अमेरिकाले थालेको नयाँ व्यापार युद्ध: के हुन सक्छ असर ?

अमेरिकाले फागुन २० गते मंगलबारदेखि आफ्ना छिमेकी देशहरु क्यानडा र मेक्सिकोबाट आयात हुने सामानहरुमा २५ प्रतिशत भन्सार दर लगाएको छ । त्यसैगरी क्यानडाबाट आयात हुने उर्जामा पनि १० प्रतिशत कर लगाएको छ । त्यसैगरी, चीनबाट आयात हुने सामानमा पनि थप १० प्रतिशत भन्सार कर लगाएको छ । प्रतिवादमा क्यानडा, चीन र मेक्सिकोले पनि अमेरिकी सामानहरुमाथि उस्तै तरिकाले भन्सार दर लगाएको छ भने अमेरिकासँग गरिएका कतिपय व्यापर सम्झौताहरुलाई निलम्बन गरेको छ । क्यानडामा अमेरिकी सामानहरुको बिक्री वितरणमा अघोषित/स्वतस्फूर्त प्रतिबन्ध लागेको छ, मेक्सिकोले अमेरिकी नागरिकहरुको निर्वाध प्रवेशमा रोक लगाउँदै भिसा प्रणाली लागू गरेको छ भने चीनले अमेरिकाले थालेको व्यापार युद्ध मात्रै हैन, आफूविरुद्ध गरिने कुनै पनि खालको युद्धको लागि तयार रहेको र त्यसको यथोचित सामना र प्रतिवाद गर्ने चेतावनी दिएको छ । यसरी अब अमेरिका र ती देशहरुबीच नयाँ चरणको व्यापार युद्ध आरम्भ भएको छ ।
डोनाल्ड ट्रम्प दोस्रो पटक राष्ट्रपति निर्वाचित भएपछि उनले ‘पहिले अमेरिका’को नारालाई जोडदार रुपमा कार्यान्वयन गर्न थालेका छन् । अहिले चीन, क्यानडा र मेक्सिकोविरुद्ध चर्को भन्सार दर लागू गर्नुको पछाडि उनले दिएको तर्क छ– अमेरिकालाई फेरि धनी बनाउने र महान बनाउने ! ट्रम्पको भनाइमा केही अवरोधका बाबजूद त्यो शुरु भइसकेको छ !
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोको भनाइमा ‘डोनाल्ड ट्रम्प क्यानडाको अर्थतन्त्रलाई ध्वस्त पार्न चाहन्छ ताकि क्यानडालाई अमेरिकामा गाभ्न सकियोस् !
यो पनि पढ्नुहोस् |
के हुन सक्छ व्यापारयुद्धका असरहरु ?
नयाँ भन्सार दरले अमेरिकाबाट चीन, क्यानडा र मेक्सिकोसँगको व्यापारमा कमी ल्याउन सक्छ। विशेष गरी अमेरिकाले यी देशहरूबाट आयात गर्ने वस्तुहरूको मूल्य बढ्नेछ, जसले उपभोक्ताहरूको लागि मूल्य वृद्धि निम्त्याउन सक्छ।
क्यानडा र मेक्सिकोका निर्यातकर्ताहरूले अमेरिकामा बिक्री गर्न गाह्रो हुनेछ, किनभने २५% भन्सार दरले तिनीहरूको उत्पादन महँगो बन्नेछ। चीनका लागि पनि अब लागू भएको २०% भन्सार दर लागू भएको छ (१०% पहिलेको र १०% थप)ले गरी प्रविधि, इलेक्ट्रोनिक्स र उपभोक्ता वस्तुहरूको अमेरिकामा गरिने निर्यातमा ठूलो असर पर्न सक्छ।
विदेशी प्रतिस्पर्धा कम हुँदा अनपेक्षित रूपमा त्यसको केही लाभ अमेरिकी उद्योगहरूले लिन सक्छन् । तर आपूर्ति श्रृंखलामा कच्चा पदार्थका लागि चीन र अन्य देशहरुमा निर्भर उद्योगहरूको लागत बढ्न सक्छ।
अर्थतन्त्रमा असर
अहिलेको व्यापार युद्ध चर्कँदै जाँदा अमेरिकाको कूल ग्राहस्थ उत्पादनको वृद्धिमा ०.२५ देखि ०.३ प्रतिशत अंकको कमी आउन सक्छ, जसले करिब ४५ देखि ७५ अर्ब डलरको आर्थिक नोक्सानी निम्त्याउन सक्छ। त्यसैगरी, यस व्यापार युद्ध घनीभूत भएर गयो भने अमेरिकामा १७७,००० देखि ४००,००० को संख्यामा रोजगारी गुम्ने अनुमान छ।
क्यानडाको कूल ग्राहस्थ उत्पादनको वृद्धिमा १.१५ देखि ३ प्रतिशतभन्दा बढीको कमी आउन सक्छ भने २७८,००० देखि ५१०,००० जागिर गुम्न सक्ने अनुमान गरिएको छ । क्यानडा उर्जा र अटोमोबाइलको क्षेत्रमा अमेरिकासँगको व्यापारमा अत्यधिक निर्भर रहेको छ । यसले क्यानडाको अर्थतन्त्रमा ठूलै असर पर्न सक्छ ।
मेक्सिकोको कूल ग्राहस्थ उत्पादनको वृद्धिमा पनि १.१५ देखि ३ प्रतिशतभन्दा बढीको कमी आउन सक्छ । मेक्सिकोको फार्मास्युटिकल्स र इलेक्ट्रोनिक्स क्षेत्रमा पनि ठूलो असर पर्न सक्छ, जसले रोजगारी र आर्थिक वृद्धिमा नकारात्मक प्रभाव पार्न सक्छ।एक अनुमानअनुसार १४ लाखदेखि २२ लाखको संख्यामा जागिर गुम्न सक्छ।
उता चीनमाथि अमेरिकाले लगाएको २०% भन्सार दरले निर्यातमा कमी ल्याउने छ । चीनको सबैभन्दा बढी निर्यात हुने मुलुकमध्येका एक अमेरिकामा सामानको निर्यातमा कमी आउँदा चीनको आर्थिक वृद्धिमा सुस्तता आउन सक्छ । अमेरिकी कदमको जवाफमा चीनले प्रतिशोधात्मक कदम चाल्ने पक्का छ, जसले व्यापार तनाव बढाउँछ।
विश्व व्यापार र अर्थतन्त्रमा असर
अमेरिका र चीन, क्यानडा तथा मेक्सिकोबीच चर्किने व्यापारयुद्धको असर ती मुलुकहरुमा मात्रै हैन, पूरै विश्वमा पर्ने पक्का छ । त्यसले विश्व व्यापारमा तनाव बढ्न सक्छ, र आपूर्ति श्रृंखलामा अवरोध आउन सक्छ, जसले अन्य देशहरूलाई पनि असर गर्न सक्छ। त्यसैगरी, चीन, क्यानडा र मेक्सिकोले अमेरिकासँगको व्यापार कम गर्न अन्य देशहरूसँग व्यापार विस्तार गर्न सक्छन्, जसले विश्व व्यापारको संरचनामा परिवर्तन ल्याउन सक्छ। विशेष गरी, चीनले आफ्नो व्यापार विविधीकरण गर्न सक्छ, जसले अमेरिकासँगको तनावलाई कम गर्न सक्छ।
व्यापार युद्ध घनीभूत हुँँदै जाँदा विश्वकै आर्थिक वृद्धि सुस्त हुनेे जोखिम निम्तिन सक्छ !

अर्थमन्त्रीको देश डुबाउने आश्वासन : सिएले नोट खारेज गराएर देश उकास्ने आवश्यकता

एशियाका अन्य ३० देशहरु जोड्दा पनि चीनको अर्थतन्त्र नै ठूलो !

के अमेरिकाले आफूले जति चाह्यो त्यति डलर छाप्न सक्छ ?

ट्रम्पले जित्दा धनीहरुको धनमा झनै धन थपियो !

संसारभरिमा एक अर्बभन्दा धेरै मानिसहरू चरम गरिबी

अमेरिकी डलरको भण्डारण ओरालो लाग्दै !

विश्वका १० ठूला अर्थतन्त्र र तिनका कूल ग्राहस्थ उत्पादनमा प्रमुख योगदानकर्ताहरू

प्रतिक्रिया