भ्रमको राजनीति: सत्यको खोजी र हल्लाको सिकार

साथमा, भूपी शेरचनको चर्चित कविता: यो हल्लै हल्लाको देश हो

आजभन्दा करिब ३५ वर्षअघिको कुरा हो। २०४६ सालको जनआन्दोलन उत्कर्षमा पुगेको थियो। त्यसबेला काठमाडौंमा एउटा हल्ला सुरु भयो। पम्फा देवीको नाममा स्विस बैंकमा १६ करोड अमेरिकी डलर जम्मा भएको छ भनेर। पम्फा देवी भनेको तत्कालीन बडामहारानी ऐश्वर्य रहेको भनेर दाबी गरियो। रत्नपार्कतिर पत्रिका बेचिहिँड्ने ‘सञ्चारकर्मी’ले ‘भण्डाफोर’ नाम गरेको बुलेटिन निकालेर विशेष रुपमा उछालेको यो हल्ला देशव्यापी बन्यो। यसले त्यसबेला त्यसै पनि कमजोर बनेको पञ्चायती व्यवस्थालाई र स्वयं राजतन्त्रकै साखमा हानि पुर्‍यायो। यो हल्लाको सुरुवात भारतको त्यस बेलाको चर्चित बोफोर्स काण्डको छानबिनको क्रममा आएको तथ्यांकबाट भएको थियो। त्यसबेला स्विजरल्याण्डको ज्युरिक बैंकमा पम्फा देवी ठकुरानीको नाममा एक लाख डलर जति रकम भेटिएको खबर आएको थियो, जसलाई नेपालमा पम्फा देवी ठकुरीको हो भनेर हल्ला गरियो।

त्यस्तै, पुस २०५७ मा भारतीय अभिनेता ऋतिक रोशनले एउटा अन्तर्वार्तामा ‘आफूलाई मन नपर्ने देश नेपाल हो’ भनेर भनेको भन्ने एउटा हल्ला डढेलोसरि फैलियो। यही हल्लालाई पत्याउँदै नेपालका धेरै ठाउँमा विरोध प्रदर्शन भयो। जसलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागी ४ जनाको मृत्यु समेत भयो। स्वयं ऋतिक रोशनले आफूले त्यस्तो कहिले नबोलेको भन्दै स्पष्टीकरण पनि दिए। पछि पत्ता लाग्यो, यो हल्ला चितवनतिरबाट फैलिएको रहेछ।

त्यस्तै, २०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई अपदस्थ गर्दै आफ्नै अध्यक्षतामा मन्त्रिपरिषद् गठनको घोषणा गरेका थिए। त्यसबेला राजनीतिक पार्टीका थुप्रै नेताहरू गिरफ्तार भएका थिए। त्यतिखेर एउटा हल्ला खुबै व्यापक थियो कि एमाले नेता ईश्वर पोखरेलको घरमा सुरक्षाकर्मीले छापा मार्दा उनको घरको छतको पानी ट्यांकीमा कति लुकाएर राखिएको पैसा भेटियो रे। उनलाई जेलमा राख्दा कैदीहरूले भ्रष्टाचारी भन्दै कुटपिट गरे रे। यी हल्लाहरूको स्रोत संध्याकालीन, मध्यान्न जस्ता पत्रिकाहरू थिए। यी हल्ला पूर्णतया झूट थिए। तर यसले आम मानिसहरूलाई प्रभावित पार्‍यो।

२०६३ पछि माओवादी खुला राजनीतिमा आएपछि यस्तो हल्लाको चरम निशाना डा. बाबुराम भट्टराई भए। सामाजिक सञ्जालहरूमा उनलाई भारतीय गुप्तचर निकाय रअको एजेन्ट भएको हल्ला चलाइयो। अझ फेसबुकमा त उनको फोटो र एजेन्ट नम्बर खुलेको रअको आइडी कार्ड समेत भाइरल गराइयो। जबकि कुनै पनि सहज बुद्धि भएको व्यक्तिले अनुमान गर्न सक्ने कुरा यो थियो कि रअ जस्तो व्यावसायिक गुप्तचर निकायले यस्तो आइडी कार्ड दिंदैन, र त्यो नेपाली फेसबुक प्रयोगकर्ताको हातमा त्यसको फोटो सजिलै आउँदैन। तैपनि केही मानिसहरूले यसलाई पत्याएर भाइरल बनाइरहे। उनलाई ट्रोल गरिरहे।

त्यस्तै, डा. बाबुराम भट्टराईकी पत्नी तथा माओवादी नेतृ हिसिला यमी पनि यस्तै हल्लाको सिकार बनिन्। त्यसबेला एउटा हल्ला चल्यो कि अमेरिकाको प्रख्यात पत्रिका न्यूयोर्क टाइम्सले हिसिला यमीलाई एसियाकै सबैभन्दा भ्रष्ट महिला भनेर खबर प्रकाशित गरेको छ भनेर। त्यो खबरको फोटो पनि सामाजिक सञ्जालमा भाइरल गरियो। जबकि न्यूयोर्क टाइम्सले हिसिला यमी सम्बन्धी त्यस्तो कुनै खबर प्रकाशित गरेको थिएन। त्यो खबर फोटोसप गरेर बनाइएको थियो। तर यसले उनको छविमा आँच पुर्‍यायो। अहिले पनि यो फेक न्युजको भरमा उनलाई लाञ्छित गरिन्छ।

त्यस्तै, बेला–बेला प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध पनि यस्तै हल्ला चल्ने गर्छ। उनले कम्बोडियाको स्मार्ट एजियाटा नामक कम्पनीमा करिब अमेरिकी डलर लगानी गरेको आरोप लाग्ने गर्दछ। यो हल्लाको मूल स्रोत भारतीय मिडियाहरू नै हुन्। केही वर्षअघि भारतीय मिडियाहरूले एक जना फ्रेन्च–लेबनानी पत्रकार रोल्यांड ज्याकार्डको एउटा लेखको हवाला दिँदै ओलीले कम्बोडियाको टेलिकम क्षेत्रमा लगानी गरेको खबर प्रकाशित गरेका थिए। उनको लेखको सार के थियो भने, चीनले नेपालजस्ता आर्थिक रूपमा कमजोर देशमा आफ्नो पकड बलियो बनाउन भ्रष्ट नेताहरूलाई प्रयोग गर्छ। रोल्यांड ज्याकार्डको खोज कत्तिको भरपर्दो थियो भन्ने कुरा थाहा हुन सकेको छैन। तर, उनको यही अनुसन्धानको आधारमा ओलीविरुद्ध बेला–बेला प्रहार हुने गर्दछ।

गत वर्ष बेलायती पत्रकार टम बर्गिसको किताब कुकुल्याण्ड’ खुबै चर्चित भयो। कुकुल्याण्ड’ मा नेपालमा टेलिकम कम्पनीहरूको स्थापना, शेयर खरिदबिक्री र नवीकरण प्रकरणमा भएका अनियमितताबारे विस्तृत रूपमा चर्चा गरिएको थियो। यसमा पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, व्यवसायी अजेय सुमार्गी र पूर्वराजा ज्ञानेन्द्रका ज्वाइँको समेत संलग्नताको दाबी गरिएको छ। केही समय यो बारेमा चर्चा भएपछि विस्तारै यो कुरा सेलाएर गयो।

नेताहरूले भ्रष्टाचार नगर्ने होइन, प्रशस्त मात्रामा गर्छन्। तर, उनीहरूले केमा कसरी भ्रष्टाचार गरे, त्यसबाट कमाएको अकूत सम्पत्तिलाई कसरी निर्मलीकरण गर्छन्, यस्ता कुराको खोजी गर्नु असम्भव नभए पनि निकै मुस्किल काम हो। यसको लागि खोज पत्रकार र अनुसन्धानकर्ताहरूको प्रतिबद्ध समूह चाहिन्छ। यस्तै खोजकर्ताहरूले "पानामा पेपर्स" जस्ता विदेशका ट्याक्स हेभनमा लुकाइएका पैसाहरूको फाइल सार्वजनिक गर्न सफल भएका थिए। नेपालमा बेलाबेलामा चल्ने हल्लाहरू कुनै विश्वसनीय खोज अनुसन्धानभन्दा पनि कुनै कुत्सित उद्देश्यबाट सिर्जित फेक न्युहरु मात्र हुन्।

पहिला–पहिला यस्ता फेक न्युज फैलिन समय लाग्थ्यो भने अहिले सामाजिक सञ्जालका कारण क्षणभरमै विश्वभर फैलिन्छन्। यस्ता फेक न्युजबाट बच्नको लागि सामाजिक सञ्जालका प्रयोगकर्ताहरू स्वयं नै सचेत हुनुपर्छ। यस्ता हल्लाहरूको स्रोत के हो? कुनै विश्वसनीय सञ्चार माध्यममा यो खबर आएको छ कि छैन भनेर एक पटक पुष्टि गर्ने, अनि त्यसपछि मात्र विश्वास गर्ने र शेयर गर्दा उचित हुन्छ।

प्रख्यात अमेरिकी लेखक मार्क ट्वेनले भनेका थिए– झुटले आधा संसार परिक्रमा गरिसक्दा पनि सत्यले आफ्नो खुट्टामा जुत्ता लगाइरहेको हुन्छ।’

यो हल्लै हल्लाको देश हो

भूपि शेरचन


कानमा इयरफोन लगाउनु पर्ने बहिराहरु
जहाँ संगीत प्रतियोगिताका जज हुन्छन्
र जहाँ आत्मामा पत्थर परेकाहरु
काव्यका निर्णायक मानिन्छन्,
काठका खुट्टाहरु जहाँ रेसमा बिजेता हुन्छन्

 जहाँ प्लाष्टर गरिएका हातहरुमा
सुरक्षाको सङ्गीन थमाइन्छ,
जहाँ बाटो र अट्टालिकाहरुका ढोकाअगाडि
डोकोका डोको, र
खर्पनका खर्पन,
ट्रकका ट्रक आत्माका मण्डी सजाइन्छ,
स्टक एक्सचेन्जका शेयरजस्तै
आत्मा क्रय-बिक्रय गर्न सक्नेहरु
जहाँ नेता हुन्छन्
र जहाँ निधारभरि कर्कटपाताजस्तै
चाउरी परिसकेकाहरु
तन्नेरीहरुका अगुवा हुन्छन्
जहाँ जतिसुकै व्यभिचारीको पनि
इज्जतको ‘वाश एन वियर क्रीज’ कहिल्यै बिग्रिन्न,
जहाँ जतिसुकै/पाप गरेको वेश्याको पनि
अनुहारको टेरेलिनको छाला कहिल्यै खुम्चिन्न,
जहाँ कृषि-मेलाहरुमा
दोब्बर उब्जनी हुने बीउहरुको प्रदर्शनी गरिन्छ
र जहाँ खडेरी र अनिकालका सम्चारले भरिन्छ,
जहाँ वाग्मती र विष्णुमतीका साटोमा
अब बीयर र ह्विस्की बग्दछन्,
र जहाँ अब पशुपतिनाथ र स्वयम्भूनाथका मन्दिरको उपयोग
तिनका प्रसाद खानमा कम, र
तिनका पछाडिका बनहरुमा
आडम र इभको ‘वर्जित फल’ खानमा बर्ता गरिन्छ,
जहाँ चिनीको कारखानाले
चिनी होइन, रक्सी मात्र बनाउँछ
र जहाँका स्वतन्त्र आमाहरुले
छोरा होइन लाहुरे मात्र जन्माउँछन्
जहाँ रिन तिर्नको लागि महाकविले
असमयमै मर्नुपर्दछ,
जहाँ स्वदेशको पीरले बहुलाएको कविले
विदेशी अस्पतालको शरण पर्नुपर्दछ,
र जहाँ सरस्वतीकी एक्ली छोरीले
बिनाउपचार बैंसमै कुँजिएर जीवन बिताउनुपर्दछ,
जहाँ गाइडले टुरिष्टलाई
नेपालको बिदेशलाई देन सम्झाउँछ
र बिदाको बेलामा उससित उसको
विदेशी क्यामराको देन माग्दछ,
जहाँ तन्नेरीहरु
किल्ला काँगडा र नालापानीको गीत गाउँदै
अब कवाज खेल्छन्
टाई र कोटको कलरमा खुकुरी भिरेर
यो देशमा मलाई भन्न कर लाग्छ
आफ्नो मुटु चिरेर
कि ए मेरो देशवासीहरु हो
ए मेरो देशका राष्ट्र-कविहरु हो
ए मेरा देशका सम्माननीय नेताहरु हो
भन्न मन लाग्छ भने भन मलाई
स्वदेशनिन्दक वा घृणाचिन्तक
तर यो देश तिम्रो जत्तिकै मेरो पनि देश हो
अंशबण्डा गर्ने हो भने पनि यो देशका एक करोड
टुक्राहरुमध्ये एउटा टुक्रामाथि
मेरो पनि छाप्रो हुनेछ
यही भावनाले मलाई यो भन्न बाध्य गराउँछ र
आँट दिलाउँछ यो भन्न
कि ‘यो हल्लै हल्लाको देश हो’
खनेर हेर्ने हो भने यहाँका प्रत्येक घरहरुका जगमा
त्यहाँ फगत हल्लै हल्ला थुप्रिएको पाइनेछ।
त्यसैले यो हल्लै हल्लाको देश हो
यो हल्लै हल्लामाथि उभिएको देश हो
यो हल्लै हल्लामाथि उठेको देश हो
यो हल्लै हल्लाको देश हो।

 

स्रोत: https://bhupisherchan.com