प्रेम प्रस्ताव

अनयास मन तरङ्गित छ,

छिन छिनमा सुनौं सुनौं लाग्छ उसको आवाज

पोखौं पोखौं लाग्छ मनका भावना

खै थाहै नपाई बढेको छ उसप्रतिको व्यक्तिगत लगाव ।

 

उसको जिद्दी, हठ र आवेगप्रति मेरो कुनै गुनासो छैन

उसका कैयन कमजोरीमा पनि झल्किएकै देख्छु सुन्दरता

र त म चुपचाप बस्छु उसको अगाडि, जनाउदै मौन समर्थन

किन कि म भित्र उसलाई नगुमाउने लोभ छ ।

 

लाग्दैछ काउकुति, बढ्दैछ ढुकढुकी, चञ्चल भा’छ मन

नजर, मुस्कान लुकामारी लागेको छ सरम

उसको याद बढेको छ, उसलाई भेट्ने चाह बढेको छ,

आत्मिय लाग्न थालेको छ सम्बन्ध र उसको स्पर्श ।

 

रातो गुलाबजस्तै सुन्दर लाग्छ उसको मन्द-मुस्कान

हृदयमा हुर्कदै गरेको हाम्रो स्वप्नील प्रेमिल सहयात्रा

उसलाई आफ्नो बनाउने समयको प्रतिक्षा

र त उसकै वरिपरी हुर्किरहेका छन आशाका फूलहरू ।

 

थाहा छैन यो जैविक आकर्षण हो या सामाजिक अनुराग वा

उमेरसँगै बढ्ने पुरुषमा शासक र महिलामा शासित हुने अभिलाषा हो ।

जे भए पनि सपनामा रङ्ग भर्न, जीन्दगीमा किरण छर्न

आउ! हामी जीवन यात्रामा एकअर्काको प्रतिबिम्ब बनौं ।

 

अहिले मसँग नराख उ र त्योसँग जोडेर तमाम जिज्ञासा

अनि मान्छेहरुको भिडमा म नै किन र मन पराउनुको कारण

सुन्दरता त अनुभूति रहेछ, मनलाई उद्वेलित गर्ने प्रेमको तरङ्ग

त्यसैले त भन्छन सचेत मान्छेहरु,

मान्छे राम्रो कहिले लाग्छ? दिल बसेको वेला ।

 

प्रिय,

हामीले प्रेम र सहकार्यको धागो बुन्यौं भने

हामी जित्ने छौ यो संसार

हिँड्ने छौ आत्मसम्मानको बाटो,

गाउने छौ समता, सम्मान र सद्भावको गीत ।