कड्काल

गाउँघरमा एउटा लोककथा प्रचलित छ । झट्ट सुन्दा विनोदपूर्ण पनि छ । उत्तिकै अर्थपूर्ण पनि ।

साँझपख ज्वाईं ससुराली पुगे । बाहिर खाटमा थचक्क बसे । ससुरा बाहिर निस्के ।

ससुरा : अँध्यारो अँध्यारो छ, मान्छे पनि उतिसारो चिनिदैन, ज्वाईं चाहिँ को पर्नु भो कुन्नि ?!

कड्काल अघि सर्छ ।

कड्काल  : ज्वाईं चाहिँ वहाँ नै हो । टोपी चाहिँ मेरो ।

ज्वाईं लाजले भुतुक्क हुन्छ र साथीलाई चिमोट्छ ।

ससुरा ज्वाईं जिउढोग गर्छन् ।

एकै छिनपछि साथीलाई साउती गर्दै

ज्वाईं : टोपी चाहिँ  मेरो न भन् न !

 कड्काल : हुन्छ, आइन्दा भन्दिनँ  ।

सासु बाहिर निस्किन्छिन् ।

सासु : अँध्यारो अँध्यारो छ, मान्छे पनि उतिसारो चिनिदैन, ज्वाईं चाहिँ को पर्नु भो कुन्नि ?!

कड्काल : ज्वाईं चाहिँ वहाँ नै हो । टोपी पनि वहाँकै हो ।

ज्वाईं लाजले भुतुक्क हुन्छ र साथीलाई चिमोट्छ ।

ज्वाईं सासु ढोगभेट हुन्छ ।

एकैछिनपछि ।

ज्वाईं : टोपीको चाहिँ कुरै न उठा न । तैंले त बेइज्जत गर्नु गरिस् यार !

कड्काल : हुन्छ, हुन्छ । धन्दै न मान । अब उप्रान्त त्यस बारे कुरै उठाइन्न ।

एकै छिन पछि जेठान प्रवेश गर्छन् ।

जेठान : अँध्यारो अँध्यारो छ, मान्छे पनि उतिसारो चिनिदैन, ज्वाईं चाहिँ को पर्नु भो कुन्नि ?!

कड्काल अघि सर्छ ।

कड्काल : ज्वाईं चाहिँ वहाँ नै हो । टोपीको चाहिँ कुरै न गरौँ ।

ज्वाईं रातोपिरो हुन्छ ।

 

सहयोगी राम्रो भएन भने पनि लगाइरहेको कपडा पनि खुस्काई दिन्छ ।