लखेटिएका तीन साहु !

अन्तर्विरोध समाधान गर्ने पद्धति मार्क्सवाद हो. त्यसो भएको हुँदा मार्क्सवादको निर्देशन हो दुश्मनसँग एकएक गरी निपट्नुपर्छ । यो मार्क्सवादको मौलिक सिद्धान्त हो । यस सिद्धान्तलाई हामीले आफ्नो देशका जनतालाई बुझाउन आफ्नो देशमा प्रचलित कथा, किस्सा, उखान, टुक्का आदिबाट उपमा दिई सम्झाउनुपर्छ । त्यसको निम्ति तलको उपमा उपयुक्त हुन सक्छ :

कुनै एकजना मगरको घरखेत उसका तीनजना साहु बाहुन, क्षेत्री र कुमाल मिली कब्जा गरेछन् । मगरको निम्ति उक्त तीनैजना बैरी भए। अब ती तीनजनासँग एकैपटक लड्ने शक्ति त्यस मगरमा थिएन । अतः उसले एउटा उपाय सोच्यो । त्यो के हो भने बैरीलाई एकअर्कोबाट अलग गरी निपट्नुपर्छ । त्यसको निम्ति उसले ती तीन जातका बीचमा रहेको अन्तर्विरोधबाट फाइदा उठाउने अठोट गर्यो । उसले बाहुनलाई गएर ढोग्यो, क्षेत्रीलाई स्वस्ति गर्यो र कुमालेलाई एक्लो पारेर पिट्दै भन्यो, "बाहुनले जग्गा खाए त परत्रमा पनि पाइएला, क्षेत्री राजा भयो, उसलाई अधिकार नै छ। तँ कुमाललाई त्यसै कहाँ छाड्छु र ?" कुमाल भाग्यो। अनि उसले बाहुनलाई लक्ष्य गरेर भन्यो, "बाहुनबाजे, तपाईं त बाहुन देवता नै हुनुभयो । जग्गा दान दिए पनि पुण्य नै हुन्थ्यो । तर, जनतालाई ठग्ने यस शोषक र शाषक क्षेत्रीलाई म आफ्नो जग्गा के खान दिन्थे ? यसरी उसले बाहुन र क्षेत्रीलाई फुटाल्यो र क्षेत्रीलाई पनि पिटेर लखेट्यो । यता बाहुन भने म त बचें भनेर मख्ख परिरहेको थियो । आखिरमा बाहुन एक्लो परेपछि 'खालास् बाहुन मेरो जग्गा' भनेर उसले बाहुनलाई पनि ठटाएर धपाइदियो र आफ्नो जग्गा हात पार्यो ।

यो कथा मैले एकजना गाउँले किसान कमरेडबाट सुनेको हुँ। यस दृष्टान्तबाट अन्तर्विरोधको सञ्चालन कसरी गर्ने भन्ने प्रश्न र संयुक्त मोर्चाको हाम्रो नीति पनि जनतालाई सजिलैसँग बुझाउन सकिनेछ। मार्क्सवादका मौलिक सिद्धान्तहरूलाई यसरी सम्झाउँदा जनताले बडो रूचिसाथ सजिलै बुझ्न सक्छन् ।

क. पुष्पलाल स्मृति अङ्क २०५२' बाट ।Image: https://en.wikipedia.org/