किताबका कुरा

भारतका प्रख्यात विद्वान राहुल सांकृत्यायनको एउटा अचम्मको बानी थियो। राहुल आफुले पढेका किताबहरू त्यत्तिकै छोडेर हिँड्थे रे। कति पटक चिनेजानेका मान्छेहरूले उनलाई सम्झाउँथे—तपाईं किन यसरी आफ्ना बहुमूल्य किताबहरू छोडेर हिँड्नुहुन्छ ? जबकि तपाईं त्यति धनी मानिस पनि हुनुहुन्न। यसरी किताब छोडेर हिँड्ने हो भने फेरि किताबमा आफ्नो धन किन खर्च गर्नुहुन्छ ? राहुल सांकृत्यायनले जवाफ दिए—म किताब आफ्नो ज्ञान बढाउनका लागि किन्छु। जब मेरो उद्देश्य पूरा हुन्छ, त्यो किताब मेरो लागि अनावश्यक बोझ बन्ने गर्छ। मैले त्यो किताब सायदै फेरि पढ्ने कष्ट गरौँला। योभन्दा त बरु त्यो किताबलाई त्यसै कतै छोडिदिए भने आवश्यकतामा परेका अरूले पढ्ने छन्। राहुल सांकृत्यायन भन्ने गर्थे—किताबहरू र ज्ञानलाई कहिले पनि आफूमाथि गधाले भारी बोके जस्तो बोझको रूपमा बोक्नु हुँदैन। जब पुस्तकबाट तपाईंले ज्ञान आर्जन गर्नुहुन्छ, त्यो ज्ञान तपाईंमा आइसक्यो। अब त्यसलाई अरूकोमा जान दिनुहोस्।
शायद यसै कारणले होला, राहुल सांकृत्यायनले आफ्नो ज्यान जोखिममा पारेर त्यत्रो दुःख–कष्ट सहेर तिब्बतबाट लुकाएर ल्याएका बुद्ध धर्म सम्बन्धी अमूल्य र दुर्लभ ग्रन्थहरू पटनाको लाइब्रेरीलाई दान दिए। राहुलले भन्ने गर्थे—यदि तपाईं आफुले पढिसकेका किताबहरू अरूलाई दिन सक्नुहुन्न भन्ने यसको अर्थ तपाईंले त्यो किताबको सारतत्त्व ग्रहण गर्नुभएको छैन। तपाईंलाई अझै लागिरहेको हुनुपर्छ—यो किताब अझै पढ्नुपर्ने छ।
इटालियन दार्शनिक तथा इतिहासकार अम्बेर्तो इकोको घरमा रहेको निजी लाइब्रेरीमा लाखौँ किताबहरू थिए। उनको लाइब्रेरीमा यति धेरै किताबहरू थिए कि आफूलाई आवश्यक किताब खोज्न भर्याङ लगाएर र्याकको माथिल्लो खण्डमा पुग्नुपर्थ्यो। उनलाई भेट्न आउने साथीहरू उनको किताबको संग्रह देखेर छक्क पर्थे। प्रायःजसो सबैले उनलाई सोध्ने गर्थे— के तपाईंले यहाँ भएका सबै किताब पढ्नुभएको छ ?
इकोले जवाफ दिन्थे—यीमध्ये धेरै किताबहरू पढेको छु तर सबै पढेको छैन। तर कसैले आफुले संग्रह गरेका सबै किताब पढेको छ कि छैन भन्ने प्रश्नको कुनै तुक छैन। किनकि किताबहरू रिसर्च टुल पनि हुन्। किताबहरू पढ्नका लागि पनि हुन्छन् र रिसर्चका लागि पनि हुन्छन्। कुनै खास मौकामा तपाईंलाई कुनै पनि बेला कुनै किताबको आवश्यक पर्दछ। त्यस्तो बेला त्यो किताब तपाईं संग उपलब्ध हुनुपर्छ। किनकि किताबमा जुन कुरा भेटिन्छ, त्यो कहीं पनि भेटिँदैन। यदि त्यो किताब तपाईं संग छैन भने सम्भव छ तपाईंले ठूलो महत्वको कुरा छुटाउनु हुनेछ। यसैले गर्दा तपाईंले आफ्नो संग्रहमा रहेका सबै किताबहरू नपढेपनि तपाईंलाई यति चाहिँ थाहा हुनुपर्छ—कुन किताबमा के छ र त्यो कहाँ राखिएको छ भनेर।
जापानी भाषामा एउटा शब्द छ—सुनडोकु (Tsundoku), जसको अर्थ हुन्छ—किताब किन्ने तर कहिल्यै नपढ्ने बानी। सुनडोकुमा ग्रस्त मानिसहरूले किताबहरू त किन्छन् तर पढ्दैनन्। उनीहरूले घरको दराजमा, र्याकमा र टेबलमा ती किताबहरूलाई चाङ लगाएर राखेका हुन्छन्। यो पनि एक किसिमको मनोविकार नै हो। जापानीहरूले भन्ने गर्छन् रे—यदि तपाईंको घरमा १० वटा भन्दा बढी किताब छन् भने त्यो लाइब्रेरी होइन, त्यो फोहोरको थुप्रो हो।
यो कुरा सोच्दा जादा हो जस्तो पनि लाग्छ। तर तत्काल नपढे पनि पछि काम लाग्छ भनेर किताब किन्ने लोभ चाहिँ छोड्न सकिंदैन रहेछ !
हामीहरू मध्ये धेरै जनामा किताबहरू किन्ने तर आफुले किनेका सबै नपढ्ने बानी हुन सक्छ। अझ कसैलाई यो किताब थुपार्ने लत कसरी छोड्ने भन्ने चिन्ता पनि लागिरहेको हुनसक्छ। तर अम्बेर्तो इकोको किताब संकलनबारेको विचार सुनेपछि—किताब नपढे पनि संकलन र थुपार्ने काम खासै नराम्रो चाहिँ होइन भनेर सन्तोष मान्न सक्छन्।

नित्सेको ईश्वरको मृत्यु – बाटो हराएका मानिसहरूको स्तब्ध साउती

महिला मुक्तिको लागि नेपालको सन्दर्भमा साँस्कृतिक आन्दोलनलाई प्राथमिकता दिइनु प…

निरङ्कुश सत्तालाई चुनौती दिने अपराजित कलम

‘ट्रम्पले हामीलाई के–कसरी पढाउने भन्ने निर्देशन नदिऊन्, हार्वर्डमा पढेर ८ जना …

मुखुण्डो पछाडिको कालो मन: समाजमा प्रतिष्ठित देखिने व्यक्तिहरूमा यौन हिंसाको व…

'मालिक र कारिन्दा'को व्यवहारबाट टाढा रत्नकुमार वान्तवा

एडम स्मिथको सुगा र राष्ट्र बैंकको गभर्नर

प्रतिक्रिया