चीन–अमेरिका ‘व्यापार युद्ध’: को होला विजेता ?
व्यापार युद्ध चर्किँदा चीन र अमेरिकालाई पर्न सक्ने सम्भावित असरहरु !

डोनाल्ड ट्रम्पले चुनावको दौरानमा भन्दै आएअनुसार आफ्नो दोस्रो राष्ट्रपतिकालमा चीन, क्यानडा, र मेक्सिकोबाट हुने आयातमा उच्च भन्सार शुल्क लगाएका छन् । त्यसले विश्व अर्थव्यवस्थामा नयाँ खालको तरङ्ग पैदा गरेको छ । प्रतिवादमा चीन, मेक्सिको र क्यानाडाले पनि अमेरिकामाथि भन्सार शुल्क लगाउने घोषणा गर्यो । पछिल्लो चरणमा मेक्सिको र क्यानाडाले अवैध आप्रवासी र लागू औषध तस्करीविरुद्ध सेना–प्रहरी परिचालन गर्ने निर्णय गरेको कारण जनाउँदै अमेरिकाले ३० दिनको लागि मेक्सिको र क्यानाडाविरुद्धको भन्सार शुल्कलाई स्थगन गरेको छ । तर चिनिया सामानको आयातविरुद्ध लगाएको १० प्रतिशत भन्सार शुल्कलाई भने यथावत कायम राखेका छन् । अमेरिकी प्रशासनले चीनबाट आयात हुने स्टिल र एलुमिनियममा २५% अतिरिक्त भन्सार लगाउने निर्णय गरेको छ। यसले चीनको यी वस्तुहरूको कुल विश्वव्यापी निर्यातको १% भन्दा कम भागलाई मात्र असर गर्नेछ।
प्रतिवादमा चीनले पनि अमेरिकी सामानको आयातमा भन्सार शुल्क लगाएको छ । उसले कोइला र तरल प्राकृतिक ग्यासमा १५ प्रतिशत तथा कच्चा तेल, कृषि उपकरण र ठूलो इन्जिन भएको कारहरुमा १० प्रतिशत भन्सार शुल्क लगाएका छन् । साथै, चीनले प्रतिकात्मक रुपमा दुई अमेरिकी कम्पनीहरूलाई प्रतिबन्ध लगाउने, दुर्लभ खनिजहरूको निर्यात नियन्त्रण गर्ने तथा प्रविधि कम्पनी गूगल विरुद्ध प्रतिस्पर्धा विरोधी अनुसन्धान सुरु गर्ने निर्णय गरेको छ।
अहिले एकअर्कामाथि नयाँ नयाँ भन्सार दर थोपर्न चलेको होडबाजीले अब चीन अमेरिकाबीच फेरि नयाँ व्यापार युद्धको शुरुवात हुने र त्यो गहिरिएर जाने पक्का छ । यद्यपि अमेरिकी कदमको प्रतिकारमा चीनले चालेका कदमहरु सन्तुलित र संयमित देखिन्छ तर साथसाथै उसले आवश्यक परेमा लामो व्यापार युद्ध गर्न बेइजिङ तयार रहेको सन्देश समेत सम्प्रेषण गरेको छ ।
यसरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘व्यापार युद्ध’ थाल्नुको पछाडि मुख्यतः उसले भन्दै आएको "अमेरिका फर्स्ट" नीतिको प्रभाव देखिन्छ। यस नीतिअन्तर्गत, ट्रम्प प्रशासनले अमेरिकी उद्योग र रोजगारको संरक्षण गर्न विदेशी प्रतिस्पर्धालाई सीमित गर्ने उद्देश्य राखेको थियो। विशेष गरी, चीनसँगको व्यापार घाटा, ‘बौद्धिक सम्पत्ति चोरी’, र अनुचित व्यापार अभ्यासहरूलाई रोक्न ट्रम्पले चीनमा निर्मित उत्पादनहरूमा ६० प्रतिशतसम्म आयात शुल्क लगाउने चेतावनी पहिलेदेखि नै दिँदै आएका थिए।
चीनका अलावा क्यानडा र मेक्सिकोमाथि लगाइएका भन्सार शुल्कहरू पनि अमेरिकी उद्योगको संरक्षण र व्यापार सन्तुलन सुधार गर्ने उद्देश्यले गरिएको ट्रम्प प्रशासनको दावी छ । उसले यी देशहरूसँगको व्यापार सम्झौताहरूलाई पुनः वार्ता गरी अमेरिकी हितलाई प्राथमिकता दिने प्रयास गरेको बताउँदै आएको छ ।
यी भन्सार शुल्कहरूको विश्व व्यवस्थामा विभिन्न असरहरू पर्ने निश्चित छ । पहिलो, अन्तर्राष्ट्रिय व्यापारमा तनाव बढ्न सक्छ, जसले विश्वव्यापी आपूर्ति श्रृंखलामा अवरोध सिर्जना गर्न सक्छ। दोस्रो, भन्सार शुल्कहरूको कारणले मूल्यवृद्धि हुन सक्ने भएकाले सम्बन्धित देशका उपभोक्ताहरूलाई प्रत्यक्ष असर पर्न सक्छ। तेस्रो, भन्सार शुल्कहरूको प्रतिक्रियास्वरूप प्रभावित देशहरूले पनि प्रतिकारात्मक कदम चाल्न सक्छन् (जुन चालेका पनि छन्), जसले व्यापार युद्धको सम्भावना बढाउँछ। यसले अन्तर्राष्ट्रिय सम्बन्धमा अस्थिरता ल्याउन सक्छ र विश्वव्यापी आर्थिक वृद्धिमा नकारात्मक प्रभाव पार्न सक्छ।
चीन र अमेरिका यतिखेर विश्वबजारमा प्रमुख आर्थिक महाशक्ति हो । अमेरिकाको एकल आर्थिक प्रभुत्वलाई टक्कर दिन सक्ने एक मात्र वैश्विक शक्ति चीन बनेर उदाएको छ । चीन र अमेरिकाबीच जतिसुकै कठोर प्रतिस्पर्धा भएपनि दुई देशबीच विशाल व्यापार सम्बन्ध छ । त्यसमा पनि अमेरिका-चीन बीच व्यापार असन्तुलनले अमेरिका ठूलो व्यापार घाटा (२०२० मा करिब ३१० बिलियन डलर) छ । ट्रम्पले त्यसलाई कम गर्ने बारम्बार बताउँदै आएका छन् । त्यसमाथि थप, विज्ञान र प्रविधिको क्षेत्रमा चीनले हासिल गरेको अकल्पनीय प्रगतिबीच अमेरिकाले चीनमाथि अमेरिकी बौद्धिक सम्पत्ति चोरी गरेको, प्रविधि हस्तान्तरणमा जबरजस्ती गरेको, र सब्सिडीद्वारा घरेलु उद्योगलाई अनुचित फाइदा दिएको आरोप लगाउँदै आएको कुरा यहाँ स्मरणीय छ ।
अमेरिकी आर्थिक र भू-राजनीतिक प्रभुत्वलाई चीनले गतिलै चुनौती दिएको पृष्ठभूमिमा ट्रम्पको कदमलाई हेरिनुपर्छ ।
विश्व व्यवस्थामा असर
ट्रम्पको भन्सार शुल्क नीतिले चीन अमेरिकाबीच व्यापार युद्धलाई जन्म दिने पक्का छ । खासगरी अमेरिकी कदमको प्रतिरोधमा चीनले जवाफी भन्सार शुल्क लगाइसकेका छ । त्यसको प्रत्यक्ष असर अमेरिकी कृषि र प्रविधि क्षेत्रलाई पर्नेछ । अमेरिकी कृषि उपजको लागि चीन ठूलो बजार हो । यस व्यापार युद्धले त्यसमा धक्का पुग्ने निश्चित छ । भन्सार शुल्कको यो द्वन्द्वले अमेरिकी उपभोक्ताहरूले सामान महँगोमा किन्नुपर्ने अवस्था सिर्जना भएको छ । त्यसबाहेक, चीन–अमेरिका द्वन्द्व चर्किँदा अमेरिका तथा उनका समर्थक मुलुकहरुका कम्पनीहरू चीनबाट बाहिरिने क्रम थप तीब्र हुने सम्भावनालाई बढाएको छ । यसले ग्लोबल सप्लाई चेन बिग्रने अवस्था पैदा हुनेछ ।
ट्रम्पको ‘अमेरिका प्रथम’ नीतिले उसको प्रतिस्पर्धी देश चीनसँग मात्रै हैन, सहयोगी देश मानिएका क्यानडा र मेक्सिकोसँग पनि नयाँ खालको भूराजनीतिक तनावलाई जन्माएको छ । क्यानड र मेक्सिकोले ट्रम्पको भन्सार शुल्कलाई "मित्रविरोधी" भनेर आलोचना गरेका छन् ।
अमेरिकाले अपनाएको एकतर्फी नीतिले विश्व व्यापार संगठन जस्तो अन्तर्राष्ट्रिय संस्थाहरूको भूमिकालाई पनि खुम्चयाएको छ । त्यसबाहेक अहिले अमेरिकाले अघि सारेको संरक्षणवादको प्रवृत्तिका कारण अन्य देशहरूले पनि भन्सार शुल्क बढाउने होड गर्न सक्छन्, जसले विश्व व्यापारलाई नकारात्मक असर पार्ने पक्का छ ।
फरक चीन !
रोचक कुरा के छ भने चीन स्वयं यतिखेर व्यापार युद्धलाई चर्काउने पक्षमा देखिन्न । सम्भवत: अमेरिकाले चीनबाट आयात हुने सबै बस्तुमा १० प्रतिशत भन्सार शुल्क लगाउँदा पनि केही सीमित वस्तुमा मात्रै चीनले भन्सार शुल्क लगाउनुको एउटा कारण त्यो हुन सक्छ । तर ध्यान दिनपर्ने कुरा के पनि हो भने यतिखेर अमेरिकाले व्यापार युद्ध गर्न आँटेको चीन ट्रम्पको अघिल्लो कार्यकालको चीनभन्दा भिन्न र बलियो चीन हो । १२० भन्दा बढी देशहरुको प्रमुख व्यापार साझेदार बनिसकेको चीनको कूल ग्राहस्थ उत्पादनमा आयात र निर्यातको योगदान ३७ प्रतिशत मात्रै छ जबकि सन् २००० को दशकको शुरुवातमा त्यो ६० प्रतिशतभन्दा बढी थियो । चीनले आफ्नो अर्थतन्त्रलाई व्यापारमाथिको निर्भरतालाई घटाएर स्वदेशी उत्पादनको बृद्धि र खपतमा जोड दिने गरेको छ । यद्यपि अझै पनि अमेरिका चीनको ठूलो बजार हो र उसले अमेरिकामा आयातको तुलनामा झण्डै चार गुणा बढी सामान निर्यात गर्ने गर्छ । अहिले चीनले अमेरिकालाई आर्थिक रूपमा पहिलाको भन्दा बढी क्षति पुर्याउन सक्छ।
अमेरिकामा पर्ने सम्भावित असरहरु
चीन अमेरिकाबीच व्यापार युद्ध चर्कियो भने अमेरिकी कच्चा तेलको निर्यातमा ठूलै असर पर्ने देखिन्छ । यतिखेर अमेरिका विश्वबजारमा साउदी अरेबिया र रुस पछिको तेस्रो ठूलो निर्यातकर्ता हो । यो व्यापार युद्ध चर्किएर गयो भने चिनियाँ बजारमा अमेरिकी तेलको पहुँच सीमित बन्न सक्छ ।
चीनले अमेरिकामा निर्यात हुने ११० विलियन डलरको मालमा पनि भन्सार शुल्क लगाएको छ । यसको लक्षित क्षेत्रहरुमा कृषि (सोयाबिन, पोर्क), ऊर्जा (क्रुड तेल), ऑटोमोबाइल, र केमिकल रहेका छन् । यसको प्रभावले अमेरिकी किसानहरूलाई ठूलो आर्थिक नोक्सानी हुने देखिन्छ । खासगरी, अमेरिकी सोयाबिन बिक्रीमा ७५% सम्म गिरावट आउन सक्ने आँकलन गरिएको छ । चीनले अमेरिकी कृषि उत्पादनहरूको ठूलो आयातकर्ता हो, विशेष गरी सोयाबिन, गहुँ, मकैलगायतका वस्तुहरू। यदि चीनले अमेरिकी उत्पादनहरूमा प्रतिबन्ध लगायो वा अन्य स्रोतहरू (जस्तै ब्राजिल, अर्जेन्टिना) बाट सोयाबिन वा अन्न किन्न थाल्यो भने, अमेरिकी कृषकहरूले ठूलो घाटा व्यहोर्नु पर्नेछ।
अघिल्ला चरणहरूमा, चीनले अमेरिकी किसानहरूलाई असर पार्ने गरी सोयाबिन लगायतका उत्पादनहरूमा प्रतिबन्ध लगाएको थियो।
चीनले आफ्नो विश्वबजारलाई विविधिकरण गर्दै लगेको छ । उसले अमेरिकी निर्भरता घटाएर युरोप, दक्षिणपूर्वी एशिया र अफ्रिकामा व्यापार बढाएर लगेको छ । सन् २०२० को तथ्यांकअनुसार पनि चीन–युरोपियन युनियनबीचको व्यापार ६४९ विलियन डलर पुगेको थियो ।
चीनमा उत्पादन भएका धेरै सामानहरू—इलेक्ट्रोनिक्स, ग्याजेट्स, लुगा, खेलौना, औद्योगिक उपकरण, र दैनिक उपभोग्य वस्तुहरू—अमेरिकी बजारमा ठूलो परिमाणमा आयात हुन्छन्। अमेरिकाको बढेको भन्सार शुल्कले ती वस्तुहरूको मूल्य अमेरिकी उपभोक्तालाई महँगो पर्न जान्छ। अमेरिकाका खुद्रा विक्रेतालाई आपूर्ति श्रृंखला (Supply Chain) को लागत बढ्ने भएकाले उपभोक्ताले बढि मूल्य तिर्नुपर्छ।
चीन अमेरिकाका लागि ठूलो आपूर्तिकर्ता मात्र होइन, अमेरिकाको निर्माण उद्योग (Manufacturing sector) को लागि कच्चा पदार्थ र महत्वपूर्ण पार्टपुर्जाहरू पनि चीनबाट आयात हुन्छन्। यदि अमेरिकी कम्पनीहरूले चीनबाट ती वस्तुहरू आयात गर्न सकेनन् भने, उनीहरूलाई उत्पादनका लागि वैकल्पिक स्रोतहरू खोज्नुपर्ने हुन्छ, जसले लागत वृद्धि गर्छ। अमेरिकी कम्पनीहरू चीनमा उत्पादन गरिएका पार्टपूर्जामा धेरै निर्भर छन्। यदि व्यापार युद्धले चीनबाट आयातमा रोक लगायो भने, अमेरिकी कम्पनीहरूले वैकल्पिक आपूर्तिकर्ता खोज्नुपर्ने हुन्छ, जसले उत्पादन लागत बढाउँछ।
चीन अमेरिकी प्रविधिको लागि ठूलो बजार हो। यदि व्यापार युद्धका कारण चीनले अमेरिकी प्रविधि कम्पनीहरूलाई आफ्नो बजारमा प्रवेश गर्न झनै कठिन बनायो वा अमेरिकी प्रविधि उत्पादनहरूको प्रयोगमा प्रतिबन्ध लगायो भने, एप्पल, टेस्ला, माइक्रोसफ्ट र अन्य कम्पनीहरूले ठूलो बजार गुमाउनु पर्ने र ठूलो घाटा व्यहोर्नुपर्ने अवस्था आउन सक्छ ।
इन्टेल, एनभिडिया, क्वाल्कम जस्ता अमेरिकी चिप निर्माण कम्पनीहरू ले पनि चीनमा उत्पादन गर्न कठिनाइ सामना गर्न सक्छन्।
अमेरिकाको ट्रेजरी बण्डको ठूलो खरिदकर्ता चीन हो । व्यापार युद्धको प्रतिकारमा उसले अमेरिकी ऋण किन्ने मात्रा घटाएर अमेरिकी ब्याजदर र पुँजीबजारमा दवाब सिर्जना गराउन सक्छ । विगतमा उसले यो उपाय अपनाइसकेको पनि हो । व्यापार युद्ध चर्किँदा लगानीकर्ताहरू अनिश्चितता महसुस गर्छन्, जसले अमेरिकी स्टक बजार (Wall Street) मा अस्थिरता ल्याउन सक्छ। २०१८-१९ को व्यापार युद्धका समयमा अमेरिकी सेयर बजारमा तीव्र उतार-चढ़ाव देखिएको थियो।
चीन एक प्रमुख व्यापारिक साझेदार भएको कारण, यदि चीनले अमेरिकी वस्तुहरू खरीद गर्न कम गर्यो भने, अमेरिकी निर्यातकर्ता कम्पनीहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न गाह्रो हुन्छ। वैकल्पिक बजारहरू खोज्न समय लाग्ने भएकाले अमेरिकी निर्यातमा गिरावट आउन सक्छ।
अमेरिकी व्यापार युद्धको जवाफमा चीनले अमेरिकी डलरमा आधारित अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली (SWIFT) बाट टाढा जाने र आफ्नै मुद्रा (युआन) वा डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्ने नीति अपनायो भने, डलरको प्रभुत्वमा असर पर्न सक्छ। खासगरी, अमेरिकी डलरको प्रभुत्व र एकाधिकारलाई चुनौती दिने गरी उदय भएको ब्रिक्सको महत्त्वपूर्ण हिस्सा समेत रहेको चीनले त्यसो गर्न सम्भव छ पनि ।
चीनलाई पर्न सक्ने सम्भाव्य असरहरु
व्यापार युद्धको असर एकतर्फी मात्र हुँदैन, त्यो दुइतर्फी नै हुने गर्छ । यस अर्थमा व्यापार युद्ध चर्किँदा चीनलाई समेत असर पर्ने निश्चित छ ।
अमेरिका चीनको सबैभन्दा ठूलो व्यापारिक साझेदारमध्ये एक हो।अमेरिकाले चीनबाट आयात हुने सामानहरूमा उच्च भन्सार शुल्क लगाउँदा र आयात सीमित गर्दा चीनको निर्यातमा भारी गिरावट आउन सक्छ।विशेष गरी इलेक्ट्रोनिक्स, मोबाइल फोन, टेक ग्याजेट्स, मेसिनरी, स्टिल, फर्निचर, टेक्सटाइल, र प्लास्टिक उत्पादन जस्ता प्रमुख निर्यात सामग्री प्रभावित हुन सक्छन्।
अहिलेसम्म चीनको अर्थतन्त्र मुख्य रूपमा उत्पादनमूलक उद्योग (Manufacturing Sector) मा आधारित छ। अमेरिकी बजारमा निर्यात घट्दा चीनले आफ्ना कारखानाहरूलाई उत्पादन घटाउनुपर्ने हुन्छ, जसले औद्योगिक उत्पादनलाई असर गर्न सक्छ । यस मेसोमा चीनका ठूला कम्पनीहरू, विशेष गरी टेक्नोलोजी, अटोमोबाइल, र उपभोक्ता उत्पादन क्षेत्रका उद्योगहरू प्रभावित हुन सक्छन्।
व्यापार युद्ध चर्किदा चीनमा विदेशी लगानीमा गिरावट आउन सक्छ । खासगरी अमेरिकी कम्पनीहरू र अन्य विदेशी कम्पनीहरूले चीनमा लगानी गर्न हिच्किचाउन सक्छन् । साथै, अमेरिकी टेक कम्पनीहरूले आफ्नो उत्पादन केन्द्रहरू चीनबाहिर अन्य देशहरू (जस्तै भारत, भियतनाम, मेक्सिको) मा सार्न सक्छन्। विगतमा यस्तो भइसकेको अवस्था हो ।
अमेरिकाले चीनको प्रविधि कम्पनीहरू (जस्तै Huawei, ZTE) लाई निशाना बनाउँदै उच्च प्रविधि उत्पादनहरूमा प्रतिबन्ध लगाउने रणनीति अपनाउन सक्छ।यदि अमेरिकी चिप कम्पनीहरू (जस्तै Qualcomm, Intel) ले चीनलाई अत्याधुनिक चिप्स बेच्न रोक लगाए भने, चिनियाँ प्रविधि कम्पनीहरूले ठूलो झट्का खान सक्छन्। चीनले आफ्नै प्रविधि विकास गर्ने प्रयास गरिरहेको भए पनि, अत्याधुनिक सेमिकन्डक्टर (Semiconductor) प्रविधिमा अझै पनि अमेरिका र ताइवानमा ठूलो निर्भरता छ।
चीनले अमेरिकी बजार गुमायो भने, उसको वैश्विक व्यापारिक प्रभुत्व कमजोर हुन सक्छ। अमेरिका र अन्य पश्चिमा मुलुकहरूले चीनबाहेक अन्य देशहरू (भारत, भियतनाम, मेक्सिको) मा उद्योग सार्न थालेमा, चीनको औद्योगिक अर्थतन्त्रमा दीर्घकालीन असर पर्न सक्छ।
निर्यातमा गिरावट, रोजगारी गुम्ने खतरा, उत्पादन उद्योगमा मन्दी, विदेशी लगानीमा गिरावट, प्रविधि क्षेत्रमा नकारात्मक असर, आर्थिक वृद्धिदरमा गिरावट जस्ता समस्याहरू चीनलाई भोग्नुपर्छ।
तर के कुरा पक्का हो भने, यो व्यापार युद्ध चर्किएर गयो भने विजेता काेही हुने वाला छैन, चीन–अमेरिका दुवैको लागि यो युद्धको परिणाम र असर निक्कै महंगो हुनेवाला छ । यो कुरा दुवै देशले राम्ररी बुझेको छ ।चीनले वाशिङ्टनलाई ‘व्यापार तथा भन्सार युद्धमा कुनै पनि पक्ष विजयी नहुने’ बताउँदै ‘अमेरिकी प्रशासनलाई आफ्ना गलत नीतिहरू सुधार्न र व्यापारिक मामिलालाई हतियारको रूपमा प्रयोग नगर्न’ सुझाव समेत दिएको छ ।

जनताले इतिहासको डंगुरमा फ्याँकिदिएका तानाशाह मुसोलिनी

जैविक बुद्धिजीवी

सुनको मूल्य किन कीर्तिमानी उचाइमा पुगेको छ?

विष्णुकुमारी वाइवा कसरी पारिजात बनिन् ?

घातक रोगहरुबाट रक्षा गर्ने रोजमरी

नक्सलबाडीदेखि बस्तरसम्म: भारतीय माओवादी आन्दोलनको ‘उत्थान र पतन’को अन्तरकथा

सावधान ! सुत्नेबेला फोन चलाउँदा अनिद्राको जोखिम बढ्छ !

प्रतिक्रिया