दलितमाथि लेखिएको उपन्यास ‘जुनकिरीको सङ्गीत’ आफैं दलनमा पर्‍यो !

यथार्थको चित्रण गर्दाखेरि लेखकले कसैको आदेश लिनुपर्छ कि पर्दैन ? : खगेन्द्र सङ्ग्रौला

पच्चीस वर्षपछि ‘जुनकिरीको सङ्गीत’को दोस्रो संस्करण बजारमा आएको छ । यो मुख्यतः नेपालका पहाडी दलितहरुमाथि लेखिएको एउटा उपन्यास हो । दलितका बारेमा नेपालमा त्यस्ता उपन्यासहरु धेरै कम लेखिएको छ । एघार सालमा ‘को अछूत ?’ भन्ने छापियो । त्यसपछि शरद पौडेलको धारावाहिक ‘लिखे’ छापियो । स्थलगत रुपमा गम्भीर रुपमा अनुसन्धान गरिएर दलित सामाजिक–साँस्कृतिक जीवन, त्यसका सम्बन्ध एवं जटीलताहरुलाई केलाउने प्रयत्न धेरै कम गरिएको छ ।

‘जुनकिरीको सङ्गीत’को मुख्य विषय दलित हो । तीमध्ये पनि कामी, दमाई र सार्की– यी तीनवटाका तहगत सम्बन्धहरु, तिनका बीचमा भएका छूवाछूतहरु, परिवर्तनका प्रक्रियामा तिनका बीचमा भएका सम्मिश्रण तथा जागरण इत्यादिका कथाहरु यसमा अङ्कीत भएको छ ।

इतिहासको ठूलो बिडम्बना– दलितमाथि लेखिएको यो उपन्यास आफैंमा दलनमा पर्‍यो । यो रोचक विषय पनि हो ।

माओवादीबारे एउटा सानो घटना मात्र प्रसङ्गवश यो उपन्यासमा उपस्थित छ । माओवादीको जनआन्दोलन, सशस्त्र विद्रोह अथवा जनयुद्ध जे भनिएला, त्यो चलिरहेको बेलामा गाउँमा राति एउटा राँके जुलूस निस्कन्छ । कहीँबाट हठात नाटकीय रुपमा राँके जुलूस निस्कन्छ, नाटकीय रुपमा नै त्यो अलप हुन्छ । भोलिपल्ट पुलिस आएर गाउँलेहरुलाई मरणासन्न हुने गरी कुट्छ । उनीहरुलाई ‘तिमीहरुको गाउँमा राँके जुलूस निस्केपछि निश्चित रुपमा तिमीहरुको संलग्नता हुनुपर्छ, तिमीहरुको आश्रय, सरसामग्रीहरु पाएर यिनीहरुले राँके जुलूस निकाले’ भन्ने आरोप लगाइन्छ । त्यही प्रसङ्गमा एउटा पीडित पात्रले ‘राति राति राँके जुलूस निस्कन्छ, दुःख हामी पाउँछौं’– त्यति भनेको छ । त्योभन्दा बढी अरु केही पनि भनेको छैन ।

संगठनको संरचनाको हिसाबले, पार्टीभित्रका विभिन्न तहहरुको पारस्परिक सम्बन्धको हिसाबले र त्यसबाट निशृत संस्कृतिको हिसाबले यी सबै कम्युनिष्ट पार्टीहरु धार्मिक सम्प्रदाय जस्तै हुन् ।

दोस्रो, नेपालको कम्युनिष्ट आन्दोलनमा संगठनको संरचना, संगठनभित्रका विभिन्न तहका पारस्परिक सम्बन्धहरु तथा त्यो सम्बन्धबाट निशृत मनोविज्ञानका बारेमा केही टिप्पणीहरु छन् यसमा । कम्युनिष्ट पार्टीको संरचनालाई एउटा स्वामी र रोबोटको रुपमा चित्रण गरिएको छ । त्यो कुरा त पहिलेभन्दा अहिले बढी नै प्रासङ्गिक होला जस्तो लाग्छ । संख्या नै गन्ने हो भने हामीकहाँ १२–१४ वटा कम्युनिष्ट पार्टीहरु होलान् । सबै कम्युनिष्ट पार्टीको साझा विशेषता के हो भने त्यसमा माथि एउटा स्वामी हुन्छ, तल भक्तहरुको एउटा गण हुन्छ । स्वामीले विचार गर्छ, आदेश दिन्छ, आँखा झिम्क्याउँछ, बकबक र जे पनि गर्छ, तलकोले केही गर्न पाउँदैन । तलकोले हात जोर्ने, मुन्टो हल्लाउने र हात मल्ने सिवाय केही पनि गर्दैन । संगठनको संरचनाको हिसाबले, पार्टीभित्रका विभिन्न तहहरुको पारस्परिक सम्बन्धको हिसाबले र त्यसबाट निशृत संस्कृतिको हिसाबले यी सबै कम्युनिष्ट पार्टीहरु धार्मिक सम्प्रदाय जस्तै हुन् । त्यो धार्मिक सम्प्रदायको प्रवृत्तिमाथि उपन्यासमा धेरै ठाउँमा कठोर आलोचना गरिएको छ ।

माओवादी नेतृत्वले कतै त्यसको उल्लेख त गरेन तर बढी रिसाउनुको कारण त्यो पनि होला भनेर म अनुमान गर्छु ।

उपन्यासमा कहीँ कतै पनि एनजीओको गौरवगान गरिएको छैन । कम्युनिष्टको पहलमा सबै गतिविधि प्रारम्भ भएको तथा प्रक्रियाको एउटा चरणसम्म यसले जागरणकारी काम गरेको भए तापनि अन्ततः एनजीओले आफ्नो चरित्र देखाउँछ । एनजीओले निर्माण गर्ने चेतना भनेको मिथ्या चेतना हो ।

उपन्यासमा एउटा एनजीओ गाउँमा जान्छ, त्यसमा कम्युनिष्टहरु संलग्न छन् । कम्युनिष्ट संलग्न भएको हुनाले एनजीओको चरित्र प्रारम्भमा अलि फरक हुन्छ । उत्पीडितहरुलाई जगाउने, उनीहरुलाई आफ्नै बारेमा आत्मचिन्तन र आत्ममन्थन गर्न प्रेरित गर्ने, त्यो समाजभित्रका बिगार र विकृतिहरु उजागार गर्ने, त्यसको घर्षण पैदा गर्ने– गति पैदा गर्ने काम उपन्यासभित्र छ । मुख्यतः त्यसको अगुवा कम्युनिष्ट भएकोले त्यो काम भएको हो । उपन्यासमा कहीँ कतै पनि एनजीओको गौरवगान गरिएको छैन । कम्युनिष्टको पहलमा सबै गतिविधि प्रारम्भ भएको तथा प्रक्रियाको एउटा चरणसम्म यसले जागरणकारी काम गरेको भए तापनि अन्ततः एनजीओले आफ्नो चरित्र देखाउँछ । एनजीओले निर्माण गर्ने चेतना भनेको मिथ्या चेतना हो । त्यो मिथ्या चेतनामा केही अंश उपयोगी पनि होला, मानिसले केही सिक्ला तर आधारभूत रुपमा त्यो मिथ्या चेतना नै हो । यथार्थमा त्यसको गहिरो जरा पनि हुँदैन, त्यो चेतना दीर्घायु पनि हुँदैन । त्यो पानीको फोको जस्तै हो । पानीको फोको उठ्छ, केही परसम्म जान्छ र फुट्छ ।

यो पक्षमा माओवादीको दृष्टि गएन । माओवादीले एउटै कुरा मात्रै समात्यो । अनि भनियो के भने – एनजीओलाई कम्युनिष्ट पार्टीको विकल्पमा प्रक्षेपण गरियो । यसले हाम्रो अस्तित्वको तेजोबध गरियो र हामी कहीँ नरहने भयौं !

रोचक त के भने पञ्चायतकालमा पनि ‘कुनै पुस्तक नपढ्नू’ भनेर पार्टीगत रुपमा सर्कुलर जारी गरिएको मलाई सम्झना छैन । ४६ सालपछि त धेरै फराकिलो परिवेश थियो, यो (प्रतिबन्ध) त कल्पना नै थिएन । तर ‘यो उपन्यास नपढ्नू!’ भनेर पार्टीव्यापी रुपमा लिखित सर्कुलर गरियो । किन ? यो उपन्यास पढियो भने ‘जात जान्छ !’ कम्युनिष्ट भनेको त त्यागी, जोगी, भ्रष्टाचार नगर्ने, नढाँट्ने चोखो जात हो नि ! यो उपन्यास पढ्यो भने कम्युनिष्टको निधारमा दाग लाग्छ, उसको चरित्र खोटो हुन्छ, जात जान्छ – त्यो ढङ्गले प्रक्षेपण गरियो । दलित बस्तीमा ‘यो उपन्यासले दलितको अपमान गरेको छ’ भनेर फैलाइयो !

के भनियो भने दलितलाई पशुको रुपमा चित्रण गरियो, जसले गाडिएको, कुहिएको सिनो खान्छ । त्यो खाएको दलितले होइन, त्यो त अभाव, गरिबी, दरिद्रता र दीनताले खाएको हो ।

त्यहाँ एउटा सिनोको घटना छ । एउटा मुखियाको भैंसी मर्छ, त्यसलाई गाडिन्छ । दलितहरुले अलिकति सस्तोमा त्यो खान खोज्छन् । सस्तोमा नदिएर त्यो भैंसी गाडिन्छ । गाडिसकेको भैंसीलाई झिकेर दलितहरुले खान्छन् । त्यो मेरो कपोलकल्पनाको सन्तान होइन, मैले त्यहाँ सुनेको आम प्रचलन हो । मैले दशौंजनाका मुखहरुबाट त्यो कथा सुनेको छु । भएको त्यही नै हो ।

तर के भनियो भने दलितलाई पशुको रुपमा चित्रण गरियो, जसले गाडिएको, कुहिएको सिनो खान्छ । यथार्थमा त्यो खाएको दलितले होइन, त्यो त अभाव, गरिबी, दरिद्रता र दीनताले खाएको हो ।

दलितमाझ पनि यो पुस्तक प्रेमपूर्वक पढिएन, त्यो बेलाको गतिमान कम्युनिष्टहरुमाझ पनि पढिएन । पाठकीय परीक्षामा बस्न नपाइकनै यो उपन्यासलाई ‘फेल’ बनाइयो ।

गाउँमा यो उपन्यासले तिमीहरुको अपमान गरेको छ भनेर भनियो । ममाथि फतवा जारी गर्ने सुप्रिम कमाण्डरभन्दा माथिकाहरु, तिनले नै दलितहरु माझ अफवाह फैलाए । दलितमाझ पनि यो पुस्तक प्रेमपूर्वक पढिएन, त्यो बेलाको गतिमान कम्युनिष्टहरुमाझ पनि पढिएन । पाठकीय परीक्षामा बस्न नपाइकनै यो उपन्यासलाई ‘फेल’ बनाइयो । यसको दोस्रो संस्करण छाप्नुको प्रयोजन कमसेकम यो  पाठकीय पठनको परीक्षामा जाओस्, पाठकले परख गरोस् !

यथार्थको चित्रण गर्दाखेरि लेखकले कसैको आदेश लिनुपर्छ कि पर्दैन ? यथार्थको चित्रण गर्दा लेखकले गर्ने चित्रण के हो ? यथार्थ धरातलमा वस्तुनिष्ठ रुपमा तथ्यगत र तर्कसङ्गत ढङ्गले जे देखिन्छ त्यो लेख्ने हो कि मैले यो लेख्दा कोही रिसाउला वा कसैको चित्त दुख्ला कि भनेर लेख्ने हो ? पछिल्लो कुरा गर्ने हो भने त्यो स्वयं माथिको सेन्सरसीप हो । लेखकले त्यो गर्दैन ।

माओवादीको विराट हस्तक्षेपछि दलितहरुमा व्यापक जागरण भएकै हो । तर नवराजको हत्या कसले गर्‍यो ? नवराजको हत्या त माओवादीले नै गरेको हो ।

तपाईंको जीवनको एउटा ठोस यथार्थभित्र विकृति कुण्ठा, द्वेष, प्रतिशोध वा धेरै कुरा होलान् । त्यो सहितको लेख्ने हो कि सतही रुपमा एउटा राम्रो रुपमा प्रक्षेपण गर्ने हो ? यो ठूलो प्रश्न छ । हाम्रोमा बडो रमाइलो त के छ भने यही समाजमा गरुड पुराण त पढिएकै थियो, त्यसमाथि त कर्फ्यू वा फतवा जारी गरिएन ! यही समाजमा हनुमान चालिसा जपिएकै थियो, त्यसमाथि पनि फतवा जारी गरिएन । धामी, झाँक्री, अन्धविश्वासका सारा जञ्जाल छँदैछ, तर फतवा ममाथि जारी गरियो ।

नेपालमा दलित जीवनबारे धेरै लेखिएको छैन । त्यसमाथि पनि माओवादीको विराट हस्तक्षेपछि दलितहरुमा व्यापक जागरण भएकै हो । दलित र गैरदलितका बीचमा अन्तरजातीय रक्तसम्बन्ध गाँसिएकै पनि हो । त्यसलाई प्रबर्धन गर्न र अगाडि बढाउनमा माओवादीको ठूलो भूमिका रहेकै हो । तर नवराजको हत्या कसले गर्‍यो ? नवराजको हत्या त माओवादीले नै गरेको हो । त्यो कुन तह र कुन काठको हो, त्यो कुराको निरुपण माओवादी नेतृत्वले नै गर्ला ! मारेको त माओवादीले नै हो । त्यसैले दलितमाथिको सामाजिक विभेद र अपमान अहिलेसम्म पनि अत्यन्त ज्वलन्त भएको हुनाले यो उपन्यासको प्रासङ्गिकता होला कि भन्ने मेरो जिरह छ ।

मैले जे भनें, जम्मै कुरा पत्याउनु जरुरी छैन । माओवादी सुप्रिमोले जे भन्यो, त्यो पनि पत्याउनु जरुरी छैन ।

लेखकले लेखिसकेकपछि आधारभूत दृष्टिकोणको बारेमा प्रतिरक्षा गर्ने अधिकार त लेखकमा होला, बाँकी अधिकार लेखकसँग हुँदैन । लेखेर त्यसलाई सार्वजनिक गरिसकेपछि लेखकको हातमा धेरै कुरा रहँदैन । त्यसले पाठकको चित्तमा जे प्रभाव पार्छ, उपन्यास भनेको त्यही हो । लेखकले मैले त्योभन्दा राम्रो कुरा भन्न खोजेको थिएँ, मेरो प्रयोजन वा अभिप्राय त्यो थिएनँ, शुद्धचित्तले असल कुरा गर्न खोजेको हुँ भनेर लेखकले धर पाउँदैन । शब्दले पढ्ने पाठकको चित्तमा जे प्रभाव पार्छ, त्यो प्रभाव साँस्कृतिक, मनोवैज्ञानिक, आवेगात्मक वा उत्तेजनात्मक जे होला, त्यसको उपन्यास त्यही हो । मैले जे भनें, जम्मै कुरा पत्याउनु जरुरी छैन । माओवादी सुप्रिमोले जे भन्यो, त्यो पनि पत्याउनु जरुरी छैन । नेपाली समाजमा दलितहरुको अवस्था जे छ, त्यसलाई मनमा राख्ने हो, त्यसलाई यसले कसरी चित्रण गरेको छ? थोरै मात्र भए पनि त्यसको जागृतिमा सघाउ पुर्‍याएको छ कि ? दुई पाइला मात्रै भए पनि त्यसलाई हिँड्नको लागि प्रेरित गरेको छ कि ? थोरै भए पनि त्यसको शिर उकासेको छ कि ? तपाईंहरुले हेर्ने त्यो होला । त्यो केही पनि गरिएको छैन भने यो फतवा जारी गर्नको लागि लायकै छ !

गोडमेल संस्करणमा वैचारिक हेरफेर गरिए नगरिएको बारे !

पच्चीस वर्ष अगाडि जुन वैचारिक धरातलमा यस उपन्यास लेखिएको थियो, अहिले आएर त्यसमा कुनै वैचारिक हेरफेर वा परिवर्तन गरिएको छ कि छैन भन्ने सवालमा मेरो जवाफ हो– छैन, त्यो गरिँदैन पनि ।

यस संसारमा ब्रेख्त अत्यन्तै प्रशंसित छन्, अर्को कोणबाट उनी निन्दित पनि छन् । उनले आफ्नो प्रत्येक पुस्तकको दोस्रो संस्करणमा यति व्यापक परिवर्तन गर्थे कि समालोचकलाई ठूलो संकट पर्थ्यो । अघिल्लो र पछिल्लो संस्करणमा कुन चाहिँ राम्रो वा नराम्रो भन्ने ! ब्रेख्त महान लेखक भएको हुनाले उनको सम्पादन गरिएको, नगरिको दुवै संस्करणहरुको विभिन्न कोणहरुबाट महत्व थियो । एउटा धारणा यो छ ।

म चाहिँ ‘मध्यपन्थी संशोधनवादी’ भनिएको हुनाले मैले बीचको बाटो समातेको छु । ब्रेख्तको जस्तो पहिलो संस्करणको रुपाकृति नै परिवर्तन हुने गरी त म परिवर्तन गर्दिनँ, त्यसो गर्नु ठीक होला भन्ने पनि मलाई लाग्दैन ।

अर्को धारणा, लेखकले एक पटक लेखिसकेपछि त्यसको कथ्य, संरचना, शब्दावली र त्यसको शैलीमा केही पनि परिवर्तन गर्नु हुँदैन ।  खालि परिवर्तन केमा गरिन्छ भने त्यसको वर्णन वृत्तान्त, भाषाशैली तथा संरचनामा परिवर्तन गर्न सकिन्छ । बाँकी दृष्टिकोणमा, चरित्र चित्रणको आधारभूत तत्त्व वा विशेषतामा परिवर्तन गरिन्न ।यी दुईटा मान्यता छन् ।

म चाहिँ ‘मध्यपन्थी संशोधनवादी’ भनिएको हुनाले मैले बीचको बाटो समातेको छु । ब्रेख्तको जस्तो पहिलो संस्करणको रुपाकृति नै परिवर्तन हुने गरी त म परिवर्तन गर्दिनँ, त्यसो गर्नु ठीक होला भन्ने पनि मलाई लाग्दैन । तर मैले जुनबेला ‘जुनकिरीको सङ्गीत’ लेखें, जीवनजगत्सम्बन्धी मेरो आधारभूत दृष्टिकोण, अनुभव, अडान, मभित्र रहेका यथार्थ सवलता–दुर्वलताहरु सबै त्यही नै हो । त्यसलाई मैले परिवर्तन गरिनँ ।

यो मेरो लेखकीय मान्यताको कुरा भयो । लेखक खगेन्द्र सङ्ग्रौलाको रुपमा हैन, पाठक खगेन्द्र सङ्ग्रौलाको रुपमा पनि ‘जुनकिरीको सङ्गीत’लाई समीक्षा गर्नुपर्‍यो भने पनि त्यतिखेरको वैचारिकीमा हेरफेर गर्नुपर्छ भन्ने मलाई लाग्दैन ।

मैले कुनै विषयवस्तु लेख्दाखेरि, पुरानो चल्तीको शब्दमा भन्दा, मेरो ब्रम्हले जे देख्यो, मेरो वस्तुनिष्ठ चेतना वा चिन्तनले जे देख्यो, त्यो मैले लेख्ने हो । मैले लेखेको कारणले को प्रशन्न होला, को खिन्न होला, त्यो मेरो चिन्ताको विषय होइन । यथार्थलाई अवलोकन गर्ने हो, त्यसलाई टिप्ने र शब्दमा अभिव्यक्त गर्ने हो । त्यसलाई संयोजन गर्ने र त्यसको माध्यमबाट जीवनलाई पुनः सिर्जन गर्ने हो । त्यसैले त्यसमा कुनै परिवर्तन गर्नुपर्ने म देख्दिनँ ।

मैले अघि उल्लेख गरे जस्तै, कम्युनिष्ट पार्टीको जडवत संरचनाभित्रको स्वामी र रोबटिय सम्बन्धमाथि मेरो जति कठोर टिप्पणी छ, त्योभन्दा कठोर टिप्पणी आवश्यक छ । हाम्रा कम्युनिष्ट पार्टीमा के भयो भने केही स्वामी देउताहरु छन्, पुष्पकमल, खड्गप्रसाद शर्मा ओली, काजी भन्ने देउताहरु छन्, बाँकी जम्मै रोबोट छन् । स्वामीसँग आँखा जुधाउने हक तिनलाई छैन । प्रश्न गर्ने हक तिनलाई छैन । आन्तरिक प्रक्रियामा आएका विषयवस्तुमा विमति जनाउने अधिकार तिनलाई छैन ।

कम्युनिष्ट पार्टीको जडवत संरचनाभित्रको स्वामी र रोबटिय सम्बन्धमाथि मेरो जति कठोर टिप्पणी छ, त्योभन्दा कठोर टिप्पणी आवश्यक छ ।

त्यसैले पार्टी पार्टी रहेन ! त्योबेला कम्युनिष्ट पार्टीप्रति मेरो यति कठोर धारणा पनि थिएनँ । पार्टीहरु यतिविघ्न पतन भएको थिएन । त्यो पतनको पराकाष्ठामा गइरहेको छ । त्यसैले त्यो दृष्टिकोणमा पनि परिवर्तन गर्नुपर्ने आवश्यकता म देख्दिनँ ।

राजनीतिक पार्टीहरुको भूमिकालाई न्यूनीकरण तथा एनजीओको भूमिकालाई महिमामण्डन गरिएको भनाइबारे

उपन्यासमा मेरा नायकहरु दलित हुन् । ती ब्राम्हण, क्षेत्री, राणा शाह पनि थिएनन् । तिनलाई तपाईंले जतिसुकै उठाउन खोजे पनि तिनको उचाई धेरै हुन्थेनँ । ती त समाजको नारकीय पिँधमा छन् । मेरा नायकहरु छन्, बहु नायकहरु छन् । केही महिलाहरु र केही एनजीओका माध्यमबाट गएका पात्रहरु पनि छन् । विभिन्न सन्दर्भ, आयाम र उचाईका नायकहरु छन् । धीरोदत्त, विराट नायक छैनन् ।

मैले ‘जुनकिरीको सङ्गीत’भरि कम्युनिष्ट आदर्श, सिद्धान्त र कम्युनिष्टहरुको उत्सर्गमाथि कहीँ पनि प्रश्न उठाएको छैन । मेरो मनको कुनै पनि कुनामा अपमान गर्ने अभिप्राय कहिल्यै पनि भएन । कम्युनिष्टहरुका जतिसुकै कमजोरी हुँदाहुँदै पनि, जतिसुकै जडवत हुँदाहुँदै पनि कुनै पनि समाजलाई अगाडि बढाउनका लागि सबैभन्दा बढी योगदान गर्ने भनेको कम्युनिष्टले नै हो । त्यो मर्न–मार्न तयार हुन्छ ।

मैले ‘जुनकिरीको सङ्गीत’भरि कम्युनिष्ट आदर्श, सिद्धान्त र कम्युनिष्टहरुको उत्सर्गमाथि कहीँ पनि प्रश्न उठाएको छैन । मेरो मनको कुनै पनि कुनामा अपमान गर्ने अभिप्राय कहिल्यै पनि भएन ।

तपाई कुनै परम्परा, शक्ति, इतिहास वा वर्गले मारिरहेको छ भने आफू उठ्नका लागि तपाईं हिंसा गर्न उद्दत हुनुहुन्छ । हिंसालाई कुन हदसम्म स्वीकार गर्ने भन्ने अर्कै विवादको विषय होला । तर अहिलेसम्म इतिहासमा जतिपनि क्रान्ति भएका छन्, हिंसामुक्त क्रान्ति कतै पनि भएको छैन । गान्धीले अहिंसाको निवेदन, आग्रह र जिद्दी पनि गरे तर गान्धीको अहिंसात्मक आन्दोलनमा कति मान्छे मारिएका थिए ? तर हाम्रो माओवादीले प्रत्येक क्रान्तिले कोटा तोक्छ भनेका छन् । त्यो मान्यतामा विश्वास गर्ने हो भने त जति धेरै मानिस मर्यो उति ठूलो क्रान्ति हुने भयो । बकवास थियो त्यो । प्रत्येक क्रान्तिले कोटा तोक्छ र त्यसअनुसार हामीले सिद्धाएका छौं भन्नु बकवास हो । इतिहासले बाध्यतात्मक रुपले थोपरिने हिंसालाई मानिसले बडो दुःखसाथ स्वीकार्नुपर्छ । त्यसको विकल्प छैन । तर त्यसलाई न्युनीकरण गर्ने प्रयत्न गर्नुपर्छ । गान्धीको अहिंसाको आग्रहले त्यसलाई न्यूनीकरण गर्न योगदान गर्छ भन्ने मलाई लाग्छ ।

प्रत्येक क्रान्तिले कोटा तोक्छ र त्यसअनुसार हामीले सिद्धाएका छौं भन्नु बकवास हो । इतिहासले बाध्यतात्मक रुपले थोपरिने हिंसालाई मानिसले बडो दुःखसाथ स्वीकार्नुपर्छ । त्यसको विकल्प छैन ।

त्यो सब हुँदाहुँदै पनि कम्युनिष्ट पार्टीको संरचना, पार्टीभित्रका विभिन्न तहका मानिसहरुको सम्बन्ध, स्वामी–रोबोट, भक्त–चाकरीको त म त्यसबेला पनि आलोचक थिएँ, अहिले पनि आलोचक छु । मेरो यो आलोचना कम्युनिष्ट वा कम्युनिष्ट आदर्शप्रति होइन । कम्युनिष्टको नाममा जन्माइएका संरचनागत र चारित्रिक जेजति विकृतिहरु छन्, त्यसको आलोचना गरेको हुँ मैले ।

मैले कम्युनिष्ट संगठनको निरपेक्ष आलोचना गरेकै छैन । तपाईंले समग्रमा उपन्यास पढ्नुभयो भने एनजीओको प्रवेश कसरी भयो, मध्यबिन्दूमा त्यसको चरित्र के थियो, समापनमा के थियो ? समग्रमा पढ्नुभयो भने एनजीओ वास्तवमा के हो, त्यही नै देखिन्छ । मैले त्यसलाई अतिरिक्त रङ्गरोगन कहीँ पनि गरेको छैन ।

मेरो उपन्यासको विषय कम्युनिष्ट, कम्युनिष्ट संगठन वा कम्युनिष्टको नायकत्व हुँदै होइन । जब त्यो हुँदै होइन भने कम्युनिष्टलाई कहाँबाट मैले तारिफ गर्ने हो !

एनजीओको बारेमा म प्रष्ट छु । मैले एनजीओलाई महिमामण्डन, गौरवान्वन गरेकै छैन । खालि त्यही एनजीओले भूगोलको त्यो भागमा उत्पीडितहरुको बीचमा केही राम्रो काम किन गर्यो भन्ने कुरा जुन छ, कम्युनिष्ट चरित्र अलिकति त्याग गर्न सक्ने, सामान्य मानिसप्रति अलिकति समभाव व्यक्त गर्ने, तिनलाई जगाउन चाहने पात्रको त्यहाँ प्रवेश भएकोले त्यसको सीमाभित्र केही असल कुरा भएको छ, बाँकी एनजीओ भनेको त मीठो कुरा गर्ने, ठगी खाने संस्था हो । प्रकारान्तले यी कुरा ठाडो शब्दमा अभिव्यक्त छैन, आखिरमा यसले के जनाउँछ भने माओवादी सुप्रिमोहरुलाई होलो हुने गरी अन्ततः एनजीओको नियति भनेको त्यही हो, जुन उनीहरुले भनिरहेको छ । माओवादीले नै भनेको कुराको निष्कर्ष निरुपणमा आएको छ ।

त्यो उसले देखेन । उनले आधा यथार्थलाई देखे । बाँकी उनले देख्नै चाहेन ।

उपन्यासका पाठकहरुबारे

‘जुनकिरीको सङ्गीत’ बेस्सरी पढियो ! अहिले पाठक बढेका छन् पढ्नेहरु घटेका छन् । पहिले पाठक कम थिए पढ्ने बढी थिए । मेरो उपन्यास पढियो । जसले पढ्नु पर्ने थियो, अनास्थापूर्वक पढियो । सुप्रिमोहरुले ‘यस उपन्यासले तिम्रो अपमान गरेको छ’ भनेको हुनाले उसले अपमान पढ्यो, यथार्थ पढेन ! माओवादी पंक्तिमा जहाँ सर्कुलर गरियो, त्यहाँ ‘जुनकिरीको सङ्गीत’ पढिएन, सर्कुलरको माध्यमबाट प्रवाहित भएको घृणा पढियो ! पढ्ने ठूलो पंक्ति त त्यही थियो होला नि !

कथ्य दलित भएको हुनाले मुख्य पाठक त दलित नै हो । दलितलाई जगाउने र मुक्तिमा डोर्‍याउने भनेको त कम्युनिष्ट नै हुन् । त्योबेलाको सबैभन्दा ठूलो कम्युनिष्ट त माओवादी नै थियो । डाँडाकाँडामा हैन, सबै ठाउँ उसले कब्जा गरेको थियो । यी दुई पंक्ति र त्यसबाहिरकाले कति पढे, त्यसको तथ्यांक त मसँग छैन तर फतवा जारी गरे पनि स्नेह, आग्रह, घृणा वा निरपेक्ष भाव जेले होस्, उपन्यास पढियो ।

माओवादीले जारी गरेको ‘फतवा’का बारेमा

मानिसको जीवन एउटा क्षणमा टुङ्गिदैन । तपाईंले जीवन एउटा क्षणमा ठूलो गौरवमय काम गर्नुभयो भने जीवन त्यहाँ टुङ्गिदैन, त्यसपछि पनि जीवन बाँकी रहन्छ । जीवनका उत्थान–पतनका विभिन्न सन्दर्भहरु त्यहाँ रहन्छ । त्यसैले, माओवादीले मलाई १२ वटै फतवा जारी गरेको हुन्थ्यो भने पनि यो समाजमा सबैभन्दा ठूलो उथलपुथलको सिर्जना कसले गरेको हो ?

संयोगले वा तिनीहरु त्यहाँ संलग्न भए होलान्, मर्छु भनेरै तिनीहरु मर्न प्रवृत्त भए वा आवेगबाट बशिभूत भएर भए होलान्, जे भए पनि समग्र इतिहासभरिमै, पृथ्वीनारायणले भूगोलका टुक्राहरुलाई जोडेदेखि अहिलेसम्म सिङ्गो नेपालको इतिहासमा नेपाली समाजलाई जरैसम्म हल्लाएको माओवादी जनयुद्धले नै हो । नेपालमा दलित, थारु मगरहरुको सबैभन्दा बढी बलिदान भएको पनि यही जनयुद्धमा हो । उत्पीडितहरुलाई वैचारिक एवं साँस्कृतिक रुपमा, म पनि मान्छे हुँ, मेरो पनि अधिकार छ भन्ने चेत जगाएको माओवादीले नै हो । त्यसैले ममाथि फतवा जारी गरिएको कारणले तिनीहरुलाई मैले निषेध गरें भने म केही पनि रहन्नँ । त्यो क्षणको कुरा हो ।

‘जुनकिरीको सङ्गीत’को दोस्रो संस्करणको सार्वजनिकीकरणको सन्दर्भमा उपन्यासकार सङ्ग्रौलाले व्यक्त गर्नुभएको विचारहरुको सम्पादित अंश ।