नेपालमा हिन्दूकरण कहिलेदेखि र कसरी?
नेपाल हिन्दू राष्ट्र’ हो भन्ने संकथनलाई लामो समयदेखि जबरजस्त रुपमा स्थापित गराउन खोजिदै आइएको छ । खासगरी, राजतन्त्रकालीन समयमा यसलाई घनीभूत रुपमा अगाडि बढाइयो । वि.सं. २०६३ को जनआन्दोलनले नेपालबाट राजतन्त्रलाई बढारेपछि र संविधानमै ‘धर्मनिरपेक्ष राष्ट्र’ घोषित गरेपछि कानूनत: नेपाल हिन्दू राष्ट्र हैन, बहुधार्मिक र बहुसाँस्कृतिक मुलुक भइसकेको छ ।
यद्यपि, नेपालभित्रकै एउटा समूह र भारतका हिन्दू अतिवादी समूहहरु (त्यहाँको संस्थापन पक्ष समेत) ले नेपाललाई हिन्दू राष्ट्र बनाउने तथा ‘राजतन्त्रसहितको हिन्दू अधिराज्य पुनस्थापित गर्ने’ कुरालाई जबरजस्त ढङ्गले उठाउँदै आएका छन् । त्यसका लागि पुन: पूर्व राजालाई अगाडि सार्ने काम नियोजित रुपमा भइरहेको छ । उनीहरुको तर्क छ: नेपाल सनातनकालदेखि नै धार्मिक–साँस्कृतिक रुपमा हिन्दू राष्ट्र हो र त्यो कुरालाई पुन:स्थापित गरिनुपर्छ ।
के साँच्चै नेपाल परापूर्वकालदेखि नै हिन्दू राष्ट्र हो ? यसबारेमा तथ्यहरुले के भन्छ ? आउनुहोस्, प्रा. माणिकलाल श्रेष्ठको यस लेखमार्फत् बुझ्ने कोशिश गरौं ।
–दायित्वबोध
०००
नेपाल देशको हिन्दू धर्म तथा संस्कृतिको सम्बन्धबारे कुरा गर्दा दुई एकदमै विपरीत (र दुवै अतिवादी) विचारहरू अभिव्यक्त गरिएको बरोबर सुनिन्छ । एउटा धारणा छ - नेपाल हिन्दू राष्ट्र हो रे, वैदिककालदेखि नै नेपाली जनताको हिन्दू (वैदिक सनातनी र हिन्दू ) धर्म र संस्कृति रही आएको छ भन्ने । यसको विपरीत दोस्रो धारणा छ- नेपाल मूलतः अहिन्दू राष्ट्र हो, प्राचीनकाल र मध्ययुगको शुरूसम्म पनि नेपाली जनता पूरै गैर-हिन्दू थिए, चौधौं शताब्दीमा मल्ल राजा जयस्थिति मल्लले नेपालमा वर्ण व्यवस्था लागू गरेदेखि मात्र हिन्दू धर्म संस्कृतिको प्रवेश भएको हो रे !
तथ्यलाई केलाएर हेरेमा, इतिहासको राम्ररी अध्ययन गरी हेरेमा यी दुवै धारणाहरू पूरै गलत ठहरिन आउँछन् । वास्तवमा हिन्दू धर्म नेपालको प्राचीन धर्म होइन, परम्परागत रैथाने धर्म पनि होइन, हिन्दू धर्म नेपालमा बाहिरबाट प्रवेश गरेको हो अथवा बाहिरबाट पसेकाहरूले ल्याएका हुन् । यसको साथै नेपालमा त्यो ईशाको तेस्रो चौथो शताब्दीतिर नै हिन्दू धर्मले प्रवेश गरिसकेको थियो र वर्ण व्यवस्था लागू गर्ने क्रम शुरू भइसकेको थियो ।
नेपाल हिन्दू राष्ट्र होइन
एकथरी जातिवादीहरू नेपाललाई "हिन्दू राष्ट्र" भनी बारम्बार चिच्याइरहन कहिल्यै थाक्दैनन् । वर्तमान संविधान (२०४७ सालको संविधान–दायित्वबोध) र पंचायती संविधानले नेपाललाई ‘हिन्दू अधिराज्य’ भनी घोषणा गरेको छ । राणा शासन कालमा पनि नेपाललाई ‘हिन्दू राज’ भनियो । पृथ्वीनारायण शाहले पनि नेपाल- लाई ‘असली हिन्दूस्थान" भन्न रुचाए । तर यी सवैले नेपाललाई "हिन्दू राज्य’ मात्र बनाएका हुन्, ‘हिन्दू राष्ट्र’ त कहिल्यै बनेन । राष्ट्रको अर्थ जनता हो । राज्य, सरकार वा राजनैतिक व्यवस्था होइन । नेपाली जनताको सवै वा कम से कम निकै ठूलो बहुसंख्या हिन्दू धर्मावलम्बी भएको भए ‘हिन्दू राष्ट्र’ भन्न मिल्दथ्यो, तर यथार्थ यस्तो छैन ।
हिन्दू धर्म नेपालको प्राचीन धर्म होइन, परम्परागत रैथाने धर्म पनि होइन, हिन्दू धर्म नेपालमा बाहिरबाट प्रवेश गरेको हो अथवा बाहिरबाट पसेकाहरूले ल्याएका हुन् ।
नेपाल बहुजातीय राष्ट्र हो । कहीं नश्लको आधारमा जाति छुट्टयाइन्छ, कतै धर्मको आधारमा फलानो फलानो जाति भनिन्छ । नेपालको वास्तविकतामा भने जाति छुट्टयाउने सबभन्दा वैज्ञानिक आधार भाषा हो । नेपालमा बोलिने भिन्न- भिन्न तीन दर्जनभन्दा बढी भाषा भएकाले छत्तीसभन्दा बढी जातिका नेपालीहरू छन् । यी विभिन्न जातिका नेपालीहरूको साझा घर नेपाल देश हो । यो देशका नेपाली भाषाभाषीका (जसलाई उनीहरूले बोल्ने भाषा खस भाषा१ को आधारमा ठीक वा गलत ढङ्गले खस जाति भनिन्छ ) जातिका मानिसहरूको - धर्म हिन्दू धर्म हो । त्यस्तै तराईका मैथिली, भोजपुरी, अवधि भाषाभाषी जनतामा अधिकांश हिन्दू छन् र केही साना संख्यामा मुसलमानहरू पनि छन् । तर विभिन्न जातिमध्ये सवभन्दा बढी संख्या भएको तामाङ्ग जातिका जनता बौद्ध धर्मावलम्बी हुन्, सेर्पा, गुरूङ्ग, थकाली, मनाङ्गे गुरुङ्गहरू पनि बौद्ध धर्म मान्ने जाति हुन्, नेवार जातिमा अधिकांश बौद्ध छन् र केही हिन्दू छन्; मगरहरूले अहिले हिन्दू धर्म अपनाएका छन्, तर हिन्दू धर्म उनीहरूमाथि लादिएको हो, मूलतः उनीहरू हिन्दू होइनन् । किरातहरूको (राई, लिम्बू, सुनुवार आदिको ) आफ्नै मौलिक धर्म छ, त्यो हिन्दू धर्म होइन । थारूको धर्म मिश्रित छ, उनीहरूको परम्परागत धर्म बौद्ध धर्म हो, सम्भवत: गौतम बुद्ध स्वयम नै थारूको एक उपजातिका थिए । यस प्रकार सम्पूर्ण नेपाली जनतालाई हेर्ने हो भने कोही हिन्दू, कोही बौद्ध र कोही मुसलमान छन् । सबै नेपाली हिन्दू होइनन् र हिन्दू होइनन् र हिन्दूभन्दा गैरहिन्दू नै बढी छन् । यस्तो स्थितिमा नेपाललाई हिन्दू राष्ट्र भन्नु घोर जातिवाद हो ।
सवै नेपाली हिन्दू होइनन् र हिन्दूभन्दा गैर-हिन्दू नै बढी छन् । यस्तो स्थितिमा नेपाल- लाई "हिन्दू राष्ट्र’ भन्नु घोर जातिवाद हो ।
‘चार वर्ण छत्तीस जात’ का नेपाली भन्ने कथन गलत
सम्पूर्ण नेपालीहरूलाई ‘चार वर्ण छत्तीस जात’ का नेपाली भन्ने सुनिन्छ । ‘चार जात छत्तीस वर्ण’ भन्ने गरेको पनि सुनिन्छ । जे होस् सम्पूर्ण नेपालीहरूलाई वर्ण र जातमा विभाजित गर्न खोज्नु ‘हिन्दू शौविनिज्म’ हो । हिन्दू जातिका जनता जात र वर्ण मान्छन्, खस जाति (नेपाली भाषाभाषी) भित्र बाहुन, क्षेत्री, सार्की, दमाई, कामी आदि जात छन् । त्यस्तै हिन्दू धर्मावलम्बी अरू जातिमा पनि जात प्रथा छ । नेवार (हिन्दू तथा बौद्ध दुवै सम्प्रदायका) जातिमा जात-प्रथा छ, तर यो जातिभित्रको जात प्रथा वर्णमा आधारित होइन । मल्ल शासनकालमा कुन कुन राज्य पद सम्हालेका व्यक्तिहरूका सन्तान हुन् त्यसमा आधारित जात छ, जसलाई साँचो अर्थमा जात भन्न पनि मिल्दैन, वर्ण त हुँदै होइन । त्यसपछि नेपाली जनको विशाल अंश तामाङ्ग, गुरूङ, राई, लिम्बू, दनुवार, थार, शेर्पा, मगर, चेपाङ आदि कुनै पनि जातिभित्र वर्ण-व्यवस्था र जात प्रथा छैन । मुसलमानहरूको धर्म इस्लामले मानिस मानिसमा वर्ण र जातको ऊँच-नीच मान्दैन । यस स्थितिमा नेपाली राष्ट्रलाई ‘चार वर्ण’ वा ‘छत्तीस जात’भित्र बाँध्न खोज्नु आपत्तिजनक जातिवाद हो ।
नेवार, गुरूङ्ग, मगर, राई, लिम्बू, आदि त जात होइनन्, जाति हुन् । फेरि मुसलमान भन्नु त जात र जाति होइन, एक धर्म हो । ती सबलाई विभिन्न जात भन्नु सबैमाथि ब्राह्मणवाद लाद्ने साम्प्रदायिक कुकृत्य थियो, तर यही कुकृत्यलाई दिगो राख्न खोज्ने षडयन्त्रमा लागेका अतिवादी-जातिवादीहरू आज पनि छन् ।
श्री ५ सुरेन्द्रको राज्यकालमा प्रधानमन्त्री जङ्गबहादुर राणाले लागू गरेको मुलुकी ऐनमा विभिन्न जातिलाई नै जातमा परिणत गरी (अरू जात सरह जातिलाई पनि राखेर) बाहुन, क्षत्री, कामी, दमाई, सार्की, तामाङ्ग, गुरूङ, मगर, नेवार, राई, लिम्बु, मुसलमान आदि जातहरू पनि किटेर फेहरिस्त बनाइएको थियो । बाहुन, क्षेत्री, कामी, दमाई भन्नु एक जाति ( खस जाति) भित्रका जातहरू हुन् । नेवार, गुरूङ्ग, मगर, राई, लिम्बू, आदि त जात होइनन्, जाति हुन् । फेरि मुसलमान भन्नु त जात र जाति होइन, एक धर्म हो । ती सबलाई विभिन्न जात भन्नु सबैमाथि ब्राह्मणवाद लाद्ने साम्प्रदायिक कुकृत्य थियो, तर यही कुकृत्यलाई दिगो राख्न खोज्ने षडयन्त्रमा लागेका अतिवादी-जातिवादीहरू आज पनि छन् ।
नेपालमा हिन्दू धर्म भन्दा बौद्ध धर्मको लामो ऐतिहासिक परम्परा
बौद्ध धर्मका प्रवर्तक गौतम बुद्ध स्वयं नै हिन्दू धर्मावलम्बी कूलमा जन्मी हिन्दू परम्परामा हुर्केर हिन्दू धर्मको विरुद्ध विद्रोह गरी बौद्ध धर्म प्रचार गरेको तथ्यको पृष्ठभूमिमा धेरै मानिसहरू बुद्धले हिन्दुहरुलाई बौद्ध धर्ममा परिवर्तन गरेका हुन् र त्यसकारण आजका बौद्धहरू पनि शुरूमा हिन्दू थिए भनी तर्क दिई हिन्दू धर्मको लामो परम्परा देखाउन खोज्छन् । तर यो कुरा भारतको लागि सत्य भए पनि नेपालको हकमा मिल्न आउँदैन । बरु नेपालको पूर्वी कोशी क्षेत्र र पूर्वी तराईका केही भूभाग बाहेक अरू ठाउँमा हिन्दू धर्मभन्दा बौद्ध धर्मको पहिले प्रवेश भएको देखिन्छ ।
नेपाल गौतम बुद्धको जन्मभूमि (लुम्विनी जन्मस्थल), गौतम बुद्धका पिता सुद्धोधनको जन्मभूमि (जन्मस्थल कपिलवस्तु), गौतमकी माता महामायाको जन्म-स्थल देवदह (कोल्लियहरूको राज्य देवदह, श्री न्हिस डेविड्सका अनुसार हिमालयको फेदीमा रहेको राज्य, वौद्ध जातक कथाका अनुसार कपिलबस्तुबाट उत्तरतिर पर्ने र चिनियाँ यात्री ह्वेन शाङका अनुसार कपिलवस्तुबाट पचास ली अर्थात माइल उत्तरपूर्वतिर पर्ने) पनि नेपालभित्र परेको कुराले नेपालको वौद्ध परम्परा स्पष्टै देखाउँछ । त्यसै गरी गौतम बुद्ध भन्दा पहिलेका बुद्धहरूमध्ये कनक- मुनिको वासस्थान वर्तमान निग्लिहवा नजीकै निग्लिसागर दहसंगै सोभितराम नामक कुटी भएको तथ्य, परम्परागत विश्वासअनुसार विपश्वी बुद्धको अस्थि गाडिएको ठाउँ स्वयम्भू चैत्य र शिखि बुद्धको समाधि काठमाडौं नजीक फर्पिङ्गमा पछि बनेको शेष (शिखि ) नारायणको मन्दिरसंगै रहेको कुराले बौद्ध धर्म र परम्परासित नेपालको अभिन्न सम्बन्ध देखाउँछ ।
पाटन र काठमाडौं शहरको निर्माण वौद्ध परम्परामा
पाटन शहर विहार विहारले भरिएको र बौद्ध दर्शनको अध्ययन- केन्द्रको रूपमा रहेको तथ्यको साथै शहरका चार कुनामा चारवटा थूरहरू रहेको कुराबाट पाटन शहर नै बौद्ध स्थापत्य-परम्परामा निर्माण भएको देखिन्छ । भारतका बौद्ध शहरहरू- पाटलीपुत्र, वैशाली, राजगृह र श्रावस्तिमा पनि शहरका चारै कुनामा यस्तै थूरहरू रहेको कुरा श्री डी. एल्. स्नेलग्रोवले औँल्याउनु भएको छ ।
काठमाडौं नगरको निर्माणबारे विचार गर्दा इन्द्र जात्राको केही दिन अगाडि भाद्र शुक्लको दिन नगर परिक्रमा गर्ने परम्पराको विशेष अर्थ देखिन्छ । त्यस नगर परिक्रमा गर्ने यात्रालाई " उपकू-हुले" भनिने चलन छ, जसको अर्थ हुन्छ- मूल नगरको परिधिको परिक्रमा ।
त्यसै गरी काठमाडौं नगरको निर्माणबारे विचार गर्दा इन्द्र जात्राको केही दिन अगाडि भाद्र शुक्लको दिन नगर परिक्रमा गर्ने परम्पराको विशेष अर्थ देखिन्छ । त्यस नगर परिक्रमा गर्ने यात्रालाई " उपकू-हुले" भनिने चलन छ, जसको अर्थ हुन्छ- मूल नगरको परिधिको परिक्रमा । परिक्रमाको त्यो मार्ग- मरू टोल, प्याफल, यटखा, टेङ्गल, क्षेत्रपाटी, ठहिटी, ज्याठा, छुस्यावहाल, कमलाक्षी, भोटाहिटी, महाबौद्ध, दुगमबहिल, धरहरा, गणबहाल, लगन, ब्रम्हटोल, कोहिटी, भीमसेनस्थान र मरु टोलको मार्गको नक्सा खिचेर हेरेमा एक वौद्ध स्तुपको आकार बन्दछ । निश्चय पनि काठमाडौं नगर वौद्ध परम्परा अनुसार स्तुपको आकारमा निर्माण गरिएको हो ।
नेपालका सवभन्दा प्राचीन स्मारक र अभिलेखहरू बौध्द-मूलका
नेपालका सबभन्दा स्मारकहरू सबै नै हिन्दू धर्मसित सम्बन्धित होइन, वौद्ध धर्म र संस्कृतिसित सम्बन्धित छन् । अहिलेसम्म बाँकी रहेका स्मारक वा मन्दिरहरूमध्ये सवभन्दा पुराना पाटनका चारवटा थूरहरू, साँखुको गुम बिहार, चाबहिलको धँदो चैत्य सबै वौद्ध धर्मसित सम्बन्धित छन् । अभिलेखहरू हेरेमा पनि सबभन्दा पुराना दुईवटा अभिलेखहरू (लुम्बिनीको अशोक स्तम्भमा रहेको अभिलेख र निग्लिहवाको अशोकको अभिलेख ) वौद्ध धर्मसित सम्बन्धित छन् । विदेशी राजाले खडा गरेको अभिलेखलाई नगनी देशभित्रकै मानिसहरूद्वारा स्थापित अभिलेखहरूमध्ये सबभन्दा पुरानो चाबहिल स्थित अभिलेखमा२ एकजना महिलाले भगवान बुद्धको पूजा र वौद्ध भिक्षुहरूलाई भोजन गराउनको लागि गुठी स्थापना गरेको कुरा उल्लेख छ र त्यही चैत्यमा धन्दो चैत्य (चाबहिलको स्तुप) को वर्णन छ ।
प्राचीन नेपालमा बौद्धधर्मको बाहुल्य
स्नेलग्रोवका अनुसार ईश्वी सम्बत शुरू हुनुभन्दा पहिले प्राचीन नेपालमा बौद्ध जनसंख्या थियो । अभिलेखहरूकै प्रामाणिक तथ्यमाथि विचार गर्दा ईशाको सातौं शताब्दीको शुरूको अंशुवर्माको हाँडीगाउँस्थित (सन् ६०८ को) अभिलेखमा विभिन्न मन्दिर बिहारहरूलाई राज्यबाट दिइने भाग छुट्टयाएको फेहरिस्त दिइएको छ। लोकमा प्रसिद्ध, लोप्रियता र भक्तजनहरू जाने संख्याको आधारमा वर्गीकरण गरिएको त्यस अभिलेखमा विशिष्ट श्रेणीमा ७ वटा लाई राखिएको छ, जसलाई सबभन्दा बढी रकम प्रदान गरिएको छ । ती हुन्- भगवान् पशुपतिनाथ, दोलाशिखर- स्वामी (चांगु नारायण), गुंबिहार, श्रीमानविहार, श्रीराजविहार, खर्जु-रिकाविहार र मध्यमविहार, अर्थात एउटा शैव मन्दिर, एउटा वैष्णव मन्दिर र पाँचवटा वौद्ध विहार । यसबाट त्यसबेला हिन्दूभन्दा वौद्धहरूको जनसंख्या धेरै भएको स्पष्ट हुन्छ ।
अभिलेखहरूकै प्रामाणिक तथ्यमाथि विचार गर्दा ईशाको सातौं शताब्दीको शुरूको अंशुवर्माको हाँडीगाउँस्थित (सन् ६०८ को) अभिलेखमा विभिन्न मन्दिर बिहारहरूलाई राज्यबाट दिइने भाग छुट्टयाएको फेहरिस्त दिइएको छ।
लिच्छवी कालको शुरूतिरै हिन्दू धर्मको प्रवेश
प्राचीन कालमा नेपालमा वौद्ध जनसंख्या अधिक भएको सिद्ध हुन्छ, तर नेपालमा वर्ण व्यवस्था नै चौधौं शताब्दीमा मात्र शुरू भयो भने धारणा र एघारौं बाह्रौं शताब्दीतिर भारतबाट शरणार्थीका रूपमा नेपाल पसेकाहरूबाट मात्र हिन्दू धर्म र वर्णव्यवस्थाको प्रवेश नेपालमा भयो भन्ने कुरा पनि सत्य होइन । यो भन्दा धेरै पहिले लिच्छवी शासन कालको शुरूतिर नै नेपालमाहिन्दू धर्मावलम्बीहरू प्रशस्त भइसकेका र लिच्छवी राजाहरूले अनेक प्रयत्न गरी नेपाली समाजमा वर्ण-व्यवस्था लागू गर्न खोजेका थिए । स्वयंम लिच्छवीहरू मूलभूमि वैशालीमा रहेको बेला (बुद्धको समयमा) बौद्ध भए तापनि नेपालमा पसेको बेला वा पसिसकेपछि धेरैजसोले हिन्दू धर्म अपनाइसकेका थिए । लिच्छवी राजाहरूमध्ये वृषदेव एकजना मात्र बौद्ध धर्मावलम्बी भएको देखिन्छ, अरू धेरैजसो शैव मतका थिए ।
त्यसबेला नेपालमा ब्राम्हणहरू पसिसकेको मात्र होइन, विभिन्न जात जातिमा ब्राम्हणको नाम सवभन्दा पहिले लिने बाहुनहरूको प्रभूत्व भइसकेको वा हिन्दू राजाहरूले दिइसकेको देखिन्छ, साथै विभिन्न जातिहरूलाई जातमा समावेश गर्ने ब्राम्हणवादी प्रचलन शुरू भइसकेको देखिन्छ ।
ईशाको छैठौं शताब्दीको शुरूतिर सन् ५०६ को थानकोटस्थित लिच्छवी राजा वसन्तदेवको अभिलेखको शुरूमा वसन्तदेवबाट ‘जयपल्लिका गाउँका ब्राम्हण लगायत... गाउँका अठारै जातका गृहस्थीहरूलाई कुशल मङ्गल" सोधी आज्ञा प्रसार गरिएको छ (अभिलेख नं नोलो १२, धनवज्र २२ ) । यसबाट त्यसबेला नेपालमा ब्राम्हणहरू पसिसकेको मात्र होइन, विभिन्न जात जातिमा ब्राम्हणको नाम सवभन्दा पहिले लिने बाहुनहरूको प्रभूत्व भइसकेको वा हिन्दू राजाहरूले दिइसकेको देखिन्छ, साथै विभिन्न जातिहरूलाई जातमा समावेश गर्ने ब्राम्हणवादी प्रचलन शुरू भइसकेको देखिन्छ ।
अभिलेखमा उल्लिखित 'अष्टादशप्रकृति' को अर्थ अठार जातिका वा प्रकारका भन्ने आउँछ । लिच्छवी राजाहरूले नेपाली समाजलाई वर्ण व्यवस्थाअन्तर्गत चार वर्णमा समावेश गर्न खोजेको तर गैर-हिन्दू र वर्ण व्यवस्थामा नअटाउने जातिलाई अलग्गै अठार जात भन्ने गरेको देखिन्छ । लिच्छवी राजाहरूले क्रमिक रूपले सबै जातिलाई वर्ण विभाजनभित्र समावेश गर्न खोजेको तथ्यबाट नेपालमा वर्ण-व्यवस्था स्थापना गर्ने पहिलो राजा मल्ल राजा जयस्थिति मल्ल नभई लिच्छवी राजाहरू थिए भन्ने थाहा हुन्छ । साथै नेपालका गैर-हिन्दू जातिका जनतामाथि वर्ण-व्यवस्था लाद्ने र हिन्दूकरण गर्ने कार्य एघारौं बाह्रौं शताब्दीपछि होइन, छैठौं शताब्दीभन्दा पहिले नै गरिसकिएको कुरा स्पष्ट हुन्छ ।
लिच्छवी राजाहरूले क्रमिक रूपले सबै जातिलाई वर्ण विभाजनभित्र समावेश गर्न खोजेको तथ्यबाट नेपालमा वर्ण-व्यवस्था स्थापना गर्ने पहिलो राजा मल्ल राजा जयस्थिति मल्ल नभई लिच्छवी राजाहरू थिए भन्ने थाहा हुन्छ ।
तर वसन्तदेवकै सन् ५१२ को टिस्टुङस्थित अभिलेखमा 'तेस्टुङ गाउँ निवासी प्रधान (मुखिया) लगायत सबै गृहस्थीहरुलाई' भनी संबोधन गरिएको 'ब्राम्हण' शब्द वा 'अरू जातहरू' भन्ने शब्दहरू नभएकाले टिस्टुङका जनतालाई गैर-हिन्दू तथा वर्ण व्यवस्थाभित्र ल्याइनसकेको देखिन्छ । वसन्तदेवकै चौकिटारस्थित सन् ५३२ को अभिलेख र अरू धेरै अभिलेखहरूमा 'ब्राम्हण लगायत सबै गृहस्थी ' भनी सम्वोधन गरिएको देखिन्छ भने कुनै कुनै अभिलेखमा ( सीतापाइलाको सन् ५०८ लगायतमा) 'गाउँका वासिन्दाहरूलाई' भनी सम्बोधन गरिएको छ । त्यसबेला विभिन्न बस्तीहरू मा ब्राम्हणहरू तथा हिन्दूधर्मावलम्वी वर्ण व्यवस्था मान्ने जातिहरूको बसोबास नेपालमा भइसकेको देखिन्छ ।
लिच्छवीकालमा वर्ण व्यवस्था लागू गर्ने प्रयत्न
माथि भनिए झैं नेपालमा लिच्छवी शासनकालको शुरूतिर नै कम से कम इशाको पाँचौ शताब्दीसम्ममा प्रशस्त हिन्दू धर्मावलम्वीहरू प्रवेश गरिसकेको देखिन्छ । साथै लिच्छवी राजाहरू र लिच्छवीकालका शासकहरूले सम्पूर्ण नेपाली समाजलाई नै वर्ण व्यवस्था अन्तर्गत राख्ने (अर्थात अर्को शब्दमा नेपालका गैर हिन्दू जाति समेतमाथि वर्ण व्यवस्था लाद्ने) वा नेपाली समाजलाई हिन्दूकरण गर्न हरसम्भव उपाय अपनाए । यो काम (नेपाली समाजमा वर्ण व्यवस्था र हिन्दू धर्म लाद्ने काम) कुनै शासकले गैर हिन्दूधर्मप्रति द्वेषको भावना लिई जबजस्ती हिन्दूकरण गर्न खोजे भने कुनै शासकले सुक्ष्म रूपले नरम तरिकाले जनतालाई हिन्दू धर्म र वर्ण व्यवस्था लिन प्रेरित गरे । सम्भवत: वृषदेव जस्ता बौद्ध धर्मावलम्वी राजाको पालामा मात्र यस्तो भएन होला। 'धार्मिक सहिष्णुता भएका' 'सबै धर्मप्रति समान व्यवहार गर्ने' शासक भनी एक थरी 'इतिहासकार' हरूले प्रशंसा गरेर नथाकेका लिच्छवीकालीन शासक अंशुवर्माले पनि वर्ण व्यवस्था लागू गर्न अथक प्रयत्न गरेका थिए । अनेकौं अभिलेखहरूमा तिनी आफ्नो नामको प्रशस्तिमा नै वर्णव्यवस्थाका पक्षपाती देखाउने शब्दहरू जोड्न गौरव मान्दथे । टिस्टुङमा प्राप्त र टिस्टुङ नजीकै भटुवालमा प्राप्त दुईवटा अभिलेख (सन् ६०७ को ) मा अंशुवर्माले आफ्नो प्रशस्तिमा नै ‘अनतिवृत्तार्यमर्यादा सेतु' भन्ने शब्दहरू जोडी आफूलाई 'आर्य मर्यादा (वर्ण व्यवस्था) उल्लंघन हुन नदिने' भनी वर्णन गरेको पाइन्छ ।
वर्ण व्यवस्थाको नियम विपरीत काम गर्ने 'अपराध' लाई हेर्न एक ब्राम्हण पण्डितको इजलास 'भट्टाधिकरण' ले मुद्दा हेर्ने व्यवस्था लिच्छवीकालमा थियो । बूगायूमी (बुङ्गमती) गाउँमा भट्टाधिकरण लगायतले मुद्दा नहेर्नु भनी उक्त गाउँबाट भट्टाधिकरणको नियन्त्रण झिक्दा वर्ण व्यवस्थाको नियम (धर्म) उल्लंघन हुन जाला भनी अंशुवर्मालाई विशेष चिन्ता लागेको थियो, धर्म शंकरका मुद्दाहरू उठेमा ( धर्म शंकरको अर्थ प्रत्येक वर्णको धर्म वा कर्तव्य विपरीतका काम हुन गएमा ) त्यस्ता मुद्दा राजदरवार आफैंले हेर्नेछ भन्ने फर- मान अंशुवर्माले बुङ्गमती अभिलेख (सन् ६०५) मा जारी गरेका थिए । नेपाली समाजमा वर्ण व्यवस्था दृढतासाथ लागू गर्न अंशुवर्मा कति तल्लीन साथ लागू थिए भन्ने कुरा यसबाट देखिन्छ । अंशुवर्माभन्दा पहिलेका कैयौं शासकहरुले आफूलाई 'वर्ण व्यवस्था कसरी कायम गर्ने भनी चिन्ता लिइरहने व्यक्ति' भनी वर्णन गरेको पनि देखिन्छ ।
लिच्छवी दरवारका सामन्त भारदार गुप्त परिवारका एक व्यक्ति अनुपरम (भौम गुप्तका बाबु) को हाँडीगाउँ सत्य नारायण मन्दिर स्थित अभिलेखमा३ ( इशाको छैठौं शताब्दी-को अघिल्लो अवधितिरको) अनुपरमले हिन्दू आदर्शको प्रशंसा, वेदान्तको प्रचार गरेको मात्र होइन, बौद्ध धर्मप्रति द्वेष गरी बौद्ध धर्माबलम्वीहरूलाई 'नास्तिक, कुतार्किक, मूर्ख, कुमति' आदि शब्दले निन्दा पनि गरेका छन् । लिच्छवी कालको एक लामो अवधिसम्म ठूलो शक्ति लिई शासन गरेका गुप्तहरू हिन्दू धर्म संस्कृति र वर्ण व्यवस्था लाद्न तथा अरू धर्मको विरोध गर्न कत्तिको धर्मान्ध थिए भन्ने कुरा त यसबाट पनि स्पष्ट हुन्छ । गुप्त शासकहरूको तुलनामा मात्र अंशुवर्मा उदार देखिएको र तिनको शासन कालमा गुप्तहरूको धार्मिक दमन नीति नलिएको मात्र हो (जसको कारण फर्पिङ्ग अभिलेखमा बौद्ध भिक्षुहरूद्वारा अंशुवर्मालाई धार्मिक दमन सहनु परेकालाई त्राण दिने व्यक्तिको रूपमा 'गुणको द्वेष गर्ने कलि कालका राजाहरूले संधै पीडा दिइरहेको यस लोकलाई 'सुखदिने' भनी प्रशंसा गरिएको छ ।) तर तिनले पनि वर्णव्यवस्था लागू गर्ने र हिन्दूकरण गर्ने उत्साह त्यागेका थिएनन् ।
'धार्मिक सहिष्णुता भएका' 'सबै धर्मप्रति समान व्यवहार गर्ने' शासक भनी एक थरी 'इतिहासकार' हरूले प्रशंसा गरेर नथाकेका लिच्छवीकालीन शासक अंशुवर्माले पनि वर्ण व्यवस्था लागू गर्न अथक प्रयत्न गरेका थिए ।
अंशुवर्मापछिका राजा उदयदेव धेरै काल गद्दीमा रहन पाएनन्, तिनका मन्त्री जिष्णु गुप्तबाट धपिएर तिब्बत भाग्नु पर्यो। उदय देवकी छोरी भृकुटी बौद्ध थिइन्, उदयदेवका छोरा नरेन्द्रदेव पनि बौद्ध धर्मावलम्वी नै थिए वा बौद्ध धर्मप्रति श्रद्धा राख्ने थिए । तर उनीहरू तिब्बत रहुन्जेल (सन ६२२ देखि ६४३ सम्म) गुप्त शासकहरूले नेपाली समाजको हिन्दूकरण गर्न सम्पूर्ण शक्ति लगाएका थिए । सन् ६४३ मा राजा नरेन्द्रदेवले नेपालमा आई फेरि लिच्छवी राजगद्दी कब्जा गरेर ३६/३७ वर्ष लामो समयसम्म राज्य गर्दा यो हिन्दूकरणको प्रक्रिया त्यति चलाएका थिएनन्, यसको कारण नरेन्द्रदेवमा त्यस्तो इच्छा नभएको मात्र होइन, त्यसको आवश्यकता पनि रहेन, किनभने त्यस बेलासम्म हिन्दूकरणको प्रक्रिया मजबूत भइसकेको थियो, नेपालमा वर्ण व्यवस्था बलियोसित लागू भइसकेको थियो ।
सातौं शताब्दीको अन्तसम्ममा वर्ण- व्यवस्था पूर्ण लागू
नरेन्द्रदेवका छोरा लिच्छवी राजा द्वितीयको राज्यकालसम्ममा नेपाली समाजमा वर्ण व्यवस्था लागू गर्ने काम पूरा भइसकेको देखिन्छ । देशका सम्पूर्ण जनताले हिन्दू धर्म नअपनाए पनि हिन्दू र गैर हिन्दू सबै जातिलाई वर्ण व्यवस्थाअन्तर्गत लिने (सरकारी नियम ऐन कानूनमा ) प्रथा बसिसकेको थियो । राजा शिवदेवले आफूलाई सुनागुठीको भृङ्गारेश्वर मह देव स्थानको अभिलेखमा (सन् ६९७) 'विहितवर्णाश्रम स्थिति' (वर्णाश्रमको स्थिति बन्देज राम्ररी बाँधेका) भनी तथा बलम्बुको अभिलेखमा ( सन् ७०५ ) 'सभ्याग्विरचितसकलवर्णाश्रमिव्यवस्थ' ( वर्णाश्रमको सबै व्यवस्था पूर्ण रूपले लागू गरेका) भनी वर्णन गरेका छन् ।
जातीय परम्पराले दिएको प्रथालाई विष्णुगुप्तले रोक्ने आँट गर्न सकेनन्, तर त्यसलाई नियन्त्रण गरी हिन्दू कानून लाने उद्देश्यले तिनले 'त्यस्तो दोश्रो विवाह गरेका तर निःसन्तान भएका स्वास्नी मानिसहरूमाथि माप्चोक अधिकरणको कानून लगाउने र तिनीहरूको शेषपछि तिनीहरूको सम्पत्ति माप्चोकका वृत्तिवाला (जागीरदार)ले लिनू' भन्ने नियम बनाइदिए ।
त्यस बेलासम्म नेपालको सम्पूर्ण ऐन कानून पनि हिन्दू धर्मशास्त्रमा आधारित तुल्याइसकिएको थियो । देशको ऐन कानूनलाई हिन्दू धर्मशास्त्रमा आधारित तुल्याउँदै जोडतोडले अगाडि बढाउने काम गुप्त शासकहरूले (खास गरी सन् ६२२-६४३ को अवधिमा ) गरेको कुरा माथि उल्लेख छ । यस अवधिका एक जना शासक विष्णुगुप्तको मालिगाउँ स्थित अभिलेख (सन् ६३३ ) विशेष उल्लेखनीय छ । हिन्दू धर्म अनुसार विवाह, खास गरी स्वानीमानिसको लागि जीवनभरिको लागि हुन्छ, कुनै अवस्थामा पनि लोग्नेसित सम्बन्धविच्छेद गर्न पाइदैन, लोग्ने मरेको विधवाको पुनर्विवाहलाई पनि हिन्दू धर्मले मान्यता दिदैन । तर नेपालका जनजातिहरूमा वा देशको बहुसंख्या ओगटेका गैर हिन्दू जातिहरूमा जातीय चलन परम्परा अनुसार विधवाको पुनर्विवाह हुन सक्छ, पहिलो लोग्नेसित सम्बन्धविच्छेद गरी स्वास्नी पोइल जान पनि सक्दछे तैपनि सन्तान भइसकेका महिलाहरूका लागि दोश्रो विवाह सम्भव भए पनि त्यति धेरै प्रचलित थिएन । जातीय परम्पराले दिएको प्रथालाई विष्णुगुप्तले रोक्ने आँट गर्न सकेनन्, तर त्यसलाई नियन्त्रण गरी हिन्दू कानून लाने उद्देश्यले तिनले 'त्यस्तो दोश्रो विवाह गरेका तर निःसन्तान भएका स्वास्नी मानिसहरूमाथि माप्चोक अधिकरणको कानून लगाउने र तिनीहरूको शेषपछि तिनीहरूको सम्पत्ति माप्चोकका वृत्तिवाला (जागीरदार)ले लिनू' भन्ने नियम बनाइदिए ।
तथाकथित 'सबै धर्मप्रति समान भाव राख्ने' भन्ने अंशुवर्मा लगायत लिच्छवी राजाहरू तथा लिच्छवीकालीन शासकहरूले हिन्दूकरणको प्रक्रियालाई निकै अगाडि बढाएका थिए ।
लिच्छवीकालको शुरूमा शायद त्योभन्दा पहिलेदेखि आएको कुथेर, लिङग्वल, शोल्ल र माप्चोक चारवटा अधिकरण (प्रशासकीय अड्डा र न्यायिक तथा अर्धन्यायिक अदालत) विद्यमान थिए । लिच्छवी राजाहरू र लिच्छवीकालीन शासकहरूले अरू अधिकरणहरु थप्दै गए, हिन्दू धर्मशास्त्रमा आधारित कानून लागू गरिएपछि धार्मिक मुद्दा मामिला हेर्नु पनि आवश्यक भयो र भट्ट (ब्राम्हण पण्डित) अधिकारी रहने भट्टाधिकरणको पनि गठन भयो । राजा शिवदेवको अनुमति लिएर महासामन्त अंशुवर्माले सनद गरिदिएको कुरा उल्लिखित लेलेस्थित अभिलेख (सन् ६०४) मा सरकारबाट विभिन्न गोष्ठी (गुठी) हरूलाई गुठी चलाउन आयस्ताको लागि जग्गा प्रदान गरेको फेहरिस्तमा प्रदीप गोष्ठी (बत्ती बाल्ने गुठी), पानीय गोष्ठी (पानी खुवाउने गुठी), प्रणाली गोष्ठी ( खानेपानीको धाराको व्यवस्था गर्ने गुठी), प्रवहण गोष्ठी ( यातायातका साधनको प्रबन्ध गर्ने गुठी ) आरोग्यशाला (औषधालय), मल्लयुद्ध गोष्ठी (पहलमान लडाउने मनोरञ्जनको व्यवस्था गर्ने गुठी) जस्ता लौकिक जीवनसित सम्बन्धित गुठीको साथै केही धार्मिक र वर्गीय गुठीहरूलाई जग्गा प्रदान गरिएको देखिन्छ, तर त्यसमा भगवान वासुदेव ब्राम्हण गोष्ठी, ब्राम्हणसानात्थ्य गोष्ठी जस्ता ब्राम्हणहरुको गुठी मात्र देखिन्छन् । राजा शिवदेवको समयमा अंशुवर्माको प्रशासनमा प्रभाव भएदेखि नै तिनले हिन्दूकरणको प्रक्रिया लाई प्रोत्साहन गर्न शुरू गरेको स्पष्ट छ ।
जे होस् तथाकथित 'सबै धर्मप्रति समान भाव राख्ने' भन्ने अंशुवर्मा लगायत लिच्छवी राजाहरू तथा लिच्छवीकालीन शासकहरूले हिन्दूकरणको प्रक्रियालाई निकै अगाडि बढाएका थिए ।
मल्ल शासनकालमा हिन्दूकरणको नीति
हिन्दूकरणको यो नीति अन्तर्गत नै चौधौं शताब्दीमा राजा जयस्थिति मल्लले 'मानव न्याय शास्त्र'को नाममा हिन्दू धर्मशास्त्रमा आधारित कानून बनाई नेपालका हिन्दू तथा गैर हिन्दू सबै जनतामाथि समान रूपले हिन्दू कानून लादेका थिए । खास गरी विभिन्न वर्ण र वर्णअन्तर्गत जात जाति राखेर तिनीहरूले गर्ने कामसम्बन्धी स्थिति बन्देज, समाजमा विभिन्न जातिको स्थिति, उनीहरूले गर्नुपर्ने कर्तव्य, परिवारभित्र लोग्ने स्वास्नीको सम्बन्ध, घर मूलीको स्थिति र अधिकार जस्ता पारिवारिक कानूनका नियमहरू, सम्पत्तिमाथि अधिकार आदि सबै कुरामा जयस्थिति मल्लले हिन्दू धर्मशास्त्रमा आधारित कानून बनाई लागू गरेका थिए ।
तीनवटा 'मल्ल राज्यहरूमध्ये पाटनमा र पाटन राजधानी भएको राज्य-क्षेत्रभरि नै बौद्धहरूको जनसंख्या अत्यधिक भएकोले त्यो एक ठाउँमा हिन्दूकरण- प्रक्रिया त्यति चर्को हुन सकेन, नत्र भक्तपुर राजधानी रहेको राज्य र कान्तिपुरलाई राजधानी बनाएको दुबै मल्ल राज्यहरूमा हिन्दूधर्म र संस्कृति लाद्ने काम जोडतोडले भयो ।
मल्ल शासनकालभरि यही हिन्दूकरणको प्रक्रिया झन झन बढ्दै गयो, मल्लहरूको केन्द्रिय शासन कमजोर भएर केही शताब्दीसम्म नेपाल छिन्न भिन्न र विभाजित भएर अनेक स्वतन्त्र राज्यमा विभाजित हुँदा तीनवटा 'मल्ल राज्यहरूमध्ये पाटनमा र पाटन राजधानी भएको राज्य-क्षेत्रभरि नै बौद्धहरूको जनसंख्या अत्यधिक भएकोले त्यो एक ठाउँमा हिन्दूकरण- प्रक्रिया त्यति चर्को हुन सकेन, नत्र भक्तपुर राजधानी रहेको राज्य र कान्तिपुरलाई राजधानी बनाएको दुबै मल्ल राज्यहरूमा हिन्दूधर्म र संस्कृति लाद्ने काम जोडतोडले भयो ।
अरु हिन्दू राजाहरूद्वारा हिन्दूकरणको कार्य
मल्ल राज्यहरूमा मात्र होइन, राजा हिन्दू रहेका सबै राज्यहरूमा गैरहिन्दु जातिहरूलाई हिन्दूकरण गर्ने, प्रत्यक्ष रुपले हिन्दू धर्म नै लिन लगाउन नसके पनि हिन्दू रीतिरीवाज, हिन्दू संस्कृति र हिन्दू ऐन कानून अन्तर्गत राख्ने काम सर्वत्र गरियो । विभिन्न जनजातिहरूमा प्रमुखहरू र नेताहरूलाई हिन्दुत्व ग्रहण गर्न लगाई हिन्दू वर्ण व्यवस्था भित्रका जातहरू दिने काम भयो । गोरखाका गणेश पाण्डे र नारायण अर्यालले गोरखामा एउटा बलियो राज्य कायम गर्न लगाउने र त्यस राजालाई क्षेत्रीय (ठकुरी) बनाउने र हिन्दू आदर्श अनुसार राज्य - संचालन गर्न लगाउने अनेक
योजना बनाई गोरखा राज्य र शाह वंशको स्थापना गर्न सफल भए । द्रव्य शाहको शासन कायम भए पछि त्यहाँका गैर हिन्दू जनजातिहरू, खास गरी मगरहरूलाई, हिन्दूकरण गर्ने, हिन्दू वर्ण व्यवस्था अन्तर्गत ल्याउने मात्र होइन, हिन्दू धर्म नै ग्रहण गराउने कार्य जोडतोडले भयो, जसको फलस्वरुप मगरहरूको मूल-धर्म भए तापनि आज उनीहरू हिन्दू जस्ता देखिसकेका छन् ।
राम शाह र पृथ्वीनारायण शाहको हिन्दूकरणका नीति
क्रमशः कान्तिपुर, ललितपुर र भक्तपुरलाई राजधानी बनाएर रहेका तीन वटा मल्ल राज्यहरूमा लिखित कानूनअनुसार न्याय दिने काम भइरहे झैं गोरखामा पनि लिखित ऐन (वा कोड) बनाउने र ऐन कानूनलाई समय सुहाउँदो तुल्याउने न्याय निसाफ राम्ररी दिने भन्ने घोषित उद्देश्यले गोरखाका राजा राम शाहले लागू गरेको कानून र न्याय-व्यवस्था पनि पूर्ण रुपले हिन्दू धर्मशास्त्रमा आधारित थियो र मगर तथा अरु जनजातिहरूलाई हिन्दू रीतिस्थिति, हिन्दू संस्कृति र हिन्दू न्याय-विधानअन्तर्गत ल्याई पूर्ण रुपले हिन्दूकरण गर्ने कार्यमा राम शाहको कानूनको पनि ठूलो भूमिका थियो ।
हिन्दू आदर्श र धर्म संस्कृतिमा पृथ्वी नारायण शाहको अटल आस्था थियो र आफूमात्र होइन, आफ्ना प्रजाहरू सवै पनि यही आदर्श र व्यवस्थामा ढालिनुपर्दछ भन्ने उनको धारणा थियो ।
हिन्दू आदर्श र धर्म संस्कृतिमा पृथ्वी नारायण शाहको अटल आस्था थियो र आफूमात्र होइन, आफ्ना प्रजाहरू सवै पनि यही आदर्श र व्यवस्थामा ढालिनुपर्दछ भन्ने उनको धारणा थियो । राम शाहको कानून र जय स्थिति मल्लको कानून अनुसार तिनले आफ्नो राज्यभर नियमहरू लागू गरे, नयाँ जितेका इलाकाका गैर - हिन्दू जनजातिमा हिन्दू -रीतिस्थिति लागू गर्ने र हिन्दू धार्मिक कानून अन्तर्गत राख्ने तिनको नीति थियो । तिनले काठमाण्डौं विजय गरेपछि काठमाण्डौंका इशाई नेवारहरू सवैलाई देश निकाला गरे । (त्यस बेला नेवार जातिमा हिन्दू, वौद्ध मुसलमान र इशाई चारै धर्मावलम्वीहरू थिए, क्रिश्चियनहरू देश निकाला भएपछि र नेवार मुसलमानहरू अरू जातिका मुसलमानहरूमा विलीन भएपछि अब नेवारमा हिन्दू र बौद्धहरू मात्र बाँकी छन् ।) इशाईहरूको देश निकालाको कार्यलाई राजनैतिक कारण देखाई पश्चिमी साम्राज्यवादी मुलुकहरूको प्रभाव रोक्न गरिएको भनी व्याख्या गर्ने "इतिहासकारहरू पनि छन्, तर मिस्सनरी पादरीहरू मात्र होइन, आफ्नो देशका सम्पूर्ण इशाई जनता- ( बूढाबूढी केटाकेटी सर्वे लगायत ) लाई देश निकाला गरिएकोमा धार्मिक कट्टरता पनि एक कारण थियो । पृथ्वी नारायण शाहले, आफ्नो राज्यलाई " गोरक्ष स्थल" र "असली हिन्दुस्थान" भनेर पनि घोषणा गरेको कुरा स्मरणीय छ ।
हिन्दूकरणको नीति अद्यावधि कायम
हिन्दूकरणको नीतिलाई उत्साह साथ लागू गर्नको साथै अरू धर्म–संस्कृतिलाई दमन गरी लोप नै गर्न 'राणा शासनले खोजेको कुरा त हाम्रो अगाडिकै वर्तमान इतिहास हो । लामा धर्म-प्रचारक र वौद्ध भिक्षुहरूलाई देश निकाला र "बाहुनलाई नढोगेको अपराधमा सजाय दिएका घटनाहरू समेत हाम्रो सामु छ । राणा शासनका संस्थापक जङ्गवहादुरले तयार गराई लागू गरेको पाँच भाग
- ऐनको मुख्य उद्देश्य नै सबै जातिका जनतामाथि हिन्दू धर्मशास्त्रका आदर्श लागू गर्ने र हिन्दू - कानून समान रुपले लागू गर्ने घोषित उद्देश्य ऐन लागू गर्दाको इस्तिहारबाटै स्पष्ट छ । अरु कुरा छोडौं, वर्तमान मुलुकी ऐन पनि हिन्दू धर्म शास्त्रमै आधारित छ । यसको प्रस्तावनामा नै १६१० साल पौष बदी ७ देखि चलिआएको ऐनमा समय समयमा भएको थपघटलाई पनि एकत्रित गरिएको र अरु पनि आवश्यक संशोधन गरिएको भनी भनिएको छ । नेपालका हिन्दू, गैरहिन्दू सबै जनतामा ‘युनिवर्सल’ रुपले लागू हुने ‘एकरुपता’ दिने नाममा हिन्दू कानून लादिएको ज्वलन्त उदाहरण नयाँ मुलुकी ऐन (२०२० सालको मुलुकी ऐन– दायित्वबोध) हो । हिन्दूकरणको नीतिलाई अगाडि बढाउने र सबैमाथि हिन्दूत्व लाद्ने नीतिको अभिव्यक्ति आजको नयाँ संविधान र वर्तमान मुलुकी ऐन पनि हो ।
पादटिप्पणी
१ अहिले नेपाली भाषा भनिने भाषाको पहिलेको नाम गोरखा भाषा, पर्वते भाषा र खस भाषा थियो । यो भाषा अहिले बोल्ने ब्राम्हण आदि जातिहरू खस जाति भित्र पर्दैनन् तर उनीहरूले खस भाषा बोल्ने हुनाले यो भाषाभाषीहरू सबैलाई मोटामोटी रुपले खस जाति भनिएको हो ।
२ मिति पनि बाँकी रहेको सबभन्दा पुरानो अभिलेख ‘संवत् ३८६’ (सन् ४६४ वा वि. सं. ५२१ ) को राजा मानदेवद्वारा स्थापित चाँगु अभिलेख हो । तर मिति फुटेर पढ्न नसकिने भए तापनि अहिलेसम्म प्राप्त अभिलेखहरूमध्ये सबभन्दा पुरानो र राजा मानदेवका बराजु बृषदेवको पालाको अभिलेख यो हो ।
३ अभिलेखको मिति फुटेर पढ्न नसकिने भइसकेको छ, तर अनुपरमको मृत्यु सन् ५४० मा भएकी देखिएकोले यो अभिलेख छैठौं शताब्दीको अघिल्लो अवधितिरको हो ।
मूल्याङ्कन मासिक कार्तिक - मंसिर २०४८ मा प्रकाशित
प्रतिक्रिया