गोविन्द वर्तमानका दुई कविताहरु

पार्टीको मानिस
निष्कपट मानिसहरुको निम्ति
शुभदिनको निमन्त्रणा लिएर आइरहेका

निष्कपट मानिसहरुको हत्यापछि

उनीहरुकै लाशमाथि टेकेर
न्याय र अन्यायको कुरा गर्न आउँछ

शान्ति र शिष्टाचारको कुरा गर्न आउँछ

विकास र निर्माणको कुरा गर्न आउँछ

मुसुमुसु हाँस्दै आउँछ
प्रजातन्त्रको गीत गाउँछ

त्यसै त्यसै एक्लै रमाउँछ
पार्टीको मानिस


कहिले पश्चिमको कुरा गर्छ
कहिले मध्यपूर्वको कुरा ‍गर्छ
खाडी र अरब देशहरु
चन्द्रिका कुमारातुङ्गा
क्लिन्टन र सद्दाम हुसैन
नरसिम्ह राव र गिरिजाप्रसाद कोइराला
क्यूवा र कोरिया
मानौं, सबै उसका कार्यक्षेत्रहरु हुन्
आउँछ र एकनाशले कुरा गर्छ
पार्टीको मानिस


शीत युद्धको समाप्ती
र, परिवर्तित विश्व व्यवस्था

रुवाण्डाका नदीहरुमा
ढाडिएका काला लाशहरू

घरदेखि सडकसम्म

र टाउकोदेखि जिब्रोसम्म
सर्वत्र बसिरहेको संसद र हल्लाहरु
मियो बनाएर ग्लोबलाई
दाईको गोरु झैं घुमाउँछ
र, विस्तारै विस्तार
उसको खप्परमा रहेको निजत्व
गलामा सम्बगाइरहेको स्वर लहरी
पाब्लो एस्कोवार

याकुब मेमन
चार्ल्स शोभराज
संजय दत्त
र अमरलामा हुँदै
विकास गुरुङ र १५ मिटर अग्लो पर्खालमा

ठक्कर खान्छ र कालो हुँदै जान्छ

मतदाता नम्बर
र मतपत्रको नमूनासहित
निर्बाचनका संघारहरुबाट
बिना अनुमति घर घर छिर्छ र नमस्कार गर्छ
कहिल्यै नसोधेको संचो सुबिस्ता सोध्छ
लामखुट्टेका पखेटाहरु सापटी लिएर
'भुन्भुनाउँदै नेताहरुको पछि पछि
राजधानीको रछ्यानतिर डुल्छ
र हामीलाई
उसको चाहना मुताविक
निश्चित मितिहरुमा
स्वस्तिक चिन्हको ठप्पा लगाउने
बलिया दाँतहरु भएको
रोमन साम्राज्यकालीन दास ठान्छ
त्यसैले भेटमा हाँस्छ र हात मिलाउँछ
हत्याराहरुको भोजबाट
भर्खरै चुठेर आएको

पार्टीको मानिस ।

(“अनुराग” पूर्णांक ७ बाट)

समय-साक्षात्कार

मौद्रिक समयको आहालबाट उठेर
टक्टक्याउँदै रंगीन भ्रमका पानीहरु

निस्पन्द मानिसहरुको भीड समक्ष

शब्दका आँसुहरु खसालेर घण्टौसम्म

जब आएँ शहरमा
मेरो प्रतिवाद निभे शहरका बत्तीहरु

मुस्कान मय मित्रहरुका ओठबाट

आफ्नै इच्छाहरुबाट थाकेर
मनका गोडाहरु गले
जब मसंग मेरो शरीर सिवाय थिएन
यसरी प्रस्तुत भयो
समक्ष:
मेरो राजनैतिक स्वतन्त्रता ।


दिनहरुको आयतनभरि
हल्लिन थाले "हरर मुभी" का दृष्यहरु
बालुवाको पहाडबाट
मानिसको रगत सुरेली खेल्दै सुक्यो
हिसाब दुरुस्त गर्न नाफा नोक्सानको
खप्परभित्र मानिसहरु
गिदी झिकेर भर्न थाले क्याल्कुलेटरहरु
सम्बन्धहरुको सामीप्य
र नाताहरुको निकटता
कम्प्युटरको सूचनामा आधारित भयो
नोटहरुले दिन थाले
सफलताको प्रमाण
जब मसंग मेरो शरीर सिवाय थिएन
यसरी प्रस्तुत भयो
म समक्ष
मेरो राजनैतिक स्वतन्त्रता ।


यन्त्रनदी बेगसँग बग्न थाल्यो राजमार्गमा

सँगसँगै दौडिनथाले चुनावका नाराहरु

भोकको अनुहार प्रफुल्ल भयो
रातको आकाशमा टांगिन थाले
काला सर्पका राता जिब्राहरु

टुथब्रसको भाउ एक्कासी बढ्यो
र हाम्रा दाँतहरु पहेला भए

आयातीत बन्दूक विरुद्ध
यथावत् छन् लामा नङहरु हामीसित
तिनै भए हाम्रा हतियारहरु
यसरी यो भयावह भुईमा
हाम्रा सपनाका भग्नावशेषहरु

प्रजातन्त्रका गहनाहरु भए
जब मसंग मेरो शरीर सिवाय थिएन
यसरी प्रस्तुत भयो
म समक्ष
मैले पाएको राजनैतिक स्वतन्त्रता ।


दिनको उज्यालोमा न्यायको लास बोकेर

केही ठालूहरु विदेशतिर गए
दिनको उज्यालोमा मैनबत्ती बालेर

केही नागरिकहरु अदालततिर गए

जब सबै बाटो छेकियो मेरो निम्ति
हातको कलम लिएर म आएँ मेरो शहरमा

जब आएँ शहरमा
मतिर आए केही साहुजीका प्रश्नहरु

केही हाकिमका प्रश्नहरु
केही पुलिसका प्रश्नहरु
केही पार्टीका प्रश्नहरु

केही संविधानका प्रश्नहरु

प्रश्नहरुको माझमा जब मैले
गोड्न खोजें स्वाभिमानका गराहरु

मृत अवस्थामा प्रस्तुत भयो

मैले पाएको राजनीतिक स्वतन्त्रता  ।

 ("कलम" पूर्णांक ६ बाट)

मूल्यांकन २०५१, माघमा पुन:प्रकाशित