कुलमान घिसिङको मूल्यांकनमा ‘सरकारी प्रतिशोध’ !

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि सरकारले कार्यसम्पादन मूल्यांकनमा शून्य अंक प्रदान गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जीवछ मण्डलको संयोजकत्वमा बनेको समितिमार्फत यस्तो मूल्यांकन सार्वजनिक गरेको हो। मूल्यांकनको आधार समयसीमाभित्र प्रतिवेदन नबुझाएको कारण देखाइएको छ। तर, यथार्थमा हेर्दा घिसिङले नेतृत्व गरेको संस्था नेपाल विद्युत् प्राधिकरण देशकै सफल सार्वजनिक संस्था हो, जसले नाफा कमाइरहेको छ।
सरकारी स्वामित्वका अधिकांश संस्थानहरू नोक्सानमा छन्, तर विद्युत् प्राधिकरण निरन्तर रूपमा आर्थिक रूपमा सबल बन्दै गएको छ। गत आवमा मात्र प्राधिकरणले १४ अर्ब ४६ करोड रुपैयाँ नाफा कमायो भने चालु आवको पहिलो ६ महिनामै ११ अर्ब नाफा आर्जन गरेको छ।
कुलमान घिसिङले नेतृत्व सम्हालेदेखि नेपालमा लोडसेडिङको अन्त्य भयो, ‘बिजुली चोरी’मा संलग्न प्रभावशाली उद्योगीहरूसँग बक्यौता असुली गरियो, र देशभर विद्युत् पहुँच ९९ प्रतिशतसम्म विस्तार भयो। यति ठूलो उपलब्धिहरूका बाबजुद मूल्यांकनमा शून्य अंक दिनु सरासर निहुँ खोजुवा प्रवृत्तिको प्रदर्शन मात्र नभई सरकारभित्रै रहेका केही व्यक्तिहरूको प्रतिशोध साँध्ने नियत स्पष्ट देखिन्छ।
विगतमा सरकारका उच्च ओहदामा रहेका प्रभावशाली उद्योगपति तथा नेताहरूले विद्युत् प्राधिकरणलाई मनपरी ढंगले चलाउन खोजेका थिए। उद्योगीहरूलाई बिजुलीको बक्यौता तिर्न बाध्य पार्दा, लाइन काट्दा र अनियमिततालाई निरुत्साहित गर्दा घिसिङ केही प्रभावशाली घेराबन्दीमा परेका थिए। आज उनको मूल्यांकनमा गरिएको यस्तो निर्णयले सरकारभित्र रहेका स्वार्थी तत्वहरूको नियत उजागर गरेको छ।
यदि कार्यसम्पादन मूल्यांकन वास्तवमै निष्पक्ष र वस्तुनिष्ठ ढंगले भएको भए, घिसिङलाई शून्य अंक होइन, उत्कृष्ट कार्यसम्पादनको सम्मान दिइनुपर्ने थियो। एउटा सफल सार्वजनिक संस्थालाई नेतृत्व दिएको व्यक्तिलाई मूल्यांकनकै नाममा तथा समयसीमाको बहानामा अनावश्यक रूपमा प्रहार गर्नु सत्ताधारीहरुको नैतिक दरिद्रता मात्र हो।
हिन्दीमा एउटा चर्चित भनाइ छ: ‘खिसयानी बिल्ली खंभा नोचे !’ जसरी भए पनि उद्योगीहरुबाट विजुलीको तिर्नुपर्ने रकम उठाएरै छाड्न लागिपरेका कुलमानलाई पटक पटक कारवाही गर्ने प्रयासरहरु असफल भएपछि सत्तापक्षबाट कुलमानको मानमर्दन गर्ने नियतले आएको कार्यसम्पादन मूल्याङ्न प्रकरणले अहिले त्यही भनाइलाई चरितार्थ गरेको छ !

विश्वका महिलाहरूको भोट दिने र चुनिने हकको छोटो इतिहास

संकटग्रस्त मुलुक, संवेदनशीलता शून्य नेतृत्व!

प्रकृति लम्साल घटनाले उठाएका प्रश्नहरू : शिक्षा, आत्मनिर्भरता र राष्ट्रको भविष्य

निर्णायक मोडमा पुगेको युक्रेन युद्धको गन्तव्य !

‘सामाजिक सञ्जाल नियन्त्रण’ पछाडि लुकेको सत्ताधारीको भयातुर मानसिकता !

सन्दर्भ आशिका तामाङ: जनमत, न्यायको खोजी र राज्यको जीतको अर्थ !

दमन हैन समाधानको बाटो: मुक्कुमलुङ सवालमा जनभावनालाई सम्बोधन गरियोस् !

प्रतिक्रिया