रोइरहेछ शहीद

म सानै हुँदा,
उनीहरू आए
न्याय, समानता र मुक्तिको सपना बोकेर
ड्याङ पछिको छ्याङ पार्ने विद्रोहको हुँकार सहित
लामबद्ध गर्न गाउँ-शहरलाई।

सुनाए, शहीदको रगतले लेखेको रक्तरंजित इतिहास,
गोली खाएर ढलेका तिनका सपना,
दुश्मनका चाङ, विद्रोहको महिमा,
सत्ता विरुद्धको आक्रोश र हाम्रो भूमिका।

थाहा छैन,
मेरो बा-आमाले आँट गरेनन् कि विश्वास
बोकेनन् बन्दुक, गएनन् युद्धमा।
सघाए—गाँस र बास दिएर,

हुलाकी भएर, कटवाल बनेर।

यस बीच,
शहीद बने केही सपुतहरू,
बेपत्ता पारिए केही योद्धाहरू,
घाइते अपाङ्ग भए सहयोद्धाहरू।
शहीदको रगतले रंगियो धरती,
सत्ताका महल जितियो एक चोटी।
हो, यो देश, यो धर्ती तिनकै हो,
जसले सपना देखे साँचो स्वाधीनताको,
मुक्तिको गीत गाएर जागरूक बनाए समाज,
संघर्षमा होमिए ज्यानको बाजी लगाएर।

तर हिजो भने जस्तो छैन आज,
सपना देख्नेहरूलाई आज भुलेका छन्,
रगतले लेखिएका सम्झनाहरू कतै छुटेका छन्।
त्यागको मूल्य सत्ता-स्वार्थको दाउमा राखेर,
स्वार्थको आँधीमा ढलेका छन् सपनाहरू।
बनेको छ शहीदको रगत सत्तामा उक्लिने भर्याङ,
मधुरो बन्दैछ न्यायको बिहान।

स्वीकार गर्दैन यसले मेरो अस्तित्व,
बाबु र आमाले अतीतमा बन्दुक नबोकेका कारण
सन्तानलाई क्रान्तिकारीको रूपमा स्वीकार गरिँदैन।

चाहिन्छ परिवर्तनको सपना देख्न, जनयुद्ध लडेको प्रमाणपत्र।
यो देखेर रोइरहेछ शहीद, बगाइरहेछ बलिन्द्र धारा आँसु,
भनिरहेछ—
"म त शालिक बन्न होइन,

जनतालाई मालिक बनाउन लडेको थिए ।
सत्ता चाहनेहरूको सपना पूरा गर्न होइन,

समन्यायिक समाज बनाउन लडेको थिए !