दर्शकहरुले हेर्नुपर्ने एउटा सार्थक चलचित्र ‘लाल सलाम’
यस चलचित्रमा कथा भन्ने काम भएको छ, तर दर्शकलाई विचार थोपर्ने कामचाहिँ भएको छैन । मेरो विचारमा चलचित्र लाल सलामको सबभन्दा राम्रो पक्ष यही नै हो ।

हिन्दी चलचित्र भन्नेबत्तिकै हाम्रो दृश्यपटलमा वास्तविक जीवनसँग मेल नखाने, क्षणिक मनोरञ्जन प्रदान गर्ने, घिसेपिटे कहानीहरुमा बेरिएका मुनाफामुखी चलचित्रहरुको झाँकी आउँछ । तर हिन्दी चलचित्रको संसार निक्कै ठूलो छ । त्यहाँ खालि मुनाफामुखी चलचित्रहरु मात्रै बन्दैन, थुप्रै यथार्थवादी र सार्थक चलचित्रहरु पनि बन्ने गर्छ । त्यस्तै एउटा चलचित्र हो– सन् २००२ मा बनेको लाल सलाम । आउनुहोस्, सुशील सापकोटाको कलमबाट हामी उक्त चलचित्रको चिरफार गरौं ।
–दायित्वबोध
नाउँ सुन्दै कम्युनिष्टहरुको फिल्मजस्तो लाग्ने यो फिल्म वास्तवमा कम्युनिष्टहरुको फिल्म नभएर भारतमा रहेका थुप्रैथरि कम्युनिष्टहरुमध्ये एकथरि कम्युनिष्टहरुको गतिविधिलाई विषय बनाइएको फिल्म रहेछ । यस फिल्ममा आदिवासी क्षेत्रमा क्रियाशील नक्सलवादी कम्युनिष्ट समूहका छापामार सिपाहीहरु र आदिवासी गाउँलेहरुमाथि अन्यायमाथि अन्याय थोपर्ने सरकारी प्रतिनिधिका रुपमा त्यहाँ रहेका पुलिस र रेन्जरहरुको क्रियाकलापलाई देखाइएको छ । तर छापामार सिपाहीहरुको समर्थनमा यस फिल्मले प्रष्टसँग केही कुरा पनि भन्दैन । बरु समाजमा शोषण, उत्पीडन र अन्याय–अत्याचार निर्मूल गर्न खोज्ने कम्युनिष्टहरुको हिंसात्मक शैलीलाई विरोध जनाउने पात्रलाई भने यस फिल्मले एउटा असल चरित्रको प्रमुख पात्रको रुपमा उभ्याएको छ ।
गगनबिहारी बोरातेको निर्देशनमा बनेको फिल्म लाल सलाममा अभिनय गर्ने थुप्रै कलाकारहरु मूल धाराका हिन्दी फिल्महरुमा प्रायः नदेखिने कलाकारहरु रहेका छन् । केही ब्यावसायिक फिल्ममा समेत खेलेर आम चलचित्रका दर्शकहरुबीच पनि चिनिने कलाकारहरुमा शरद कपुर र नन्दिता दास दुई जनामात्र यस फिल्ममा रहेका छन् । यी दुवै कलाकारहरुले फिल्म लाल सलाममा झण्डै झण्डै नायक नायिकाकै जस्तो भूमिकामा अभिनय गरेका छन् । नन्दिता दासले आदिवासी युवती ‘रुपी’को भूमिकामा र शरद कपुरले शहरमा डाक्टर पढ्दै गरेको तथा पढिसकेर डाक्टर भएपछि गाउँमै फर्किएर गाउँलेहरुको उपचारमा सेवारत आदिवासी युवक ‘कन्ना’को भूमिकामा अभिनय गरेका छन् ।
छापामार सिपाहीहरुको समर्थनमा यस फिल्मले प्रष्टसँग केही कुरा पनि भन्दैन । बरु समाजमा शोषण, उत्पीडन र अन्याय–अत्याचार निर्मूल गर्न खोज्ने कम्युनिष्टहरुको हिंसात्मक शैलीलाई विरोध जनाउने पात्रलाई भने यस फिल्मले एउटा असल चरित्रको प्रमुख पात्रको रुपमा उभ्याएको छ ।
फिल्म लाल सलामको कथा कान्दोडी गाउँको कथा हो । आदिवासीहरुको गाउँ कान्दोडी जंगलको बीचमा रहेको एउटा सानो गाउँ हो । यस गाउँमा धेरैजसो मजदूरी गरेर खाने आदिवासीहरु बस्छन् । धेरैजसो अन्य गाउँहरुमा जस्तै त्यहाँ पनि खेती त गरिन्छ; तर वास्तविक किसानहरु जमिनका मालिक छैनन् । जमिन्दार र सरकारी प्रतिनिधिसमेत बनेर जमिन्दारको पक्षमा काम गर्ने र किसानहरुलाई ठग्ने पटवारीहरु त्यहाँ छन् । उनीहरु आदिवासी किसानहरुलाई ठगिरहन्छन् । यस प्रक्रियालाई चलचित्र लाल सलाममा छोटकरीमा देखाइएको छ । जमिन्दार र पटवारीले किसानहरुमाथि गर्ने गरेको अन्यायभन्दा सरकारको तर्फबाट जंगलको सुरक्षा गर्ने जिम्मा लिएर बसेको रेन्जर र प्रहरी चौकीको इन्स्पेक्टर देशपाण्डेले गर्ने गरेका अन्याय तथा अत्याचार बढी पीडादायी देखिन्छ । चलचित्र लाल सलाममा तिनै दुई पात्रहरु वनको रेन्जर र थानाको इन्स्पेक्टरले गरेको अत्याचारले नै चलचित्रको कथालाई अघि बढाएर एउटा टुङ्गोमा पुर्याउन परिणामदायी भूमिका खेलेको छ ।
“हाम्रो नक्सलवादी पार्टी सरकारसँग लड्न आएको छ । तपाईंहरु पनि सरकारसँग लड्न सक्नुहुन्छ । तर तपाईंहरुसँग आत्मविश्वासको कमी छ । त्यो आत्मविश्वास हामी दिन्छौं ।”
चलचित्रको शुरुमा आदिवासीहरुको गाउँको नजिकै एक जत्था बन्दूकधारी ‘क्रान्तिकारीहरु’लाई देखाइएको छ । त्यस जत्थाको नेता आदिवासी गाउँलेहरुलाई भाषण सुनाउँदै छ । आफ्नो भाषणमा ऊ विद्यमान व्यवस्थाका खराबी र सरकारी अत्याचारको कुरा सुनाउँछ, अनि ऊ भन्छ– “हाम्रो नक्सलवादी पार्टी सरकारसँग लड्न आएको छ । तपाईंहरु पनि सरकारसँग लड्न सक्नुहुन्छ । तर तपाईंहरुसँग आत्मविश्वासको कमी छ । त्यो आत्मविश्वास हामी दिन्छौं ।”
नक्सलवादी नेताले गाउँलेहरुलाई भाषण सुनाएर आत्मविश्वास बन्दूकबाट आउँछ भन्ने कुरा बताउँछ । यो भाषण कामबाट फर्किएको ‘घिसु’ले ध्यान दिएर सुनेको हुन्छ । ऊ कान्दोडी गाउँको बासिन्दा हो, नायिका रुपी र कन्नाको आफन्त हो । त्यसपछि ऊ ‘लाल सलाम !’ भनेर नारा लगाउने नक्सलवादीहरुप्रति सहानुभूति राख्ने व्यक्तिमा फेरिन थाल्छ । तर डाक्टरी पढिरहेको कन्नाले घिसुलाई नक्सलवादीहरु ठीक छ्रैनन्, उनीहरुको बाटो हिंसाको बाटो हो, त्यस बाटोमा लाग्नेलाई रक्तपातबाहेक केही हात लाग्दैन भन्ने बुझाउने प्रयत्न गर्छ । कन्नाको विचारमा कानूनी र वैधानिक बाटोबाटै समाज र ब्यबस्थाका खराबीहरुसँग लड्नुपर्छ भन्ने कुरा व्यक्तिन्छ । तर यो विचार मनग्ये चित्तबुझ्दो, तर्कपूर्ण र गम्भीर रुपले चलचित्रमा आएको छैन । त्यसैले पनि दुईटा अलग अलग दुर्घटनाहरुको परिणामस्वरुप घिसु र कन्नाकी प्रेमिका रुपी दुवै जना नक्सलवादी पार्टीको सेनामा भर्ना हुन पुग्छन् । वन कार्यालयअन्तर्गत जंगलमा आदिवासी गाउँलेहरुलाई सरकारी काम गराइन्छ । उनीहरुलाई काम गरेपछि खातामा औंठाको छाप लगाउन लगाइन्छ । तर ज्याला दिर्इँदैन । चार दिनसम्म कामको ज्याला नपाएपछि घिसुले वन अधिकारीहरुसमक्ष विद्रोह गर्छ । मंजुरी नपाए म ल्याप्चे ठोक्दिनँ भनेर घिसुले भनेपछि उसलाई रेन्जरकहाँ पुर्याइन्छ । रेन्जरले ढोका थुनेर कोठाभित्र घिसुलाई मरणासन्न हुनेगरी पिट्छ । कुटाई खाँदाखाँदै कसैगरी उम्केर घिसु जंगलैजंगल भाग्छ र नक्सलवादीहरुको छापामार समूहमा पुग्छ । त्यसपछि घिसु स्वयं नक्सलवादी भएर निक्लन्छ ।
त्यस्तै; रुपी एक दिन आफ्नो गाईवस्तु चराएर जंगलको बाटोबाट घरतिर आइरहेकी हुन्छे । बाटोमा पुलिस चौकीको इन्स्पेक्टरसँग उसको जम्काभेट हुन्छ । इन्स्पेक्टरले उसलाई एउटा निहुँ पारेर गाडीमा राख्छ र हातपात गर्न खोज्छ । रुपी भाग्छे । आखिरमा रुपीलाई त्यो इन्स्पेक्टरले बलात्कार गर्छ । त्यसपछि रुपी नक्सलवादीहरुको छापामार समूहमा पुग्छे । नक्सलवादी भएर निक्लन्छे ।
ती दुई दुर्घटनाहरुलाई फिल्म लाल सलाममा सोझा आदिवासीहरुमाथि सरकारी कर्मचारीहरुले गर्ने चरम ज्यादतीको रुपमा देखाइएको छ । त्यस ज्यादतीविरुद्ध लड्न घिसु र रुपीले नक्सलवादी छापामार हुने विकल्प रोजेका छन् । त्यसपछि आफ्नो छापामार अभियानकै क्रममा घिसुले छापामार समूहको सहयोगमा रेन्जरलाई हत्या गरेर बदला लिन्छ भने रुपीले पनि बलात्कारी, रक्स्याहा र भ्रष्टाचारी प्रहरी इन्स्पेक्टरको हत्या गरिदिन्छ ।
फरक विचारको तर इमान्दार मानिसको रुपमा कन्नालाई नक्सलवादीहरुले राम्रै व्यवहार गरेको देखाइएको छ । लाल सलाम चलचित्रमा देखाइएका नक्सलवादीहरु धेरै कुरामा यहाँका माओवादीहरुजस्ता देखिए पनि फरक विचारलाई सम्मान गर्ने कुरामा यहाँका माओवादीहरुभन्दा असल चरित्रका क्रान्तिकारीहरुजस्ता देखिन्छन् ।
फिल्मको अन्त्यतिर सरकारी सेना र छापामारबीच दोहोरो गोली हानाहान हुँदा घिसु मारिन्छ । डाक्टर कन्नालाई यो थाहा हुँदैन । ऊ गाउँमै उपचार सेवामा संलग्न रहेको छ । ऊ पनि एक दुईपटक नक्सलवादी समूह र त्यसको नेता राजैयाको फन्दामा पर्छ । त्यहाँ पनि ऊ हिंसात्मक संघर्षको विरोधमा वैधानिक संघर्षको पक्ष लिएर कुरा गर्छ । दुईथरिको कुरा मिल्दैन तर पनि नक्सलादीहरुले डाक्टर कन्नालाई कारवाही गर्दैनन् । उसलाई शत्रुपंक्तिमा राख्दैनन् । फरक विचारको तर इमान्दार मानिसको रुपमा कन्नालाई नक्सलवादीहरुले राम्रै व्यवहार गरेको देखाइएको छ । लाल सलाम चलचित्रमा देखाइएका नक्सलवादीहरु धेरै कुरामा यहाँका माओवादीहरुजस्ता देखिए पनि फरक विचारलाई सम्मान गर्ने कुरामा यहाँका माओवादीहरुभन्दा असल चरित्रका क्रान्तिकारीहरुजस्ता देखिन्छन् । चलचित्रको अन्त्यमा नक्सलवादी बनेकी नायिका रुपी र उसको प्रेमी डाक्टर कन्नाको भेट भएको छ । त्यस भेटमा उनीहरुले आपसी प्रेम व्यक्त गरेका छन् । तर दुवैले आ–आफ्ना फरक विचारमा चाहिँ सम्झौता गरेका छैनन् । नायिका रुपीले डाक्टर कन्नालाई एउटा पत्र लेखेर महान् उद्देश्यका लागि प्रेमलाई पनि बलिदान गर्ने कुरा बताएकी छे । त्यही पत्र पढेपछि नायक अर्थात् डा. कन्ना उदास मनस्थितिमा आफ्नो बाटो लाग्छ भने नायिका रुपी आफ्नो बाटो लाग्छे । यसरी चलचित्र लाल सलामको समाप्ती भएको छ । यस चलचित्रमा कथा भन्ने काम भएको छ, तर दर्शकलाई विचार थोपर्ने कामचाहिँ भएको छैन । मेरो विचारमा चलचित्र लाल सलामको सबभन्दा राम्रो पक्ष यही नै हो ।
सुरेश द्वादेशिवायरको पटकथामा बनेको यो चलचित्र मुनाफामुखी ब्याबसायिक चलचित्र होइन । यो यथार्थवादी ढाँचाको बेग्लो चलचित्र हो । यस चलचित्रमा हृदयनाथ मंगेशकरको संगीतले दर्शकलाई चलचित्रमा केन्द्रित हुन मद्दत पुर्याएकै छ । तर डाक्टर कन्ना बनेका शरद कपुर र रुपी बनेकी नन्दिता दासले जंगलमा गाएका दुईटा गीतहरु चाहिँ मुनाफामुखी चलचित्रका जस्ता भएका छन् । अनावश्यक गीतहरु नराखेर कथाको विषयलाई अझ तर्कपूर्ण र गम्भीरतापूर्वक देखाउन सकेको भए यो फिल्म अझ सुन्दर कलात्मक फिल्म हुन सक्थ्यो । त्यस्तो उत्कृष्ट फिल्म नभए पनि हाम्रा नेपाली दर्शकहरुले हेर्नुपर्ने यो एउटा सार्थक फिल्म नै हो ।
नवयुवामा पूर्वप्रकाशित

फासीवादी उत्पीडनलाई दर्शाउने चलचित्र ‘पुतलीको जिब्रो’

पाब्लो पिकासोको जीवनसँग जोडिएको एउटा रोचक मिथक

इजरायली अत्याचारका विरुद्ध कलाकारहरुको प्रतिरोध नाटक

‘कति समयसम्म संसारले यो अकारण क्रूरताको दृश्य सहनेछ?’

यौन उत्पीडनविरुद्धको सफल र प्रेरक संघर्ष गाथा: नर्थ कन्ट्री !

कर्पोरेट पूँजीको चपेटामा परेका गरिब किसानको संघर्षगाथा– 'द ग्रेप्स अफ र्याथ'

एउटा हेर्नैपर्ने चिनियाँ चलचित्र ‘द रोड होम’

प्रतिक्रिया