सन्दर्भ आशिका तामाङ: जनमत, न्यायको खोजी र राज्यको जीतको अर्थ !
आशिका तामाङले आफ्ना शैली र कामकारवाहीबारे ‘आत्मालोचना’ गरिरहँदा उनलाई सचेत गरेर छाड्दा पुग्नेमा हदैसम्म दण्डित गर्नेतिर अपहत्ते गरेर राज्य लाग्नुको अन्तर्य भनेको कतै आफू विरुद्ध उठ्ने कुनै पनि किसिमको आवाजलाई हरहालतमा निमिट्यान्न पारिनेछ भन्ने सन्देश सम्प्रेषण त गर्न खोजिरहेको छैन ?
यतिखेर नेपाली समाज सम्भवतः इतिहासकै एउटा त्रासद र घोर निराशाको समयबीच गुज्रिरहेको छ । चरम निराशा र घोर कुण्ठाका बीच जब राज्यप्रति आमजनताको आशा, भरोसा र निष्ठा भंग हुन्छ र आफ्ना लागि बोलिदिने र सुनिदिने कोही छैन भन्ने मानसिकता जबरजस्त ढङ्गले गढेको हुन्छ, त्यसबेलामा आफ्ना पक्षमा बोलिदिएको जस्तो लाग्ने स–साना घटनाहरुले पनि मानिसलाई उद्वेलित तुल्याइदिन्छ, उनीहरुमा परिवर्तनको आशा र उत्साहको सञ्चार गरिदिन्छ । उनीहरुले त्यसरी बोलिदिने व्यक्तिमा ‘त्राणहरणकर्ता’को छवि देख्न थाल्छ । हिन्दी फिल्मका हिरोले भिलेनलाई भक्कुमार कुटेको दृश्य देख्दा हलमा छाउने खुसी र हर्षोल्लाषको उन्मादबीच बज्ने सिटीमा आफ्नो कुण्ठाको निकास भएको ठान्ने समाजमा यो हुनु कुनै अनौठो होइन ।
यस अर्थमा आशिका तामाङ नाम गरेकी एक महिला समाजसेवी र समाजसुधारक अभियन्ताको रुपमा उदाउनु, उनका कामकारवाहीहरुले आमजनताको ध्यान आकर्षित गर्नु र उनले ‘सही काम गरेका छन्’ भन्ने अनुभूत जनताको एक हिस्सामा हुनु कुनै अनौठो कुरा होइन । आशिका तामाङले जनताको मनमा गुम्सेर रहेका कुण्ठाहरुलाई वाणी दिइन्, त्यसका बारेमा कुराहरु उठाइन्, त्यसले छोटो समयमै उनको पक्षमा जनमत सिर्जना भएको कुरा सत्य हो । त्यसलाई सम्हाल्न र नियन्त्रण गर्न नसक्दा उनका कतिपय प्रस्तुति, शैली र तौरतरिकाहरु हिन्दी फिल्मका नायकलाई माथ गर्ने खालका ‘उग्र’ पनि देखिए, उनी ‘अभियन्ता कम, फैसला सुनाउने न्यायाधिकारी’का रुपमा समेत प्रस्तुत भए, यो तीतो सत्य हो । तर उत्तिकै तीतो सत्य कुरा के पनि हो भने, उनले जनताको मनमा गलत भइरहेको छ भन्ने लागिरहेको तथा प्रकट गर्न नसकेर कुण्ठाको रुपमा उकुसमुकुस अवस्थामा गुम्सिएर रहेका कुराहरुलाई मुखर गरिन्, त्यसबारेमा आवाज उठाइन् । त्यही भएर उनको पक्षमा जनमत सिर्जना पनि भयो ।
अभियन्ताका रुपमा उनले गरेका कतिपय कामकारवाहीहरुलाई लिएर यतिखेर राज्यले उनका विरुद्धमा अभद्र व्यवहारको आरोपमा कारवाही थालेको छ । तर यस कुरामा राज्य जसरी प्रस्तुत भएको छ, त्यसले उनीमाथिको कानूनी कारवाही विधि र न्यायको पक्षमा भन्दा पनि ‘देखाएरै छाडिदिने’ खालको तुष्टिकरण प्राप्तिको लागि गरिएको प्रतिशोधपूर्ण देखिन थालेको छ । त्यसक्रममा उनलाई ‘एउटा खुंखार अपराधीसरह’ हत्कडी समेत लगाइएको छ । विभिन्न ठाउँमा उनले गरेका काम–कारवाहीहरुलाई लिएर उनीविरुद्ध थुप्रै ठाउँहरुमा कानूनी कारवाही चलाउने तयारीमा राज्य लागेको देखिन्छ । त्यसैको उदाहरण हो, एक ठाउँबाट धरौटीमा छुट्नेबित्तिकै उनलाई प्रहरीले पक्राउ गरेर फेरि कारवाही चलाउने प्रक्रियाको थालनी गर्नु !
आशिका तामाङका व्यवहार र शैलीहरुमा प्रश्न उठाउन सकिने र उठाउनै पर्ने थुप्रै ठाउँहरु छन्, तर तीभन्दा पनि मुख्य कुरा के हो भने, उनी के कुराले त्यसरी प्रस्तुत हुन बाध्य वा उत्साहित भइन् ? उनका कामकारवाहीहरु सर्वसाधारणका लागि किन आकर्षण र वाहीवाहीको विषय बन्यो ? किन जनमतको ठूलो हिस्साले उनका आवाजलाई न्यायको पक्षमा उठाएको आवाज ठान्यो ? अहिले उनीविरुद्ध कारवाही गर्नको लागि टुप्पी कसेर लागेको राज्यले यो पक्षबारे गम्भीर विवेचना गर्नु जरुरी छ । जनताले भोगिरहेका र जनताले ‘गलत भइरहेको छ’ भनेर अनुभूत गरेका विषयमा आवाज उठाउने एक ‘अभियन्ता’लाई जसरी भए पनि दण्डित गरेरै छाड्ने तथा ‘प्रोसेस इज द पनिस्मेन्ट’ (Process is the punishment) को तौरतरिकाबाट उनलाई हावाकावा खेलाउने गरी राज्य प्रस्तुत हुनु पक्कै पनि सही कुरा होइन । ‘प्रोसेस इज द पनिस्मेन्ट’ भनेको त्यो विवादास्पद अवधारणा हो जसलाई राज्यले प्रतिशोध साँध्ने हतियारको रूपमा पनि प्रयोग गर्ने खतरा रहन्छ। यसक्रममा राज्यले आफ्नो शक्ति प्रयोग गरेर व्यक्तिलाई कानुनी वा प्रशासनिक प्रक्रियाको माध्यमबाट जानाजानी लामो समयसम्म झन्झटमा राखेर आरोपितलाई थकाउने, गलाउने यस्तो अवस्थामा, राज्यले सजाय दिनुभन्दा पनि प्रक्रियामार्फत व्यक्तिलाई पीडा दिन सक्छ, अनावश्यक वा चाहिँदाभन्दा बढ्दा जाँचबुझ र गिरफ्तारीलाई प्राथमिकता दिने, कुनै व्यक्तिलाई अनावश्यक अनुसन्धान, बारम्बार बयानका लागि बोलाउनु, वा फरक फरक मुद्दाहरु सिर्जना गरेर थुनामा राखेर थकाउने काम गर्न सक्छ हो । अहिले ‘अभियन्ता आशिका तामाङ’माथि राज्यले गरेको व्यवहारले त्यो प्रश्न गर्ने ठाउँ पैदा हुन्छ ।
वास्तवमा, आशिका तामाङले आफ्ना शैली र कामकारवाहीबारे आत्मालोचना गरिरहँदा उनलाई सचेत गरेर छाड्दा पुग्नेमा हदैसम्म दण्डित गर्नेतिर अपहत्ते गरेर राज्य लाग्नुको अन्तर्य भनेको कतै आफू विरुद्ध उठ्ने कुनै पनि किसिमको आवाजलाई हरहालतमा निमिट्यान्न पारिनेछ भन्ने सन्देश सम्प्रेषण त गर्न खोजिरहेको छैन ? पक्कै पनि शंका गर्ने ठाउँ रहन्छ ।
वास्तवमा, आशिका तामाङलाई दण्डित गरेर राज्यको विजय हुनेवाला छैन ! राज्यको विजय त त्यो बेला ठहरिनेछ, जब राज्यले आशिका तामाङले उठाएका सवालहरुको जड कारणहरु खोज्नेछन्, त्यसलाई निर्मूल पार्नेछ । अनि राज्यको सबैभन्दा ठूलो विजय त त्यो बेला हुनेछ, जब आम जनताले आफूहरुविरुद्ध अन्याय भइरहेको छ, गलत काम भइरहेको छ र त्यसप्रति राज्य आँखा चिम्लेर बसेको छ भनेर कुण्ठित हुने वातावरणको अन्त्य हुनेछ ! अनि राज्यको सबैभन्दा ठूलो विजय त त्यो बेलामा हुनेछ, जब आमजनताको आशा र भरोसा राज्य एवं सत्तासञ्चालकहरुमाथि जाग्नेछ र आफ्ना विचार र वाणीहरुलाई मुखर गरिदिएको अनुभूत हुने खालका ‘आशिका तामाङ’ जस्ता ‘अभियन्ता’हरुको खाँचो नै पर्नेछैन । त्यो अवस्थामा पक्कै पनि उनीहरुको कामकारवाही र व्यवहारलाई जनताले ध्यान दिनै छाड्ने छन्, समाजमा ‘आशिका तामाङ’हरु जस्ता एकलवीर उद्धारकहरुको वाहीवाही हुने स्थिति नै रहनेछैन ।
के राज्य यो विजय हासिल गर्नका लागि तयार छ त ?
प्रतिक्रिया