नागरिकतन्त्रको विचारद्वारा परिवर्तन मार्गनिर्देशित हुनुपर्छ

राजनीतिमा दल, दलभित्र गुट र गुटमा नाइकेको देवत्वकरण गर्ने र युवा नेताहरू मूलनेताको आशीर्वादमा पदीय हैसियत कायम गर्ने प्रतिस्पर्धामा वा आफूले सघाएको गुट दरो पार्न मात्र सक्रिय छन्।इतिहासमा वञ्चितीकरणको अन्याय भोगेका विविध समूहमा "आफ्नो दुनो सिधा गर्ने" को जमातको एउटा वर्ग निर्माण भएको छ र त्यो परिवर्तनले ल्याएका केही सीमित उपलब्धिहरूमा आफ्नो एकाधिकार कायम गर्न उद्धत छ।

हामीले समाजका समस्याहरूलाई राम्रोसँग केलाउनु पर्छ, किन राज्यले काम गरेन वा किन राजनीतिक प्रणाली असफल भयो भन्ने थाहा पाउन। यो समस्या केलाउने कुरा त विज्ञानले स्थापित गरेको पद्धतिले नै निर्देशित गर्नुपर्छ। तर आजको नेपाली बौद्धिक विचारण निरीह रहेको छ, किनकि नेपालको वर्तमान समस्याको विश्लेषण गर्ने काम विज्ञान प्रयोग गर्ने शास्त्रीहरूले होइन, बरु आग्रह वा पूर्वाग्रहबाट पहिल्यै मत निर्माण गरेका सञ्चारकर्मीहरू, सन्दर्भ रोपण गर्ने कुनै मत वा संस्थाको प्रतिनिधित्व गर्ने कथित अभियन्ताहरू, राजनीतिक दलका नेता र कार्यकर्ताहरू एवं बेरोजगार शिक्षितहरूले गर्ने गर्दछन्। हाइप सिर्जना प्रयोजनका लागि नभई समाजलाई सोचाइको मार्ग बताउने सञ्चार संयन्त्रको संख्या त नगण्य छ। सामाजिक सञ्जाल त सबैले मनोसंवेग पोख्ने, ईर्ष्या प्रकट गर्ने, गालीगलौज गर्ने, लाजभाण्ड बोल्ने, कसैको मर्यादा र इज्जतमा ठाडो आक्रमण गर्ने, र दुष्ट ज्ञान बताउने रछ्यान भएको छ।

तथ्यांक र तर्क, अनि तथ्यमा आधारित अनुसन्धानको सहयोगमा आफ्नो दृष्टिकोण राख्ने बौद्धिकहरूको खडेरी आजको नेपाली समाजको जटिल गम्भीर समस्या हो। स्पष्ट देख्न सकिन्छ, समाज पूर्णरूपले कुहिएको छ। विविध नेपाली सभ्यताहरूले निर्माण गरेका सामाजिक मान्यताहरू माथि दृश्य–अदृश्य शक्तिले नाङ्गो आक्रमण गरिरहेका छन्। समाजमा फोहोर गर्न पाउनुपर्छ भन्नेहरूको अधिकार सुनिश्चित गर्न दिग्भ्रमित दिमागहरू संगठित छन्।

उनीहरूको प्राथमिकता समाजको पुनर्संरचना गर्नु, आर्थिक समृद्धिका लागि उत्पादनको अभियान चलाउनु, राजनीतिक परिवर्तनका लागि समकालीन समाजका अन्तरविरोधहरूको खोजी गर्नु र अवस्थालाई बदल्न व्यवस्थामा पुनर्संरचना गर्नु र त्यसका लागि अभियान र नयाँ सामयिक शक्ति निर्माण गर्नु हुँदै होइन/छैन। उनीहरू कुहिएको समाजलाई आफ्नो फाइदाका लागि प्रयोग मात्र गर्न चाहन्छन्। त्यसैले उनीहरू अनैतिक अराजकताको पक्षमा हरतरहले लागिरहेका छन् र उनीहरू कुनै न कुनै शक्तिबाट प्रयोग भएका छन्। राजनीतिमा दल, दलभित्र गुट र गुटमा नाइकेको देवत्वकरण गर्ने र युवा नेताहरू मूलनेताको आशीर्वादमा पदीय हैसियत कायम गर्ने प्रतिस्पर्धामा वा आफूले सघाएको गुट दरो पार्न मात्र सक्रिय छन्।इतिहासमा वञ्चितीकरणको अन्याय भोगेका विविध समूहमा "आफ्नो दुनो सिधा गर्ने" को जमातको एउटा वर्ग निर्माण भएको छ र त्यो परिवर्तनले ल्याएका केही सीमित उपलब्धिहरूमा आफ्नो एकाधिकार कायम गर्न उद्धत छ।

राज्य विदेशी ऋणको बोझले थिचिएको छ। जनता बहुचक्रिय करबाट दविएको छ। बैंकहरूले नागरिकको धन शोषण गरेका छन्। नवउदारवाद अनियन्त्रित उपभोक्तावादको सहयोगमा नागरिकको सबै कमाइ लुटिरहेको छ। नागरिकले कमाएको ९४% खर्च र ६% मात्र बचत हुन्छ भनी राष्ट्र बैंक तथ्यांक दिन्छ। यसरी समग्र धन ५% धनीका पोल्टामा पुगेर आम नागरिक मन्दी र महँगीको मार खप्न बाध्य छन्।सामाजिक संरचनामा एकातिर अनैतिक अराजकताको राज चलेको छ भने अर्कोतिर आज पनि तहगत जातप्रथा यथावत रही एउटा डरलाग्दो परिहास निर्माण भएको अवस्था विद्यमान छ।शासन व्यवस्थामा सिंहदरबारभित्र र तस्करको करेली समात्ने मान्छेले गर्ने भ्रष्टाचारले विकेन्द्रीकरणको हुर्मत काढेको छ।

सारांशमा भन्दा, नेपाल अहिले तीनवटा अभिशप्त तथा जनविरोधी संकटहरूबाट बनेको महासंकटको चंगुलमा फसेको छ।

 १. दृश्य एवम् अदृश्य शक्तिको सूक्ष्म व्यवस्थापनका खेलले राज्यव्यवस्थाले आफ्नो स्वनिर्णयको सामर्थ्य गुमाएको छ, समग्र राष्ट्र नियोजित–नियन्त्रित राजनीतिक अस्थिरताको शिकार भएको छ। जनता स्वाधीनताको पक्षमा छन् र राजनीतिक शक्ति दृश्य–अदृश्य शक्तिको प्रभावमा आफ्नो सत्ता जोगाउन तल्लिन छन्, र त्यो सत्ता प्राप्त गर्न अर्को शक्ति उद्धत छ। अहिले राष्ट्र गणतन्त्र र राजतन्त्रका नाममा द्वन्द्वको चपेटामा छ। नागरिकहरू भकुण्डो बनेर प्रहारको शिकार बनेका छन्। यस द्वन्द्वको फाइदा उठाउन दृश्य र अदृश्य शक्ति तल्लिन छन्। यो आजको राजनीतिक अवस्था हो। यी दुईभित्र पनि स्वार्थ समूह छन्, जो आफ्नो एकलौटी अधिनको खोजी गर्छन्।

२. उत्पादन पतन भएको छ र अर्थतन्त्र विसर्जनको बाटोमा छ। १५ खर्बको व्यापार घाटा घान्न राज्य नागरिकको निर्यातमा तल्लिन छ। राज्यको समग्र अर्थतन्त्र १८/२० जनाको हातमा छ। यो अध्ययनबाट स्थापित तथ्य हो, आज धेरैले दोहोर्याइ रहेका छन्। नागरिक समृद्धिका विरुद्ध यो एक किसिमको लुटतन्त्र नै हो। तर केही मानिस आज पनि दलाल पुँजीवादको कुरा गर्न थाकेका छैनन्। यो बरु चरम वित्तीय पुँजीवादको चंगुल हो। अतः नागरिक समृद्धिका विरुद्ध वित्तीय पुँजीवादबीचको अन्तरविरोध गहिरो भएको छ।

३. अहिले पनि समाजमा तहगत जातीय बरीयता यथावत छ। यसले समाजलाई विभाजित गरेकै छ। अतः नागरिकको आवश्यकता समतामूलक सामाजिक संरचनाको निर्माण गर्नु हो, तर सत्तासीन शक्ति र संभ्रान्त वर्ग अझ पनि पुरातन प्रणाली थोपर्ने योजनामा दिग्भ्रमित जमातलाई झन् झन् भ्रमित बनाइरहेका छन्। नागरिकहरू सभ्यतामा आधारित नयाँ संस्कृतिको पक्षमा छन्, तर समाजलाई अनेक नाममा विभाजित गर्ने तत्त्वहरू नेपाली संस्कृतिको विघटन गर्ने र तहगत जातीय बरीयता कायम राख्ने षड्यन्त्रमा संलग्न छन्। यो पनि नेपाली समाजको जटिल अन्तरविरोध हो।

४. नागरिकहरूको स्वतन्त्रता र सहभागिता खोसिएको छ र राज्य केन्द्रीकृत निरंकुशताको बाटोमा छ। तर नागरिक राज्यप्रणालीका समग्र तहमा सहभागिता द्वारा नागरिकतन्त्रको पक्षमा छन्।

महासंकटको अर्को पक्ष हो—राज्यको सुरक्षाको कमजोर अवस्था। राज्यका निकायहरू शिथिल भएका छन्। सबै क्षेत्रमा दलियकरणको चंगुल निर्माण भएको छ र विदेशी घुसपैठ आम बनेको छ।

यो हो आजको अवस्था जसलाई बदल्नु आवश्यक छ। तर यो अवस्था बदल्न वर्तमान प्रणालीलाई बदल्नु आवश्यक देखिन्छ। र, प्रणाली बदल्न नयाँ विचारको जरुरी हुन्छ। व्यक्ति प्रधान होइन, परिवर्तनमा सही हस्तक्षेपका लागि समाजको समग्र विश्लेषणमा आधारित र विचारको प्रधानता हुन्छ। हामीले नेपालको भावी परिवर्तनका लागि वर्तमान अन्तराष्ट्रिय परिस्थितिलाई ध्यानमा राख्नै पर्छ। अबको युग बहुध्रुवीय युग हो। हाम्रो सिमाना जोडिएको एउटा देश अहिले महाशक्ति बनेको छ र अर्को पनि निरन्तर उठिरहेको छ। समग्र दक्षिणको परस्पर सहयोग र एकता अहिले यथार्थता हो। यसबाट विमुख भएर हाम्रो परिवर्तन अगाडि बढ्न सक्दैन। अतः हामीले हाम्रो अन्तराष्ट्रिय सम्बन्धलाई फराकिलो पार्दै "राजनीतिक समान दूरी र आर्थिक समान सान्निध्यको भू-अर्थनीति" आधारित परराष्ट्र सम्बन्धको खाका तयार पार्न सक्नुपर्ने बाध्यताको सिर्जना भएको छ, अन्यथा हामीले राजनीतिक स्थिरता निर्माण गरी राज्यको स्वनिर्णयको सामर्थ्य निर्माण गर्न सक्दैनौं।

अतः आर्थिक समृद्धिको खाका तयार गर्न हाम्रो समग्र उत्पादन प्रणालीलाई पुनःस्थापित गर्नु पर्छ र त्यसका लागि हाम्रो शिक्षा प्रणालीलाई उत्पादनमुखी तथा व्यावसायिक बनाउनुपर्छ।

(क्रमश:)