रनभुल्लमा बामपन्थी

नेपाल अहिलेको विश्वमा बामपन्थी राजनीतिको एउटा केन्द्र नै हो भन्ने प्रचारवाजीमा परेको देश हो । २०४७ सालको प्रजातान्त्रिक आन्दोलनको सफलतापछि नै विश्वपूँजीवादको अखडाका संचारमाध्यमले एमाले नेता मदन भण्डारीलाई लक्षित गरेर नेपालमा मार्क्सको उदय भनेर फुर्क्याएका र आफू सशंकित भएका थिए । तर त्यो आन्दोलन वास्तवमा नेपालमा नेपाली काङग्रेस नेतृत्वको असफलता र पूँजीवादी जनवादी  आन्दोलनमा बामपन्थी नेतृत्वको अनिवार्यताको प्रतीक मात्र थियो । तर त्यस यता पूँजीवादी जनवादी आन्दोलनको नेतृत्व गर्नुपर्ने एमालेको नेतृत्व आफै रनभुल्लमा पर्दै असफल हुँदै गयो, जसबाट देशमा पूँजीवादी जनवादको लागि अर्को नेतृत्वको खाँचो टड्कारो महसुस भयो । मनमोहन अधिकारी नेतृत्वको अल्पमत सरकारको नौ महिनासम्म त जसोतसो सो पार्टीका नेता र कार्यकर्तामा केही जनवादी चरित्र जीवितै थियो, तर त्यसपछि  भने एमाले नेतृत्व पूँजीवादी जनवाद होइन, बहुदलीय जनवादका नाममा देशको उच्च वर्ग र वित्तीय विश्व साम्राज्यवादको वफादार सेवकका रुपमा काङ्ग्रेसको विकल्प बनेर काम गर्न थाल्यो  । एमाले यति छिटै वदनाम भयो जसका कारण सर्वहारा अधिनायकत्वको नौलो जनवादको नारा दिएर विद्रोहमा उत्रेको माओवादीले देशको बामपन्थी आन्दोलनको  अगुवाई गर्नथाल्यो । तर त्यो आन्दोलन पनि दीर्घकालीन प्रकृतिको थिएन ।

एमाले यति छिटै वदनाम भयो जसका कारण सर्वहारा अधिनायकत्वको नौलो जनवादको नारा दिएर विद्रोहमा उत्रेको माओवादीले देशको बामपन्थी आन्दोलनको  अगुवाई गर्नथाल्यो । तर त्यो आन्दोलन पनि दीर्घकालीन प्रकृतिको थिएन ।

 नाम माओवादी राखेपनि व्यवहारमा माओको दीर्घकालीन कार्यशैली अपनाइएको थिएन । कुनै आधार इलाका थिएन, वर्गमा आधारित पार्टी संगठन बनेकै थिएन । अनुशासन थिएन । सैद्धान्तिक कक्षाहरु गहिराइमा चलाइएको थिइएन ।  भन्न त सर्बहारा अधिनायकत्व भनिन्थ्यो तर पार्टी मूलतः जनजाति, महिला, दलित र असन्तुष्ट र आक्रोशित उग्रवादी निम्नमध्यम वर्गमा आश्रित र आधारित थियो । यो वर्ग विद्रोहका लागि चाँडै तयार भए पनि दीर्घकालीन क्रान्तिको अग्निपरीक्षामा खरो उत्रन सक्तैनथ्यो ।त्यसैले माओवादी आन्दोलनले सबाल्टर्न विद्रोहको रुप लिन पुग्यो ।  माओवादीहरुले सर्बहारा नेतृत्व स्थापित गर्नु थियो भने तराईका फाँटमा अर्धदासका रुपमा रहेका जमिन्दारका खेतमा काम गर्ने कृषि मजदुरलाई पहिले संगठित गर्नु आवश्यक थियो । यो काम दीर्घकालीन र कठोर, पार्टी कार्यकर्ताको समर्पण, त्याग तपस्याबाट मात्र संभव थियो । नेपालमा खास शोषित र सर्बहारा तिनै असंगठित मजदुर थिए । तर माओवादीलाई हतार थियो सत्ताको, वर्गविश्लेषण गरिएकै थिएन । विद्रोह गरेर राजा फाल्न पाए हाम्रा हातमा सत्ता आइहाल्छ, अनि जेगर्नुपर्छ गरौंला भन्ने सोच र समझले माओवादीले काम गरेका हुन् । उनीहरुले लुच्चा लफङ्गालाई परिचालन गरेर  चन्दा असुल्ने बदनाम हुने र जनता विरोधी काम गरे । फेरि तराईका कृषि मजदुर संगठित गर्न त सँगै सीमा जोडिएको भारतका कृषिमजदुरसँग पनि सहकार्य नगरी हुदैनथ्यो। त्यसो गर्नासाथ भारत सरकारले पनि दमन गर्ने थियो । राजा फाल्ने आन्दोलन सकिएपछि पनि माओवादीले तराईमा मध्यमवर्गीय उग्रवादीहरुको संगठन गर्न खोज्दा भारतले गौरहत्याकाण्ड  गराएर माओवादीलाई तराईमा प्रवेश रोक लगायो भने झन् नक्सालवादी भनेर गाली गरिने माओवादी कृषि मजुर संगठित गरेको भए भारत सरकार कति निर्मम हुन्थ्यो होला ? निम्न मध्यम वर्गका असन्तुष्ट महत्वाकाङ्क्षी माओवादीभित्र त्यसै पनि भारतका गुप्तचरको घुसपैठ रहेको कुरा जगजाहेरै छ । यसरी आफ्नै अल्पकालीन उद्देश्य र निम्नमध्यम वर्गीय चरित्रले  जनयुद्धको उद्देश्य  त्यागेर गणतन्त्रमा ओर्लेको माओवादी सत्ताको लुछाचुँडीमा परेर अहिलेको अनेक टुक्रामा विभाजित बन्न पुगेको छ । यो उसको शुरुदेखिको कर्मको फल भोग्दैछ । ऊ जुनबाटो हिडेको थियो त्यही गन्तव्यमा पुगेको छ । पहिले सम्बिधानसभाको नामै सुन्न नचाहने, सम्बैधानिक राजतन्त्र छोड्दै नछोड्ने अडानका कांग्रेस र एमाले  अचानक गणतन्त्रमा आउन किन राजी भए? र तिनैसँग मिलेर माओवादीको आन्दोलन किन सफल भयो भन्ने कुराको रहस्य जानेर पनि नजानेजस्तो भएका माओवादी भित्रका क्रान्तिकारीहरुका जुन अनेक हाँगा विगा अझै हरियै देखिन्छन् ती पनि अहिले क्रान्तिकारी अधिवेशन गर्देै ढोका थुनेर मुड्की उचाल्दै निदाउँदै गरिरहेछन् । कताबाट चन्दा असुल गर्न पाइन्छ भन्ने धन्दामा सबै व्यस्त छन् ।

राजा फाल्ने आन्दोलन सकिएपछि पनि माओवादीले तराईमा मध्यमवर्गीय उग्रवादीहरुको संगठन गर्न खोज्दा भारतले गौरहत्याकाण्ड  गराएर माओवादीलाई तराईमा प्रवेश रोक लगायो भने झन् नक्सालवादी भनेर गाली गरिने माओवादी कृषि मजुर संगठित गरेको भए भारत सरकार कति निर्मम हुन्थ्यो होला ?

हो, निश्चय नै विश्वपरिस्थिति  र देशको वातावरण क्रान्तिका लागि अनुकूल हुन जरुरी हुन्छ । वातावरण अनुकूल छछैन भनेर  पनि वैज्ञानिक ढङ्गले अध्ययन गर्न आवश्यक पर्छ । देशमा गरीवी छ, आक्रोश छ,  असन्तुष्टि छ मानिस भोकै मरेका छन् भने पनि त्यसलाई क्रान्तिको वातावरण तयार भएको भन्न मिल्दैन । सर्बप्रथम त क्रान्ति गर्ने क्रान्तिकारी वर्ग कुन हो भनेर पहिचान पनि वैज्ञानिक ढङ्गले नै हुनुपर्दछ । वास्तवमा आजसम्मका क्रान्तिकारी भनेर देखिएका बामपन्थीहरु च्यादरघरे मध्यम वर्गका मानिसहरु नै छन् । बाम पार्टीहरुको संगठनको पहुँच त्यहींसम्म छ । त्यसभन्दा तलओराल्न एमालेले पनि सकेन, माओवादीले पनि सकेको छैन । कसलाई क्रान्तिको आवश्यकता छ भन्ने पहिले बुझ्नुपर्छ । शोषणबाट जो मुक्त हुनचाहँन्छ, जो उत्पादनकार्यमा सक्रियछ उही क्रान्तिकारी हुन्छ । निश्चय नै गरीबी पनि शोषण हो तर त्यो गरीबीरुपी शोषण देशमा लगानी बढाएर राष्ट्रिय पूँजीको विकास गर्न नदिने,  देशमा उद्योग र आधुनिकीकरण गर्न नदिने वित्तीय साम्राज्यवादको कारणले गरीबी वढेको हो । त्यो साम्राज्यवाद हाम्रो देशका शासक, जमिन्दार,  दलाल पूँजीका मालिकसँगको साँठगाँठमा  हाम्रो देशमा गरिबी बढाइरहेछ । उनीहरुले क्रान्ति रोक्न र देशका स्रोत साधन कव्जामा राख्न अनेक नियम, प्रचलन र तिकडमवाजी चलाइरहेका छन् । क्रान्तिको नेतृत्व गर्ने युवा वर्गलाई वैदेशिक रोज गारमा पठाउन सकिने गरी खुकुलोपन गरिदा पनि क्रान्ति रोकिएको छ । यो नेपालको लागि मात्र होइन विश्वव्यापी तिकडमवाजी नै हो । यसबाट उनीहरुलाई सस्तो श्रम मिलेको छ भने विश्व यापी आपत आईपर्दा हाम्रोजस्ता मुलुकमा भोकमरी फैलन्छ, ती देशमा गएका हाम्रा युवा पनि भोकमरीमा पर्छन्, निष्काशनमा पर्ने छन् तर उनीहरु सुरक्षित रहने छन् । मालिक वर्गको यो साँठगाँठबाट देशमा कर उठाएर भ्रष्टाचार गर्ने एउटा यस्तो परिपाटी खडा गरिएको छ कि भ्रष्टाचार गरेको धन धनी देशकै बैंकमा थुप्रिन पुग्ने र भ्रष्टले पनि शरण पाउने गरेको छ । नियम  कानुनका छिद्र टाले पछि भ्रष्टाचार न ठहरिने  तर छिद्र टाल्न वास्ता नगर्ने मात्र भ्ष्ट ठहरिने प्रणाली विकाश गरिएको छ । मुख्य कुरा पूँजीवादी जनवादको विकासको बाटोलाई देशभित्रका शासक, ठूला कर्मचारी र कमिशनखोर उच्च वर्गलेरोकेको छ । 

वास्तवमा आजसम्मका क्रान्तिकारी भनेर देखिएका बामपन्थीहरु च्यादरघरे मध्यम वर्गका मानिसहरु नै छन् । बाम पार्टीहरुको संगठनको पहुँच त्यहींसम्म छ । त्यसभन्दा तलओराल्न एमालेले पनि सकेन, माओवादीले पनि सकेको छैन ।

यस्तो परिस्थितिमा देशको उच्च वर्ग र विदेशी साम्राज्यवादको दलाली गर्ने र सरकारमा जान पागल कुकुरलेजस्तो राल चुहाउँदै केही बाम नेता चुनावका लागि पचहत्तरै जिल्लामा दौडेर क्रान्ति गर्न तम्सेका छन् भने चुनाव जित्ने संभावना नभएका केही अन्य बाम नेता क्रान्तिकारी प्रस्ताव पासगरी क्रान्तिको जप गर्दै कोठा तताइरहेछन् । उनीहरुको मिडियावाजीले विदेशी प्रभुहरुलाई दलाल छान्न सजिलो भएको छ ।  वस्तवमै हो देशमा बामपन्थीको त कुनै कमी नै छैन । पार्टी पनि धेरै, सवै मिलेको खण्डमा मत पनि बाम मत नै वढी हुन्छ तर कमी छ चरित्र र सही समझदारीको । बुझेर पनि बुझ पचाउने नेताहरुले गर्दा कार्यकर्ताहरु विभाजित भएका छन् । यो अवस्थामा बामहरु सरकारमै गए पनि ठोस काम गर्न सकिरहेका छैनन् । अथवा ठोस काम गर्न होइन, पद, प्रतिष्ठा र पैसाका पछि दौडेका छन् । नेता र कार्य कर्ता कोही भन्दा कोही कम जान्ने छैन । प्रशिक्षण छैन, कुनै वैज्ञानिक अवधारण छैन । बामपन्थी मन्त्रीहरुले हरेक वर्ष ल्याएका बजेट भाषण पढ्दा नै थाहा हुन्छ कसरी यिनले जनतालाई वेववकूफ वनाउने खेल खेलिरहेका छन् । यो सव देख्दा भन्न सकिन्छ बाम नेताहरु सुख सुविधा र सत्ताको लोभमा उच्च वर्ग र साम्राज्यवादको खुफियागिरी र दलाली मात्र गरिरहेछन् । जनतालाई वेचेर खाइरहेछन् । आपसमा अन्तरकृया गर्दा पोल खुल्ने डरले यी आपसी एकताको लागि राउण्ड टेवलमा जम्मा पनि हुन चाहँदैनन् । यदि चाहन्थे त देश आजसम्म कहाँको कहाँ पुगिसक्ने थियो ।