‘अपवादका कम्युनिष्ट’ स्वनाम साथीको स्मृति दिवस मनाइँदै
सिद्धान्त र आदर्शमा मात्रै हैन, व्यवहारिक जीवनमा समेत झन्डैझन्डै सर्वाहारा जीवन जिउने र बाँच्ने अभ्यास गरेका स्वनाम साथीको चौथो स्मृति दिवस मनाइने भएको छ ।
यसैक्रममा २०७७ पौष १० मा निधन भएका स्वनामको योगदानहरू सम्झन र यसबाट प्रेरणा लिन डायलेक्टिकल सोसाइटीले २०८१ पौष १० गते, बुधबारका दिन आरआर क्याम्पस, पत्रकारिता हलमा "सम्झनामा स्वनाम साथी" कार्यक्रम आयोजना गर्दैछ । उक्त कार्यक्रम दिनको १ बजे सुरु हुने जानकारी आयोजकहरुले दिएका छन् ।
कम्युनिष्ट आन्दोलनमा स्वनाम साथीले पुर्याउनुभाएको योगदानलाई स्मरण गर्दै नयाँ आन्दोलनको निर्माणका लागि प्रेरणा लिने उद्देश्यसहित तथा एउटा असल व्यक्ति र समाजको लागि समर्पित जीवनको कदर स्वरूप यो कार्यक्रम आयोजना गरिएको आयोजकहरुले जनाएका छन् ।

५० को दशकदेखि स्वनामको नाम बाट सुपरिचित उनी बीस र तीसको दशकको आधाआधीसम्म शशि शेरचनको नामबाट चिनिन्थे । त्यसपछिको एक अवधि सुमन साथीको नामबाट आन्दोलनभित्र लोकप्रिय रहे । आफ्नो थर मान्छे र जात साधु भनेर चिनाउने स्वनामको जन्म २००७ सालमा म्याग्दीको अर्मन राताढुङ्गे गाउँको सम्पन्न थकाली परिवारमा भएको थियो । श्यामप्रसाद शर्मा, शान्तदाश मानन्धरहरू वरिपरिबाट नेपाली कम्युनिष्ट आन्दोलनमा सङ्गठित भएका स्वनाम सर्वहारावादी कम्युनिष्ट लिगका संस्थापक अध्यक्ष (२०३५ साल) र सर्वहारावादी श्रमिक सङ्गठनको समेत पहिलो अध्यक्ष (२०३८ साल) थिए । बिचमा नेकपा एकताकेन्द्र- मसालका प्रवक्ता (२०५९) र त्यसपछि एकीकृत नेकपा माओवादीका राजनीतिक ब्युरो सदस्य थिए । तर यी सब पदका बाबजुद व्यवहारिक रुपमा उनी भुइँतहका मानिस र अपवादका कम्युनिष्ट थिए ।
कम्युनिष्टले त्यागी हुनु पर्छ भन्ने उहाँको दृष्टिकोण थिएन । बरु, कम्युनिस्टले सरल, वर्गहीन, तर भोगी जीवन जिउनुपर्छ भन्ने धारणा राख्थे । स्वनामका विचारमा “भौतिकवादी हुनु भनेको जोगीजस्तो त्यागी होइन, जीवनका भौतिक अनुभवहरूबाट शिक्षा लिनु र त्यसलाई आत्मसात् गर्नु थियो ।”
स्वनाम साथीका लागि साम्यवाद केवल विचार थिएन, जीवनशैली थियो । आफ्नो जीवनकालमै निजी सम्पत्ति शासन र शोषणबाट मुक्त हुने उहाँको प्रयत्न असाधारण थियो । जीवनका कठिन परिस्थितिहरूलाई उनले कष्टको रूपमा होइन, एक उपलब्धिका रूपमा ग्रहण गरे । उनले आन्दोलनको बाटोमा जीवनका कठोर भौतिक दुःखहरू सहे र त्यसमै आत्मसन्तोष भेट्टाए ।
उनको जीवनशैली र विचारधाराले एक क्रान्तिकारीका रूपमा उनलाई अलग बनायो । यो दृष्टिकोणले उनलाई व्यक्तिगत जीवन र कम्युनिष्ट आन्दोलन दुवैमा प्रेरणा दिने शक्तिमा रूपान्तरण गर्यो ।
जीवनमा सधैँभरी भूँइमानिसहरूसंग रहेका स्वनाम आफ्नो जीवनमा पछिल्ला दिनहरूमा एम सि सि विरोधी अभियानहरू, नेपालको चुच्चे नक्सालाई सरकारबाट मान्यता दिलाउने अभियान, जैविक कृषि अभियान लगायतको अगुवाइ गरिरहेका थिए । सरकारी पाठ्यक्रममै योग-ध्यानलाई संलग्न गराउन समेत उनको अभियान थियो र त्यसको उनले अगुवाइ गरिरहेका थिए । यसबाहेक पूर्वीय द्वन्दवादको ज्ञाताका रूपमा पनि उनलाई नेपालको कम्युनिष्ट आन्दोलनले सम्झिरहने छ ।
बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची: प्रविधिको व्यापक प्रयोगमा जोड
नेपालमा वामपन्थी आन्दोलनको भविष्यबारे अन्तरक्रिया: फासीवादको खतराप्रति वक्ताहरू…
बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: शीतल निवासमा शपथ ग्रहण
किम जोङ-उन उत्तर कोरियाको सर्वोच्च नेतामा पुनः निर्वाचित
इरान–अमेरिका तनाव र युद्धको स्थिति: वार्ता भइरहेको ट्रम्पको दावीको इरानद्वारा …
दार्शनिक जुर्गेन हेबरमासको निधन: संवाद र तर्कको एउटा युग अन्त्य
नेकपा (एमाले) मा गम्भीर धक्का: संरचनात्मक शल्यक्रिया र ‘विशेष महाधिवेशन’को प्र…
प्रतिक्रिया