निर्णायक मोडमा पुगेको युक्रेन युद्धको गन्तव्य !
अमेरिकाले युक्रेनलाई नेटो सदस्यता नदिने निर्णय, रुससँग भूभाग फिर्ताको माग अस्वीकार

नेपालीमा एउटा चर्चित भनाइ छ: बोकेको कुकुरले मृगको शिकार गर्दैन ! आफ्ना शक्तिशाली छिमेकी रुससँग मित्रताको हात बढाएर उन्नति र समृद्धिको मार्गमा अघि बढ्नुको सट्टा अमेरिका र नेटोको लहलहै र योजनामा रुससँग पैठेजोरी खोज्ने युक्रेनी राष्ट्रपति जेलेन्स्कीको हालत ‘बोकेको कुकुर’को बन्ने छाँटकाँट देखिन थालेको छ ।
विगतमा गरिएका भद्र सहमतिहरुलाई लत्याउँदै रुसको नाकै मुनि अर्थात् युक्रेनसम्म अमेरिका रचित नाटोको विस्तार गर्ने योजना कार्यान्वयन गर्ने काममा युक्रेनका राष्ट्रपति जेलेन्स्की खुलेरै लागेपछि रुसले त्यसको प्रतिकारमा सन् २०२२ को फेब्रुअरीमा युक्रेनविरुद्ध विशेष सैनिक अभियानको थालनी गरेको थियो । पश्चिमाहरुको नाकाबन्दी अनि हतियार एवं आर्थिक सहयोगको बलमा रुसलाई घुँडा टेकाउने र विश्व रङ्गमञ्चबाट महाशक्तिको हैसियतबाट ‘च्यूत’ गराउने अमेरिकी नेतृत्वको नाटो र युक्रेनको सपना चकनाचुर हुँदा युक्रेन झण्डै तीन वर्ष लामो विनाशकारी युद्धको भुँवरीमा नराम्ररी फँस्न पुगेको छ। यस अवधिमा उसका लाखौं योग्यतम्, सम्भवत: युरोपकै सबैभन्दा श्रेष्ठतम सैनिकहरु, कालको ग्रास बनेको छन् भने विश्वकै सबैभन्दा उर्बर भूमि भएको युक्रेन यतिखेर आर्थिक रुपमा जर्जर र भौतिक रुपमा खण्डहर बन्दै गएको छ । युक्रेनको २० प्रतिशतभन्दा बढी भूभाग रुसको कब्जामा गएको छ, जुन भूभाग उब्जनीको हिसाबले मात्र हैन, बहूमूल्य खनिजहरुको समेत भण्डार मानिने गरिन्छ । यतिखेर रुस युद्धको मोर्चामा विस्तारै तर बलियोसँग अग्रता हासिल गर्दै गइरहेको छ भने हिजो युक्रेनलाई युद्धका लागि उल्काउने युरोप र स्वयं अमेरिकाको लागि पनि युक्रेन युद्ध घाँडो बन्दै गइरहेको छ । त्यसमाथि थप, अमेरिकी शासनसत्तामा ट्रम्पको पुनरावगमन युक्रेनका राष्ट्रपति जेलेन्स्कीको लागि ठूलै बज्रपात साबित हुने लक्षण देखिन थालेको छ ।
त्यो किन पनि भने, ट्रम्पले राष्ट्रपतिको उम्मेदवारी दिँदादेखि नै युक्रेनयुद्धको अन्त्यको कुरा उठाउँदै आएका छन् र कदाचित आफू राष्ट्रपति थिए भने युक्रेन युद्ध नै नहुने दावी समेत गर्दै आएका छन् ।
यस पृष्ठभूमिबीच हालसालै अमेरिकाले युक्रेनलाई नेटो सदस्यता दिने समर्थन अस्वीकार गर्दै रुससँग आफ्नो गुमेको भूभाग फिर्ता गर्न गरेको मागलाई पनि खारेज गरेको छ। यो निर्णय युक्रेनका राष्ट्रपति जेलेन्स्कीका लागि ठूलो झट्का भएको मानिएको छ, किनभने अमेरिका रुसविरुद्धको लडाइँमा युक्रेनको सबैभन्दा बलियो सहयोगी रहँदै आएको थियो।
माघ ३० गते बुधबार ब्रसेल्समा आयोजित नेटो बैठकमा अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले प्रष्टै भाषामा भने, "युक्रेनलाई २०१४ को सीमामा फर्काउने कुरा अवास्तविक र केवल सपना मात्र हो। यसबाट कुनै उपलब्धि हुनेछैन, बरु युद्ध लम्बिनेछ।"
युक्रेनको नेटो सदस्यतामा अस्वीकार
अमेरिकी रक्षा सचिव पिट हेगसेथले युक्रेनको नाटो सदस्यताको सम्भावनालाई "अव्यवहारिक" भनेर उल्लेख गरेका छन्, जसले गर्दा यो लक्ष्य पछ्याउँदा जारी द्वन्द्व लम्बिन सक्छ र थप पीडा निम्त्याउन सक्छ भन्ने सुझाव दिएका छन्। उनले युक्रेनलाई प्रदान गरिने कुनै पनि सुरक्षा प्रत्याभूति सक्षम युरोपेली तथा गैर-युरोपेली सेनाहरूद्वारा समर्थित हुनुपर्नेमा जोड दिएका छन्, जसमा अमेरिकी सेना समावेश हुनु हुँदैन र यो नाटोको पारस्परिक रक्षा धारा अन्तर्गत आउनु हुँदैन।
अमेरिकी नीति परिवर्तनले युद्धमा असर
अमेरिकी रक्षा सचिव हेगसेथले भने, "युद्ध अन्त्य गर्न र स्थायी शान्ति कायम गर्न वास्तविकता बुझ्न आवश्यक छ। हामी स्वतन्त्र र समृद्ध युक्रेन चाहन्छौं, तर २०१४ को सीमामा फर्किनु सम्भव छैन। युक्रेनको यस्तो अडानले युद्ध झन् लम्बिनेछ र अझ धेरै मानिसहरूको मृत्यु हुनेछ।"
उनले थपे कि राष्ट्रपति डोनाल्ड ट्रम्प युद्ध रोक्न र शान्ति स्थापना गर्न चाहन्छन्। ट्रम्प प्रशासनले रुस र युक्रेनलाई वार्तामा ल्याउने पक्षमा व्यावहारिक दृष्टिकोण अपनाउने बताएको छ।
त्यसै गरि हिजै नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग "लामो र अत्यन्तै उपयोगी" टेलिफोन वार्ता भएको बताएका छन्, जसमा दुबै नेताहरूले युक्रेनमा युद्ध अन्त्य गर्न वार्ता सुरु गर्ने सहमति जनाएका छन्।
ट्रम्पले आफ्नो सोसल मिडिया प्लेटफर्म Truth Social मा पोस्ट गर्दै- आफू र रुसी राष्ट्रपतिबीच "आफ्ना-आफ्ना टोलीहरूलाई तत्काल वार्ता सुरु गर्न लगाउने सहमति" भएको बताएका छन्। ट्रम्पले पनि र उनका रक्षा सचिवले जस्तै युक्रेनको नाटो सदस्यता सम्भावना न्यून रहेको बताएका छन्।
ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन् : "अब यो हास्यास्पद युद्ध रोक्ने समय आइसक्यो, जस्मा ठुलो मात्रामा अनावश्यक मृत्यु र विनाश भएको छ !"
यदि तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेनले २०२२ मै यी कुरा प्रष्ट भनेका भए, यो युद्ध चर्किने थिएन। युक्रेनले त्यो बेला नै नेटोमा सामेल नहुने निर्णय गरेको भए, युद्ध सुरु नै हुने थिएन।
तर अहिलेको परिस्थितिमा युक्रेनले भारी मूल्य चुकाउनु परेको छ। युद्धमा करिब ६ लाख युक्रेनीहरू मारिएका छन्, र देशले अपूरणीय क्षति व्यहोर्नु परेको छ। अमेरिका र युरोपको उक्साहटमा लागेर युक्रेनले ठूलो मूल्य चुकाएको छ।
यस सन्दर्भमा पूर्व अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरको चर्चित भनाइलाई स्मरण गर्न सकिन्छ:
"It may be dangerous to be America's enemy, but to be America's friend is fatal."
("अमेरिकाको शत्रु हुनु खतरनाक हुन सक्छ, तर अमेरिकाको मित्र हुनु झन् घातक हुन्छ।")

शिक्षक आन्दोलनको अन्तर्य: कसरी हुन सक्छ यसले उठाएका मागहरुको सम्बोधन ?

एमसीसी स्थायी रुपमा बन्द गर्दै अमेरिका

के माओवादीमा प्रचण्डलाई प्रतिस्थापित गर्ने व्यक्ति नभएकै हो ?

कुलमान घिसिङको बर्खास्ती: उज्यालो निभाउने खेल !

सिरहा घटना: धर्मको अनुहारमै कालो पोतिएको आपराधिक कुकृत्य !

विश्वका महिलाहरूको भोट दिने र चुनिने हकको छोटो इतिहास

कुलमान घिसिङको मूल्यांकनमा ‘सरकारी प्रतिशोध’ !

प्रतिक्रिया