‘दिएको खाने, अह्राएको गर्ने’हरूको सांस्कृतिक उचाइ हुँदैन

उनीहरू कहिल्यै पनि अरनिकोको टाउकोले सोच्दैनन्, जे सोच्छन्, त्यो 'लाहुरे' को खोपडी हो ।

अङ्ग्रेज - नेपाल युद्धको समापन सन् १८१६ को सुगौली सन्धिमा गएर भयो । यस संन्धिबाट नेपालले आफ्नो एक तिहाई भूमि गुमायो । नेपालका घमण्डी र षड्यन्त्रमा माहिर अधिनायक मुख्तियारहरूले आफू त साम्राज्यवादी अङग्रेजहरूको कुटनीतिबाट पछारिए पछारिए, नेपाललाई पनि अङग्रेजहरूले दिएको खाने अह्नाएको गर्ने' राष्ट्रमा परिणत गर्न खोजे । पराजित 'वर्वर' नेपाली जातिले पछि प्रतिशोध गर्न सक्छन् भन्ने भयले धूर्त अङग्रेजहरूले नेपालीहरूलाई उनीहरूको सेनामा भर्ती गरे (भाडाको सिपाहीका रूपमा) । त्यतिखेर "४० लाख जनसंख्या रहेको नेपालबाट ४ लाख ५० हजार गोर्खाली सेना भर्ना गरे" । (सोनी लाफा मगर संघ चितवनको पत्रिका अंक १, वर्ष, २०६१, पृष्ट ८ / ९) । अहिलेसम्म पनि “देशले जनजाति युवाहरूलाई बेचिरहेको छ, भारत तथा ब्रिटिश साम्राज्यवादीहरूले भाडामा किनिरहेका छन ।" (पूर्ववत् पत्रिका) । त्यतिखेर र अहिलेसम्म पनि साम्राज्यवादीहरूको त्यो कुचाल सफल भइ नै रहेको छ । यसबाट निर्मित जनमानस कस्तो छ भने- "पढेर के गर्छस् ? फलानो लाहुरे भएर यति पैसा ल्याइसक्यो भनेर टोकेसो खानुपर्छ । नयाँ नयाँ रचनात्मक कार्य थालनीको चिन्ता हुँदैन । देशको परिस्थितिको चिन्ता हुँदैन ।" (पूर्ववत पत्रिकाअनुसार) । सत्तामुखी वा शक्तिमुखी (सेनामुखी) जनमानस यसरी निमार्ण हुँदै गएको देखिन्छ ।

यस्तैगरी सत्ताको उपरिसंरचनामा बस्नेहरूको सत्तालिप्सा र पैसामुखी प्रवृत्ति बढ्न गई त्यसको असर समेत जनमानसमा पर्न गएको देखिन्छ ।

स्थानीय सत्ता सामन्तहरूको अधिनमा हुनु र तिनीहरू आपसमा झगडा गरिरहनु र त्यसको मारमा गरिब निमुखा जनताहरू पिल्सिरहनु र तिनको गूट उपगुटमा बाँडिन र दासत्व स्वीकार्न विवश सर्वसाधारण सँधै पछि परिरहे, किनारा लागिरहे । जीवनयापनका श्रोतहरू समेतबाट बंचित गराइएका त्यस्ता 'दास' हरूबाट कुनै सांस्कृतिक निकास आउन सक्ने कुरै भएन । यसरी शक्ति वा सेनामुखी जनमानसको पृष्ठभूमि समेत पहिले देखि नै बनिरहेको थियो । यही
कुरालाई ब्रिटिशहरूले त्यतिखेर पढे भने अहिले माओवादीको सैनिक गतिविधिको मुख्य आधार भूमि पनि जनमानसको त्यही सत्तामुखी, सुरक्षामुखी सैनिक मनस्थिति हो । किनभने उनीहरूसित पनि कुनै सांस्कृतिक उँचाइ देखिंदैन । उनीहरू पनि शारीरिक रूपले चुस्त युवाहरूमा भर परेका छन् । उनीहरूमा भूगोलको राम्रो ज्ञान छ, उनीहरू पहाडपर्वत हाम फाल्दै कुद्न सक्छन् । उनीहरूका बाउवराजुले गरेको काम पनि त्यत्ति हो । उनीहरू कहिल्यै पनि अरनिको को टाउकोले सोच्दैनन्, जे सोच्छन्, त्यो 'लाहुरे'को खोपडी हो । उनीहरूको मस्तिष्कस्तरीय क्षितिज नै साँघुरो छ । अरूको कुरै छाडौं, त्यस पार्टीका सर्वाधिक वौद्धिक व्यक्ति ठानिएका डा. बाबुराम भट्टराईकै सांस्कृतिक पृष्ठभूमि साँघुरो पुरेत्याइँ गर्ने परिवारमा निर्माण भएको हो । उनीमा समेत मानवताको फराकिलो छातीको अभाव पाइन्छ भने अरू 'लाहुरे हरूको के कुरा गर्ने ?

यहाँ 'लाहुरे' भनेर मैले कुनै व्यक्ति, जाति वा देशी-विदेशी सेना वा सुरक्षा निकायमा काम गरिरहेका अदना मानिसहरूलाई लाञ्छना गरिरहेको होइन । किनभने त्यो हाम्रो राष्ट्रिय निर्यात हो । साम्राज्यवादीहरूले थोपरीदिएको र हामीले भोग्नै पर्ने, भोग्न वाध्य बनाइएका आम नेपालीको यो नियति हो । यसलाई इतिहास शिरोमणि बाबुराम आचार्यले गोर्खा वा सैनिक संस्कृति भन्नु भएको छ । (बाबुराम आचार्य, नेपालको सांस्कृतिक परंपरा, काठमाण्डौ, श्रीकृष्ण आचार्य, २०५४) । तत्कालीन गोर्खा राज्यको उदयसँगै यस प्रवृत्तिले नेपालीहरूमा संस्कृतिको रूप लिन पुगेको देखिन्छ ।

पृथ्वीनारायण शाहबाटै गोर्खा संस्कृतिको जग बसेको देखिन्छ । उनले पनि वर्वर वाहुवलले नै नेपाल एकीकरण गरेका हुन् । कीर्तिपुरबासीका काटिएका १७ धार्नी नाककानको कथाले यही कुरा पुष्टि गरेको छ । तर पृथ्वीनारायण शाह थिए फिरङ्गी (विदेशी अंग्रेज) विरोधी । उनले विदेशी पादरीहरूलाई भ्याकुरा लखेटे झैं लखेटेका मात्र होइनन् मुलुक भित्र हुने विदेशी चलखेलको पनि उनी सख्त विरोधी थिए । कमसेकम उनी देशभक्त देखिन्छन् । उनीपछिका दरबारियाहरू भाइभारदारहरूमा त कुनै देशभक्ति पनि देखिन्न र कनै 'वीरता' वा 'बहादूरी पनि देखिन्न । झन् सुगौली सन्धिपछि त नेपालीहरूको हुर्मत लिने गरी बेलायतीहरूले नेपालीलाई 'वीर भनेर फुर्काएको मात्र देखिन्छ ।

वास्तवमा विकट पहाडी भूभागमा बसोवास गर्ने नेपालीहरू शारीरिक रूपले बलिष्ट त छन । ती लडाकु जाति पनि हुन् । तिनको जातीय चरित्र नै लडाकुपन हो । लडाकु जातिको लडाईं सम्बन्धीबाहेक अन्य सोचविचार के हुन्छ र ? उनीहरू त दिएको खाने, अनाएको गर्ने खालको संस्कृति भएका मानिसहरू हुन् । उनीहरूलाई त आफ्नो सुरक्षा भए पुग्यो । आफू धनी भए पुग्यो । आफू के के न हुँ भनेर शान देखाउनु नै उनीहरूको जातीय चरित्र हो । त्यसैमा उनीहरू गौरव गर्दछन् । यही कुरालाई यही चरित्रलाई, यही मनोवत्तिलाई ब्रिटिशहरूले झ्याप्प पारेर सैनिक सेवामा नेपालीलाई हलेको देखिन्छ । यसैगरी अहिले माओवादीको सैनिक गतिविधि बढ्नुको पछाडि पनि नेपालीहरूको यही मनोवृत्तिले काम गरेको देखिन्छ ।

सत्ताको छिनाझपटीमा दरवार रगतले पोतिएको पाइन्छ । देशभक्ति, जनताप्रति उत्तरदायीपन, राष्ट्रिय स्वाभिमान, बुद्धि, विवेक, विचार र हार्दिक भावनाको कतै दर्शन पाइन्न । जताततै षडयन्त्र, दाउपेच, मारकाट, अत्याचार, नारीहरूको चरित्रमा शोषण, दास, उत्पीडन र ईश्वरको अवतार भएको ढोङ गरेको पाइन्छ ।

नेपालको सर्वाधिक सुसंस्कृत संरचना दरवारलाई ठानिन्छ । दरवारीयाहरू नै 'बक्सियोस्' लाएर बोल्छन्, सुनको थालमा भात खान्छन् र 'जनवादी गणतन्त्र चीनका राष्ट्रपतिको भन्दा २ हजार ४ सय २६ गुणा बढी एकमुष्ट राज्यकोषबाट राजाले सुविधा लिन्छन् । (नवयुवा, वर्ष ९, पूर्णाङ्क ८६, २०६१ जेष्ठ, पृष्ठ- २४) । श्री ५ को सरकारलाई बेचीसकेको नारायणहिटीमा सजधज गरी बस्छन् ।

यसरी पृथ्वीनारायण शाहपछि दरवार सुविधा, अनैतिकता र षडयन्त्रको अखडा भएको देखिन्छ । सत्ताको छिनाझपटीमा दरवार रगतले पोतिएको पाइन्छ । देशभक्ति, जनताप्रति उत्तरदायीपन, राष्ट्रिय स्वाभिमान, बुद्धि, विवेक, विचार र हार्दिक भावनाको कतै दर्शन पाइन्न । जताततै षडयन्त्र, दाउपेच, मारकाट, अत्याचार, नारीहरूको चरित्रमा शोषण, दास, उत्पीडन र ईश्वरको अवतार भएको ढोङ गरेको पाइन्छ । दरवारको इतिहास कति रक्तरञ्जित छ भने विनाकारण विनादोष हजारौं भाइभारादार, सहोदर दाजुभाइदेखि निहत्था सर्वसाधारणहरू पनि मूला काटिए झैँ काटिएका देखिन्छन् । यस्ता घटना कोतपर्व, भण्डारखालपर्व, अलौपर्व, बैसाट्टीसाल पर्व, बयालीससाल पर्वमा मात्र भएका होइनन् । (बाबुराम आचार्य, अव यस्तो कहिल्यै नहोस, काठमाण्डौ, श्रीकृष्ण आचार्य, २०५४, पृ. एक देखि पुरै) । यो त भरखरै पनि नारायणहिटी राजदरवार भित्र जाँड पर्व' भएर राजा वीरेन्द्रको समूलनष्ट भएको बाटै सबै छर्लङ्ग भएको छ ।

यसरी के देखिन्छ भने संस्कृतिको केन्द्र ठहरिएको राजधानी र यसको पनि शीर्षभागमा ठडिएको दरवारभित्र विकास भएको यो षडयन्त्र, भ्रष्टाचार अनि देश र जनताप्रतिको असरोकार नेपाली संस्कृतिको एउटा पाटो हो । अर्को पाटो यस केन्द्रबाट निःसृत भएको सामन्तशाही- व्यक्तिवादी, षड़यन्त्रमूलक, भष्ट्राचारी (अनैतिक), शक्तिमुखि केन्द्रमुखी, सैनिकमुखी संस्कृतिको प्रभाव तथा लोकजीवनमा पैदा भएको स्थानीय ग्रामिण भाग्यवादी - मुखियामुखी संस्कृतिको मिश्रणबाट पैदा भएको लाहुरे संस्कृति नै अहिलेको हाम्रो राष्ट्रिय संस्कृति हो भन्न सकिन्छ ।

यस खालको सांस्कृतिक पृष्ठभूमिमा पैदा भएका राष्ट्रिय राजनैतिक, सामाजिक-आर्थिक-सांस्कृतिक-भौगोलिक, जातीय, लिङ्गीय सरकारी र गैह्रसरकारी संघसंस्था पार्टी लाइनएजेन्सी आदि सबै नै यस खालको प्रवृत्तिबाट धेरै-थोरै प्रभावित भएका देखिन्छन् ।

संस्कृतिको स्थापना, प्रचार विस्तार र रूपान्तरणमा देशका बौद्धिक वर्गको अग्रणि भूमिका हुने कुरा नकार्न सकिन्न । तर के भनिन्छ भने सांस्कृतिक रूपले पराजित जातिको आफ्नो छुटै सांस्कृतिक उंचाइ हुन्न । वुद्धिजीवीहरू विभिन्न विचार, मत, सम्प्रदाय र आग्रहहरूमा बाँडिएसम्म र भाँडिएसम्म उनीहरू समेत सम्बन्धित साम्प्रदाय वा जत्था विशेषका आग्रहहरूका अग्रज मात्र भैरहने हुन्छन् । यस घडीमा एक प्रकारको वैचारिक सांस्कृतिक हाइरार्की (जुँगा हेरी भाग) को जन्म हुन पुग्छ । र, पार्टी कार्यकर्ता पार्टीका गोटी, सेना शक्तिकेन्द्रका गोटी, पार्टी नेता देशी विदेशी विचार केन्द्र / शक्तिकेन्द्रका अधीनमा, सरकार दरवारको अधीनमा, दरवार शक्तिशाली वैदेशिक शक्तिकेन्द्रको अधीनमा रहन पुग्छन् । स्वाधिनता, स्वतन्त्रता प्रजातन्त्र र समाजवाद भाषण वा पुस्तकका विषय मात्र बन्छन् । व्यवहारमा कुनै स्वतन्त्रता रहँदैन । जानिफकारहरू भन्छन्- क्रान्ति 'लाहुरेहरूबाट संभव छैन । यसका लागि सांस्कृतिक वैचारिक हिसाबले रूपान्तरित नेतृत्व वर्गको निस्वार्थ र निरन्तरको प्रयत्न चाहिन्छ । अन्य मुलुकहरूमा त क्रान्ति दार्शनिकहरूबाट शुरू हुन्छ । दार्शनिकद्वारा प्रदत्त क्रान्तिकारी दर्शन वा विचारलाई व्यवहारमा प्रयोग गर्ने मात्र हुन् 'नेताहरू'ले ।

विकसित देशका सर्वाधिक विकसित सिद्धान्तलाई पक्रन कमसेकम एउटा वैचारिक सांस्कृतिक स्तर चाहिन्छ । सामन्ती 'लाहुरे' सांस्कृतिक पृष्ठभूमिमा अति उन्नत सिद्धान्त (प्रजातन्त्र, समाजवाद) पक्रन सक्ने नेताहरूको कमी रहुन्जेल यहाँको राजनैतिक आन्दोलन पनि 'भूसमाथिको लिउन’ बराबर हुन्छ ।

यो कुरो साँचो नहुँदो हो त 'बहुदलवादी नेताहरू नै आज यति भ्रष्ट हुने थिएनन् । अख्तियार दुरूपयोग आयोगले पक्रिएका 'प्रजातन्त्रका बडेबडे च्याम्पियन नेताहरूको चरित्रलाई के भन्ने ? के तिनले वी.पी. को प्रजातान्त्रिक समाजबाट बुझे भन्ने ? वा ठूल्ठूला महलहरू बनाउने घुसखोर वा सुविधाभोगी नेताहरूलाई के भन्ने ? के तिनैले 'बहुदलीय जनवाद' बुझेका छन् भन्ने ?

यस्तो नकारात्मक प्रवृत्ति रहुन्जेल कसरी हाम्रो सांस्कृतिक रूपान्तर भयो भन्ने सकिन्छ र ! बरू यसरी हाम्रो सांस्कृतिक दासता पो शुरू पुगेको देखिन्छ ।

तर यो सामाजिक यथार्थको एउटा पाटोमात्र हो । यो नै सम्पूर्ण पाटो होइन । सबै कुरामा अँध्यारो मात्र छ भन्न मिल्दैन । हो ! यो अहिले प्रभुत्वशाली भएको हुनसक्छ । तर वैज्ञानिक वा सत्योन्मुखी दृष्टि त के हो भने यही विसंगतिभित्रै यही अव्यवस्था, असंस्कृतिभित्रै संगति, सुव्यवस्था र सुसंस्कृति पनि जन्मिने छ । मानवीय प्रयत्नले, हाम्रो सांस्कृतिक-वैचारिक रूपान्तरणको प्रयत्नले यो घनघोर अँध्यारोलाई पनि उज्यालोमा फेर्न सक्छ भन्नु अत्युक्ति हुने छैन ।

मूल्यांकन, २०६१ पुषमा प्रकाशित

सन् १९५८ मा भत्काइएको नारायणहिटी दरवार । Main Image: By Karrattul - Own work, Public Domain