इजरायली दूतावासमा ज्ञापन पत्र बुझाइने
‘प्यालेस्टिनीहरूमाथि इजरायलबाट भइरहेको जनसंहारविरुद्ध संयुक्त अभियान, नेपाल’ले भोलि कात्तिक २६ गते सोमबार इजरायली राजदूतावासमा ज्ञापनपत्र बुझाउने भएको छ ।
त्यसका लागि दिउँसो १ बजे शान्तिबाटिकामा जम्मा भई लाजिम्पाटस्थित इजरायली राजदूतावासमा गई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको आयोजकहरुले जानकारी दिएका छन् ।
त्यसबारे जानकारी दिन प्रेसलाई पठाएको पत्रमा ‘प्यालेष्टिनीहरुमाथि इजरायलबाट भइरहेको जनसंहारविरुद्ध संयुक्त अभियान, नेपाल’को तर्फबाट श्याम श्रेष्ठले ‘‘यतिखेर इजरायलले ‘आत्मरक्षाको अधिकार’को नाममा विगत एक वर्षदेखि प्यालेष्टाइनको गाजाक्षेत्रमा तथा पछिल्ला महिनाहरुमा लेवनानमा समेत चलाइरहेको बर्बरयुद्ध र ४४ हजारभन्दा बढीको हत्या गरी चलाएको जनसंहारको श्रृङ्खलाले यतिखेर विश्वलाई नै स्तब्ध तुल्याएको अवस्था हो । मानवीय नैतिकता तथा अन्तर्राष्ट्रिय कानूनहरुको ठाडो उल्लंघन गर्दै इजरायलले चलाएको युद्धको विरुद्धमा संसारका कोही पनि न्यायप्रेमी मानिस मौन रहन सक्दैन’’ भनी जनाएका छन् ।
पत्रमा श्रेष्ठले ‘यसै सन्दर्भमा नेपालका विभित्र क्षेत्रका जनता, राजनीतिक दलका नेताहरू, बृहत् नागरिक आन्दोलनका प्रतिनिधिहरू, मानव अधिकारवादी संगठन, पेशा/व्यवसायगत संगठनहरू, ट्रेड युनियन संगठनहरू, महिला अधिकारवादी संगठनहरू, विद्यार्थी र युवा संगठनहरू एवम् विभित्र संस्थाहरूका प्रतिनिधिहरू तथा सामाजिक जीवनका सम्मानित व्यक्तित्वहरू समाहित रहेका ‘प्यालेष्टिनीहरुमाथि इजरायलबाट भइरहेको जनसंहारविरुद्ध संयुक्त अभियान, नेपाल’ले कात्तिक २६ गते सोमबार १ बजे शान्तिबाटिकामा भेला भई लाजिम्पाटस्थित दूतावासमा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको’ समेत उल्लेख गरेका छन् ।
‘प्यालेष्टिनीहरुमाथि इजरायलबाट भइरहेको जनसंहारविरुद्ध संयुक्त अभियान, नेपाल’ मा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (बहुमत), नेकपा (संयुक्त), नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनता समाजवादी पार्टी, नेपाल, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपाल, बृहत नागरिक आन्दोलन, सामाजिक दायित्वका लागि चिकित्सकहरू, पिपुल्स हेल्थ मुभमेण्ट, नेपाल, विभिन्न ट्रेड युनियन संगठन तथा महासंघ, नेपाल फर प्यालेस्टाइन पिपुल, प्यालेस्टाइन सोलिडारिटी नेपाल, मानव अधिकारवादी संगठन र व्यक्तित्वहरु, बौद्धिक व्यक्तित्वहरू संलग्न रहेका छन् ।
स्मरण रहोस्, प्रगतिशील रुपान्तरण आन्दोलनको संयोजनमा उक्त अभियानको संयन्त्र गठन भएको हो ।
प्रतिक्रिया