अगमसिंह गिरी: वेदनाका कवि !

गिरी तीन थोक हुन् । उनी सबभन्दा पहिला नेपाली हुन् । उनको मुटुमा समस्त नेपालीप्रति शुभकामना थियो ।
अगमसिंह गिरी कवि हुन् र वेदनाका महान् कवि । तिनका कविताहरू व्यथाका सुस्केराहरू हुन् ।
गिरी एक सहृदय मान्छे हुन् । खूबै सभ्य र खूबे शिष्ट । तिनले कसैलाई पाप चिताएनन् । कसैलाई हियाएनन् । तिनमा अन्तःकरणको इमान्दारी थियो ।
गिरीलाई टुक्राएर हेर्दा हामी यो तीन थोक पाउँछौं- नेपाली, वेदनाका कवि र सभ्य मान्छे ।
म गिरीको धेरै नजीक पुगेको थिएँ । उनको हृदयको अन्तर- कुन्तर छामेको थिएँ । र मैले पाएँ गिरी पहिला नेपाली हुन् र अन्तमा पनि नेपाली हुन् । उनको शरीरमा विदेशी तत्त्व पसेन । नेपाली दौरा सुरुवाल र नेपाली टोपी उनले छोडेनन् । हाम्रा छाप्राहरू, हाम्रा चियाबारी, यी धुपीका रूखहरू, यी पाखा- पखेरू, यी देउराली लेकाली डाँडाहरू, नेपालीका थुम्का थुम्की सबै सबै गिरीलाई प्यारो थियो ।
मैले यो पहाड़ी माटोमा
थुप्रै थुप्रै मायाहरू छरेको छु
शैशवदेखि यौवन सम्मका
धेरै धेरै स्नेहहरू
रोपेको छु ।
एउटा नेपाली रूँदा उनी रुन्थे । एउटा कुल्ली, एउटा मजदूर, एउटा भरियाको दुःख उनको दुःख थियो । यसैले उनका कविताहरू आँसुका थोप्लाहरू हुन् ।
एक नेपाली तामांग कुल्ली
मोहब्बत गल्ली छेउ
चाकर गर्छ गम्म लुकाइ
द्रवित मुटुको भेउ ।
गिरीलाई माया गर्थें । दाजु भन्थें । मान्थें । तिनले अंग्रेजी पोशाक लगाएनन् । दौरा सुरुवाल छोडेनन् । नेपाली ठिटीहरू मात्र मन पराउँथे ( दुइटीलाई त बिहे पनि गरे ) । टाई बाँधेनन् ।
यसरी मनसा वाचा कर्मणाले नेपाली भएर बाँच्ने अर्को नेपाली कोही छ ? कुनै विदेशीले मलाई नेपाली देखा भनेको भए म गिरीलाई देखाउने थिएँ । तिनको विचारले नेपाली पहाड़ नाघेन । तिनले पशुपतिलाई पुजे । समस्त नेपालीलाई आफ्नो सम्झे । गिरी नेपालीत्वको प्रतीक थियो । ‘... ऊ त पहाड़ी हो, यसैले विदेशमा बसेर पनि स्वदेशी नेपालीभन्दा ज्यादा नेपाली थियो । चियाको बूटा-बूटा, उकाली-ओराली, धुपीका रूखहरूले र कमान बस्तीका परिश्रमी पसिनाहरूले चाहेको अस्तित्व पनि थियो ।'
ईश्वरवल्लभका यी शब्दहरू गिरीका निम्ति सर्वोत्तम समाधिलेख हुन् ।
गिरी वेदनाका कवि हुन् । तिनका कविताहरू व्यथाका सुस्केराहरू हुन् । सुख दुःखका घामछायाको डोरीले बुनिएको जीवनमा गिरीलाई तर दुःख नै गुन्न प्रिय लाग्थ्यो । दुःखवाद कवि गिरीको साधना थियो । तिनको शब्द योजनामा विषादमय झंकार छ । कृतिभरि पीडामय अभिव्यञ्जना छन् ।
मेरो कविता
अभिशप्त जीवनको
एक पीड़ामय अभिव्यञ्जना ।
व्यथा वैकल्यपूर्ण अन्तरको
केवल विषाक्त अभिव्यक्ति ।
कवि गिरी भन्छन् – 'आँसुमा जीवनको असीम सत्य, प्रणयमा जीवनको मधुरता अनि पीडामा एक अभिव्यक्त आनन्द पाउँदा मैले यस्तै गीत गाउन सकें ।' दुःखलाई कविताको जननी मान्नेहरू धेरै छन् । वेदनाद्वारा जब हृदय मन्थन हुन्छ, उच्छ्वासित मानव जब वेदनाजनित आकुलता र व्याकुलतालाई नियन्त्रण राख्न सक्तैन तब कविता आँखाबाट बहेर निस्कन्छ ।
पन्त भन्छन्--
वियोगी होगा पहला कवि
आह से निकला होगा गान
उमड़कर आँखों से चुपचाप
बही होगी कविता अनजान ।
गिरी पनि भन्छन्--
मेरो कविता
मैले चुहाएको
अनजान
विषादपूर्ण आँसुका थोपा ।
अन्तमा उनी सभ्य मान्छे हुन् । शंकर लामिछाने भन्छन्-- 'नम्र, विनीत तथा मृदुभाषी उनले कसैको आलोचना गर्ने मिजास 'लिएनन् । एउटा महान् कलाकार भए पनि एउटा सभ्य नेपाली थिए उनी ।'
सभ्य को हो ? जसले अरूको पाप चिताउँदैन, सभ्य ऊ हो । जसले अरूको बदख्वाइँ गर्दैन, सभ्य ऊ हो । जसले मान्छेको कदर गर्न जान्दछ, सभ्य ऊ हो ।
उनी मशहूर जँड्याहा पनि हुन् । पिउँथे । माछा जस्तै पिउँथे । बेहोश हुञ्जेल पिउँथे । फेरि महीनौं महीनौंसम्म छोड्थे पनि । कोही दुष्ट बन्नलाई पिउँछन् । कति पिएर दुष्ट बन्छन् । गिरिमा तर दुष्टता थिएन । पिएर उनी उनी हृदय उदांगो पारी बालख जस्तो रुन्थे ।
गिरीको पेटमा पाप थिएन । तिनले कसैलाई कुभलो चिताएनन् । धूर्तहरूको मुलुकमा गिरी बालक थिए । धरोधर्म, गिरी मेरो निम्ति मान्छेको नमूना थियो ।
३१ जनवरी १९७१ मा उनी मरे । सरस्वती पूजाको " दिन थियो त्यो ।
१९७१
दार्जिलिङ डायरीबाट साभार । Image: https://thedarjeelingchronicle.com
प्रतिक्रिया