जुत्ताअनुसार खुट्टा काट्ने कि खुट्टाअनुसार जुत्ता ?

नेपालको क्रान्ति चीनको जस्तो हुनेछ कि रुसको जस्तो ?

“यो दुरुस्तै रुसी मोडेलको जस्तो हुनेछ ।"

एकथरीले भन्दछ ।

"हैन, हामी पनि अर्ध सामन्ती, चीन पनि अर्ध सामन्ती, हामी पनि अर्ध-उपनिवेश, चीन पनि अर्ध उपनिवेश । त्यसैले यो हुबहू चीनको जस्तो हुनेछ ।" अर्को थरी भन्दछ ।

"सोभियत संघ र पूर्वी यूरोपमा समाजवाद फेल खाइसक्यो । त्यसैले हामीले पनि हूबहू सोभियत संघ र पूर्वी यूरोपमा गरे जस्तै बहुदलीयता र बजार
अर्थतन्त्र लागू गर्नुपर्दछ ।

०००

यस्तो कुराकानी हामी हाम्रो आन्दोलन भित्र जताततै र पलपल भइरहेको पाउँछौं । के वस्तुलाई हेर्ने, संसारलाई हेर्ने यो दृष्टिकोण सही र वैज्ञानिक छ ? के यो दृष्टिकोणबाट संसारलाई हेरेर हामी सत्य पत्ता लाउन सक्छौं ? हाम्रो मुख्य चासोको विषय यो हो ।

भिन्ना भिन्नै वस्तुको त कुरै छाडौं, एउटै वस्तु पनि उही अवस्थामा स्थिर रहँदैन । प्रत्येक वस्तु गतिशील हुन्छ । चलायमान हुन्छ । समय परिस्थिति गतिशील हुन्छ । त्यससंगको सम्बन्ध र द्वन्द्वमा त्यही वस्तुको आन्तरिक संरचना पनि गतिशील हुन्छ । त्यो निरन्तर बदलिरहेको हुन्छ।

विज्ञानले बताउँछ- संसारमा कुनै पनि एउटा वस्तु अर्को वस्तु जस्तो हुँदैन । बाहिरबाट यान्त्रिक रुपले एउटै जस्तो देखिने वस्तु पनि त्यसको आन्तरिक बनोटको हिसाबबाट अर्को वस्तु भन्दा धेरै कुरामा फरक हुन्छ । जुन क्षणमा एउटा वस्तु पैदा भएको हुन्छ, त्यो समय र परिस्थितिसितको सम्बन्ध र द्वन्दले त्यो वस्तुको आन्तरिक बनोटमा एउटा असर पुऱ्याएको हुन्छ भने अर्को क्षणको समय र परिस्थितिमा अर्को । त्यसैले कुनै पनि एउटै जस्तो देखिने अलग अलग वस्तु आन्तरिक बनोटको हिसाबले एक अर्कामा भिन्न हुन्छन् । एउटै जस्तो देखिने जुम्ल्याहा मान्छेका अलग अलग स्वभाव हुन्छन् । उही उही जस्तो देखिने मकैको गेडाबाट एउटै खालको माटोमा पनि अलग अलग खालको मकैको बोट उम्रिन्छ । भिन्ना भिन्नै वस्तुको त कुरै छाडौं, एउटै वस्तु पनि उही अवस्थामा स्थिर रहँदैन । प्रत्येक वस्तु गतिशील हुन्छ । चलायमान हुन्छ । समय परिस्थिति गतिशील हुन्छ । त्यससंगको सम्बन्ध र द्वन्द्वमा त्यही वस्तुको आन्तरिक संरचना पनि गतिशील हुन्छ । त्यो निरन्तर बदलिरहेको हुन्छ।

एंगेल्सले एकचोटि भन्नु भएको थियो- एउटा वस्तु आरामको अवस्थामा छ । एकै ठाउँमा उत्तिकै रहिरहेको छ । तर पनि त्यसमा परिवर्तन आईरहेकै हुन्छ; किनकि एकै ठाउँमा रहिरहे पनि त्यो वस्तुले पृथ्वीको गतिसित त भाग लिइरहेकै हुन्छ । पृथ्वीको गतिसित भाग लिने क्रममा त्यो जुन तापक्रम र प्रक्रिया भएर गुज्रन्छ, त्यसले त्यो वस्तुको रासायनिक-भौतिक संरचनामा परिवर्तन ल्याइरहेको हुन्छ । र हरेक परिवर्तन भनेको गति हो । म अहिले जो छु एकछिन पछि म त्यस्तो रहन्न । एकछिन् पछि म जो हुन्छु, त्यसपछि म त्यो रहन्न । ममा भईरहेको गति अलि समयपछि चाल पाउने गरी थाहा पाइन्छ । म बच्चाबाट तन्नेरी भईरहेको हुन्छु, तन्नेरीबाट प्रौढ र प्रौढबाट वृद्ध । तर जुन चाल पाउने गरी थाहा पाइन्छ, त्यो परिर्वतन अलि अलि गरेर नै भएको हुन्छ । एकैचोटि कुनै पनि मानिस बच्चाबाट वृद्ध हुँदैन ।

यो कुरा समाज देशको हकमा पनि लागू हुन्छ । हरेक दुई वस्तु फरक भए जस्तै दुई मुलुक पनि फरक हुन्छन् । कुनै पनि दुई मुलुक हूबहू एउटै खालका हुँदैनन् । एउटै मुलुक पनि उही, जस्तै र स्थिर रहँदैन । समय र परिस्थितिसितको सम्बन्ध र द्वन्दमा त्यो मुलुक भित्रको विरोधी शक्तिहरुले गर्दा प्रत्येक मुलुक भित्री रुपले हर क्षण बदलिरहेको हुन्छ । अहिलेको नेपाल २०४५ सालको नेपाल होइन । अहिलेको चीन हिजोको चीन होइन । अहिलेको रुस -हिजोको रुस होइन । प्रत्येक वित्दो क्षणपछि र विश्व परिस्थितिसितको सम्बन्ध र द्वन्दमा, नेपाल भित्रकै विरोधी शक्तिहरुको बीचको सम्बन्ध द्वन्दमा नेपाल लगातार बदलीरहेछ । जुन नीति र कार्यक्रम २०४५ सालमा नेपालमा लागू गर्दा ठीक हुन्थ्यो, त्यो २०४६ सालमा ठीक नहुने स्थिति हुनसक्छ । चीनको मोडेल, रुसको मोडेल नेपालमा फीट खान्छ कि खाँदैन, त्यसको त कुरै पर राखौं । चीनको त्यतिखेरको क्रान्तिको मोडेल अहिले चीन स्वयंमा फीट खाँदैन, त्यस्तै रुसी क्रान्तिको मोडेल रुसमै । किनकी मुलुकहरु पनि गतिशील
छन् ।

चीनको मोडेल, रुसको मोडेल नेपालमा फीट खान्छ कि खाँदैन, त्यसको त कुरै पर राखौं । चीनको त्यतिखेरको क्रान्तिको मोडेल अहिले चीन स्वयंमा फीट खाँदैन, त्यस्तै रुसी क्रान्तिको मोडेल रुसमै । किनकी मुलुकहरु पनि गतिशील
छन् ।

त्यसैले सत्य पत्ता लगाउने हो भने वस्तुलाई स्थिरतामा हेर्नु हुँदैन । हरेक वस्तुलाई गतिमा हेर्नुपर्छ । वस्तुलाई स्थिरतामा हेर्ने, नवदलिने कुराको रुपमा हेर्ने दृष्टिकोण अवैज्ञानिक दृष्टिकोण हो । यसलाई दर्शनको भाषामा अधिभूतवाद भन्छन् । हरेक वस्तुलाई निरन्तर गतिमा हेर्ने, परिवर्तन भइरहने कुराको रुपमा हेर्ने दृष्टिकोण वैज्ञानिक दृष्टिकोण हो । यस दृष्टिकोणलाई दर्शनमा द्वन्दवाद भन्छन् ।

फेरि अर्को कुरा, सत्य पत्ता लगाउने हो भने वस्तुलाई अलग-थलग रुपमा पनि हेर्नु हुँदैन । समय र परिस्थिति भन्दा अलग्ग, त्यो सित नगाँसिएको कुराको रुपमा हेर्नु हुदैन । किनकी कुनै पनि वस्तु समय र परिस्थितिसितको सम्बन्ध र द्वन्दमा नै गतिशील हुन्छ । यस्तो हेर्ने दृष्टिकोण पनि अवैज्ञानिक हो । दर्शनका भाषामा यस्तो दृष्टिकोण- लाई पनि अधिभूतवाद भनिन्छ । हरेक वस्तुलाई समय र परिस्थितिसित जोडेर त्योसित हर हमेशा गाँसिएको रुपमा हेर्नु पर्दछ । यसरी हेर्नु वैज्ञानिक हुन्छ । यस्तो दृष्टिकोणलाई दर्शनमा द्वन्दवाद भनिन्छ ।

यसरी सत्य पत्ता लगाउने हो भने बाहिर मात्र हैन, हरेक वस्तु भित्रको आन्तरिक संरचना, बनोट हेर्नु पर्दछ । बाहिरबाट अलि अलि उस्तै उस्तै वा उस्तै उस्तै देखिएको वस्तुलाई बाहिरी देखाइको भरमा उस्तै ठान्नु अवैज्ञानिक दृष्टिकोण हो । यस्तो सतह हेरेको भरमा उस्तै ठान्ने दृष्टिकोण पनि दर्शनको भाषामा अधिभूतवाद हो । हरेक वस्तुको बाहिरी भित्री संरचना वा बनोट हेरेर मात्र वस्तुहरु कति समान छन्, कति भिन्न छन् भनेर धारणा बनाउने दृष्टिकोण वैज्ञानिक हो । दर्शनको भाषामा यो द्वन्दवाद हो ।

हरेक वस्तु एक अर्कामा फरक हुन्छन् भने के वस्तु वस्तुहरुका बीचमा साझा कुरा हुँदैनन् ? आम- विशेषताहरु हुँदैनन् - प्रश्न उठ्न सक्छ । निश्चय नै वस्तु वस्तु बीचमा खालि भिन्नता मात्र होइन, साझा कुरा पनि हुन्छन्: जसरी हरेक मान्छेको रुपरंग एक अर्काबाट फरक हुन्छ तर पनि हरेक मान्छेका बीचमा साझा कुरा हुन्छ, जस्तो कि प्रत्येकको शरीर हुन्छ, इन्द्रीय हुन्छ, चिन्तन क्षमता हुन्छ, श्रम गर्ने क्षमता हुन्छ प्रत्येकले खानु, पिउनु, सास लिनु पर्दछ । यी मानिसमा रहेका साझा कुराहरु हुन् । त्यस्तै देश देशको पनि साझा विशेषता हुन्छन् । साझा विशेषता भएपछि सबैलाई लागू हुने साझा कुरा पनि हुन्छ । साझा विशेषताको आधारमा सबै मुलुकमा लागू हुने साझा कुरालाई नै साझा वा सामान्य सिद्धान्त भनिन्छ । हामीले भिन्नता मात्र हेरेर पुग्दैन, साझा विशेषता पनि हेर्नु पर्दछ । हामीले साझा विशेषता हेरेर पुग्दैन,
प्रत्येक वस्तु, मान्छे, मुलुक बीचको भिन्नता पनि हेर्नु पर्दछ । जो खालि भिन्नतामात्र हेर्नु पर्छ भन्नेमा जोड दिन्छन्, तिनीहरु सत्यको एउटा पाटो मात्र हेर्छन। तिनीहरु एकांगी र अवैज्ञानिक हुन्छन् । खालि भिन्नता मात्र हेर्ने एकांगी र अवैज्ञानिक दृष्टिकोणबाट व्यवहार बाद (Pragmatism) पैदा हुन्छ । जो खालि साझा विशेषता मात्र हेर्नुपर्छ भन्नेमा जोड दिन्छन्, भिन्नतालाई उपेक्षा गर्छन्, तिनीहरू पनि सत्यको अर्को पाटो हेर्छन । त्यसैले तिनीहरुको पनि एकांगी अवैज्ञानिक दृष्टिकोण राख्छन् । खालि साझा कुरा मात्र हेर्नमा जोड दिने एकांगी र अवैज्ञानिक दृष्टिकोणबाट जडसूत्रवाद (Dogmatism) पैदा हुन्छ । सत्य पत्ता लगाउने हो भने हामी एकांगी हुनुहुँदैन । सत्यको एउटा पाटोमा मात्र ध्यान दिने हुनुहुँदैन । हाम्रो दृष्टिकोण सर्वांगी हुनुपर्छ । सत्यको सबै अंगमा, पाटोमा हाम्रो उतिकै ध्यान पुग्नुपर्छ । संसारका सबै वस्तुमा केही साझा कुरा हुन्छन् र साथसाथै सबै वस्तु एक अर्काबाट भिन्न हुन्छन् भन्ने सत्य उपर हाम्रो ध्यान जानुपर्दछ ।

संसारमा एउटा मुलुकमा लागू भएको कुरा अर्को मुलुकमा हूबहू लागू हुने भै दिएको भए संसारमा एउटा मुलुकमा मात्र सोच विचार गरे पुग्थ्यो । चिन्तन र सिद्धान्तको विकास नै हुँदैनथ्यो ।

नेपालमा रुस वा चीनको मोडेल हूबहू लागू हुन्छ भन्ने दृष्टिकोणले सत्यको एउटा पाटो मात्र हेर्यो त्यसले साझा विशेषतालाई मात्र ध्यानमा राख्यो, भिन्नतालाई भुल्यो । त्यसैले यो दृष्टिकोण एकांगी भयो, सर्वांगीण भएन, वैज्ञानिक भएन । अधिभूतवादी दृष्टिकोण भयो, जडसूत्रवादी दृष्टिकोण भयो । त्यस्तै कसैले नेपालमा लागू हुनसक्ने त्यस्ता साझा कुरा वा सामान्य सिद्धान्त नै छैनन्, भनेर खालि भिन्नतालाई मात्र जोड दिन्छ भने त्यो पनि एकांगी र अवैज्ञानिक दृष्टिकोण भयो । यो पनि अधिभूतवादी दृष्टिकोण भयो ।

संसारमा एउटा मुलुकमा लागू भएको कुरा अर्को मुलुकमा हूबहू लागू हुने भै दिएको भए संसारमा एउटा मुलुकमा मात्र सोच विचार गरे पुग्थ्यो । चिन्तन र सिद्धान्तको विकास नै हुँदैनथ्यो । एउटै मुलुकको चिन्तन र सिद्धान्तले सबैतिर काम दिने भएपछि अन्यको मानिसले मथिंगल खियाउनु पयो नै किन ? विवेक-बुद्धि लगाउनु पयो नै किन ? त्यस्तै संसारमा एक समयमा सही सावित भएको विचार सधैंभरि सही भईरहने भए संसारमा विचार वा सिद्धान्तको विकास नै हुने थिएन । मार्क्सले सोची दिए पछि हामीलाई पुगी हाल्ने भयो, हामीले सोच्नु पर्ने नै किन ? साम्यवादी विचार मार्क्स, एंगेल्स, लेनिन जहाँ अड्किनु भएको थियो, त्यहीँ रोकिन्थ्यो ।

भिन्न परिस्थितिसितको द्वन्दमा मार्क्सवादले नेपालमा पनि नयाँ उचाइ लिनु अवश्यभावी छ । यस्तो गर्नको लागि हामीले मार्क्स, एंगेल्स, लेनिन, स्टालिन, माओले जे जति मथिंगल खियाउनु भयो, त्यसैमा अकडिएर, त्यसकै अन्ध नजर गरेर काम चल्दैन ।

तर वास्तविकता त्यस्तो हुँदैन । मार्क्सवादका संसार भरि लागू हुनसक्ने केही साझा सिद्धान्तहरु छन् । तर त्यो रुसमा लागू गर्दा त्यहाँको भिन्न परिस्थितिसित त्यो सामान्य सिद्धान्तको द्वन्द हुन्छ । त्यो द्वन्दबाट नयाँ अनुभव पैदा हुन्छ र त्यसबाट मार्क्सवादको ज्ञान भण्डार अरु धनी र विकसित हुन्छ । त्यस्तै चीनमा लागू गर्दा, कोरियामा लागू गर्दा, भियतनाममा लागू गर्दा । त्यसैले त लेनिनले मार्क्सवादको विकास गर्नसक्नु भयो रुसको भिन्न परिस्थितिसितको द्वन्दमा मार्क्सवादको सामान्य सिद्धान्त लागू गरेर, त्यहाँको परिस्थितिमा प्राप्त अनुभव- द्वारा । यस्तै माओले पनि लीली शान र २९ बोल्सेभिकहरुले भने जस्तै रुसी सिको मात्र गर्नु भएको भए मार्क्सवादको थप विकास गर्न संभव हुँदैनथ्यो । उहाँले पनि चीनको भिन्नता पहिल्याउनु भयो । त्यसमा मार्क्सवादको सामान्य सिद्धान्त लागू गर्नुभयो । त्यो भिन्नतासितको द्वन्दमा मार्क्सवादको सामान्य सिद्धान्त अरु विकसित भयो ।

यही कुरा नेपालमा पनि लागू हुन्छ । मार्क्सवादको सामान्य सिद्धान्त छ; जुन माओसम्म आइपुग्दा एउटा उच्चाइमा आईपुगेको छ । तर नेपालका र विश्वमै अहिले भिन्न परिस्थितिहरु पनि छन् । ती के हुन्, लेनिन र माओले गरेजस्तै हामीले पनि ती भिन्नताहरु पहिल्याउनु पर्‍यो, अनि त्यो भिन्न परिस्थितिमा लागू हुन संभव त्यो सामान्य सिद्धान्त लागू गर्नु पर्यो । भिन्न परिस्थितिसितको द्वन्दमा मार्क्सवादले नेपालमा पनि नयाँ उचाइ लिनु अवश्यभावी छ । यस्तो गर्नको लागि हामीले मार्क्स, एंगेल्स, लेनिन, स्टालिन, माओले जे जति मथिंगल खियाउनु भयो, त्यसैमा अकडिएर, त्यसकै अन्ध नजर गरेर काम चल्दैन । हामी आफैले मथिंगल खियाउनु जरुरी छ । विचार- बुद्धि पुऱ्याउनु जरुरी छ । अहिलेको युगको भिन्नता र विश्वको परिस्थितिको भिन्नता, अहिलेको नेपालको भिन्नता हामी आफैले खोजेर पत्ता लगाउनु जरुरी छ ।

तर रुस र चीनको र पूर्वीयूरोप र वर्तमान रुसको मोडेल लागू गर्ने चिन्तनले हामीलाई मथिंगल खियाउनु जरुरी पर्दैन । हामीलाई वास्तविकता सोच्न, खोजी गर्न जरुरी पार्दैन । हामीलाई नेपालको भिन्नता पत्ता लगाउन जरुरी पार्दैन । त्यसले पुरानो सूत्र नयाँ परिस्थितिमा आँखा चिम्लेर लागू गर्न प्रेरित गर्छ। पुरानो सूत्रलाई जडतापूर्वक अर्थात यान्त्रिक रुपले बिना सोचविचार भिन्न वा नयाँ परिस्थितिमा लागू गर्ने हुनाले नै अन्धनक्कलको चिन्तन प्रणालीलाई जडसूत्रवाद भनिएको
हो । जडसूत्रवादी चिन्तनको सबैभन्दा ठूलो दोष के हो भने यो नयाँ वास्तविकता प्रति, परिस्थितिमा आएको भिन्नता प्रति, परिवर्तन प्रति बेहोश हुन्छ । संसारको परिस्थिति परिवर्तनशील छ, गतिशील छ । तर जडसूत्रवादले सम्पूर्ण परिस्थितिलाई स्थिरतामा हेर्छ। यन्त्रवत हेर्छ । जडसूत्रवादी चिन्तनको मूल दोष नै के हो भने परिस्थिति नयाँ तर सूत्र पुरानो समस्या नयाँ तर समाधान पुरानो, प्रश्न नयाँ तर उत्तर पुरानो !

पुरानो सूत्रलाई जडतापूर्वक अर्थात यान्त्रिक रुपले बिना सोचविचार भिन्न वा नयाँ परिस्थितिमा लागू गर्ने हुनाले नै अन्धनक्कलको चिन्तन प्रणालीलाई जडसूत्रवाद भनिएको हो ।

केरा भिटामीनयुक्त फल हो । तर सबै व्यक्तिलाई केरा ख्वाउँदा फाइदा नै पुग्छ, यो जरुरी छैन । कसैलाई त यसले विषको पनि काम गर्छ । केराले अमृतको काम गर्छ कि विषको यो केरामा मात्र आधारित हुँदैन । केरा खाने मान्छेको शरीरको आन्तरिक परिस्थितिमा यो मूल रूपले भर पर्दछ । शरीर भित्रको परिस्थितिसितको सम्बन्ध र द्वन्दमा नै केराले फाइदा पुयाउने कि नोक्सानी पुयाउने भन्ने सवालको ठेगान हुन्छ । त्यस्तै लेनिनले रुसमा र माओले चीनमा विकास गर्नु भएको क्रान्तिको नीति र कार्यक्रमको मोडेल क्रान्तिकारी थियो, प्रगतिशील थियो। भिटामीनयुक्त केरा जस्तै । तर ती नीति र कार्यक्रम नेपालमा हूबहू लागू गरेर नेपालमा आमूल परिवर्तन नै हुन्छ, फाइदा नै पुयाउँछ, यो जरुरी छैन । यो मुख्यतया अहिलेको विश्वको र नेपालको आन्तरिक परिस्थितिमा नै भर पर्दछ । शरीरको आन्तरिक परिस्थितिसितको सम्बन्ध र द्वन्दमा केराको फाइदा बेफाइदा
आधारित भए जस्तै ।

रुसको क्रान्तिकारी अनुभवको आधारमा स्तालिनले
चीनियाँ क्रान्तिको बारेमा निर्देशन दिँदा, माओले त्यसलाई चीनियाँ परिस्थितिसित
मेल खाँदैन भनेर अस्वीकार गर्नु भएको थियो । पछि स्तालिनले स्वीकार्नु परेको थियो। स्तालिनले सुझाव दिनु भएको बाटोबाट गएको भए चीनको जनवादी क्रान्ति नै सम्पन्न हुन सक्ने थिएन । यद्यपि त्यो रुसी क्रान्तिको अनुभवमा आधारित थियो । त्यसैले एउटा देशको क्रान्तिकारी अनुभव अर्को ठाउँको निम्ति हानिकारक र विषालु पनि हुन सक्छ । उपयोगी र अमृतरुपी पनि हुन सक्छ ।

माओले यसैलाई अर्को भाषामा भन्नु भएको थियो- जुत्ता अनुसार खुट्टा काट्ने होइन, खुट्टा अनुसार जुत्ता काट्ने दृष्टिकोण अपनाउनु पर्छ । चीनियाँ साइजको, रुसी साइजको जुत्ता, नेपाली खुट्टामा फीट नै हुन्छ, यो कुनै जरुरी छैन ।

तर चीनियाँ मोडेल, रुसी मोडेल र येल्तसीन मोडेल वा अन्ध नक्कलको चिन्तन भने हरेक विरामीलाई केरा ख्वायो भने फाइदाजनक नै हुन्छ भन्ने चिन्तन हो । यो यान्त्रिक चिन्तन प्रक्रिया हो । यो अद्वन्दवादी, अवस्तुवादी चिन्तन प्रक्रिया हो। वैज्ञानिक चिन्तन प्रक्रिया, द्वन्दवादी वस्तुवादी चिन्तन प्रक्रिया अपनाउने हो भने हामीले केरामा रहेको भिटामीन तत्व मात्र हेरेर यसले हर विरामीलाई फाइदा पुऱ्याउँछ भने यान्त्रिक दृष्टिकोण छाड्नु पर्छ । विरामीको शरीरको आन्तरिक वास्तविकता थाहा पाएर त्यसको जरुरत अनुसार केरा ख्वाउनु ठीक हुन्छ कि हुँदैन भनेर निधो गर्ने दृष्टिकोण अपनाउनु पर्छ ।

माओले यसैलाई अर्को भाषामा भन्नु भएको थियो- जुत्ता अनुसार खुट्टा काट्ने होइन, खुट्टा अनुसार जुत्ता काट्ने दृष्टिकोण अपनाउनु पर्छ । चीनियाँ साइजको, रुसी साइजको जुत्ता, नेपाली खुट्टामा फीट नै हुन्छ, यो कुनै जरुरी छैन । नेपालको खुट्टा लम्बाइ, चौडाइ, मोटाइ सम्बन्धी वास्तविकता हामीले पत्तो लगाउनु पर्छ र त्यही। मुताविक फीट हुने जुत्ता काट्नु पर्छ । वास्तविकता मुताविक धारणा, नीति र कार्यक्रम बनाउने दृष्टिकोण बस्तुवादी द्वन्दवादी, वैज्ञानिक दृष्टिकोण हो । यसैले हामीलाई सत्यमुखी पार्छ। मनगढन्त र हचुवा आधारमा अन्ध अनुशरण गर्दै धारणा, नीति र कार्यक्रम बनाउने दृष्टिकोण आदर्शवादी अधिभूतवादी, अवैज्ञानिक दृष्टिकोण हो । यसले हामीलाई असत्यतिर डोऱ्याउँछ । हामीले के दृष्टिकोण राख्नु पर्छ भने नेपालको क्रान्ति नेपाली मोडेलको हुनेछ: कुनै अर्को मोडेलको हैन ।

मूल्याङ्कन २०४९ पुसमा प्रकाशित

प्रज्ञानरत्न

दर्शनका सवालमा कलम चलाउँदै आउनुभएका प्रज्ञानरत्नका 'मूल्याङ्कन मासिक एवं नवयुवा मासिक'मा प्रकाशित लेखरचनाहरु हामीले दर्शन स्तम्भअन्तर्गत नियमित रुपमा पुन:प्रकाशन गर्दै जानेछौं । यसका लागि हामीले लेखकबाट सम्मति लिएको समेत जानकारी गराउँदछौं ।