सिमसार दिवस र इलामको माइपोखरी

हरेक वर्ष फेब्रुअरी २ तारिखका दिन  विश्व सिमसार दिवस (World Wetlands Day) मनाइन्छ। यो दिवस सन् १९७१ मा इरानको रामसार सहर मा भएको रामसार महासन्धि (Ramsar Convention) को सम्झनामा मनाइन्छ, जुन सिमसार क्षेत्रहरूको संरक्षण र दिगो उपयोग सुनिश्चित गर्न स्थापित गरिएको थियो।

रामसार महासन्धिअन्तर्गत अन्तर्राष्ट्रिय महत्त्वका सिमसार क्षेत्रहरुलाई सूचीकृत गरिन्छ, जसलाई रामसार सूची (Ramsar List) भन्ने गरिन्छ ।  रामसार सूचीमा सूचीकृत सिमसार क्षेत्रहरू प्राकृतिक, पारिस्थितिकीय, र जैविक रूपमा महत्त्वपूर्ण हुने भएकाले तिनीहरूको संरक्षण गर्न अन्तर्राष्ट्रिय सहयोग तथा नीति निर्माण आवश्यक मानिन्छ। यसको प्रमुख उद्देश्य सिमसारहरूको संरक्षण र स्थायी व्यवस्थापन गर्नु हो।

सिमसार भनेको पानीले भरिएका वा चिस्यानयुक्त भू-भागहरू हुन्, जसले जैविक विविधता संरक्षण, जलवायु सन्तुलन, जल व्यवस्थापन, तथा स्थानीय समुदायहरूको आजीविकामा महत्त्वपूर्ण भूमिका खेल्छ।

सिमसार दिवस मनाउनुको मुख्य उद्देश्य विश्वभरका सिमसार क्षेत्रहरूको संरक्षणप्रति जागरूकता फैलाउनु हो। जलवायु परिवर्तन, मानव अतिक्रमण, कृषि विस्तार, शहरीकरण, तथा औद्योगिकीकरण जस्ता विविध कारणहरुले गर्दा संसारभरिबाट नै सिमसारहरू तीव्र रूपमा विनाश हुँदै गएका छन्।फलत: जैविक विविधता, जल स्रोत, र पारिस्थितिकी तन्त्रमा गम्भीर असर परिरहेको छ । सिमसारहरूले कार्बन शोषण (carbon sequestration) गरेर ग्लोबल वार्मिङ कम गर्न मद्दत गर्छन् भने बाढी, सुख्खा, तथा जल व्यवस्थापनमा सिमसार क्षेत्रहरू महत्त्वपूर्ण हुन्छन्। तर यसको विनाशले संसारभरि नै प्राणीहरुको अस्तित्वमाथि संकट पैदा गर्ने अवस्था सिर्जना हुँदैछ ।

सिमसार क्षेत्रमा लाखौं वनस्पति, जलचर, तथा चराचुरुङ्गी प्रजातिहरूको वासस्थान हुन्छ।दुर्लभ तथा संकटापन्न प्रजातिहरू जोगाउन महत्त्वपूर्ण भूमिका खेल्छ। त्यसबाहेक,  सिमसार क्षेत्रहरुले स्थानीय समुदायहरूको जीविकोपार्जनमा पनि ठूलो योगदान गरिरहेको हुन्छ । स्थानीय वासिन्दाहरुले सिमसार क्षेत्रलाई माछापालन, कृषि, पर्यटन, औषधीय बोटबिरुवा संकलन, तथा पानीको स्रोतका रूपमा उपयोग गरेर आर्थिक जीवन सुधार्न पाउँछन् ।

तर औद्योगिकीकरण, कृषि विस्तार, तथा अतिक्रमणका कारण विश्वभरका सिमसार क्षेत्रहरू सङ्कटमा परेका छन्। यस कारण पनि प्राकृतिक सम्पदा जोगाउने अभियानका रुपमा तथा जलवायु परिवर्तन, पानीको सङ्कट, जैविक विविधताको गिरावटजस्ता समस्याहरूको समाधान गर्न महत्त्वपूर्ण योगदान गर्ने सिमसार क्षेत्रको संरक्षणबारेमा जनचेतना जगाउन र सिमसार क्षेत्रको महत्त्व बुझाउन सिमसार दिवस मनाइनु अत्यन्तै उचित, सान्दर्भिक र जरुरी छ ।

नेपालमा सिमसार

नेपालले सन् १९८८ मा रामसार महासन्धिमा हस्ताक्षर गरेको थियो। हाल नेपालमा १० वटा रामसार सूचीमा सूचीकृत सिमसार क्षेत्रहरू छन्। त्यसअनुसार,  कोशी टप्पु वन्यजन्तु आरक्ष (सुनसरी, सप्तरी, उदयपुर), बेघी ताल (कैलाली), गोडै ताल (कैलाली), गोक्यो ताल (सोलुखुम्बु), घोदीघोदी ताल (कैलाली), जगदीशपुर जलाशय (कपिलवस्तु), माइपोखरी (इलाम), फोक्सुण्डो ताल (डोल्पा), रारा ताल (मुगु) र शुक्लाफाँटा सिमसार क्षेत्र (कञ्चनपुर) रहेका छन् ।

इलाम जिल्लाको माइपोखरी

सिमसार क्षेत्रका रुपमा रामसार सूचीमा सूचीकृत नेपालका १० वटा मध्येका एक माइपोखरी हो । यो पूर्वी  नेपालका प्राकृतिक र धार्मिक रूपमा महत्त्वपूर्ण स्थलहरूमध्ये एक हो। यो इलाम जिल्लाको महमाई गाउँपालिकामा समुद्री सतहबाट करिब २,१०० मिटर उचाइमा रहेको छ। करिब ९० हेक्टर क्षेत्रफलमा फैलिएको माइपोखरी इलाम सदरमुकामबाट करिब १८ किलोमिटर उत्तरमा अवस्थित छ।

माइपोखरी नौ वटा साना-ठूला पोखरीहरूको समुह हो, जसलाई हिन्दू धर्मअनुसार नवदुर्गाका प्रतीकका रूपमा हेरिन्छ। यो क्षेत्र जैविक विविधताले भरिपूर्ण छ । तालको वरिपरि घना जंगल छ, जहाँ विभिन्न प्रकारका वनस्पति, चराचुरुङ्गी, र वन्यजन्तु पाइन्छन्।

हिन्दू र बौद्ध धर्मावलम्बीहरूका लागि माइपोखरी पवित्र तीर्थस्थल हो। यहाँ विशेष गरी दशैं, तिहार, र पूर्णिमाका दिनहरूमा दर्शनार्थीहरूको घुइँचो लाग्ने गर्छ।

माइपोखरी क्षेत्रमा धेरै प्रकारका दुर्लभ जडीबुटी, लालीगुराँस, जुनारबोट, तथा अन्य महत्वपूर्ण वनस्पति पाइन्छ। तीमध्येमा स्चिमा (Schima), कास्टानोप्सिस (Castanopsis), लरेल ओक (Quercus laurifolia), र एपिफाइटिक अर्किड (epiphytic orchids) मुख्य रहेका छन् । त्यसैगरी,
यस क्षेत्रमा कमल (Water lily), सनोबर (cone trees), लालीगुराँस (rhododendrons), तथा विभिन्न जडीबुटी (herbal plants) समेत पाइन्छन् ।

चितुवा, मृग, बँदेल तथा अन्य विभिन्न जनावरहरूको वासस्थान रहेको माइपोखरी क्षेत्रमा क्षेत्रमा पाइने जनावरहरूमा सेतो-पिँठ्युँ गिद्ध (white-rumped vulture), चितुवा बिरालो (Prionailurus bengalensis), युरेसियन ऊदबिलाव (Lutra lutra), तथा स्थानिय रूपमा पाइने वरिगेटेड पहाडी गोह (Variegated mountain lizard - Japalura variegata) समावेश छन्।
यस क्षेत्रमा ३०० प्रजातिका चराहरू दर्ता गरिएका छन्। यस क्षेत्रमा विभिन्न संकटापन्न चरा प्रजातिहरू पाइन्छन्, जसमा वनकुखुरा, दार्जिलिङ फाउल, र कतिपय प्रवासी चराहरू प्रमुख छन्।

सिमसारभित्र रहेको ताल, जसको पानी गाढा हरियो रङको देखिन्छ। यस तालको किनारमा माइपोखरी बोटानिकल गार्डेन (वनस्पति उद्यान) अवस्थित छ, जुन उद्यान विज्ञान (होर्टिकल्चर) र पारिस्थितिकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ।
यस उद्यानमा रक गार्डेन (ढुङ्गे बगैंचा), अर्खिड हाउस (अर्किड फूलहरूको विशेष उद्यान), पूर्वी नेपालका विभिन्न स्थानबाट सङ्कलित वनस्पतिहरू, तथा एक हरितगृह (ग्रीनहाउस) समेत रहेका छन्।

माइपोखरी पुग्ने पदमार्गहरू सुन्दर र हरियालीले भरिपूर्ण छन्, जसले पर्यटकहरूलाई लोभ्याउँछ। त्यसैगरी, प्राकृतिक शान्तिको अनुभव गर्न चाहनेहरूका लागि यो क्षेत्र उत्कृष्ट वनभोज स्थल पनि हो। लिम्बू, राई, गुरुङ, तथा अन्य आदिवासी समुदायहरूको संस्कृति बुझ्नका लागि यो ठाउँ उपयुक्त छ। यस स्थानमा गाडीबाट पनि आउन सकिन्छ ।

यो सिमसार क्षेत्रले विभिन्न खालका जोखिमहरूको सामना गरिरहेको छ। तीमध्येमा आक्रामक विदेशी प्रजातिका बोट विरुवाहरुको प्रवेश, वन क्षेत्रमा अव्यवस्थित अतिक्रमण र अनियन्त्रित निर्माण कार्य, सिमसार क्षेत्रमा जाने बाटोमा बढ्दै गइरहेको मानव बस्ती मुख्य छन् । त्यसैगरी, माइपोखरीको जलाधार क्षेत्रमा रहेका चिया बगानहरूमा विषादीको प्रयोग अर्को मुख्य समस्या हो । त्यसबाहेक, इलामको पहाडमा अलैंची, बुके घाँस, र बगैंचासम्बन्धी क्रियाकलापबढ्दा सिमसारको प्राकृतिक आवास नष्ट हुने खतरा बढेर गएको छ ।