दलतन्त्रको ढलिमलीबीच बौरिन खोजिरहेको राजतन्त्रको काँचोवायु !

आइतबार काठमाडौँको सडकमा देखिएको ‘राजा आउ, देश बचाउ’ नाराको घनत्व यसअघि गरिएका यस्तै खालका उटपट्याङहरुको भन्दा सघन थियो । त्यसको अर्थ हो, सो नाराप्रतिको आकर्षण बढ्दो छ । राजतन्त्रको माग गर्दै यसरी सडक तात्न शुरुगरेपछि खासमा राजा कसलाई, किन र कुन उद्देश्य पूर्तिको लागि चाहिएको हो ? भन्ने प्रश्नको वस्तुपरक विश्लेषण नगरिकन विकसित घटनाक्रमलाई सही रुपमा बुझ्न सकिंदैन ।
जी जेनेरेसन र राजतन्त्रको माग
राजतन्त्रको प्रत्यक्ष शासन नदेखेका–नभोगेकाहरुका लागि ‘राजा आउ, देश बचाउ’ निक्कै आकर्षक र रोमाञ्चकारी नारा लाग्न सक्छ । खासगरी, २०६० सालको सेरोफेरोमा जन्मिएका युवाहरुमा राजतन्त्रप्रति अनौठो आकर्षण देखिएको छ । आफ्नो लगभग दुई दशक लामो जीवनकालमा दलतन्त्रको गलत अभ्यासले मुलुकमा चौतर्फी निराशा उत्पन्न गराएको र आम नागरिकमा वितृष्णाले गाँजेको बेला यो नारामा उनीहरुले निक्कै सुन्दर विकल्प देखिरहेको बुझ्न सकिन्छ । इतिहासको रछ्यानमा थान्को लागिसकेका राजतन्त्रको पक्षमा बितेका केही दिनयता सडकमा देखिएको भीड र सामाजिक सञ्जालमा देखिएका समर्थनहरु यही कुराको द्योतक हुन् ।
दलतन्त्रको गलत अभ्यास, दलीय शासन व्यवस्थाको नाममा घुमीफिरी मुठ्ठीभर व्यक्तिहरुको असफल शासन व्यवस्था भोग्नु परेको वर्तमान अवस्थामा आमजनताले चरम निराशा र वितृष्णाको अनुभूति गरिरहेका छन् । हिजो राजतन्त्रको हुकुमी शासनविरुद्ध लडेका दलका नायकहरु जनताका हितचिन्तक हैन, नयाँ रुपको राजामा रुपान्तरित भएका छन् । हरेक पार्टीहरुभित्र दर्जनौ नयाँ राजाहरु पैदा भएका छन् । जहाँ विधि र पद्दतिका आधारमा हैन, दल नायक तथा तिनका आसपास जरो गाडेर हुर्किएको विषाक्त घेराले हुकुमी तथा तजबीजी शासन चलाउने गर्छन् । मुखले जतिसुकै जनताको दुहाइ दिएपनि उनीहरुको व्यवहार र कर्ममा आमजनताले आफ्नो उन्नति र प्रगति देख्न छाडेका छन् । मुलुकमा गरिवी बढ्दो छ । बेरोजगारी चरम अवस्थमा छ । आशाको किरण कहीँ कतै देखिएको छैन । जमिन बन्जर र गाउँ सुनसान बनिरहेका छन् ।
अर्कोतिर दलका नायकहरु र तिनका आसेपासेहरुका लागि मुलुकमा स्वर्गराज कायम भएको छ । आमजनताको लागि मुलुकको अवस्था कष्टकर बन्दै गइरहेको छ । आर्थिक गतिविधिहरु निराशाजनक बनेको छ । मुलुकभित्र गरिखाने वातावरण भत्केर गएको छ । र, युवाहरुको ठूलो पंक्ति रोजगार र उन्नत भविष्यको खोजीमा भरसक फेरि यो देश नफर्कने गरी विदेशिने क्रम बढेर गएको छ । यो अवस्थामा स्वभाविक रुपमा हिजोको शासन व्यवस्था फर्काउन चाहनेहरुका लागि मलिलो भावभूमि तयार हुँदै गएको छ । र, त्यसले उनीहरुमा हौसला बढाएको छ । पछिल्ला दिनहरुमा राजावादीहरुले राजनीतिसँग खासै ठूलो सम्बन्ध नराख्ने तर वर्तमान अवस्थाप्रति असन्तुष्टिको ठूलो पोको बोकेको त्यही युवाको साथ लिएर आफ्ना गतिविधि बढाइरहेका छन्।
खासमा त्यो युवा वर्गलाई राजा नै चाहिएको चाहिं होइन । उनीहरुलाई नेपालमा विधिको शासन, रोजगारी, आर्थिक उन्नतिका आधार, विकास र समृद्धि चाहिएको छ । कसैको तजबिजीमा बाँच्न त्यो समुदाय सक्दै सक्दैन त्यसैले उसले राजतन्त्रको निसांसिदो व्यवस्थामा सास फेर्न समेत नसक्ने निश्चित छ । तर, ज्ञानेन्द्र शाह कै नेतृत्वमा दुई दशक अघिसम्म नेपालमा नै रहेको राजतन्त्र कति निर्मम थियो । त्यसले कस्तो त्रासदीपूर्ण वातावरण निर्माण गरेको थियो । कस्तो नरसंहार अवस्था बनेको थियो त कसरी हुकुमीतन्त्र चलाएको थियो भन्ने अहिले सडकमा उत्रिएको युवापंतिले देखेको छैन, उनीहरुले त्यो कालरात्रि भोग्नै परेन, पाएन । त्यसैले उसले हालका सयौँ राजा भन्दा एउटा राजा नै मान्न सहज होला भन्ने निष्कर्ष निकाल्यो । अनि सडकमा उत्रिएको अवस्था छ । अर्को कुनै बिकल्प हुँदो हो त यो युवाशक्ति त्यसैको पछि लाग्थ्यो तर गणतन्त्रको विकल्पमा उन्नत गणतन्त्रको खाका कसैले प्रस्तुत नगर्दा राजतन्त्रलाई नै विकल्प मान्न ‘जी जेनेरेसन’ तयार बनेको हो ।
किन बढ्यो राजतन्त्रको क्रेज ?
पछिल्ला दिनहरुमा पूर्व राजा ज्ञानेन्द्र पनि वर्तमान शासन प्रणालीको खोइरो खन्दै निक्कै चुनौतीपूर्ण भाषा सहित आफुलाई साथ दिन आव्हान गर्दै आइरहेका छन् । यो अवस्थामा सडकमा देखिएको भीडले पक्कै पनि उनी र उनका पक्षधरहरुको हौसला बढाएको छ । ज्ञानेन्द्रको पक्ष र समर्थनमा देखिएको यो समर्थनले नेपालका दलका टाउकेहरुको पनि टाउको निकै दुखाएको देखिएको छ । उनीहरुले प्रतिक्रियामा ओकलेका वाणीहरुले त्यही कुराको संकेत गर्छ । तर, ज्ञानेन्द्रको गतिविधि तथा उनको पक्षमा देखिएको ‘जनसमर्थन’ बाट तर्सिएका दलहरु र हौसिएका ‘राजावादी’हरुले के कुरा बुझ्नु जरुरी छ भने अहिले ‘राजतन्त्रको पक्षमा देखिएको भनिएको समर्थन राजतन्त्रको समग्र पक्षलाई केलाएर–बुझेर आएको होइन । त्यो त राजतन्त्रलाई विस्थापित गरिसकेपछि त्यो भन्दा उन्नत र सुन्दर शासन व्यवस्था लागू गर्छौं भनी दलहरुले गरेका वाचाका विपरीत, थरिथरिका नवराजाहरु देखापरेपछि सिर्जित निराशाको प्रतिबिम्ब हो । अनि दलतन्त्रका नाममा राजतन्त्रलाई पनि माथ गर्ने गरी लागू भएका शासन व्यवस्था र त्यसले आमजनताको अवस्थालाई राजतन्त्रको भन्दा पनि थिलथिलो र निस्सासिने अवस्थामा पुर्याएपछि स्वभाविक रुपमा देखापरेको निराशा र कुण्ठाले खोज्दै गरेको निकासको एउटा बाटो हो।
अहिले राजतन्त्रको पक्षमा सडकमा देखिएको समर्थन पक्कै पनि चिन्ता र चासोको विषय हो । बन्नु पनि पर्छ । तर, त्यसको उपचार पूर्व राजा ज्ञानेन्द्रको गतिविधिमाथिको अंकुश र सत्तोसराप पक्कै पनि होइन । एउटा नेपाली नागरिकको रुपमा राजा ज्ञानेन्द्रलाई पनि संविधान र कानूनको सीमाभित्र आफ्ना गतिविधिहरु गर्ने र विचारहरु राख्न पाउने स्वतन्त्रता छ । त्यसको सम्मान गरिनु जरुरी छ । बरु, अहिले उनको पक्षमा जनरुझान बढ्नुको सबैभन्दा ठोस कारण राजतन्त्र ढलेको १७–१८ वर्ष बितिसक्दा पनि किन जनताको एउटा ठूलो हिस्साले वर्तमान शासन व्यवस्थालाई आफ्नो ठान्न र स्वीकार्न सकिरहेका छैनन् ? किन आम जनतामा वर्तमान व्यवस्था र प्रणालीका बारेमा चरम निराशा र वितृष्णा पैदा भइरहेको छ ? त्यसको कारण र उपचार खोजिनु जरुरी छ ।
त्यो उपचारको पहिलो शर्त भनेकै– राजतन्त्रको विकल्पमा उन्नत शासन व्यवस्थाको सपना देखाएका दलहरुभित्र पैदा भएको राजतन्त्रीय प्रणालीको निमर्मतापूर्वक ‘हत्या’ हो । हरेक दलहरुभित्र नयाँ खालको राजतन्त्रीय शासन व्यवस्था चलाउँदै आफूलाई नवराजाको रुपमा स्थापित गराएकाहरुको शेखीको अन्त्य गर्दै उनीहरुलाई आजीवन पदमा बसेर रजगज गर्न पाइन्न भनेर शासनसत्ताबाट गलहत्याउनु जरुरी छ । एक पटक पदमा स्थापित भएपछि आर्यघाटको ब्रम्हानालमा नतेर्सिएसम्म आजीवन पार्टी पदमा रहिरहन पाउने तथा शासकीय पदहरुमा पटक पटक उही थोत्रो, बासी र असक्षम साबित भइसकैकै व्यक्ति स्थापित हुन पाउने वर्तमान प्रणालीको अन्त्य नगरेसम्म दलतन्त्रको नाममा चलिरहेको अहिलेको शासन–व्यवस्थाको दुरुपयोग गर्ने तथा ‘मुठ्ठीभरका लागि स्वर्ग, बाँकीका लागि नरक बन्ने’ अवस्थाको अन्त्य हुने वाला छैन । त्यसैले उपचार राजतन्त्रलाई विस्थापित गरेर नवराजतन्त्र चलाइरहेकाहरुको प्रणाली र प्रवृत्तिको विरुद्ध नै खोजिनु जरुरी छ ।
राजा आउ देश बचाऊको विरोधाभाष
आइतबार काठमाडौँको त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलदेखी ज्ञानेन्द्र शाहको निर्मल निवाससम्म घन्किएको एकमात्र नारा हो, ‘राजा आउ, देश बचाऊ’ । तर, त्यहाँ देश कोबाट बचाउनुपर्ने हो त्यो भने प्रष्ट्र थिएन । देश बचाउको नारा सामान्यतया मुलुकको सार्वभौमसत्ता खतरामा पर्दा लाग्नु पर्ने नारा हो । तर, अहिले नेपालको अखण्डता, सार्बभौमिकतामा देखिने गरी कुनै खतरा छैन । यदि त्यस्तो छ भने वा नेपालको अस्तित्व, स्वतन्त्रता र अखण्डतामा खतरा हुने हो भने त्यो खतरा अरु कतैबाट होइन कि भारतबाट नै हुने गरेको छ । तर, आइतबारको भिडमा प्रसस्तै मात्रामा भारको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर सहितको झन्डा देखिए । सहज अनुमान लगाउन सकिन्छ, अर्थ अभावमा भातृ संगठनहरुको सम्मेलन समेत गर्न नसक्ने राप्रपाले यत्रो देशब्यापी प्रदर्शन र अभियान चलाउने खर्च उतैबाट लिएको हुनुपर्छ । यहाँ स्वाभाविक रुपमा एउटा प्रश्न उठ्छ, राजा चाहिएको नेपालीलाई हो वा विदेशीलाई ? यदि नेपालीलाई नै चाहिएको हो र नेपालीले नै राजा पुनार्थापित गर्ने हो भने त उनीबाट देश बच्ला तर भारतीय जोडबल र लगानीमा स्थापित राजाले कसरी देश बचाऊलान् ? यो गहन प्रश्नमाथि स्वयम् राजाबादीहरु नै पनि घोत्लनु जरुरि छ ।
साँच्चै देश बचाउने हो भने यो हेक्का राख्नुपर्ने हुन्छ कि हिजो राजाले नेपालको स्वाधिनताको रक्षा गर्न सकेका थिएनन् । त्यसो त अहिले स्वाधिनता त्यो भन्दा पनि कमजोर बनेको स्थिति छ। यो मामिलामा समेत दलतन्त्र राजतन्त्रभन्दा खराव देखिएकै हो । फेरिपनि सबै कुरा खराब बन्दै जाँदा र कुनै एउटा रोज्नुपर्ने अवस्था आउँदा आमजनताले रोज्ने भनेको सबैभन्दा कम खराब विकल्प नै हो । नेपाल जोगाउन राजाले सक्दैनन् । यदि जोगाउने नै हो भने हामीले नयाँ र उन्नत लोकतन्त्रको अभ्यासद्वारा नेपालीलाई नेपालको चिन्ता गर्न सक्ने स्थितिमा पुर्याउनु पर्छ । त्यो तव मात्र सम्भव हुन्छ जव कुनै नेपाली युवाले आफ्नो सुन्दर भविष्यका लागि यो मुलुकको नागरिकता त्याग्ने कल्पना गर्न छाड्छ । त्यो स्थिति आउन मुलुकमा आर्थिक विकासले गति लिनुपर्छ । नागरिक अहिले पनि दलका नेताका सामुन्ने रैती छन्, उनीहरुले नागरिक भएको अनुभूत गर्न पाउनु पर्छ । हालका दल सुध्रिएर होइन, यहाँ सुरुमै सुध्रिएको दलले शासन गर्नु पर्छ । पुराना दल सुध्नन सक्दैन भन्ने भाष्य जबरजस्त रुपमा स्थापित हुँदै गइरहेको छ । यो भाष्यलाई चिर्न ‘आउटडेटेड’ साबित भइसकेका नेतृत्वलाई विस्थापित गरेर दलभित्रका युवा नेतृत्व अगाडि आउनु जरुरी छ, जुन अहिलेको परिदृश्यमा सुदुर भविष्यकै कल्पना जस्तो प्रतीत हुन्छ ।
पक्कै पनि जनताको छोराछोरीहरु शासनसत्ताको उच्च तहमा पुग्न पाउने वर्तमान लोकतान्त्रिक व्यवस्थाभन्दा एउटा निश्चित कूलमा जन्मेकै आधारमा शासनसत्ताको उच्च तहमा पुग्न पाउने राजतन्त्र उन्नत हुनै सक्दैन । यस अर्थमा पनि दलहरुले इतिहासको चिहानघारीमा मिल्काइसकिएको राजतन्त्रको गतिविधिलाई लिएर रोइलो गर्नुभन्दा आमजनतामा छाइरहेको निराशा र वितृष्णाको स्थितिलाई चिर्दै बोलीमा मात्रै हैन, व्यवहारमा पनि, आमजनतालाई प्रत्यक्ष अनुभूत हुने गरी वर्तमान व्यवस्थाको सर्वोच्चतालाई स्थापित गर्नेतिर लाग्नु नै उचित हुन्छ । कम्तिमा हाल शक्तिमा रहेका दलले केही आशाका किरण छरेर राजतन्त्रको पुनरावृतिका रुपमा अंकुराउन खोजेको भ्रुणलाई ठिगुराई दिए भने अवश्य पनि नेपाली जनताले निकट भविष्यमा नै उन्नत लोकतन्त्र र सुदृढ गणतन्त्रको पक्षमा ठोस निर्णय गर्ने अवसर पाउने थिए ।

एक भद्र अवज्ञा जसले अमेरिकाको इतिहास बदल्यो !

अधिनायकवादका समस्याहरु

हिराको हार

अनावश्यक तनाव लिने बानी छ ? यस्तो हुन सक्छ खतरनाक असरहरु !

त्यो फेरि फर्कला ?

मुलुक डरलाग्दो दुर्घटनामा जान सक्नेः राजनीतिशास्त्री प्रा. कृष्ण खनाल

मानव सभ्यताको इतिहासलाई आकार दिने नुनको कथा

प्रतिक्रिया