ढोकामा उभिएर उपदेश मागेको हो त ?

परोपदेशे पाण्डित्यम् सर्वेषाम् सुकरम् नृणाम्

धर्मे स्वीयमनुष्ठानम् कस्यचित्तु महात्मनः ?

अर्थात् अर्कालाई उपदेश दिँदा पाण्डित्य देखाउन त सवैलाई सजिलो छ , आफूले अरुलाई उपदेश गरेकै बाटोमा आफू हिँड्न भने एकाध महात्माले मात्र सकेका होलान् ।

भर्खरै दुई दिनअघि घरअगाडि उभिन आइपुगेका एक मगन्ते युवालाई मैले पनि एक घल्चा उपदेश पिलाएर पठाएँ ।

शोषण उत्पीडनको वर्चस्व कायमै रहेको हाम्रोजस्तो परम्परागत समाजमा कसैले धनी मानी दाता कहलाइन कसैले तन्नम गरीब मगन्ते बनिन पर्नु कुनै नौलो अनौठो कुरा होइन । संस्कृतिका पाखा पखेरातिर हेर्दा पनि जहाँ जजमानहरु श्राद्धमा ‘याचितारश्च नः सन्तु, मायाचिस्म कंचन अर्थात् मसँग माग्नेहरु होउन्, मैले कसैसित माग्न नपरोस्’  भनेर  पुरेतसँग आशीर्वाद थाप्छन् । यहाँ दाताहरु र मगन्तेहरुको विद्यमानता पनि परम्परा र संस्कृतिको ‘वहुमूल्य सम्पदा’ नै हो । हैन र ?

कुनै समय हुँदो हो, जिज्ञासु विद्यार्थीहरु विद्वान् गुरुका ढोकामा उभिएर पनि उपदेश माग्दा हुन् । हामीले जुन समय देख्यौँ ढोकामा उभिएर भिखारीहरु उपदेश होइन भीख माग्थे । दिए झोली थाप्थे । नदिए केही नबोली छिमेकका अरु ढोकाअगाडि अलख जगाउँन पुग्थे । यसरी भीख मागिहिँड्नेलाई त्यसताका जोगी भनिन्थ्यो । जोगीहरु भेषधारी हुन्थे ।  यस्ता जोगी महिनामा एक दुई जना मात्र देखिन्थे । गाउँबस्तीमा जोगी ढोकाअगाडि अलख जगाउन आइसकेपछि एकदुई मुठी अनाज भिक्षा दिन एकाध अपवादलाई छाडेर धेरैजसो कन्जुसहरु पनि आँट गर्थे । भिखारीहरु विनाभिक्षा फर्कनु पर्ने अवस्था थिएन । नगदे व्यवहार चल्ने शहरमा भने गाउँको त्यो अन्नदानी रीतिस्थिति  यथावत् रहने कुरा भएन । रहेन ।  

‘क्रान्तिहरु’पछिको आजको हाम्रो शहरी समाजमा जतासुकैका जुनसुकै कन्जुसले पनि सदाबहार दिन सक्ने दातव्य के हो ? सवैलाई थाहा छ  त्यो भनेको उपदेश हो । अरुलाई उपदेश दिन खप्पीस पण्डितहरु अर्थात् कन्जुसहरु आफ्नै जीवनमा त्यो उपदेश कति लागु गरिरहेका हुन्छन् त ?  

अझ ‘क्रान्तिहरु’पछिको आजको हाम्रो शहरी समाजमा जतासुकैका जुनसुकै कन्जुसले पनि सदाबहार दिन सक्ने दातव्य के हो ? सवैलाई थाहा छ  त्यो भनेको उपदेश हो । अरुलाई उपदेश दिन खप्पीस पण्डितहरु अर्थात् कन्जुसहरु आफ्नै जीवनमा त्यो उपदेश कति लागु गरिरहेका हुन्छन् त ? सन्जोगले कतै हिमालमा महाकवि देवकोटाका सर्प भेटिए मात्र । अन्यथा यो पनि स्यालको सिङ् खोज्नु जस्तै मृगमरीचिका मात्र हो । व्यवहार हेरेर निक्र्यौलमा पुग्नुपर्दा  हामे समाजमा धेरैजसो उपदेशपण्डितहरु गाला चड्काउन लायक  नै हुन्छन् । यथार्थ यही छ ।

हिजोआज घरअगाडि गल्लीमा दिनहुँजस्तो क्यासेट बजाउँदै बिरामीवाला टोलीहरु आउँछन् र ढोका ढक्ढक्याएरै भेटेर भन्छन् ‘किड्नी गयो । उपचार गर्न खर्च छैन । घरबाट सुको निस्कँदैन । सहयोग गर्नुहोस् । दया नै धर्म हो’ आदि आदि ।

मगन्ते बन्नु ठीक होइन । दह्रा पाखुरा पिँडौला भएकाले काम गरेर खानुपर्छ । मागेर होइन । यो आजको नेपालमा धेरैले सुनेजानेको उपदेश हो । मैले पनि धेरैलाई यो उपदेश बाँडेको छु । कान चिरेको छैन । गोरख मन्त्रहरु थाहै छैन । बर्राँठका सिङ् पनि हातमा छैन । राति त्यसको आवाज सुनिएको पनि छैन । बिहान बोरा लिएर एक हट्ठाकट्ठा युवक  ‘मैले राति फेरी लाएको, सिधा दिनुस्’ भन्न आइपुग्छ । त्यसलाई सिधा दिने कि यसरी झुक्याएर माग्नु हुँदैन भन्दै उपदेश दिने ? नाथसम्प्रदायका योगीहरु कस्ता हुन्छन् थाहा नभएको भए सजिलो हुन्थ्यो ।  थाहा छ । यस्ता हुँदैनन् । थाहा भएपछि सिधा दिन गाह्रो छ । नदिन पनि सजिलो छैन ।

हिजोआज घरअगाडि गल्लीमा दिनहुँजस्तो क्यासेट बजाउँदै बिरामीवाला टोलीहरु आउँछन् र ढोका ढक्ढक्याएरै भेटेर भन्छन् ‘किड्नी गयो । उपचार गर्न खर्च छैन । घरबाट सुको निस्कँदैन । सहयोग गर्नुहोस् । दया नै धर्म हो’ आदि आदि । एक दिन हैन, दुई दिन हैन, हप्तामा सातै दिन फरक फरक टोली । । हामी सर्वसाधारण गृहस्थ । सवैका ग्यासैका चुल्हा । ग्यास किन्न नसक्दा चुल्हो बल्दैन । हरेक महिना घाटाको बजेट जान्छ । क्यासेट बजाएर कसको ढोका ढक्ढक्याउन जाने सर्वसाधारण जनताले ? माननीय, मन्त्री,तस्कर, माफियाबिचौलिया, भ्रष्ट, डन, डाँका केही हुन अघि सरेको भए गृहमँत्रालयले लाखौँ अनुदान पनि दिँदो हो । त्यो हुन नसकेका वा नचाहेका  सर्वसाधारण जनका लागि यहाँ दुःख पर्दा सघाउने सरकार छैन, मन्त्री प्रधानमन्त्री कोही छैनन् । यस्तो स्थितिमा सर्वसाधारण गृहस्थले नाना थरीका पीडित आवाजहरुलाई खल्तीमा भए त मुखबुझो  लगाइदिने । नभए के दिने ? कसरी दिने ? मैले कति आफ्ना अगाडि सारिएका बिचरा हातहरुलाई  वाध्य भएरै भनेको छु, बिरामीले, विभिन्न आश्रम चलाउनेले सरकारसित कुरा राखेर माग्नु पर्छ । सरकारले दिन सक्छ । पीडित जनतालाई सहायता दिनु, विभिन्न पीडित जन आश्रमहरुलाई अनुदान दिनु जनकल्याणकारी सरकारको कर्तव्य हो । प्रस्तावनामै समाजवादी भनिआएको सरकारको त अनिवार्य  दायित्व नै हो अकिन्चन जनतालाई मद्दत गर्नु । सर्वसाधारण हामीजस्ता गृहस्थसँग त के छ र ? के दिन सक्छ  ? आफैं त महादेव उत्ताना टाङ् ।

उपदेश जति दिए पनि अगाडि पसारिन आइपुगेको हातले बझ्दैन । नोट नराखिदिएसम्म याचनाका हातले  कुरै बुझ्दैन । पीडाका पिरलो र रन्थनाहटले गर्दा नबुझेको हो कि व्यावसायिक जिद्दी हो । छुट्याउन सजिलो छैन ।

रातभरि रामायण सुनेकाले बिहान पण्डितसँग सीता कसकी श्रीमती हँ ? भनेर सोध्यो भनेजस्तै । उपदेश जति दिए पनि अगाडि पसारिन आइपुगेको हातले बझ्दैन । नोट नराखिदिएसम्म याचनाका हातले  कुरै बुझ्दैन । पीडाका पिरलो र रन्थनाहटले गर्दा नबुझेको हो कि व्यावसायिक जिद्दी हो । छुट्याउन सजिलो छैन । कति टाठा बाठाले मान्छे भर्ना गरेरै माग्ने व्यवसाय चलाएका छन् पनि भनिन्छ । मगन्ते व्यवसायमा लाइसेन्स चाहिँदैन । भ्याट पनि लाग्दैन ।

हाम्रो गाउँघरमा त भिखारी इतरले पनि अनाज माग्ने चलन नयाँ होइन  । हिउँदमा नगर्चीहरु नगरा बजाउँदै आँगनमा झुल्कन्थे । कोही आँगनमा छिर्थे र पर्खालमा बसेर सहनाइ बजाउँथे । लामाहरु आँगनमा उभिएर तिब्बती भाषामा शान्तिपाठ  गर्थे । तिब्बत रुपान्तरण हुनुअघि थाक्सेहरु माने पेमे हुम् भन्दै अन्नदान माग्न आउँथे । कदाचित् गन्धर्वहरु पनि सारङ्गी लिएर  टुप्लुक्क आइपुग्थे । यी सवै घरका केटाकेटी र बुढाबुढीका आँखा र कानलाई पर्याप्त रमाइलो दिन्थे । आपसमा आत्मीयता र आफन्तपन थियो । यो गाउँको कुरा भयो । विगतको कुरा भयो । आगतमा गाउँ पनि फेरिएको छ । शहरको कुरा अझै फरक छ ।

शहर बेग्लै छ । हाम्रो काठमाडौ त अझ राजधानी शहर । अपरिचित रहनु नबोल्नु सभ्यता बनेको छ शहरको । यहाँ छरछिमेक भन्ने कुरा छैन । एउटै घरमा डेरा गरिबसेकाहरु पनि आपसमा अपरिचित रहनु सभ्यता ठान्छन् । ठुला दरबार, महल, बङ्गला कम्पाउण्डहरुमा त प्रायः कुक्कुरहरु मात्र बस्छन् । ती बोल्दैनन् । भुक्छन् । कथम् कदाचित् कोही ढोका उघारेर भित्र पस्यो भने त्यसका शरीरमा तीखा दाँतले यत्र तत्र गहन चुम्बन गरि दिन्छन् । अविस्मरणीय र भव्य स्वागत गर्छन् । यसैले शहरमा भीख माग्न पनि सजिलो छैन । ठुला घरहरुले सुन्दैनन् । साना घरहरु आफ्नै कानसँग डराउँदै सुन्छन् । नसुनेको बहाना गर्छन् । यहाँ धन हुनेसँग मन छैन । मन हुनेसँग धन छैन ।

सत्ताको मलजल पाएर मौलाएका आजका नेपाली मालेमाशास्त्री कर्मकाण्डी पुरेत उपपुरेत जो छन् ती त अपानवायु बाहेक केही त्याग्न जान्दै जान्दैन ।

यो पशुपतिनाथको नगरी । यहाँ विभिन्न चाडको अवसर पारेर छिमेकी मुलुकका भेषधारी बाबाहरु पनि शङ्ख फुक्दै घण्ट बजाउँदै त्रिशूल हल्लाउँदै भयङ्कर आक्रामक शैलीमा शहर गल्लीमा प्रकट हुन्छन् । कहिले एक्लै त कहिले लस्कर लागेर  । राता आँखा, चड्किला आवाज र भैरव व्यक्तित्वका धनी तिनलाई पुराणको दुर्वासा नै ठानेर कति धर्मभीरु नेपालीहरु आशीर्वाद लिन ढोका खोलेर अगाडि प्रस्तुत हुन्छन् । लुरे लाङ्ग्रे दुःखी अलख निरन्जनलाई शहरले टेर्दैन ।

सत्ताको मलजल पाएर मौलाएका आजका नेपाली मालेमाशास्त्री कर्मकाण्डी पुरेत उपपुरेत जो छन् ती त अपानवायु बाहेक केही त्याग्न जान्दै जान्दैन । दुर्गन्ध बाहेक केही दिन जान्दै जान्दैनन् । कुम्भकर्णलाई आदर्श बनाइहिँडेका यी पुरेत सहपुरेतहरु जो छन् भ्रष्टाभारको भतेर खाएर कहिल्यै अघाउँदैनन् । मुलुक र जनता लुटेर धन कमाउने धन्दामा रातोदिन व्यस्त छन् । समृद्धि र समानताका कुरा मात्र गर्छन् । हृदय ढुङ्गाको राख्छन् । त्यहाँ करुणाको थोपो रसाउँदैन । कुनै दुःखी जन केही राहत पाउँन विनति बनेर आयो भने परिबन्द मिलाएर त्यसलाई खाइदिन पनि सक्छन् । बन्चरे टोपीका रत्नाकरहरुको त कुरै नगरौं, मान्छेकै रगत मासुमा बर्तेका तिनले रुपान्तरण अभियानका वाहक देवर्षि नारदलाई नै अगस्त्यले वातापीलाई झैं  कपाकप खाएर डकारिसकेका छन् । हाम्रो मुलुकको अवस्था अझै पौराणिक छ ।

यस्तो स्थितिमा मजस्ता भावनाशील मनुवाले कसरी सोच्ने ? कसरी व्यवहार गर्ने ? मानसिकता एउटा छ । परिस्थिति अर्को छ । बिहान बरण्डामा उभिएर बादलको चित्रमयतामा अल्मलिइरहेको थिएँ । जाडो थर्काउन तातो घामको प्रतीक्षा थियो । तल गेटअगाडि उभिँदै मतिर हेर्दैका एक युवा देखेँ । कोठा खोज्न आएका हुन् कि ? घरमा कोठा थिएन । जवाफ तम्तयार थियो । नबोलिरहेका युवालाई सोधेँ, “किन ? के खोज्नुभएको ?”

मैले सहायता माग्न खोजेको । घाँटी बिरामी भयो । उपचार गर्न सकिएन ।”

यस्तो सहायता माग्ने हामीजस्ता साधारण मान्छेसित होइन । सरकारसित माग्ने हो । स्थानीय सरकार छ । सङ्घीय सरकार छ । गृहमन्त्रालयमा गएर निवेदन दिनुस् न । अनि तपाइँ हट्ठाकट्ठा शिक्षित युवा देखिनुहुन्छ । यस्ता युवाले कसैका घरअगाडि उभिएर सहायता मागिहिँड्ने होइन नि !”

शिक्षित देखिने त्यत्तिको युवक उपायविहीन नभई त्यसै त्यत्तिकै मगन्ते बनिहिँड्दैन । पीडाले रन्थनिएरै हिँड्छ । पीडाको उपचार उपदेश होइन । सहानुभूति र सहयोग हो । ती युवक मेरो उपदेश सुन्न ढोकामा उभिन आएका थिएनन् ।

मेरो भनाइले ती युवामा कुनै प्रतिक्रिया आएन । उभिएर मतिर हेरिरहे ।

देश विदेशमा नेपाली युवाहरुको बिचल्लीको अवस्था सम्झेर तरक्क हुँदै पैसा जुटाउन म घरभित्र पसेँ । पैसा लिएर तल ढोकामा पुग्दा युवक त्यहाँ थिएनन् । बाहिर निस्केर दायाँ बायाँ हेरेँ । युवक कतै दखिएनन् ।

शिक्षित देखिने त्यत्तिको युवक उपायविहीन नभई त्यसै त्यत्तिकै मगन्ते बनिहिँड्दैन । पीडाले रन्थनिएरै हिँड्छ । पीडाको उपचार उपदेश होइन । सहानुभूति र सहयोग हो । ती युवक मेरो उपदेश सुन्न ढोकामा उभिन आएका थिएनन् । घरभित्र पस्दा मैले ‘पख्नोस् है’ पनि भनिनँ । बोलीको पनि कन्जुस भएँ म । सामान्य शिष्टता पनि पालन गरिनँ । सद्व्यवहारको पनि कन्जुस भएँ । त्यतिखेर म नराम्ररी चुकेँ । मैले यस्तो नगर्नु पर्थ्यो ।

 अझै पश्चात्तापको रापमा छु ।