अन्तरीक्ष अभियानमा चीनको महान् छलाङ !

चीनको अन्तरीक्ष अभियानको सफलता किन अमेरिकाको लागि टाउको दुखाइको विषय बन्छ ?

चिनिया स्पेश स्टेशन

अन्तरीक्ष विज्ञानको नाम लिनेबित्तिकै निर्विवाद नाम आउने गर्छ– नासा । अमेरिकी अन्तरीक्ष एजेन्सी नासा (NASA) को पूरा नाम National Aeronautics and Space Administration हो।सन्  १९५८ मा स्थापित यस एजेन्सीले संयुक्त राज्य अमेरिकाको संघीय सरकारअन्तर्गत रही  अन्तरिक्ष अन्वेषणमा महत्त्वपूर्ण भूमिका खेलिरहेको छ। यसले मूलत: अन्तरिक्ष अनुसन्धान, वैज्ञानिक अनुसन्धान, र एरोनोटिक्स प्रविधिको विकासमा काम गर्छ।

सोभियत संघको विघटनपूर्व, त्यसको अन्तरीक्ष एजेन्सी ग्लाव्कोमोस (Glavkosmos) नासाको मुख्य प्रतिस्पर्धी थियो । सन् १९६५ मा स्थापना गरिएको थियो यस एजेन्सीले सोभियत संघको अन्तरिक्ष कार्यक्रमको सञ्चालनमा महत्त्वपूर्ण भूमिका खेल्थ्यो। यही एजेन्सीले पहिलो पटक १२ अप्रिल १९६१ मा युरी गागरिनलाई सफलतापूर्वक अन्तरीक्षमा पठाएर मानव सभ्यतामा नयाँ इतिहास रचेका थिए । पहिलो मानवयुक्त अन्तरिक्ष उडानको रूपमा इतिहासमा अभिलिखित सोभियत संघको "वास्कोद १" (Vostok 1) नामक यानमा यात्रा गरेर गागरिनले पृथ्वीको कक्षमा एक पूर्ण चक्कर लगाएका थिए । त्यसका लागि लगभग १०८ मिनेटको समय लागेको थियो । गागरिनको उक्त ऐतिहासिक उडानले मानव जातिको लागि अन्तरिक्ष विज्ञानको क्षेत्रमा नयाँ युगको सुरुवात गरेको थियो ।

त्यसको निक्कै छोटो समयमा अमेरिकाले पनि पहिलो पटक मानवलाई अन्तरीक्षमा पठाउन सफलता हासिल गर्‍यो । ५ मे १९६१ मा प्रक्षेपण गरिएको  Mercury-Redstone 3 नामक यान, जसलाई Freedom 7 पनि भनिन्छ, मा  अंतरिक्ष यात्री अलन शेपर्ड रहेका थिए । उनले लगभग ५० माइलको उचाइमा पुगेर पृथ्वीको कक्षमा घुमेका थिए।

चन्द्रमामा पहिलो पटक मानिस पठाउने काममा भने Apollo 11 मिशन अन्तर्गत नासाले सफलता प्राप्त गर्‍यो । १६ जुलाइ १९६९ मा प्रक्षेपण गरिएको यस मिसनमार्फत् नील आर्मस्ट्रङ र एडविन "बज" अल्ड्रिनले चन्द्र धरातलमा पाइला राखेका थिए । २० जुलाइ १९६९ मा चन्द्रमा पाइला टेक्दा नील आर्मस्ट्रङले भनेको वाक्य "यो एक मानिसको लागि सानो कदम हो, तर मानवता का लागि ठूलो छलाङ" निक्कै चर्चित छ ।

त्यसपछि नासा र ग्लाव्कोमोसले अन्तरीक्षको इतिहासमा गरेका योगदानहरुको सूची निक्कै लामो छ, जसको यहाँ उल्लेख गरिबस्न सम्भव छैन ।वास्तवमा, त्यसबेलाका महाशक्तिहरु अमेरिका र सोभियतसंघबीच अन्तरीक्ष विज्ञानमा चलेको होडबाजीले निक्कै ठूला र महान् उपलब्धिहरु हासिल भएका थिए ।

रुसी अन्तरीक्ष एजेन्सी

संघको विघटनपछि, रूसको नयाँ अन्तरिक्ष एजेन्सीको नाम रोस्कोस्मोस (Roscosmos) हो। यो एजेन्सी सन् १९९२ मा स्थापना गरिएको थियो र यसले रूसको अन्तरिक्ष कार्यक्रमको सञ्चालन, अनुसन्धान, र विकासको जिम्मेवारी सम्हाल्छ। रोस्कोस्मोसले अन्तरिक्षमा प्रक्षेपण, मानव अन्तरिक्ष उडान, र अन्तरिक्ष स्टेशनसँगको सहकार्यमा महत्वपूर्ण भूमिका निभाएको छ ।

 

अमेरिका  र तत्कालीन सोभियतसंघबीच अन्तरीक्ष विज्ञानमा होडबाजी चलिरहँदा चीनले पनि अन्तरीक्ष अभियानमा हात हालेको थियो । मूलत: सोभियतसंघको सहयोगमा चीनले आफ्नो अन्तरीक्ष अभियानलाई अगाडि बढाएको थियो तर सन् १९६० को दशकमा चीन र सोभियतसंघबीच चलेको महाविवादका बीच त्यो सहकार्यमा पूर्ण विराम लागेको थियो ।  तर त्यस घटनाबाट चीन रोकिएन । उसले आफ्नै बलबुतामा त्यस समयमा संसारको सबैभन्दा भारी उपग्रह (डोंग फाङ हङ, १७३ किलोग्राम) विकास गर्यो र यसलाई १९७० को अप्रिल २४ मा सफलतापूर्वक प्रक्षेपण पनि गर्यो।

चीनको अन्तरिक्ष कार्यक्रम आजका सबैभन्दा सफल कार्यक्रमहरूमध्ये एक हो। यसले २०१३ मा चाङ'ई ३ ल्यान्डर प्रक्षेपण गर्यो र चन्द्रमाको पृथ्वीबाट नदेखिने भाग (Far side of the moon) को अध्ययन गर्न यु तु २ पठायो। यु तु २ मिशन (Yutu 2 mission) धेरै सफल छ किनकि यसले चन्द्रमाको पृथ्वीबाट देख्न नसकिने भागहरुको तस्बीरहरू खिचेको छ र त्यस क्षेत्रको अध्ययनको दिशामा नयाँ ढोका खोलिदिएको छ ।  त्यसै गरी, चीनले २०२१ मा आफ्नो अन्तरिक्ष स्टेशन, तियांगोंग पनि सफलतापूर्वक प्रक्षेपण गर्‍यो । वास्तवमा, अन्तरीक्ष विज्ञानमा चीनलाई अघि बढ्न नदिनका लागि अमेरिकाले आफ्नो अन्तरीक्ष स्टेशनमा अरु देशहरुलाई सहकार्यको अनुमति दिइरहँदा चीनलाई भने निषेध गरेको थियो । त्यसैको प्रतिफल थियो– चीनको आफ्नै अन्तरीक्ष स्टेशन । 

अमेरिकी अन्तरिक्ष स्टेशन (International Space Station - ISS) को पहिलो भाग, Zarya (Functional Cargo Block), २००० को नोभेम्बर २० मा प्रक्षेपण गरिएको थियो भने यसका अन्य भागहरूको प्रक्षेपण क्रमशः गरेर २०११ सम्म सबै प्रमुख संरचनात्मक भागहरू स्थापित गरिएका थिए ।

अमेरिकन स्पेश स्टेशन । https://www.nasa.gov

शुरुमा  २०१५ सम्मको लागि सञ्चालनमा राख्न योजना बनाइएको यस स्पेश स्टेशनलाई विभिन्न पुनर्निर्माण र मर्मत गर्दै यसको आयु विस्तार गरिँदै आइएको छ । पछिल्लो योजनाअनुसार यसको आयु २०२४ सम्म जारी राख्न सकिने ठानिएकोमा थप मर्मतसम्भार गरेर यसलाई २०२८ सम्म सञ्चालनमा ल्याउन सक्ने देखिएको छ । तर त्यसपश्चात यस स्पेश स्टेशनलाई नष्ट गरिनेछ । यसरी अमेरिकी अन्तरीक्ष स्टेशन मृत्युको संघारतिर लाग्दा चीनको यो अन्तरीक्ष स्टेशनको महत्त्व झनै बढेर गएको छ ।

चीनको पछिल्लो अन्तरीक्ष अभियान शेनझोऊ १९

अन्तरीक्ष अभियानमा चीनको तीब्रता लोभलाग्दो छ र यसले आश्चर्यलाग्दो उपलब्धिहरु हासिल गरेका छन् । यसैक्रममा चीनको सबैभन्दा पछिल्लो अभियान हो– शेनझोऊ १९ (Shenzhou 19) ।

चीनको सबैभन्दा पछिल्लो मानवसहितको अन्तरिक्ष अभियानको नाम हो– शेनझोऊ १९ । यसकार्यक्रम अन्तर्गत अन्तरीक्षमा पठाइएका तीनजना अन्तरीक्ष यात्रीहरु कै सुझे, सोंग लिङ्डोङ, र वाङ हाओजे—छ महिनासम्म अन्तरिक्षमा रहेको  चीनको तियानगोंग स्पेस स्टेशनमा रहेर वैज्ञानिक अनुसन्धान र रखरखावको महत्वपूर्ण कार्यहरू गर्नेछ।  उनीहरूले स्टेशनको नियमित व्यवस्थापनसँगै जैविक तथा भौतिक विज्ञानमा आधारित ८६ वैज्ञानिक प्रयोगहरू सञ्चालन गर्नेछन्, जसमा प्रोटिन क्रिस्टल संरचना र सूक्ष्म गुरुत्वाकर्षणको प्रभावहरूको अध्ययन गर्नेलगायत कार्यहरू समावेश छन्।

शेन्जोउ-१९ का यात्रीदल शेन्जोउ-१८ को अन्तरीक्ष यात्रीदलसँग तस्विर खिचाउँदै https://video.cgtn.com

यसअघि  शेनझोऊ १८ (Shenzhou 18) अभियानअन्तर्गत गएका टोलीले करिब ६ महिना अन्तरिक्षमा बिताएर अनेकौं प्राविधिक तथा प्रयोगात्मक कार्य सम्पन्न गरेका थिए भने शेनझोऊ १९ का टोलीले अन्तरिक्ष स्वास्थ्य विज्ञान, स्पेस मेटेरियल साइन्स, र नयाँ अन्तरिक्ष प्रविधिहरूमा थप उन्नत अनुसन्धानहरूमा ध्यान केन्द्रित गर्नेछ ।

गत ३० अक्टोबर २०२४ मा Long March 2F रकेटमार्फत शेनझोऊ १९ मिशन सफलतापूर्वक प्रक्षेपण गरिएको थियो । उक्त यान करिब ६.५ घण्टाको समयावधि भित्र तियानगोंग स्पेस स्टेशनसँग डकिंग गरेर उक्त स्टेशनको कोर मोड्युलमा संलग्न भएको थियो।

यसअघि २५ अप्रिल २०२४ मा चीनले जिउक्वान उपग्रह प्रक्षेपण केन्द्र (Jiuquan Satellite Launch Center) बाट शेनझोऊ १८ मिसन प्रक्षेपण गरेको थियो। यस मिसनले तीन जना अन्तरिक्ष यात्रीहरु ये गुआंगफु, ली कङ्ग, र ली गुआङसूलाई चीनको अन्तरिक्ष स्टेशन तियानगोंगमा पठाएको थियो। उक्त मिसनको क्रममा अन्तरिक्ष यात्रीहरूले ६ महिना सम्म स्टेशनमा रहेर वैज्ञानिक अनुसन्धान कार्यहरू तथा विशेष प्रयोगहरू संचालन गरेका थिए, जसमा माछाको "अक्वेरियम", जेब्राफिस (zebrafish (डानियो रेरियो))   तथा विभिन्न विरुवाहरुसम्बन्धी अनुसन्धानहरू समेत समावेश छन्। जेब्राफिसमाथिको अध्ययनले सजीवहरूको प्रतिरक्षा प्रणाली र विकास प्रक्रियामा पृथ्वीबाहिरको सूक्ष्म गुरुत्वाकर्षण (microgravity) को वातावरणमा जैविक प्रतिक्रियाहरूलाई बुझ्न मद्दत पुर्‍याउने भएकोले यो माछा अन्तरिक्ष अनुसंधानको लागि महत्त्वपूर्ण मानिन्छन् ।

चीनको यस प्रगतिको कारण, अब यो अमेरिका र रूससँगै एक प्रमुख अन्तरिक्ष शक्ति मानिन्छ। शेनझोऊ १९ र शेनझोऊ १८ लगायत चीनका अन्य मिसनहरूले अन्तरिक्षमा वैज्ञानिक अनुसन्धान र प्राविधिक क्षमतामा चीनलाई निकै सशक्त बनाएको छ, जसले भविष्यमा अन्तरिक्ष अनुसन्धान र अन्वेषणमा थप प्रभाव पार्ने अपेक्षा गरिएको छ

अन्तरीक्षमा मानिस पठाउन सफल तीन देशहरु !

हालसम्म केवल तीन देशले मात्र स्वतन्त्र रूपमा अन्तरिक्षमा मानिस पठाउन सक्षम भएका छन् । सबैभन्दा पहिले तत्कालीन सोभियत संघले  सन् १९६१ मा यूरी गगारिनलाई अन्तरिक्षमा पठाएर मानव अन्तरिक्ष यात्रा सुरु गरेको थियो।लगत्तै संयुक्त राज्य अमेरिकाले सोही साल सन् १९६१ मा पहिलो मानवयुक्त अन्तरिक्ष यात्रा गरेको थियो र अपोलो मिसन अन्तर्गत सन् १९६९ मा नील आर्मस्ट्रङलाई चन्द्रमामा उतारेको थियो। चीनले भने सन् २००३ मा शेन्झाउ-५ मिशनमार्फत् पहिलो पटक अन्तरिक्षमा मानिस पठायो र हालका वर्षहरूमा आफ्नै स्पेस स्टेशन निर्माण गरी मानवयुक्त मिशनहरूमा अगाडि बढिरहेको छ। चीनले आफ्नै स्पेस स्टेशन तियान्गोङ निर्माणसँगै, आगामी वर्षहरूमा विभिन्न अन्तरिक्ष यात्राहरू सञ्चालन गर्ने योजनाहरू अघि बढाएको छ। उनीहरूको मिशनमा विदेशी अन्तरिक्ष यात्रीलाई पनि सहभागिता गराउने योजना छ

चीन, अमेरिका, र रुस (पहिलेको सोभियत संघ) बाहेक अरु कुनै देशले आफ्नो क्षमतामा अन्तरिक्षमा मानिस पठाउन सकेका छैनन्। यद्यपि, धेरै देशले अन्तरिक्षमा मानव मिशन पठाउने योजनामा काम गरेका छन्, र केहीले मानवयुक्त मिसनको प्रयास गर्दा असफलता पनि भोगेका छन्।

मानवयुक्त अन्तरिक्ष यात्रामा प्रयासरत देशहरु

भारतले गगनयान नामक मानवयुक्त मिशनको घोषणा गरिसकेको छ। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरो (ISRO) को भारतीय अन्तरिक्ष यात्रीलाई पृथ्वीको कक्षमा पठाउने यो महत्वाकांक्षी परियोजना हो । भारतले सन् २०२५ सम्ममा यो मिशन सम्पन्न गर्ने अपेक्षा गरेको छ । भारतको गगनयान अत्यन्त महत्वाकांक्षी अभियान हो । उसको यो अभियान सफल भयो भने आफ्नै प्राविधिक क्षमतामा मानवलाई अन्तरिक्षमा पठाउने भारत चौथो देश बन्नेछ ।

जापानले अहिलेसम्म कुनै मानवलाई अन्तरिक्षमा स्वतन्त्र रूपमा पठाउन सकेको छैन, तर उनीहरूले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (ISS) को सहयोगी भूमिका निर्वाह गर्दै आएका छन्। जापानी अन्तरिक्ष यात्रीहरूले अमेरिकाको नासासँग सहकार्यमा अन्तरिक्ष भ्रमण गरेका छन्, र उनीहरू आफैंले मानव मिशनको लागि तयारी गरिरहेका छन्।

इरानले पनि मानवयुक्त अन्तरिक्ष यात्रा गर्ने आफ्नो लक्ष्य घोषणा गरेको थियो र यस दिशामा केही प्रयासहरू पनि गरिसकेको छ। तथापि, इरानले प्रत्यक्ष रूपमा मानवलाई अन्तरिक्षमा पठाउन सकेको छैन। इरानले भविष्यमा मानव मिशनको सम्भावनाको अनुसन्धान गरिरहेको छ।

उत्तर कोरियाले पनि मानव मिशनको योजना बनाएको दाबी गरेको छ, तर यसको प्राविधिक र आर्थिक सीमाहरूले गर्दा कुनै ठोस परिणाम प्राप्त भएको छैन।

युरोपले स्वतन्त्र रूपमा मानव अन्तरिक्ष मिशन सञ्चालन नगरे पनि  भविष्यमा मानवसहितको अन्तरिक्ष मिसनको योजना घोषणा गरेको छ, जसमा उनीहरू अन्तर्राष्ट्रिय सहकार्यमार्फत ISS जस्ता परियोजनामा सहभागी हुन चाहन्छन्।

युएई (United Arab Emirates): युएईले पनि आफ्नो अन्तरिक्ष कार्यक्रमलाई विस्तार गर्दै मानवलाई अन्तरिक्षमा पठाउने योजना बनाएको छ। उनीहरूले २०३० सम्ममा आफ्नै अन्तरिक्ष यात्रीलाई पठाउने उद्देश्य लिएको छ। हालसालै युएईका अन्तरिक्ष यात्रीहरू अमेरिकाको मिशनमा सहभागी भइसकेका पनि छन्।

चीन अमेरिका: सीमित सहकार्य–असीमित द्वेष !

चीन र अमेरिकाबीच अन्तरिक्ष अन्वेषणमा नगण्य सहकार्य भएका छन् । शुरुवाती कालमा केही सीमित सहकार्यहरू भए पनि हालका वर्षहरूमा यी दुई देशबीचको सहयोग लगभग समाप्त भएको छ। खासगरी, अन्तरीक्ष अभियानमा चीनलाई साथ लिने तथा अगाडि बढाउने कुरामा अमेरिकाको खासै रुचि रहेन । प्रारम्भमा, अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (ISS) निर्माणका क्रममा अमेरिका र सोभियत संघ (पछि रूस) को सहकार्य देखिए पनि चीनलाई यो मिसनमा सामेल गरिएन। त्यस समयमा चीनको अन्तरिक्ष कार्यक्रम तुलनात्मक रूपमा प्रारम्भिक चरणमा थियो ।

त्यसो त  सन् १९९० को दशकमा केही अमेरिकी वैज्ञानिकहरूले चीनसँग अन्तरिक्ष विज्ञान र प्रविधि आदानप्रदान गर्ने प्रस्ताव राखेका थिए। तर, चीनलाई अमेरिका र रूसजस्ता देशहरूसँगको ठूला परियोजनामा पूर्ण रूपमा सामेल गराइएन। एक किसिमले भनौं उसलाई वहिष्करणमै पारियो ।

सन् २०११ मा अमेरिकी संसदले अन्तरीक्ष अभियानमा चीनसँग सहकार्य गर्न कानूनी रुपमा नै रोक लगाएका थियो । अमेरिकी संसदल Wolf Amendment ले पारित गरी नासा र अन्य अमेरिकी अन्तरिक्ष एजेन्सीहरूलाई चीनसँग प्रत्यक्ष सहकार्य गर्न रोक लगायो। यसले गर्दा चीनलाई अमेरिकी अन्तरिक्ष अनुसन्धान र संसाधनबाट अलग्गै राखियो। उक्त कानुनी व्यवस्थाले अमेरिकी अन्तरिक्ष वैज्ञानिकहरूलाई चीनसँग अनुसन्धान साझा गर्न पनि निषेध गर्‍यो ।

तर अमेरिकाले चीनप्रति लिएको यो विद्वेषपूर्ण नीतिको फाइदा चीनलाई भयो । अमेरिकाले गरेको बहिष्करणलाई चीनले निराशामा हैन, शक्तिमा बदल्यो । उसले  स्वतन्त्र रूपमा अन्तरिक्ष कार्यक्रम विकास गर्न कम्मर कस्यो । त्यसले चीनलाई आफ्नो स्वतन्त्र अन्तरिक्ष कार्यक्रम विकसित गर्न थप बल पुर्‍यायो ।  त्यसैको प्रतिफल हो– यतिखेर चीनले अन्तरीक्ष विज्ञानमा हासिल गरेको महान छलाङ ।

अन्तरीक्ष अभियानमा चीनलाई वहिष्कृत गर्ने र अलग्गै राख्ने अमेरिकाको नीति र Wolf Amendment का कारण चीन र अमेरिकाबीच  अन्तरिक्ष विज्ञानको क्षेत्रमा सहकार्य लगभग असम्भव बनेको छ। अमेरिका र चीनबीचको यो पृथकताको नकारात्मक फाइदा अन्तरिक्ष अनुसन्धानमा प्रतिस्पर्धालाई बढावा दिने सम्भावनालाई मानिन्छ। यद्यपि, केही वैज्ञानिक र अन्तर्राष्ट्रिय समुदायले अन्तरिक्षमा सहकार्य र शान्तिपूर्ण अन्वेषणको पक्षमा जोड दिएका छन्।

अन्तरीक्ष विज्ञानमा अमेरिकाका लागि रुस नजिक, चीन किन टाढा ?

अमेरिकाले रुससँग अन्तरिक्ष क्षेत्रमा सहकार्य कायम राख्नु र चीनसँग त्यसको विपरीत रवैया अपनाउनुका पछाडि धेरै कारणहरू छन्। यी कारणहरूमा ऐतिहासिक सम्बन्ध, भू-राजनीतिक प्रतिस्पर्धा, वैचारिक भिन्नता, र सुरक्षा सम्बन्धी चिन्ताहरू समावेश छन्।

ऐतिहासिक सम्बन्ध र सहकार्य परम्परा

रुस (पहिलेको सोभियत संघ) र अमेरिका बीचमा अन्तरिक्ष अन्वेषणमा प्रारम्भिक प्रतिद्वन्द्विता भए पनि, १९७५ मा अपोलो-सोयुज टेष्ट प्रोजेक्टपछि उनीहरूबीचको सम्बन्धमा परिवर्तन आएको थियो। यस परियोजनाअन्तर्गत अमेरिकाको अपोलो र सोभियत संघको सोयुज स्पेसक्राफ्टलाई जोड्ने कार्य सम्पन्न गरिएको थियो । त्यही घटनापछि नै अमेरिका–तत्कालीन सोभियतसंघबीच सहकार्यको थालनी भएको थियो । त्यसपछि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (ISS) परियोजनामा पनि अमेरिका र रुसले मिलेर काम गरे, जसले उनीहरूबीचको सम्बन्धलाई निरन्तरता दियो। अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको निर्माणमा रुसको योगदान महत्वपूर्ण रहेको र त्यसैले अमेरिकाले रुससँग सहकार्य जारी राख्न आवश्यक ठानेको मानिन्छ ।

चीनप्रतिको अविश्वास र सुरक्षा चिन्ता

त्यसका विपरीत चीनसँगको सहकार्यमा अमेरिकाले खासगरी सुरक्षा जोखिमको कारणले संकोच गरेको देखिन्छ। चीनको अन्तरिक्ष कार्यक्रम सोझै जनमुक्ति सेनासँग (People's Liberation Army - PLA) सम्बन्धित रहेको मानिन्छ । त्यही आधारमा अमेरिकालाई यसको प्रयोग सैन्य र खुफिया कार्यका लागि हुन सक्ने डर छ ।  २०११ मा पारित Wolf Amendment ले चीनसँगको अन्तरिक्ष सहकार्यमा पूर्ण निषेध लगाउनुको ठोस कारण पनि त्यही नै मानिन्छ । यो संशोधनमा चिनियाँ अन्तरिक्ष कार्यक्रमलाई अमेरिकाको रक्षा र खुफिया सेवाहरूमा जोखिमको रूपमा लिइएको थियो, जसले गर्दा चीनसँगको कुनै पनि सहकार्यलाई राष्ट्रको सुरक्षा जोखिमको रूपमा हेरियो ।

भू-राजनीतिक प्रतिस्पर्धा र जटीलता

लामो समयदेखि विश्व आर्थिक महाशक्तिको रुपमा संसारमा दबदबा राख्दै आएको अमेरिकाको लागि यतिखेर सबैभन्दा ठूलो टाउको दुखाइ चीन बनेको छ । खासगरी, पछिल्ला दशकहरुमा चीनले अद्भूत आर्थिक–सामरिक प्रगति गरेको मात्र छैन, आगामी केही दशकहरुमा उसले अमेरिकालाई समेत पछारेर विश्व महाशक्ति बन्ने सम्भावना अर्थविद्हरुले व्यक्त गरेका छन् । यस मेसोमा अमेरिकाले चीनसँग अन्तरीक्ष कार्यक्रमहरुमा सहकार्यलाई निषेध गर्नुको एउटा प्रमुख कारण अमेरिका र चीनको वर्तमान आर्थिक र सैन्य प्रतिस्पर्धा पनि हो भन्ने कुरा जगजाहेर छ । चीनले अन्तरिक्ष अन्वेषणलाई एउटा प्रमुख राष्ट्रिय प्राथमिकता बनाएको छ र आफ्नो अन्तरिक्ष कार्यक्रमलाई थप विकास गर्दै आएको छ। चीनले तियान्गोङ स्पेस स्टेशन निर्माण गरेपछि यो क्षेत्रमा स्वतन्त्रता हासिल गर्न सफल भएको छ, जसलाई अमेरिकाले एक प्रकारको प्रतिस्पर्धा र चुनौतीको रूपमा लिएको छ। यसकारण, अमेरिकाले चीनलाई आफ्नो कार्यक्रमबाट टाढा राख्न मनासिब ठानिरहेको देखिन्छ, ताकि चीनले अमेरिकाबाट प्रविधि र जानकारी हासिल गर्न नसकोस् ।

वास्तवमा चीनको अन्तरिक्ष कार्यक्रम अमेरिकाको लागि टाउको दुखाइको विषय बन्नुको ठोस कारण भू-राजनीतिक प्रतिस्पर्धासँग जोडिएको छ। अन्तरिक्ष अनुसन्धानलाई चीनले आर्थिक अवसर र सैनिक शक्तिको विस्तारका रूपमा प्रयोग गरिरहेको छ।  चीनले BeiDou उपग्रह प्रणाली मार्फत् विश्वव्यापी पहुँच विस्तार गर्दै १६५ देशलाई सेवा प्रदान गरिरहेको छ। उसले अगाडि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभमा सहभागी धेरै देशहरूलाई यो सेवा निःशुल्क सेवा उपलब्ध गराउँदा, चीनले आफ्नो अन्तर्राष्ट्रिय सञ्जाललाई विस्तार गर्ने अवसर पाएको छ। रूससँगको साझेदारीबाट यो प्रणालीले युरोपको Galileo र अमेरिकाको GPS लाई कडा टक्कर दिने सुनिश्चित छ ।

सैन्य क्षमताहरूको विकास: चीनले PLA Strategic Support Force (PLASSF) गठन गरी अन्तरिक्ष, साइबर, र इलेक्ट्रोनिक युद्धहरूलाई एकीकृत गरिसकेको छ। चीनको सैन्य अन्तरिक्ष कार्यक्रमलाई गोप्य राख्दै कडा-नरम शक्तिका उपायहरू विकास गरिएको छ जसमा इलेक्ट्रोनिक ज्यामिङ, साइबर आक्रमण, लेजर र एन्टी स्याटेलाइट (ASAT) मिसाइलहरू छन्। रूसको सहायतामा विकसित गरिएको प्रारम्भिक चेतावनी प्रणालीले चिनियाँ सुरक्षा रणनीतिलाई सुदृढ गरेको छ। यो भनेको विश्वव्यापी रुपमा रहँदै आएको अमेरिकी सैनिक प्रभुत्वलाई कडा चुनौती पनि हो ।

वैज्ञानिक र औद्योगिक विकास: अन्तरिक्ष अनुसन्धानका कारण चीनले ४००० भन्दा बढी प्राविधिक आविष्कारहरूमा प्रगति गरेको छ जसले अर्थतन्त्रको विविध क्षेत्रलाई प्रवर्द्धन गरिरहेको छ। यो नवप्रवर्तनले खाद्य सुरक्षादेखि वातावरणीय संरक्षणसम्म योगदान गरेको छ।

अन्तर्राष्ट्रिय कूटनीति र सहकार्य: अन्तरिक्षमा आफ्नो प्रभुत्व विस्तार गर्न, चीनले विभिन्न देशसँग मिलेर प्रक्षेपणहरू गरिरहेको छ । अन्तरीक्ष विज्ञानको क्षेत्रमा पछिल्लो समयमा कायम अमेरिका तथा पश्चिमा राष्ट्रहरुको एकाधिकारलाई तोड्दै चीनले अन्तर्राष्ट्रिय स्तरमा सहकार्यको ढोका खुला गरेको छ। चन्द्र अन्वेषण कार्यक्रमसँगै, तियानगङ अन्तरिक्ष स्टेशनलाई पनि विभिन्न देशहरूसँग सहकार्य गर्न ढोका खोलेको छ । निश्चय पनि अमेरिकाको लागि यो सुखद पहल होइन ।

निजीकरण र व्यावसायिक विकास: चीनले २०१५ पछि आफ्नो अन्तरिक्ष क्षेत्रको निजीकरणलाई बढावा दिँदैछ। नीति समर्थन र लगानीमार्फत निजी अन्तरिक्ष उद्योगले तीव्र वृद्धि हासिल गरेको छ। तर, पश्चिमी राष्ट्रहरू, विशेष गरी अमेरिकाले, यसलाई सैन्यकरणको प्रतीकका रूपमा हेर्दछन्।

यस प्रकार, चीनको अन्तरिक्ष कार्यक्रम केवल प्राविधिक विकास नभएर एक भू-राजनीतिक उपकरणको रूपमा उभिएको छ जसले उसको प्रभाव र शक्तिलाई आर्थिक, सैन्य र कूटनीतिक दृष्टिले बलियो बनाउँदैछ। यस अर्थमा पनि अन्तरीक्ष विज्ञानको क्षेत्रमा चीनले हासिल गरेका उपलब्धिहरु एवं बढोत्तरी अमेरिकाको लागि ठूलो टाउको दुखाइको विषय बनेको छ ।

Main Image: https://www.aerotime.aero