के माओवादीमा प्रचण्डलाई प्रतिस्थापित गर्ने व्यक्ति नभएकै हो ?

केही दिनअघि रातोपाटी अनलाइनलाई दिएको एक अन्तर्वार्तामा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले व्यक्त विचारले ‘कम्युनिष्ट पार्टीभित्रको नेतृत्व हस्तान्तर प्रक्रिया’बारे निक्कै गम्भीर सवाल खडा गरेको छ ।
त्यसमा प्रचण्डले ‘नयाँ पुस्तामा आफूजस्तै योग्य र क्षमतावान नदेखेपछि कम्युनिस्ट पार्टीमा नेतृत्व हस्तान्तरण नगरिने प्रचलन रहेको’ बताएका छन् ।
प्रचण्डको जवाफले कम्युनिष्ट पार्टीहरुभित्र नेतृत्व विकासका सवालमा खासै गम्भीर चिन्तन र प्रयन्तहरु हुने नै नगरेको देखिएको छ। पार्टीले नेतृत्व विकास गर्ने नभई व्यक्तिले आफूलाई योग्य र क्षमतावान बनाएर नेतृत्व गर्नको लागि सिद्ध गर्नुपर्ने भन्ने आशय प्रकट भएको प्रचण्डको भनाइले नेपाली कम्युनिष्ट आन्दोलनमा हावी अपरिपक्व र गैर-बामपन्थी चिन्तन सार्वजनिक गरेको छ ।
सैद्धान्तिक रूपमा भन्ने हो भने कम्युनिष्ट पार्टीहरुभित्र बुर्जुवा पार्टीहरुमा जस्तो कुनै एक व्यक्तिमा प्राधिकार केन्द्रित र तजबीजी नेतृत्व हुँदैन । त्यहाँ त सामुहिक निर्णय प्रणालीको थिति बसेको हुन्छ । भलै नेपालको हकमा कम्युनिष्ट नामधारी पार्टीहरुले यो सिद्धान्त र आदर्शलाई 'पत्रु कुरा’ बनाइसकेका छन् । नेपालमा निर्णय प्रक्रियाका हिसाबले धार्मिक सम्प्रदाय जस्तै बनिसकेका कम्युनिष्ट भनिने पार्टीहरुमा ‘टाउके नेता’ले माथि बसेर निर्णय गर्ने र तल रहेका समुच्च नेता–कार्यकर्ता पङ्तिहरुले त्यसलाई बिनाप्रश्न खुरुखुरु पालना गर्नुपर्ने खतरनाक थिति लागू छ । कसैले सामुहिक नेतृत्व प्रणालीको कुरा उठायो, टाउके नेताले गरेको निर्णयमा अलिकति प्रश्न मात्रै उठायो भने पनि उसको राजनीतिक ‘करियर’ ठाउँको ठाउँ ध्वस्त हुने खतरा रहन्छ ।
एउटा सोभियत प्रसङ्ग छ : स्टालिनको मृत्य भइसकेको थियो र नेतृत्वमा ख्रुश्चेव विराजमान थिए । केन्द्रीय समितिको एउटा बैठकमा सबै दोषहरु स्टालिनमाथि थोपर्दै ख्रुश्चेवले निक्कै लामो प्रवचन दिए । उनको प्रवचन सकिएपछि कसैले ख्रुश्चेवलाई सोधे– कमरेड ! स्टालिन जीवितै छँदै यो कुरा भन्नु भएको भए सच्याउन सकिन्थ्यो कि ?
जुरुक्क उठेर ख्रुश्चेवले कड्किँदै सोधे– यो कसले भन्नुभएको हो ? कृपया उठेर आफ्नो विचार राख्नुस् त !
हलमा सन्नाटा छायो । कसैले चूँसम्म पनि गरेनन् ।
केहीबेरपछि मुसुमुसु हाँस्दै ख्रुश्चेवले भने– त्यतिखेर मेरो हालत पनि अहिले प्रश्न गर्ने कमरेडको भन्दा फरक थिएन कमरेडहरु !
यो फगत हाँसोठट्टाको कुरा मात्रै पनि हुन सक्छ । तर, नेपालका कम्युनिष्ट पार्टीहरुको अवस्था सारमा यो भन्दा फरक चाहिँ छैन ।
फेरी फर्कौँ माथि उल्लेखित प्रचण्डको जवाफमा । यसभित्र रहेको अन्तरनिहित मुख्य पक्ष भनेको 'उनको पार्टीभित्र उनलाई विस्थापित गरेर पार्टी हाँक्न सक्ने ‘योग्य र क्षमतावान’ नेताहरु छैनन् । उनको अभावमा पार्टी हाँकिन सक्दैन ।' भन्ने उनको दावीको आधारको खोजी हो।
प्रचण्डको उक्त जवाफमा अन्तरनिहित पक्षहरुमाथि घोत्लिँदै गर्दा अलि अघि उनले कान्तिपुरलाई दिएको अन्तवार्तालाई सम्झनु सर्दर्भिक हुन्छ। जनयुद्धको रक्तरञ्जित राजनीतिलाई विश्राम दिएर शान्तिपूर्ण राजनीतिमा छिर्ने तरखर गरिरहेको बेला प्रचण्डले आफ्ना ‘डेपुटी’ डा. बाबुराम भट्टराईसँग मिलेर दिएको दिएको उक्त अन्तरवार्तामा ‘आफूहरु गान्धीको भूमिकामा बस्ने र अबको नेतृत्व नयाँ पुस्ताले गर्ने’ कुरा व्यक्त गरेका थिए ।
प्रचण्डले त्यो आशय व्यक्त गरेको १७–१८ वर्ष बितिसक्दा पनि पार्टीभित्र अझै पार्टीको नेतृत्व गर्ने ‘योग्य र क्षमतावान’ नेता पैदा हुन नसक्नु निक्कै विडम्बनाको कुरा हो । त्यो हुन नसक्नुको दोष कसको हो ? प्रचण्डको पोल्टामा त्यो दोषको कति हिस्सा पर्ला ?
अनि साँच्चै नै त्यत्रो विशाल कम्युनिष्ट पार्टीभित्र प्रचण्डबाहेक पार्टी नेतृत्व गर्न सक्ने ‘योग्य र क्षमतावान’ नेताहरु नभएकै हो ? आफूलाई नेतृत्व गर्न योग्य ठान्ने नेताहरु माओवादी पार्टीभित्र छन् भने उनीहरुको रहस्यमय मौनता किन ? के उनीहरुको अवस्था पनि माथि उल्लेख गरिएको सोभियतकालीन प्रसङ्गकै जस्तो हो ?
यावत् प्रश्नहरूको एउटै जवाफ हुन्छ - होइन, त्यस्तो हुनै सक्दैन। किनभने माओवादी पार्टी त्यो पार्टी हो जसले आफूलाई एउटा भीषण युद्धको भट्टीमा पकाइसकेको छ। तर, यो जवाफ कोरा सैद्धान्तिक जवाफ मात्र ठहर्छ किनकि खासमा माओवादीमा प्रचण्डको स्थान लिने अरु व्यक्ति नै छैनन्। किनकी माओवादी पार्टीले शान्तिपूर्ण राजनीतिमा हेलिएपछि जनयुद्धको भावना र मर्मलाई निरन्तर परित्याग गर्दै आइरहेको छ र त्यो पार्टीले आफूलाई बुर्जुवा पार्टीमा रुपान्तरण गरिसकेको छ । जनयुद्धको विशेष परिस्थितिमा प्रचण्डमा केन्द्रीकृत नेतृत्वलाई नै निरन्तरता दिँदै त्यहाँभित्र टीके प्रणालीमा नेतृत्व चयन गर्ने प्रचलनले नै निरन्तरता पाउँदै आएको छ । यस्तोमा सामुहिकतामा आधारित नेतृत्व विकास हुने सवालै रहँदैन ।
अन्त्यमा, के भन्नु अनुपयुक्त ठहर्दैन भने वास्तवमै प्रचण्डले दावी गरेझैं माओवादीभित्र प्रचण्डलाई प्रतिस्थापित गर्ने अन्य नेता विकास भएका छैनन्। उनलाई प्रतिस्थापित गर्नको लागि जम्मा दुई प्रकारका नेतृत्व क्षमता र सैद्धान्तिक दृष्टिकोण भएको व्यक्ति हुनुपर्छ। पहिलो, प्रचण्डभन्दा अझ बढी चतुर, सिद्धान्तप्रति प्रतिबद्ध भएर जनपक्षीय राजनीतिलाई सञ्चालन गर्नेभन्दा पनि नाफाघाटाको राजनीतिमा सौदाबाजी गरेर जसरी भए पनि सत्ताको सिंहासनमा विराजनमान हुने कला जानेका व्यक्तिले मात्रै उनलाई प्रतिस्थापन गर्न सक्छ। उनलाई प्रतिस्थापन गर्न सक्ने अर्को विकल्प भनेको कम्युनिस्ट आदर्श, नैतिकता, सिद्धान्त, व्यवहार र चिन्तनमा अडिग नेतृत्व। यो त्यस्तो नेतृत्व हो जसले मार्क्सवादले कल्पना गरेको साम्यवाद जस्तै सुन्दर कुराहरू मात्र सोच्छ, देख्छ बुझ्छ र त्यसलाई व्यवहारमा उतार्न इमान्दार प्रयत्न गर्छ। तर दुर्भाग्य, आजको माओवादी पार्टीमा न प्रचण्ड जस्तो बुर्जुवा राजनीतिको दाउपेचलाई शिरदेखि पाउसम्मै अङ्गालेर कम्युनिष्ट राजनीति गरिरहेको भनी प्रहसन गर्न सक्ने ‘अब्बल क्षमता भएको’ नेता छ, न त कम्युनिस्ट भन्न लायक दोस्रो प्रकारको कुनै व्यक्ति नेतृत्व गर्न सक्ने तहमा देखिएको छ। त्यसैले प्रचण्डको भनाइलाई आंशिक सत्य मान्दै आजको नेपाली कम्युनिस्ट आन्दोलनमा प्रचण्डलाई विस्थापित गर्ने नयाँ पुस्ता जन्मिएकै छैन भनी स्वीकार्नुको विकल्प छैन !

कुलमान घिसिङको बर्खास्ती: उज्यालो निभाउने खेल !

सिरहा घटना: धर्मको अनुहारमै कालो पोतिएको आपराधिक कुकृत्य !

विश्वका महिलाहरूको भोट दिने र चुनिने हकको छोटो इतिहास

कुलमान घिसिङको मूल्यांकनमा ‘सरकारी प्रतिशोध’ !

संकटग्रस्त मुलुक, संवेदनशीलता शून्य नेतृत्व!

प्रकृति लम्साल घटनाले उठाएका प्रश्नहरू : शिक्षा, आत्मनिर्भरता र राष्ट्रको भविष्य

निर्णायक मोडमा पुगेको युक्रेन युद्धको गन्तव्य !

प्रतिक्रिया