वैकल्पिक क्रान्तिकारी हस्तक्षेप°

बीसौं शताब्दी सुरु हुनु भन्दा  १६०० वर्षअघि रोमन साम्राज्यमा एउटा खतरनाक पार्टी थियो । यो पार्टी धर्म र राज्यका सारा आधारशिलालाई ‘बाल मतलब’ राख्दथ्यो । यसले सम्राटको आज्ञा नै सर्वोच्च कानुन हो भन्ने मान्यतालाई ठाडै अस्वीकार गर्दथ्यो । यसको छुट्टै आफ्नो कुनै पितृभूमि थिएन । थियो त अन्तर्राष्ट्रिय, गौलदेखि एशियासम्म फैलिएको, यहाँसम्म कि त्यो साम्राज्यको सीमाभन्दा धेरै टाढासम्म पनि फैलिएको थियो । यसले लामो समयसम्म भुमिगत र गुप्त कार्य गर्ने गरेको थियो ।

तर कुनै समय भने आफूलाई पर्याप्त बलियो ठानेर दिनदहाडै खुला गतिविधिमा पनि आयो । कृश्चियनको नाममा चिनिने यस क्रान्तिकारी पार्टीको सेनामा बलियो पकड पनि थियो । सेनामा सारा सिपाही कृश्चियनले भरिएका थिए । जब तिनीहरुलाई चर्चले आयोजना गर्ने गरेका बली अनुष्ठान पूजामा उपस्थित भएर सम्मान गारद अर्पण गर्न उर्दी दिइन्थ्यो, त्यस बेला त्यहाँका क्रान्तिकारी सिपाहीहरु चाहिँ हत्त न पत्त आफ्नो टोपमा क्रस चिन्ह सजाउन लागि हाल्थे । सेनालाई काबुमा राख्ने तिनका अफिसरहरुको परम्परागत तरिका सब बेकम्मा भए ।

सम्राट दाओटिशन आफ्नो सेनामा व्यवस्था, आज्ञाकारिता र अनुशासनमा भएको मानमर्दन टुलुटुलु हेर्ने र त्यसलाई अनादेखी गर्ने स्थितिमा रहेनन् ।  अफिसर मौका छउन्जेल त लिट्टी कसेर लाग्यो । उसले समाजवादविरोधी, क्षमायाचना गर्न पाउने र कृश्चियनविरोधी नियमको उर्दी पनि जारी गर्‍यो। क्रान्तिकारीहरुका भेला बैठकमाथि प्रतिबन्ध लगाइयो । तिनका बैठक कक्षहरु सब भत्काइए । सैक्सोनीमा रातो हाते रुमाल बोक्न नपाइने जस्तै गरी तिनलाई  कृश्चियन चिन्ह, क्रसजस्ता चिजहरु लाउन मनाही गरियो । कृश्चियनहरुलाई राज्यका कुनै पनि जागिरमा अयोग्य ठहरिने गरी  प्रबन्ध मिलाइयो । उनीहरु खरदार, बहिदार पनि हुन नपाउने भए ।

यद्यपि त्यतिखेर हेयर रोलरले समाजवाद विरोधी कानुन*मा  परिकल्पना गरे जस्तो "वैयत्तिक प्रतिष्ठा"मा दीक्षित भएका न्यायाधिश उपल्ब्ध हुन नसकेका भए पनि कृश्चियनहरुलाई अदालतमा आफनो अधिकारलाई लिएर उजुरी गर्न मनाही गरिएको थियो । परन्तु यो विशिष्ट कानुन पनि निकम्मा साबित भयो । त्यसको अवज्ञा गर्ने क्रममा कृश्चियनहरुले पर्खालामा, भित्तामा झुन्ड्याइएका त्यस्ता कानुनका पोस्टरहरु च्यातचुत पारे । अँ, के पनि भनिन्छ भने उनीहरुले सम्राटकै मुख्यान्जी राजप्रासद निकोमेडियामा गोला बारुद बर्षाउनसम्म भ्याए ।

एआइद्वारा तयार चित्र

त्यसपछि भने ती  सम्राटले सन ३०३मा कृश्चियनहरुको ठूलो कत्लेआम गरेर बदला लिए । यस किसिमको विभत्स कत्लेआम चाहिँ यो नै अन्तिम थियो । क्रमश: प्रतोरोधको शक्ति यति सशक्त भयो कि त्यो घटना भएको १७ वर्ष पछि सेनामा लगभग सबै जसो कृश्चियनले भरिए । अनि भने पादरीहरुले "महान" भन्ने गरेका  रोमन साम्राज्यका अर्का सम्राट  कोस्टानटाइनले कृश्चियानिटीलाई राजधर्म घोषणा गर्न पुगे ।'

नोट

° शीर्षक अनुवादकको * सन १८७८मा जर्मन संसदले पारित गरेको कानुन

श्रोत : Fredaric Engels, Introduction to Marx’s Class Struggles in France, 1895 को एक अंश ।