औंठा छापको प्रविधि कहिलेदेखि केका लागि प्रयोगमा ल्याइयो ?

औंठाछाप प्रविधिको इतिहास झण्डै ३,००० वर्ष पुरानो छ। प्राचीन सभ्यताहरुमा औंठाछापलाई पहिचानको माध्यमका रूपमा प्रयोग गरिन्थ्यो। औंठाछाप प्रविधिको पहिलो प्रयोग प्राचीन चीन र बेबिलोनिया (ईसापूर्व झण्डै २,०००-३,००० वर्षअघिदेखि) मा भेटिन्छ। त्यसबेला मानिसहरूले माटो, चामलको कागज, वा विभिन्न दस्तावेजहरूमा औंठाछाप लगाएर आफ्नो पहिचान प्रमाणित गर्थे। यसको प्रयोग मुख्यत: अनुबन्ध, स्वामित्व पुष्टि, र कानुनी सहमतिको प्रमाणका लागि गरिन्थ्यो।

आधुनिक औंठाछाप प्रविधि भने १९ औं शताब्दीको उत्तरार्धमा विज्ञानका रूपमा विकसित हुन थाल्यो। ब्रिटिश प्रशासनले १८५८ मा भारतमा पहिलोपटक कानुनी प्रमाणका रूपमा औंठाछापलाई व्यवस्थित रूपमा प्रयोगमा ल्यायो। ब्रिटिश अफिसर विलियम हर्षेलले भारतीय कामदारको करारको सत्यता प्रमाणित गर्न औंठाछापलाई प्रयोग गरे।

पछि, यस प्रविधिमा वैज्ञानिक रुचि बढ्दै गयो, जसले फरेन्सिक विज्ञान मा समेत औंठाछापको प्रयोगलाई थप विश्लेषणात्मक बनायो। सन् १८९२ मा सर फ्रान्सिस गाल्टनले औंठाछापमा आधारित पहिचानको सिद्धान्त प्रस्तुत गरे, जसले हरेक व्यक्तिको औंठाछाप अद्वितीय हुन्छ भन्ने वैज्ञानिक प्रमाणसहितको धारणा दिए। यसको आधारमा फरेन्सिक औंठाछाप विश्लेषण विधि विकास गरियो, जसले अपराध अनुसन्धान, कानुनी प्रमाणिकरण, र व्यक्तिको पहिचान प्रमाणित गर्न ठूलो भूमिका खेल्न थाल्यो।

हाल, औंठाछाप प्रविधि केवल कानुनी क्षेत्रमा मात्र नभएर बायोमेट्रिक प्रविधि को रूपमा पनि प्रयोगमा छ। स्मार्टफोनहरू, बैंकिङ प्रणाली, सरकारी सेवा, र अन्य क्षेत्रहरूमा औंठाछापको प्रयोगले सुरक्षित पहुँच नियन्त्रणमा मद्दत पुर्‍याएको छ।

औंठा छापको प्रयोग सर्वप्रथम चीनबाट इशापूर्व २०० वर्षअघिदेखि भएको मानिन्छ । आधुनिक विधि विज्ञानमा कुनै पनि व्यक्तिको पहिचान स्थापित गर्नको लागि औंठाको छाप वा चिन्ह एक अत्यन्त विश्वसनीय एवं प्रभावकारी साधन सिद्ध हुनपुगेको छ । औंठा छाप वा चिन्हले अपराधीलाई अपराधसँग जोड्ने अत्यन्त महत्वपूर्ण कार्य गर्दछ । औंठा छापद्वारा अज्ञात अथवा बेवारिसे लासको पहिचान, चेक वा बैंक कारोवारसम्बन्धी अन्य कागजातमा अंकित छाप वा दस्तखतद्वारा वास्तविक स्थितिको पहिचान, कुनै मृत व्यक्तिको अवैध उत्तराधिकारी वैध प्रतिनिधि बनेर अनुचित लाभ उठाउन खोज्ने गलत प्रवृत्तिको पहिचान आदि गर्ने गरिन्छ । औंठा छापको सबैभन्दा महत्वपूर्ण विशेषता के हो भने कुनै पनि एक व्यक्तिको औंठाको छाप वा चिन्ह अर्को व्यक्तिसँग विल्कुलै मिल्दैन र साथै सम्बन्धित व्यक्तिको औंठा चिन्हमा पनि मृत्यु पर्यन्त कुनै परिवर्तन आउँदैन । स्मरण रहोस्, प्रसिद्ध विज्ञान पत्रिका ‘नेचर’को सन् १९८० अक्टोबर अंकमा जापानको टोकियोस्थित सुजुकी अस्पतालमा कार्यरत डा. हेनरी फाउड्सको औंठा छापसम्बन्धी एक अनुसन्धानमूलक लेख छापिएपछि सो तथ्य प्रकाशमा आएको हो ।

औंठाको चिन्ह लिनको लागि मुख्यतया दुई किसिमका विधिहरु प्रयोगमा ल्याउने गरिन्छ । यसअनुसार, पहिलो विधिमा औंठालाई कागजमा राखेर एक ठाउँबाट अर्कोतिर घुमाई औंठा चिन्ह लिने गरिन्छ भने, दोस्रो विधिअनुसार दुवै हातको बूढी औंलामा एक प्रकारको मसी दलेर त्यसलाई सिधा कागजमा छापेर औंठा छाप लिने गरिन्छ । यसरी औंठा चिन्ह लिने र वर्गीकृत गर्ने प्रणालीलाई ‘गाल्टन प्रणाली’ पनि भन्ने गरिन्छ । गाल्टनले औंठाको छापबाट आउने आकृतिलाई पनि तीन भागमा बाँडेका छन् । ती हुन्ः शंख, चक्र र सीपी । तर पछि एडवर्ड रिचर्ड हेनरी नामक एकजना वैज्ञानिकले औंठाको अर्को एउटा मिश्रित आकृतिलाई पनि समावेश गरे । जसअनुसार, चक्र चिन्हअन्तर्गत उत्रेका रेखाहरु गोली आकारको चक्रजस्तो देखिन्छ भने शंख चिन्हअन्तर्गत उत्रेका रेखाहरु जुन ठाउँबाट शुरु भएका हुन्, सोही स्थानितिर फर्किएका देखिन्छन् । त्यस्तै सीपी चिन्हअन्तर्गत रेखाहरु कुनै स्थानबाट शुरु भएको हुन्छ, तर कुनै आकृति बनाएको हुँदैन भने मिश्रित आकृति दुवै चक्र अथवा एक चक्र र एक शंख अथवा एक सीपी र एक चक्र वा एक सीपी र एक शंख मिश्रित रुपमा देखिने गर्दछ ।

अहिले औंठा चिन्हको पहिचान र वर्गीकरण सम्बन्धी कार्यमा कम्प्युटरको व्यापक प्रयोजनले गर्दा न्यायिक प्रक्रियामा पनि नवीनता आउन थालेको छ । अपराधसम्बन्धी छानबिन प्रक्रियामा सर्वप्रथम कम्प्यूटरको प्रयोग गर्ने देश बेलायत हो । किनकि बेलायती प्रहरीले नै सर्वप्रथम कम्प्यूटरको माध्यमबाट औंठा चिन्हको पहिचान सम्बन्धी उल्लेखनीय कार्यको थालनी गरेको हो । त्यस्तै, अपराधसम्बन्धी घटनाहरुको छानबिनसम्बन्धी कार्यको लागि सर्वप्रथम Automatic Fingerprint Eqipment  (AFE) नामक यन्त्र प्रयोग गर्ने मुलुक पनि बेलायत नै हो । कम्प्युटरजस्तै यस यन्त्रको माध्यमबाट पनि अपराधसम्बन्धी कुनै घटना घटेमा घटनास्थलबाट अपराधीको कुनै चिन्ह संकलित गरेर ल्याई तत्कालै औंठा चिन्हको पहिचान गर्ने गरिन्छ । यस कामको लागि हातमा लागेको पसिना अथवा छालामा निहित तैलीय पदार्थको कारण अपराधस्थलमा अपराधीले औंठाको जुन निशाना छोड्ने गर्दछ, त्यसमा मर्करी (पारो)को पाउडर दलेर अपराधीको औंठा चिन्ह उतार्ने गरिन्छ । त्यस्तै, मानव शरीरबाट निस्कने पसिनामा पर्याप्त मात्रामा एमिनो एसिडका सूक्ष्म तत्वहरु निहित रहने भएको हुँदा कागजमा परेको औंठा चिन्हमाथि निनहाइड्रीन नामक एक प्रकारको रसायन छर्केर  त्यसलाई विस्तारै तातो गर्नाले पनि नीलो रंगमा औंठा चिन्हको वास्तविक स्थिति देखिने गर्दछ ।

साभार: विज्ञान लेखमाला, रोनास्ट