यादव सरको प्रेरणा र तेस्रो जनआन्दोलन

श्री रसुवा माध्यामिक विद्यालय, धुन्चेबाट कक्षा ९ उत्तिर्ण गर्दै थिएँ, २०६१ मा संखुवासभा च्याम्ताङका गोवा पासाङ भोटेसंग मेरो विहे भइगयो। लगत्तै छोरी फूर्बा र छोरा वाङ्चुक जन्मिए। तिनीहरु क्रमश: हुर्किदै थिए। बौद्व आरुबारी घर नजिकै शितल तापेर बसिरहेका थियौं, अचानक हावाले एउटा कागज उडाएर ल्यायो। हेर्दा कक्षा १२ को प्रश्नपत्र रहेछ। पढेको, यत्ति सजिलो प्रश्नहरु रहेछन् कि यस्तो हो भने त म पनि पढ्छु, भन्ने लाग्यो। गोवाजीले समर्थन जनाए। २८ बर्षको उमेरमा विद्यालय भर्ना भएँ। २०७२ मा परिक्षा दिएकोमा जीपीए २.८२ प्राप्ताङक ल्याएर एसईई उत्तिर्ण गरें। हाल पशुपती क्याम्पस, काठमाडौंमा मानविकी सङ्काय स्नातकोत्तर तहमा अध्ययनरत छु।

आमा युचुङ तामाङ र आपा रुपसिं तामाङ्की कान्छी छोरीको रुपमा पुस २०४४ तदनुसार ३० डिसेम्बर १९८६ मा मेरो जन्म भयो। रसुवा जिल्लाको हाकुवेशीमा जन्मेकी मैले धुन्चे सदरमुकामबाट कक्षा ९ उत्तिर्ण गर्दै थिएँ, अचानक विवाह भएपछि काठमाडौंमा आएर बसोबास गरियो। गोवाजीको जेठी श्रीमतिसंग सम्बन्ध विच्छेद भएको रहेछ। जेठीपट्टीका छोरी डेमा र छोरा थुप्तेन समेत चार जना नानीहरु हुर्काउदै उज्यालो विध्यागृह, कालोपुलबाट मैले एसईईको परिक्षा दिएको थिएँ।

शिक्षा र जीवन संघर्षमा मैले जुन स्थान हासिल गरिरहेकी छु, विद्यालयतर्फ हाम्रो गाउँमा हेडसर बनेर आउनु भएका श्री रामसुदर यादवको उल्लेखनीय भूमिका छ। हाल उहाँ दिवङ्गत भइसक्नु भएको सुनेकी छु। यस अवसरमा यादव सरप्रति श्रद्वाञ्जलि अर्पण गर्दै धेरै जना साथीसंगी र अविभावकहरु समेतले छोटो नै भए पनि आत्मकथा लेख भनेर घच्घच्याउने गरेको प्रयासस्वरुप मैले यो लेख लेखेकी छु।

हाकुवेशी गाउँ, रसुवा

यो गाउँ पहिला नेपाल र तिब्बतवीच आवागनको बाटोमा पर्छ। उत्तरतर्फ केरुङ र पूर्व-दक्षिणतर्फ धुन्चे सदरमुकाम पर्दछ। त्यसैले पनि होला, यहाँको सबै जमीन स्वयंभू घ्याङ गुठीको नाममा थियो। पहिला हाकु गाविस (गाउँ विकास समिति) को रुपमा रहेको यो गाउँ पछिल्लो स्थानीय तह पुन:संरचनामा आमाछोदिङमो गाउँपालिका वार्ड नं १ मा पर्दछ। यो गाउँ त्रीशुली नदी र धुन्चेको पश्चिमपट्टी तथा स्याब्रुवेशी र गोसाइँकुण्ड पोखरीको दक्षिणमा अवस्थित छ। हाकुवेशीदेखि धुन्चे सदरमुकाम पुग्न उकालो हिँडाईमा करिव ३ घण्टा लाग्दथ्यो।

हाकुवेशी गाउँको सामाजिक उपस्थितिमा सतप्रतिशत जस्तै तामाङको बसोबास छ, अन्य जातजाति पनि छन् तर अपवादमा मात्र। अरु जातिका मानिस आएर जसले बसोबास गरेका छन्, प्राय: ती तामाङ जातिमा बदलिएका छन्। तामाङ जातिभित्रका थरहरुमा स्याङ्बो, वाईबा, मोक्तान, लोप्चन, थोक्रा, घ्लान, बोम्जन आदि छन्।

मेरी मावाली बजू ठूलो हाकु गाउँस्थित नेवारकी छोरी हुन, जसले ह्योल्मोसंग विवाह गरेकी थिइन। हेलम्बुबाट व्यापार गर्दै आएका ह्योल्मो यसरी मेरा मावाली बाजे हुन्।

स्थानीय तामाङ भाषामा र=बाख्रा र सोवा=चराउने जग्गा हो। यसरी "र सोवा" भनेको नेपालीमा बाख्रा चराउने जग्गा हो। त्यही तामाङ शब्दको "रसोवा" अपभ्रंशित भएर "रसुवा" बन्न पुगेको देखिन्छ। जुन, जिल्लाको नाम बनेर आएको छ।

हाम्रो परिवारमा चार जना दाजू र तीन जना दिदीहरुपछि म जन्मिएकी रहेछु। प्राय: ६-६ बर्षको फरकमा दाजू-दिदीहरु जन्मेका रहेछन् अनि म चाहिँ आमा ४७ बर्षको हुँदा जन्मेकी रहिछु। अहिले आमा ८५ बर्षको हुनु भयो, उहाँ हाकुवेशी गाउँमै बस्नु हुन्छ।

श्री हाकुवेशी प्राथमिक विद्यालय, २०४५

हाम्रो गाउँ, विसं २०४५ सालमा "हाकुवेशी प्राथमिक विद्यालय" स्थापना भएको रहेछ। जहाँ कक्षा ५ सम्मको पढाइ हुन्थ्यो।

श्री रामसुन्दर यादव नामको सर हाम्रो विद्यालयमा आइपुग्नु भएछ। विद्यालयमा कोही विद्यार्थी नभएकाले गाउँको घर-घर डुलेर यादव सरले छोराछोरी, केटाकेटी विद्यालय पठाउन व्यापक ऊर्दी गर्नु भएछ। त्यही सिलसिलामा हाम्रो माईला दाजूले मलाई विद्यालय पठाउने कुरा गर्नु भयो र घरबाट मलाई विद्यालय पठाइयो। जुन समय म १० बर्षकी थिएँ। विद्यालय गएकै दिन केही सोधपुछ गरेर मलाई कक्षा २ मा भर्ना गरियो। सरहरुले कक्षामा कुनै विषय पढाएका थिए। त्यो दिन मलाई थाहा भयो: म बसेको ठाउँ रसुवा जिल्लाको हाकुवेशी गाउँमा पर्दो रहेछ। गाई-बाख्रा चराइरहने मान्छे कस्सिएर विद्यालय धाउन र पढ्न लागियो।

अर्को साल परिक्षा भयो। कक्षामा म प्रथम भएँ। त्यस अघि अरु नै प्रथम हुने गरेका थिएछन्। त्यो सालदेखि लगातार प्रथम हुँदै म अघि बढें। दु:खको कुरा, कक्षा ९ सम्म पुग्दा हिजोका सबै साथीहरु अनुत्तिर्ण (फेल) भए। हाकुवेशी प्राथमिक विद्यालयको पढाइ सकेर म धुन्चे सदरमुकामतर्फ लागेपछि त्यहाँबाट मैले चाहिँ कक्षा ९ उत्तिर्ण गरें।

हाकुवेशी गाउँबाट किनमेलका लागि सानो बजार धुन्चे थियो भने ठूलो बजार नुवाकोटको त्रीशुली पर्दथ्यो।

हाकुवेशीदेखि धुन्चे जाँदा पुलपारीको बाटो लाङ्टाङ राष्ट्रिय निकुञ्जको क्षेत्रमा पर्थ्यो। जुन समय म धुन्चेमा पढ्दै थिएँ, सदरमुकाममा बसेर पढ्नलाई खर्चको अभाव हुनाले घरबाटै माध्यामिक विद्यालय धाउने गरिन्थ्यो। विहानै सागसब्जी बोकेर हिंडिन्थ्यो। तर, बाटोभरि जंगलमा छोपिएर शाहीसेना बसेका हुन्थे। तिनीहरु निस्केर हामीलाई शत्रु झैं केरकार पार्थे। बजारमा बेचेर दुई-चार पैसा कमाउदै कापी-कलम किन्ने भनेर हामीले बोकेको सागपात खोसेर बँदेललाई ख्वाउथे। साह्रै चित्त दुख्थ्यो। कत्ति पटक रुँदै-रुँदै जाने-आउने गरियो। कारण, ती सेनाले माओवादी पालेको, लुकाएको आरोपमा त्यसरी हामीलाई सताउने गर्थे। थाहा भयो, देशमा जनयुद्व चलेको थिएछ। लाग्थ्यो, कुनै बिना गल्ती त्यसरी सताउने सेनालाई क्रान्तिकारी बनेर ठाउँको ठाउँ बसालौं!

तामाङ भाषामा पढाउने यादव सर!

सिरहा जिल्ला घर भएका हेड सरको नाम रामसुन्दर यादव थियो। हाकुवेशी गाउँका विद्यार्थी खस-नेपाली  भाषा केही बुझ्दैनथे। नचिनेको मानिस देख्यो भने भाग्ने गरिन्थ्यो। तर, यादव सरले कसरी हो, तामाङ भाषा सिक्नु भएछ र प्राय: व्यवहारमा उहाँले तामाङमै  बोल्ने गर्नु हुन्थ्यो। त्यसले गर्दा स्थानीय अविभावक र विद्यार्थीले सहज मान्थे। कक्षामा नेपाली र अंग्रेजीको पाठ यादव सरले पहिला तामाङ भाषामा व्याख्या गरेर बुझाउनु हुन्थ्यो, त्यसपछि नेपाली या अंग्रेजीमा। यसो गर्दा पाठ बुझ्न हामी विद्यार्थीलाई साह्रै सजिलो हुन्थ्यो।

यादव सर आउनु अघि हाकु विद्यालयमा छोराछोरी पठाउन अविभावहरु रुचाउदैनथे। कारण, शिक्षकले विद्यार्थीको तामाङ भाषा नबुझ्ने अनि विद्यार्थीले शिक्षकको नेपाली भाषा नबुझ्ने। अब के गर्ने त भन्दा  कक्षा कोठामा आफ्नै स्थानीय दोहरी गाउने, नाच्ने गर्दा रहेछन्। त्यस्तो बेकारको पढाई (वास्तवमा त्यो पढाइ नै होइन) भएपछि अभिभावक र विद्यार्थीले विद्यालयप्रति रुचि देखाउन् पो कसरी?

तर, यादव सर चाहिँ स्थानीय जनताको तामाङ भाषा बोल्ने हुनाले विद्यालयले जुनी फेर्न थाल्यो। सर भन्नू हुन्थ्यो:  मेरो पनि अर्कै भाषा छ, विस्तारै सिकेर नेपाली पास गरें र अहिले शिक्षक सेवामा छु। तिमीहरुले पनि प्रयास गर, सिक्न र जान्न अवश्य सक्छौ। पछि बुझियो, यादव सरको मातृभाषा मैथिली रहेछ। किनभने, मधेशको सिरहामा मैथिली मातृभाषा बोलिँदो रहेछ।

यादव सर ज्यादै कडा अनुशाननको हुनुहुन्थ्यो। विद्यालय र विद्यार्थीवीच मात्र होइन, गाउँले समाजमा पनि कडा अनुशासनको माग गर्नु हुन्थ्यो। शिक्षामा अनिवार्य जोड नदिएसम्म अरु मेहेनतको अर्थ हुँदैन, भन्ने यादव सर नागरिकलाई स्वावलम्बन तथा खेतीपाती र पशुपालन आत्मनिर्भरतामा विशेष जोड दिनु हुन्थ्यो। अनावश्यक समय खेर फाल्नु हुँदैन, भन्ने यादव सरले मेहेनत नगर्ने जो कोहीलाई दुश्मन ठान्नु हुन्थ्यो। हाकुवेशी समाजमा उल्लेखनीय जागरण ल्याउन सफल यादव सर हाँसेको मलाई थाहा छैन। अथवा उहाँको चेहरामा हाँसो भनेको औंशी-पूर्णिमा जस्तो लाग्थ्यो। त्यसर्थ उहाँ ज्यादै रिसाहा झैं देखिनु हुन्थ्यो। तर, आज विचार गर्दा रिसाहा नभएर यादव सर गम्भीर स्वभावको हुनु हुन्थेछ।

केही बर्षपछि त्यही मेहेनत नगर्नेमध्येका कसैले उहाँलाई दु:ख दिएछन्। हाकुवेशीबाट यादव सरको सरुवा भार्खुमा भयो।

पछिल्लो समय रसुवा जिल्लाकै विद्यालयमा पढाउदै गर्दा तामाङ भाषामा विद्यार्थीलाई निर्देशन गर्दै गरेको युट्युब भिडियो सार्वजानिक पनि भएको छ। जसले, धेरै मानिसले यादव सरको भाषिक तथा शैक्षिक योगदानवारे जानकारी प्राप्त गरेको हुनुपर्छ। त्यसर्थमा यादव सर तामाङ बहुल रसुवाको शैक्षिक जागरणमा एक अदभूत व्यक्तित्व हुनुहुन्थ्यो।

गोवाजीको स्वास्थ्य र मेरो पढाई!

संखुवासभाको जिल्ला सदरमुकाम खाँदबारी त म पहिल्यै पुगेकी थिएँ। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा गोवाजी समानुपातिकतर्फको सभासद उमेदवार बन्नु भयो। भोट माग्ने भन्दै हामी च्याम्ताङसम्म पुग्यौं, जुन गोवाजीको जन्मगाउँ हो। पहिलेको संरचनामा चेपुवा गाविसको एउटा गाउँ थियो, च्याम्ताङ। पछिल्लो स्थानीय संरचना अनुसार भोटखोलामा पर्छ, यो गाउँ। चीनको ठ्याक्कै सीमाना गाउँ किमाथाङ्का भोटखोला गाउँपालिकाको वार्ड नं १ मा पर्दछ भने च्याम्ताङ वार्ड नं २ मा पर्छ। यसरी गोवाजीको जन्मगाउँ गणतन्त्र नेपालको उत्तरी सीमाना गाउँ हो। जुन, खास हिमालयभित्र अवस्थित छ।

त्यो दिन एसईईको परिक्षा थियो र म परिक्षा केन्द्रतिर लागें। ठुल्दिदीकी बुहारी विरामी थिइन् र चाबेलको एक अस्पतालमा जँचाउन भनेर गोवाजी त्यता लाग्नु भएको थियो। बुहारीलाई जँचाएपछि आफ्नो पनि जाँच गर्ने भनी गोवाजीले सोंच्नु भएछ। जाँच गर्दा बुहारी भन्दा चर्को विमार अवस्थामा गोवाजीलाई पाएछन्, डाक्टरहरुले। तुरुन्तै ह्विलचेयरमा राखेर सघन कक्षतिर लगेछन्। जबकि, त्यस अघि गोवाजीलाई केही विरामी देखिएकै थिएन। तर, मुटुको समस्या चर्को भइसकेको रहेछ। जब म परिक्षा सकेर बाहिर निस्कें अनि मोबाईलबाट घरमा फोन गरें। आश्चार्य, गोवाजी त सघन कक्षको उपचारमा पो!

परीक्षा केन्द्रबाट म सिधै अस्पतालतिर दौडें। उपचार गरियो। पटक-पटकको गम्भीर उपचार गरियो। नभन्दै उहाँको स्वास्थ्य स्थिति ठिकै छ।

अन्त्यमा, यस आलेखबाट हाकुवेशी प्राथमिक विद्यालयका तत्कालीन प्रधानअध्यापक तथा गुरु रामसुन्दर यादवप्रति उच्चसम्मान र श्रद्वाञ्जलि अर्पण गर्दै उहाँको परिवाजनमा समवेदना व्यक्त गर्नु एक विद्यार्थीको कर्तव्य सम्झेकी छु।

साथैं, हजारौं सहिदहरुले रगत बगाएर ल्याइएको गणतन्त्रलाई आधारभूत महिलाको गणतन्त्र, मजदुर-किसान र ताम्सालिङको गणतन्त्रमा बदल्ने न्यायपूर्ण आन्दोलन जारी छ। त्यसैले पूर्ण समानुपातिक समाजवादी निर्वाचन प्रणाली स्थापनाको लक्ष्यमा तेस्रो जनआन्दोलनप्रति उत्पीडित तथा देशभक्त नेपालीको विशेष ध्यान केन्द्रित रहनु पर्छ, भन्ने लाग्दछ। एक जना महिला, एक जना गृहिणी, एक जना आमा र एक जना उच्चशिक्षा अध्ययनरत विद्यार्थीको हैसियतले हामीले चाहिँ तेस्रो जनआन्दोलनको गम्भीर आवश्यकता अनुभव गरिरहेका छौं। आफुले जे सकिन्छ, त्यो सेवा गर्न अग्रसर भएर पहिचान र अधिकारका निम्ति लडिरहेका सबैलाई, यसैसाथ तेस्रो जनआन्दोलनको झण्डामा मोर्चाबन्दीको विशेष आग्रह पनि छ।