विश्वका महिलाहरूको भोट दिने र चुनिने हकको छोटो इतिहास

महिलाहरूले भोट दिने हक पाउनु र चुनावमा खडा हुने हक पाउनु महिलाहरूको समतामुखी विकासको निम्ति र नीति निर्णयमा उनीहरूको समान सहभागिताको निम्ति निर्णायक महत्वको सवाल हो । तर यी हक पाउँदैमा महिलाहरू स्वतः नीति निर्णय गर्ने प्रमुख ठाउँहरूमा चुनिएर पुगिहाल्छन् भन्ने कुरा हुँदोरहेनछ । न त उनीहरू यो हक अभ्यास गर्न समर्थ हुन्छन् भन्ने कुराकै ठेगान हुँदो रहेछ ।
महिलाहरू पनि पुरुषसरह समान हक र हैसियत राख्ने नागरिक हुन् कि होइनन् ?
यतिखेर त सारा संसारले भन्दछन्, अवश्य हुन् ।
अहिले त्यसैको परिचायकको रूपमा विश्वका सबैजसो भागमा महिलाहरूले पुरुषसरह चुनावमा भोट दिन र उम्मेदवारका रूपमा खडा हुने अधिकार पाएका छन् । त्यो प्रजातन्त्रलाई अर्ध-प्रजातन्त्र मानिन्छ, जहाँ महिलाहरूको चुन्ने र चुनिने हक छैन । महिलाहरू पनि पुरुषसरहका नागरिक हुन् भने भोट दिनु र चुनावमा भाग लिन पाउनु उनीहरूको आधारभूत नागरिक अधिकार हो ।
तर महिलाहरूले यो अधिकार सयौं वर्ष लामो संघर्षपछि मात्र प्राप्त गरेका हुन् । सन् १८९० को दशक अगाडिसम्म विश्वका कुनै पनि मुलुकमा महिलाहरूलाई भोट दिने र चुनावमा खडा हुने हक उपलब्ध थिएन । न्यूजिलैण्ड विश्वको पहिलो मुलुक थियो, जहाँका महिलाहरूले सन् १८९३ मा मानव इतिहासमा पहिलो पटक राष्ट्रिय स्तरको चुनावमा भोट दिने अधिकार पाएका थिए । तथापि, उनीहरूलाई चुनावमा खडा हुने हक भने त्यतिखेर पनि उपलब्ध थिएन । यो सन् १९१९ गएर मात्र उपलब्ध भएको थियो ।
महिलाहरूलाई भोट दिने र चुनावमा खडा हुने हक प्रदान गर्ने दोश्रो राष्ट्र अष्ट्रेलिया थियो । त्यसले सन् १९०२ मा यी दुवै हक एकैचोटि महिलाहरूलाई प्रदान गरेको थियो । त्यसपछि स्केण्डिनेभियन मुलुकहरूले आफ्ना देशको आधा आकाशलाई यो अधिकारले लैश गरेका थिए । नामै लिएरभन्दा ती मुलुक फिनल्याण्ड, नर्वे र डेनमार्क हुन् । फिनल्याण्डले १९०६ मा यो दुवै हक महिलाहरूलाई उपलब्ध गराएको थियो । नर्वेले १९०७ मा र आइसलैण्ड र डेनमार्कले १९१५ मा । नर्वेमा त त्यहाँका महिलाहरूले पहिले सन १९०६ मा चुनावमा खडा हुने हक पाए, त्यसको सात वर्षपछि भोट दिने हक ।
सबैभन्दा ठूला र अनि विकसित पूँजीवादी मुलुकहरूमा यो हक महिलाहरूले वीसौं शताब्दीको प्रारम्भिक पच्चीस वर्षमा मात्र प्राप्त गरेका थिए । रूसमा अक्टोबर समाजवादी क्रान्तिले आफ्नो क्रान्तिको पहिलो वर्ष दिनभित्रै सन् १९१८ मा महिलाहरूलाई यो हक प्रदान गयो । त्यसपछि त्यही वर्ष तात्कालीन रूसकै वरपरका छिमेकी राष्ट्रहरू जर्जिया, किर्जिस्तान, इस्टोनिया, लात्भीयामा यो हक महिलाहरूले प्राप्त गरे । यो घटनापछि विश्वका ठूला र अति विकसित पूँजीवादी राष्ट्रहरूले धमाधम यो अधिकार प्रदान गर्न थाले ।
त्यही वर्ष, जर्मनी र अस्ट्रियाले आफ्ना देशका महिलाहरूलाई भोट दिने र चुनिने हक प्रदान गरे । क्यानाडाले पनि त्यही वर्ष खालि भोट दिने हक मात्र महिलाहरूलाई प्रदान गर्यो र दुई वर्षपछि चुनावमा खडा हुने हक पनि । अमेरिकाले सन् १९२० मा मात्र महिलाहरूलाई भोट दिने हक प्रदान गयो, जबकि त्यहाँ चुनावमा खडा हुने हक सन् १७८८ देखि नै विद्यमान थियो । फ्रान्सका महिलाहरूले भोट दिने र चुनावमा खडा हुने अधिकार प्राप्त गर्न सन् १९४४ सम्म पर्खनु पयो । अझ, स्विट्जरलैण्डका महिलाहरूले त सन् १९७१ मा मात्र भोट दिने र चुनिने हक प्राप्त गरेका थिए । यता एशियाको कुरा गरौं । चीनमा त्यहाँ क्रान्ति संपन्न हुनासाथ सन् १९४९ मा नै महिलाहरूले दुवै हक एकैचोटि बिनासंघर्ष प्राप्त गरे । त्यस्तै, नेपालमा २००७ सालको अधुरो पूँजीवादी प्रजातान्त्रिक क्रान्तिपछि लगत्तै सन् १९५१ मा (अर्थात २००८ सालमा ) महिलाहरूले यी दुवै हक प्राप्त गरे । भारतमा १९४७ मै मुक्ति प्राप्त गरे तापनि सन् १९५० मा गएर मात्र महिलाहरूले यो हक प्राप्त गरे । तर पाकिस्तानले आफू भारतबाट छुट्टिने बित्तिकै सन् १९४७ मा महिलाहरूलाई यो अधिकार उपलब्ध गरायो । श्रीलंकामा भने दक्षिण एशियाली मुलुकहरूमध्ये सबैभन्दा अगाडि, सन् १९३१ मै महिलाहरूलाई यी दुवै हक प्राप्त भइसकेको थियो । भूटानमा भने १९५३ देखि मात्र । उत्तर कोरियाका महिलाहरूले यी हक सन १९४६ अर्थात् क्रान्तिको लगत्तैपछि नै प्राप्त गरे । दक्षिण कोरियाका महिलाहरूले सन् १९४८ मा । जापान विकसित मुलुक भएपनि त्यहाँ दोश्रो विश्वयुद्धपछि सन् १९४७ देखि मात्र महिलाहरूले यी दुवै हक प्राप्त गरे ।
अफ्रिकामा भोट दिने र चुनिन हक धेरैजसो मुलुकमा धेरैपछि उपनिवेशविरोधी मुक्ति आन्दोलनको सफलतापछि मात्र प्राप्त भयो । जस्तो- नामिबियामा सन् १९८९ देखि, इथियोपियामा सन् १९५५ देखि, सुडानमा १९६४ देखि, कंगोमा १९८० देखि । दक्षिण अफ्रिकामा भने सन् १९३० देखि नै यी अधिकार महिलाहरूलाई प्राप्त भएका थिए । ल्याटिन अमेरिकाको केही भागमा एशियामा भन्दा छिटो महिलाहरूले यी हक हासिल गरेका थिए । क्यूबाका महिलाहरूले १९३४ मै मतदान गर्ने अधिकार प्राप्त गरिसकेका थिए र १९४४ मा चुनावमा खडा हुने हक । एल्साल्भाडोरका महिलाले १९३९ मैं भोट दिने हक प्राप्त गरिसकेका थिए, यद्यपि चुनिने हक भने उनीहरूले १९६१ मा गएर मात्र पाए । ग्वाटेमालाका महिलाले १९४६ मै यी दुवै हक प्राप्त गरेका थिए । ब्राजिलका महिलाहरूले सन् १९३४ मै दुवै हक हासिल गरेका थिए अझ, इक्वेडोरका महिलाहरूले त सन् १९८९ मै । अरू थुप्रै ल्याटिन अमेरिकी राष्ट्रहरूको हकमा महिलाहरूले यो हक अफ्रिकी राष्ट्रसरह पछिल्लो चालीस पचास वर्षमा मात्र प्राप्त गरेका हुन् । त्यस्तै, वहुसंख्यक अरब राष्ट्रका महिलाहरूले पनि । महिलाहरूले भोट दिने हक पाउनु र चुनावमा खडा हुने हक पाउनु महिलाहरूको समतामुखी विकासको निम्ति र नीति निर्णयमा उनीहरूको समान सहभागिताको निम्ति निर्णायक महत्वको सवाल हो । तर यी हक पाउँदैमा महिलाहरू स्वतः नीति निर्णय गर्ने प्रमुख ठाउँहरूमा चुनिएर पुगिहाल्छन् भन्ने कुरा हुँदोरहेनछ । न त उनीहरू यो हक अभ्यास गर्न समर्थ हुन्छन् भन्ने कुराकै ठेगान हुँदो रहेछ । अहिले पनि विश्वका संसदहरूमा महिलाहरूको सरदर उपस्थिति १० प्रतिशत मात्रै देखिन्छ । सबैभन्दा विकसित पूँजीवादी राष्ट्रहरूमै १२ प्रतिशतभन्दा ज्यादा सांसदहरू महिला छैनन् । अझ, विश्वका केन्द्रिय मंत्रीपरिषदहरूमा महिलाहरूको सहभागिता ६ प्रतिशत मात्रै देखिन्छ । विश्वको इतिहासमा पहिलो पटक महिलालाई भोट दिने र चुनिने हक प्रदान गर्ने राष्ट्र न्यूजिलैण्डमा यो हक प्रदान गरेको २६ वर्षपछि मात्र खालि एकजना महिला राष्ट्रिय संसदमा चुनिन सकिइन्, दोश्रो राष्ट्र अष्ट्रेलियामा यस्तो हुन ४० वर्ष लाग्यो ।
त्यसैले चुन्ने, चुनिने हक दिँदैमा महिलाहरूले त्यो हक तुरून्तै अभ्यास गर्न सक्छन् भन्ने कुरा सही होइन । महिलाहरूलाई नीति निर्णय गर्ने हरेक ठाउँमा चुन्ने र चुनिने हक चाहिन्छ नै तर त्यसका साथसाथै, महिलाहरूलाई त्यो हक उपभोग गर्ने चौतर्फी अवसर र वातावरणको पनि त्यतिकै जरूरत पर्दछ । विशेष गरी, शिक्षाको अवसर, डक्का पैसा आउने उत्पादनशील रोजगारीको अवसर, घरधन्दाको एकतर्फी जिम्मेवारीबाट मुक्तिः यी तीनवटा कुराको नितान्त जरूरत पर्छ यसको निम्ति । त्यसमाथि थप, बीचको संक्रमणकालीन अवधिमा यति प्रतिशत महिला उम्मेदवार हुनैपर्छ भन्ने कोटा प्रणाली पनि नितान्त जरूरत हुन्छ । अहिले विश्वमा महिलाले चुन्ने चुनिने हक पाएका मुलुकमध्ये स्वेडन, नर्वे र फिनलैण्ड सवैभन्दा अग्रणीमुलुकका रूपमा देखिएका छन् । स्वडेनमा ४० प्रतिशत राष्ट्रिय स्तरका सांसदहरू महिला छन् । नर्वेमा ३६ प्रतिशत र फीनलैण्डमा ३४ प्रतिशत । विश्वमै सबैभन्दा ज्यादा महिला मन्त्रीहरू भएको लैंगिक हिसाबले सन्तुलित मन्त्रीपरिषद नर्वेमा छ, जसमा ४० प्रतिशत मन्त्रीहरू महिला छन ।
विकासशील मुलुकहरूमध्ये संसदमा सवैभन्दा ज्यादा महिला सांसदहरू भएको अग्रणी मुलुक क्यूबा देखिएको छ । त्यसपछिका अग्रणी मुलुकहरू चीन, उत्तर कोरिया र भियतनाम हुन् । संसारको सबैभन्दा विकसित पूंजीवादी मुलुक अमेरिकामा खालि ११ प्रतिशत सांसदहरू मात्र महिला छन् । तर अमेरिकाको नाकाबन्दीले गर्दा हैरान भएको क्यूबामा २७ प्रतिशत सांसदहरू महिला छन् । चीनमा नै अमेरिकाभन्दा झण्डै दोब्बर अर्थात २१ प्रतिशत सांसदहरू महिला छन् । उत्तर कोरियामा २० प्रतिशत र भियतनाममा १८ प्रतिशत सांसद महिला छन् ।
यी मुलुकहरूमा किन यस्तो हुन सक्यो त ?
यसको कारण खोजी हेर्दा माथि भनिएकै कारणले यी मुलुकहरूमा त्यस्तो हुन सकेको देखिन्छ । ती मुलुकले महिलाहरूलाई पुरुषसरह समान राजनैतिक अधिकार मात्र प्रदान गरेनन्, महिलाहरूलाई ती हक उपभोग गर्न चौतर्फी अवसर र वातावरण पनि प्रदान गरे । शिक्षाको पर्याप्त अवसर, डक्का पैसा आउने उत्पादनशील रोजगारीको अवसर, बच्चाको लालन पालन र घरधन्दाको काममा महिलाहरूको मात्र एकलौटी जिम्मेवारीबाट मुक्ति, यी अवसर र वातावरण त्यहाँ महिलाको निम्ति उपलब्ध गराइयो । नर्वेमा त ३० प्रतिशत सीटमा महिलाहरू उठाउनै पर्ने कोटा प्रणाली पनि लागु गरियो । स्वेडनमा बच्चा हेर्न आमाले मात्र होइन, बाबुले पनि तलबी विदा पाउने व्यवस्था त्यहाँ गरियो । क्यूबामा घरधन्दाको काम महिलाले मात्र होइन उत्तिकै रूपमा पुरुषले पनि गर्नैपर्ने कानूनी व्यवस्था गरियो । महिलाहरूको निम्ति गाउँ गाउँसम्म पनि धोबीघर र शिशुशाला वा नर्सरीको व्यवस्था गरियो, ता कि महिलाहरू घर बाहिरको उत्पादनशील काममा वढीभन्दा वढी भाग लिन सकून् । यी र यस्तै अवसर र वातावरणले गर्दा चुनावमा उठ्ने र भोट दिने हक ती मुलुकमा त्यति राम्ररी लागु हुन सकेको देखिएको छ । एउटा गजबको सामञ्जस्य के देखिएको छ भने, संसारमा जुन जुन मुलुकमा समाजवादी सिद्वान्त कुनै न कुनै रूपमा अप्नाइएको पाइएको छ, चाहे समाजवादी जनवादको रूपमा होस् अथवा बचे खुचेको अपभ्रंश समाजवादको रूपमा, महिलाहरूले अधिकारको साथसाथै अवसर पनि ज्यादा पाएका छन् । स्केण्डिनेभियन मुलुकहरू नर्वे. स्वेडन, फिन्लैण्ड, डेन्मार्क र आइसलैण्डमा अप्नाइएको समाजवादी जनवादले महिलाहरूलाई अधिकार मात्र होइन, अधिकतम अवसर पनि प्रदान गरेको छ । त्यसैले त्यहाँका महिलाहरूले त्यति ज्यादा प्रगति गरेका छन् । विकासशील मुलुकहरूमा क्यूबाको समाजवादले छोटो अवधिमै महिलाहरूको विकासको लागि अधिकतम समान अवसर दिएकैले त्यहाँका महिलाहरूले नीति निर्णय गर्ने ठाउँमा पुग्ने मामलामा अमेरिका र जापानलाई समेत टपेका छन् । त्यस्तै उत्तर कोरियाका महिलाहरूले पनि । भूतपूर्व समाजवादी मुलुक भएपनि चीन र भियतनामको विगत समाजवादले नै महिलाहरूलाई राजनीतिमा भाग लिने त्यति ज्यादा अवसर दिएको हो ।
नेपालले भोट दिने हक र चुनावमा खडा हुने हक २००८ सालमै महिलाहरूलाई प्रदान गरिसकेको हो । तर पनि त्यस अनुकूलको पर्याप्त अवसर र वातावरण भने महिलाहरूलाई उपलब्ध नगराइनाले ४७ वर्षपछि पनि राष्ट्रिय राजनीतिमा महिला सहभागिता सारै कम छ । भरखरै आम चुनावको लागि विघटित नेपालको संसदमा खालि २.६ प्रतिशत सांसदहरू मात्र महिला थिए ।
त्यसैले, विश्वका महिलाहरूलाई राष्ट्रको नीति निर्णयमा पुरुषसरह सहभागी गराउने हो भने, भोट दिने र चुनावमा खडा हुने संवैधानिक हक मात्र 'लिखितम'मा दिएर पुग्दैन । त्यो अधिकार उपभोग गर्ने अनुकूल वातावरण र चौतर्फी अवसर पनि महिलाहरूलाई उपलब्ध गराउनु पर्छ । विश्वका अधिकांश मुलुकमा अहिले महिलालाई उपलब्ध नगराइएको कुरा अधिकार होइन, अवसर हो- विकासका लागि समान अवसर, नीति निर्णयमा सहभागिताका लागि समान अवसर, शिक्षाको अवसर र उत्पादनशील रोजगारीको अवसर, घर धन्दाको एकलौटी जिम्मेवारीवाट पुरूष सरह छुट्टी पाउने अवसर ।
अवसरको अभावमा अधिकार बिल्कुलै व्यर्थ अपांग हुने गर्छ, पिंजरा बाहिर आकाशमा उड्ने अवसरको अभाबमा पिंजराको सुगाको पखेटा व्यर्थ भए जस्तो !
सन्दर्भ स्रोतः UNDP, Human Development Report, 1995/1998. News from Cuba, Janaury 1998.6
कुन देशका महिलाले भोट दिने र चुनावमा उठ्ने हक कहिले पाए ?
देश |
भोट दिने हक पाएको |
चुनावमा उठ्ने हक पाएको |
न्यूजिलैण्ड |
सन् १८९३ |
१९१९ |
अष्ट्रेलिया |
१९०२ |
१९०२ |
फिनलैण्ड |
१९०६ |
१९०६ |
नर्वे |
१९१३ |
१९०७ |
डेन्मार्क |
१९१५ |
१९१५ |
आइसलैण्ड |
१९१५ |
१९१५ |
रूस |
१९१८ |
१९१८ |
जर्मनी |
१९१८ |
१९१८ |
क्यानाडा |
१९१८ |
१९१८ |
अष्ट्रिया |
१९१८ |
१९१८ |
पोलैण्ड |
१९१८ |
१९१८ |
जर्जिया |
१९१८ |
१९१८ |
लात्भीया |
१९१८ |
१९१८ |
मंगोलिया |
१९२४ |
१९२४ |
दक्षिण अफ्रिका |
१९३० |
१९३० |
स्पेन |
१९३१ |
१९३१ |
श्रीलंका |
१९३१ |
१९३१ |
क्यूवा |
१९३४ |
१९४४ |
ब्राजिल |
१९३४ |
१९३४ |
एल्साल्भाडोर |
१९३९ |
१९६१ |
फ्रान्स |
१९४४ |
१९४४ |
इटाली |
१९४५ |
१९४५ |
इण्डोनेशिया |
१९४५ |
१९४५ |
उत्तर कोरिया |
१९४६ |
१९४६ |
भियतनाम |
१९४६ |
१९४६ |
पाकिस्तान |
१९४७ |
१९४७ |
जापान |
१९४७ |
१९४७ |
अर्जिन्टिना |
१९४७ |
१९४७ |
सिंगापुर |
१९४७ |
१९४७ |
दक्षिण कोरिया |
१९४८ |
१९४८ |
चीन |
१९४९ |
१९४९ |
भारत |
१९५० |
१९५० |
नेपाल |
१९५१ |
१९५१ |
ग्रीस |
१९५२ |
१९५२ |
सिरिया |
१९५३ |
१९५३ |
भुटान |
१९५३ |
१९५३ |
कम्बोडिया |
१९५५ |
१९५५ |
इथियोपिया |
१९५५ |
१९५५ |
निकारागुवा |
१९५५ |
१९५५ |
इजिप्ट |
१९५६ |
१९५६ |
जिम्बावे |
१९५७ |
१९७८ |
मलेशिया |
१९५७ |
१९५७ |
लाओस |
१९५८ |
१९५८ |
नाइजेरिया |
१९५८ |
१९५८ |
तान्जानिया |
१९५९ |
१९५९ |
इरान |
१९६३ |
१९६३ |
इराक |
१९६४ |
१९६४ |
लिबिया |
१९६४ |
१९६४ |
सुडान |
१९७१ |
१९७१ |
स्वीट्जरलैण्ड |
१९८० |
१९८० |
स्रोत: UNDP, Human Development Report 1998
मूल्यांकन, २०५५ चैतबाट

कुलमान घिसिङको मूल्यांकनमा ‘सरकारी प्रतिशोध’ !

संकटग्रस्त मुलुक, संवेदनशीलता शून्य नेतृत्व!

प्रकृति लम्साल घटनाले उठाएका प्रश्नहरू : शिक्षा, आत्मनिर्भरता र राष्ट्रको भविष्य

निर्णायक मोडमा पुगेको युक्रेन युद्धको गन्तव्य !

‘सामाजिक सञ्जाल नियन्त्रण’ पछाडि लुकेको सत्ताधारीको भयातुर मानसिकता !

सन्दर्भ आशिका तामाङ: जनमत, न्यायको खोजी र राज्यको जीतको अर्थ !

दमन हैन समाधानको बाटो: मुक्कुमलुङ सवालमा जनभावनालाई सम्बोधन गरियोस् !

प्रतिक्रिया