बनमारा
तिमीले माटो नदिएर के हुन्छ ?
हामी त पहरामा फूल्छौँ, चट्टानमा पनि फुल्छौँ
तिमीले पानी नदिएर के हुन्छ ?
हामी त आँसुमा फुल्छौँ, रगतमा पनि फुल्छौँ ।
गरेर शिरोच्छेद ढाल मैदानमा हामीलाई
थोपा-थोपा रक्तबीजबाटै सहस्रौं भई पलाउनेछौँ
पारेर क्षत्-विक्षत् फाल बगरमा हामीलाई
चिता-अग्निको ज्वालाबाटै क्रान्ति मशाल जगाउनेछौँ ।
तिमीले छायाँ नदिएर के हुन्छ ?
हामी त सेपमा फुल्छौँ, ओझेलमा पनि फुल्छौँ
तिमीले हावा नदिएर के हुन्छ ?
हामी त सुस्केरामा फुल्छौँ, उच्छ्वासमा पनि फुल्छौँ ।
च्यातेर पाना-पाना जलाऊ आगोमा हामीलाई
अक्षर-अक्षर टिपी खरानीबाटै इतिहास नयाँ लेख्नेछौँ
काटेर टुक्रा-टुक्रा बगाऊ पानीमा हामीलाई
पौरखको जाल फ्याँकी अस्तित्व आफ्नो समेट्नेछौँ ।
तिमीले माया नदिएर के हुन्छ ?
हामी त घृणामा फुल्छौँ, दुत्कारमा पनि फुल्छौँ
तिमीले थाङ्ग्रा नदिएर के हुन्छ ?
हामी त लत्रिएर फुल्छौँ, तेर्साएरै पनि फुल्छौँ ।
तिमीले तिम्रो त्यो भूगोलको फुलबारीमा
हामीलाई नसजाएर के हुन्छ ?
हामी त इतिहासकै काखमा फुलेका
जङ्गली फूलहरू हौँ
यदि तिमीमा हाम्रो अस्मिताको कदर छैन भने
यो ऐलान आज तिमी पनि सुनिराख--!
सुनिराख यो ऐलान आज तिमी पनि--!
*कुनै देशको
सीमित मानचित्रको 'ड्राइ्ङ-रुम'-भित्र सजाएर'
'बोन्साई' बनिने रहर
हामीलाई पनि छैन !
हामीलाई पनि छैन !!
प्रतिक्रिया