प्रकृति लम्साल घटनाले उठाएका प्रश्नहरू : शिक्षा, आत्मनिर्भरता र राष्ट्रको भविष्य

भारतको उडिसा राज्यको कलिङ्गा इन्स्टिच्यूट अफ इन्डष्ट्रियल टेक्नोलोजीमा भएको नेपाली विद्यार्थीको आत्महत्या प्रकरण अनि त्यही सन्दर्भमा न्यायको माग गर्दा त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरुमाथि भएको दुर्व्यवहारले धेरै गम्भीर प्रश्नहरु खडा गरिदिएको छ ।

क्याम्पस प्रशासनसँग न्यायको गुहार गर्दा उचित सम्बोधन गर्ने काम भएन । एक भारतीय ‘उत्पीडक’लाई बचाउनेतिर क्याम्पस प्रशासन लाग्दा निराश एक नेपाली चेलीले आत्महत्याको बाटो रोज्नुपर्ने अवस्था आउनु अनि त्यसमाथि थप न्यायको माग गर्ने नेपाली विद्यार्थीहरुमाथि भएको अमानवीय दुर्व्यवहार तथा त्यस क्रममा क्याम्पसका जिम्मेवार कर्मचारीहरुले ओकलेका घृणात्मक वाणीले पनि  भारतमा अध्ययनरत नेपालीहरुको दयनीय हालतको चित्रण गर्दछ ।

त्यो भन्दा पनि गम्भीर कुरा के हो भने त्यत्रो संख्यामा नेपाली विद्यार्थीहरु किन भारतमा अध्ययन गर्न जानुपर्ने अवस्था आइलाग्यो ? के ती विषयहरुको अध्ययन नेपालमा हुँदै नहुने हो वा त्यसको अध्ययन–अध्ययापनका लागि व्यववस्था हुनै नसक्ने अवस्था हो ? के ती विषयहरुको अध्ययन गर्नका लागि नेपालका कलेजहरुमा पर्याप्त सीट उपलब्ध हुन नसकेको हो वा ‘विश्व बजारमा व्यापक माग भएको’ उक्त विषय अध्यापन गराउने सक्ने क्षमता नेपालका कलेजहरुमा नभएकै कारण भारतको शरणमा जानुपर्ने अवस्था रहेको हो ?

पछिल्ला वर्षहरुमा नेपालका कलेजहरुमा क्षमताको अनुपातमा अध्ययन गर्ने विद्यार्थीहरुको संख्या न्यून भएर गएको खबरहरु बारम्बार पढ्न–सुन्नमा आइरहेको छ । अर्कोतिर भारतको एउटा औसत कलेजमा मात्रै पनि हज्जारौंको संख्याहरु अध्ययन गर्न गएको कुरा यस घटनाक्रमबाट खुल्न आएको छ । यो त एउटा कलेजको मात्रै कुरा भयो, भारतका अन्य कलेजहरुमा विविध विषयहरु पढ्न जाने नेपालीहरुको संख्या थप कति होलान् ?

नेपालको शिक्षाको गुणस्तरबारे बारम्बार प्रश्नहरु उठ्ने गरेका छन् । खासगरी, अति बढी राजनीतिकरणको कारण नेपालका विश्वविद्यालय तथा सरकारी कलेजहरु उठ्ने नसक्ने गरी थला पर्ने गरेका छन् । विद्यार्थी भर्ना गर्ने समयमा नेपालका विद्यार्थी संगठनहरुले जायज–नाजायज मागहरु राखेर तालाबन्दी गर्ने अनि तिनका सामु राज्य निरीह र  लाचार बन्ने गरेको कुरा आजको नाङ्गो सत्य हो । यी र यस्तै अन्य कारणहरुले समेत गर्दा नेपालमा कलेज–विश्वविद्यालयहरुको निर्धारित कोर्स कहिल्यै समयमा पूरा नहुने र विद्यार्थीहरुले कैयौं वर्ष वेफ्वाँकमा खेर फ्याक्नुपर्ने आजको यथार्थता हो । त्यसमाथि थप, शिक्षामा राज्यले लगानी नगर्ने अनि निजी क्षेत्रको शिक्षा खल्तीले धान्नै नसक्ने गरी महंगो हुने गरेकोले क्षमतावान तर औसत आय भएका नेपालीहरुले चाहेको र रुचाएको विषय पढ्नै नसक्ने आजको नाङ्गो सत्य हो । शिक्षालाई राज्यले महत्त्व नदिँदा नेपालको शिक्षा अवस्था रसातलमा पुग्दै गएको छ । यो स्थितिमा तुलनात्मक रुपमा अति सस्तोमा तर उच्च गुणस्तरीय शिक्षा भारतका कलेजहरुमा पाइने भएकैले त्यतातिर मुख ताक्नुपर्ने आजको अवस्था हो । कतै ठूलो संख्यामा नेपाली विद्यार्थीहरुमा भारतमा उच्च अध्ययनका लागि जाने गरेका विविध कारणहरुमध्ये यिनीहरु पनि त मुख्य कारण होइनन्  ? खोतल्नुपर्ने बेला आइसकेको छ ।

खासमा, विदेशमा अध्ययन गर्न जानको लागि सरकारले जे जसरी अन्धधुन्ध अनुमति दिने गरेको छ, त्यसमा अब गम्भीर पुनरावलोकन गर्नुपर्ने देखिएको छ । नेपालमै पढाइ हुने वा हुन सक्ने विषयहरुमा अध्ययनको लागि अनुमति दिने कुरामा कडाइ गर्नु जरुरी छ । नेपालमा अध्ययन–अध्यापन हुन नसक्ने विषयमा बेग्लै कुरा, अन्यथा नेपालमै पढाइ हुन सक्ने र सम्भव भएका विषयहरुमा कम्तिमा स्नातक तहसम्म नेपालमै पढ्नुपर्ने व्यवस्था लागू गर्नेतिर सरकारले सोच्नुपर्ने देखिन्छ ।

प्रकृति लम्साल आत्महत्या तथा नेपाली विद्यार्थीहरुमाथि भएको दुर्व्यवहार काण्ड नकारात्मक भए पनि त्यो नेपाल र नेपालीहरुका लागि एउटा सचेतनाको लागि घण्टी हो । त्यसबाट पाठ सिकेर नेपाली विद्यार्थीहरु उच्च शिक्षा अध्ययनका लागि ह्वारह्वार्ती विदेश जाने अवस्थालाई बदल्ने र उनीहरुले नेपालमै अध्ययन गर्ने तथा नेपालमै रोजगारी गर्न पाउने अवस्था सिर्जना गर्नेतिर राज्य र सम्बद्ध सरोकारवालाहरु तात्नु जरुरी देखिन्छ । 

Image: https://images.odishatv.in