवहारमा उतार्नु मात्र हो भन्ने सुगामार्गी सोचाइले नेपाली कम्युनिष्ट आन्दोलनमा जब्बर रुपमा घर गरेको देखिन्छ । हैन, इतिहासको गति हिजोको चीनमै टुङ्गिएको हो र ? यसरी अन्तका अनुभवको सुगा रटाइ गर्नाको परिणाम स्वरुप मार्क्सवादी समाज विज्ञानलाई सरल गणितका रुपमा बुभने पनि गरिएको छ । मार्क्सवादको भण्डारका केही शब्द र शब्दावलीलाई गणितीय सूत्रका रुपमा रट्न जानेपछि जान्नुपर्ने कुरा जति जानिसकियो भन्ने भ्रम पनि लर्तरो छैन । यस्तो सूत्रभक्ति हाम्रो सामाजिक अध्ययन-अनुसन्धानका बाटाको भयंकर बाधक हो । हाम्रो टपर्टुइँयापना, आफ्नै समाजका सूक्ष्म विशिष्टबारेको हाम्रो अज्ञानता र हाम्रो मूढाग्रहको जरो कारण यही सुगे सूत्रभक्ति हो ।

– नेपाली कम्युनिष्ट आन्दोलनमा नेतृत्व र कार्यकर्ताको वर्ग परिवर्तन, भावनात्मक परिवर्तन, सांस्कृतिक रुपान्तरण, सर्वहाराकरण आदिजस्ता पदावलीहरुको प्रयोग छ्यास्छ्यास्ती पाइन्छ । तर त्यस्तो परिवर्तनको लागि चाहिने सामाजिक आधार, शिक्षण- प्रशिक्षण, सांस्कृतिक प्रक्रिया र प्रयोग परीक्षणबारे न गम्भीर सोचाइ छ, न ठोस कार्यक्रम । आन्दोलनभित्र इमानसाथ आत्म-परीक्षा गर्ने, स्वआलोचनात्मक दृष्टिले आफ्नो पृष्ठभूमि र चरित्रलाई केलाउने, आफूभित्रका सांस्कृतिक विकारहरुलाई साहसकासाथ स्वीकार गर्ने र सचेत रुपबाट तिनमा सुधार परिवर्तन ल्याउने प्रक्रिया शुरु गर्नुको सट्टा मनचिन्ते खालका बाक्ला राता कोट लगाएर ती विकारहरुलाई छोप्ने- लुकाउने अभिनय मात्र हुने गरेको देखिन्छ । परिणामस्वरूप, आन्दोलनका प्रचण्ड नायक भनिएकाहरुमध्ये कसैको किस्सा तिरुपति बालाजीमा समाधिमा पुगेर टुङ्गिएको छ, कसैको किस्सा चरु होम्न पलेंटी कसेर बिसर्जन भएको छ, कसैको किस्सा पजेरो र अजिङ्गर महलमा पुगेर दङदङी गन्हाएको छ । कतिपय नायकहरु त बड़ी नाटकीय ढङ्गले. मार्क्सवाद र श्रमजीवी जनताका मुखर शत्रु बन्न पनि पुगेका छन् । यी सांस्कृतिक दृष्टिले एक पटक रुपान्तरित भएपछि पतीत हुन हुन पुगेका पात्र होइनन् । यी त वास्तवमा सांस्कृतिक रुपान्तरणको प्रक्रियामा प्रवेश नगरेका कोरा पात्रहरु हुन् । यी बनेर बिग्रिएका हुन् भन्ने हाम्रो सोचाइ भ्रम मात्र हो । समस्याहरुको चर्चा गर्ने क्रममा तिनका सम्भावित समाधानका उपायहरु रेखाङ्कित भइसकेका छन् भन्ने मलाई लाग्छ । यहाँ तिनलाई छोटकरीमा यसरी दोहोल्याउन सकिएलाः

आम पार्टी पंक्तिमा भयमुक्त रुपबाट संवाद र वाद-विवाद चल्नसक्ने स्वस्थ र सिर्जनात्मक वातावरण निर्माण गर्नु र माओले सिकाउनु भएको 'जनताबाट लिएर जनताकहाँ लैजाने' जनवादी पद्धति अंगाली टुप्पोवादलाई 'उल्ट्याउनु ।

० इमान्दार आत्म-समीक्षक भई निर्भिकता र निर्ममतासाथ नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासको वस्तुनिष्ठ र सूक्ष्म निरीक्षण गर्नु र त्यसबाट हात लाग्ने सकारात्मक र नकारात्मक पाठबाट सिक्नु ।

० नेतावादी- हैकमवादी केन्द्रियतालाई उल्ट्याएर वास्तविक जनवादी केन्द्रियताको अभ्यास गर्न खोज्नु । आम पार्टी पंक्तिमा भयमुक्त रुपबाट संवाद र वाद-विवाद चल्नसक्ने स्वस्थ र सिर्जनात्मक वातावरण निर्माण
गर्नु र माओले सिकाउनु भएको 'जनताबाट लिएर जनताकहाँ लैजाने' जनवादी पद्धति अंगाली टुप्पोवादलाई 'उल्ट्याउनु ।

० पुस्तकबाट सिकेका मार्क्सवादी पदावलीहरुलाई सन्दर्भका रुपमा पृष्ठभूमिमा राखेर जनजीवनमाझ जानु र जनताका समस्या र आकाक्षा जनतासँगै बसेर जनताका भाषामा जनतासँगै मिलेर केलाउदै जनजागृतिको प्रक्रियामा पण्डितको मार्क्सवादको सट्टा 'जनमार्क्सवाद'को खोजी गर्नु ।

० जिउँदो मार्क्सवादलाई श्रमिक जनताका मन- मस्तिष्कसम्म पुयाउन र जनतालाई क्रियाशील नायकका रुपमा आन्दोलनमा सरिक गराउन जनताका
दैनिक समस्यालाई प्रत्यक्ष रुपले समेट्ने खालका तत्कालै थाल्न सकिने आर्थिक-राजनैतिक-सांस्कृतिक कार्यक्रम निर्माण गर्नु । र, यस्ता झिना मसिना सुधारका कार्यक्रमहरुलाई वृहत् सामाजिक परिवर्तनको दूरगामी उद्देश्यसँग गाँस्ने प्रक्रियागत कडीहरुको व्यवहारबाटै खोजी गर्नु ।

० खुला र व्यापक बहस मार्फत् सांस्कृतिक रुपान्तरणको व्यावहारिक प्रक्रियाबारे वैज्ञानिक धारणा निर्माण गर्नु । पाखण्डका भ्रामक राता कोट फुकालेर आ-
आफ्नो सांस्कृतिक अस्तित्वको सारको निरीक्षण गर्नु र यथार्थवादी भएर सांस्कृतिक रुपान्तरणको वास्तविक, व्यावहारिक र लचिलो कार्यक्रम तय गर्नु र प्रयोग- परीक्षणका रुपमा त्यसलाई लागु गर्न खोज्नु । आदि ।

मूल्यांकन, २०५५ पुसमा प्रकाशित