विश्वास र जीवन

कुनै दिन उनी यिनै गल्लीमा शानका साथ आफ्ना आसेपासेसहित  विचरण गर्ने गर्दथे । तर उनी आज घर घर मगन्तेको रुपमा देखापरेका छन् । संघको थितिमा उनी बाँधिएका थिए । यो लोकाचार मात्रै पनि थिएन, जीवनचर्याबारे सामुहिक संकल्प थियो ।

बुद्धले गृहत्याग गरेको बर्सौं बितिसकेको थियो । यस बिचमा उनले बुद्धत्व प्राप्त पनि गरिसकेका थिए । घर परिवारका तर्फबाट तारम्तारको  अनुनय–विनयपछि आफ्नो गृह राजधानी कपिलवस्तु फर्के पनि ।

अब उनी राजकुमार थिएनन्, थिए त फगत एक भिक्षु । चिवर ओडेका र हातमा भिक्षा पात्र बोकेका । न सुसारे न त लावा लस्कर । आफूजस्तै केही भिक्षु लिएर । आफ्ना मातापिता, जहान, छोरा र इष्टमित्रलाई भेटे ।

उनलाई भोज भतेर ख्वाउनेको कुनै कमी थिएन, स्वयम् राजा सुद्धोधन चौरासी व्यञ्जनसहित  शाही मेजमान दिएर  ज्युनार गराउन आतुर थिए । त्यो त के ठुलो कुरो भो र ?! सायद शुद्धोधन भन्ने वाला थिए, 'छोड्दिइहाल यो भिक्षुगिरी, म बुढो भएँ, सम्हाल राजपाट !' तर उनि त्यसमा लोभिएनन् ।

अर्को दिन बिहानै आफ्ना अनुयायी भिक्षुहरु सहित उनी राजधानीको गल्लीमा आफ्नो नियमित कर्म अनुरुप भिक्षाटनको निम्ति निस्किए । कुनै दिन उनी यिनै गल्लीमा शानका साथ आफ्ना आसेपासेसहित  विचरण गर्ने गर्दथे । तर उनी आज घर घर मगन्तेको रुपमा देखापरेका छन् । संघको थितिमा उनी बाँधिएका थिए । यो लोकाचार मात्रै पनि थिएन, जीवनचर्याबारे सामुहिक संकल्प थियो । ठूलो खैलाबैला मच्चियो ।

उता राजा शुद्धोधन कहाँ  यो समाचार पुग्नासाथै उनी चकित भए - त्यत्रो राजाको छोरो 'मगन्ते' काम गर्ने ?! राजप्रसादको प्रतिष्ठा खतम ! शुद्धोधन स्वयं हस्याङ्ग फस्याङ्ग गर्दै भिक्षाटनरत बुद्ध कहाँ पुगे ।

" तिमी मलाई किन यसरी लज्जित बनाउछौ ? के म तिम्रा यी भिक्षुहरुलाई ख्वाउन पियाउन न सक्ने थिए र ?!" शुद्धोधनले यो रोक्न भन्दै आफ्नो मनको व्यथा पोखे ।

बुद्धले आफ्नो प्रतिरक्षा गर्दै सम्झाए, " राजन, यो हाम्रो वंश परम्परा हो । "

" यो कसरी हुन सक्छ ? हाम्रो वंशको  कुनै एकले पनि आजसम्म कहीं हात थापेको छैन ।" शुद्धोधनले प्रतिवाद गरे ।

" राजन ! निश्चय नै तिमी र तिम्रो वंश भनेको क्षत्रीय वंश हो । परन्तु मेरो वंश भनेको बुद्धको वंश हो । उनीहरुले भिक्षाटन गरेका छन् र यसरी नै गुजारा गरेका छन् ।"

विश्वासले जीवनसंग संगतिको माग गर्दछ अन्यथा  त्यो ढोंग हुन जान्छ । अघि अघिका दास विद्रोहमा, भनिन्छ, कतिपयको मक्सद नै मालिकलाई घोक्राएर उसैको बिछ्यौनामा शयन गर्ने हुन्थ्यो, यो त भोगीको चरित्र भो  । बुद्धले त्यसो गरेनन् । उनले आफूलाई योगीको जीवन चरित्रमा ढाले । तब न बुद्ध !