संकटग्रस्त मुलुक, संवेदनशीलता शून्य नेतृत्व!

यतिखेर सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘टिकटक स्टार’, र्यापर तथा रातारात लोकप्रियता हासिल गरेका केही गायक कलाकारहरुलाई भेटघाट गरेका दृश्यहरु निक्कै चर्चित छन् । केही विदेशी विश्वविद्यालयहरुबाट मानार्थ ‘विद्यावारिधि’ को उपाधि हासिल गरेका तथा स्वअध्ययनका बलमा करिब करिब ‘सवै विषयहरुमा व्याख्यान दिन सक्ने’ भनी सार्वजनिक रुपमा छवि प्रक्षेपण गरिएका प्रधानमन्त्रीले भेटघाटका क्रममा त्यस्ता कलाकार तथा तिनले प्रस्तुत गरेका कलाहरुका बारेमा ‘रोचक’ अभिव्यक्तिहरु पनि दिने गरेका छन् । प्रधानमन्त्री ओलीले एक व्यक्तिको रुपमा त्यसरी भेटघाट गर्नु उनको नितान्त निजी रुचि र इच्छाको कुरा हो । त्यसमा आपत्ति जनाइहाल्नुपर्ने कुरा केही देखिन्न ।

बरु गहिरो चिन्ता र बहसको विषय चाहिँ के हो भने प्रधानमन्त्री ओलीले मुलुकलाई अहिलेको विषम परिस्थितिबाट कसरी माथि उकाल्ने भन्ने बारेमा चिन्तन–छलफल गर्न त्यसरी विविध विषयका जानकारहरुसँग भेटघाट गरेको खबरहरु चाहिँ सामाजिक सञ्जालमा देख्न र सुन्न पाइन्न !

जसले जतिसुकै ‘गँजेडीको गफ’ दिएर जेसुकै दावी गरे पनि यतिखेरको तीतो यथार्थ के हो भने मुलुकको अवस्था संकटग्रस्त छ । आर्थिक रुपमा मुलुक झन्डै झन्डै ‘टाट पल्टेको अवस्था’मा छ । आमजनतालाई थोरबहुत राहत दिने स्वास्थ्य बीमाको रकम भुक्तानी गर्न नसकिने सार्वजनिक दावी जिम्मेवार स्वास्थ्य मन्त्रीले नै गर्न थालिसकेको छ । संघीय अर्थ मन्त्रालयले परिपत्र जारी गर्दै ‘संघीय सञ्चित कोष ऋणात्मक रहेको, चालु खर्च र वैदेशिक ऋणको सावाँ व्याज भुक्तानी गर्न विनियोजित बजेट नै अपर्याप्त हुने अवस्था सिर्जना भएको’ जनाउँदै चालु आर्थिक वर्षको बजेटमा समावेश गरिएका कतिपय शीर्षकको खर्च कटौति गर्नुपर्ने अवस्था रहेको जनाइसकेको छ ।

संघीय व्यवस्था आफैंमा उन्नत राम्रो व्यवस्था हुँदा हुँदै पनि नेपालको हकमा संघीयता घाँडो भएको अनुभूति आमजनतामा जबरजस्त ढंगले स्थापित हुँदै गएको छ । गाउँ गाउँमा सिंह दरवार पुग्नुपर्ने संघीय व्यवस्था गाउँ गाउँमा ‘छोटे राजाहरु पैदा गर्ने’ व्यवस्थामा रुपान्तरित भएको आम जनताले ठान्नु आफैंमा शुभ संकेत होइन । 

यतिखेर चौतर्फी निराशा र अवसादको वातावरण सिर्जना भएको छ । व्यापार व्यवसायहरु चौपट्ट भएका छन् । विक्री व्यापारहरु करिब ठप्प छ । गरिखानको लागि उत्साहजनक वातावरण छैन । मुलुकको लागि अत्यावश्यक युवा जनशक्तिमा ‘यो देशमा बसेर केही हुने वाला छैन’ भन्ने खालको भाष्य जबरजस्त स्थापित भएको छ । मुलुकको अवस्था रोगी शरीर जस्तै बन्न पुगेको छ । शरीर कमजोर भएपछि अवसरवादी रोगहरु सल्बलाएर आक्रमण गर्नु विज्ञानसिद्ध कुरा हो । आमजनताको लामो र कठिन बलिदानी संघर्षबाट प्राप्त लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था यसका सारथीहरु अर्थात् राजनीतिक दलहरु तथा तिनका नेतृत्वले नीति, सिद्धान्त र विधिलाई तिलाञ्जली दिँदै नेताराज लादेपछि यतिखेर आमजनतामा व्यापक निराशा छाएको छ । यही मौका छोपी यतिखेर घोर प्रतिगामी तत्त्वहरु हाकाहाकी लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाका विरुद्ध विषवमन गर्न थालेका छन् र हिजोको निरंकुश, प्रतिगामी एवं एकल परिवारको हालीमुहाली चल्ने वंशवादी शासन व्यवस्था राजतन्त्र पुनस्थापनाको सपना बाँड्न थालेका छन् ।

चर्चित गायक जेबी टुहुरेको गीत ‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँछ,लाखौंका लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्गं छ’ भने जस्तै छ मुलुकको हालत । राजनीतिशास्त्री प्राध्यापक कृष्ण खनालले ‘भिसियस सर्कल’ भन्ने गरेका राजनीतिक दलहरुको विशिष्ट वृत्तमा पहुँच बनाएका मुठ्ठीभर मानिस तथा तिनका आसेपासेहरुका लागि अहिले पनि मुलुकको हालत स्वर्गकै जस्तो छ, बाँकी तमाम जनताका लागि अवस्था दिनप्रतिदिन नरक जस्तै बन्दै गइरहेको छ । यस्तो अवस्थामा आमजनताको चाहना हुन्छ– राष्ट्रको नेतृत्व गरिरहेका कार्यकारी अधिकारप्राप्त प्रधानमन्त्रीले देशको अवस्था बदल्न अथक कोशिश गरिरहेको तथा त्यसका लागि विषयविज्ञहरुसँग गम्भीर चिन्तन–मन्थन गरिरहेको देख्नु ।यतिखेर जनतामा सकारात्मक आशा र विश्वास सञ्चार गर्नका लागि प्रधानमन्त्रीले गौण महत्त्वका कुराहरुलाई महत्त्वपूर्ण जस्तै मानेर ठानेर सामाजिक सञ्जालहरुमा प्रचारप्रसार गर्नुको साटो मुलुकको आर्थिक संकट बारे स्वेतपत्र जारी गर्ने, आर्थिक संकट बारे विपक्षी दलहरु संग सम्वाद गर्ने र अत्यावश्यक ऐनकानूनहरुको निर्माणतिर ध्यान केन्द्रीत गर्दै  सरकारले ल्याएको तरपारित हुन नसकेका अध्यादेशहरुलाई पारित गर्न विपक्षी दल संग संवाद र सहकार्य जरुरी छ।

के कुरा बुझ्नु जरुरी छ भने जनताले चाहेको  टिकटकरहरु, ¥यापरहरु, गायकहरुसँग बसेर व्यक्तिप्रशंसाको पुलिन्दा बाँधेर प्रधानमन्त्रीको महिमामण्डन गर्ने कार्यहरुको सार्वजनिक प्रचारप्रसार गरेको देख्नु पटक्कै होइन । अवश्य पनि युवा पुस्ताका माझमा स्थापित हुने र आफू युवाहरुको चासो र रुचिलाई आत्मसात गर्ने व्यक्ति हुँ भन्ने कुरालाई सम्प्रेषण गर्ने काममा यी र यस्ता कार्यहरुले केही योगदान गर्ला तर त्यसले निराशाको गर्तमा डुबेका आमजनतामा भने खासै आशाको सञ्चार गर्दैन भन्ने कुरा बुझ्नु उचित हुन्छ । अन्यथा, चर्चित भनाइ ‘रोम जलिरहँदा निरो (त्यहाँका शासक) मगनमस्त भएर बाँसुरी बजाइरहेका थिए’ भन्ने कुराकै पुनरावृत्ति हुने खतरा रहन्छ भन्ने कुरालाई हेक्का राख्नु जरुरी छ ।