चेतनास्तर कि कि हठवाद ?

कसैले जीवन आहुती दिँदैमा त्यो महान कार्य भैहाल्छ ?

एउटा पक्षलाई मात्र हरेर मूल्यांकन गर्ने, कुनै एक समयमा निर्धारित भएका रणनीति र कौशललाई सर्वकालीन बनाउने र सिद्धान्तलाई शास्वत रुपमा ग्रहण गर्ने आदि असंगतिहरुले मार्क्सवादको नाममा मार्क्सवादलाई नै वदनाम गर्ने, यसलाई रुढी चिन्तन र सम्प्रदायवादमा फेर्ने काम भैरहेको छ ।

समाजमा परिवर्तनका खातिर त्याग वलिदानको आवश्यकता त संधै पर्दछ । बिना त्याग बलिदान कुनै महत्–कार्यको सम्पादन हुन सक्तैन । त्याग, बलिदान र इमान्दारी भनेका अत्यावश्यक र आधारभूत कुरा हुन् । तर केवल त्याग र बलिदानले कुनै अभिष्ट प्राप्त हुन सक्तैन ।

इतिहासमा थुप्रै त्याग बलिदानका कथा र प्रसंग पाउँछौं, कति वीर पुरुषहरुले जीवनको आहुती दिएका पाउँछौं । आज पनि समाज परिवर्तनका लागि धेरै राजनैतिक कार्यकर्ताहरुले जीवन होमिराखेका छन् । उनीहरु जीऊ-ज्यान अर्पेर हिंडिरहेका छन् । व्यक्तिगत सुख-सयललाई त्यागेका छन् । परिवारप्रति असहयोगी बनेका छन् । त्यस्ता राजनैतिक नेता-कायकर्ताहरुको इमान्दारी र त्यागमाथि कुनै शंका छैन, उनीहरुको आत्मउत्सर्ग उच्चकोटीकै छ । तर यति हुँदा हुदै पनि उनीहरुको जीवनमा कुनै गति, उनीहरुको आन्दोलनमा कुनै गति देखा परेको छैन । यसको कारण के हो ?

कुनै आन्दोलन ठीक दिशामा निर्देशित हुनका लागि, कुनै अभिष्ट प्राप्तिको लागि चेतनाको भूमिका सर्वोपरि हुन्छ । मजदूर-आन्दोलन भनेकै अत्यन्त सचेत आन्दोलन हो । वर्ग विभाजित समाजमा वर्गीय चेतनाले मानिसलाई यता वा उता लाग्न उत्प्रेरित गरिरहन्छ । र, समाजमा विद्यमान प्रभुत्वशाली वर्ग-चेतनाले वर्गस्तरमा प्रभाव पारिरहेको हुन्छ । उदीयमान चेतनालाई थुन्ने, छेक्ने, र त्यसलाई विकृत पार्ने काम गरिरहेको हुन्छ । त्यसकारण, वर्गीय अवधारणाहरुमा स्पष्ट नभै, वर्गगत मूल्य र मान्यताहरुले सज्जित नभै कुनै पनि आन्दोलन अगाडि बढ्न सक्दैन ।

त्याग-बलिदान सचेतन् भूमिकामा निर्वाह हुन पुगेमा मात्र त्यो वास्तविक त्याग-बलिदान हुन्छ । वस्तुगत सोचाइबाट निर्मित उत्सर्गले मात्र वास्तविक जीवनमा कुनै योग पुयाउन सक्तछ । आत्मगत (Subjective) सोचाइबाट संचालित उत्सर्गहरुले कुनै योग पुऱ्याउन सक्तैनन । तिनले त अरु भ्रमहरु पैदा गर्दछन्, निरासा, हतोत्साह र क्लेशहरु जन्माउँछन् । यसबाट जीवन र समाजलाई कुनै प्रेरणा हुँदैन ।

यस कारण, त्याग र बलिदानलाई मात्र हेरेर कुनै मूल्यांकन गर्न सकिन्न । कसैले जीवन आहुती दिँदैमा त्यो महान कार्य भइहाल्छ भन्ने छैन । वलिदानको एउटा पक्ष मात्र मानिसलाई मूल्यांकन गर्ने कुरो होइन । साथै बलिदान नै नभएको, आत्मउत्सर्ग नै नभएको विचार पनि कुनै कामको हुन्न । विचार र भावनाको उच्च किसिमको समन्वय वा यिनको द्वन्दात्मक सम्बन्धमा नै सही धारणा बन्न सक्छ ।

वर्ग-सचेत नभएको त्याग र वलिदानले हठ र अन्धता जन्माउने गर्दछ । कुनै कार्यकर्ता आफू लगनशील भएकै कारणले आफू सवैभन्दा ठीक भएको ठहऱ्याउन पुग्दछ र आफ्ना होचपोच विचारहरुलाई सही विचार ठान्न पुग्दछ । र, ऊ मुढाग्रही बन्ने संभावना हुन्छ । साथै, यसरी निर्मित भएका धारणाहरुले समाजमा कुनै पनि सहयोग पुर्‍याउन सक्तैनन् । बरु तिनले, हठवादिता, अन्धतालाई बढावा दिन्छन्, जसले सिद्धान्तलाई धर्मशास्त्रको रुपमा र संगठनलाई कुनै मतवादी सम्प्रदायको रुपमा विकास गराउँछ । सिद्धान्तलाई गतिशील भन्न छोडेका हुन्नन् तर सही-चिन्तन वा चिन्तन प्रकृयामा एक किसिमको रुकावट (Stagnation) आइसकेको हुन्छ । "यसरी वैज्ञानिक सिद्धान्त वा द्वन्दात्मक सिद्धान्तहरु पनि एक किसिमले रुढी चिन्तन र संप्रदायमा फेरिन पुग्दछन ।

आज मार्क्सवादी आन्दोलनमा पनि यही भइरहेको छ । आन्दोलनकारीहरु यथेष्ठ रुपमै सम्प्रदायवादी, हठवादी हुन पुगेका छन् । एउटा पक्षलाई मात्र हरेर मूल्यांकन गर्ने, कुनै एक समयमा निर्धारित भएका रणनीति र कौशललाई सर्वकालीन बनाउने र सिद्धान्तलाई शास्वत रुपमा ग्रहण गर्ने आदि असंगतिहरुले मार्क्सवादी आन्दोलन भरिएको छ । मार्क्सवादको नाममा मार्क्सवादलाई नै वदनाम गर्ने, यसलाई रुढी चिन्तन र सम्प्रदायवादमा फेर्ने काम भैरहेको छ ।

त्यसकारण आफ्नो यो हठवादी मतवादी चिन्तन प्रकृयाबाट मुक्ति पाउनका लागि हामीमा त्याग र वलिदान मात्र भएर पुग्दैन । यी रुढी धारणाहरुलाई हामीले फेर्नु पनि जरुरी छ । चेतनास्तर भनेको कुनै सूचनाहरु र जानकारीहरुको पोको वा सामान्य ज्ञानको पुस्तक होइन, यो त सांस्कृतिक- वैचारिक स्ट्याण्डर्ड हो भन्ने बोध हुनु जरुरी छ । आजको अचेत स्थितिलाई सचेतन-आन्दोलनमा, नफरेसम्म समाज परिवर्तन गर्ने हाम्रो अभिष्ट केवल कुरो मात्र हुनेछ ।

मूल्याङ्कन मासिक २०४९–५०, चैत/वैशाख अंकमा प्रकाशित