माओवादी एकता, एकता कि ए कता !

टर्केली उखान छ, ‘जोकर महलमा पुग्दैमा ऊ राजा बन्दैन, बरु समग्र महल नै सर्कसमा परिणत हुन्छ । नेपालमा यस्तै त हुँदै आएको छ । आशा र अपेक्षा गरौँ, माओवादी एकता सर्कसमा परिणत नहोस् । 

यति बेला माओवादीहरूका बिचमा एकता हुनुपर्छ भन्ने स्वर अलि ठूलो हुन थालेको छ । बृहत् कम्युनिस्ट एकताको कुरा पनि सुनिँदै छ । रूपमा यो कुरा प्रिय लागे पनि सारतः यो कुरा त्यति प्रिय हुँदै होइन किनभने यसमा भोटको राजनीतिले काम गरेको छ ।  यति बेला माओवादीहरूका बिचमा एकता होइन, निर्मम ध्वंस जरुरी छ । त्यो भनेको आफ्नै आदतको सत्ता पल्टाउनु हो । एकताका लागि एकता गर्दाको हविगत डबल नेकपा (एमाले र माओवादी केन्द्र) ले देखाइसकेको छ । पछिल्लो समयमा क्रान्तिकारी माओवादी र नेकपा (बहुमत) बिचको एकता पनि शत्रुतापूर्ण अन्तरविरोधमा बदलिएर विघटन हुन पुग्यो । अरू पार्टीहरूका बिचमा भएका एकता पनि टिकिरहेका छैनन् । सबैलाई थाहा छ– एकता, सङ्घर्ष र रूपान्तरण तथा नयाँ अधारमा नयाँ एकता मालेमावादी मान्यता हो । रुसमा बोल्सेभिक र मेन्सेभिकहरूले छुट्टा छुट्टै पार्टी बनाएका र चीनमा चरम अन्तरविरोधका बिचमा पार्टी विभाजन नभएको कुरा दस्तावेजमा पढ्न पाइन्छ । तर, नेपालमा अनेक प्रकृति र प्रवृत्ति देख्न सकिन्छ । नेपालका कम्युनिस्टरूलाई दर्जनौँ चिरामा विभाजन गर्ने श्रेय तत्कालीन राजा महेन्द्रमा जान्छ । नेपाली कम्युनिस्ट आन्दोलनको पछिल्लो अवस्था उनै महेन्द्रीय उत्तरदान हो ।

यति बेला माओवादीहरूका बिचमा एकता होइन, निर्मम ध्वंस जरुरी छ । त्यो भनेको आफ्नै आदतको सत्ता पल्टाउनु हो ।

जब एज अफ फुल्स अर्थात् पटमूर्खताको युगमा विमानवीकृत बकबकताको बर्बरता छचल्किन्छ, तब वैचारिकी र बौद्धिकीको चीरहरणसँगै सत्यम्, शिवम् र सुन्दरम् पनि ‘शून्यता’ मा बदलिन्छ । यति बेला विमानवीकृत, बौद्धिकी र वैचारिकी शुन्यताका बिचमा हामी छौँ । माओवादी एकतालाई राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, वैदेशिक, भू–राजनीतिक, प्राविधिक, सामरिक, समाजशास्त्रीय, मनोवैज्ञानिक, बौद्धिकी–वैचारिकी, दार्शनिकी, सूचना–सञ्चार, भारतीय हस्तक्षेप र अमेरिकन दबाब आदि अनेकन् कोणबाट हेर्न सकिन्छ । यसमा स्वाधीन राजनीतिको कुरा प्रधान भएर आउँछ । हामीले आत्मसात गरेको वैचारिकीको मुख्य प्रस्तावना नै राष्ट्रियता, जनतन्त्र र जनजीविका हो । एकता र विभाजनको नाममा हामी र हाम्रो पुस्ता बहसदेखि बहससम्मको आवेगात्मक र भावनात्मक पिङमा झुत्ती खेलिरहेका छौँ । वस्तुगत जबर्जस्त परिणाम हामीलाई तत्काल चाहिएको छ, फेरि पनि प्रधान विषयलाई सहायक र सहायक विषयलाई प्रधान बनाउन हामी उत्तिकै उद्यत छौँ । माओवादी एकतामा यो गम्भीर विषय हो ।

माओवादी आन्दोलनमा आत्मकेन्द्री व्यक्तिवादले खर्लप्पै निल्न लागेको बेलाको एकता फेरि ‘ए कता’ मा बदलिने प्रवल सम्भावना छ ।   नेपालको माओवादी पार्टीहरू कति स्वाधीन पार्टी हो भन्ने कुरा बहसमा छ । स्वाधीन पार्टी र स्वाधीन राजनीति गुरुत्तर विषय हुन् । अझ यसलाई स्वाधीन पार्टी, स्वाधीन राजनीति र स्वाधीन नेपालको त्रैआयमिक संरचनामा विश्लेषण गर्न सकिन्छ । नेपाली राजनीतिमा केही वर्षयता विभिन्न स्तर र विभिन्न कोणबाट अराजनीतिक/अस्वाभाविक गतिविधि हुँदै आएका छन् । कम्युनिस्ट (माओवादीसहित) ले कम्युनिस्टलाई नै प्रतिबन्ध लगाएको अस्ति भर्खर हैन र ! क्रान्तिकारीहरूलाई फासिवादी दमन कसले गरकेो थियो ! यथास्थितिवादी/पुनत्थानवादीहरूलाई सडकमा जनताको बलिदानबाट जन्मिएको गणतन्त्रका विरुद्ध मैमत्त उफ्रिन छुट कसले दिएको थियो ! क्रान्तिकारी कर्म, क्रान्तिकारी मर्म र क्रान्तिकारी योद्धाहरूको अपमान कसले गरेको थियो ? आत्मसमीक्षा गर्नुपर्दैन ? यही दलाल संसदीय व्यवस्था र यही राजकीय संरचनालाई केन्दमा राखेर गरिने माओवादी एकता ए कतामा पुगेर विसर्जन अवश्यम्भावी छ ।

 माओवादी आन्दोलनमा आत्मकेन्द्री व्यक्तिवादले खर्लप्पै निल्न लागेको बेलाको एकता फेरि ‘ए कता’ मा बदलिने प्रवल सम्भावना छ ।  

सैद्धान्तिक, वैचारिक र दार्शनिक हिसाबले राजनीति दुई किसिमका हुन्छन्, कम्युनिस्ट राजनीति र बुर्जवा राजनीति । अर्थात् यसो भनौँ, कुनै पनि देशमा उत्पीडित तथा श्रमजीवी जनताको प्रतिनिधित्व गर्ने कम्युनिस्ट पार्टी अर्थात् वैज्ञानिक समाजवादी र बुर्जवा पुँजीवादी–साम्राज्यवादीहरूको प्रतिनिधित्व गर्ने पुँजीवादी पार्टीहरू हुन्छन् । यिनका वर्गीय पक्षधरता र सेवाको क्षेत्र पनि अलग–अलग र आ–आफ्नै हुन्छ । यिनका चरित्र, चिन्तन र सांस्कृतिक मूल्य पनि आ–आफ्नै हुन्छन् । विश्वमा बलिदानको महागाथा कोर्ने, नयाँ विश्वको मञ्जिल खडा गर्ने, मानव समाजलाई नयाँ समाजमा उठाउने तथा मानव समुदायलाई नयाँ मानव जातिको शिखरमा उठाउने पनि कम्युनिस्ट नै हुन् । दुःखको कुरा यो छ कि विश्वमा यति बेला अलि बढी भ्रम छर्ने पनि कम्युनिस्ट नै बनेका छन् ।

रूपमा जे–जे भए पनि र ज–जसले जे–जे भने पनि सारतः नेपालका अधिकांश पार्टीहरूमा वर्णाश्रम व्यवस्थामा आधारित सङ्गठनसम्बन्धी समस्या मूलभूत रूपमा एउटै देखिन्छ । यथार्थतः क्रियाशील पार्टीहरूका वैचारिकी तथा सङ्गठनात्मक अवस्थिति सोलोडोलो रूपमा उही र उस्तै देखिन्छ ।

कम्युनिस्ट राजनीति र राजनीतिक दलको स्वत्व, निजत्व र अपनत्व निकै महत्वपूर्ण छ । नेपालमा माओवादीले बगाएको रगत र पसिना अतुलनीय छ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालले ‘गद्दार’ को आरोप खेप्नुपरेको देश हो । देश, जनता र समग्र उत्पीडित जनसमुदायको मुक्तिको पक्षमा महान् बलिदान गर्ने माओवादीहरूले ‘आतङ्ककारी’ को आरोप खेप्नुपरेको देश पनि नेपाल हो । स्थापनाकालदेखि नै नेपालको कम्युनिस्ट पार्टीको चिन्तनधारासँगै यसको बनोट र बुनोटमा गम्भीर समस्या देखा पर्दै आएको छ । रूपमा जे–जे भए पनि र ज–जसले जे–जे भने पनि सारतः नेपालका अधिकांश पार्टीहरूमा वर्णाश्रम व्यवस्थामा आधारित सङ्गठनसम्बन्धी समस्या मूलभूत रूपमा एउटै देखिन्छ । यथार्थतः क्रियाशील पार्टीहरूका वैचारिकी तथा सङ्गठनात्मक अवस्थिति सोलोडोलो रूपमा उही र उस्तै देखिन्छ । माओवादी पार्टीहरूको कुरा पनि यही हो । 

 कम्युनिस्ट–सर्वहारा वर्गको सर्वोच्च राजनीतिक संस्था कम्युनिस्ट पार्टी हो । मार्क्स–एङ्गेल्सले सर्वहारा वर्ग र श्रमिक जनसमुदायको मुक्तिकामी सङ्घर्षको बाटोलाई आलोकित गर्नुभएको थियो । उहाँहरूले महत्वपूर्ण रणनीतिक कुरा ‘सर्वहारा वर्गको मुक्तिको लागि त्यसको आफ्नो स्वाधीन पार्टीको ठूलो आवश्यकता पर्दछ’ को ठूलो महत्व रहेको छ । मार्क्स–एङ्गेल्सको यो मर्मलाई नेपालका कम्युनिस्ट राजनीतिक दलहरूले आत्मसात गरिरहेका छैनन् । मार्क्स–एङ्गेल्सका विचारलाई समृद्ध गर्दै लेनिनले नयाँ खालको पार्टी अर्थात् बोल्सेबिक पार्टी अघि बढाउनुभयो, जसले महान् अक्टोबर क्रान्ति सम्पन्न गर्‍यो । यसले विश्वलाई नयाँ क्षितिजको दृष्टिगोचर गरायो । आज पनि बोल्सेभिक पार्टी अर्थात् बोल्सेभिक स्पिरिट भन्नेबित्तिकै छुट्टै किसिमको क्रान्तिकारी झनझनाहट पैदा गर्दछ । आज हामीलाई यस्तै झनझनाहट माओवादी कम्युनिस्ट पार्टी चाहिएको छ । समकालीनतामा सामान्य जोडजाड गरेर यस्तो पार्टी बन्ने सम्भावना कहीँ कतै देखिँदैन । 

कम्युनिस्टले मात्र देश र जनतालाई बरालिएको राजनीति र चुनावी षड्यन्त्रकारी र भ्रमपूर्ण धरापबाट मुक्त गर्न सक्दछ । कम्युनिस्टले मात्र स्वाधीनताको लडाइँको नेतृत्व गर्न सक्दछ । कम्युनिस्टले मात्र देश र जनतालाई स्वाधीन बनाउन सक्दछ । यसर्थ कम्युनिस्ट पार्टीको काँधमा ठूलो अभिभारा रहेको छ ।

 कम्युनिस्ट भनेको यस्तो विशेष धातुले बनेका मान्छे हुन्, जो नयाँ सामाजिक व्यवस्थाको निर्माणार्थ सम्पूर्ण रूपले होमिएका र उत्पीडित तथा श्रमजीवी जनतासित अभिन्न रूपले गाँसिएका हुन्छन् । यथार्थतः कम्युनिस्ट पार्टी मात्र स्वाधीन राजनीतिक दल हुन सक्दछ, उसले मात्र स्वाधीन राजनीति गर्न सक्दछ । कम्युनिस्टले मात्र देश र जनतालाई बरालिएको राजनीति र चुनावी षड्यन्त्रकारी र भ्रमपूर्ण धरापबाट मुक्त गर्न सक्दछ । कम्युनिस्टले मात्र स्वाधीनताको लडाइँको नेतृत्व गर्न सक्दछ । कम्युनिस्टले मात्र देश र जनतालाई स्वाधीन बनाउन सक्दछ । यसर्थ कम्युनिस्ट पार्टीको काँधमा ठूलो अभिभारा रहेको छ । वर्गविहीन मानव समाजको स्थापना गर्न उत्पीडित तथा श्रमजीवी जनताको सङ्घर्षमा कम्युनिस्ट पार्टीले अगुवाको भूमिका खेल्नुपर्दछ । कम्युनिस्ट पार्टी भनेको क्रान्तिकारी विचार र सिद्धान्तको निर्देशनमा चल्नेका जनताको राजनीतिक संस्था हो । दलालहरूको मूल नेतृत्व र तिनले थोपरिरहेको अन्यायी सत्ताको तख्ता पल्टाउने विषय सामान्य छैन । लेनिनले एक सन्दर्भमा भन्नुभएको थियो– सत्ता प्राप्त गर्ने सङ्घर्षमा सर्वहारासित सङ्गठनसिवाय अर्को कुनै हतियार छैन ।

समकालीनतामा ‘काम राम्रो बने नेताको र काम बिग्रिए कार्यकर्ताको’ हुने जुन प्रचलन बढ्दै गएको छ, यो कम्युनिस्ट आचरण अनुकूल हुँदै होइन ।

 कम्युनिस्ट पार्टी कम्युनिस्ट–सर्वहारा वर्गको सबभन्दा अगुवा र राजनीतिक दृष्टिले सबभन्दा सचेत दस्ता हो । यसले क्रान्तिकारी–सर्वहारा क्रान्तिलाई दिशानिर्देश र त्यसको सफलतापूर्वक नेतृत्व गर्दछ । कम्युनिस्ट राजनीतिमा अगम्य तागत हुन्छ । राजनीतिमा अनेक कोणबाट विचारहीन, सिद्धान्तहीन र नैतिकहीन हमला भइरहेका हुन्छन् । क्रान्तिकारी जनता, क्रान्तिकारी पार्टीले मात्र क्रान्तिकारी पहलकदमीपूर्ण रातो झन्डालाई विजयको शिखरमा फराउन सक्दछ । यो महान् कार्यभार यसै र यत्तिकै पूरा हुँदैन । यसको निम्ति कम्युनिस्ट पार्टीमा असल मान्छेहरूको केन्द्रीकरण हुनैपर्दछ । जस्तो पायो त्यस्तो मान्छे भेला पारेर सही कम्युनिस्ट पार्टी बन्दैन । कम्युनिस्ट पार्टीलाई क्रान्तिकारी वर्गको सच्चा र अग्रणी संस्था बनाउन अधिकतम राम्रा प्रतिनिधिहरू सामेल हुनैपर्दछ । लेनिनले भन्नुभएझैँ त्यस्तो व्यक्ति मात्र कम्युनिस्ट पार्टीको सदस्य बन्न लायक हुन्छ, जसले कम्युनिस्ट पार्टीको राजनीतिक कार्यदिशा र त्यसको फैसलाहरूलाई निर्देशन मानेर जीवन–व्यवहारमा उतार्न अधिकतम प्रयत्न गर्दछ । पार्टीबाट गरिने कामको लागि प्रत्येक सदस्यले जिम्मेवारीबोध गर्नुपर्दछ, प्रत्येक सदस्यले जे–जस्तो काम गर्दछ, पार्टीले त्यसको जिम्मेवारी लिनुपर्दछ । समकालीनतामा ‘काम राम्रो बने नेताको र काम बिग्रिए कार्यकर्ताको’ हुने जुन प्रचलन बढ्दै गएको छ, यो कम्युनिस्ट आचरण अनुकूल हुँदै होइन । कम्युनिस्ट पार्टीमा ‘स्वाद परेका नेताको देवत्वकरण र आलोचनात्मक चेतका कार्यकर्ताको राक्षसीकरण’ सर्वाधिक विषाक्त र त्याज्य विषय हुन् ।  

 यो कुरा सही हो कि माओवादीबाहेक अरूले देश र जनताको हित गर्दछन् भन्ने कुराको कल्पना पनि गर्न सकिँदैन । लेनिनले कम्युनिस्ट पार्टीले सदस्यको गुणात्मकतामा ध्यान दिनुपर्ने कुरामा जोड दिनुभएको छ । पदलोलुपतावादी, सरकारी दानापानीवाला र छलीहरू जम्मा पारेर स्वाधीन पार्टी र स्वाधीन राजनीति बन्नै सक्दैन । स्वाधीन राजनीति बनाउनका सदस्यहरू पनि स्वाधीन हुन अपरिहार्य छ । जसका विरुद्ध सङ्घर्ष गर्नुपर्ने हो, तिनकै प्रतिनिधि राखेर कुनै पनि राजनीतिक उद्देश्य पूरा हुँदैन । माओवादी पार्टीले क्रान्तिकारी सर्वोत्तम तत्वहरूलाई आफूमा समाविष्ट गर्नुपर्दछ । उच्च चरित्रयुक्त कम्युनिस्ट पार्टी निर्माण गर्न सदस्यहरू पनि चरित्रवान हुनुपर्दछ । पार्टीको राजनीतिक गतिविधि, त्यसको कार्यनीतिक–रणनीतिक एवम् त्यसको नेतृत्वका आधारमा त्यो पार्टीको चित्रण निर्धारण हुन्छ । कम्युनिस्ट इन्टरनेसनलको दोस्रो महाधिवेशनमा लेनिनले भन्नुभएको थियो– कुनै पार्टी साँच्चिकै मजदुरहरूको राजनीतिक पार्टी हो कि होइन भन्ने कुरा मजदुरहरूको सदस्यतामा मात्र भर पर्दैन, बरु सो कुरा त्यसको नेतृत्व गर्ने मानिसहरू र त्यसका कारबाही र त्यसका राजनीतिक कार्यनीतिको सारतŒवमा पनि भर पर्छ । यसले मात्र हाम्रो सामु साँच्चिको सर्वहारा वर्गको पार्टी छ कि छैन भन्ने कुरालाई निर्धारित गर्छ ।

 नेपालका अधिकांश पार्टीको टुटफुट वा जुटमा कतै न कतै शक्तिकेन्द्रको रुची मिसिएकै हुन्छ । यो पतनमुखी प्रतिबम्बन हो । बिग्रिन पनि कहाँ सजिलो छ र, पतनशीलहरूका लागि पनि पूर्वाद्र्धका विचार, दर्शन र सिद्धान्तको छाता ओढ्नैपर्ने हुन्छ । मार्क्सले भन्नुभएको थियो– डाउट एभ्रिथिङ अर्थात् सबै चीजमाथि सन्देह गर । यसको अर्थ हामीले सबै कुरामा शङ्का गर्नुपर्दछ तर शङ्कावादमा फस्नुहुँदैन भन्ने हो । समाजमा भौतिकवादी जीवनदृष्टि गौण बन्दै गएको छ । नक्कली राजनीति र तिनका व्यवहारका कारण सक्कली राजनीति र राजनीतिकर्मीहरूमाथि गम्भीर शङ्का–उपशङ्का पैदा हुँदै छ । यद्यपि आदर्शहरूको अकल्पनीय अश्लीलीकरण एवम् बिम्बहरूको भयानक विद्रूपीकरणको यो विषाक्त मौसममा साम्राज्यवादीहरू हर्ताकर्ता बन्दै जानु कुनै अनौठो कुरा भएन ! राजनीतिमा पूर्व–नकारात्मकताको प्रभाव रहनु र उसकै कठपुतली बन्नु भिन्नै कुरा हो । यस्ता धेरै विषयमा माओवादीले धेरै पटक सोच्नुपर्ने भएको छ ।

 आदर्शहरूको अकल्पनीय अश्लीलीकरण एवम् बिम्बहरूको भयानक विद्रूपीकरणको यो विषाक्त मौसममा साम्राज्यवादीहरू हर्ताकर्ता बन्दै जानु कुनै अनौठो कुरा भएन !

पञ्चायतकालमा काङ्ग्रेसीहरूले नारा चर्काउँथे, ‘कम्युनिस्ट दरबारमा, काङ्ग्रेस जेलमा ।’ कसैलाई गाली गर्नुप¥यो चर्को स्वरमा भन्ने गरिन्थ्यो, ‘तेरो घरमा काङ्ग्रेस पसोस् !’ कम्युनिस्टले कम्युनिस्टलाई गाली गर्नुप¥यो भने ‘रायमाझी’ को स्मरण गरिन्थ्यो । नेपालको कम्युनिस्ट आन्दोलनमा रायमाझी नकारात्मक बिम्ब हुन् । आजभोलि केही काङ्ग्रेस र अझ बढी खरानी घसिएका कम्युनिस्ट नेताहरू ठुलै स्वरमा ‘उस्तै परे ज्ञानेन्द्र ल्याइन्छ’ भन्दै छन् । आवरणमा राजनीतिक दलका सदस्य जस्ता देखिए पनि सारतः तिनीहरू पुरानो सत्ताका विभिन्न तहका प्रतिनिधि हुन् । नेपाली राजनीतिमा ‘दरबारको टाट्नामा घाँस खाएका कम्युनिस्ट’ आहानै छ । नेपालको कम्युनिस्ट राजनीतिमा सबैभन्दा बढी खतरनाक कम्युनिस्ट भनिनेहरू नै सावित हुँदै छन् । यसकारण राजनीतिमा राजनीतिक स्वामित्व धेरै महत्वपूर्ण कुरा हो । जुन वर्गले लडेर राजनीतिक परिवर्तन गर्दछन्, सत्तामा तिनै वर्गको अग्राधिकार झन् महत्वपूर्ण कुरा हो । तर नेपालमा जति पनि राजनीतिक परिवर्तन भएका छन्, तिनमा सङ्घर्षरत पक्षको राजनीतिक स्वामित्व कायम हुनै सकेन । सत्तामा उनीहरूको अग्राधिकार पनि कायम भएन । जहिले पनि परिवर्तन विरोधीहरू नै सत्तामा रहिरहने अवस्था रह्यो ।

माओवादीहरूले सबैभन्दा पहिला आफूले टेकेको धर्तीको हिसाब राख्न जरुरी छ । हामीलाई थाहा छ, तराजुको काम जोख्ने/तौलिने मात्र हो, गुणस्तर/क्षमता मापनको कुरा बेग्लै हो । टर्केली उखान छ, ‘जोकर महलमा पुग्दैमा ऊ राजा बन्दैन, बरु समग्र महल नै सर्कसमा परिणत हुन्छ । नेपालमा यस्तै त हुँदै आएको छ । आशा र अपेक्षा गरौँ, माओवादी एकता सर्कसमा परिणत नहोस् । 

१९ कात्तिक २०८१