खासै नाम नचलेको चिनियाँ कम्पनीले बनाएको औषधीले संसारकै सबैभन्दा बढी बिक्री हुने औषधीलाई पछार्‍यो !

चीनको डीपसिकले अविश्वसनीय मूल्यमा अप्रत्याशित नवप्रवर्तन प्रस्तुत गरेर विश्वलाई चकित पार्यो। तर यो विघटनकारी प्रवृत्ति ठूला प्रविधि कम्पनीहरुमा मात्र सीमित छैन: यो फार्मास्युटिकल क्षेत्रमा पनि चुपचाप घटित हुँदै गएको छ ।

गत सेप्टेम्बरमा, खासै नाम नचलेको तथा करिब एक दशक अघि मात्रै स्थापना भएको चिनियाँ बायोटेक कम्पनी अक्सेसो (Akeso)ले  बनाएको फोक्सो क्यान्सरसम्बन्धी नयाँ औषधिले बायोटेक क्षेत्रलाई हल्लाएर राखिदियो।

नयाँ औषधि आइभोनेसिम्याब (Ivonescimab) ले चीनमा गरिएको परीक्षणमा मर्कले विकसित गरेको ब्लकबस्टर औषधि कीट्रुडा (Keytruda) लाई पछि पारेको देखियो। क्यान्सर उपचारमा आफ्नो प्रभुत्व कायम गरेको कीट्रुडा १३० बिलियन अमेरिकी डलरभन्दा बढी बिक्री गरेको छ।

विश्व फोक्सो क्यान्सर सम्मेलन (World Conference on Lung Cancer) मा जारी गरिएको तथ्याङ्क अनुसार, अक्सेसोको नयाँ औषधिले उपचार गरिएका बिरामीहरूमा ट्युमर पुनः बढ्न थाल्न ११.१ महिना लाग्यो, जबकि कीट्रुडाको मामलामा यो समय ५.८ महिना थियो।

रेफिनिटिभ (Refinitiv) को तथ्याङ्कअनुसार सेप्टेम्बरको सुरुमा धेरै दिनसम्म, अक्सेसोको अमेरिकी साझेदार क्यालिफोर्नियाको सुमिट थेराप्युटिक्स (Summit Therapeutics) को शेयर मूल्य दोब्बर भएर रेकर्ड उचाइमा पुग्यो। यस कम्पनीले नयाँ औषधिलाई उत्तर अमेरिका र युरोपमा व्यावसायीकरण गर्ने अधिकार प्राप्त गरेको थियो।

त्यस समयमा, विशेषज्ञहरूले यो चिनियाँ फार्मास्युटिकल कम्पनीहरूको लागि एक महत्त्वपूर्ण क्षण हो भने तापनि, यो उद्योग बाहिर कमै चिनिएको वा ध्यान दिइएको कम्पनी थियो। यो सबै डीपसिकले यस वर्षको सुरुमा गरेको प्रदर्शन पछि चीनमा नवप्रवर्तनका केही केन्द्रहरूमा अन्तर्राष्ट्रिय ध्यान केन्द्रित गर्यो — जसको वैश्विक प्रभाव बढ्दै गएको छ।

"म विश्वास गर्छु कि चिनियाँ बायोटेक उद्योगले विश्वव्यापी रूपमा महत्त्वपूर्ण भूमिका खेल्नेछ। र हामी [यसमा] बढ्दो सहभागिता जनाउनेछौं," अक्सेसोको सीईओ मिशेल जियाले गत महिना बायोटेकटिभीसँगको अन्तर्वार्तामा भनेका थिए।

सिएनएनलाई पठाइएको बयानमा, अक्सेसोले भनेको थियो कि विश्वकै सबैभन्दा बढी बिक्री हुने औषधि कीट्रुडालाई पराजित गरेको देख्नु "अविश्वसनीय रूपमा उत्साहजनक क्षण" हो।

"अक्सेसोको नवप्रवर्तन रोग जीवविज्ञान र प्रोटिन इन्जिनियरिङको गहिरो बुझाइद्वारा संचालित छ, साथै चीनमा रहेको उच्चस्तरीय प्रतिभाको प्रचुरता र छिटो विकास समयबाट लाभान्वित भएको छ," यसले भन्यो।

चिनियाँ बायोटेकको उदय

१९८० को दशकसम्म, चीनले आफ्नो अर्थतन्त्र खुल्ला गर्दा , यसको अधिकांश फार्मास्युटिकल कम्पनीहरू राज्यको स्वामित्वमा थिए। बितेका ४० वर्षहरूमा, चिनियाँ बायोटेक कम्पनीहरूले मुख्यतया अस्तित्वमा रहेका औषधिहरूको नक्कल गर्दै "मी-टु" औषधिहरू उत्पादन गर्थे।

तर बितेका १० वर्षहरूमा, उनीहरूले अधिक उन्नत औषधिहरूको साथ नवप्रवर्तन गर्न थालेका छन्, जसले पश्चिमी प्रस्तावहरूसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्न सक्छ। र उनीहरूले आफ्ना उत्पादहरू विश्वभर पुगाउन पश्चिमी साझेदारहरूसँग अरबौं डलरको लाइसेन्सिङ सम्झौताहरू गरेका छन्।

अष्ट्राजेनेकाले (AstraZeneca) गत वर्ष चीनको सिएसपीसी फार्मास्युटिकल ग्रुपसँग १.९२बिलियनको सम्झौता गरेर हृदयसम्बन्धी औषधि विकास गर्ने योजना बनाएको छ, र मर्कले चीनको हान्सो फार्मास्युटिकलसँग १.९२ बिलियनको सम्झौता गरेर हृदयसम्बन्धी औषधि विकास गर्ने योजना बनाएको छ, रमर्कले चीनको हान्सोफार्मास्युटिकलसँग २ बिलियनको सम्झौता गरेको छ, जुन एक मोटोपन कम गर्ने औषधिको परीक्षण उत्पादनको लागि हो।

"मानिसहरूलाई थाहा थियो कि चीनमा बायोटेक उद्योग धेरै छिटो बढ्दै गएको छ, तर धेरैले यसलाई अमेरिकी शीर्ष नवप्रवर्तकहरूको लागि वास्तविक खतराको रूपमा हेरेका थिएनन्," एबी बर्नस्टाइनका फार्मास्युटिकल विश्लेषक रेबेका लियाङले भनिन्। "अब खतरा वास्तविक हुँदै गएको छ, किनभने तपाईंले यी अर्को पुस्ताका औषधिहरू देख्न थाल्नुभयो, जुन एक प्रकारको छलांग हो।"

एचएसबीसी क्वानहाई सिक्योरिटीजले यस महिनाको सुरुमा प्रकाशित गरेको एक अनुसन्धान नोट अनुसार, चीन सम्पूर्ण उद्योगको लागि नवप्रवर्तन केन्द्र बन्दै गएको छ । त्यहाँ लाइसेन्सिङ सम्झौताहरूको संख्या २०१७ मा ४६ मात्र थियो भने गत वर्ष २०० भन्दा बढी पुगेको छ। २०१७ मा कुल सम्झौता रकम मात्र ४ बिलियन थियो,  भने त्यसमा बृद्धि भएर गत वर्ष ५७ बिलियनमा पुगेको छ।

बजार खुफिया कम्पनी मर्जर मार्केटका आँकडाहरूले देखाए अनुसार, चिनियाँ कम्पनीहरू समावेश भएका ५० मिलियन अमेरिकी डलर वा बढी मूल्यका ठूला फार्मास्युटिकल लेनदेनहरू २०२४ मा गत वर्षको तुलनामा करिब ३०% ले बढेको छ।

जेफरीजका स्वास्थ्य सेवा अनुसन्धानका प्रबन्ध निर्देशक कुई कुईको भनाइमा चिनियाँ बायोटेक कम्पनीहरूको अनुसन्धान क्षमता र विकास दक्षता सरकारी समर्थन, विदेशी लगानी, र घरेलु प्रतिभाको प्रचुरता जस्ता कारकहरूको कारणले अघि बढ्दै गएको छ।

"विगतमा, [चिनियाँ बायोटेक] लाई नक्कल गर्ने मात्र मानिन्थ्यो, तर भविष्यमा यसले विश्वका श्रेष्ठ फार्मास्युटिकल कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न सक्नेछ," कुईले सिएनएनलाई भनिन्।

घरेलु संशय

तर अक्सेसोको उपलब्धिले विदेशमा हलचल मच्चाउँदा, चीनभित्र घरेलु उत्पादित जेनेरिक औषधिहरूको गुणस्तरबारे बहस चर्किएको छ । त्यस्ता औषधीहरुमा  पेटेन्ट औषधिहरू जस्तै सक्रिय तत्वहरू हुन्छन् तर यो धेरै सस्तो हुन्छ।

चीनमा  घरेलु उत्पादित औषधिहरूको प्रदर्शनप्रतिको अविश्वास गहिरो छ। यस्ता चिन्ताहरूले गत महिना चिनियाँ जेनेरिक औषधिहरूको प्रश्नातीत गुणस्तरको आरोपमा सार्वजनिक आक्रोशलाई जन्म दियो, जसले आधिकारिक अनुसन्धान सुरु गराएको छ।

चीनका स्वास्थ्य नियामकले पछि औषधिहरूको सुरक्षामा बचाव गर्दै भने कि अनुसन्धानले गुणस्तर सम्बन्धी चिन्ताहरूलाई अप्रमाणित पाएको छ। बेइजिङका धेरै बासिन्दाहरूले गत हप्ता सिएनएनलाई भने कि उनीहरू अक्सेसो वा यसको नयाँ औषधिसँग परिचित थिएनन् र अझै पनि आयातित औषधिहरूलाई प्राथमिकता दिन्छन्।

"सत्य भन्नुपर्दा, म महँगो औषधि छनौट गर्न प्रवृत्त हुन्छु। आखिर, तपाईंले जति खर्च गर्नुहुन्छ, त्यति नै पाउनुहुन्छ," बेइजिङका बासिन्दा गु झिहाओले सिएनएनलाई भने।

अमेरिकी लगानीकर्ता र नियामकहरूले पहिले नै चीनमा संकलन गरिएको निदानात्मक परीक्षण डाटाको गुणस्तरमा प्रश्न उठाएका छन्। लियाङले भनिन् कि अमेरिकी खाद्य एवं औषधि प्रशासन (FDA) ले विगतमा चीनमा विकसित गरिएका औषधिहरूलाई अस्वीकार गरेको छ किनभने परीक्षण सेटअप "पर्याप्त कडा थिएन।"

अक्सेसोको नयाँ औषधि, जुन जेनेरिक होइन, केही फोक्सो क्यान्सर बिरामीहरूका लागि चीनका फार्मास्युटिकल नियामकले मञ्जूरी दिएको छ। तर यो अमेरिकामा बिक्री हुन अझै धेरै समय लाग्नेछ ।

कुईका अनुसार, यस वर्ष पछि ग्लोबल ट्रायल सुरु हुनेछ, जसले यसको प्रभावकारिता अझ प्रमाणित गर्न सक्छ। नतिजा सकारात्मक आयो भने, यो चीनले अत्याधुनिक औषधिहरू विकास गर्नमा गरेको प्रगतिको अर्को प्रमाण हुनेछ।

सिएनएनमा प्रकाशित रिपोर्टको अनुवाद