जाडो मौसममा रुघाखोकी र एलर्जीका समस्याहरुले किन बढी सताउँछ ?

जाडो महिनामा नै किन बढ्छ प्रदूषण पनि ?

जाडो मौसम लाग्न थालेको छ । जाडो मौसमको सबैभन्दा मुख्य समस्या भनेको यो मौसमको शुरुवातसँगै धेरै मानिसलाई रुघाखोकी, सर्दी, घाँटी दुख्ने, दम, र एलर्जीका समस्या सताउन थाल्छन्। यस्तो समस्या अझ बढी गरेर  बालबालिका, वृद्धवृद्धा, र कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिमा देखिन्छ। यस्तो किन हुन्छ ? यसो हुनुका वैज्ञानिक कारण, वातावरणीय प्रभाव, र हाम्रो जीवनशैलीले के कस्तो भूमिका खेल्ने गर्छ ? आउनुहोस् हामी यस्ता समस्या पैदा हुनुको कारण, त्यसका केही आधारभूत समाधानहरु तथा अपनाउनु पर्ने सतर्कताका बारेमा केही चर्चा गरौं ।

जाडो मौसममा स्वास्थ्य समस्या किन बढ्छन्?

गर्मी मौसममा स्वास्थ्य समस्या कम हुने तर जाडो मौसममा स्वास्थ्य समस्या बढी हुने भन्ने चाहिँ पटक्कै होइन । गर्मी मौसममा पनि स्वास्थ्य समस्याहरु देखापर्ने गर्छन् । तर गर्मी मौसम र जाडो मौसममा देखापर्ने स्वास्थ्य समस्याहरुको प्रकृति फरक हुने गर्छन् । विशेष गरेर जाडो मौसममा रुघाखोकी, सर्दी, घाँटी दुख्ने, दम, र एलर्जीका समस्याहरुले बढी नै सताउने गर्छन् । यसो हुनुका पछाडि केही ठोस कारणहरु पनि छन् ।

वातावरणीय कारणहरू

तापक्रममा गिरावट

नेशनल इन्स्टिच्यूट आप हेल्थ (एनआइएच) का अनुसार जाडो मौसममा तापक्रम घट्नाले शरीरको तापमान नियन्त्रण गर्ने प्रणाली (थर्मोरेगुलेसन) कमजोर बन्छ। फलत: चिसोले हाम्रो श्वासप्रश्वास प्रणालीमा नकारात्मक प्रभाव पारेर घाँटी र फोक्सोको झिल्लीलाई प्रभावित बनाउँछ।

सुक्खा हावा र कम आर्द्रता

अमेरिकन कलेज अफ एलर्जी, आस्थ्मा एण्ड इम्युनोलोजी  [American College of Allergy, Asthma, and Immunology (ACAAI)] का अनुसार चिसो मौसममा हावा सुख्खा हुन्छ, जसले हाम्रो नाक र घाँटीको झिल्ली सुकाएर परागकण र धूलोका कारण एलर्जीको जोखिम बढाउँछ।

बन्द कोठा र हावाको कमी

जाडोमा मानिसहरू चिसोबाट जोगिनका लागि कोठा बन्द गरेर हीटर वा आगो ताप्ने गर्छन्। यसले वायु परिसंचरणमा अवरोध उत्पन्न गरी एलर्जी बढाउने तत्व (जस्तै, धूलो, धूवा, र फङ्गस) संकुचित ठाउँमा बढी जम्मा हुने वातावरण बनाउँछ।

स्वास्थ्यजन्य कारणहरु

शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुनु

विश्व स्वास्थ्य संगठनका अनुसार जाडो मौसममा श्वासप्रश्वाससम्बन्धी भाइरसहरू (जस्तै, राइनोभाइरस र फ्लू भाइरस) बढी सक्रिय हुन्छन्। चिसोले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता कम गराइरहेको बेलामा त्यस्ता भाइरसहरुले हामीलाई सजिलै संक्रमण गर्न तथा विभिन्न खालका घातक रोग लाग्ने सम्भावना बढ्छ।

त्यसैगरी, गर्मी मौसमको तुलनामा चिसो मौसममा घाम कम लाग्ने वा लागिहालेमा पनि अलि ढिलो गरी लाग्ने हुन्छ । यस्ता अवस्थामा मानिसको शरीरले पर्याप्त मात्रामा सूर्यको किरण ताप्न पाउँदैन ।  सूर्यको किरणको अभावले शरीरमा भिटामिन डीको कमी हुन सक्छ, जसले प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउँछ।

एलर्जीका ट्रिगरहरू

चिसोमा घरभित्रको वातावरण धेरैजसो बन्द हुने भएकाले धूलो र धूलो किराको प्रकोप बढ्ने गर्छ । त्यस्ता कुराहरुको सम्पर्कबाट हामीलाई एलर्जी हुन सक्छ।

त्यसबाहेक, जाडो मौसममा हुने सिमसिमे चिस्यान र बन्द वातावरणले पाले र फङ्गस (Mold and Fungi) को वृद्धि गराउँछ । कमजोर प्रतिरक्षा प्रणाली भएका तथा एलर्जीको समस्या भएकाहरुले ती  कुराले दम र श्वासप्रश्वाससम्बन्धी समस्या निम्त्याउँछ।

जाडोमा रुघाखोकी र एलर्जीका प्रकार तथा तिनका लक्षणहरु

रुघाखोकी र एलर्जीलाई राम्रोसँग बुझ्नका लागि तिनीहरूको प्रकार र लक्षण थाहा पाउनु जरुरी हुन्छ ।

सामान्यत:  रुघाखोकी (Common Cold) भाइरल संक्रमणका कारण हुने गर्छ । यसमा नाक बन्द हुने, घाँटी दुख्ने, हाच्छिउँ आउने तथा सामान्य ज्वरो आउने जस्ता लक्षण एवं समस्याहरु देखापर्ने गर्छ ।

 रुघाखोकी भन्दा अलि फरक र गम्भीर चाहिँ फ्लू (Influenza) हुने गर्छ । यो समस्या इन्फ्लुएन्जा भाइरसको संक्रमणको कारण हुने गर्छ । फ्लू भएको अवस्थामा उच्च ज्वरो आउने, टाउको दुख्ने, मांसपेशीमा पीडा हुने जस्ता समस्याहरु देखापर्छ ।

एलर्जी (Allergy) चाहिँ धूलो, धूवा, फङ्गस, परागकणका कारणले हुने गर्छ । एलर्जी भएको अवस्थामा आँखा चिलाउने,

छालामा दागधब्बाहरु देखापर्ने तथा अलि गम्भीर अवस्थामा श्वासप्रश्वासमा कठिनाइ हुने जस्ता लक्षणहरु देखापर्न सक्छ ।

दम र अन्य श्वासप्रश्वास समस्या (Asthma and Respiratory Issues) हरु पनि जाडो मौसममा सर्वाधिक देखिने र दु:ख दिने खालको समस्या हो । यो समस्या देखापर्नुको मुख्य कारण चिसो हावा, प्रदूषण हुने गर्छ । यसमा घ्यारघ्यार हुने, श्वास फेर्न गाह्रो हुने र छातीमा भारीपन जस्ता लक्षणहरु देखिन सक्छन् ।

जोगिने कसरी ?

जाडो मौसममा देखापर्ने स्वास्थ्य समस्याहरुबाट बच्न केही घरेलु उपायहरु प्रभावकारी हुनेर गर्छन् । यसका लागि नियमित रुपमा तातोपानीको सेवन गर्ने बानी उत्तम हुन्छ । तातोपानीले शरीरलाई चिसोबाट जोगाउँछ र घाँटीलाई आराम दिन्छ।

जाडो मौसममा स्वास्थ्य समस्या देखापर्ने एउटा कारण हावाको आद्रतामा कमी आउनु पनि हो । त्यसैले हावाको आर्द्रता बढाउन गिलो टावल झुण्ड्याउनु वा ह्युमिडिफायर प्रयोग गर्नु उपयोगी हुन्छ।

जाडो मौसममा शरीरको प्रतिक्षा प्रणालीलाई बलियो बनाउनको लागि भिटामिन सी र डीको मात्रा बढाउनु पर्छ । तयसका लागि आफ्नो खानामा सिट्रस फलहरू (जस्तै, सुन्तला, कागती) नियमित रुपमा समावेश गर्नु राम्रो हुन्छ । त्यसैगरी घाम तापेर भिटामिन डीको कमी पूर्ति गर्न सकिन्छ । आवश्यक परेमा चिकित्सकको सल्लाहमा भिटामीन डीको सप्लिमेन्ट पनि लिन सकिन्छ ।

जाडोमा शरीरमा तरल पदार्थको कमी हुन नदिन झोल पदार्थ (जस्तै, सूप) सेवन गर्नु राम्रो हुन्छ ।

जाडो मौसममा स्वास्थ्य समस्या पैदा गर्ने मुख्य कुरा धुलो र फङ्गस पनि हो । त्यसैले आफू बसेको स्थान र वरिपरि नियमित रुपमा सफा गर्नुपर्छ । त्यसैगरी, आफूले लगाउने लुगा तथा ओढ्ने–ओछ्याउने सिरक र तन्नाहरुलाई समय समयमा घाममा सुकाउने गर्नुपर्छ ।

जाडो मौसममा अल्छी नमानिकन शारीरिक व्यायाम गर्ने बानी बसाल्नुपर्छ । हल्का व्यायाम र योगाले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ।

एलर्जी वा दमको समस्या भए चिकित्सकसँग सल्लाह लिएर औषधि सेवन गर्नुपर्छ । त्यसैगरी रुघाखोकीको रोकथामका लागि फ्लूको खोप लगाउन सकिन्छ ।

जाडो मौसममा वातावरणीय प्रदूषण किन बढी हुन्छ?

जाडो मौसममा वातावरणीय प्रदूषणको मात्रा बढ्नु प्राकृतिक कारण र मानव-निर्मित गतिविधिहरूको संयोजन हो। यस्ता कारणहरूले वायुमण्डलीय गुणस्तरलाई नकारात्मक रूपमा प्रभावित गर्छन् । त्यसले मानव स्वास्थ्य र वातावरणीय सन्तुलनमा समेत गम्भीर असर पार्छ।

जाडो मौसममा प्रदूषण बढ्नुका प्राकृतिक कारणहरू

तापक्रममा हेरफेर (Temperature Inversion)

जाडो मौसममा पृथ्वीको सतह चिसो हुने भएकाले माथिल्लो वायुमण्डलको हावा सतहको तुलनामा बढी तातो हुन्छ।

सामान्यतया तातो हावा माथि उठेर प्रदूषण अन्यत्र वितरित हुन पाउँछ । तर  तापक्रममा आउने हेरफेरका कारण चिसो हावा पृथ्वीको सतहमा थुनिन्छ र प्रदूषणका कणहरू तलतल नै अड्किन्छन्।यसको परिणामस्वरूप धूलो, धूवा, र अन्य कणहरूले वातावरणको गुणस्तरलाई खराब पार्छ।

कम हावाको वेग (Reduced Wind Speed)

जाडोमा हावा सुस्त हुने भएकाले प्रदूषणका कणहरू एकै ठाउँमा बढी एकत्रित हुन पाउँछ । फलत: त्यो लामो समयसम्म वायुमण्डलमा रहन्छन्।हावाको कमीले प्रदूषणका कणहरु अन्यत्र वितरीत भएर एकै ठाउँमा बढी असर गर्ने सम्भावनालाई न्यून गरिदिने प्रक्रियालाई अवरुद्ध गर्दछ, जसले प्रदूषणको मात्रा बढाउँछ।

चिस्यान र कुहिरो

जाडो मौसममा कुहिरो र चिस्यानले प्रदूषणका कणहरूलाई बिस्तारै वायुमण्डलमा जम्न सहयोग गर्छ।यो "स्मोग" (smoke + fog) का रूपमा देखिन्छ, जुन धेरैजसो शहरी क्षेत्रमा स्वास्थ्यका लागि हानिकारक हुन्छ।

मानव निर्मित कारणहरू

आगो ताप्ने र इन्धनको प्रयोग

जाडो मौसममा चिसोबाट जोगिन धेरैजसो स्थानमा दाउरा, कोइला, बायोमास, र फोहोर जलाइन्छ। इन्टरनेशनल इनर्जी एजेन्सी [International Energy Agency (IEA)] का अनुसार यी गतिविधिहरूले कार्बन डाइअक्साइड (CO₂), सल्फर डाइअक्साइड (SO₂), र अन्य प्रदूषणकारी ग्यासहरू उत्सर्जन गर्छन्।

खेतीपातीका कारण हुने प्रदूषण

जाडो मौसमको शुरुवाती चरणमा एशियाका विभिन्न क्षेत्रहरुमा धान काटेर पराल बाँकी रहेको हुन्छ । त्यस्ता पराललाई पशुहरुलाई खुवाउने काम त हुन्छ साथासाथै मलका लागि तथा माटोका हानिकारक कीरा जीवाणहरु मार्नका लागि समेत खेतमा पराल जलाउने चलन विद्यमान छ । त्यसैगरी नयाँ बाली लगाउन भूमि सफा गर्न डढेलो लगाइन्छ। यसरी खेतीपछिको बाँकी पराल र बोटबिरुवा बाल्ना वा डढेलो लगाइनाले वायुमण्डलमा धूलो र धूवाको मात्रा अत्यधिक बढ्छ।यसले वायुमण्डलमा पीएम २.५ (PM 2.5) र पीएम १० (PM 10) का कणहरू अत्यधिक मात्रामा थपिने गर्छ । सामान्यत: मानव स्वास्थ्यका लागि पीएम २.५ भन्दा तलका धुलाका कणहरु सामान्य मानिन्छ । तर जब त्यो २.५ वा त्योभन्दा माथि हुन्छ, त्यसले स्वास्थ्यमा गम्भीर असर पुर्‍याउँछ।

औद्योगिक गतिविधि र इन्धनको खपत

चिसो मौसममा उद्योगहरूमा कोइला र अन्य जैविक इन्धनको खपत बढ्छ, जसले वायु प्रदूषणलाई थप बढाउने काम गर्छ । त्यसैगरी, यातायातका साधनबाट हुने धूवाले पनि जाडो महिनामा प्रदूषणको मात्रा बढाउन भूमिका निर्वाह गरिरहेको हुन्छ ।

प्रदूषणको असर

विश्व स्वास्थ्य संगठनका अनुसार वायु प्रदूषणका कारण दम, फोक्सोसम्बन्धी समस्या, र हृदय रोगको जोखिम बढ्छ। पीएम २.५ जस्ता स-साना कणहरूले श्वासप्रश्वास प्रणालीमा प्रवेश गरेर दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउँछ।

प्रदूषणका कारण पर्यावरणमा पनि निक्कै नकारात्मक असर पर्ने गर्छ । विशेष गरी, धूलो र धूवाको तहले सूर्यको प्रकाशलाई अवरोध गरिदिन्छ । त्यसले जलवायु परिवर्तनको समस्यालाई थप जटिल बनाउँछ।

प्रदूषणले वनस्पति र जनावरहरूको जीवनचक्र प्रभावित तुल्याएर जैविक विविधतामा पनि असर पार्ने काम गरिरहेको हुन्छ ।

सारमा भन्दा, जाडो मौसममा वातावरणीय प्रदूषण बढ्नु मानव गतिविधि र प्राकृतिक प्रक्रियाहरूको परिणाम हो। तापक्रममा आएको हेरफेर, कुहिरो, र सुक्खा वातावरणले प्रदूषणलाई गम्भीर बनाउँछ, जबकि दाउरा जलाउने, खेतीपातीबाट उत्पन्न धूवा, र औद्योगिक गतिविधिले थप जोखिम बढाउँछ। यस समस्यालाई समाधान गर्न नीतिगत हस्तक्षेप, सामुदायिक सतर्कता, र वातावरणीय सचेतनाको आवश्यकता छ।