ब्रम्हाण्डमा ऊज्यालो खोज्दै– २

किरात गणराज्यसहित पुँजीवादी गणतन्त्रको
दोस्रो जनआन्दोलनसम्म
राजनीतिक संघर्ष
राजविराज कारागारबाट निस्कँदा वर्ग र जातीय आन्दोलन समायोजनको कम्युनिस्ट पार्टी निर्माण गर्ने सोंच थियो । तर, एक जना पनि भने जस्तो साथी उपलब्ध नहुनाले त्यो सोंच विलखबन्दमा पर्यो । विकल्पमा जातीय सवाल उठाउने राजनीतिक पार्टी निर्माणतर्फ पुगियो । २०४७ बैसाख ७ गते लाजिम्पाटमा हामीले एउटा भेला डाक्यौं । जसले, आदिवासी महासंघ निर्माण संयोजनको जिम्मा मगर संघलाई दिने काम गरियो । त्यही भेलामा अधिवक्ता एमएस थापा र गोरेवहादुर खपाङ्गीसंग भेट भयो । अगावै दल आबद्व मानिसहरु महासंघ निर्माणतर्फ लागे भने नयाँ राजनीतिक सोंचका हामीहरु आफ्नै सल्लाहमा जुट्यौं । २०४७ बैसाख २३ गते एमएस थापा अध्यक्ष, गोरेवहादुर खपाङ्गी महासचिव र मलगायत सदस्य रहेको जनमुक्ति मोर्चा स्थापना गरियो ।
मोर्चा स्थापनादेखि नै मैले गणतन्त्र र सशस्त्र आन्दोलनको कार्यदिशामा जोड गरेको हो । तर, सुनुवाई नहुने ठहर भएपछि थापा र खपाङ्गीसंग हामीहरु २०४८ जेठबाट छुट्टियौं ।
किरात गणराज्यको सशस्त्र आन्दोलन उठाउने लक्ष्यमा त्यसपछि खरामो (खम्बुवान राष्ट्रिय मोर्चा) गठनतर्फ लाग्यौं । सुरुमा तीन जनाले स्थापना गरेका थियौं: अध्यक्ष गोपाल किराती, सदस्यद्वय द्वारलक्ष्मी राई र राजन सुप्तिहाङ थियौं । द्वारलक्ष्मी नाना तुरुन्तै कुष्ठरोगग्रस्त बन्न पुग्नु भयो, दाजु सुप्तिहाङ पनि आफ्नै झमेलातिर फस्नु भयो । २०४९ भदौ ५ गते स्थापित त्यस मोर्चाको सशस्त्र आन्दोलन प्रारम्भ गर्दाका दिनसम्म पूर्णकालीन कार्यकर्ता म एक जना मात्र थिएँ । २०५४ साउन ७ गते माझकिरातका तीनवटा संस्कृत विध्यालयमा बम विस्फोटन कार्वाहीद्वारा सशस्त्र आन्दोलन घोषणाबाट बल्ल तीन जना पूर्णकालीन कार्यकर्ता बन्यौ । थपिएका दुई जनामा रतन्छाका पासाङ र ठोक्सिलाका हिमाल थिए ।
देशमा माओवादी आन्दोलन नउठेको भए हामी खरानी पनि बन्न सक्थ्यौं । राज्यशक्ति माओवादीसंग भिडिरहेको बेला हामीलाई अनुकुलता मिलेको सत्य हो ।
जे होस्, जननायक रामप्रसाद राई र नारदमुणि थुलुङ्पछि माझकिरातमा आफ्नै नेतृत्वको योजनामा सशस्त्र आन्दोलन लड्नेको इतिहास हामीले रच्यौं । तर, पूर्वाग्रह राखिनु हुन्न कि देशमा माओवादी आन्दोलन नउठेको भए हामी खरानी पनि बन्न सक्थ्यौं । राज्यशक्ति माओवादीसंग भिडिरहेको बेला हामीलाई अनुकुलता मिलेको सत्य हो । यध्यपि माओवादीले आफ्नै किसिमले सशस्त्र युद्व तयारी गरिरहेको थिएछ भने पूर्वमा हामीले आफ्नै किसिमले तयारी गरेका थियौं । २०४० देखि म सशस्त्र क्रान्तिको खोजीमा लागेकोवारे यहाँ बताइसकिएकै छ ।
हामीले त्यसरी पश्चिममा घोषित जनयुद्वमा २०५२ फागुन १३ गते नै एक विज्ञप्ति मार्फत समर्थन गर्यौं । त्यसवीच नेकपा (माओवादी) का नेताहरुसंग मुख्यत: जातीय मुक्ति सुनिश्चितताको सवालमा पटक-पटक गलफत्ति परिरहेको थियो । वीर नेम्बाङले लिम्बुवानमा कुनै आन्दोलन उठाएनन् । भक्तराज कन्दङ्वाहरु सिधै माओवादीमा लागेर वर्गको कोरा नारा फलाक्दै उल्टो हाम्रै आलोचना गरिरहे । त्यसरी २०५७ मा हामीले किरात वर्कर्स पार्टी प्रस्तावित गर्यौं, जसले गर्दा मेचीसम्म संगठन गर्न सहज होस् ।
त्यसवीच २०५५ बैसाख ४ गते डा. बाबुराम भट्टराईसंग र २०५७ साउन २२ गते प्रचन्डसंग हामीहरुको प्रथम भेट भएको थियो । साउन २०५८ मधेसी मोर्चाको सम्मेलन, पटनामा किरणसंग र रोल्पामा बादलसंग भेटेका थियौं ।
किरात गणराज्य स्थापनाको नीतिमा सहमतिबाट २०६० असार ३० गते किरात वर्कर्स पार्टीको हैसियतबाट हामी नेकपा (माओवादी) मा समाहित भयौं । २०६० माघमा घोषित देशव्यापी आठ गणराज्य सरकारमध्ये किरात गणराज्य सरकार अध्यक्षको जिम्मा मैले लिएको थिएँ ।
२०५८ असोजमा आँखीभुइँ भेलाबाट लिम्बुवान-खम्बुवान एकतागरी किरात गणराज्यको कार्यदिशामा जुटेका हौं । तर, त्यस कार्यदिशामा भक्तराज कन्दङ्वाहरु अड्न सक्नु भएन र २०६४ मा आएर किरात गणराज्य र लिम्बुवान छुट्टाछुट्टैको निर्णय लिनु पर्यो ।
सहयोद्वा कमरेडहरुवीच सामुहिक तथा कठोर परिश्रमको प्रतिफल हो, मेची-कोशी व्युरोको पार्टी इन्चार्जमा म रहँदा नै माओवादीले यहाँ फौजी कार्वाहीतर्फ भीषण सफलता हासिल गरियो । जब हामी नै राज्य पार्टीको इन्चार्ज थियौं, प्रथम संविधानसभा निर्वाचन २०६४ मा किरात राज्य समिति अन्तर्गत सभासदको १२ स्थानमध्ये १० स्थानमा विजय हासिल गर्यौं । यसरी नेपालमा सामन्ती राजतन्त्रको अन्त्य र पुँजीवादी गणतन्त्र स्थापनामा राजनीतिक योगदान गर्यौं ।
* * *
अन्तिम विश्लेषणमा पूर्वी पहाडको किरात गणराज्य आन्दोलनसहित देशव्यापी जनयुद्वले राजनीतिक क्षेत्रमा गणतन्त्र स्थापना र साँस्कृतिक क्षेत्रमा नेपाली समाजको हरेक तह र तप्कामा राष्ट्रिय चेतना जागृत गरायो । परन्तु, त्यसको क्रान्तिकारी व्यवस्थापन गर्न नसक्नुको परिणाम अग्रगामी निकासविहीन बन्न अभिशप्त छन्, जनवर्ग । यसो हुन पुग्नुको कार्यकारण त्यही माओवादी नेतृत्वपंक्तिमा उत्पन्न वाम तथा मुख्यत: दक्षिणपन्थी विसर्जनवाद थियो । फेरि पनि दस बर्षीय जनयुद्वको जगमा २०६२/६३ को दोस्रो जनआन्दोलन एक महान जमर्को थियो, जसले औपचारिकताकै मात्र किन नहोस संविधानसभा मार्फत संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरियो ।
जनयुद्वले राजनीतिक क्षेत्रमा गणतन्त्र स्थापना र साँस्कृतिक क्षेत्रमा नेपाली समाजको हरेक तह र तप्कामा राष्ट्रिय चेतना जागृत गरायो । परन्तु, त्यसको क्रान्तिकारी व्यवस्थापन गर्न नसक्नुको परिणाम अग्रगामी निकासविहीन बन्न अभिशप्त छन्, जनवर्ग । यसो हुन पुग्नुको कार्यकारण त्यही माओवादी नेतृत्वपंक्तिमा उत्पन्न वाम तथा मुख्यत: दक्षिणपन्थी विसर्जनवाद थियो ।
संविधानसभाद्वारा गणतन्त्र घोषणा
प्रथम संविधानसभाको अन्ततिर अधिकतम् प्रगतिशील संविधान निर्माणको परिस्थिति बनेको हो । जसका निमित्त प्रचण्ड-बाबुराम भट्टराईले कठोर परिश्रम गरेका थिए । विडम्बना भन्नुपर्छ, मोहन बैध्य-विप्लव कमरेडमा वामपन्थी विसर्जनवाद जाग्यो । त्यसको ऋणात्मक परिणाम पहिचान र अधिकारसहितको संविधान जारी गर्न सकिएन । बरु बिना संविधान प्रथम संविधानसभा विघटन हुन पुग्यो । औचित्यहीन पार्टी विभाजन गरिए । दोस्रो संविधानसभामा क्रान्तिकारी शक्ति हदैसम्म कमजोर परियो । त्यसमा तत्कालीन एकीकृत माओवादीलाई जसरी हुन्छ, कमजोर तुल्याउने बैध्य-विप्लव ध्येयको उल्लेखनीय योगदान रह्यो । दोस्रो संविधानसभाले जारी गरेको संविधान न्युनतम् प्रगतिशील संविधान थियो । राजतन्त्रको सट्टा गणतन्त्रको संविधानलाई सिद्वान्तत: प्रगतिशील मान्नै पर्छ । फेरि पनि वर्गीय, लैंगिक एवं जातजातीय पहिचान र अधिकार बिनाको संविधान जुन छ, वर्तमान नेपाली समाजको दु:खको मूल कारण यो हो ।
जनयुद्वदेखि गणतन्त्रसम्म प्रचण्ड-बाबुरामको भूमिकालाई नि:शर्त सकारात्मक मान्नु पर्छ । चुनवाङ बैठकमा संविधानसभा र लोकतान्त्रिक गणतन्त्रको कार्यनीति हामीले नै स्वीकृत गरेका थियौं । त्यस बमोजिम बाह्र बुँदे समझदारीमा आपत्ति गर्ने ठाउँ छैन । शान्तिसम्झौता र अन्तरिम संविधानमा चाहिँ ट्रूटीहरु भए, भनेर मानिएको हो । उप्रान्त २०७४ मा आएर प्रचण्डहरु पहिचान मुद्दा त्याग्दै जसरी नाम फेरिएको एमालेतर्फ विलयमा हाम्फाले, त्यो वस्तुत: दक्षिणपन्थी विसर्जन थियो । यसरी सहिदको रगत, कार्यकर्ताको आँसु र जनताको पशिनाको धारा बगाएर स्थापित गरिएको माओवादी पार्टीलाई सखाप पार्ने बेइमानी वाम विसर्जनवाद हुँदै मुख्यत: दक्षिणपन्थी विसर्जवादले गर्यो । त्यस प्रवृत्तिसंग वैचारिक-राजनीतिक सम्बन्ध विच्छेद गर्नु एक क्रान्तिकारीको अधिकार र कर्तव्य दुवै हो ।
२०७४ मा आएर प्रचण्डहरु पहिचान मुद्दा त्याग्दै जसरी नाम फेरिएको एमालेतर्फ विलयमा हाम्फाले, त्यो वस्तुत: दक्षिणपन्थी विसर्जन थियो । यसरी सहिदको रगत, कार्यकर्ताको आँसु र जनताको पशिनाको धारा बगाएर स्थापित गरिएको माओवादी पार्टीलाई सखाप पार्ने बेइमानी वाम विसर्जनवाद हुँदै मुख्यत: दक्षिणपन्थी विसर्जवादले गर्यो ।
क्रान्तिकारी चरित्रमा नेताहरु जबसम्म प्रतिबद्व थिए, तबसम्मका लागि उनीहरुको यथोचित सम्मान हुनु पर्दछ । त्यसरी एकको दुईमा विभाजन गरेर हेर्दा २०६५ जेठ १५ गते नेपालमा गणतन्त्र घोषणासम्म प्रचण्ड, मोहन बैध्य, बाबुराम भट्टराई र बादलले सम्मानलायक योगदान गरेका हुन । त्यस उप्रान्त संविधानसभाबाट संविधानको कार्यनीति त्यागेर बैध्यहरु वाम भड्कावको जडसुत्रवाद मार्फत दलाल पुँजीवादको सेवामा समर्पित भए । बादलहरु वाम हुँदै दक्षिणपन्थी विसर्जनमा पुगे । संविधानसभाको चुनवाङ कार्यनीतिमा प्रतिबद्व देखिएका प्रचण्डहरु अन्तत: पहिचान मुद्दा त्यागेर दक्षिणपन्थ हुँदै दलाल तथा एकलजातीय पुँजीवादका माउसुली पुच्छर बनिरहेका छन् ।
पछिल्लो समय प्रचण्डवादीहरु जुन माओवादी ढोङ पिट्ने गरेका छन्, त्यो अदालतले बोकाइदिएको अदालती माओवादी हो न कि स्वनिर्णयको ।
जीवन संघर्षका पहेलीहरु
व्यक्तिगत रुपमा भन्नुहुन्छ भने मैले आफुलाई सफल राजनीतिक कार्यकर्ता ठान्दछु । दुर्गम गाउँ, अत्यन्त गरिव तथा टुहुरा परिवार एवं औपचारिक तवरको उच्चशिक्षा अभावकावीच १८ बर्षको उमेरदेखि एक जना किशोर क्रान्तिकारी लक्ष्यतर्फ दृढतापूर्वक लागियो । जसले, कडाइपूर्वक स्वअध्ययन, खरो लेखन र अब्बल बहश क्षेमता आर्जन गर्दै मुख्यत: राजनीतिक कार्यदिशा, जुझारु संगठन निर्माण तथा संघर्षको अग्रमोर्चा सम्हाल्ने योग्यता प्रदर्शन गरियो । देश जागरणको बलमा गणतन्त्र घोषणाको तागत राख्ने जनयुद्वकालीन पार्टीको केन्द्रीय सदस्य हुँदै २०७१ मा मतदान मार्फत नै स्थायी समिति सदस्य निर्वाचित समेत भइयो । तत्कालीन पार्टी आवश्यकताले प्रथम संविधानसभा सदस्यमा भारी बहुमतसाथ सोलुखुम्बूबाट निर्वाचित भइयो । गणतन्त्र नेपालको प्रथम संस्कृति तथा राज्यपुन:संरचना मन्त्रीको हैसियतमा देश र जनताको पक्षमा ऐतिहासिक महत्वका सशक्त कार्वाहीहरु गरियो ।
के उपरोक्त विवरणहरु जोड्दार सफलताका प्रमाण होइनन् र? लाग्दछ, नि:सन्देह प्रमाण हुन ।
परन्तु, देश र जनताका समस्या बल्झिएका मात्र छन्, सुल्झिएका छैनन् । साथसाथै, २०४३ देखि मैले आफ्नो कमाई खाएर होइन वस्तुत: नेपाली जनताको राशनपानी खाएर राजनीतिक जीवन बाँचेको छु । मैले जे भनेर जनतासंग साथसहयोग लिएको थिएँ, त्यसमा आजीवन प्रतिबद्व रहन सक्नु आफ्नो क्रान्तिकारी कर्तव्य ठानेर आएको छु । यसरी देश, जनता, वर्ग र समुदायको नाममा जीवनको राजिनामा लेखेर हिंडेको एक जना राजनीतिक कार्यकर्ताले, क्रान्तिकारी युद्वका बखत सहिदप्रति श्रद्वाञ्जलि अर्पण गर्दा भनिन्थ्यो- हामी अन्तसम्मै लड्ने छौं ! हो, मुख्यत: नेपाल पढ्ने सिद्वान्तमा समाजवादी युग निर्माणका निम्ति हामी अन्तसम्मै लड्ने छौं !
यहाँसम्म आइपुग्न यो जीवन संघर्षलाई के तत्वले प्रेरित गर्यो? त्यसको पहेली सम्बन्धमा संक्षेपमा निम्न विवरण प्रस्तुत छ:
* पहिलो कुरा, भारी हावापानी र वातावरणीय अन्तरका आमा र पापाको जैविक सन्तान भएर हुनु पर्छ । जुन युगमा नाछिरिङ र पुमाका पूर्खाहरु छुट्टिएका थिए, सम्भवत: हजारौं बर्षपछि मात्र ती दुई बङ्शकावीच रक्तसम्बन्ध हुन पुग्यो । दोस्रो, गाउँघरका सबैको मावाली नजिक हुन्थ्यो, आपत विपतमा रेखदेख मिल्थ्यो । तर, हाम्रो मावाली ज्यादै टाढा हुँदा गाउँघरमा हामी उपेक्षित जस्तो भएर हुर्कियौं । थप आमाले पापाको भाषामा होइन, खसभाषामै गाउँलेसंग बोल्ने गर्नु हुन्थ्यो । हामी छोराछोरीले पनि त्यही सिक्ने कुरा भयो । त्यसकारण पनि आफ्नैबाट हामी उपेक्षित झैं रहन्थ्यौं । मैले पापाको मातृभाषा बोल्न थालेको बल्ल २०४२ सालदेखि हो, त्यो पनि महाकुलुङको छेस्कामका फुफू दाजू छिरे राईको घरबाट ।
* भनिसकियो, २०३१ देखि हामीले घरमा रेडियो नेपाल सुन्ने अवसर पायौं । बुझ्ने क्षेमता अनुसार रेडियो सञ्चारबाट मनोरञ्जन र ज्ञानगुणका पर्याप्त कुराहरु ग्रहण गर्ने मौका मिल्यो । निर्दलीय शासनका नियन्त्रणहरु चर्कै थिए, तर रेडियो सञ्चार बुझ्नेका लागि श्रीखण्ड थियो । मेरो वैचारिक-राजनीतिक जीवनमा त्यो रेडियो नेपालको अहं भूमिका छ ।
* बुद्व मन अथवा करुणाभाव । सानो छँदा आमाले सिकाउनु भयो, बाटोघाटो हिंड्दा गाई-वस्तुले बालीनाली खाइरहेको देखियो भने नजिकमा भए धपाउनू, टाढा भए गाई-भैंसीले बाली खायो है भनेर ठूलो श्वरमा कराएर हिंड्नू । लैंगिक सुविधामा आफू पुरुष भए पनि स्वदेशमा चरम गरिवी र ससुराली जाँदा बाह्र हातको पिँडालु भने झैं विदेशमा पनि गरिव नेपालीका कारण वर्गीय र राष्ट्रिय पीडाले मन तड्पाउन कहिल्यै छोडेन । त्यसैले वर्गीय, लैंगिक, जातीय एवं क्षेत्रीय रुपमा उत्पीडितहरुप्रतिको खरो तथा असीमित पक्षधरता दृष्टिकोण बन्न पुग्यो । जसले, गोपाल योञ्जनको गीतमा भनिए झैं झुक्दै नझुक्ने गम्भीर प्रकृतिको देशभक्त नेपाली बन्न पुगियो ।
हिन्दु कथा महाभारतमा एकलव्य नामका एक पात्र छन् । उनको शाश्वत विशेषता हो, युद्वमा जसले हार्छ उसलाई जिताउने । परन्तु, राजनीतिमा त्यो निरपेक्ष सोंच हुन पुग्दछ । यध्यपि, मलाई एकलव्यको त्यो योग्यता मनपर्छ ।
* जीवन संघर्षमा हजारौं हजार पुस्तक अध्ययन गरियो, हजारौं चलचित्र हेरियो । त्यसको विवरण यहाँ सम्भव छैन । यो चाहिँ भन्नै पर्छ कि त्यही अध्ययन र दृश्यावलोकनले आफ्नो वैचारिक विकासमा अपेक्षित योगदान पुर्यायो ।
रुसी उपन्यासकार मेक्सिम गोर्कीले लेखकको आचारणवारे भनेका छन्- जनवर्गीय लेखक त्यो हो, जसले साहित्यमा जसरी लेख्छ, ठिक त्यसरी बाँच्न सक्नु पर्छ ।
पढिएका ती सामग्रीमध्ये एक यूरोपेलीले लेखेका रहेछन्- बौद्विक त्यो हो, जसले देश र जनहितमा जे बोलेको छ, त्यो बोलिको विचारमा उसले वलिदानतर्फ अग्रसर रहनु पर्छ । त्यो भन्दा अझ कठोर रुसी उपन्यासकार मेक्सिम गोर्कीले लेखकको आचारणवारे भनेका छन्- जनवर्गीय लेखक त्यो हो, जसले साहित्यमा जसरी लेख्छ, ठिक त्यसरी बाँच्न सक्नु पर्छ ।
मेरो लेखकीय राजनीतिक जीवनका प्रेरक सिद्वान्त यिनै हुन ।
* कैयन शुभचिन्तकहरु, कुलबङ्शका बन्धुहरु र घर परिवारका मानिस पेचिलो तरिकाले मलाई भन्ने गर्छन, तेरो पाराले राजनीति चल्दैन ! यो "पारा" को आशय देशभक्तिपूर्ण सर्वहारा जीवनशैलीको राजनीति हो । जवाफमा भन्ने गरेको छु, जनवर्गका नेपालीहरु राष्ट्रिय स्वाभिमानको आकाङ्क्षा राख्दछन् भने र उनीहरु नेपाल देशलाई स्वाधीन र समृद्विको बाटोमा हिंडाउन खोज्दछन् भने यहाँ मेरो पाराको युग अवश्य आउने छ ।
किनभने, दलाल पुँजीवादी कांग्रेस मलाई कहिल्यै मन परेन । तर, त्यसको नेता गणेशमान शिंहले प्रधानमन्त्री पद त्याग गरे । प्रधानमन्त्री बनेका कृष्णप्रसाद भट्टराई भ्रष्टाचार आक्षेप मुक्त रहे । देशको नेताले कम्तिमा त्यत्तिको त हुनु परेन? जबकि वास्तविक समाजवादको अभ्यास सर्वहारा चरित्रको नेतृत्वले मात्र गर्न सक्छ, निजी कम्पनीको शेयरवाला र प्रवृत्तिगत मानसिकताले होइन ।
जनवर्गका नेपालीहरु जसरी भ्रष्टाचारप्रति घृणा ओकल्छन, त्यसको राजनीतिक अन्तर्य सर्वहारा नेतृत्वको माग हो । अत: लाग्दछ, भ्रष्टाचारी शासन अन्त्य र देशभक्त पहिचानसहित पूर्ण समानुपातिक समाजवादी निर्वाचन प्रणाली स्थापना र अभ्यास खातिर किराती पाराको स्थान-समय वान्छनीय छ ।
ऐतिहासिक अपरिहार्यता कि परम्परागत जीवनमा व्यक्ति-परिवार-समुदायको जुन चक्र थियो, जसमा परिवार माध्यम र समुदाय निर्णायक थियो । अनियन्त्रित पुँजीका कारण त्यो प्रणाली तोडिएर आज व्यक्ति-राज्य-बजारको चक्रमा मानवीय समाज भौतारिएको स्थिति छ । त्यसैले व्यक्तिलाई सुरक्षित एवं बजारलाई व्यवस्थित पार्न राज्यलाई समाजवादी संरचनामा ढाल्नै पर्छ । त्यो मुख्यत: नेपाल पढ्ने सिद्वान्तमा विकसित समाजवाद हुनु पर्छ ।
अन्तत: सर्वहारा जीवन, त्यसमा पनि पूर्णकालीन कार्यकर्ताको व्यवहारिक कठिनाई असहनीय रहन्छन् । यहिंनिर मैन बत्तीको कुरा आउँछ, जसले आफुलाई जलाएर देश दुनियाँलाई ऊज्यालो प्रकाश छर्ने बाटोमा एक अघोरी झैं हिंड्नु पर्छ ।
पुरानो पुस्ताको भए पनि बेलायती गोर्खा फौजका श्री ईन्द्रवहादुर राईकी छोरी गीता आखिर लाहुरेकै छोरी हुन् । सर्वहारा क्रान्तिकारीसंगको जीवन यात्रामा उनले अनपेक्षित त्याग गर्नु पर्दा मैले जीवनसाथीको भारी ऋण खाएको पीडानुभूति भइरहन्छ ।
* पूर्खाहरु माझकिरात दिल्पाबाट लिम्बुवानको ईलाम हुँदै झापा निवासी गीता राईसंग २०५१ फागुन २५ गते विवाह गरियो, संयोगले । गीता एवाईपाछाकी बान्तवाराई हुन । यहाँ यति मात्र उल्लेख गरौं- सशस्त्र भूमिगत आन्दोलनका निम्ति म बाटो लाग्दै थिएँ । २०५४ असार १८ गतेको कुरा हो, जीवनसाथी गीतालाई मैले जम्मा रु. १००/- खर्च छोडेर हिंडे । २०५२ पुस २३ गते जन्मेको छोरा मात्र १८ महिना पुग्दै थियो । सासू आमा काठमाडौंमा बस्नु हुन्थ्यो । दु:खसुख आमाकै साथमा गीता र छोरा हाङ्छालाई छोडेर म वलिदानको यात्रातिर लागेँ । धरान जान्छु, केही दिनमा आउछु, भनेर हिंडेको मैले केही हजार रकम दिन सकेको भए आत्मसन्तुष्टि मिल्थ्यो ।
पुरानो पुस्ताको भए पनि बेलायती गोर्खा फौजका श्री ईन्द्रवहादुर राईकी छोरी गीता आखिर लाहुरेकै छोरी हुन् । सर्वहारा क्रान्तिकारीसंगको जीवन यात्रामा उनले अनपेक्षित त्याग गर्नु पर्दा मैले जीवनसाथीको भारी ऋण खाएको पीडानुभूति भइरहन्छ ।
* हुलु, कुवापानीमा हाम्रो घर सफा सुग्घर रहन्थ्यो । सेङ्सिला गाउँमा जिम्मवाल राईकी छोरी हुँदाको संस्कारमा आमाले घरभित्र र बाहिर सिकुवा लिपपोत गरेर सफा राख्नु हुन्थ्यो । अतिरिक्त आमा खसभाषामा बोल्नु हुन्थ्यो । कारण त्यही हो, हामीहरु गरिव परिवारका भए पनि फेरि हामै घरमा शिक्षक, कर्मचारी तथा व्यापारीहरु बास बस्न आउने गर्दथे । फलस्वरुप अनेक प्रकारका धेरै भन्दा धेरै मानिसलाई मैले वालक कालमै जान्न पाएँ । जसले, मलाई चिन्तन र व्यवहारिक अभ्यासमा प्रशिक्षित गरायो ।
अन्त्यमा, बृहत् युद्वविराम मार्फत जब हामी २०६३ बैसाखमा सार्वजानिक भयौं, एउटा साप्ताहिक प्रकाशनले मेरो अन्तर्वार्ता लियो । एक पृष्ठको विस्तृत वार्ता छापियो । त्यसमध्ये एउटा प्रश्न थियो- तपाईं कसरी नेता बन्नु भयो?
मैले निक्कै घोरिएर सोंचे कि वास्तवमा म कसरी नेता भएँ ! भोगाईको अन्तरमन समिक्षाबाट त्यो दिन बल्ल मैले बुझें र जवाफमा बोलें-
गाउँले साथीहरुलाई कथा सुनाएर नेता बनेको रहेछु म ।
खानपिन सकेर बेलुका ओछ्यानमा लागेपछि आमाले कथा सुनाउनु हुन्थ्यो । त्यो कति दन्त्य कथा हुन्थ्यो त कति मावाली गाउँका घटनाहरु । हाम्रो मावाली र आमाको माईती ज्यादै टाढा हुनाले परिवारमा आमाकी नजिकको साथी हामी नै हुन्थ्यौं । जब आमाले कथा सुनाउन थाल्नु हुन्थ्यो, तब मैले कान ठाडो पार्थें । जसले गर्दा त्यो कथा कण्ठष्ट पार्न सकियोस् !
जब वरपर गाउँले भेट हुन्थे, म कथा सुनाउथें । विस्तारै ती गाउँलेहरु मलाई कथा भन कि भन गर्ने भए । गोठालो, खेतालो इत्यादिमा लगातार कथा भन्न थालियो । उमेरमा ती गाउँलेहरु म भन्दा काफी ज्येष्ठ थिए । तर, मलाई कथा भन्न आउथ्यो, उनीहरुलाई आउदैनथ्यो । कारण, हाम्री आमा हामीलाई कथा भन्नु हुन्थ्यो, उनीहरुकी आमाले पक्कै पनि त्यसरी कथा सुनाउने गर्दिनथिन् ।
पत्रकारको त्यो प्रश्न अघि म कसरी नेता भएँ, मैले कहिल्यै सोंचेको थिइनँ । कारण, नेता होइन क्रान्तिकारी योद्वा बन्न म राजनीतिमा लागेको थिएँ । आवश्यकता र योगदानको आधारमा नेता बन्न पुगियो । यध्यपि नेताहरु आफ्नो काममा कार्यकर्ता हुन भने कार्यकर्ता आफ्नो काममा नेता हुन्छन ।
* २०७६ मा, हुलु गाउँमा ठुली नाना बित्नु भएको खबर आयो । यलाखोममा रहेको म विरामी थिएँ । आफ्नो घरबाट बहिनी सावित्री हुलु पुगेर नानाको दाहसंस्कार तथा गाउँमा मलामी चोख्याउने काम गराइन् । रावाखोला निवासी अधिवक्ता राहुल दुमीराईसंग विवाह गरेकी कान्छी बहिनी सावित्री यत्ति वहादुर कि उनले आफ्नो रितभात (रोङ्कुइमा/बुलुबोम्मा) बुझाउने कार्य आफै सम्पन्न गराइन् ।
उपर्युक्त पहेलीको मानिस अति संवेदनशील प्रकृति, सदावहार जिज्ञाशु, स्वाभिमान चेत, कठोर लगनशीलता र चिन्तनशील खोपडीका साथ वाम प्रवृत्तिको कार्यकर्ता रहँदै आएको छु म । यही प्रकृति र प्रवृत्तिले त्यहाँदेखि यहाँसम्म ल्याइपुर्याएको हो र समाजवादी लोकतन्त्रको कार्यदिशा मार्फत पुँजीवादी क्रान्तिलाई पूर्णता दिइछाड्ने र मुख्यत: नेपाल पढ्ने सिद्वान्तमा नेपाली किसिमको समाजवादी युग निर्माण गरिछाड्ने संकल्पमा राजनीतिक जोरजुलुम अबको मूल अभिष्ट हो ।
नयाँ राष्ट्रिय एकीकरण कार्यभारसहित
समाजवादी युग निर्माणको तेस्रो जनआन्दोलनतर्फ !
नयाँ वैचारिक संश्लेषणको प्रस्थापना
छिमेकी जनगणतन्त्र चीनका संस्थापक माओ त्सेतुङले भनेका रहेछन्, विचारधारा र राजनीतिक कार्यदिशा सही हुनु वा नहुनुले स्थिति निर्धारण गर्छ । त्यसको नेपाली प्रारुप विकास गर्दै हामीले भनिरहेका छौं- वैज्ञानिक विचारधारा, क्रान्तिकारी राजनीतिक कार्यदिशा र जुझारु चरित्रको संगठन जनआन्दोलनका आधारभूत शर्त हुन । खासगरी, नेपाल देशका आम उत्पीडित वर्ग, लिङग र जातजातिहरु राजनीतिक, आर्थिक, साँस्कृतिक सवालमा जसरी उत्पीडित छन्, त्यसको पछाडि वैचारिक विकासको अभाव सर्वथा जिम्मेवार छ । अत: हामीले विचारधारात्मक राजनीतिक कार्यदिशामा निरन्तर जोड दिएर आएका छौं । नेपालको लुम्बिनीमा जन्मेर भारतीय भूमिमा बुद्वत्व हासिल गरेका बुद्वले भनेका रहेछन्: दु:ख छ, दु:खको कारण छ र त्यसको निवारण छ । २६ सय बर्ष अघि व्यक्त बुद्वका ती विचार कार्यकारण सिद्वान्त हुन । जसले, दु:खको कारण निवारणका निमित्त मानिसलाई वैचारिक विकासतर्फ प्रेरित तथा निर्देशित गर्छ ।
उपरोक्त दृष्टिकोणमा हामीले मुख्यत: नेपाल पढ्ने सिद्वान्त निर्माण गर्यौ । जसबाट नेपाली समाजलाई वैज्ञानिक तरिकाले बुझ्न र मुख्यतः अग्रदिशामा बदल्न सकियोस् ।
जनयुद्वकालीन नेकपा (माओवादी) को केन्द्रीय समितिले २१ औं शताब्दीमा जनवाद भनेर जुन प्रस्तावअघि बढाएको थियो, रोल्पाको दुम्लास्थित २०६० जेठमा पारित त्यस प्रस्ताव मार्फत गरिएको समिक्षा निकै महत्वपूर्ण थियो । लेखिएको थियो, माओ त्सेतुङको निधनयता अन्तर्राष्ट्रिय रुपमै क्रान्ति गर्ने र प्रतिक्रान्ति रोक्ने नयाँ विचार र नयाँ विधि विकास प्रक्रिया अवरुद्व हुन पुग्यो । त्यस अवरुद्वतालाई तोडेर क्रान्ति गर्ने र प्रतिक्रान्ति रोक्ने नयाँ विचार र नयाँ विधि विकासको ऐतिहासिक कार्यभार नेपाली कम्युनिस्ट आन्दोलनले उठान गर्नुपर्छ ।
त्यो ऐतिहासिक कार्यभार त्यागेर प्रचण्ड, बैध्य, बाबुराम, बादलहरु परजित बनेर अन्यत्र पलायन भए अथवा आज समाजवाद त भन्छन, तर उनीहरुले दिने गरेको समाजवादको नारा वस्तुत: काल्पनिक समाजवाद मात्र हो ।
उपरोक्त समिक्षा एकदम सही थियो । २०६० असारमा माओवादीमा एकीकृत हुँदा मलाई त्यसले निक्कै उत्साहित तुल्याएको हो । परन्तु, त्यो ऐतिहासिक कार्यभार त्यागेर प्रचण्ड, बैध्य, बाबुराम, बादलहरु परजित बनेर अन्यत्र पलायन भए अथवा आज समाजवाद त भन्छन, तर उनीहरुले दिने गरेको समाजवादको नारा वस्तुत: काल्पनिक समाजवाद मात्र हो । हामीले चाहिँ त्यो वैचारिक विकास कार्यभार निरन्तर आत्मसात गरिआयौं । फलत: ब्रम्हाण्डीय विचारधाराको समाजवादी लोकतन्त्रसम्म पुगेका छौं ।
समाजवादी लोकतन्त्र एक नवीन विधारधारा हो, जसले राजनीतिक समानताको आधारमा आर्थिक समानता र मानवीय स्वतन्त्रता प्रत्याभूत गर्दछ । एक नवीन राजनीतिक कार्यदिशा हो, जसको अभ्यास दुई चरणमा गरिने हुन्छ, प्रारम्भिक चरणको समाजवाद र विकसित चरणको समाजवाद भनेर । प्रारम्भिक चरणको समाजवाद नै समाजवादी लोकतन्त्रको कार्यदिशा हो । एक राजनीतिक कार्यक्रम हो, जसलाई पूर्ण समानुपातिक समाजवादी निर्वाचन प्रणालीको कार्यक्रम भनिएको छ । जसको अथवा समाजवादी निर्वाचन प्रणालीको वर्गीय आयाम अन्तर्गत मजदुर, किसान, पुँजीपति जनसंख्याको पूर्ण समानुपातमा राजनीतिक प्रतिनिधि निर्वाचन गरिन्छ । त्यस्तै, लैंगिक आयाम अन्तर्गत महिला-पुरुष जनसंख्याको पूर्ण समानुपातमा राजनीतिक प्रतिनिधि निर्वाचन र सामुदायिक आयाम अन्तर्गत सर्व-जातजातीय जनसंख्याको पूर्ण समानुपातमा राजनीतिक प्रतिनिधि निर्वाचन गरिन्छ । जसले नेपाली समाजको वर्गीय, लैंगिक एवं जातजातीय राजनीतिक अन्तर्विरोध एकीकृत रुपमा हल गर्दछ ।
समाजवादी निर्वाचन प्रणाली अन्तर्गत नै दलित, मधेसी-मुस्लिम, जनजाति आदिवासी र खस-आर्यको सामुदायिक चक्रप्रणालीमा देशको कार्यकारी प्रमुख (प्रधानमन्त्री) निर्वाचन गरिने छ । जसले, उत्पीडित समुदायलाई भारी प्रोत्साहन तथा खस-आर्यको पनि न्यायोचित व्यवस्थापन गर्दछ ।
संविधानको धारा ३ मा व्यक्त बहुजातीय-बहुसाँस्कृतिक नेपालको प्रकृतिमा वास्तविक संघीयता कार्यान्वयन मार्ग प्रशस्त गरिन्छ ।
उपरोक्त परिणामस्वरुप नेपालको संविधान २०७२ को धारा ४ मा व्यक्त समाजवाद उन्मुख राज्य अभ्यास गरिछाड्ने परिस्थिति आर्जन गरिन्छ भने सम्पूर्ण साझेदारीमा स्वाधीन र समृद्व नेपालको ऐतिहासिक यात्रा प्रारम्भ गरिने छ ।
उपरोक्त विचारलाई नयाँ राष्ट्रिय एकीकरणको समाजवादी कार्यक्रम भनिएको छ । जसको व्यवहारिक कार्यान्वयनमा तेस्रो जनआन्दोलन अपरिहार्य छ । पहिलो र दोस्रो जनआन्दोलनका गणतन्त्रलगायत उपलब्धीको रक्षामा दृढप्रतिबद्व समाजवादी लोकतान्त्रिक कार्यदिशाको तेस्रो जनआन्दोलनका मूल राजनीतिक कार्यसूचि निम्न रहेका छन्:
१. नेपाली समाजको वर्ग, लिङग, जातजाति, क्षेत्र एवं देशभक्तहरु (पाँच उत्पीडित जनसमुह) को संयुक्त अधिनायकत्वको राज्यव्यवस्थाका लागि समग्र देश जिम्मा लिने ऐतिहासिक कार्यभार,
२. आन्तरिक राष्ट्रहरुको पहिचानमा आधारित संघीयता कार्यान्वयन अथवा जाति समुदाय प्रत्येकको विभिन्न स्तरमा स्वायत्त देशहरु निर्माण तथा ती स्वायत्त देशहरुको एकीकृत देश नेपाल पुनर्निर्माणद्वारा समाजवाद उन्मुख नयाँ राष्ट्रिय एकीकरण,
३. क्रान्ति गर्ने र प्रतिक्रान्ति रोक्ने सामर्थ्यको देशभक्त समाजवादी राजनीतिक कार्यदिशा,
४. दुई छिमेकी प्राथमिकताको अन्तर्निभर राष्ट्रिय अर्थतन्त्रमा जोड तथा एमसीसी-एसपीपी सम्झौता खारेजद्वारा सुगौली सन्धिदेखिको पश्चिमा साम्राज्यवाद मुक्त नेपाल स्थापना र
५. वैदेशिक सैन्य हस्तक्षेप बढेमा त्यसको प्रतिरोधमा देशभक्त जनसेना निर्माणद्वारा महान राष्ट्रिय स्वाधीनता आन्दोलनवारे वैचारिक बहश ।
उपरोक्त कार्यसूचि कार्यान्वयनका निमित्त तेस्रो जनआन्दोलनको बाटो प्रस्तावित छ । जस अन्तर्गत संविधानको अग्रगामी संशोधन गरिने छ । यसरी तेस्रो जनआन्दोलनको राजनीतिक कार्यनीति भ्रष्टाचारी शासन अन्त्य र देशभक्त पहिचानसहित पूर्ण समानुपातिक समाजवादी प्रणाली स्थापना हुनेछ ।
दल प्राथमिकताका साथ वर्ग प्राथमिकता, लैंगिक एवं जातजाति प्राथमिकताको लोकतन्त्रले मात्र नेपाली समाजको वास्तविक प्रकृति अभिव्यक्त गर्दछ । जसलाई, मुख्यतः नेपाल पढ्ने सिद्वान्तको निचोड मानिन्छ ।
गणतन्त्र नेपालमा एक दलीय समाजवाद सम्भव र व्यवहारिक देखिँदैन । फेरि २०४६ देखिको विध्यमान प्रणालीलाई हेर्दा बहुदलले मात्र वर्गीय, लैंगिक, जातजातीय अन्तर्विरोध हल गर्न सक्दैन । त्यसर्थ दल प्राथमिकताका साथ वर्ग प्राथमिकता, लैंगिक एवं जातजाति प्राथमिकताको लोकतन्त्रले मात्र नेपाली समाजको वास्तविक प्रकृति अभिव्यक्त गर्दछ । जसलाई, मुख्यतः नेपाल पढ्ने सिद्वान्तको निचोड मानिन्छ ।
समाजवादी लोकतन्त्रको संगठन
शिक्षा, स्वास्थ्य र रोजगारीमा राज्यको दायित्व सैद्वान्तिक विरासत त्याग्दै उदार पुँजीवादी आवरणका नेताहरु अन्तर्वस्तुमा दलाल पुँजीवादको शिखण्डी बनेका छन् । नामधारी कम्युनिस्ट नेताहरु सर्वहारा चरित्र त्यागेर दलाल पुँजीवादमा पतीत छन् । त्यसैले लोकतन्त्र र साम्यवादको नारा दिने कांग्रेस-एमाले जस्ता नेताहरु दलाल पुँजीवादका सेवक बनेका छन् र नै तिनले जनताको पहिचान र अधिकारमाथि प्रतिक्रियावादी दमन गरिरहेका छन् ।
यो पृष्ठभूमिमा देशभक्त समाजवादीले पहिचान पक्षधर मार्क्सवादी र पहिचान पक्षधर उदार पुँजीवादी दुवै विचार प्रवृत्तिलाई एकीकृत गर्ने कार्यदिशा अख्तियार गर्नु पर्दछ । त्यसर्थमा संस्थागत रुपमा देशभक्त समाजवादी लोकतन्त्र लागू गर्ने, तर खोज अनुसन्धान कार्यमा चाहिँ मार्क्सवादी वा उदार पुँजीवादीलाई व्यक्तिगत स्वायत्तता प्रदान गर्ने विधि सुनिश्चित गर्नु पर्दछ । यसो गरेर मात्र देश र जनताको प्रमुख दुश्मन दलाल पुँजीवादलाई जरैबाट उखेलेर फाल्न सकिने हुन्छ ।
नेपालमा, व्यक्तिगत रुपमा जो इमानदार कम्युनिस्ट छन्, समाज परिवर्तनको सहायक रहन इच्छुक छन् भने उनीहरुले एक दलीय समाजवादको कोरा कल्पना त्यागेर निर्वाचनद्वारा समाजवादको ह्युगो चाभेज तरिका स्मरण गर्न अत्यावश्यक छ । त्यस्तै नेपालमा उदार लोकतन्त्रवादी छन् र समाज परिवर्तनको सहायक रहन तत्पर छन् भने उनीहरुले कम्युनिस्ट नेता क्रिश हनी र उदार पुँजीवादी नेल्शन मण्डेलावीच एएनसी ढाँचा स्मरण गर्न अत्यावश्यक छ । किनभने, एकाधिकार पुँजीको चरम भूमण्डलीकरण तथा नेपालमा उग्र एकल-जातवादीकरणवीच प्रतिक्रियावादी मोर्चाद्वारा देश र जनतालाई बर्वाद पारिरहेको प्रदुषित राजनीतिले यौगिक विचारको शक्ति निर्माण हुन दिइरहेको छैन र किमार्थ दिने पनि छैन । त्यसर्थ परम्परागत यौगिक नाराको शक्ति नेपाली समाजको गुणात्मक परिवर्तनका निमित्त संवाहक शक्ति बन्न किमार्थ सक्दैन ।
नेपालमा, व्यक्तिगत रुपमा जो इमानदार कम्युनिस्ट छन्, समाज परिवर्तनको सहायक रहन इच्छुक छन् भने उनीहरुले एक दलीय समाजवादको कोरा कल्पना त्यागेर निर्वाचनद्वारा समाजवादको ह्युगो चाभेज तरिका स्मरण गर्न अत्यावश्यक छ ।
यसैले हामीले प्रस्तावित गरेका हौं कि पुष्पलाल श्रेष्ठको संश्लेषण राष्ट्रियता, जनतन्त्र र जनजीविका एवं वीपी कोइरालाको संश्लेषण राष्ट्रियता, प्रजातन्त्र र समाजवादकावीच सामयिक एकीकरणद्वारा नेपाली राजनीतिको नयाँ संश्लेषण गम्भीर आवश्यकता खड्किएको छ । पुष्पलाल र वीपीका विचारले गणतन्त्रसम्म डोर्यायो । अबोप्रान्त नयाँ वैचारिक संश्लेषण बिना नेपाली राजनीति एक कदम अघि बढ्न नसक्ने सर्वत्र प्रमाणित छ । नयाँ संश्लेषणलाई "विज्ञान-प्रविधि, समाजवाद र लोकतन्त्र" भनी प्रस्तावित गरिएकै छ । जसलाई, अन्तर्राष्ट्रिय अर्थमा "वैज्ञानिक समाजवादी लोकतन्त्र" र नेपालको राष्ट्रिय अर्थमा "देशभक्त समाजवादी लोकतन्त्र" भन्न सकिन्छ ।
अत: समाजवादी लोकतन्त्रको संगठन दीर्घकालीन राजनीतिक मोर्चा स्वरुपको हुनु अनिवार्य छ । जसले, शान्तिपूर्ण सडक आन्दोलन हुँदै निर्वाचन उपयोगको कार्यनीति र महान जनविद्रोहको रणनीतिमा आधारित सामरिक कार्यदिशाबाट राज्यसत्ताको पनि नेतृत्व गर्न सकियोस । जस अन्तर्गत राज्यसत्तामा देशभक्त समाजवादी तथा शासनव्यवस्थामा समाजवादी लोकतन्त्र सुनिश्चित गर्न सकियोस् ।
अन्त्यमा, रोचक के भने २१ औं शताब्दीको जनवाद प्रस्तावमा लेखिएको छ- सत्ता र पार्टीहरुमाथि आम जनसमुदायको निगरानी, नियन्त्रण र हस्तक्षेपको विधि सुनिश्चित गरिनु पर्छ ।
भनिसकियो, विचार र विधि विकासमा पूर्व माओवादी नेताहरु स्वयं पराजित भएर भागे । बरु त्यो ऐतिहासिक कार्यभार उठान गर्ने जिम्मेवारी हामीले सफल पार्यौं: क्रान्ति गर्ने र प्रतिक्रान्ति रोक्ने विचार समाजवादी लोकतन्त्र हो भने विधि पूर्ण समानुपातिक समाजवादी निर्वाचन प्रणाली । ब्रम्हाण्डीय विचारधाराको समाजवादी लोकतन्त्र-कार्यदिशावारे दस्तावेज अध्ययन गरियोस्, जसले राज्यसत्ता र पार्टी सत्तामा स्वभाविक तवरमा जनसमुदायको निगरानी, नियन्त्रण र हस्तक्षेप सुनिश्चित गर्छ ।
गहिराईमा मलाई लाग्दछ, ईमानदार र वैज्ञानिक बन्नु भनेको एक्दम सही रहेछ ।
* * *
वर्गीय र जातीय सवालवीच एकीकरण कार्यदिशा मेरो जीवनको पहिलो विचार निर्माण हो । त्यसको कार्यान्वयनमा, २०५४ साउनमा पूर्वी पहाडमा जब सशस्त्र आन्दोलन उड्घोष गरियो, तत्कालीन माओवादी समर्थित जनजाति संघले प्रेस विज्ञप्ति मार्फत समर्थन गरेछ । पार्टीमा खैलाबैला मच्चिएपछि बल्ल २०५५ देखि माओवादीले राष्ट्रिय मुक्तिमोर्चा गठन सुरु गरेको हो । अन्यथा अखिल नेपाल जनजाति संघमै जुटाएर आदिवासीलाई लडाकु बनाउने सोंचमा थिए, माओवादी नेताहरु । जब हामी नेकपा (माओवादी) मा समाहित भयौं, मेरै आक्रामक जोडमा आठ गणराज्य सरकार घोषणा गरिएको हो । हेटौंडा महाधिवेशनमा जातीय सवालवारे विशेष नीति निर्माणवारे मैले पेचिलो लाईन संघर्ष गर्नु परेको थियो ।
लेनिनवादी जातीय नीति त्यसरी जब पारित गराइयो, वरिष्ठ भनिएका खस-आर्य मूलका महाशयहरु मुर्मुरिने गरेको सुनिन्थ्यो । उनीहरु भन्थे, कर्णालीको बाहुनक्षेत्रीले काठमाडौको नेवारसंग आत्मालोचित हुनु पर्ने? प्रष्ट्याउँ कि जस्तो लाग्थ्यो, फेरि पनि वाहियात ठानेर छोडियो । बुझियो, तिनलाई सर्वहारावर्गको जातीय नीतिवारे पत्तै रहेनछ । यथार्थमा कर्णालीको बाहुनक्षेत्रीले होइन, लेनिन अनुसार सर्वहारावर्गको अग्रदस्ता कम्युनिस्ट पार्टीले उत्पीडनकारी इतिहासको जिम्मा लिँदै आत्मालोचना र अबोप्रान्त जातिहरुको मुक्ति सुनिश्चितताको विश्वसनीय प्रतिबद्वता गर्नु पर्दथ्यो ।
किरात वर्कर्स पार्टी प्रकाशित संघीय नेपालको मानचित्रमा खसानको मानचित्र राखिएको हुन्थ्यो । तर, एकता वार्ताका बखत प्रचण्डहरुले पटक्कै स्वीकार गरेनन् । उनीहरुको दलिल थियो, खस-आर्य शासक जाति हुनाले उनीहरु सिधै अन्तर्राष्ट्रिय जाति बन्नु पर्छ, के को खसान?
क्रमश: खुट्टी देखियो, क्यावात् अन्तर्राष्ट्रिय जाति !
मलाई पटक्कै चित्त बुझिरहेको थिएन । २०६७ मा आएर सैद्वान्तिक आधार भेटियो कि लेनिनले रुसी जातिको पनि रुस गणराज्यको सुनिश्चितता गरेपछि मात्र त्यहाँका शासक रुसीहरुले आफुद्वारा उत्पीडित जातिहरुको गणराज्य स्वीकार गरेका थिए । बल्ल प्रचण्ड सहमत भए । संक्षेप प्रतिवेदन तयार गर्ने जिम्मा मैले लिएँ । २०६८ बैसाख केन्द्रीय समितिमा मैले "संघीयता र गणतन्त्रको पहरेदार, खस राष्ट्रिय मोर्चा, नेपाल" शिर्षक प्रतिवेदन प्रत्येक केन्द्रीय सदस्यलाई पुग्ने संख्यामा तयार गरेको थिएँ । बैठकमा "खस मोर्चावारे" प्रस्ताव पनि राखियो । तर, वाम विसर्जनवादी बैध्य-विप्लवको कचिङ्गलले त्यसमा छलफल हुन सकेन । त्यस प्रस्तावलाई स्थायी समितिमा पठाइयो ।
प्रारम्भकालीन माओवादीको जातीय नीति गुरुङ र आलेले तयार गर्दा रहेछन् । त्यसमा खस-आर्यको पहिचान हुनु हुँदैन, भन्नेमा गुरुङ र आलेको मात्र अडान हो कि प्रचण्ड-बाबुरामको पनि हो? मलाई थाहा हुन सकेन ।
त्यसकारण त्यसरी मैले २०६९ को हेटौंडा पार्टी महाधिवेशनमा फरक मतसहित लाईन संघर्ष गर्नु परेको थियो । त्यस बेला चर्काचर्की पर्दा प्रचण्डसंग मैले भनेको थिएँ, जातीय सवालवारे देव गुरुङ र सुरेश आलेको बुझाइ प्लेखानोव बुझाइ हो भने मेरो बुझाइ लेनिन बुझाइ हो ।
प्रारम्भकालीन माओवादीको जातीय नीति गुरुङ र आलेले तयार गर्दा रहेछन् । त्यसमा खस-आर्यको पहिचान हुनु हुँदैन, भन्नेमा गुरुङ र आलेको मात्र अडान हो कि प्रचण्ड-बाबुरामको पनि हो? मलाई थाहा हुन सकेन । यो चाहिँ पक्का हो कि त्यही खस पहिचानलाई निषेध गर्ने तत्कालीन माओवादीको गैरलेनिनवादी जातीय नीतिले आदिवासीको पहिचान निषेध गर्न पुग्यो ।
बैठकमा प्रतिवेदन प्रस्तुत गर्न नपाइए पनि कार्यसूचिको विषय हुनाले वरपर चर्चा चली नै हाल्यो । लाईन संघर्षमा बैध्य निकट गुरुङ र आलेहरुले मेरो भण्डाफोर सुरु गरे । उनीहरुको पहिलो प्रहार थियो, उत्पीडक जातिको मोर्चा गठन गर्ने हो भने पुरुष मोर्चा पनि गठन गर्नु पर्छ र दोस्रो, रुसीहरु निश्चित भूगोलमा केन्द्रित बसोबास गरेका हुनाले रुस गणराज्य सम्भव भयो, तर खस-आर्य देशैभरि छरिएर बसेको हुनाले कसरी बन्छ खसान गणराज्य?
केही दिनमा एक लोकप्रिय दैनिक प्रकाशनमा मैले जवाफी लेख लेखें । भनियो- महाशयहरु हो ! वर्गीय सवाल, लैंगिक सवाल र जातीय सवाल एउटै हो कि भिन्ना भिन्नै? दोस्रो प्रहारवारे भनियो, त्यसो हो भने गुरुङ, मगर, तामाङ र नेवार पनि देशैभरि छरिएर बसेको हुनाले तमुवान, मगरात, ताम्सालिङ र नेवा पनि हुनु हुँदैन, भनौं त?
गुरुङ र आले प्रवृत्ति नाजवाफ भए ।
दिवङ्गत कमानसिं लामा पनि निक्कै निहुँ खोज्नेमा देखा परे । प्रतिवाद गर्दै उहाँलाई मैले भनेको थिएँ, खसान गणराज्यको नीति स्वीकार गर्नु हुन्न भने तपाइँले पनि ताम्सालिङ पाउनु हुने छैन !
अन्तत: हुन पुगेको छ त्यही ।
यसरी रगत, आँसु र पशिनाको धारा बगाएर स्थापित गरिएको पहिचान मुद्दा उच्चतह भनिएका नेताहरुको यान्त्रिक चिन्तन र हठको परिणाम एक चरण विलखबन्दमा परेको छ । तर, अब त्यो विलखबन्दे पर्खाल अवश्य तोडिन्छ । किनभने, देश जिम्मा लिने सशक्त विचारसहित अनुकुल आचारणको नेतृत्व जो विकास गरिँदैछ ।
दोस्रो वैचारिक विकास २०६५ मा राज्यपुन:संरचना मन्त्रीको हैसियतमा अभिव्यक्त गरियो, आठ सय जिल्लाको नयाँ नेपाल भनेर । जो वस्तुतः कार्यान्वयनमा आएको छ, ७५३ स्थानीय तहका रुपमा ।
आठ सय जिल्लाको विचारका पछाडि यावत सैद्वान्तिक एवं व्यवहारिक कारण थिए । त्यसमध्ये जनतामाझ प्रशासनिक सुगमता एक हो । राजतन्त्रकालमा, नेपालमा ४ हजार गाविस तथा ५९ नगरपालिका र ७५ जिल्ला थिए । त्यसमा अधिकाङ्श स्थानीय जनताबाट जिल्ला सदरमुकाम टाढा र जिल्ला सदरमुकामबाट स्थानीय जनता ज्यादै टाढा पर्थे । अत: ४ हजार गाविस-नगरलाई आठ सय जिल्लामा उठाएर ७५ जिल्लालाई आठ सय जिल्लामा झार्ने विचारले गणतन्त्रका जनता र सरकारवीच सम्बन्ध सुगम बनोस्, भन्ने वैचारिक अपेक्षा थियो । जसले, गणतन्त्रलाई जनसमुदायमाझ प्रर्याभूत गर्ने एक मात्र आधार सृष्टि गर्दछ ।
फेरि पनि स्थानीय नाम संरचनामा दलहरुले जिल्ला नभनेर चारजात व्यवस्था थोपर्ने हर्कत गरेका छन् । जस्तो कि महानगर भनेको ब्राम्हण, उपमहागर भनेको क्षेत्री, नगर भनेको वैश्य र गाउँपालिका भनेको शुद्र झैं प्रतीत हुन्छ । अर्थशास्त्रको परिभाषामा गाउँ त्यो हो, जुन परम्परागत कृषि उत्पादनमा निर्भर गर्छ र नगर भनेको त्यो हो, जुन गैरकृषि उत्पादनमा निर्भर गर्छ ।
के उपरोक्त परिभाषामा गाउँ/नगर, तथाकथित उप र महानगर तोकिएका छन् त? किमार्थ छैनन् । तर, विश्वव्यापी अभ्यास हेर्दा जिल्ला चाहिँ गाउँ र शहर, दुर्गम वा सुगम सबैमा प्रयुक्त छ ।
तेस्रो वैचारिक विकास २०७२ मा गरिएको थियो शिर्षक केन्द्रीय पार्टी मुखपत्र सम्पादक मण्डल सचिवको हैसियतमा मैले लेखेको एक आलेखमा समाजवादी लोकतन्त्रको कार्यदिशा छ । जुन, वैज्ञानिक समाजवादको प्रथम अंक, २०७२ मा प्रकाशित छ । चौथो, २०७३ असोजमा दुई चरणको समाजवादको कार्यदिशा विकास गरियो । जसलाई, आउने महाधिवेशनमा फरक मतका लागि भन्दै २०७३ पुसमा पार्टी कार्यालय समक्ष दर्ज गरेको थिएँ । २०७५ मा सुषुप्त रुपमा बहुवर्गीय पदवाली एक प्रतिवेदनमा उल्लेख गरियो । त्यसैको उत्कर्ष २०७६ असोजमा तीन आयामको समाजवादी निर्वाचन प्रणाली विकास गरियो, जुन पाँचौं वैचारिक विकास थियो । २०७७ मा आएर ब्रम्हाण्डीय विचारधाराको समाजवादी लोकतन्त्र बन्यो, छैठौं वैचारिक विकास हो ।
पहिचान मुद्दा त्यागेर प्रचण्डहरु एमाले विलयतर्फ गएपछि त्यही वैचारिक मतभेदका कारण, २०७४ मा हामीहरु जब छुट्टियौं, संगठनात्मक शक्ति नरहे पनि भौतिक जीवनमा भारी फुर्सद मिल्यो । त्यस दौरान यत्ति अध्ययन र चिन्तन गरियो कि मुख्यतः नेपाल पढ्ने सिद्वान्तसहित सशक्त वैचारिक विकास गरियो ।
संक्षेप प्रष्टीकरण के भने समाजवाद भनेपछि परम्परागत मार्क्सवादी व्याख्यामा आधारको अर्थतन्त्र प्राथमिक सूचिमा रहने गर्दछ । तर, समाजवादी लोकतन्त्रमा उपरिसंरचनाको राजनीति प्राथमिक सूचिमा छ । जसले, समाजवादी निर्वाचन प्रणालीका आधारमा निर्वाचित प्रतिनिधिसभामा सम्पूर्ण सत्ता केन्द्रित गर्दछ र त्यस्तो शक्तिशाली प्रतिनिधिसभा स्वयंले राज्यको आर्थिक कार्यदिशा निर्धारण गर्ने सामर्थ्य स्वयं राख्दछ । अत: राजनीतिक समानताको आधारमा आर्थिक समानताको कार्यदिशा सर्वप्रथम राजनीतिक समाजवाद हुँदै प्रतिनिधिसभा निर्धारित आर्थिक समाजवादतर्फ अग्रसरता हुनेछ ।
सामान्यतः समाजवादी लोकतन्त्रको अर्थनीति राजकीय, सामुदायिक र निजी प्रणालीमा आधारित रहने छ ।
समाजवादी युग निर्माणमा श्रकिमवर्गसहित आदिवासी तथा दलितको बाध्यकारी दायित्व
नेपाल उपत्यकामा सामुदायिक समाजव्यवस्थाको किरातकाल तथा वर्गीय समाजव्यवस्थाको लिच्छवीकाल र मल्लकाल सशक्त विकासका ध्योतक थिए । उपत्यका वरिपरि ताम्सालिङ सभ्यता, थरुवानमा दंगीशरण थारु सभ्यता, मधेशमा सिमरौनगढ, जानकी र सेन सभ्यता, मध्यपश्चिममा तमुवान-मगरात सभ्यता, पश्चिममा शिल्पी हुँदै खसान सभ्यताका सिञ्जा र डोटी राज्य एवं पूर्वमा किरात-लिम्बुवान सभ्यताका विजयपुर-चौदण्डी राज्यहरु थिए । बौद्व, सनातनी र मुन्धुम जीवनदर्शनका ती समुदाय आफ्नो युगमा स्वतन्त्र तथा समृद्व थिए ।
करिव अढाई सय बर्षयताको राज्य निर्माणक्रममा भने आदिवासी, दलित र मधेसीहरु काफी मात्रामा पछाडि धकेलिए । लिच्छवी राजा मानदेवको समयदेखि सुरु भएको मानिने उपत्यकास्थित सामन्तवाद सामान्यत: सहिष्णु देखिन्छ । उप्रान्त तमुवान क्षेत्रबाट उठेको केन्द्रीकृत गोर्खाली सामन्ती राज्य निक्कै कठोर प्रकारको थियो, भन्ने प्रष्ट छ । क्रमश: दुई सय बर्ष अघि थोरिएको जहानियाँ राणाशासन पूर्णतया जातव्यवस्था आधारित सामन्तवाद थियो । वास्तवमा त्यहिँदेखि आदिवासी र दलितको ढाँड भाँच्ने सामन्ती दमनचक्र थोपरियो ।
मगरातको राजा हुँ, भनेका पृथ्वीनारायण शाहलाई फौजी सहयोग पुर्याएका मगर-गुरुङको राजनीतिक हैसियत नहुँदा राणाशासनले तिनलाई समेत थारु, तामाङ, राई, लिम्बूकै हालतमा पुर्याए । खसानको खस भाषालाई तोड्मोड गरेर सरकारी भाषा तुल्याए पनि खसहरुमाथि जबर्जस्ति क्षेत्रीकरण गरिँदा उनीहरुको मौलिक पहिचान संकटमा पर्यो । मेहेनजोदारो र हरप्पा सभ्यताका जननी शिल्पीहरु, जो द्रविड मूलका थिए, लाई राजनीतिमा पराजित गरिसकेपछि जातव्यवस्थाको पैतालामुनी कुल्चने प्रपञ्च भए । साथसाथै, भारदारी वर्गद्वारा आफ्नै कुलबङ्शका भाइबन्धुलाई शुद्र बर्णमा धकेलेर हुर्मत लिने अपराधहरु भए ।
जुन जाति समुदायले अर्थराजनीतिक युग निर्माणको नेतृत्व गर्दछ, त्यो जाति समुदायको मात्र पहिचान र अधिकार सुव्यवस्थित हुन सक्दछ । जुन जाति समुदायले युग निर्माणको नेतृत्व गर्दैन, स्वभाविक तथा अनिवार्य रुपमा त्यो किनारामा धकेलिन्छ, विस्थापित हुन्छ ।
उपरोक्त संक्षिप्त पृष्ठभूमिमा विचारणीय छ कि आफ्नै मौलिक भाषा-संस्कृतिका धनी जनजाति आदिवासीहरु राज्यविहीन बन्नुका पछाडि आत्मगत कारण के थिए? मगरातदेखि लिम्बुवानसम्मका आदिवासीको भाषामा दास-मालिक शब्द उपलब्ध छैन । त्यसले स्पष्ट गर्दछ कि आदिवासीहरुले दास-मालिक वर्गीय युगको अभ्यास गरेनन् । दास-मालिक युग अभ्यास नगरेपछि उनीहरु स्वयंले सामन्ती युग निर्माण पनि गरेनन् । यसरी ऐतिहासिक तथ्य प्रमाणित छ कि दास-मालिक युगवारे बेखबर, सामन्ती युग गोर्खाली शत्रुको रुपमा सामना गर्नु पर्दा त्यसमा स्वतन्त्र विकास अवरुद्व बनेको तथा २००७ यता पुँजीवादी युग निर्माणमा चाहिँ आन्दोलनमा सहभागीसम्म भएको, तर युग निर्माणको नेतृत्व गर्न नपाएको ऐतिहासिक परिदृष्यमा आदिवासीहरु राज्यविहीन बनिरहेका हुन ।
परन्तु, राज्यको ऐतिहासिकता यो हो कि जुन जाति समुदायले अर्थराजनीतिक युग निर्माणको नेतृत्व गर्दछ, त्यो जाति समुदायको मात्र पहिचान र अधिकार सुव्यवस्थित हुन सक्दछ । जुन जाति समुदायले युग निर्माणको नेतृत्व गर्दैन, स्वभाविक तथा अनिवार्य रुपमा त्यो किनारामा धकेलिन्छ, विस्थापित हुन्छ ।
अत: मुख्यत: नेपाल पढ्ने सिद्वान्तमा विकसित नेपाली किसिमको समाजवादी युग निर्माणको नेतृत्व लिन जनजाति आदिवासीहरु बाध्य छन् । यो ऐतिहासिक कार्यभार स्वीकार गर्दै अघि बढ्ने आदिवासीहरु वस्तुत: पहिचान र अधिकार सम्पन्न हुनेछन् । अन्यथा बजार पुँजीवादको दुनियाँमा उनीहरुलाई दयामायाँ गर्न पृथ्वीलोकमा अरु कोही आउने छैनन् ।
यध्यपि समाजवादी युग निर्माणको नेतृत्व गर्दा आदिवासीले आफ्ना लागि मात्र होइन, देशका पाँच जनसमुहसाथ अघि बढ्नु पर्दछ । तब मात्र देश जिम्मा लिने ऐतिहासिक कार्यभारले पूर्णता पाउने हुन्छ । आफ्नै नेतृत्वमा स्थापित समाजवादी देशमा आदिवासीको पहिचान र अधिकार अवश्यमभावी छ ।
ध्यान रहोस्, विज्ञान-प्रविधिको उच्चतम् विकासद्वारा कृतिक बौद्विकता (एआई) को राज्य दृष्टिगोचर छ । जसलाई, अस्वीकार गर्नु प्रतिगामी हुनु मात्र होइन कि असम्भव पनि छ । यस सन्दर्भमा वैज्ञानिक स्टेफन हकिङले भनेका थिए, एआईको विस्तारद्वारा उत्पादन र राजनीतिक क्षेत्रबाट श्रमिकवर्ग विस्थापित हुनेछन् । विश्वज्ञान सिद्वान्तका महारथि रमेश सुनुवारले अबको क्रान्तिको मुख्य शक्ति विस्थापितवर्ग बनिरहेको प्रक्षेपण गरेका छन् । भयानक प्रश्न कि श्रमिकवर्ग नै विस्थापित हुनेछन् भने आदिवासी, महिला र दलित चाहिँ स्थापित रहलान त? यथास्थितिमा किमार्थ सुरक्षित रहने छैनन्, बरु ध्वस्त पारिने छन् ।
त्यसैले श्रमिकसंगै वर्ग, लिङग, जातजाति, क्षेत्र एवं देशप्रेमी पुँजीपति (पाँच जनसमुह) वीच एक आधारभूत चरण एकताको बलमा राउटेको पनि विश्वसनीय संरक्षण सुनिश्चिततासहित आदिवासीले पाँच जनसमुहपक्षीय संयुक्त राज्यव्यवस्था हठात् स्थापना गरियोस् । जसबाट आफ्नै सार्वभौम एआई प्रबन्ध समेतका लागि तेस्रो जनआन्दोलन मार्फत समाजवादी लोकतन्त्रको कार्यदिशा ऐतिहासिक सच्चाई ठहर्छ ।
पूर्वी नेपालमा २०७९ फागुन १७ गतेदेखि प्रदेश नाम कोशी खारेज तथा पहिचानमा आधारित पुन:नामाङ्कन आन्दोलन चर्कियो । आन्दोलन संचालन जिम्मा संघर्ष समितिको धरान बैठक, २०८० पुस २६-२७ गते तेस्रो जनआन्दोलन पहलको निर्णय लिइयो । २०८० माघ २० गते ललितपुरमा आयोजित मार्गदर्शन भेलाबाट हाम्रै संयोजकत्वमा तेस्रो जनआन्दोलन तयारी समिति गठन गरियो । जसले, पहिचानसहित समाजवादका लागि देशव्यापीस्तरमा प्रारम्भिक तयारी गर्दै २०८१ माघयता तयारी समितिलाई पुनर्गठनगरी "तेस्रो जनआन्दोलन राष्ट्रिय परिषद, नेपाल" मा विकसित गर्नु पर्यो । अबोप्रान्त राष्ट्रिय परिषदले तेस्रो जनआन्दोलन (तेज आन्दोलन) कार्वाहीको नेतृत्व गर्दछ ।
अन्त्यमा, पृथ्वीनारायण शाहको भूगोल केन्द्रिकरणलाई समर्थन गर्दै, तर उनको आन्तरिक राज्यप्रणाली चाहिँ अन्यायपूर्ण रहेको हुनाले त्यसको वैज्ञानिक पुनसंरचनातर्फ जोड शाश्वत समाधान हुनेछ । इतिहासका घटनाहरु माफीलायक छैनन् । फेरि इतिहास मात्र समातेर पनि अर्थराजनीतिक व्यवहार चल्दैन । यसर्थमा पृथ्वीनारायण शाहवारे नेपाली क्रान्तिकारीद्वारा ऐतिहासिक भौतिकवादी विज्ञानमा आधारित मूल्याङ्कन अत्यावश्यक छ ।
ब्रम्हाण्डमा ऊज्यालो खोज्दै
१. द्वन्दवाद अर्थात अन्तर्विरोधको नियम, कन्फुसियस दर्शन र कर्दासेप सभ्यता सिद्वान्तले भन्छ, व्यक्तिको समस्या हल गर्न परिवारको विचार आवश्यक पर्छ । क्रमश: परिवारको समस्या हल गर्न स्थानीय-समुदायको, स्थानीय समस्या हल गर्न राष्ट्रिय तथा राष्ट्रिय समस्या हल गर्न अन्तर्राष्ट्रिय, अन्तर्राष्ट्रिय समस्या हल गर्न अन्तरिक्षीय र अन्तरिक्षीय समस्या हल गर्न ब्रम्हाण्डस्तरको ज्ञान अथवा वैचारिक आवश्यकता प्रबलतापूर्वक बढेको छ । वर्तमान पुँजी र सूचना प्रविधि भूमण्डलीकरणको दुनियाँमा यस्तो ज्ञान शृङ्खलाले मात्र मानव बुद्विलाई पूर्णतातर्फ विकसित गर्न सकिन्छ र पूर्ण मानवले मात्र यावत समस्याहरुको ठिक ढंगले पहिचान र निरुपण गर्न सकिन्छ । यसरी विसं २०७७ मा एउटा पुस्तक लेखेर दुनियाँमाझ हामीले ब्रम्हाण्डीय विचारधारा प्रस्ताव गरेका हौं । जसको सैद्वान्तिक आधार भैतिकवादी समाज विज्ञान र भौतिकवादी ब्रम्हाण्ड विज्ञानवीच एकीकरण हो । जसका विभिन्न सिद्वान्त छन् । त्यसमध्ये एक न्युरो विज्ञान सिद्वान्त हो । जुन, प्रत्येक मानिसको खोपडीमा ८६ अर्ब न्युरोन र प्रत्येक न्युरोनका एक-एक तन्तु हुने गर्दछन् । गणितीय प्रमाण कि मानिसको खोपडीमा ८६+८६=१७२ अर्ब नशाहरु मौजुद छन् । तन्तुहरुले पाँच ईन्द्रीय माध्यम सूचना संङ्कलन गर्दछन् भने न्युरोनले ती सूचनाहरुको प्रशोधन र पञ्जीकरण गर्ने गर्दछन् । त्यही पञ्जीकृत सूचना नै स्मृति अथवा संज्ञान हो । जसको प्रयोगद्वारा मानिसले वस्तु र घटनालाई हेर्ने, बुझ्ने र मुख्यतः बदल्ने वैचारिक शक्ति निर्माण गर्दछ ।
अत: त्यस पुस्तकमा भनिएको छ, प्रत्येक मानिसको खोपडी र ब्रम्हाण्ड समानान्तर छन् । प्रत्येक मानव खोपडीमा ब्रम्हाण्ड बराबर ऊर्जा छ । त्यस ऊर्जाको अधिकतम् खपत बढाउनु ब्रम्हाण्डीय विचारधाराको उद्देश्य हो ।
खगोल वैज्ञानिक स्टेफन हकिङ अनुसार ब्रम्हाण्ड बहुध्रूवीय छ । त्यसमध्ये हामी जहाँ रहेका छौं, यो एउटा ब्रम्हाण्ड हो र हाम्रो ब्रम्हाण्ड हो । हाम्रो ब्रम्हाण्डको उत्पति महाविष्फोट सिद्वान्तका आधारमा आज भन्दा १३ अर्ब ७० करोड बर्ष अघि भएको हो । ब्रम्हाण्डको उत्पतिबाट नै स्थान-समय अस्तित्वमा आयो । हाल ९३ अर्ब प्रकाश बर्ष दुरीमा विस्तारित हाम्रो ब्रम्हाण्ड अन्तर्गत आकाशगंगा, आकाशगंगा अन्तर्गत सौर्यपरिवार र सौर्यपरिवार अन्तर्गत पृथ्वी अवस्थित छ । पृथ्वीको एसिया महादेश अन्तर्गत सर्वोच्च हिमालयको दक्षिणी काखमा नेपाल देश छ । जहाँ हामी क्रान्ति गर्ने र प्रतिक्रान्ति रोक्ने जमर्को गरिरहेका छौं ।
यसर्थ ब्रम्हाण्डीय विचारधाराको विशेष आग्रह हो कि प्रत्येक मजदुर, प्रत्येक किसान र प्रत्येक महिलाले आफ्नो खोपडीमा रहेको अर्बौं न्युरोनलाई क्रियाशील तुल्याउने अठोट र सामर्थ्य आर्जन गरून् । जसले गर्दा उनीहरु यत्ति बौद्विक बनुन कि ती मजदुर, ती किसान, ती महिला, ती आदिवासी र ती दलितहरु बन्धन र बाध्यताको दुनियाँबाट स्वतन्त्रताको दुनियाँतर्फ उडान भर्न सकुन । र, उदात्तभाव कि मानिसले मानिसमाथि गर्ने सबै खाले अन्याय र उत्पीडन कृत्यलाई सदाका लागि इतिहासको संग्रहालयमा थन्क्याइयोस् ।
प्रस्तुत विचारधाराको तीन एकीकृत शृङ्खला छन् । त्यसमा प्रथम, ब्रम्हाण्डीय विचारधारा, द्वितीय-समाजवादको भूमण्डलीकरण रणनीति र तृतीय, राष्ट्रिय राजनीतिक कार्यक्रम पर्दछन् । त्यही राष्ट्रिय राजनीतिक कार्यक्रम नै समाजवादी लोकतन्त्र हो ।
ब्रम्हाण्डीय विचारधारा निर्माण तथा यसको मार्गदर्शनमा समाजवादी लोकतन्त्रको राजनीतिक कार्यदिशा निर्धारण गर्दा ६ वटा सिद्वान्तहरु प्रयोग गरिएका छन् । ती हुन: कार्ल मार्क्सको भौतिकवादी द्वन्दवाद, अलबर्ट आइन्सटाईनको सामान्य सापेक्षतावाद, स्टेफन हकिङको एकीकृत भौतिकवाद, बौद्व दर्शनको विपश्यना विज्ञान, उदार पुँजीवादको बहुदलीय लोकतन्त्र र मुख्यतः नेपाल पढ्ने सिद्वान्त । जसका आधारमा, ब्रम्हाण्डीय विचारधारामा विज्ञानका चार गति मौजुद छन्: जुन भौतिक गति, रासायनिक गति, जैविक गति र सामाजिक गति हुन । यिनै चार गतिवीचको यौगिकताबाट नवीनतम् वैज्ञानिक विचारधारा बन्दछ । जसलाई, (मार्क्स, लेनिन र माओ भौतिकवादी समाज विज्ञानका प्रणेता हुन भने मार्क्स, आइन्सटाईन र हकिङ भौतिकवादी ब्रम्हाण्ड विज्ञानका प्रणेता हुन, को संश्लेषणमा) भौतिकवादी समाज विज्ञान र भौतिकवादी ब्रम्हाण्ड विज्ञानवीचको एकीकरण भनिएको छ ।
नेपाल पढ्ने सिद्धान्तको औचित्यमा देशभक्त नेपालीले विशाल छिमेकी भारत, चीन हुँदै जापान, अरब, रुस, यूरोप, अमेरिकासंगै सामान्यतः ब्रम्हाण्ड नै पढ्नु पर्छ, मुख्यतः नेपाल पढ्नु पर्छ । किनभने, हामीले क्रान्तिकारी परिवर्तन र सम्यक व्यवस्थापन नेपालमा जो गर्नुछ । मुख्यतः नेपाल पढ्नुको अन्तर्य मुख्यतः नेपाल बुझ्नु हो, मुख्यतः नेपाल बुझ्नुको अन्तर्य मुख्यतः नेपाली राज्यव्यवस्था बदल्नु हो । यसलाई रुपचन्द्र विष्टको थाहा आन्दोलनसंग जोडेर पनि हेर्न सकिन्छ । दर्शनशास्त्रमा थाहा पाउनु र गर्नुको जुन सम्बन्ध वर्णन गरिन्छ, थाहा पाउनु र गर्नुमध्ये गर्नु मुख्य ठहर्छ । (यहाँ पढ्नुलाई थाहा पाउनु र बदल्नुलाई गर्नुको अर्थमा बुझ्नु पर्दछ ।) तर, वैज्ञानिक ढंगले थाहा पाएर मात्र क्रान्तिकारी ढंगले बदल्न सकिने तथ्यमा सर्वत्र जोड हुनु पर्दछ । अत: वैज्ञानिक ढंगले नेपाली समाज बुझेर बदल्नका निम्ति मुख्यतः नेपाल पढ्ने सिद्वान्त आत्मसात गर्नु पर्दछ ।
उपरोक्त सैद्वान्तिक आधारमा तेस्रो जनआन्दोलन प्रस्तावित छ । विसं २००७ देखि २०४६ सम्मको राजनीतिक आन्दोलनलाई प्रथम जनआन्दोलन भनिन्छ । जसले, बहुदलीय प्रजातन्त्र स्थापना र पुनर्स्थापना गर्यो । दस बर्षीय जनयुद्धको जगमा २०६२/६३ को जनआन्दोलनलाई दोस्रो जनआन्दोलन भनिएको छ । जसले, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्यो । परन्तु, नेपालमा लोकतन्त्र र गणतन्त्र औपचारिकतामा सीमित छ । त्यसैले नेपाली समाजको वर्ग, लिङग, जातजाति, क्षेत्र एवं देशभक्तहरु (पाँच जनसमुह) माथि दलाल तथा एकलजातीय पुँजीवादी उत्पीडन यथावत छ । अत: दलाल तथा एकलजातीय सत्ता अन्त्य र पहिचानसहित समाजवादी लोकतन्त्र स्थापनाको निर्णायक जनआन्दोलन आजको ऐतिहासिक एवं वस्तुगत माग हो, भन्ने तथ्यमा दृढस्पष्ट देशभक्त श्रमिकहरुद्वारा तेस्रो जनआन्दोलनको झण्डा उठान गर्नु परेको हो ।
उपरोक्त सैद्वान्तिक एवं राजनीतिक दृष्टिकोणबाट तेस्रो जनआन्दोलनको झण्डामा संविधानको अग्रगामी संशोधनद्वारा भ्रष्टाचारी शासन अन्त्य र पहिचानसहित पूर्ण समानुपातिक समाजवादी निर्वाचन प्रणाली स्थापनाले नेपालीजनमा समानता, स्वतन्त्रता र बन्धुभाव सुनिश्चित गरिन्छ । पाँच जनसमुहकावीच समाजवादी लोकतान्त्रिक अधिकार प्रत्याभूतिले आन्तरिक राष्ट्रिय एकता सुदृढ स्वत: गर्दछ । आन्तरिक एकता जोडको अर्थराजनीतिक परिणाम नि:सन्देह देशभक्त नेपालीको संयुक्त राज्यव्यवस्था निर्माण र सुदृढीकरण हुनेछ । (साभार: "ब्रम्हाण्डीय विचारधाराको समाजवादी लोकतन्त्र: मुख्यतः नेपाल पढ्ने सिद्वान्तमा देशभक्तिपूर्ण तेस्रो जनआन्दोलनद्वारा नयाँ राष्ट्रिय एकीकरणसहित क्रान्ति गर्ने र प्रतिक्रान्ति रोक्ने सामर्थ्यको राजनीतिक कार्यदिशा" शिर्षक गोपाल किरातीको पुस्तकबाट)
२. आधुनिक संश्लेषणमा पदार्थ ठोस, तरल, ग्यास र ऊर्जाका रुपमा अभिव्यक्त हुने मानिन्छ । प्रकृति प्रदत्त यिनै पदार्थले हाम्रो ब्रम्हाण्ड बनेको छ । जसले अथवा पदार्थले भौतिक, जैविक, रासायनिक तथा सामाजिक मूल्यमा निरन्तर ऊज्यालो खोजिरहन्छ । प्रकृतिको द्वन्दात्मक अन्तर्विरोधमा वस्तुको दुवै पक्षमा एकसाथ ऊज्यालो सम्भव हुँदैन । एकातिर जीवन त अर्कोतिर मृत्यु भए जस्तै एकातिर ऊज्यालो दिन त अर्कोतिर अँध्यारो रात वस्तुको समग्रताको स्थिति हो । त्यसर्थमा अनुमान गर्न सकिन्छ, कुनै पनि वस्तुको अनिवार्य चाहना ऊज्यालो मार्ग खोज्नेमा रहन्छ, तर चाहना विपरीत उसले अँध्यारोमा धकेलिनु पर्दछ । प्रत्यक्षत: यो नियम वनस्पति र प्राणी जीवनमा लागू भइरहेको देखिन्छ ।
पुरुषको शुक्रकिट र महिलाको डिम्ब जो अँध्यारोमा हुन्छन्, भगिरथ ऊज्यालो खोज्दछन् । निश्चित प्रक्रिया मार्फत ती जब भेट हुन्छन्, मिलेर भ्रूणको अस्तित्व धारण गर्दछन् ।
तर्कशिद्व छ, डार्क म्याटर-डार्क इनर्जी पदार्थवीच एकीकृत घनत्वको महाविष्फोट ब्रम्हाण्डीय अस्तित्वका लागि ऊज्यालोको खोजी थियो, जसले स्थान-समय सृष्टि गर्यो । क्रमश: ऊज्यालो खोज्दै जैविक पदार्थले सामाजिक अस्तित्व विकसित गर्यो । तब पदार्थको एकता-संघर्ष-रुपान्तरण प्रक्रियामा ऊज्यालो खोज्दै जीवनको अस्तित्व र गतिमानता निर्धारण भयो । जब गतिमानता रोकिन्छ, मृत्युको स्थिति उत्पन्न हुन्छ । (किनभने, पदार्थ गतिशील अस्तित्व हो, यथास्थितिमा त्यो कहिल्यै रहिरहन सक्दैन ।) परन्तु, विगत अस्तित्व आगत वस्तुमा रुपान्तरण हुनेछ । ती दृष्य वा अदृष्य जे पनि हुन सक्दछन् । अदृष्य पदार्थलाई भने पाँचौं आयामले मात्र ठम्याउन सकिने विश्लेषण छन् । जसलाई अथवा अदृष्य पदार्थलाई डार्क म्याटर र डार्क इनर्जीको नाम दिइएका छन् ।
ठिक त्यसरी नै पुरुषको शुक्रकिट र महिलाको डिम्ब जो अँध्यारोमा हुन्छन्, भगिरथ ऊज्यालो खोज्दछन् । निश्चित प्रक्रिया मार्फत ती जब भेट हुन्छन्, मिलेर भ्रूणको अस्तित्व धारण गर्दछन् । आमाको पेटमा रहँदा पनि भ्रूणले निरन्तर ऊज्यालो खोजी नै रहन्छ । भ्रूणले जब ऐतिहासिक तथा वातावरणीय प्रक्रिया पूरा गर्दछ, बाहिर प्राकृतिक ऊज्यालोमा प्रकट हुन्छ । यसैलाई जन्म भनिन्छ । उम्रेको बिरुवा अथवा जन्मेको बच्चाले प्राकृतिक ऊज्यालो त हासिल गर्यो, तर मानवीय ज्ञानमा चाहिँ फेरि त्यो अँध्यारोमै रहिरहेको हुन्छ । उसले सामाजिक तथा वैज्ञानिक ज्ञानको ऊज्यालो खोज्दछ, खोजिरहनु पर्छ ।
त्यही ज्ञानको ऊज्यालो खोजीका दौरान संस्कृति र सभ्यता निर्माण भएका हुन् ।
गोर्की अनुसार संस्कृति त्यो हो, जो मानवीय श्रम र विवेकद्वारा दोस्रो प्रकृतिको तहमा निर्माण भयो । यसरी मानव जाति दोस्रो प्रकृतिसहित बाँचेको हुन्छ । त्यस अतिरिक्त लजाउने प्राणी हुनुको कारणले समेत मानव नाङ्गो हिंड्न सक्दैन । तर, जनावर पहिलो प्रकृतिमै बाँचिरहेको हुनाले नाङ्गो हिंड्न सक्छ ।
सभ्यताको सवालमा रुसी विद्वान कर्दासेपले एउटा स्तरमाप सिद्वान्त पेस गरेका छन् । जस अनुसार २१ औं शताब्दीको प्रारम्भमा हामी जो छौं, सभ्यताको तहमा उठिसकेका छैनौं । कर्दासेप सिद्वान्तमा मानव जातिले त्यो बेला मात्र सभ्यताको पहिलो चरणमा प्रवेश गर्नेछ, जब सौरपरिवारको सम्पूर्ण ऊर्जा खपत सामर्थ्य आर्जन गरिन्छ । सभ्यताको दोस्रो चरणमा त्यो बेला प्रवेश गरिने छ, जब हाम्रो आकाशगंगाको सम्पूर्ण ऊर्जा खपत सामर्थ्य आर्जन गरिन्छ र तेस्रो चरणमा त्यो बेला प्रवेश गरिने छ, जब हाम्रो ब्रम्हाण्डको सम्पूर्ण ऊर्जा खपत सामर्थ्य आर्जन गरिन्छ ।
विश्लेषकहरु अनुसार जब सौरपरिवारको ऊर्जा खपत सामर्थ्य आर्जन गरिन्छ, तब मानव जाति सहजै वल्लो ग्रह र पल्लो ग्रह, उपग्रह वा छुद्रग्रहमा आवत-जावत गर्न सक्षम बन्ने छ । आकाशगंगा र ब्रम्हाण्ड यात्रा सामर्थ्यमा पनि त्यही नियम लागू हुने हो । एआईको चामत्कारिक विकास तथा चिनियाँ कृतिम सूर्यलाई त्यसतर्फको दह्रो पाईला मान्न सकिन्छ ।
अत: पापा पृथीवहादुर र आमा शिलशोभाको कोखबाट दर्जन छोराछोरीमध्ये म पनि त्यसरी नै भ्रूण बनेर जन्मिएको थिएँ, ऊज्यालो खोज्दै । प्राकृतिक ऊज्यालोमा संयोगवश आइपुगियो, सामाजिक एवं विज्ञान-प्रविधियुक्त ऊज्यालो खोजीको कठोर संघर्ष जारी छ ।
अन्त्यमा, "ब्रम्हाण्डमा ऊज्यालो खोज्दै" शीर्षक त्यसरी बन्न पुगेको हो, नेपालमा एक आदिवासीको जीवनदर्शन-मुन्धुम जसलाई भनिन्छ, त्यसको शाब्दिक अर्थ "ऊज्यालो प्रकाशको खोजी" हो । जो, पदार्थ जगतमा जीवको निर्माण, उत्पति र विकाससंग सम्बन्धित छ । वस्तुतः ब्रम्हाण्डसंग सम्बन्धित छ । साठी वर्षीय जीवनको बुझाइले त्यसतर्फ डोर्यायो- आदिम भौतिकवादी ज्ञानमा मुन्धुम महान थियो, जसले एक सार्वभौम समुदायलाई यहाँसम्म सुरक्षित अवतरण गरायो । परन्तु, अब यत्तिले मात्र सम्बद्व समुदाय, नेपाल देश र दुनियाँलाई सबल मार्गदर्शन गर्न सक्दैन । यसमा मुन्धुमको मात्र कमजोरी भन्न मिल्दैन । किनकि, नयाँ जीवनको खोजी भनिसकियो, शाश्वत निरन्तर प्रक्रिया हो । त्यसैले आफ्ना जनहितकारी साँस्कृतिक परम्पराहरु समेतको रक्षा गर्दै वैज्ञानिक दर्शनतर्फ प्रकाशको गतिमा नयाँ पुस्ता अघि बढ्नै पर्छ, ब्रम्हाण्डमा ऊज्यालो खोज्दै !
–समाप्त–
प्रतिक्रिया