ढल्यो सिरियामा राष्ट्रपति असदको सत्ता !
सिरियाको सशस्त्र विपक्षी समूहका लडाकुहरुले राजधानी दमास्कस कब्जा गरेका छन् भने त्यहाँका राष्ट्रपति बसर अल-असदले देश छाडेर भागेका छन् ।
असद विरुद्ध सशस्त्र संघर्ष गर्दै आएका सशस्त्र समूह हायत तहरीर अल-शामका कमाण्डर अबु मोहम्मद अल-जुलानीले सबै राज्य संस्थाहरू असदका प्रधानमन्त्रीको निगरानीमा रहने र औपचारिक रूपमा हस्तान्तरण नभएसम्म त्यही व्यवस्थापन हुने बताएका छन्।
यो घोषणा विपक्षी समूहहरूले तीव्र आक्रमण गर्दै धेरै सहरहरू कब्जा गरेको केही घण्टापछि आएको हो। सिरियाका प्रधानमन्त्रीले पनि जनताले रोजेका नेतृत्वलाई सहयोग गर्ने जनाएका छन् ।
कतार, साउदी अरेबिया, जोर्डन, इजिप्ट, इराक, इरान, टर्किये र रुसले यसै रात एउटा संयुक्त विज्ञप्ति जारी गर्दै यस संकटलाई “खतरनाक स्थिति” भनी वर्णन गरेका छन् र राजनीतिक समाधानको आह्वान गरेका छन्।
असदको सत्ता ढलेसँगै सिरियाका शहरहरुमा मानिसहरुले खुसियाली मनाएका दृश्यहरु देखिएका छन् ।
अहिले सत्ताबाट गलहत्याइएका असदलाई इरान, रुस र लेवनानका सशस्त्र समूह हिजबुल्लाले समर्थन गर्दै आएको थियो । उनीहरुकै साथ समर्थनमा बसदले आफूविरुद्धको सशस्त्र विद्रोहलाई दबाउँदै आएका थिए । उता विद्रोहीहरुलाई भने अमेरिका, इजरायल र टर्कीले समर्थन गर्दै आएको थियो ।
सिरियामा भएको सत्ता परिवर्तनसँगै पश्चिमा एशियामा नयाँ खालको शक्तिसन्तुलनको अवस्था आउने देखिएको छ । यस सत्ता परिवर्तनले एकातिर सिरियामा गृहयुद्ध र राजनीतिक अस्थीरता निम्तिने जोखिम बढेको छ भने अर्कोतिर आइएसआइजस्ता उग्रपन्थी संगठनहरु पुन: बलियो बन्ने खतरा पनि देखिएको छ । त्यसमाथि थप, त्यहाँको अहिलेको शक्ति सन्तुलनमा आउने परिवर्तनसँगै इजरायल र इरानबीच प्रत्यक्ष युद्ध हुन सक्ने सम्भावनालाई पनि जन्माएको छ भने अर्कोतिर इरानभित्रै पनि अस्थीरता पैदा गराइ त्यहाँ ‘कू’लाई जन्माउने चलखेलको जोखिम पनि देखिएको छ ।
प्रतिक्रिया