विचारहीन राजनीतिको गन्तव्य सत्ता मात्रै बन्न पुग्यो

शासन सत्ताको बागडोर सम्हालेपछि देश बनिसक्यो, बन्दैछ, बन्ने मार्गमा अगाडि बढिसक्यो, तर सत्ताबाट झरेर प्रतिपक्षी कित्तामा पुगेपछि देश बर्बाद भइसक्यो, बन्दै बनेको छैन र बन्ने बाटोमै छैन—यो आम रूपमा सुनिन्छ। वास्तवमा के यिनै भाष्यहरू सत्य हुन् त? नागरिकको आँखाबाट हेर्दा देश कुन धरातलमा छ, के भइरहेको छ र के हुन बाँकी छ?

नेपालमा २०६५ साल जेठ १५ गते संविधान सभाको पहिलो बैठकले करिब २४० वर्ष लामो राजतन्त्रको उन्मूलन गरी गणतन्त्र घोषणा गरेपछि मात्र यो १६ वर्षमा १३ वटा भन्दा बढी सरकार गठन भइसकेका छन् र बाँकी सरकार बनाउने र ढाल्ने प्रक्रिया जारी छ। संसदको सदाबहार प्रतिपक्ष नेपाल मजदुर किसान पार्टी बाहेक अरू सबै संसदमा प्रतिनिधित्व गर्ने दलहरू सत्तामा पुगेर देश बनाइसकेका र प्रतिपक्षी भएर देश बन्दै बनेको छैन भनेर वकालत गर्ने दलहरू हुन्। एउटा स्वतन्त्र नागरिकको दृष्टिकोणले हेर्दा यो प्रक्रिया राजनीति नभई कुटिल राजनीतिको औद्योगीकरण मात्रै हो। जुन उद्योग आफ्ना कुकृत्य लुकाउने र जनतालाई दिग्भ्रमित गर्न सञ्चालित छन्।

मूलतः कुनै पनि देशका स्थापित राजनीतिक दलहरूले आफ्नो पार्टीको सिद्धान्त, घोषित नीति, विधानलाई अक्षुण्ण राख्दै देश र जनताका मुद्दालाई प्राथमिकताका साथ उठाउनु दलहरूको मुख्य दायित्व हो। वर्तमान समयमा दुई ठूला विपरीत ध्रुवका राजनीतिक दलहरू—नेपाली कांग्रेस र नेकपा एमाले—बीच गठबन्धन गरी निर्माण गरिएको सरकार वैचारिक स्खलनको ज्वलन्त उदाहरण हो। २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना कालदेखि संस्थागत रूपमा नेपालमा वर्ग विभेद र वर्ग शोषणविरुद्धको राजनीतिक संघर्षको थालनी गरिएको हो। त्यसैको जगमा स्थापित दलले वर्ग संघर्ष (class struggle) को बाटो छोडेर वर्ग समन्वय (class coordination) को पक्षतर्फ ढल्किनु १८४८ मा कार्ल मार्क्स र फ्रेडरिख एंगेल्सद्वारा लिखित कम्युनिष्ट घोषणापत्र (Communist Manifesto) को खिलाप हो। जुन घोषणापत्रले वर्ग संघर्षलाई कामदार वर्गको मुक्ति र श्रमजीवी सर्वहारा वर्गको राज्यसत्ता स्थापना गर्ने मूल अस्त्रका रूपमा अगाडि सारेको छ। दक्षिणपन्थी र वामपन्थी राजनीतिक दलहरूबीचको समन्वयबाट मुलुकको विकास र समृद्धिको परिकल्पना गर्नु दिवास्वप्न मात्रै हो।

राजनीतिक दलहरूले बाटो बिराउँदा नेतृत्वलाई सच्याउने, नियन्त्रणमा राख्ने र सन्तुलन कायम गर्न सक्ने सामर्थ्य दलका कार्यकर्ताहरूमा हुनुपर्छ। तर त्यसको ठीक विपरीत, आज दलका कार्यकर्ताहरूमा सत्य र मिथ्या केलाउने क्षमता क्षीण हुँदै गइरहेको छ। नेतृत्वको गलत निर्णयको विरोध गर्नुको साटो नेतृत्वको देवत्वकरण गरेमा मात्रै आफू नेता स्थापित हुन सकिन्छ भन्ने मानसिकताले धेरै ठूलो ठाउँ ओगट्दै गइरहेको छ। विशेष गरी कम्युनिष्ट पार्टीहरूमा लेनिनवादी संगठनात्मक सिद्धान्तको विशेषता जनवाद र केन्द्रीयता हो। जसले जनवाद विनाको केन्द्रीयता निरंकुश हुन्छ र केन्द्रीयता विनाको जनवाद अराजक हुन्छ भन्ने मत राख्छ। तर कम्युनिष्ट पार्टीहरूमा पनि जनवाद र केन्द्रीयताको सन्तुलनका उदाहरण विरलै मात्र देखिन्छ। मूलतः यही कारणले दल र नेतृत्व वैचारिक स्खलन र पथ विचलनतर्फ उन्मुख भइरहेका छन्। नेता तथा कार्यकर्ताहरू सिद्धान्त र घोषित नीतिहरू वकालत गर्नुको साटो बुद्ध चित्तको माला जपेझैँ "सत्ता, सत्ता, सत्ता" भन्दै तल्लिन रहनु विचारहीनहरूको अन्तिम गन्तव्य सत्ता मात्रै हो भन्ने कुराको बलियो दसी प्रमाण हो।

वास्तवमा राजनीतिको गन्तव्य जनताको सेवा नै हो। नेपालको दुई पृथक धारातर्फ होमिएका दक्षिणपन्थी (नेपाली कांग्रेस) प्रजातान्त्रिक समाजवाद र वामपन्थी दलहरूको गन्तव्य समाजवाद हुँदै साम्यवाद नै हो। जुन व्यवस्थामा श्रमिक वर्गको सम्मान र कामदार वर्गकै सम्प्रभुता कायम रहन्छ। निजी सम्पत्तिको अन्त्य गरी राष्ट्रिय पूँजीको निर्माण गरिएको हुन्छ। नेपालमा दुवै पृथक राजनीतिक धाराहरूको प्रादुर्भाव (उद्भव) हुदाका बखतको उद्देश्य र मर्म निकै गर्विलो र जनउत्तरदायी थियो। कमरेड पुष्पलालहरूले २००६ सालमा कम्युनिष्ट आन्दोलन प्रारम्भ गर्दा र विपी कोइरालाहरूले प्रजातान्त्रिक समाजवादी धारा प्रारम्भ गर्दा जुन मर्म र भावना थियो, त्यसअनुसार आजको राजनीति अगाडि बढ्न सकिरहेको छैन। हिजो जनताको अधिकार स्थापित गर्न प्रारम्भ गरिएको राजनीति आज व्यक्तिगत स्वार्थ सिद्धिको रसातलमा फसेको छ।