रूसी जनरलको हत्या: युक्रेनमाथि शंका !
रूसका परमाणु रक्षा बलका प्रमुख जनरल इगोर किरिलोभको मस्कोमा हत्या भएको छ । सोही घटनामा उनको सहायक इलिया पोलिकार्पोभको पनि हत्या भएको छ ।
उनको हत्या रियाजान्स्की प्रोसपेक्टस्थित एक अपार्टमेन्ट भवनबाहिर इलेक्ट्रिक स्कुटरमा लुकाइएको बमको विस्फोटबाट भएको हो। उनको हत्यामा प्रयोग भएको विस्फोटक उपकरणको क्षमता लगभग ३०० ग्राम TNT को बराबर रहेको थियो।
आक्रमण भएको स्थान क्रेमलिनबाट ७ किलोमिटर (४ माइल) दक्षिणपूर्वमा रहेको थियो।
रिमोट कन्ट्रोलको प्रयोग गरी बम विस्फोट गराइएको थियो ।
५४ वर्षीय जनरल इगोर किरिलोभको अप्रिल २०१७ देखि रुसको रेडियोलोजिकल, केमिकल र बायोलोजिकल डिफेन्सका प्रमुखको रूपमा कार्यरत थिए। रूसी सेनाको यो विशेष बलले रेडियोधर्मी, रासायनिक र जैविक प्रदूषणका अवस्थामा काम गर्छ।
यस घटनाबारे युक्रेनले औपचारिक रुपमा कुनै प्रतिक्रिया नदिए पनि युक्रेनको एसबीयू (सुरक्षा सेवा) गुप्तचर एजेन्सीले रूसी राजधानी मस्कोमा भएको बम विस्फोटको जिम्मेवारी लिएको सञ्चार माध्यमहरुले जनाएको छ । त्यसअनुसार जनरल किरिलोभ प्रतिबन्धित रासायनिक हतियारको प्रयोग गरी गरेको युद्ध अपराधहरूको बदला लिन उक्त घटना गराएको दावी युक्रेनले गरेको छ । रूसले भने यस घटनालाई "आतङ्कवादी आक्रमण" भन्दै आपराधिक मुद्दा दर्ता गरेको छ। रुसले युक्रेनमाथि शान्तिपूर्ण शहरहरूमा "कायरतापूर्ण" आक्रमणको आरोप लगाएको छ। रूसको सुरक्षा परिषदका उपाध्यक्ष दिमित्री मेदभेदेभले ‘आफ्नो सैन्य पराजयको अनिवार्यता महसुस गर्दै, युक्रेनले शान्तिपूर्ण शहरहरूमा कायरतापूर्ण र घृणित आक्रमणहरू शुरू गरेको’ आरोप लगाएका छन् ।
त्यसो त यस किसिमका हत्याकाण्ड भएको यो पहिलो घटना भने होइन ।
गत नोभेम्बरमा मात्रै पनि वरिष्ठ रूसी नौसैनिक अधिकारी भ्यालेरी ट्रान्कोभस्कीको क्राइमियामा कार बम विस्फोटमा मृत्यु भएको थियो। त्यसै गरी, अगस्ट २०२२ मा, रूसी अतिराष्ट्रवादी अलेक्जेन्डर दुगिनकी छोरी डारिया दुगिनाको कार बम विस्फोटमा हत्या भएको थियो ।
अप्रिल २०२३ मा, युद्ध समर्थक रूसी ब्लगर भ्लाडलेन टाटार्स्कीको सेंट पिटर्सबर्गको एउटा क्याफेमा बम विस्फोटमा मृत्यु भयो। युक्रेनले यसको जिम्मेवारी लिएको थिएन, बरु यो घरेलु गुटबन्दीको परिणाम भएको बताएको थियो।
एकजना पक्राउ
मस्कोमा बम विस्फोट गराई लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ र उनका सहायक इलिया पोलिकार्पोभको हत्या गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ परेका छन् ।
उज्बेकिस्तानका नागरिक रहेका ती व्यक्तिलाई यस आक्रमणमा संलग्न भएको शङ्कामा पक्राउ गरिएको छ। रुसी अधिकारीहरुले जनाएअनुसार २९ वर्षीय ती संदिग्धले आफूलाई "युक्रेनी विशेष बलहरूले भर्ती गरेको" स्वीकारेका छन्।
प्रतिक्रिया