ब्रम्हाण्डमा ऊज्यालो खोज्दै

देश र जनताको नाममा जीवनको राजिनामा लेखेर राजनीतिक यात्रा प्रारम्भ गरियो । श्रमिकवर्ग, लिङग, उत्पीडित जातजाति हितमा दृढतासाथ संघर्ष लड्दै आउदा अनुभवको एउटा घर बन्यो । त्यही घरको प्रतिविम्ब हो, प्रस्तुत आत्मसंस्मरण । जसभित्र घरका जग, खम्बा र छानासंगै श्रमकर्मीहरुको सम्यक वर्णन छ । पैतृक सम्पति नभएको मानिस, राजकीय ओहदामा रहँदा पनि अनैतिक लुटपाट नगरेपछि भ्रष्टाचार मुक्त । तर, व्यवहारिक जीवनमा पूर्णकालीन कार्यकर्ताको कठिनाई भनेर साध्य छैन । ऐतिहासिक एवं वस्तुगत आवश्यकता स्वीकार गर्दै अन्तत: तेस्रो जनआन्दोलनको झण्डा उठान गरिएको छ ।
मानिसको आत्मसंस्मरण उसको कथा हो, जो मैले संक्षेपमा लेखेको छु । राजनीतिक क्षेत्र चरम-प्रदुषित हुन पुग्दा जनवर्ग निराश र हतास् छन् । त्यस कहरबाट मुक्तिको बाटो पहिल्याउने दायित्व फेरि पनि ईमानदार राजनीतिकर्मीकै हुनेछ । जस्तो कि भन्ने गरिन्छ, आगोको घाऊ आगोमै सेकाउनु पर्छ ! तेस्रो जनआन्दोलन एक त्यस्तो बाटो हो, जसले नयाँ राष्ट्रिय एकीकरणको समाजवादी कार्यक्रम मार्फत राजनीतिक कारणले उत्पन्न अन्तर्विरोध र भ्रष्टाचारको समूल निदान गर्दछ: नेपाल र नेपालीको खाँचो यो हो । अन्यथा धान खाने मुसा, मार खाने भ्यागुताको नियति हामी जस्ता देशभक्त क्रान्तिकारीले भोग्नु परिरहेछ । राजनीति वस्तुतः सेवा हो न कि व्यवसाय । त्यसतर्फ प्रस्तुत संस्मरण केन्द्रित छ ।
राजनीतिक सेवा विज्ञान र कलाको संयोजन हो । आत्म-मूल्याङ्कन गर्दा मैले विज्ञानको क्षेत्रमा विकास गरेको छु, तर कलाको क्षेत्रमा ? यध्यपि सामन्तवाद विरुद्व एकल नेतृत्व जरुरत पर्थ्यो, किनभने दुश्मन एकल महाराज हुन्थ्यो, तर दलाल पुँजीवाद गुटै गुटमा चल्छ । त्यस विरुद्वको लडाइँमा त्यसैले सामुहिक नेतृत्व-शृङ्खला अनिवार्य हुन्छ । अत: सामुहिक नेतृत्व प्रणालीमा जोड गर्दै शाहसपूर्वक तेस्रो जनआन्दोलन कार्वाहीमा अघि बढौं, ब्रम्हाण्डमा ऊज्यालो खोज्दै !
हुलु गाउँदेखि प्रथम जनआन्दोलनसम्म
चोमोलुङमाको काखबाट झरेको दुधकोशी र मकालु पश्चिम चाम्लिङ हिमाल काखबाट झरेको होङगु खोलावीच दोभानमाथि अवस्थित भूखण्ड नै हुलु गाउँ हो । यो ठाउँ-गाउँको नाम कसरी हुलु रहन पुग्यो, अपेक्षित जानकारी उपलब्ध छैन । परन्तु, यो किराती सभ्यताको ज्यादै पुरानो मौलिक नाम हो । यसको मौलिकतामाथि निर्दलकालीन पञ्चहरुको आँखा नपरेको होइन । फेरि पनि सज्जन युवाहरुले हुलु गाउँको मौलिक पहिचान सुरक्षित गरिछाडे ।
हुलु गाउँमा कुवापानी, हिवाइपा, मौलौला, छेउला, तोस्खोम, पान्थर, सालपाटी, बिजेखर्क, खोर्दा, स्वाँरा नामका उप-गाउँहरु छन् । पङरिउ र चाम्बिर्दो नामका केही खेतहरु छन् भने वारिपट्टि चुर्दी, सबोली, होलोखा नामका हिउँदे गोठहरु छन् । होङगु पारिपट्टि वात्दा, फार्फादु, बुदिरी, सनेरो, लुतै, छान्बु जस्ता गोठहरु छन् । छान्बुमाथि एक सानो गाउँ बेउमा छ । त्यो भन्दा पर कुरिमा गाउँ छ । वात्दा दक्षिणपट्टि लोखिम, जुबु, छिवा हुँदै ऐसेलुखर्क बजार पर्छ । हुलु गाउँको पूर्वोत्तरमा साविक सोताङ पर्दथ्यो, जस अन्तर्गत बसेबु, कोम्लु, चन्चलु, वाइपाई, दाछेलु, फुस्तेल, गोट्खिम, गोम्दो, खाबुवा, छेप्रेङ, बखपलम, रोक, नाम्लुङ तथा अझ माथि महाकुलुङ अन्तर्गत सात्दी, बुङ, पेल्माङ, छेस्काम, छेम्सी, चोचोलुङ, गुदेल, तुमौ, लुक्चोम गाउँहरु पर्दछन् । गुदेल हुँदै साल्पा पोखरी जाने-आउने गरिन्छ भने छेम्सी हुँदै क्याम्पा लेक जान सकिन्छ । बुङ भन्दा माथि खिरौंले गोठ तथा मेराचुली हिमाल नाघेर लुक्ला-नाम्चे जाने बाटो छ ।
हुलु गाउँ पश्चिमोत्तरको ईङ्खु खोला पारिपट्टि वाकु गाउँ छ, जस अन्तर्गत चोच्मी, हाँकुला, वाप्सा, पाङगोम आदि गाउँहरु छन् । दुधकोशी पश्चिम क्लेम्पी, रनेम, छास्कुर, काँकु, बासा, देउसा, मुक्ली, नेले हुँदै फाप्लु, सल्लेरी पर्दछन् ।
हुलुको सामाजिक उपस्थितिमा नाछिरिङराईको मुख्य आवादी हो । नाछिरिङ्भित्रका पाछाहरुमा होबेर्मी, निछिती, कुबिती, रुकुपो, पङ्किरी हुन् । अन्यमा घताने र शाशंकर थरका कामी, कार्की, बस्नेत, खड्का थरका खस तथा कोइराला थरका केही घर बाहुन पनि छन् ।
हुलु गाउँको वनस्पतिमा तलतिर सेलाम (सखुवा), पेन्दाम (साधन), ओपौ, झोपौ, यसिपौ, सतपौं, खस्बौ, मौवा, भकिमिलो आदि रुखहरु तथा अनेक प्रकारका बोट विरुवा छन् । माथितिर गोगुन, दुधिलो जस्ता घाँसे रुखहरु छन् । अन्नबाली, सागसब्जी र फलफूलमा कोदो, मकै, गहुँ, फापर, सीमित धान, तोरी, रायो, मुला, पिँडालु, पालकोक्ति, सिँबी, मस्याङ, दाल फल्दछ । पशुपालनमा गाई, भैंसी, बाख्रा, सुँगुर, कुख्रा, परेवा, कुकुर, विरालो पालिन्छ ।
हुलुको सामाजिक उपस्थितिमा नाछिरिङराईको मुख्य आवादी हो । नाछिरिङ्भित्रका पाछाहरुमा होबेर्मी, निछिती, कुबिती, रुकुपो, पङ्किरी हुन् । अन्यमा घताने र शाशंकर थरका कामी, कार्की, बस्नेत, खड्का थरका खस तथा कोइराला थरका केही घर बाहुन पनि छन् । दक्षिण-पश्चिममा थुलुङ, उत्तर-पश्चिममा खालिङ र उत्तर-पूर्वमा कुलुङराईको बसोबास हुनाले वीचको हुलु गाउँका अधिकाङ्श मानिस मातृभाषा नाछिरिङ बराबर थुलुङ र खालिङमा पनि दखल राख्दछन् । कुलुङ र नाछिरिङ् भाषामा ८५ प्रतिशत शब्द समानता प्रतीत छ । त्यसैले ती दुईवीच आञ्चलिक लवज मात्र फरक हुँदा एक-अर्कामा सहजै बोली व्यवहार गर्दछन् ।
हो, यही हुलु गाउँको कुवापानीमा हामीहरु ६ भाइ ५ बहिनीका पिताको रुपमा, विसं १९८० असारमा हाम्रो पापा पृथीवहादुर राईको जन्म भएको थियो ।
हुलु गाउँका नाछिरिङराईहरु हलेसी, खाम्तेलबाट रावाखोला पातेल हुँदै आएका हुन, भन्ने बङ्शावली इतिहास छ । खाम्तेलको जमीन जेठा चाम्लिङले ओगटेपछि भाइहरुले ठाउँ छोड्नु परेको हुँदा त्यसमध्येका एक रावाखोलामा आएर बसोवास गर्ने भाइको सन्तान दुमी, नाछिरिङ, साङ्पाङ, कोयुहरु हुन, भन्ने बुझाई अध्यावधि छ ।
सुरुको नाचिरी नाम क्रमश: नाछिरिङ बन्न पुगेको पूर्खाका छोरा सन्तान खेवाबु, ख्याप्दुलु, साम्सिबु र रताप्खु भए । उनीहरुको मूलघर रावाखोला पातेलमा थियो । कान्छा रताप्खु पातेलमा रहे भने खेवाबु राखा, ख्याप्दुलु बाङ्देल र साम्सिबु दिम्मा उप-गाउँमा बसोबास गर्न पुगे । तोस अथवा साकेला अनुष्ठानमा अन्न चढाउनु पर्नेमा वनको फलफूल चढाएको हुँदा भाइ रताप्खुसंग दाजूहरु खुब रिसाए । रिसाएका दाजूहरुको डरले पातेल छोडेर रताप्खु उत्तरतर्फ बादेलमा बसाइँ सरे । बादेलमा पनि असुरक्षित ठानेर बिस्कोम, धोर्मा हुँदै रताप्खु परिवार अझ उत्तरतर्फ लिम्चोला पुग्यो । लिम्चोलामा रताप्खुका कान्छा छोरा रीतिवेलको मृत्यु भयो । उनलाई त्यही ओडारमा दाहसंस्कार गरि रताप्खु परिवार होङगु खोला किनार बोदेल पुगेर बसोबास गर्यो ।
रताप्खुसंग एउटा कुकुर थियो । त्यो कुकुर हप्तौंसम्म बेपत्ता हुने गर्थ्यो । घर आइपुग्दा कुकुरले शरीरभरि चिङ्केल्वा (कुरो झार) बोकेर ल्याउथ्यो । रताप्खुलाई लाग्यो, यो त धान र दाल हुने ठाउँमा पो पुगेर आउदो रहेछ ! अन्तत: रताप्खुले केराको पातमा खरानी पोका पारे र त्यो पोका कुकुरको घाँटीमा बाँधिदिए । पोकाको तलपट्टि छेस्काले सानो प्वाँल पारिदिए । कुकुर फेरि बेपत्ता भयो । कुकुरले खरानी चुहाउदै गएको गोहो पहिल्याउदै रताप्खु अघि बढे । केही दिनमा उनले आकाशतिर फर्केर भुकिरहेको बेला कुकुर फेला पारे । माथि रुखतिर हेर्दा एक जना मानिस भेइलिफु/भेताली (धनुकाँण) ताकेर बसेको देखे । त्यही मानिसको छाँयालाई कुकुरले झम्टेर भुकेको रहेछ ।
रताप्खुले तलबाट दण्डवत गरे । माथिको मानिस रुखबाट ओर्लियो । छेम्सी-ताम्सी नामका कुलुङ पूर्खा रहेछन् ती । साईनो गर्दा छेम्सी-ताम्सी मामा र रताप्खु भान्जा परे । छेम्सी-ताम्सी चढेर बसेको रुख सिमलको थियो । त्यो कुलुङको तोस्खोम अर्थात साकेला थान थियो ।
मामा छेम्सी-ताम्सीको घरमा दुई जना पुगे, जुन छेउला उप-गाउँ थियो । जहाँ सदाबहार पानीको स्रोत उपलब्ध थियो । वार्तालाप हुँदा मामालाई सिकार खेल्ने इच्छा प्रबल रहेछ । आफू बसेको बोदेलतिर भुर्कुट्टै सिकार पाइने कुरा रताप्खुले बताए । यसरी पूर्वोत्तर बोदेलतर्फ कुलुङ पूर्खा र पश्चिम-दक्षिण हुलु गाउँतर्फ रताप्खु परिवारले जमीन सट्टापट्टा गरेर बसोबास गरे ।
कुलुङको त्यही तोस्खोम आज पर्यन्त हुलुका नाछिरिङहरुको साकेला थान हो, जुन रताप्खुदेखि हाम्रो पापा पृथीवहादुर राईसम्म आइपुग्दा १८ पुस्ता बितेको छ ।
र, रताप्खुको यो पनि प्रस्ताव रह्यो कि लिम्चोला ओडारमा आफ्नो छोराको अन्तिम संस्कार गरेको हुँदा आफू पनि मरेपछि त्यही ओडारमा पुग्ने इच्छा रहेको र हामी दुवैको सन्तान दरसन्तानले मरेपछि त्यही लिम्चोलामा लाछोमा (सातो पुर्याउने) गरौं । मामा छेम्सी-ताम्सीले सहमति जनाए । भनिन्छ, त्यही समझदारीका आधारमा हुलु, सोताङका नाछिरिङ र महाकुलुङका कुलुङहरुले आज पर्यन्त लिम्चोलातर्फ लाछोमा गर्दछन् ।
रताप्खुका सन्तान दान्लुको ससुराली वाप्सा निवासी खालिङ थियो । उहिले केटाकेटीमा पापाबाट सुने अनुसार बोक्थे जिमीको छोरा जनहर्क जिमी, जनहर्कको छोरा सन्तुराज जिमी र सन्तुराजको कान्छा छोरा हाम्रो पापा पृथीवहादुर राई हुन् । पापाको मावाली लोखिम र च्याप्जुको मावाली देउसा थियो ।
* * *
प्राचीन खोटाङको पूर्व-दक्षिणमा अवस्थित सानो गाउँ सेङ्सिलाटार एक समय ओकवारीतोङ (मौवाबोटे) गाविसमा पर्दथ्यो । पछिल्लो स्थानीय पुन:संरचना अनुसार यो बाराहापोखरी गाउँपालिकामा पर्दछ । सेङ्सिलासंग जोडिएका उप-गाउँहरुमा चाप्लोखा, सिन्ताङ, बुकुला, रिला, खनेबास, बाखोप्तान, निगालबास, दिप्लुङ, चिसापानी हुन् भने त्यससंग जोडिएका उत्तरपूर्वतर्फ सावा, खुटा, सालाम्बुङ, चुम्लुङ, बोपुङ, सोभिङ, हिउराङ र पश्चिम-दक्षिणतर्फ फाक्टाङ हुन् । यसको पुरानो बजार खोटाङ हो, जहाँ कुनै समय जननायक रामप्रसाद राई अड्डा प्रमुख थिए । टाढाको बजार नेपालको बेलटार, फत्तेपुर हुँदै विहारको दरभङ्गा र बिस्तारै नजिकमा चिसापानी बन्यो । सेङ्सिलाबाट सिधै ओरालो झरेपछि भेटिने बुङ्वाखोला हो । त्यही बुङ्वाजोर घाट तरेर सुनकोशी पारी चौडन्डी, उदयपुर टेकिन्छ । सुगाचरी हुँदै बेलटार पुगिन्छ ।
हो, त्यही सेङ्सिला गाउँमा विसं १९८० मंसीरमा हाम्री आमा शिलशोभा राईको जन्म भएको थियो । आमा गारजा पाछाकी पुमाराई हुन । आमाको मावाली हिउराङका बान्तवाराई हुन । यस क्षेत्रका पुमाराईमा गारजा, लिम्माछित, योङ्दोहाङ, थुम्राहाङ आदि पाछाहरु छन् । ओकवारीतोङ, रिला, निगालबास, दिप्लुङ तथा चिसापानीका केही भागहरु रकोङ भाषा बोल्ने पुमाराईको परम्परागत बसोबास क्षेत्र हो । बुकुला, खनेबास, चिसापानी, सालाम्बुङ हुँदै पूर्वोत्तरतर्फ बान्तवाराईको बसोबास छ भने पश्चिमतर्फ चामलिङराईको बसोबास छ ।
दोस्रो विश्वयुद्वका दौरान हाम्रो पापा ब्रीटिश गोर्खा भर्ती हुनु भएछ । भर्तीमा पापा र मामा साथी थिएछन् । नाम काटेर फर्केका पापा र मामा जब दरभङ्गा आइपुगेको समय नै मावाली बाजे सइन्धोज राई र आमा शिलशोभा पनि नुन-फलाम लिन दरभङ्गा झर्नु भएको रहेछ । हाम्री आमा र पापाको विवाह त्यसरी विहारको दरभङ्गामा, विसं २००५ सालमा भयो । नुनको भारी बोकेर आमा-पापाहरु मिर्चैया, कटारी, चेस्मीटार, रम्बुवा हुँदै हुलु गाउँ पुग्नु भयो ।
हुलु घरमा एक बर्ष विताएपछि आमा र पापा सेङ्सिलातर्फ लाग्नु भएछ । मावाली बाजे सइन्धोज स्थानीय राई जिम्मवाल हुनुहुन्थ्यो । मावाली बाजे र बजूको एक छोरा र एक छोरीलाई बराबरी जमीन, गाईवस्तु अंशबण्डा गरिदिएर सेङ्सिलामै बसोबास आग्रह भयो । त्यसरी २००६ देखि २०१८ सम्म आमा-पापाहरु सेङ्सिलाटारमा बसोबास गर्नु भयो ।
जेठा दाजू हाकिमधोज, नानाहरु क्रमश: ठुली टीका, माइली शान्ता र साइँली तिर्था मावालीमै जन्मेर हुर्किनु भयो । रहँदा बस्दा हाम्री आमा धेरै विरामी पर्नु भएछ । ग्रहदशा हेर्नेले सौतेनी ग्रह भएको बताए रे । तब पापालाई अर्को विवाह गराएछन् । सानीमापट्टिका दुई भाइ दाजूहरु जन्मिए, जो उमेरमा ठुली र माईली नाना संगसंगैका थिए रे ।
यता माईला देप्दा (बडाबाऊ) नबाकसिंलाई उचालेर केहीले भाइ विरोधी तुल्याएछन् । सुरुमा घरमा बस्नै दिएनन् रे । मुस्किलले अंशबण्डा मिलाएर आमा-पापा मूलघरमा बस्नु भयो ।
हुलुमा बाजे-बजू र सेङ्सिलामा मावाली बाजे-बजू दुवैतर्फको निधनपछि २०१८ सालमा छोराछोरीसहित एक हप्ता पैदल हिँडेर आमा-पापा हुलु गाउँ फर्किनु भयो ।
यता माईला देप्दा (बडाबाऊ) नबाकसिंलाई उचालेर केहीले भाइ विरोधी तुल्याएछन् । सुरुमा घरमा बस्नै दिएनन् रे । मुस्किलले अंशबण्डा मिलाएर आमा-पापा मूलघरमा बस्नु भयो ।
काइँली नाना सेङ्सिलामै जन्मेर वितेकी थिइन रे । हुलु गाउँ आएर २०१८ मा जन्मेका माईला दाजू रामकुमार ३ बर्षको भएर वितेछन् । त्यसपछि २०२२ कात्तिक तदनुसार २० अक्टोबर १९६५ मा मेरो जन्म भएछ । कान्छी बहिनी सावित्री २०२४ जेठमा र कान्छा भाई किराती २०२८ कात्तिकमा जन्मेका हुन । यसरी हामी हाम्री आमापट्टि पाँच बहिनी चार भाई र सानीमापट्टि दुई भाईगरी पापाका एघार जना छोराछोरी हौं ।
मैले देखेको आमा, पापा र समाज
आमालाई पहिलो पटक देखेको मलाई राम्रै सम्झना छ । आँपको बोट नजिकै दुईवटा ओडार थिए । त्यसमध्ये पूर्वतिरको ओडारमा प्राय: सुंगुरको खोर बनाइन्थ्यो । त्यही खोर मुनीपट्टि चप्लेटीमा बसेर रुमाल बुन्दै आमा गीत आउँदै हुनुहुन्थ्यो-
आकाशैमा तीन तारा तेर्सियो,
माईत जाने बाटो नै बिर्सियो ।
अर्को पटक पापालाई देखेँ- आँगनमा गुन्द्री ओछ्याएर बस्नु भएको थियो, कोक्रोमा बहिनीलाई हेरविचार गर्दै अनि दौरा फुकालेर जुम्रा मार्दै हुनुहुन्थ्यो । सम्भवत: त्यही दिन आमासंग दाउरा खोज्न घेम्दोपाटा जंगल गयौं । सानो सम्म परेको ठाउँ थियो । त्यसमा आमाले बस्न लगाउनु भयो मलाई । गिठाको लहरामा फलेको दाना रहेछ, टिपेर खेलाउन थालें । अरु दाना पनि टिपेर आमाले यता फाल्दिनु भयो । आमा दाउरा काट्दै भारी लाउदै हुनुहुन्थ्यो ।
टोलको नाम कुवापानी भए पनि पिउने पानीको चर्को दु:ख थियो । पश्चिमतिर धाराकौदो थियो, जहाँ असारमा पानी उम्रन्थ्यो र फागुनमा सुक्थ्यो । त्यसपछि फागुनदेखि असारसम्म तलौदोबाट पानी बोक्नु पर्थ्यो, जुन घरबाट निक्कै तल पर्दथ्यो ।
हाम्रा चाप्फोपा (च्याप्जू) जनहर्कले रावाखोलाबाट बिरुवा ल्याएर रोप्नु भएको रे, घरको पश्चिमतिर ठूलो आँपको बोट थियो । प्रत्येक एक बर्ष विराएर फल्ने, तर लट्टैसरी फल्ने आँपको रुखमा जो कोही चढ्न सक्दैनथे । ठूलो कोया भए पनि आँप ज्यादै रसिलो हुन्थ्यो । त्यसैको छेउमा जेठा दाजूले रोप्नु भएको कागतीको बोट थियो । सीमित मात्रामा फल्ने भए पनि कागती अत्यन्त झरिलो रसको हुन्थ्यो ।
त्यही ठूलो आँपको साईनोबाट गाउँमा हामीलाई आँपबोटे भन्ने गरिन्थ्यो ।
टोलको नाम कुवापानी भए पनि पिउने पानीको चर्को दु:ख थियो । पश्चिमतिर धाराकौदो थियो, जहाँ असारमा पानी उम्रन्थ्यो र फागुनमा सुक्थ्यो । त्यसपछि फागुनदेखि असारसम्म तलौदोबाट पानी बोक्नु पर्थ्यो, जुन घरबाट निक्कै तल पर्दथ्यो ।
आँपबोटे घर सबै भन्दा पुच्छरमा पर्थ्यो, टोलको । घाँस दाउरा, गिठा भ्यागुर पर्याप्त नजिक भए पनि बेला बखत घुमी आउने ढेंडु-बाँदरले बाली नष्ट गर्दिन्थ्यो । त्यसबाट खाने अन्नमा संकट उत्पन्न हुन्थ्यो ।
आँपबोटे घरबाट पूर्व-दक्षिणमा शंकरेम्पा देप्दाको घर पर्थ्यो । ठिक पूर्वमा दाजू किपाम्पा र गेम्जेम्पाको घर अनि पूर्वोत्तरमा साइँला राई र पश्चिमोत्तरमा देम्दा (बडिआमा) चुर्सिम्माको घर थियो । मैले जान्दा कुवापानी टोलका घरहरु यत्ति नै थिए ।
माथिल्लो गाउँ बर्बोटे, मौलौला, छेउला र हिवाईपामा चाहिँ बाकुलो घरहरु थिए ।
* * *
मावालीमा बसेर खोटेहाङस्थित विध्यालयबाट दाजूले राम्रै पढाइ गर्नु भएछ । सोलु, सल्लेरी भूमिसुधार कार्यालयमा दाजू टाइपिङ मुखियाको नोकरीमा लाग्नु भएछ । कुनै साल सल्लेरीमा दाजूलाई भेटेर माईली नाना घर आउनु भयो । दाजूले किनेर पठाइदिएको कपी र पेन्सिल नानाले दिनुभयो । मलाई सम्झना छ, पेन्सिलको सानो भागपट्टि ताछेर लेख्नु पर्नेमा मैले ठूलो भागपट्टि ताछेर बिगारेको ।
दस बर्षको हुँदा हाम्रो पापालाई ओखलढुंगा अड्डाका एक कर्मचारीले भान्सेको काममा लिएर गएका रे । त्यहाँ बस्दा पापाले लेखापढी सिकेको, निक्कै राम्रा अक्षेर थिए, पापाका । केही बर्ष गोर्खा भर्तीमा सिकेको रोमन ईङ्लिश पापाले सुन्दर आकारमा लेख्नु हुन्थ्यो । पापा र दाजू लेखापढा भएकाले नानाहरु सबै अनौपचारिक साक्षर तथा चिट्ठिपत्र लेख्न सक्षम हुनुहुन्थ्यो । यसरी आँपबोटे परिवार साक्षर थियौं । गाउँको साक्षेरता प्रतिशतमा निश्चय नै हामी अब्बल थियौं ।
सल्लेरीको नोकरीमा जानू अघि पूर्वोत्तर रिकिकोट देविथानमा हाम्रा दाजू र चेतनाथ कोइराला शिक्षक बनेर श्री हुलु प्राथमिक विध्यालय स्थापना गर्नु भएछ । स्वीकृत दरबन्दी हुने कुरै भएन । दाजूको तलब गाउँले जनताले मकैको झुत्ता बुझाउने गर्दथे, सुनिन्थ्यो । त्यही विध्यालय पछिबाट बिजेखर्कमा सारेर श्री हुलु निम्न माध्यामिक विध्यालय हुँदै अघि बढ्यो ।
"साइँला राई", किनभने विसं १९९९ मा माझकिरातको किपट अधिकार खोसियो । किपट हुँदासम्म तिरौ उठाउने जिम्मवालले मात्र राई लेख्दथ्यो भने गैरजिम्मवालले राई लेख्न पाउदैनथ्यो । जब किपट खोसियो, पगरी बिनाको ठुटे राई लेख्ने स्वतन्त्रता जिमीहरु सबैलाई मिल्यो । अन्यथा किपट हुँदासम्म जिम्मवाल तालुकदारले राई लेख्ने, तर किरातीभित्रकै रैतीले चाहिँ जिमी लेख्ने वा भन्ने हुँदो हो । यसरी पछिल्लो समय औपचारिकतामा हामी सबै राई नै भए पनि हामीले फेरि माथिल्लो घरको दाजू नौवहादुरलाई "राई" भनेर बुझ्दथ्यौं ।
आँपबोटे परिवार उप्रान्त साइँला राईका छोरा थामुधन र चुर्सिम्माकी छोरा ठिलवहादुरले कक्षा ५ सम्म पढेको बुझिन्थ्यो ।
तत्कालीन पावै गाउँ पञ्चायत हुँदै पावै गाविस, जुन गणतन्त्रयता सोताङ गाउँपालिकाको वार्ड नं १ र २ को भूगोलमा पहिलो एसएलसी उत्तिर्ण निरकुमार राई हुन भने दोस्रो बिष्णुकुमार बस्नेत र तेस्रो प्रभुराम बस्नेत ।
* * *
मैले जान्दा गाउँ समाजका मानिस अत्यन्त मर्यादित भाषामा बोल्दथे । त्यसरी बोल्नेमा हाम्रो पापा, नैनाम्पा, प्रश्नाम्पा, दोर्जिम्पा, सीबी, सेतुवीर र पर्खिम्पाहरु ज्यादै इज्जतले बोल्ने गर्दथे । भाउजू जिरन, मनसुम्पा साइँली नाना तथा देप्दा तोइमेको काइँली बुहारीलगायत महिलाहरू यति शिष्टतापूर्वक बोल्दथे कि त्यसको वर्णन गरेर साध्य छैन । उहाँहरुको मिजासमा उत्कृष्ट मर्यादा निहित रहन्थ्यो ।
हुलु गाउँमा आदिम साँस्कृतिक साम्यवाद थियो अथवा कसैको घरमा चोरीका घटना हुँदैनथे । प्रमाण, कसैले घरमा ताल्चा ठोक्ने चलन थिएन । कुकुर विरालो नपसोस्, भनेर घरको ढोकामा सामान्य आग्लो लगाइएको हुन्थ्यो । वास्तवमा त्यस्तो आग्लो जोसुकैले खोल्न सक्दथ्यो । फेरि पनि घर सुरक्षित रहन्थ्यो । वास्तवमा गाउँ नैतिक विधानमा चलेको हुन्थ्यो ।
हुलु गाउँमा आदिम साँस्कृतिक साम्यवाद थियो अथवा कसैको घरमा चोरीका घटना हुँदैनथे । प्रमाण, कसैले घरमा ताल्चा ठोक्ने चलन थिएन । कुकुर विरालो नपसोस्, भनेर घरको ढोकामा सामान्य आग्लो लगाइएको हुन्थ्यो ।
विधिको विधान भन्नुपर्छ, शंकरेम्पाको छोरा जयप्रसादले माथिल्लो गाउँमा चोरी गरेछन् । कचहरी बस्यो । शंकरेम्पाले खाइलाग्दो जग्गा बेचेर दण्ड तिरे, जयप्रसाद कारागार चलान भए ।
परिवारमा हाहाकार मच्चियो, खबरदार चोर्नु हुँदैन !
* * *
२०२६ सालको कुरा रहेछ, हाम्री ठुली नानाको विहे भयो, ऐसेलुखर्क सल्लेका थुलुङराईसंग । जन्तीहरु आएको र आमा-पापाले नानालाई टिकाटालो गरेको मैले पनि देखेको थिएँ । के भयो, उहाँहरुको घर व्यवहार चलेन ।
* * *
२०२८ सालको कात्तिक १९ गते रहेछ, हुलु गाउँमा भीषण अशिना बर्षेको । आमा र हामी सिकुवामा थियौं । आँगनको मतानमा डोरीले बाँधेको कुख्राको भाले फुकाउन मलाई आमाले अह्राउनु भयो । पानीले भिजेको डोरी हातले फुकाउन म फुच्चेलाई निक्कै गाह्रो पर्यो । जब डोरी फुक्यो, भाले दौडेर उड्यो । सिकुवातिर हेरें, आमाले उतै बस् भनेर ईशारा गर्नु भयो । कारण, अशिना बर्षिरहेको रहेछ । अशिनाले छोराको टाउको नफुटालोस्, भन्ने आमाको आशय हुँदो हो ।
मैले चाहिँ रमाई-रमाई अशिनाको दाना टिपेर खेलाएँ । मैले देखेको पहिलो अशिना बर्षात् त्यही थियो ।
दुर्भाग्य भन्नु पर्छ, हुलु गाउँमा कात्तिकदेखि मंसीरभित्रमा हिउँदे बाली भित्र्याउनु पर्छ । तर, भित्र्याउने बेलाको सबै बालीनाली अशिनाले समाप्त पारेछ । थोर बहुत खेत हुनेहरुले कपडाले चोबेर डालोमा धान उठाएको देखिन्थ्यो । अन्नको नाममा अर्को सालको वीऊ पनि रहेन ।
त्यो अर्थात २०२८ सालसम्म मैले देखेको, हाम्रो आँगनमा चार कोठे मकैको थांग्रा हुन्थ्यो । आमा र नानाहरु बेजोड परिश्रमकर्मी हुनुहुन्थ्यो । मौलौलाको बारी समेत गर्दा त्यसरी चार कोठा मकै हुन्थ्यो । सल्लेरीको नोकरी छाडेर दाजू सात्दीको प्राथमिक विध्यालयमा हेड सर हुनुहुन्थ्यो । यध्यपि, घर गृहस्थीमा दाजूको योगदानवारे सम्झना छैन ।
हिउँदे बाली अशिनाले स्वहा पारेको पृष्ठभूमिमा थांग्राको मकै फागुनमै सकिने भयो नै । अनिकाल सुरु भयो, महाअनिकाल !
हुलु गाउँमा फागुन सुरुमा मकै छरिन्छ र असार जाँदो साउनमा पाक्छ । त्यो साल मकै छरिसकेपछि गाई-वस्तुसंगै आमा र नानाहरु खासेङ्दो, घेम्दोपाटा, लुजीपाटा, सबोली, चुर्दी, होलोखातिर सबै जंगलमा गिठा-भ्यागुर, सिस्नु, निङगुरो खोज्न दैनिक जसो तल्लीन भए ।
कात्तिक १९ गते अशिना बर्ष्यो, कात्तिक २९ गते भाइ जन्म्यो । २०२८ साल चैतको महिना हुनुपर्छ- पापा, बहिनी र भाइ घरमा थियौं । भोकले नै हो, पाँच महिनाको दुधे भाइ बेस्सरी रोए । दैलोको माथि सानो सिलबरे बटुकामा केही चाना गिठा रहेछ, पापाले झिकेर नाम्नाम् चपाएर भाईलाई ख्वाउनु भयो । बहिनी सावित्री र मैले हेरिबस्यौं । किनकि, हामीलाई पनि अचाक्ली भोक लागिरहेको थियो ।
सम्भवत: २०२९ को बैसाख महिना हुनुपर्छ । माथि नाम्चे बजारमा राजा-रानी आएको र त्यहाँ झाँकी देखाउन विजुवाहरु जानु पर्ने प्रधानपञ्चको ऊर्दी चलेछ । पल्लो घरको दाजू किपाम्पा नाम चलेको विजुवा हुनुहुन्थ्यो । ढोलढेंग्रा बजाउदै जानू भयो अनि आउनु भयो ।
लगत्तै प्रधानपञ्च कृष्णवहादुर बस्नेतले आफ्नी कान्छी श्रीमति हिराकी आमाले ओखलढुंगा माईतबाट केही कर्जा ल्याएको र छप्के व्याजमा दिन चाहेको हल्ला गरेछन् । गाउँका अधिकाङ्श गए र ऋण लिएर आए । हाम्रो पापाले पनि ४००/- रुपैयाँ लिएर आउनु भएछ ।
ऋतु परिवर्तन हुँदै आए । बैसाख-जेठको समय हुनुपर्छ, आमा र नानाहरुले जंगलबाट लिएर आएको भकिमिलोको चिउला-घाँस भाँडामा उसिनेर केही पिठो मिसाउदै खोले तुल्याएर खाने गरियो । काब्राको घाँस पनि त्यसरी नै खाइयो । एक अर्थमा हामी जनावर सरह बन्यौं, जो अनिकालको सिकार थियौं । जेठ महिनातिर मकैको घोगामा हारी लाग्यो । आमाले अंगालोभरी मकैको बोट फाँडेर ल्याउनु हुन्थ्यो अनि ठूलो कराहीमा उसिन्ने गरिन्थ्यो । पाकेपछि मैले दस घोगा खाएँ, बाह्र घोगा खाएँ, भनेर गर्वले बोलिन्थ्यो ।
हाम्रो परिवार मात्र होइन, पुरै गाउँ अशिनाले सखाप पारेको थियो । हुलु गाउँ मात्र होइन, रावाखोलाका मानिसहरु पनि भौतारिँदै हिंडेको देखिन्थ्यो ।
२०२९ सालमा हाम्रो आँगनमा मकैको थांग्रा मात्र एक कोठे बन्यो । किनभने, बोटमा पाकेको मकै दुई या बढिमा तीन घोगाले अघाउने पेट कलिलो हारीको मकै दर्जन घोगा खाने गरिएछ । तब कसरी बन्न सकोस् चार कोठे थांग्रा ! त्यसपछि त हाम्रो आँगनमा फेरि कहिल्यै मकैको थांग्रा देखा परेन अथवा अनिकालको अविराम यात्रा कहिल्यै टुंगिएन ।
हाम्रो परिवार मात्र होइन, पुरै गाउँ अशिनाले सखाप पारेको थियो । हुलु गाउँ मात्र होइन, रावाखोलाका मानिसहरु पनि भौतारिँदै हिंडेको देखिन्थ्यो ।
अशिनाले थोपरेको अनिकाल, अट्ठाईस सालको अनिकाल त्यस्तो घटना थियो, जसले हाम्रो परिवारका सदस्यहरुको दु:खद भविष्य निर्धारण गर्यो । मुख्य कारण त्यही थियो, जसले मेरो जिन्दगीलाई अनायास् क्रान्तिकारी राजनीतिमा होमिदियो ।
पापाको कारागार यात्रा
२०२९ मंसीर हुनुपर्छ, आँगनमा आमा गुन्द्री बुन्दै हुनुहुन्थ्यो । पापा कोक्रोमा भाइलाई बोकेर घरमुनीको बारीमा कोदो टिप्दै हुनुहुन्थ्यो । कहाँबाट हो, वाइपाईका खड्गवहादुर बस्नेत आइपुगे । के के बोलिचालीमा पापा र खड्गवहादुरको भनाभन पर्यो । खड्गवहादुर ठूलो स्वरमा बम्किँदै उकालो लागे । ताप्लासी प्रहरीमा उजुरी दिएछन् । केही दिनमा प्रहरी हाम्रो पापालाई लिन आए, जुन समय पापा करेसाबारीमा अदुवा खन्दै हुनुहुन्थ्यो । केही दिनमा, हाम्रो घरमुनीको तेस्रो गरा कोदो बारीमा प्रहरी, अनेक कर्मचारी, गाउँले र प्रधानपञ्चहरु भेला भए । हाम्रो पापालाई हथकडी लगाएका थिए । पापाको नजिक पुग्न मलाई निक्कै डर लागेको थियो । त्यसैले पछाडी ढाडमा भाइलाई बोकेर माथिबाटै वरपर गर्दै दिनभरि हेर्ने गरें मैले ।
पृथीवहादुर राईले खड्गवहादुर बस्नेतको कोदो चोरेकै हो, भनी कृष्णवहादुर बस्नेत समेतले सर्जमिनमा बोलेछन् । अब हाम्रो पापालाई चोरी अभियोगमा कारागार चलान गर्ने भएछन् । तलको गरामै अन्तिमतिर ठुली नानालाई पापाले बोलाउनु भयो । दशा के आइलागेछ भने दाजूले कुनै सरकारी पैसा चलाउनु भएको रहेछ । त्यो नबुझाए प्रहरीले दाजू हाकिमधोजलाई पनि आजै हथकडी लगाएर लाने भएछन् । त्यसैले तीन जना नानाहरुको पेवा छिप्री गाई छेप्रेङ्का गन्जप्रसादलाई बेचेर दाजूको ऋण तिर्नको निम्ति पापाले सल्लाहमा ठुली नानालाई बोलाउनु भएको रहेछ ।
पृथीवहादुर राईले खड्गवहादुर बस्नेतको कोदो चोरेकै हो, भनी कृष्णवहादुर बस्नेत समेतले सर्जमिनमा बोलेछन् । अब हाम्रो पापालाई चोरी अभियोगमा कारागार चलान गर्ने भएछन् ।
हथकडी लगाएर पापालाई उँभोतिर लिएर गए । हामीले निरुत्तर हेरि रह्यौं । गाई फुकाएर नानाले गन्जप्रसादलाई जिम्मा दिइन् । एक छिनपछि घरमाथि भिमसेनपातीको बोट समातेर ठुली नाना डाँको छोडेर रोइन् ।
पापालाई मात्र किन हुन्थ्यो; आमा, दाजू, तीन जना नानाहरुलाई पनि चोरीको अभियोग थोपरेछन् । केही महिनामा बयान दिन भनी आमा, दाजू र नानाहरु सल्लेरी जानुभयो ।
२०३० असारमा पापा कारागारबाट छुटेर आउनु भयो । संयोग के परेछ भने जिल्ला सदरमुकाम सल्लेरीमा हेलिकप्टरबाट राजा वीरेन्द्र आउने भएछन् । त्यो थाहा पाएपछि हाम्रो पापाले मलाई अन्याय भएको छ, न्यायका लागि जसरी पनि म राजालाई भेट्न चाहन्छु, भनेर कारागार प्रशासनमा कोहोलो मच्चाउनु भएछ । बाध्य बनेर प्रशासनले हथकडिसहित हाम्रो पापालाई राजाको नजिक पुर्याएछन् । पापाले कराको कराकै गर्नु भयो रे । त्यसपछि त्यो मान्छेलाई यता बोलाऊ, भनेर राजाले भनेछन् रे । राजा नजिक पुगेर पापाले चार हरफमा तयार गर्नु भएको निवेदन पढेर सुनाउनु भयो रे । उप्रान्त राजा वीरेन्द्रको हुकुममा, झुट्टा मुद्दा अभियोग खारेजसहित हाम्रो पापा छुट्नु भयो ।
घरमा पापा आउनु भएपछि उहाँको सायाचोङमा गर्नलाई भाले काटियो ।
दाजू र साइँली नाना त्यस बखत सल्लेरी पुग्नु भएको रहेछ । उहाँहरु सिधै काठमाडौं लाग्नु भएछ ।
* * *
भएको के थियो भने हिउँदे खर्कको लागि भनेर उहिले खड्गवहादुर बस्नेतले हाम्रो घरमुनीको जग्गा हाम्रै पापाबाट किनेका रहेछन् । घरमुनीको चौथो गरादेखि उँधो खड्गवहादुरकै जग्गा हो । त्यसमा कसैको कुनै दावी थिएन । तर, हाम्रो घरमुनीको तेस्रो गरा हाम्रै थियो । त्यसमा कसैको कुनै हकदावी लाग्न सक्दैनथ्यो ।
फेरि पनि आफ्नै जग्गाको कोदो टिप्दा गाउँका सामन्त र त्यसका मतियारहरुले हाम्रो परिवारलाई त्यसरी चोरी जस्तो घृणास्पद अभियोग लगाए । परन्तु, हाम्रो पापा तगडा हुनुहुन्थ्यो र त्यस फरेवलाई उहाँले खारेज गराइदिनु भयो ।
हुलु विध्यालयको पढाइ
२०३० तिर नै हुनुपर्छ, माईली नाना पनि काठमाडौं जानू भयो । कारण र आशय के थियो जान्न सकिएन, तर गाउँको मास्टरी छोडेर दाजू प्रहरी सेवामा लाग्नु भएको बुझियो । त्यहाँ चाहिँ नाम बदलेर दाजूले आफुलाई हंसमान दुन्तेराई तुल्याउनु भएको थियो रे । दुन्ते भनेको होबेर्मीभित्रको एउटा उप-पाछा हो ।
२०३१ सालमा साइँली नानाले एउटा रेडियो पठाइदिनु भयो । चारवटा ब्याट्री जाने त्यो रेडियोको दाम ४००/- रुपैयाँ भन्ने बुझियो, जुन भारतीय उत्पादनको रेडियो थियो । त्यस अघि गाउँमा चीन सरकारले उपहार दिएको रेडियो रहेछ, प्रधानपञ्चले घन्काएर हिंड्ने गर्दथे ।
असाध्यै गरिव भए पनि त्यो बेला पुरै गाउँमा निजी रेडियो बजाउने अवसर हाम्रो परिवारले त्यसरी प्राप्त गर्यो । ६ महिनासम्म त रेडियोको आवाज बाहेक केही बुझिदैनथ्यो । बल्ल तल्ल बुझ्न थालियो: यो रेडियो नेपाल हो । अब दुर्गानाथ शर्माबाट समाचार सुन्नुस् !
त्यसपछि गीतहरु बुझ्न थालियो: माछी काँडैले, मायाँ लाउदैमा छेक्यो डाँडैले । काँचो अम्बक, म जान्छु दमक । विस्तारै पन्नाकाजीको तिरिरी मुरली बज्यो बनैमा । अलिक बर्षपछि प्रकाश श्रेष्ठको गहिराईमा तिमी डुब्दै नडुब इत्यादि तथा समाचारमा कृष्णा ताम्राकार ।
हाम्रो घर काठको खम्बामा बाँसको टाटीले बारेको तथा गोबर र माटोले लिपेको एक तले थियो । जसमा खरको छाना थियो । तलामाथि यत्ति अँध्यारो हुन्थ्यो कि त्यहाँबाट केही पनि देखिँदैनथ्यो । तर, आमाले आन्नपानी त्यही तलामा जोहो गरेर राख्नु हुन्थ्यो ।
२०३१ साल हिउँदमा ठुली नानाको जोडमा आमा-पापाले ढुंगे घर बनाउनु भयो, एक तलाको । अब चाहिं सानो झ्यालको सहारामा तलामाथिको राखन-धारण सहजै देख्न सकिन्थ्यो ।
त्यही साल ठुली नानाको प्रस्तावमा कान्छी बहिनी सावित्रीलाई विध्यालय पठाइयो । मलाई चाहिँ लेखपढ जान्ने भइसकेको हुनाले विध्यालय जानू पर्दैन, भनियो । नभन्दै माघको महिना हुनुपर्छ, कार्वारी जन्तरेकी छोरी माग्न आएछन् कुटुम्बहरु र माईतीले दिएछन् पनि । तर, छोरी विराजी भएकोले गाउँ पञ्चायतमा उजुरी गर्ने परेछन् । कसलाई निवेदन लेखाउने भन्दा मलाई सोंचेछन् । शंकरेम्पाको घरमाथि जंगलमा ठुली नाना, जन्तरेकी छोरी र वार्ड अध्यक्ष थामुधन बस्यौं । भतिज थामुधनले व्यहोरा बताए, मैले लेखेँ । यसरी ९ बर्षको उमेरमा दरखास्त लेखियो ।
२०३२ साल आयो । विध्यालयमा अन्तिम परिक्षा भएछ । कान्छी बहिनीले कक्षा १ अनुत्तिर्ण गरिछन् । परिवारमा चर्चा चल्यो, लौ लाज भयो भनेर बल्ल मलाई पनि विध्यालय पठाइयो । पापाले हेड सरलाई भन्नुभएको थियो, मेरो छोरा फलाना विध्यालयमा आउँछ भनेर । गएकै दिन सरहरुले दुईटा पुस्तक उपलब्ध गराए: महेन्द्र माला र गणित । बोकेर आइयो । तर, कतिपय सहपाठी नाक खुम्च्याउदै थिए कि यसलाई आजै किन पुस्तक दिनु परेको !
२०३२ फागुनतिर हुनुपर्छ, गणित सम्बन्धी प्रतियोगिता हुने भयो । विध्यालयको घोषणा थियो: कक्षा १ ले ५ सम्म, कक्षा २ ले १० सम्म र कक्षा ३ ले १५ सम्म दुनाङ्क भन्नु पर्नेछ । प्रथम हुने प्रत्येक कक्षाको १ जनाले ३२ पृष्ठको कपी र पेन्सिल पुरस्कार पाउने छ !
कक्षा १ को मलाई पहिल्यै ११ सम्म दुनाङ्क कण्ठष्ट थियो । विद्यालयबाट आउदै गर्दा, बेलुका घाँस काटेर वस्तुलाई लगाउदै गर्दा औंला भाँचेर यथासिघ्र २० सम्म दुनाङ्क कण्ठ गरियो । विद्यालय पुगेर साथीहरुलाई भनियो, मलाई त २० सम्म आउँछ । कत्तिले भन्न लगाए र भनें पनि ।
शुकबार आइपुग्यो, प्रतियोगिताको दिन । तिनै कृष्णवहादुर बस्नेत प्रमुख अतिथि थिए । सरहरुले पहिला कक्षा ३ का विध्यार्थीलाई भन्न लगाए । धनवहादुर राई र हितमान बस्नेत दुई जनाले १५ सम्म भने । अरुले सकेनन् । कक्षा २ का कसैले पनि १० सम्म भन्न सकेनन् । आयो पालो कक्षा १ को । त्यो बेला कक्षा १ मा हामी ७२ जना विद्यार्थी थियौं । त्यसमध्ये टंकवहादुर कार्कीले ६ सम्म दुनाङ्क भने । अरु मौन रहे । अन्तिममा हेडसरले भन्नुभयो: हजुर यसलाई त धेरै आउँछ । कत्तिबाट भन्न लगाओँ? ११ बाट भन्न लगाइयो: एघार एकान एघार, एघार दुना बाईस हुँदै बिस दशं दुई सय पुर्याइयो ।
मन्तव्यको क्रममा कृष्णवहादुरले भने- "यो गाउँमा जो टाठोबाठो भएर निस्कन्छ, त्यो मेरो दुश्मन हुन्छ ।" भन्न खोजेको के हो, राम्ररी बुझ्न सकिएन । तर, दिमागको कुनामा कतै न कतै प्रधानपञ्चको कुरा अड्किएर बस्यो ।
३२ पृष्ठको कपी र पेन्सिल पुरस्कार हासिल गरियो ।
मन्तव्यको क्रममा कृष्णवहादुरले भने- "यो गाउँमा जो टाठोबाठो भएर निस्कन्छ, त्यो मेरो दुश्मन हुन्छ ।" भन्न खोजेको के हो, राम्ररी बुझ्न सकिएन । तर, दिमागको कुनामा कतै न कतै प्रधानपञ्चको कुरा अड्किएर बस्यो ।
कक्षा ३ सम्मको प्राथमिक विध्यालय कक्षा ५ हुँदै हाम्रै पालामा कक्षा ७ सम्म पुग्यो र श्री हुलु निम्नमाध्यामिक विध्यालय बन्यो । कक्षा २ देखि सामाजिक शिक्षा समेत ३ वटा पुस्तक मिल्यो भने कक्षा ४ देखि अंग्रेजी र संस्कृत थपिए । पढ्दै जाँदा गणित, नेपाली र विज्ञानमा हामी अब्बल विध्यार्थी थियौं ।
२०३७ को कुरा हो, देशमा बहुदल कि निर्दल भनेर व्यवस्था रोज्ने जनमत संग्रह घोषणा भएछ । नेलेका रमेश थुलुङ बहुदलवादी रहेछन् । पापासंग भेट हुँदा बहुदल राम्रो भनी छलफल चलेछ । घरमा आएर त्यो कुरा पापाले सुनाउनु भयो । विध्यालयमा बहुदलीय र निर्दलीय भनी विध्यार्थीहरु खेल्ने गरिन्थ्यो । म चाहिँ बहुदलीय टोलीमा लाग्न थालें । त्यही सिलसिलामा फुस्तेल बजार पुग्दा हुलाक कार्यालयमा गोरखापत्र आएको रहेछ । त्यसमा वीपी कोइराला र सूर्यवहादुर थापाको फोटो र नाम थियो, पहिलो पटक पत्रीका देखेर केही पढियो ।
* * *
२०३१ तिर माईली नानाको विहे मुस्ताङका हिरावहादुर पुनसंग भएछ । २०३४ तिर ठुली नानाको विहे पान्थरका धनवहादुर आङ्देम्बेसंग भयो । लगत्तै साइँली नानाको पनि खोटाङ टेम्माका हरिनारायण राईसंग विहे भएको जानकारी मिल्यो ।
त्यही क्रममा दाजूको निधन भएको खबर प्रहरीले घरमा लिएर आए । काठमाडौंमा भर्ना भएर दाजू झापा हुँदै ताप्लेजुङतर्फ दरबन्दीमा जानू भएको कुरा ठुली नाना र भेनाले दमकमा दाजूलाई भेटेर आएपछि भन्नुभएको थियो । जेठो छोराको निधनले आमा र पापा सिकिस्त पीडित हुनु भयो नै । के कता हो, भनी खोजी गर्दै आमा र पापा काठमाडौं जानू भयो । त्यहाँबाट पनि अझ एकीन गर्न हाम्रो पापा झापा हुँदै ताप्लेजुङसम्म पुग्नु भयो ।
यसरी जनमत संग्रहका दौरान आन्दोलनकारीको ढुंगामुडा लाग्दा जेठा दाजू प्रहरीतर्फको सहिद बन्न पुग्नु भयो । हाम्रो परिवारको २०३८ साल यसरी नै वित्यो ।
असोज २०३९ सालमा पापा सल्लेरीबाट घर आउनु भएको थियो । बेलुका सुविस्तै रहेको पापा विहान व्युँझदा वाक्य हराएको स्थितिमा हुनुहुन्थ्यो । धामी-झाँक्री, औषधि मूलो सबै गरियो । तर, विरामी सुरु भएको पाँच दिनमा ५९ बर्षको उमेरमा पापाको देहान्त हुन गयो । चरम गरीविमाथि अब हामी टुहुरा समेत भयौं ।
भयानक बज्रपात भन्नुपर्छ, पापा वितेको आठौं दिनमा कृष्णवहादुर बस्नेतले कचहरी बोलाए । हाम्रो घरको आँगनमा भेला भएर कृष्णवहादुरले कागजी लेखौटको हरहिसाव लगाउन थाले । दस बर्ष अघि हाम्रो पापाले लिनु भएको त्यही ४००/- रुपैयाँको व्याजमाथि स्याज गर्दै जम्मा ४ हजार २ सय ६९ रुपैयाँ पुगेको बताए । ७० भएको भए हुन्थ्यो ६९ भयो, के गर्ने १ रुपैयाँ पुगेन, भनेर कृष्णवहादुर बोले । छेउमै बसिरहेका उनका छोरा बिष्णुकुमार बस्नेतले एक रुपैयाँ त हो, ७० लेखिदिनु नि ! भनेर प्वाक्क बोले । कृष्णवहादुरले हो हो भन्दै ४ हजार २ सय ७० रुपैयाँ लेखिदिएको बताए ।
त्यसपछि फरमान सुनाइयो: पृथीवहादुर राईको नाममा जम्मा हुन आएको रकम ४ हजार २ सय ७० रुपैयाँ आजैको मितिमा एकमुष्ट बुझाउनु पर्ने, नबुझाए पृथीवहादुरको छोरा गोपाल कृष्णवहादुर बस्नेतको घरमा गोठालो बसी ऋण चुक्ता गर्नु पर्ने ।
आमाको बुलाकी फुकालेर दिनु परेकोमा मलाई ज्यादै असहनीय चित्त दु:खाई भइरहेको थियो । पीडा खप्न नसकेर सबैका सामु चर्को आवाजमा, आँगनमा रुवावासी गर्न पुगें मैले ।
सुन्दैमा रिङ्गटा लाग्न थाल्यो । आमाले घरभित्र बोलाउदै भन्नुभयो, मेरो छोरालाई गोठालो चाहिँ नपठाउने भन्दै नाकको बुलाकी फुकालेर मलाई दिनु भयो । मावाली बजूले हाम्री आमालाई उपहार दिनु भएको चार आना सूनको बुलाकी, दाजूको उपदान रकमले किनेर ल्याएको १ हजार २०० रुपैयाँको जापानिज रेडियो, एक हल गोरु र दुईवटा ब्याउने बाख्रासहित हात जोडेर कृष्णवहादुरलाई बुझाइयो । तिनले निक्कै आनाकानी गरे । अरु त केही थिएन, आमाको बुलाकी फुकालेर दिनु परेकोमा मलाई ज्यादै असहनीय चित्त दु:खाई भइरहेको थियो । पीडा खप्न नसकेर सबैका सामु चर्को आवाजमा, आँगनमा रुवावासी गर्न पुगें मैले । त्यसपछि सामग्री र वस्तु हत्याएर कृष्णवहादुरहरु चुपचाप बाटो लागे ।
* * *
ठुली नाना चुर्दिडाँडामा बस्नु हुन्थ्यो । बेलुका गएर दु:ख पोखाएँ । पापा वितेको हप्ता दिन मात्र हुँदैछ । हिसाब किताब गर्नुसम्म ठिकै हो । तर, आजै ऋण चुक्ता गर्नु पर्ने, नभए उसको घरमा गोठालो बस्नु पर्ने जस्तो करकाप किन? बिस्तारै बढेर तिरिन्थ्यो, तिर्न नसके घरबारी छँदै थियो, के हो यस्तो किस्नेको पारा?
नानाले वृतान्त कहँदै भन्नुभयो, २०२२ सालमा कृष्णवहादुर बस्नेत उपप्रधानपञ्च बनेका रहेछन् । त्यस बेला घर-घरबाट अन्न जम्मा गरेर बचवट गर्नु पर्ने, त्यो अन्न कृष्णवहादुरकै घरमा जम्मा गर्नु पर्ने ऊर्दी भएछ । सबैले अन्न जम्मा गरे । त्यसपछि गाउँमा कसलाई चाहिएको हो, उसले पच्चिसा लानु पर्ने थिएछ । चाहे पनि नचाहे पनि गाउँलेले अन्न पच्चिसा लिएर चलाए । अर्को साल एकको दुई बुझाउदा कसैको पनि अन्न पुगेनछ र घरबाट फेरि थपेर बुझाएछन् । गाउँमा होहल्ला चल्यो, सबैको माना पाथी बराबरकै छ, तर किन पुगेन, के भयो?
नौरेम्पाको घरमा विमर्श हुँदा दाजू छबे कामीले फ्याट्ट भनेछन्, होइन पर्धानकी आमाले अस्ति पाथीको मुखमा तामाको साँबी ठोकिदिन ल्याएकी थिईन् । कतै त्यही कारणले यस्तो आपत निम्तेको पो हो कि?
गाउँले टोली किस्नेको घरमा पुगे । मागेर हेर्दा हो रहेछ, पाथीको मुखमाथि दुई इन्च साँबी ठोकेको । कुनै बिना तयारी हाम्रो पापाले खाटमुनीको बन्चरो झिकेर पाथीलाई धुलोपिठो पार्नु भएछ र सबै जना आ-आफ्नो घर फर्केर बस्नु भएछ ।
किस्नेले प्रहरीमा उजुरी दिएछन् । खोटाङतिरका शिबु बस्नेत भन्ने प्रहरी थिएछन् । हाम्रो पापालाई लिएर गए अनि किस्नेको घरको बलेसीमा बस्न भनिएछ । माथि छानामा ९ वटा सिँवालीको लौरो सिउरेर राखिएको थियो रे । आँगनभरि गाउँलेहरु मौन । जब त्यो प्रहरीलाई झोक चल्यो, लौरो निकालेर हाम्रो पापाको ढाडमा कस्सिएर हिर्काउने रे । हिर्काउदै, बिसाउदै, हिर्काउदै गर्दा ९ लौरो पुगेपछि रगत छाद्दै हाम्रो पापा बलेसीमा ढले रे ।
उप्रान्त घर आएर पापा र ठुली नाना सल्लेरी जानू भएछ । देउसा, बोगलमा पुगेर बास बस्दा कुख्राको भाले किनेकोमा चर्को पिटाईले हात चलाउनै नमिल्ने पापाको अवस्था हुनाले नानाले कुख्रा बनाउनु भयो रे । सल्लेरी पुगेर अत्याचार विरुद्व गाउँ फर्कमा निवेदन गरि आउनु भएछ । तर, केही दिनमा किस्नेको मीत पर्खिधन राई सल्लेरी गएछन् र सो निवेदन झिकिदिन हाम्रो दाजूलाई बिन्तीभाऊ गरेछन् । विन्दास स्वभावको हाम्रो दाजूले निवेदन झिक्नु भएछ । कुनै कार्वाही भएन । पछि बुझ्दा छोराले निवेदन फिर्ता लिएछन् । घरमा पापा र दाजूको नराम्रो मनमुटाव पर्यो ।
अर्को, अट्ठाईस सालको अनिकालमा हिराकी आमाको माईती कर्जा भनेर मासिक सयकडा ३ रुपैयाँ व्याजमा किस्नेले लगाएको ऋण वास्तविकतामा नाम्चे बजार आउदा राजाले रु. १४ हजार र रानीले रु. २४ हजार प्रत्येक गाउँ पञ्चायतलाई राहत अनुदान दिएका रहेछन् । त्यसमध्ये पावै स्वत: पर्यो । तर, त्यत्रो २८ हजार रकम जुन समय एक तोला सूनको मूल्य हजार रुपैयाँ पर्थ्यो, किस्नेले साँवाको व्याज र व्याजको स्याजसहित निजी सम्पतिमा कुम्ल्याए ।
त्यही राजाले दिएको अनुदान रकम रहेछ, हाम्रो पापाले लिनु भएको चार सय रुपैयाँ । जसको अंक दस बर्षमा ४ हजार २ सय ६९ रुपैयाँ पुग्यो र हामीले त्यसरी घर उजाड तुल्याएर धर्नु पर्यो ।
त्यस्तै, प्रौढ कक्षा संचालन भनी किस्नेको आँगनमा चार तले घर बनाउने काम भयो । झारलाङ्गीमा खट्नु पर्दा हाम्रा नानाहरु गएर ढुंगा र काठ बोक्ने, हिलो मुछ्ने, ओसार्नेलगायत भारी श्रम गर्नु पर्यो । तर, त्यसमा कुनै प्रौढ कक्षा संचालन गरिएन । मात्र किस्नेको निजी बिल्डिङ ठडियो ।
अब प्रष्ट बुझियो, गाउँमा शोषक किस्नेको सामन्ती उत्पीडन ।
* * *
फेरि दशा थपियो, किस्नेले सिरिखुरी पारे लगत्तै माईला देप्दा निहुँ खोज्न आए । जंगलबाट दाउराको भारी लिएर घर आइपुगेको मात्र थिएँ, ठुस्स परेर देप्दा सिकुवामा बस्नु भएको देखेँ । भारी विसाउदै उहाँलाई भित्रै जाउँ भनेर आग्रह गर्दा झोंक्किँदै देप्दाले भने- तेरो घरमा पस्दिनँ । तेरो बाउले मलाई अन्याय गरेको छ । अब यो घरबारीको कोदो म टिपेर लान्छु, इत्यादि ।
एक्कासी पाखुरा सुर्केर मुख छाडियो, लौ हाम्रो घरबारीको कोदो टिपेर लैजाउ त देप्दाआ, यही खुकुरीले तिम्रो हातखुट्टा टुक्रा-टुक्रा पारेर मिल्काउछु कि त मै मर्छु !
छक्कै परियो । मैले जान्दादेखि यो घरबारी हाम्रो पापाको हो र देप्दा मनसुम्पाको घरबारी माथि मौलौलामा छ । किस्नेले सिरिखुरी पारेकोमाथि आफ्नै देप्दाको यो व्यवहारले मुर्छित अनुभव गरायो । एक्छिन सोंचेर बोलियो- होइन देप्दाआ के कुरा गरेको यस्तो, पापा हुँदै भन्नुपर्थ्यो नि ! अझ कड्किएर देप्दा बोले- तँ जेसुकै भन, खेताला लाएर यो कोदो टिप्छ, टिप्छु !
खप्न मिल्ने विषय थिएन । एक्कासी पाखुरा सुर्केर मुख छाडियो, लौ हाम्रो घरबारीको कोदो टिपेर लैजाउ त देप्दाआ, यही खुकुरीले तिम्रो हातखुट्टा टुक्रा-टुक्रा पारेर मिल्काउछु कि त मै मर्छु ! घमाघम्सीपछि नाजवाफ देप्दा फन्किएर हिँडे ।
परिस्थिति कस्तो भने हाम्री आमा सहजतामा दिल खोलेर बोल्ने, तर असजतामा मौन रहने स्वभावको हुनुहुन्थ्यो । म पनि आमाको त्यही स्वभावमा बाँधिन्दै आएको थिएँ । त्यसैले विध्यालय वा गाउँ समाजमा कोही कसैसंग भनाभन पर्दा बरु धक्कामुक्की गर्ने, तर मुख लाग्न नजान्ने थिएँ । तर, देप्दासंग प्रत्यक्ष बाझेको त्यस घटनादेखि यत्ति बाझ्न सक्ने भइयो कि आफ्नो पुस्तामा अब्बलता नै हासिल गरिए झैं लाग्छ । अथवा वाक मुकाविलाका निम्ति त्यो दिन त्यसरी मेरो वाक्य फुट्यो ।
कारण त्यसै पनि चरम गरिवी, त्यसमाथि घरबारीको कोदो अरुले टिपेर लाने हो भने आउने दिनमा खोलेको जोहो पनि कसरी गर्ने होला? बाँच्नको लागि संघर्ष गर्नु पर्दा त्यसरी सशक्त वाक क्षेमता प्रस्फुटन हुन पुग्यो ।
आँपको फेदबाट बहिनी सावित्रीले देखिछन्- जब देप्दासंग हामी बाझिरहेका थियौं, माथि पर्खिम्पाको घरमुनी डिलबाट किस्नेहरुले हामीलाई रमिता हेरिरहेका थिएछन् । अब बुझियो, प्रधानपञ्च कृष्णवहादुर बस्नेतको अर्को कालो कर्तुत !
* * *
पापा बित्नु भएको शोक र किस्नेको अत्याचारले रन्थनिनु परेको स्थितिमा आफू विध्यालय जान नसक्नेमा परियो । पापा बितेको तीन हप्तातिर फेरि आमा सिकिस्त विरामी पर्नु भयो । बल्ल तल्ल धेरै दिनमा आमा निको हुनु भयो ।
यसरी श्री हुलु निमाविमा कक्षा ७ मा पढ्दै गरेको एक विध्यार्थीले कक्षा ७ को अन्तिम परिक्षा दिन पाएन । त्यो बेला मंसीरमा अन्तिम परिक्षा हुने गर्थ्यो । असोज अन्तदेखि कात्तिक महिनाभरि व्यहोर्नु परेको पारिवारिक कष्टसंगै २०३९ सालको मंसीर बितेर गयो ।
परन्तु, घर गाउँको तत्कालीन चेतनास्तरमा खुशी नै लाग्दछ कि कान्छी बहिनीको कारण मैले कक्षा ७ सम्म पढ्न पाएँ । कक्षा ७ यत्ति ठुलो शिक्षा रहेछ कि जसले राम्रै लेखापढी सिकाएको हुन्छ । त्यत्ति ज्ञान काम लगाउने इच्छाशक्ति प्रयोग गरियो भने प्रशासनको लोकसेवामा त स्थान हुँदैन, तर राजनीतिको जनसेवा परिक्षामा चाहिं पर्याप्त मानिँदो रहेछ ।
* * *
सोलुखुम्बूको मानिस क्रमश: ट्रेकिङ मजदुरीमा काठमाडौं लागियो । यो सोंचेर कि घर व्यवहार सुधार्ने, आमाको सेवा गर्ने र भाई-बहिनीलाई पढाउने भनेर । हामी अघिका गाउँलेहरु दार्जीलिङ जाने गर्थे । २०२८ सालमा माईली नानाहरु नै घरबाट भागेर दार्जीलिङ जानुभएको थियो । सोताङ-कुलुङको पछिल्लो पुस्तामा ट्रेकिङ र गलैंचा मजदुरीका लागि काठमाडौं लाग्ने प्रक्रियामा गाउँलेहरु प्रवेश गर्न पुगे ।
दु:खका साथ भन्नुपर्छ, ट्रेकिङमा लागेका कत्तिले राम्रै धन जुटाएको देखिन्थ्यो । तर, यो किरातीको जीवनमा किन हो, त्यस्तो मौका कहिल्यै जुरेन । न घर व्यवहार सुधार गर्न सकियो, न भाई-बहिनीलाई भने जस्तो पढाउन न त आमाको सेवा गर्न नै सकियो ।
सोलुखुम्बूको मानिस क्रमश: ट्रेकिङ मजदुरीमा काठमाडौं लागियो । यो सोंचेर कि घर व्यवहार सुधार्ने, आमाको सेवा गर्ने र भाई-बहिनीलाई पढाउने भनेर । हामी अघिका गाउँलेहरु दार्जीलिङ जाने गर्थे ।
फेरि पनि पुष्पलाल श्रेष्ठ पढेको दरबार हाईस्कुलमा भाइलाई पढाउन भनी साइँली नानालाई भारी दु:ख दिइयो । तर, विन्दास स्वभावको भाईले मेहेनत गर्न सकेन । यसरी २०४३ सालदेखि भाइलाई घर जिम्मा दिएर पुरै क्रान्तिकारी बन्ने बाटोमा म समर्पित भएँ । यध्यपि, पछि किरात गणराज्यको सशस्त्र आन्दोलनका बखत ९ बर्ष कारावाश भोगेका भाइ किरातीले त्यहाँबाट प्रमाणपत्र तहसम्म उत्तिर्ण गर्यो ।
* * *
२०३१ सालको अर्को पनि स्मरणीय घटना छ ।
हिउँद महिना थियो, पर मदासा गोठमा भाइ र म थियौं । राती झरी पर्यो । विहान व्युँझेर हेर्दा चम्किलो घाम लाग्न आँटेको देखियो । बारीमा गोबरको मल कालै छरिएको थियो । घामको रापले त्यो मल सुकाउला, भन्ने चिन्ताले छोयो ।
काफी सधाइएका दर्पने र बिच्छे नामका हलगोरु अत्यन्त परिपक्व थिए । पापाले खारेर बनाएको हलो निकै सजिलो अनुभव हुन्थ्यो । बारीमा गोरु नारियो र बाँझो मराई जोत्न थालियो । जब दुई गरा बारी जोति सकियो, गोठमा ठ्याक्कै पापा आइपुग्नु भयो । थपरी बजाउदै पापाले भन्नुभयो- लौ मेरो छोरा जोत्न सक्ने भयो, अब मैले सुख पाएँ !
त्यस दिनदेखि पापाले हलो छुनु भएन । हिउँदभरि सबै बारी त्यसरी नै जोतियो । जाबो ९ बर्षको फुच्चेले जोतेको बारीमा पनि कसरी हो, अन्न त फल्यो नै फेरि ।
विस्तारै उमेर बढ्दै आउँदा आफ्नो पुस्तामा हलो चलाउन सिपालु भनी गाउँ समाजमा नाम चल्न थालेको सुनियो । परम्परागत कृषि जीवनमा हलो चलाउन सक्ने छोरा र कोदालो चलाउन सक्ने छोरीलाई गरिखाने भनेर मूल्याङ्कन गरिन्थ्यो ।
* * *
अन्तत: वैज्ञानिक अलबर्ट आइन्सटाईनले भनेका रहेछन्, शिक्षाको कसी कल्पनाशीलता हो न कि कुनै औपचारिक श्रेणी ।
भौतिकवादी ब्रम्हाण्ड विज्ञानका एक महान हस्ती आइन्सटाईनको उक्त विचार पढेपछि शिक्षावारे सोध्ने मानिसलाई भन्ने गरेको छु, असाधारण लेखपढ !
आमासंग यलाखोम यात्रा र ट्रेकिङ मजदुरी
२०३९ पुसको कुरा हो, गाउँबाट २६ जनाको टोली कटारी बजार गएका थियौं । प्रत्येक दुई जनाको भान्सामध्ये दाजू भित्ताघरे माईलासंग हामी एक भान्सामा थियौं । हुलुबाट लोखिम, ऐसेलुखर्क, बसेरी, रावाखोला, रम्बुवा, चेस्मीटार, पिप्चाई, राईघाट, सिन्दुरेवेशी, सोरोङखोला, छब्बिसे, लिम्पाटार, कोप्चे, मरुवा हुँदै ओरालो झर्दा ५ दिनमा कटारी पुगियो । नुन-फलाम बोकेर उकालो फर्कदा ९ दिनमा घर आइपुगियो । सबभन्दा फुच्चे मैले चाहिँ पाँच पाथी नुन र एक धार्नी फलाम बोकेको थिएँ ।
जीवनमा पहिलो पटक गाडी देखेको कटारीमै हो, मैले । साँझको बेला थियो, ट्रक आयो । नजिकमा हेर्न गयौं, सबैले छोए । मैले चाहिँ खान्छ भन्ने डरले गाडीलाई छुन सकिनँ ।
घर आइपुग्दा साइँली नाना आउनु भएको रहेछ, आमासंग बातचित गर्दै हुनुहुन्थ्यो । पापा बितेकोमा शोकग्रस्त हुँदै, तर अरु कुरामा फेरि खुशी मनायौं । नाना धेरै दुब्लो पातलो हुनुहुन्थ्यो । केही दिनमा नाना फर्कने हुनु भयो । लामिडाँडा विमानस्थलसम्म मैले पुर्याउने योजना गरियो । लामिडाँडा पुगेर एउटा थोत्रो होटेलमा बास बस्यौं । दु:ख र अभाव त्यही हो, एक जनाको खाना किनेर बाँडेर खायौं । भोलि विहान जहाज आयो । नाना जहाज चढ्नु भयो । म गाउँ फर्कें ।
फागुनमा मकै छरियो ।
थोरबहुत खर्च जोहो गरेर आमासंग यलाखोम (काठमाडौं) लाग्यौं । घरमा बहिनी र भाइ अनि तल नाना-भेनालाई छोडेर हामी बाटो लाग्यौं । ढाकरमा सातु-सामल, तिहुन तरकारी मैले बोकेको थिएँ । देउसा, सल्लेरी-फाप्लु, जुनवेशी, लामाजुरा, किन्जा, भण्डार, देउराली, शिवालय, ठोसे मेक्चन, यार्सा, नाम्दु, किरातीछाप, मुडे हुँदै घरबाट हिंडेको ७ दिनमा लामासाँघु पुग्यौं । होलीको छुट्टी रहेछ, गाडी बन्द थियो । एक दिन लामासाँघुमै बस्यौं । एक पेटको ५ रुपैयाँ पर्थ्यो खाना । बाटोभरि आफैले बोकेको सामल पकाएर खायौं । तर, लामासाँघुमा चाहिँ आमाले होटेलकै खाउँ भन्नुभयो ।
हेर्दा अचम्म लाग्यो, शहरमा पनि रुखको बोट हुँदो रहेछ । ठुल्ठुला बैंशका रुखहरु थिए । मैले ढाकर बोकेकै थिएँ; जयनेपाल सिनेमा हल, नक्साल हुँदै साइँली नाना बसेको डेरा बालुवाटर पुग्यौं ।
उज्यालो भयो । यलाखोमको लागि बस चढ्यौं । लामासाँघु-काठमाडौं बस भाडा प्रति व्यक्ति ९ रुपैयाँ थियो । बसपार्क पुग्यौं । हेर्दा अचम्म लाग्यो, शहरमा पनि रुखको बोट हुँदो रहेछ । ठुल्ठुला बैंशका रुखहरु थिए । मैले ढाकर बोकेकै थिएँ; जयनेपाल सेनिमा हल, नक्साल हुँदै साइँली नाना बसेको डेरा बालुवाटर पुग्यौं । बेलुका माईली नानाले बजार जाओँ भन्नुभयो र लाजिम्पाट रहेछ, त्यहाँ पुग्यौं । नानाले कतै फोन गर्नु भयो, ख्यार्र घुमाउने त्यो टेलिफोन मैले पहिलो पटक देखेको थिएँ ।
पशुपति मन्दिर पुगेर आमासंग चौरासी घुम्यौं । सिंहका ठुल्ठुला मूर्ति रहेछन् । आमाले मूर्तिको मुखमा हात राख्नु भयो । मलाई पनि हात राख्न भन्नुभयो, तर सिंहले खान्छ भन्ने डरले मैले हात राख्न सकिनँ ।
एक महिना बस्यौं होला । त्यसवीच आमासंग जावलाखेल चिडियाखाना हेर्न पुग्यौं, ८४ बर्ष उमेरको काकातुवा चरा देखेर छक्क परियो । त्यहाँ स्याल र बाँदरलाई बन्दी बनाइएको रहेछ । गाउँमा कुख्रा चोर्ने स्याल र बाली खाने बाँदरलाई क्या ठिक पारेछन्, ज्यादै खुशी लाग्यो । सिंहदरबार पुग्यौं, सबै तलामा डुल्यौं । रेडियो नेपालको भित्रै पुगेर हेर्यौं । शिशाको कोठाभित्र खुब सिंगारपटार गरेकी एक महिला पढेर समाचार बाचन गर्दै थिईन । पशुपति मन्दिर पुगेर आमासंग चौरासी घुम्यौं । सिंहका ठुल्ठुला मूर्ति रहेछन् । आमाले मूर्तिको मुखमा हात राख्नु भयो । मलाई पनि हात राख्न भन्नुभयो, तर सिंहले खान्छ भन्ने डरले मैले हात राख्न सकिनँ । छाउनी सङ्ग्रहालय पुग्यौं । त्यहाँ लामो हरिश जस्तो किरातीकालको बन्दुक भनेर लेखिएको थियो । बुढानिलकण्ठ इत्यादिमा आमासंगै पुग्यौं ।
बौद्व चाहिँ साइँली नानासंग गएका थियौं । रानीपोखरीबाट साझा बस चढेर बौद्व गयौं । जापानले दिएको रे, त्यो साझा बस अत्यन्त सानदारको थियो । बौद्व पुगेर नानाले माने घुमाउन भन्नुभयो र एक फन्को माने घुमाएर हिंड्यौं । त्यसपछि नानाको साथी रहेछन्, त्यहाँ छ्याङ पियौं । वाफरे ज्यादै चर्को थियो त्यो !
नानाहरुले खर्च र लत्ता कपडा जोहो गर्दिनु भयो । आमालाई छोडेर म किरातीछापको बाटो पैदल घर फर्कें । घर पुग्दा बहिनी र भाइ यत्ति दुब्लो देखिए कि मनमनै मेरो सात्तो नै गयो । विचरा दर्पने गोरुको मृत्यु भएछ, जसले २३ बर्ष हाम्रो परिवारको सेवा गरेको थियो । उप्रान्त हतार-हतार ऐसेलुखर्क बजार गएँ र आठ पाथी कोदो बेसाएर ल्याएँ । अलिक दिनपछि लामिडाँडा विमान भएर आमा पनि घर आइपुग्नु भयो ।
२०४० सालको वर्षात सकिँदै गयो । फेरि म काठमाडौं पुगें र ट्रेकिङको काम खोज्न थालें । भारी बोक्ने कुल्लीको काम पाइयो । बस चढेर पश्चिम हाँकियौं । मुग्लिङ पुगेर खाना खायौं । थपेर दालभात, तीन टुक्रा लोकल कुख्राको खास्सा मासु र एक चम्चा घिउको जम्मा ९ रुपैयाँ दाम थियो । डुम्रे पुगेपछि बस रोकियो । अब आ-आफ्नो नाम्लो लिएर भारी उठायौं । त्यो बेला दिनको ३० रुपैयाँ ज्याला थियो, कुल्लीको । आफ्नो ज्यालाबाटै खाना स्वयं व्यवस्था गर्नु पर्थ्यो । मनाङको चामे पुगेपछि सरदारले हामी केहीलाई फर्काए । कारण, हिउँ परेको थियो, तर मसंग जुत्ता थिएन ।
फर्काइएकामध्ये गोर्खा बारपाकका दुई जना गुरुङ साथी पनि थिए । डुम्रे नजिकै आइपुगेर छुट्टिने पर्यौं । बाटोमा एक जना दिदीले निबुवा बेच्न राखेकी रहिछन् । किनेर खाने भयौं । गुरुङ साथीहरुले निबुवामा चिनी मिसाएर खाउँ, भने । त्यही दिन अमिलो निबुवामा चिनी मिसाएर खाएको मैले, अच्छाकै हुँदो रहेछ । अन्यथा नुन खोर्सानी मिसाएर खाने गरिन्थ्यो ।
काठमाडौं पुगेर ४० रुपैयाँमा चिनियाँ जुत्ता किनें । अर्को पटक भारी बोकेर फेरि त्यही मनाङतर्फको ट्रेकिङमा लागियो । थोरोङपास १९ हजार फिट उच्चाइको भन्ने थियो । ट्रेकिङ मजदुरीको जीवनमा १९ हजार फिटको थोरोङपास १९ पटक पार गरियो । मनाङतर्फ मर्स्यान्दीको गहिरो खोंच हुनाले अँध्यारो लाग्ने, जब जोमसोमतर्फ झरिन्छ, छ्याङ्ग उज्यालो अनुभव हुने । यसरी अन्नपूर्ण परिपथ, मकालु, लाङ्टाङ-गोसाइँकुण्ड, हेलम्बु, भैरवकुण्ड क्षेत्र गरेर करिव पाँच बर्ष हिमाली पर्यटन मजदुरी गरियो । भरियाबाट सुरु भएको सेवा किचेन ब्वाई र शेर्पा गाईडको तहसम्म पुगिएको थियो ।
त्यो बेला ट्रेकिङ सेवामा सतप्रतिशत शेर्पा प्रभूत्व थियो । उच्चहिमाली बसोबास र तेन्जिङ नोर्गे शेर्पाको वहादुरीले त्यो स्वभाविक पनि थियो । अट्ठाईस सालको अनिकाल जस्तै दु:खसाथ भन्नुपर्छ, पहाडी जन्मका राईकिरातीका निम्ति कुनै आधुनिक पेसा हुँदैनथ्यो । कि परम्पतागत कृषि कि त अन्य कुनै जातिको कठोर मातहत खट्नु पर्थ्यो ।
क्रान्तिकारी बन्ने अठोट: सिम्मा गीति नाटक, फूल बेच्ने केटी र माओको घर
पहिलो पटक यलाखोम पुग्दा साइँली नानाले गोर्खा भर्तीमा प्रयास गर्न भन्नुभएको थियो । दुधकोशी पूर्व सोलुखुम्बूका कोही पनि आधुनिक बेलायती सेनाका मानिस थिएनन, दुधकोशी पश्चिमका चाहिँ काफी रहेछन् । अर्को, भेनाजूको घर खोटाङ हुनाले खोटाङ-भोजपुरका राईहरु प्रशस्तै लाहुरे रहेछन् । राजधानी वृत्तमा त्यो बेला लाहुरेको जीवन उच्च सम्मानित थियो । घर व्यवहारको चरम अभावले म पनि लाहुर जाने दौडमा लागें । अब मेरो भाइ गरिखाने हुने भयो, भनेर नानाहरु प्रफुल्लित थिए ।
२०४० मंसीरको कुरा हो, भेनाजूले एउटा किताव पढ्न दिनु भयो । शीर्षक थियो- सिम्मा गीति नाटक । अत्यन्त गरिव डेङ्सु श्रीमती सिम्मालाई छाप्रो घरमा छोडेर लाहुर जान्छन् । आठ बर्षसम्म पनि घर फर्केर आउदैनन् । यता मुखियाले सिम्माको इज्जत लुट्छ, छाप्रो घर पनि कब्जा गर्छ । नाटकको यो कथाले मन भाँडियो । मेरो त विहे भएको थिएन । तर, बहिनी सावित्रीको चिन्ता लाग्यो । किस्नेका गुण्डाहरुको रगरगीले गम्भीर चिन्तामा पार्यो । लाग्न थाल्यो, विदेशी सरकारको सिंपाही बनेपछि त्यसरी नै बर्षौं छुट्टी दिएन, तर बहिनीको जिन्दगीमा खेलबाड भयो भने बाँचेको पनि बेकार हुनेछ !
भेनाजूलाई सोधियो, के यो साच्चै हो? जवाफ थियो, यो किताब लेख्ने मानिसले साँचो कुरा मात्र लेख्छ ।
भनियो, यस्तै हो भने लाहुर नजाने । तर, ज्यादै गरिव र टुहुरा भइयो । जीवनमा केही त गर्नैपर्छ मैले । लाहुर नगएर अरु गरौं त? भेनाजूको जवाफ थियो, देश र जनताको लागि क्रान्ति गर्नु पर्छ !
पहिलो पटक क्रान्ति शब्द सुनेको मैले त्यही हो । फेरि सोधें- क्रान्तिले के गर्छ? भेनाजूले भन्नुभयो, क्रान्तिले शोषकलाई मास्छ र गरिवको राज्य बनाउछ ! चित्त बुझ्यो र अब मैले क्रान्तिमा लाग्ने अठोट गरें ।
लगत्तै भेनाजूले अर्को पुस्तक दिनु भयो । त्यो थियो- फूल बेच्ने केटी । किशोरी प्रधान कोरियाली नाटक थियो त्यो । क्रान्तिकारी दाजू र ज्येष्ठ आमाको परिवारकी ती किशोरीले अदम्य कष्ट उठाएकी कथाले मलाई निक्कै प्रेरित गर्यो ।
लगत्तै दारीवाल बुढाको सानो पुस्तक पढें । त्यो कार्ल मार्क्सको पुस्तक रहेछ । त्यसमा भनिएको एउटा कुरा बुझें मैले । भनिएको थियो- व्यक्ति धनी भएर समाज धनी हुँदैन, समाज धनी भएमा व्यक्ति स्वत: बन्छ ।
क्रमश: तारे टोपीवाला माओ त्सेतुङको जीवनी रहेछ, पढियो । क्रान्तिकारी माओ घर छोडेको २५ बर्षमा गाउँ पुगे । गाउँ पुग्दा उनको घरको अवशेष समेत थिएन । उनले चिन्न सक्ने गाउँलेहरु कोही थिएनन् , उनलाई चिन्न सक्ने गाउँलेहरु पनि कोही थिएनन् ।
उपरोक्त चारवटा पुस्तक पढ्दा पहिलोले मलाई देशभक्त बनायो, दोस्रोले मेरो पुरुष भावना जागृत गरायो । किनकि, ती कोरियाली किशोरी छोरी मान्छे थिइन् । छोरी मान्छेले त त्यत्रो संघर्ष गर्न सक्छिन् भने म त छोरा मान्छे पो हुँ, भन्ने पार्यो । तेस्रोले समाजलाई धनी तुल्याएर आफ्नी आमा, बहिनी र भाइलाई समेत धनी बनाउने उद्देश्य जगायो भने चौथोले चाहिँ क्रान्तिकारी त्यागको शिक्षा दिलायो ।
वर्गीय चेतबाट यसरी मैले मंसीर २०४० देखि क्रान्तिकारी राजनीतिमा प्रवेशको निर्णय लिन पुगें ।
भेनाजू तत्कालीन निर्मल लामा समुहको पार्टी सदस्य हुनुहुँदो रहेछ । जसले, गोर्खा भर्ती बहिस्कारको आन्दोलन गरिरहेको थिएछ । तर, लगत्तै भेनाजू टेम्मा जानू भयो । सघन वस्तीको टेम्मा गाउँ, जसमा निम्नमाध्यामिक विध्यालयलाई प्रस्तावित माध्यामिक विध्यालयमा उठाउने गाउँले योजना भएछ । प्रधानअध्यापक कसलाई भन्दा टेम्माको पहिलो स्नातक हरिनारायण राईलाई भन्नेमा गाउँले जनताको एक मत बनेछ ।
त्यसरी भेनाजूले संगठित चाहिँ गर्दिनु भएन । आफै संगठन खोज्दा बाउन्न ठक्कर भोगियो । फेरि पनि द्वन्दवादको करामत मान्नुपर्छ, स्वतन्त्र ढंगले वैचारिक विकास गर्ने अवसर चाहिँ मजैले पाइयो ।
सिम्मा गीति नाटकका रचनाकार दाजू रायनप्रति आभार छ । जो संग २०६५ मा मन्त्री बनेपछि मात्र मैले भेट्ने अवसर पाएँ ।
"जंगली स्वाँठे" कविता र जातीय सवाल
हतुवा, भोजपुरका घल राई कोङ्पी मासिक प्रकाशन गर्दा रहेछन् । २०४४ सालको कुरा हो, त्यस प्रकाशनमा उहाँको विस्तृत लेख रहेछ । शीर्षक थियो- नेपालमा आदिवासीहरुको अँध्यारो यात्रा । लेखमा राममणि आदी (आचार्यदीक्षित) रचित "भलो कुराको नमूना" शीर्षक कविताङ्श उद्धृत थियो । त्यो थियो:
जंगली स्वाँठे पाखे भुसतिघ्रे भुसतिघ्रे डोके खर्पनेको देश हो नेपाल
भगवान यिनीहरुलाई यस्तै रहन देऊ
यिनीहरु शिक्षित भए हाम्रो सिरिखुरी कहाँ जाला?
मन्त्रीमण्डल जोड्दा बाहुनक्षेत्री लिनु
त्यो पनि उच्चकुलको
मतवाली कोही नहुल्नू ।
राणाकालीन गोर्खा भाषा प्रकाशिनीका अध्यक्ष राममणि आदी रचित खतर्णाक "भलो कुराको नमूना" कविता संग्रह, जसको विमोचन २००८ मा प्रजातान्त्रिक सरकारका प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले गरेका रहेछन्, पढेपछि गम्भीर जातीय अपमान बोध गरियो । त्यस अघि २०४३ मा पारुहाङ मासिकका सम्पादक तीलक चाम्लिङसंग भेट भएर आक्रामक छलफल गर्दा जातीय सवालमा मैले सहमति जनाउन सकिनँ । पहिलो कुरा, मलाई जातीय सवालवारे ठोस कारण बोध थिएन र दोस्रो, भन्ने मानिसको शैली र व्यवहार पनि प्रभावकारी रहेन । यध्यपि पारुहाङ मासिक मार्फत नै मैले जननायक रामप्रसाद राईको क्रान्तिकारी योगदानवारे पहिलो जानकारी प्राप्त गरेको थिएँ ।
राज्यका जिम्मेवार व्यक्ति राममणि आचार्य र अर्का प्रधानमन्त्री कोइरालाले आदिवासीलाई त्यसरी अपमान र निषेध गर्ने?
घल राईको उपरोक्त लेख पढेपछि एकीन गरियो, अब जातीय सवाल छोड्न सकिन्न । किनभने, अहं प्रश्न कि राज्यका जिम्मेवार व्यक्ति राममणि आचार्य र अर्का प्रधानमन्त्री कोइरालाले आदिवासीलाई त्यसरी अपमान र निषेध गर्ने?
यसरी वर्गीय उत्पीडन विरुद्वको प्रतिरोध चेतनाले आफ्नो राजनीतिक जीवन प्रारम्भ गरियो भने जातीय उत्पीडन विरुद्वको प्रतिरोध चेतनाले त्यसमा अर्को फड्को मार्यो । वर्गीय र जातीय मुक्ति आन्दोलन समायोजन नीति उहिल्यै लेनिनले विकास गरेका रहेछन् । प्रकाश पारिदिने कोही नहुँदा कठिनाई भोग्दै अनुभवशिद्व ज्ञानमा समायोजनको कार्यदिशा यसरी निर्माण गर्न पुगियो र सो बमोजिम हामीले आफ्नो वैचारिक-राजनीतिक मार्ग निर्धारण गर्यौं ।
यो पनि स्मरणयोग्य नै हुनेछ कि प्रथम संविधानसभा, राज्यपुन:संरचना समितिको बैठकमा उक्त जंगली स्वाँठे कविताङ्शलाई मैले तीन पटक उद्धृत गरें । जसको कारणले नेपालमा राज्यपुन:संरचना गर्नु परेको हो, भन्नेमा दृढ अडान राखेँ ।
* * *
२०४४ मंसीरमा मकालु हिमाल आरोहण दलमा समावेश-अवसर मिल्यो । हिउँदे आरोहण यात्रा अत्यन्त कठोर । यध्यपि मेरो जिम्मेवारी प्रथम क्याम्पसम्म जानका लागि मात्र थियो । पोल्याण्डका पोलिशहरु आरोही थिए । जान्ने पल्टेर तिनले प्रथम क्याम्प भन्दा माथि नेपाली कामदारलाई लगेनन् । त्यसैको परिणाम हुनुपर्छ, तीन महिनाको प्रयासमा पनि तिनले आरोहण सफल गर्न सकेनन् ।
फर्केर फागुनको पहिलो हप्ता काठमाडौं पुगियो । ट्रेकिङ मजदुरीमा मैले अलिक बढी कमाएको त्यही समय थियो । विडम्बना भन्नुपर्छ, घर व्यवहारप्रति निर्मम बनेर मैले एक भारी किताव किनें । निरञ्जन बैध्यको प्रगति पुस्तक भण्डार, असनमा गएर ६ हजार रुपैयाँको पुस्तक किनेर ल्याएँ, जुन एक रिक्सा थियो । केही हिन्दी, केही नेपाली तथा उप्रान्त अनुदित पुस्तकहरु थिए । ल्याएर फागुनदेखि असारसम्म ५ महिना पढें ।
पुस्तक माग्दा नै निरञ्जन कमरेडलाई भनियो, क्रान्तिकारी बौद्विकताको निम्ति अध्ययन सामग्री चाहियो । तत्कालमा घरव्यवहारप्रति न्याय गर्न नसकेको भए पनि आज मेरो वैचारिक-राजनीतिक जीवन जहाँसम्म पुगेको छ, मुख्यत: त्यही अध्ययनको सैद्वान्तिक जगमा हो ।
त्यसरी गरिएको कमाई सोताङ, गोम्दोका एक जना बस्नेतले २ हजार रुपैयाँ र नेचा, फुर्केका एक जना राईले १२ सय रुपैयाँ सापटी चलाएका थिए । त्यो फिर्ताबाट घर खर्च सोंच राखेको थिएँ । तर, आजसम्म फिर्ता आएको छैन ।
आमाको निधन र जनआन्दोलन २०४६
कात्तिक २०४५ मा गाउँ पुगेको थिएँ । भोलि गाउँ पञ्चभेला रहेछ । साथीहरुले भनेपछि भेटघाटका निम्ति भनेर हामीहरु त्यता लाग्यौं । महिला अध्यक्षको हैसियतमा बहिनी सावित्री मञ्चमा थिइन् । हामी जनता मात्र थियौं, सबै भन्दा पछाडिको लहरमा बस्यौ ।
अन्तिम वक्ताको रुपमा मन्तव्यका निम्ति मलाई बोलाए । छक्क परियो र भनियो, मेरो भन्नुकेही छैन । प्रधानपञ्च, उपप्रधानपञ्चले कर गरेर बोलाए । भन्ने कुरै छैन, भनेर दोहर्याइयो । तिनै कृष्णवहादुर बस्नेतले भने, भर्खरै काठमाडौंबाट आएका छौ । त्यताको कुरा बोल्दिए हामीलाई त गज्जबै हुन्थ्यो । मैले सोधें, काठमाडौंको कुरा बोल्दा हुन्छ? उनीहरुले भने, गज्जब हुन्छ !
लौ भनेर मञ्चमा गइयो र मौकाको फाईदा उठाउदै निर्दलीय पञ्चायत तथा राजतन्त्रको भण्डाफोरमा काठमाडौंको गज्जब कुरा बोलियो । यत्ति लामो बोलियो कि जबरजस्ति रात पारियो । त्यहाँ ९ जना प्रहरी थिए । बोलिसक्ने बित्तिकै आफ्नो झोला टिपेर फटाफट बाटो लागें म ।
लगत्तै नेचा गएँ, त्यही मोरासंग १२ सय रुपैयाँ फिर्ता लिन भनेर । उता जिल्ला प्रशासन कार्यालयमा उजुरी गरिसकेका रहेछन् । एक जना जैंशी आएर निहुँ खोज्न थाले । उठेर गएका थिए, प्रहरी लिएर आए । नेचा प्रहरी चौकीका जीतवहादुर राईले मलाई गिरफ्तार गरे । सारा बजार मलाई हेर्न धुरिए । त्यसमध्ये काठमाडौंमा अध्ययनरत आरके प्रोचाले मलाई छुटाउन प्रहरीसंग निकै मुकाविला गरे । मैले भनें- किन गिरफ्तार गरेको हो, मैले पनि जान्नु छ । तपाइँहरु आ-आफ्नो काममा लाग्नु होस् !
त्यसपछि जनता आ-आफ्नो कामतिर लागे । भोलि विहान मलाई जिल्ला प्रहरी कार्यालय, सल्लेरी लगियो ।
हिराशतमा थुनिएको ५५ दिन पुग्यो । मैले प्रहरी निरीक्षकसंग भेट्न माग गरें । जुँगा मुठे महेन्द्र थापा जिल्ला प्रहरी प्रमुख थिए, ती संखुवासभाका हुन भन्ने बुझियो । उनले सोधे, किन भेट्न खोजेको? मैले बताएँ, ऐनको व्यवस्था अनुसार ३५ दिन भन्दा बढी तपाइँले थुन्न पाउनु हुन्न । म यहाँ बसेको ५५ दिन भयो । के हो यस्तो?
निरीक्षकले भने- हेर भाइ मेरो अधिकार क्षेत्र भनेको पक्डेर ले भनेपछि ल्याउने, छोड्दे भनेपछि छोड्ने अनि जेल पठा भनेपछि पठाउने हो । माथिबाट केही भनेका छैनन् । के गरौं त म?
ऐनको कुरा दोहर्याउदा निरीक्षक बोलेनन् ।
एक्छिनमा उनले सोधे, हिराशतमा बसी राख्दा के भयो? मैले भनें- पहिलो कुरा ऐन विपरीत भइरहेको छ र दोस्रो, मलाई दिक्क लागिरहेको छ !
निरीक्षक थापाले भने- त्यसो हो भने तिमी सधैं यहाँ थुनिने होइन, ढिलो छिटो निक्लन्छौ । दिक्क मानेर हुँदैन । निक्लेपछि के गर्ने हो, त्यो विचार गरेर बस !
तुरुन्तै निरीक्षक थापा बोले, नेता हुने भनेको होइन? जवाफ गरियो, हो ।
निरीक्षक थापाले भने- त्यसो हो भने तिमी सधैं यहाँ थुनिने होइन, ढिलो छिटो निक्लन्छौ । दिक्क मानेर हुँदैन । निक्लेपछि के गर्ने हो, त्यो विचार गरेर बस !
थापाको कुराले निक्कै प्रेरित गर्यो र बल्ल सोंचियो कि सादा जीवन, उच्च विचार थुनामै गर्नुपर्छ !
सल्लेरीबाट ८३ दिनपछि मलाई राजविराज कारागार पठाइयो । कारण, सगरमाथा अञ्चल कारागार राजविराजमा थियो । कार्की थरका सहायक निरीक्षक, सुवेदी थरका छुद्र हवल्दार र मगर थरका दुई जना सिंपाहीसहितले मलाई दाहिने हातमा हथकडी ठोकेर हिँडाए । सल्लेरीको दोर्पु बजारभरि रमिता हेर्नेको ओइरो थियो । हिंडेको दिन ओखलढुंगा पुगियो । त्यसको भोलि मोलुङ-हर्कपुर इत्यादि हुँदै कटारी पुगियो । अन्तमा कटारीबाट खटरा बस चढेर रुपनी हुँदै राजविराज पुगियो ।
१० महिनापछि तारेखमा छोडे । मावाली गाउँ, भेनाजूको घर हुँदै हुलु पुगियो । भेट्ने बित्तिकै मेरो गाला छाम्दै आमाले सोध्नु भयो- कान्छा, तलाइँ कुट्न त कुटेन नि होइन? मेरो आँखाभरि आँसु रसाए ।
केही पुराना ऋण तिर्न र बेकारमा पुस्तक छपाइको लाल्साले गर्दा जग्गा बेचियो । घरमुनीको दुई गरा र मदासा बारी बेचियो । कान्छा सन्तान मूलघरमा बस्ने र अरु सन्तान छुट्टिएर सर्ने प्रचलन अनुसार हाम्रो पापाको घरबारी मूलघरमा पर्दथ्यो । हाम्रो घरबारी दुई गराको थियो, जसमा ६ माना मकैको वीऊ जान्थ्यो । घरबारी, मदासाको पुच्छर भाग, सबोलीखर्क चाहिँ भाइ-बहिनीको लागि सुरक्षित राखेर अरु बारी बेचियो । चारैतिर जंगलले घेरिएको मदासा बारीमा अन्न राम्रै फल्थ्यो, तर ढेंडु र बाँदरले जहिल्यै सताउने । परिणाममा, मदासाको कमाइको भरोसा हुँदैनथ्यो ।
आमासंग फेरि यलाखोमतर्फ लाग्यौं । आमा भनिरहनु हुन्थ्यो- तेरो दाजू पर्सादेलाई विदा गरेको ठाउमै मर्नु मन छ । त्यतै व्यवस्था गर्दै है कान्छा मलाई पनि !
सुन्नमा साह्रै नमिठो लाग्ने, तर आमाको इच्छालाई ध्यानमा राख्न एक्दम जरुरी थियो । हुलुदेखि जिरीसम्म हिंड्यौं र यलाखोम नानाहरु कहाँ पुगेर बस्यौं ।
परिवारमा साइँला थिएँ म । फेरि पनि घरमा मलाई कान्छा र भाइलाई सानो कान्छा भनिन्थ्यो । गाउँमा अधिकाङ्शले कान्छा र केहीले साइँला भन्ने गर्थे । यसरी आमा र नानाहरुले कान्छा नै भन्ने गर्थे मलाई ।
* * *
पहिला लाहुर नगएकोमा नानाहरुको गम्भीर आपत्ति हुने नै भयो । २०४६ असोज महिना हो, साइँली नानाले गोर्खा घर भएका ब्रायन घले नामको दाजूसंग भेट गराउदै भन्नुभयो- हेर राजनीति गर, तर बस्ने र खाने बन्दोबस्त गरेर गर । नभए भोकैले मर्छस् अनि कसरी राजनीति गर्छस्? त्यसको लागि म ३ लाख रुपैयाँ खोजेर लगाइदिन्छु । कमाएर तिर्लास् ।
घले दाजू बोल्नु भयो- अमेरिकाको सिकागोमा जानुपर्छ । ३० महिना काम गर्नुपर्छ । काम पानी जहाजको सहायक हो । महिनाको २५ सय डलर तलब हुन्छ । खाना त्यहिँ मिल्छ । जिन्स कपडा लगाउदा ३ बर्षसम्म पुगिहाल्छ । पौडी खेल्ने र अंग्रेजी भाषा अलिक सिक्नुस् । राहदानी तयार गर्नुस, आउने जनवरीमा पठाइदिन्छु ।
‘‘हेर राजनीति गर, तर बस्ने र खाने बन्दोबस्त गरेर गर । नभए भोकैले मर्छस् अनि कसरी राजनीति गर्छस्? त्यसको लागि म ३ लाख रुपैयाँ खोजेर लगाइदिन्छु । कमाएर तिर्लास् ।’’
ट्रेकिङ मजदुरी गरिएकोले व्यवहारिक अंग्रेजी बोल्न राम्रै आउथ्यो । पौडी खेल्न बालाजुतिर लाग्ने गरियो । राहदानी बनाउन जिल्लामा जाने सोंचिदैथ्यो, अचानक जनआन्दोलन हुने चर्चाहरु सुनिए । जनआन्दोलन ! उतातिर अब दिमागले काम गर्न छाड्यो । घले दाजूसंगको सम्पर्क विच्छेद गरियो ।
"युगआव्हान साप्ताहिक" प्रकाशनमा पनि लाग्यौं- सुरेश सम्पादक, जगन प्रकाशक र गोपाल व्यवस्थापक हुनेगरी । तर, ललितपुर जिल्ला प्रशासन अधिकारी प्रेमकुमार बान्तवाले प्रकाशन दर्तामा साथ दिएनन् ।
त्यो बेला सेतामगुरालीको खुब चर्चा थियो । खोजी गर्यौं, तर कोही कतै भेटेनौ ।
खोटाङका सुरेश चाम्लिङ र भोजपुरका जगन किरातसंग हामी घनिष्ठ साथी थियौं । तीन जना दौडी हिंड्दा कसैले हामीलाई त्रीवेणी समूह भनी नाम दिएका थिए । "युगआव्हान साप्ताहिक" प्रकाशनमा पनि लाग्यौं- सुरेश सम्पादक, जगन प्रकाशक र गोपाल व्यवस्थापक हुनेगरी । तर, ललितपुर जिल्ला प्रशासन अधिकारी प्रेमकुमार बान्तवाले प्रकाशन दर्तामा साथ दिएनन् ।
कोही कतै नभेटिएपछि सेतामगुरालीको जिम्मा हामीले नै लिनेमा पुग्यौं । आफ्नो वृत्तमा जगजगी तुल्यायौं । जसमा पत्रकार दाजू हरिबङ्श किरातको उल्लेखनीय सहयोग रह्यो । २०४६ माघ महिनामा एउटा पर्चा सोंचियो । मैले मस्यौदा गरें र तीन जना बसेर परिमार्जन गर्यौ । माघ अन्ततिर छपाइयो । एउटा साइकल थियो मसंग, ८ सयमा किनेको । ३८० रुपैयाँमा त्यही साइकल बेचेर प्रेसबाट पर्चा निकालियो । राजधानीमा वितरण गरियो । फागुन ५ गते पर्चा लिएर झापातिर जाने भएँ म । किनभने, फागुन ७ गते गणेशमान शिंहको घरमा जनआन्दोलन घोषणासभा थियो । त्यस दिन व्यवस्था विरोधीहरु राजधानी आउने हुन्थ्यो । आउनेप्रति प्रशासनको ध्यान केन्द्रित हुने हुनाले त्यही मौकामा पर्चा लिएर बाहिर जाने मेरो योजना बन्यो । रानीपोखरी बसपार्कमा मलाई विदा गर्न दाजू हरिबङ्श र जगनजी आएका थिए । छुट्ने बेला हरिबङ्श दाजूले भनेको सम्झना छ, भाइ फर्केर त आउनु होला?
कोही कतै नभेटिएपछि सेतामगुरालीको जिम्मा हामीले नै लिनेमा पुग्यौं । २०४६ माघ महिनामा एउटा पर्चा सोंचियो । एउटा साइकल थियो मसंग, ८ सयमा किनेको । ३८० रुपैयाँमा त्यही साइकल बेचेर प्रेसबाट पर्चा निकालियो ।
झापा, ईलाम बजार, जितपुर-महमाई हुँदै बेलबारी तथा धरानमा पर्याप्त पर्चा वितरण गरियो । त्यता पर्चा वितरणको आशय झापा विद्रोह र रत्न बान्तवा सहादतको कारण थियो, जसले गर्दा त्यस क्षेत्रका मानिस जातीय सवालवारे सचेत रहुन् भन्ने अपेक्षा प्रमुख थियो ।
फागुन १९ गते विहानै म सुन्धारा बसपार्कमा ओर्लिए । रिक्सा चढेर लाजिम्पाट पुगे, जगनजीको डेरामा । ढोका खोल्दै जगनजीले भने- गोपालजी, अस्ति १३ गते तपाइँको आमा बित्नु भयो ।
भौतिकवादी क्रान्तिकारी बनिरहेको म बाहिर देखिने अर्थमा रोइनँ । तर, विस्तारै जगनजीले कुरा काटेछन्- के अचम्म हो, आमा मरेको खबर सुन्दा पनि गोपालजी रोएनन् !
मेरो आमा? मनमा धक्का लाग्यो । थचक्कै कुर्सीमा बसें । एक घण्टा जत्ति नबोली बसें, आमाप्रति मनमनै श्रद्वाञ्जलि अर्पण गर्दै । काठमाडौंमा जुन दिन १३ गते आमा बित्नु भएछ, त्यस दिन म महमाई हुँदै चुलाचुलीको बाटो गीत गाउदै ओरालो दमक झरिरहेको थिएँ । अर्को घटना सम्झिएँ, धुम्बाराही माईली नानाको डेरामा आमा हुनुहुन्थ्यो । फागुन ५ गते आमासंग बिदा मागेर झोला बोक्दै नानाको डेराबाट म हिंडे । पर पुगेर डेरातिर फर्केर हेर्दा बाहिर निस्केर आमाले मलाई हेरिरहनु भएको थियो । मैले पनि आमालाई हेरें । आँपको फेदमा पहिलो पटक देखेको आमा धुम्बाराहीमा त्यसरी अन्तिम पटक देखेपछि मैले फेरि कहिल्यै देख्न नसक्ने भएँ, आमालाई ।
भौतिकवादी क्रान्तिकारी बनिरहेको म बाहिर देखिने अर्थमा रोइनँ । तर, विस्तारै जगनजीले कुरा काटेछन्- के अचम्म हो, आमा मरेको खबर सुन्दा पनि गोपालजी रोएनन् !
भेटमा मैले स्पट पारे- साथी, म राजनीतिक कार्यकर्ता हुँ । तपाइँका पनि परिवारमा घटना घट्ने नै हुन्छन । त्यो बेला तपाईं अवश्य रुनु हुनेछ । तब तपाइँलाई नरुन मैले आग्रह गर्नु पर्नेछ । तपाइँलाई नरुनोस्, भन्ने नैतिकता आर्जन गर्नका लागि मैले अहिले रुनु भएन नि !
* * *
पर्चामा हामीले आदिवासीको राजनीतिक, आर्थिक, साँस्कृतिक अधिकार एवं धर्मनिरपेक्ष राज्य सुनिश्चितताको माग गरेका थियौं । माग पूरा गर्दा खुलेआम आन्दोलनमा लाग्न सकिने हाम्रो भनाई थियो । तर, नेपाली कांग्रेस र वाम मोर्चाले हाम्रो माग किन पो सुनुवाई गर्थे र !
हामी सडकमा खटेका थिएनौं । अचानक मरिचमान शिंहलाई हटाएर दरबारले लोकेन्द्रवहादुर चन्दलाई प्रधानमन्त्री बनाएछ । हाम्रो मागकावीच पनि जनआन्दोलन सफल हुनुपर्छ, भन्ने हामीहरुको चाहना थियो । अब धैर्यता विथोलियो । "आज बहुदल नल्याई हुन्न" भन्दै चैत २४ गते हाम्रो टोलीका २२ जना युवाहरु सडकमा हाम्फाल्यौं । पाटनदेखि आएको जुलुश शिंहदरबारमा भेटियो । हामीहरु त्यसैमा समाहित बन्यौं । नयाँ सडक, नरदेवी, ठमेल हुँदै जुलुश अघि बढ्यो । चित्ताकर्षक त के भने सडकैभरि जनताले गुलियो मिसाएको पिउने पानी राखेका थिए । पिउदै नारा-जुलुश घन्काउदै अघि बढियो ।
अचानक प्रहरीको ठूलो हुल आए । चौतर्फि लट्ठी बर्साउन थाले । एक्छिन भिडन्त भयो । प्रहरीले लट्ठी मात्र होइन, गोली चलाए । जुलुश पछि हट्यो । टाउकै टाउकोमा लट्ठी बर्षिएको हुनाले उडल्यान्ड होटलको ठिक अगाडि म ढलें ।
निश्चित नेतृत्व थिएन । दरबारतिर जान खोजेको जुलुशलाई प्रहरीले रोके । जुलुश रानीपोखरीतिर मोडियो । टुँडिखेलमा सानो माइकमा कोही बोल्दैथिए । साथीहरु सबै कता हो कता छुट्टियौं अथवा हरायौं । हेर्दा जुलुश घण्टाघरतिर लाग्दै थियो । म पनि त्यतै लागें । उछिन पाछिन गर्दै म अघिल्तिर बढें । त्रीचन्द्र कलेजसम्ममा जुलुशको अगाडि पुगें म । अगाडिपट्टि प्रहरीले लट्ठीको बार लगाएर छेक्ने, पछाडीबाट जुलुशले धकेल्ने । वीचको हामी चेप्टिएर तेल निस्केला जस्तो भइयो । त्यसो गर्दै महेन्द्रको शालिक छेउ पुगियो । जुलुश दरबारतिर हिंडेको हो ।
अचानक प्रहरीको ठूलो हुल आए । चौतर्फि लट्ठी बर्साउन थाले । एक्छिन भिडन्त भयो । प्रहरीले लट्ठी मात्र होइन, गोली चलाए । जुलुश पछि हट्यो । टाउकै टाउकोमा लट्ठी बर्षिएको हुनाले उडल्यान्ड होटलको ठिक अगाडि म ढलें । खैरो जिन्स ज्याकेट र सेतो सर्ट लगाएको थिएँ मैले । टाउकोबाट बगेको रगतको धाराले मेरो सर्ट पुरै रातो बन्यो । अघिसम्म लट्ठीले मात्र हानिरहेका प्रहरीले ढलेपछि बुटैबुटले ठोक्न थाले । मुस्किलले टाउको उठाएर हेर्दा झिलिक्क देखिन्छ, त्यसपछि आँखामा अँध्यारो हुन्छ । टाउकोमा चोट परेपछि त्यस्तो हुँदो रहेछ अथवा आँखा देख्न नसकिँदो रहेछ ।
सडकमा ढलिरहेको आफुमाथि अचानक लट्ठी र बुट बर्सिन छाड्यो । टाउको उठाएर झिलिक्क हेर्दा प्रहरीहरु पछाडितिर भाग्दै रहेछन् । मैले पनि चार पाऊ टेकेर भित्तातिर लम्किएँ । दौडिरहेका एक प्रहरीले मलाई डोर्याउदै संस्कृत छात्रबास नजिक पुर्याइदिए । भित्ता समाउदै म प्रज्ञाभवनतिर लागें । एक जना दिदी देखिइन् । रगताम्य मैले पानी मागें । "प्रहरीले लान सक्छ" भन्दै मलाई ती दिदीले घरभित्र लिएर गइन् । पानी होइन, दिदीले अरु नै पिउने पदार्थ दिइन् । अनुहारभरि चिलचिलाएर हैरान थिएँ म । दिदीले भनिन, अश्रुग्याँस लागेछ यो भाइलाई । प्याज चपाउन लगाए । प्याज चपाउनासाथ स्वाट्टै चिलचिलाउने हरायो ।
एक घण्टा जत्ति त्यहाँ बसियो । अकस्मात मलाई उल्टी आयो । दिदीकी श्रीमानले भाँडा थापिदिए । बेस्सरी उल्टी गरें मैले । त्यो परिवार गान्तोकका भोटिया रहेछ्न, रेष्टुरेन्ट चलाएर बसेका । बाहिर शान्त ठानिएपछि ती भेनाले मलाई मोटरसाईकलमा चढाएर शिक्षण अस्पताल, महाराजगन्ज पुर्याइदिए । अस्पताल जाँदै गर्दाको दृश्य हो, दरबार वरिपरी गोलीगट्ठा भिरेका शाहीसेनाले सघन घेरा हालेर बसेका देखिए ।
केही दिनमा निर्दलको सट्टा बहुदल घोषणा भयो । तर, मलाई चाहिँ खुशी मिलेन । किनकि, त्यो बेला मेरो विचारमा धेरै रगत बगेर ल्याइएको व्यवस्था मात्र जनताको हुन्छ, भन्ने मलाई लाग्दथ्यो ।
जुलुशमा गएका साथीहरुले मलाई खोज्दा-खोज्दा परेशान बनेछन् । महाराजगन्जमा जगनजी आइपुगे । प्रजातन्त्रका लागि घाईतेको नि:शुल्क उपचार थियो । स्वास्थ्यकर्मीले कडा औषधि दिएका थिएछन् । रातीतिर व्युँझदा मलाई अचाक्ली उल्टी आउन खोजिरहेको थियो । जगनजीलाई भनें र चर्पितिर गयौं । उल्टी गरें । छक्कै पर्नु, एक बित्ताको मरेको जुका मुखबाट निक्ल्यो । अर्को फेरि बटारिँदै निक्ल्यो । सम्झँदा पनि यत्ति घिन लाग्दो कि शब्दमा कहनै सकिन्न । खुशी नै लाग्यो कि जनआन्दोलनको पिटाईले मेरो पेटको रोग निर्मुल पनि गर्यो ।
केही दिनमा निर्दलको सट्टा बहुदल घोषणा भयो । तर, मलाई चाहिँ खुशी मिलेन । किनकि, त्यो बेला मेरो विचारमा धेरै रगत बगेर ल्याइएको व्यवस्था मात्र जनताको हुन्छ, भन्ने मलाई लाग्दथ्यो । दुनियाँको इतिहास पढेर मैले बुझेको त्यही थियो । यध्यपि निर्दलको सट्टा बहुदल निश्चय नै प्रगतिशील थियो ।
क्रमश: "जनआन्दोलन २०४६ र सहिदहरु" शीर्षकको पुस्तक बजारमा आयो । त्यसमा घाईतेको सूचिमा मेरो नाम पनि लेखिएको थियो । पछि पो बुझियो, दरबारमार्गको त्यस भिडन्तमा अरु ६ जना आन्दोलनकारी साथीहरु मारिएछन् । आफू चाहिँ जुका छाद्नेसम्मको घाईते मात्र भइयो । समाज परिवर्तनको अग्रगामी यात्रा जारी राखियो ।
(क्रमश:)
प्रतिक्रिया